गलकोट: कुनै दिन दुर्गम ठाउँका रूपमा चिनिने ताराखोला गाउँपालिका अहिले सुगममा परिणत हुन थालेको छ । गाउँपालिकाअन्तर्गतका दुर्गम गाउँमा फराकिला सडकमा सवारी गुड्लान भनेर कसैले सोचेको थिएन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट ताराखोला एक दिनमा मुस्किलले पुग्न सकिन्थ्यो । स्थानीय तहपछि ताराखोलामा बिस्तारै विकासको ढोका खुल्न थाल्यो । दुर्गम गाउँपालिकाका रूपमा चिनिएको ताराखोला विकासले क्रमशः सुगम बन्दै गएको छ । भौगोलिक विकटताका कारण विकासमा पछाडि परेको ताराखोला गाउँपालिकामा पहिलो पटक कालोपत्र सडक पुगेको छ । गाउँपालिकाको त्रिशूल चोकदेखि माझखर्क गाउँसम्म गाउँपालिकामै पहिलो पटक सडक कालोपत्र भएको छ । गाउँपालिकाको रिजालचोकमाथि रहेको त्रिशूल चोकदेखि माझखर्क हुँदै खरिखोलासम्म सडक कालोपत्र भइरहेको छ । दश किमी सडकमध्ये अहिले छ किमी सडक कालोपत्र भइसकेको छ । गाउँपालिकामा नै पहिलो पटक ताराखोला–सरपाण्डी–खरिखोला सडक कालोपत्र भएको गाउँपालिकाका अध्यक्ष हिमाल विकले बताउनुभयो । “गाउँपालिकामा पहिलो पटक कालोपत्र सडक निर्माण भएको छ, यो सुखद क्षण हो, हाम्रो निरन्तर प्रयास र गण्डकी प्रदेश सरकारको रु २२ करोड लागतमा सडक कालोपत्र भइरहेको छ”, अध्यक्ष विकले भन्नुभयो, “अब गलकोटबाट ताराखोला तर्फसमेत कालोपत्रको काम सुरु भएको छ, रिजालचोकदेखि ताराखोलाको केन्द्रतर्फ आउने शहीद मार्ग सडक आगामी वर्षमा कालोपत्रको सुरुवात हुनेछ, यी तीन सडकले ताराखोलाको विकासको ढोका खोलेका छन् ।” सडकको ट्याक मात्रै रहेको ताराखोला पुग्न अहिले बागलुङको काठेखोला गाउँपालिका–५ बिउँको रिजालचोकदेखि भुस्कात हुँदै भातखानेडाँडा, बागलुङको गलकोट नगरपालिका–६ हुँदै ताराखोला गाउँ र त्रिशूल चोक हुँदै माझखर्क हुँदै खरिखोला पुग्ने तीन सडक स्तरोन्नतिसँगै कालोपत्र गर्ने गाउँपालिकाको योजना छ । त्यसमध्ये अहिले ताराखोला–सरपाण्डी–खरिखोला सडकको छ किमी सडक कालोपत्र भइसकेको छ । गलकोट हुँदै गाईघाट झरनासम्मको सकडसमेत कालोपत्रको चरणमा छ । गाउँपालिकाको पहिलो प्राथमिकताका रूपमा रहेको रिजालचोकदेखि भातखानेडाँडा हुँदै रुम फेद पुग्ने २६ किमी सडकलाई गाउँपालिकाले शहीद मार्गको नामकरण गरेको छ । उक्त सडकको भने काम अघि बढ्न सकेको छैन । ताराखोलाको माझखर्क गाउँमै कालोपत्र सडक आएपछि स्थानीय खुसी भएका छन् । ताराखोला–१ माझखर्क गाउँमै सडक कालोपत्र भएपछि विकासको महसुस भएको स्थानीय बलबहादुर रोकामगरले जानकारी दिनुभयो । गाउँपालिकामा पहिलो पटक भएको सडक कालोपत्र आफ्नै गाउँमा परेको माझखर्कका रोकामगरको भनाइ छ । उहाँले सडक कालोपत्र भइसक्दासमेत सवारीसाधनको भाडादर भने नघटेको गुनासो गर्नुभयो । पूर्वाधार विकास कार्यालयले ताराखोलाको त्रिशूल चोकदेखि सरपाण्डी हुँदै खरिखोलासम्मको सडक २०७७ मङ्सिर ४ गते रु २२ करोड ८३ लाख २० हजारमा रसुवा इलाईट जेभीसँग ठेक्का सम्झौता गरेको थियो । दुई वर्षमा सक्नेगरी भएको ठेक्का सम्झौता कोरोना महामारीका कारण केही ढिलाइ भएको थियो । वि।सं। २०७९ मङ्सिरमा कालोपत्र सक्नुपर्ने भए पनि सडकको कार्यप्रगतिका आधारमा २०८० मङ्सिरसम्म म्याद थप गरिएको छ । उक्त सडक खण्डको छ किमी कालोपत्र भइसकेको छ भने वर्षा रोकिएपछि पुन चार किमी सडक कालोपत्र गरिनेछ । अहिले भइरहेको कालोपत्रमा पुनः अर्को कालोपत्र थपिने पूर्वाधार विकास कार्यालयका प्राविधिक चन्द्रबहादुर पुनले जानकारी दिनुभयो । उहाँले बर्खा लगत्तै बाँकी रहेको चार किमी सडक कालोपत्रको काम थालिने बताउनुभयो । ताराखोला–सरपाण्डी–खरिखोला सडक कालोपत्रको जिम्मा पाएको निर्माण व्यवसायीका प्रतिनिधि देवेन्द्र लम्सालका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ७५ प्रतिशत रहेको बताउनुभयो । मौसमले साथ दिएमा आगामी मङ्सिरसम्म सबै सडक कालोपत्र गरेर हस्तान्तरण गर्ने बताउनुभयो । गाउँपालिकाको मुख्य सडकको रूपमा रहेको शहीद मार्ग भने कालोपत्रका लागि सङ्घीय सरकारले ठेक्का आह्वान नगर्दा समस्या भएको छ । निरन्तरको प्रयास र पहलकदमीबीच ताराखोला जोड्ने दुई सडक कालोपत्र हुन थालिएको र त्यसमध्ये ताराखोलामा पहिलो पटक ताराखोला–सरपाण्डी–खरिखोला सडक कालोपत्र भएको छ । गलकोटदेखि ताराखोला आउने सडकको भने अहिले गलकोट खण्डमा मात्रै कालोपत्र भइरहेको छ ।
काठमाडौं: बिहीबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ । बिहीबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि १८ जेठमा सुनले नयाँ रेकर्ड राख्दै १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको कारोबार १ लाख १३ हजार १ सय रुपैयाँमा भएको थियो । आज प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेको हो । आज तेजाबी सुनको मूल्य १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको कारोबार आज १४ सय ९५ रुपैयाँ प्रतितोलामा भइरहेको छ । बुधबार १४ सय ९० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।
काठमाडौं: सय किलो सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास कार्यमा संलग्न कर्मचारीहरूलाई निलम्बनको तयारी भएको छ । भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले घटनाको अनुसन्धानका लागि सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको जानकारी दिए । ‘जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गरेर छानबिन हुन्छ’, खड्काले भने । विभागले सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाहरूको आधिकारिक रूपमा पहिचान खुलाइएको छैन ।
कर्तव्य ज्यान मुद्दामा १४ वर्ष कैद सजाय तोकिएका पुरूष ८ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा मुस्ताङको थासाङ गाउँपालिका -२ घर भई काठमाडौंको जोरपाटी बस्दै आएका ४६ वर्षीय सम्राट शेरचन छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार गोकर्णश्वर नगरपालिका(८ अत्तरखेलबाट पक्राउ गरेको हो। कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले ०७२ भदौ १ गते उनलाई १४ वर्षको जेल सजाय सुनाएको थियो। त्यसयता उनी फरार रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए । उनीविरूद्ध ०६६ मा राधा पुनले जाहेरी दिएका थिए। त्यतिबेला मुस्ताङ जिल्ला अदालतले शेरचनलाई एक वर्ष चार महिना कैद सुनाएको थियो। त्यसविरूद्ध पुनरावेदन दिएका उनीविरूद्ध बागलुङ अदालतले जन्मकैदको सजाय सुनाएको थियो। पुनरावदेनको आदेशविरुद्ध सर्वोच्चले उनलाई १४ वर्षको कैद सजाय सुनाएको हो। पक्राउ परेका सम्राटलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पठाएको छ।
काठमाण्डौ: जुम्लामा नुनको कमी हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले तीन सय २० क्विन्टल नुन ढुवानी गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जका अनुसार आव ०७९ र ८० को असार मसान्तसम्म दुई हजार सात सय ८६ क्विन्टल नुन मौज्दात रहेको छ । प्रदेश कार्यालय प्रमुख महेश चौधरीका अनुसार कर्णाली प्रदेश, पूर्वी रुकुम, पश्चिम रुकुम र रोल्पामा असार मसान्तसम्म छ हजार तीन सय ७८ क्विन्टल नुन मौज्दात रहेको छ । प्रदेश कार्यालय नेपालगञ्जमा भारतको गुजरातस्थित खाडाघोडाबाट एक र्याकमा २६ हजार क्विन्टलका दरले वर्षमा नौ र्याक नुन आयात हुने गर्दछ । कार्यालय प्रमुख चौधरीले दुर्गम क्षेत्रमा सरकारको ढुवानी अनुदानअन्तर्गत प्रत्येक एक वर्ष ३६ देखि ३८ हजार क्विन्टल नुन ढुवानी गरिने जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्षको ६ महिनायता मालपोत कार्यालय कास्कीमा सवारीचालक रहेका हिमलाल उपाध्यायले प्रमुख रामचन्द्र अधिकारीको रोपाइँमा नजाँदा जागिर गुमेको बताएका छन् । । उपाध्यायले सुनगाभा न्यूजसँग कुरा गर्दै गत असार १५ गते प्रमुख अधिकारीको शिसुवास्थित खेतमा रोपाइँमा नगएपछि करार अवधि नथपिएको आरोप लगाए । ‘रोपाइँको अघिल्लो दिन शुक्रबार बिहानदेखि बेलुकासम्म स्याङजा लगेर ल्याउने काम गरे’ उपाध्यायले भनेका छन् ‘राती अबेरसम्म पनि गाडी चलाउँदा भोलीपल्ट रोपाइँमा जान सकिन ।’ रोपाइँमा नगएकै दिनदेखि प्रमुख आफुसँग रुष्ट भएको र आर्थिक वर्ष सकिएलगत्तै आफुलाई जागिरबाट निकालेको उनको आरोप छ । दिनभर काम गरेर बेलुका ८ बजे घर फर्किएपछि थकाइकैकारण हाकिम खुशी बनाउन नसकेको उनले जनाए । ‘रोपाइँको दिन शनिबार थियो, हाकिमसाबले अर्काे गाडी खोज्नुभएको थियो’ उपाध्यायले भने ‘म जान सकिन, पछि म्याडमले पनि यही विषयमा गुनासो गर्नुभयो ।’ प्रमुखले साउन १ गतेदेखि नआउनु भनेपछि कार्यालयमा बुझ्न जाँदा तलब खुवाउन नसकेको, बुढो भएको भनिएको उपाध्यायले बताए । मालपोत प्रमुख भने उपाध्यायको भनाइप्रति असहमत छन् । उनले शुक्रबार दिनभर चालक व्यस्त भएको र शनिबार पनि कार्यालयकोतर्फबाट केही काम परेकाले उनलाई बोलाएको बताए । ‘त्यतिबेला प्रधानमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिहरु पोखरामा हुनुहुन्थ्यो‘ प्रमुख भन्छन् ‘आफिसियल कामले चालकलाई बोलाएको हो ।’ उनले रोपाइँमा पनि एकपटक पुग्ने योजना भएको स्वीकार्दै चालकलाई बाउसे बनाउन नखोजेको स्पष्ट पारे । त्यस्तै, कार्यालयका अन्य कर्मचारीले पटकपटक उपाध्यायको कार्यक्षमता र अन्य पाटोबारे असन्तुष्टी जनाइरहेको प्रमुखले उल्लेख गरे । ‘मैले हटाउन चाहेको भए ६ महिना अघि नै हटाइसक्थे तर उनले आफुलाई सुधार्नेछन् भनेर समय दिएको हुँ,’ अधिकारीले भने । भूमि व्यवस्थापन तथा अभिलेख आयोगले पनि यस आर्थिक वर्षमा करारमा कर्मचारी नराख्न निर्देशन दिएको र उपाध्यायको कार्य सम्पादनमा बाराम्बार प्रश्न आएपछि नियमसंगतरुपमै करार अवधि नथपिएको अधिकारीले बताए । ‘उनी रिसाहा र अटेरी थिए, राम्रै गरेको भए ड्राइभर त चाहिन्छ नै’ अधिकारीले थपे ‘पछि बोलाउन पनि सकिन्थ्यो तर उनले अनावश्यक हंगामा गर्नेतर्फ लागे ।’ तर चालक उपाध्यायले भने आफुबाट कुनै गल्ती भए त्यसलाई सुधारेर काम गर्ने भनिरहँदा पनि नियतवश निकालिएको दाबी गरेका छन् । ‘अब गाडी कसले चलाउँछ त ?’ भन्ने प्रश्नमा प्रमुख भन्छन् ‘निवासदेखि कार्यालयसम्म म आफै चलाउँछु, पछि आवश्यक परेको खण्डमा हिमलाललाई पनि राख्न सकिन्छ, अरु आउन पनि सक्छन् ।’
दार्चुलाको खलङ्गा–दल्लेख सडक खण्ड ठाउँठाउँमा अवरुद्ध हुँदा तरकारी किसानलाई ढुवानीको समस्या भएको छ । बाटो अवरुद्ध हुँदा गाउँमा उत्पादन भएको तरकारी सदरमुकाम ल्याउन समस्या भएको हो । गएको असार दोस्रो हप्तादेखि खलङ्गा–दल्लेख सडक बन्द छ । ठाउँठाउँमा पहिरोले बन्द भएको सडक अहिलेसम्म खुलेको छैन । सडक नखुल्दा मुख्य गरी तरकारी किसान मर्कामा परेका छन् । गाउँमा कोही बिरामी परे स्ट्रेचरमै बोकेर ल्याउनुपर्ने हुन्छ । काम विशेषले सदरमुकाम आवतजावत गर्नेलाई पनि समस्या छ । दैनिक उपभोग्य सामाग्रीको ढुवानीसँगै तरकारी ढुवानीमा असहज भएको स्थानीय धनसिंह सितोलीले बताउनुभयो । सडक नखुल्दा गाउँमा खाद्यान्नको अभाव हुने चिन्ता बढेको छ । अहिले नौगाड गाउँपालिका–२ दल्लेखका झण्डै ७० घरपरिवारले व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । त्यहाँका पाँच सय भन्दा धेरै किसानहरुको बारीमा तरकारी छ । तरकारी बारीमै कुहिने चिन्ता बढेको अर्का किसान माधवसिंह मन्यालले गुनासो गर्नुभयो । अहिले खलंगादेखि सेलासम्म सडक पूर्णरुपमा अवरुद्ध छ । सडक अवरुद्ध भएसँगै महाकाली नगरपालिकाको काटै, सेला, मैखोली, मुल्ला र नौगाड गाउँपालिका–२ दल्लेखका स्थानीयबासिन्दालाई आवतजावतमा सास्ती भएको छ । दल्लेख क्षेत्रमा उत्पादन भएको तरकारी किसानले बोकेर सदरमुकामसम्म ल्याउनुपर्ने बाध्यता छ । उत्पादन गरिएको तरकारी जिल्ला सदरमुकाम खलंगामा बेचेर तरकारी किसानले घरमा नुन, दाल र चामल जोहो गर्दै आएका छन् । महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद घिमिरेका अनुसार नगरपालिकाले बाटो खुलाउन प्रयास गरेको भए पनि सकेको छैन ।
काठमाडौं: आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपालीहरु असार महिनाभर रोपाइँमा व्यस्त हुने भएकाले हिलो मैलोबाट लाग्ने छालासम्बन्धी रोग ठीक पार्न भन्दै साउने संक्रान्तिको दिन लुतो फाल्ने चलन पनि चलिआएको छ । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ । साउन महिनाभर काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । त्यसैले साउन महिना एवं सोमबारको दिन शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । कर्णाली प्रदेशमा साउने संक्रान्तिको दिन आज सार्वजनिक बिदा दिइएको छ । आजको दिनलाई कर्णालीमा देउडा पर्वको रुपमा समेत मनाउने गरिन्छ ।
तनहुँ: भानु जयन्तीका अवसरमा शुक्रबार भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजित कार्यक्रममा २९ वर्षीया मनिषा कुमाल र ४२ वर्षीया हीरा कुमालले लोपोन्मुख पाउदुरे नृत्यमा मारूनी बनेर तालमा ताल मिलाएर घन्टौं नाचे। पाउदुरे नाच पुरुषले महिला बनेर नाच्ने प्रचलन छ। तर गाउँमा पुरुष नहुँदा भानु नगरपालिका–४ कुमालगाउँका यी दुई महिला पाउदुरे नाच संरक्षणमा पछिल्लो पाँच वर्षदेखि अहोरात्र खटिएका छन्। ‘के गर्नु यस्तो पुरानो नाच त्यसै मर्न दिन मनले मानेन’, पाउदुरे नाच्दै गरेकी मनिषाले भनिन् ‘त्यसैले गाउँका सबैलाई भेला गरी हामीलाई पनि नाच्न सिकाउनुस् हामी यो नाच बचाउँछौँ भनेर संरक्षणमा कस्सियौं।’ शुक्रबार विभिन्न क्षेत्रबाट आएका पाहुनालाई देखाउन भनेरै आफूहरूले पाँच दिनअघिदेखि लगातार मेहनत गरेर पाउदुरे नाच्न सिकेको मनिषाले बताइन्। पाँच वर्ष पहिले नाच सिक्ने क्रममा सुरुका दिनमा गाउँकै केही व्यक्तिले महिलाले पाउदुरे नाच्न हुँदैन भनेर असहमति जनाए पनि अहिले तिनै व्यक्तिले प्रशंसा गरेको देख्दा आनन्द लाग्ने गरेको हीराले बताइन्। ‘पहिले नाच्न हुँदैन, अनिष्ट हुन्छ भन्नेहरू नै अहिले कति राम्रो ताल समातेको भनेर हौसला दिने गरेका छन्’, उनले भनिन्, ‘पाउदुरे नाच देखाउन भनेरै पाँच–सात स्थानमा पुगिसकेका छौं।’ आफूहरूले पाउदुरे नाच्न थालेपछि दिगोरूपमा संरक्षणका लागि आफूहरूले गाउँका अन्य साना बालबालिकालाई समेत नाच्न सिकाउँदै गरेको हीराको भनाइ छ। पाउदुरे जनजातिमाझ लोपोन्मुख नाच हो। विभिन्न जनजातिले आ–आफ्नो तवरले पाउदुरे नाच्दै आएको पाइन्छ। यो नाचमा विजबारे, मारुनी, मादले, गुरुलगायत आवश्यक पर्दछ । यो नाच पुरुषले गुन्यूचोली र गरगहना लगाएर महिलाजस्तै बनेर नाच्ने चलन छ। छेउमा नाच्ने दुई पुरुषलाई ‘मारूनी’ र बीचमा नाच्नेलाई ‘बिजबारे’ भनिन्छ। नाच्दा बिजबारेकै भावभङ्गी समातेर मारुनीले आफूलाई प्रस्तुत गर्नुपर्छ। गीत गाउने मुख्य व्यक्तिलाई ‘गुरुबा’ भन्ने चलन छ। गुरुबाले गीत गाउने र लहरै बसेका तीन जना मादलेलगायतले पनि गीतलाई होमा हो मिलाउने चलन छ। बेला–बेलामा ताल काट्दै मादलेसमेत नाच्ने भएकाले पाउदुरे हेर्दा रमाइलो हुने गर्छ। पाउदुरे नाच्दा चारै दिशाका देवीदेवतालाई सम्झने चलन छ। देवीदेवतासँग सबै जिवात्माको कल्याणको कामना गर्दै यो नाच नाचिन्छ। पैसठ्ठी वर्षीय बाबुराम, सोमबहादुर कुमालले पाउदुरे नाच्दै आए पनि उनीहरुको स्वास्थ्य प्रतिकूल भएपछि विगत १२–१५ वर्षदेखि आफूले पाउदुरे नाच्न छाडेको ६२ वर्षीया भीमबहादुर कुमालले बताए। बोलाएको ठाउँमा एकैपटक दुई–तीन घन्टा पनि नाच्नुपर्ने भएकाले नाच्न नसकेर छाडेको उनको भनाइ छ। ‘हामीले नाच्न छाडेपछि आठ–दश वर्ष नाच्ने मान्छे नै भएनन्,’ भीमबहादुरले भने, ‘अहिले महिलाहरू नाच्न कस्सिएपछि पुनः पाउदुरेको रौनक गाउँमा ह्वात्तै बढेको छ।’ मनिषा र हीराले पछिल्लो समय आफूलाई नाचेर साथ दिँदै आएकाले खुसी लागेको विगत ३५ वर्षदेखि बीचमा नाच्दै आएका ९बिजबारे० ५८ वर्षीय लालबहादुर कुमालले बताए। महिला पनि पुरुषले जस्तै घन्टौँ खटिन सक्ने गुण देखेको उहाँले जानकारी दिए। नाच देखाउन आफूहरू गोरखा, दमौली, देवघाट, चितवन, नवलपरासी र लमजुङलगायतको जिल्लामा पुगिसकेको उनले जानकारी दिए। यहाँको पाउदुरे नाचमा ६५ वर्षीय गङ्गाबहादुर कुमाल, ६८ वर्षीय टीकाराम कुमाल र ६६ वर्षीय सन्तबहादुर कुमालले मादल बजाउने गर्दै आएका छन्। कुमालगाउँमा रहेका ९२ घरमध्ये युवा वैदेशिक रोजगारीका क्रममा विदेशमा भएकाले पाउदुरे नाच्ने पाउनै मुस्किल भएको स्थानीय चुदेली कुमाल समाजका अध्यक्ष ३९ वर्षीय विष्णु कुमालले बताए। ‘गाउँका युवा जति वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन्’, उनले भने, ‘पाउदुरे नाच्ने पुरुष नहुँदा महिलालाई नचाउनुपरेको छ। गाउँका अन्य महिलाले पनि नाच्नका लागि चासो व्यक्त गरेका छन्।’ महिलाले पाउदुरे नाचेपछि नाच लोप हुने अवस्था भने नरहने आफूले विश्वास व्यक्त गरेको अध्यक्ष कुमालले बताए।