पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

काठमाण्डौ: बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग विभिन्न चरणमा सरकार र काठमाण्डौ महानगरपालिकाले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयबासिन्दाले शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका छन् ।   बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले फोहरमैला व्यवस्थापनको दीर्घकालीन योजना नअपनाएमा आउँदो असोज १ गतेदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाण्डौ उपत्यकाको फोहरमैला लैजान बन्द गर्ने जनाएको छ ।   समितिका संयोजक श्रीराम ढुङ्गानाले स्वच्छ रूपमा बाँच्न पाउने मानवअधिकार राज्यले सुनिश्चित गर्न नसकेको भन्दै काठमाण्डौ महानगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दामा गरेको अविवेकपूर्ण व्यवहारमा आपत्ति जनाउनुभयो ।   समितिका उपसंयोजक सुमित्रा ढकालले समस्या समाधान गर्न प्रभावित क्षेत्रमा मानव बस्ती हटाइ व्यवस्थापन गर्नुपर्ने या फोहरको स्रोत जहाँ छ त्यसको व्यवस्थापन त्यही पालिकामा हुनुपर्नेमा जोड दिनुभयो । ककनी गाउँपालिका–२ का कार्यवाहक अध्यक्ष चुयामे तामाङले बञ्चरेडाँडाको फोहरबाट नागरिकलाई टाढा राख्न सबै एकजुट हुन आग्रह गर्नुभयो ।   समितिले प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गरी मानव बस्तीरहित ल्याण्डफिल साइट विकास क्षेत्र, फोहरमैला प्रदूषणरहित बस्ती विकास क्षेत्र, प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गरी शीघ्र कार्यान्वयन गर्नुपर्ने, प्रधानमन्त्री कार्यालयको मातहतमा काम कारबाही गर्ने गरी फोहरमैला विकास प्राधिकरण गठन गर्नुपर्ने विषयको कार्यान्वयन अवलम्बन गर्नुपर्ने माग राखेका छन्। 

पोखरा:  पोखरामा तीन वटा लायन्स क्लवको संयूक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।  शनिबार साँझ एक विशेष कार्यक्रमकाबीच लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारी, लयान्स क्लव अफ पोखरा पिस हिमालय सिटी र लायन्स क्लव अफ पोखरा गलेश्वर सेन्चुरीका वर्ष २०२३–२४ का अध्यक्ष तथा पदाधिकारीहरुलाई एकै पटक पदस्थापन गरिएको हो ।    गत जुलाईमा निर्वाचित पोखरा बिरौटा साझा चौतारीका अध्यक्ष लक्ष्मी बराल आचार्यलाई निवर्तमान अध्यक्ष कल्पना आर्यालले , पिस हिमालय सिटीका अध्यक्ष जगतमोहन गिरीलाई निवर्तमान अध्यक्ष ईश्वरी प्रसाद लम्सालले र गलेश्वर सेन्चुरीका अध्यक्ष सुन्दर श्रेष्ठलाई मोहन अधिकारीले पदभार हस्तान्तरण गरेका थिए । पदस्थापनपछि बोल्दै लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीका अध्यक्ष लक्ष्मी बराल आचार्यले आफ्नो कार्यकाललाई स्वर्णिम बनाउनका लागि स्वास्थ्य सचेतना कार्यक्रम, लायन्स क्वेष्ट कार्यक्रम, न्यानो कपडा वितरण, स्टेसनरी वितरण, भईपरि आउने विपत्तिमा सहयोग तथा राहत लगायत कार्यक्रम निर्धारण गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।  त्यस्तै लायन्स क्लव अफ पोखरा पिस हिमालय सिटीका अध्यक्ष जगतमोहन गिरीले आफ्नो क्लवमा सबै क्षेत्रमा आवद्धता भएका सदस्यहरुको रहेको भन्दै उनीहरुको मनोभावनालाई समेटेर कार्यक्रम गर्नेे प्रतिवद्धता व्यक्त गरे । उनले यसअघिका कार्यक्रमहरुलाई निरन्तरता दिँदै थप रचनात्मक कार्यक्रमहरुपनि आफ्नो कार्यकालमा सञ्चालन गर्ने योजना रहेको सुनाए ।  कार्यक्रममा लायन्स क्लव अफ पोखरा गलेश्वर सेन्चुरीका अध्यक्ष सुन्दर श्रेष्ठले क्लवले आधा दर्जन बढी कार्यक्रम यसअघि नै सम्पन्न गरिसकेको जानकारी दिए । उनले गत वर्षजस्तै बाँकी रहेका कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता व्यक्त गरे ।    कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव ३२५ एमका डिष्ट्रिक्ट गभर्नर भिमलाल पौड्यालले तीन वटै क्लव सामाजिक कार्यमा अब्बल क्लव भएको भन्दै क्लव अध्यक्ष तथा पदाधीकारीहरुको प्रशंसा गरे । उनले निवर्तमान अध्यक्षहरुले जस्तै गरि कार्यक्रमलाई निरन्तरता दिन कुनै कन्जुस्याईं नगर्न आग्रह गरे ।    कार्यक्रममा प्रथम डिष्ट्रिक्ट भाइस गभर्नर चण्डीप्रसाद अर्याल, द्वितिय डिष्ट्रिक्ट भाइस गभर्नर धनिराम बराल, डिष्ट्रिक्ट चिफ एड्मिनिस्टेटर किशोर बराल, पीआरओ दीपक खरेल, को–चिफ एड्भाइजर शिवराज आचार्य, चिफ अफ कन्स्यूलर उमानाथ बराल, जिएटी कोअर्डिनेटर चुणामणी बराल लगायतले क्लवहरुले आफूभन्दा कम भाग्यमानी तथा सिमान्तकृत समुदायको हितमा अनुकरणीय कार्य गरेको बताए ।   पहिलो सत्रको कार्यक्रमको अध्यक्षता पोखरा बिरौटा साझा चौतारीका निवर्तमान अध्यक्ष कल्पना आर्याल र दोश्रो सत्रको लक्ष्मी बराल आचार्यले गरेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक जोन चेयर पर्सन गिता पराजुली र धन्यवाद ज्ञापन रिजन–९ का रिजन चेयर पर्सन भोजराज बराल, झण्डाको अभिवादन गलेस्वर सेन्चुरी र कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ पोखरा हिमालय सिटीका पूर्व अध्यक्ष एवं सिनियर एड्भाइजर गोविन्द काफ्लेले गरेका थिए । 

काठमाडौं:  नेपाली कांग्रेसले भदौ अन्तिम साता बीपी साहित्य महोत्सव गर्ने भएको छ । ११० औं बीपी जयन्तीको अवसर पारेर कांग्रेसले पार्टीसम्वद्ध लेखक संघसँग मिलेर पहिलो पटक साहित्य महोत्सव गर्न लागेको हो ।   कांग्रेस कार्यालय, सानेपामा भदौ २४, २५ र २६ गतेसम्म हुने महोत्सवमा १२ वटा सेसन हुनेछ ।   महोत्सवका संयोजक एवं कांग्रेस महमहामन्त्री बद्री पाण्डेका अनुसार महोत्सवमा भारतबाट जेएनयूका पूर्व प्राध्यापक आनन्दकुमार आउने तय भएको छ ।   प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार महोत्सवका क्रममा हरेक दिन साँझ क्रमशः कविता, गजल र सांगीतिक साँझ हुनेछ भने कार्यक्रम अवधिमा चित्रकला प्रदर्शनी पनि हुनेछ । बीपी, लोकतन्त्र र कांग्रेससँग जोडिएका वृत्तचित्र र केही तस्वीर प्रदर्शन पनि हुने उनले जानकारी दिए ।

पाल्पा: पाल्पामा गएराति राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।   तानसेन–रिडी तम्घास सडक खण्डअन्तर्गत पाल्पाको तानसेन नगरपालिका–१४, अर्गलीस्थित पुरानो गाउँमा लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सल्यानको कालीमाटी गाउँपालिका– २ का ३० वर्षीय नरेश घर्तीमगरको मृत्यु भएको हो। जोर्तेदेखि अर्गलीतर्फ जाँदै गर्दा भएको दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका पश्चिम नवलपरासीको सराबल गाउँपालिका– १ का २८ वर्षीय प्रकाश थारु घाइते भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।   मोटरसाइकल आफैँ अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका दुवै जनालाई तत्काल तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएकोमा घर्तीमगरलाई चिकित्सकले मृत घोषणा गरेका थिए।   मोटरसाइकल गएराति साढे १ बजे दुर्घटना भएको थियो।

काठमाण्डौ: सरकारले अब सार्वजनिक खरिदका नमुना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने भएको छ ।   सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न खरिद ऐनलाई सामयिक बनाउने र सरल कार्यविधि निर्माणलाई पनि प्राथमिकतामा राख्न लागेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीले खरिद विषय आफैँमा जटिल र प्राविधिक विषय भएकाले यो जटिलतालाई कागजातले सरल र सहज बनाउनु आवश्यक भएको बताउनुभयो ।   उहाँले भन्नुभयो, ‘विभिन्न सरोकारवालाका सुझावअनुरुप सरल खरिद कार्यविधि र नमुना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने कामलाई प्राथमिकता दिइएको हो ।’ सचिव रेग्मीले खरिदको प्रभावकारिताले पुँजीगत खर्च बढ्ने मात्र नभइ विकास निर्माणका काममा तीव्रता आउने हुँदा सार्वजनिक खरिदलाई वित्त व्यवस्थापनको एउटा महत्वपूर्ण पाटोका रुपमा लिइ सुधारका आवश्यक काम गर्ने क्रममा सार्वजनिक खरिद ऐनलाई पनि सामयिक बनाउन लागिएको उल्लेख गर्नुभयो ।   राष्ट्रियस्तरमा प्रयोग हुने कागजातमा आउन सक्ने भाषागत समस्या निराकरण गर्न कार्यालयले त्यस्तो आवश्यकता महसुस गरेको जनाएको छ । त्यससम्बन्धी सुधार कार्यले प्रदेश र स्थानीय तहको खरिद क्षमतामा वृद्धि गर्ने र सबै सार्वजनिक निकायको खरिद क्षमतामा वृद्धि हुने कार्यालयले अपेक्षा गरेको छ ।   सार्वजनिक निकायमा सबै संवैधानिक अङ्ग वा निकाय, अदालत,सरकारका मन्त्रालय, सचिवालय, आयोग, विभाग वा त्यस अन्तर्गतका अन्य जुनसुकै सरकारी निकाय वा सबै कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ का प्रवधान पालना गर्नुपर्ने बाध्यता छ ।   खरिद प्रक्रियामा प्रतिस्पर्धा, स्वच्छता, इमान्दारिता, जवाफदेहिता र विश्वसनीयता प्रवर्द्धन गरी सार्वजनिक खरिदसम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शी, वस्तुनिष्ट र विश्वसनीय बनाउने उद्देश्यका साथ यस्तो कार्यहरु गर्न लागिएको सचिव रेग्मी बताउनुहुन्छ । यसैबीच, सार्वजनिक खरिद अनुगमन कार्यालयले यही महिनाको अन्तिम हप्ता पोखरा र हेटौँडामा प्रोक्युरमेन्ट क्लिनिक सञ्चालन गर्न लागेको छ ।   सार्वजनिक खरिद कार्य जटिल र प्राविधिक विषय भएकाले खरिद एकाइ र खरिद कार्यमा संलग्न जनशक्तिको क्षमता विकास तथा उनीहरुलाई सार्वजनिक खरिदका विषयमा आइपरेका समस्या समाधान गर्ने उद्देश्यले क्लिनिक कार्यक्रम सञ्चालन लागेको हो ।   सार्वजनिक खरिदका विषयमा आएका चुनौती सहभागीबाट व्यक्त गर्ने र विज्ञले ती समस्या समाधानका तरिका बताइदिने गरी ‘प्रोक्युरमेन्ट क्लिनिक’ अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्न लागेको हो । प्रोक्युरमेन्ट क्लिनिक एउटा सफल अन्तर्राष्ट्रिय अभ्यास भएकाले यस विधिबाट खरिद कार्यमा संलग्न जनशक्तिको क्षमता विकास गर्न सकिने विश्वास गरिएको छ ।

पोखरा:  बुहारी समुह पोखरा – ३ तेसापट्टिको आयोजनामा शनिवार निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोग तथा विद्याज डाइट एण्ड फिटनेस सेन्टर प्रा।लि र पोखरा महानगरपालिका वडा नं ३ कार्यालयको सहयोगमा कार्यक्रम गरिएको हो । पोखरा महानगरपालिकाको तेर्सापट्टि स्थित श्रीवन्त किर्ति बिहारमा आयोजित शिविरमा करिब चार सय बढीको स्वास्थ्य परिक्षण गरिएको थियो । शिविर उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष प्रकाश उदासले यस प्रकारका शिविरहरुले महिलाहरुको प्रजनन् स्वास्थ्यमा ब्यापक सुधार ल्याउन सहयोग गर्ने उल्लेख गर्नुभयो । उहाँले जनताको आवश्यकता र चाहानालाई बुझेर आफूले काम गर्ने प्रयास गरिरहेको बताउनुभयो ।   नेपाल परिवार नियोजन संघ कास्की शाखाका सभापति नवीन सिग्देलले स्थानीय सरकारसँगको सहकार्यमा कार्यक्रम गर्न पाउँदा खुशी व्यक्त गर्दै अब छिट्टै वडा सँग मिलेर अन्य कार्यक्रमहरु गर्ने अपेक्षा रहेको बताउनुभयो । त्यस अवसरमा पोखरा महानगरपालिका वडा नं ३ का सचिव चन्द्रावती वाग्ले, नेपाल परिवार नियोजन संघ कास्कीका वरिष्ठ शाखा प्रबन्धक नबराज तिवारी, विद्याज डाइट एण्ड फिटनेस सेन्टर प्रा।लिका श्रीबिद्या कायस्थ लगायतले बोल्नुभएको थियो । बुहारी समूहका अध्यक्ष निलम उदासको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एलिशा श्रेष्ठले स्वागत र सचिव ज्योती उदासले संचालन गर्नुभएको थियो ।  

काठमाण्डौ:  सुनसरीको धरानमा आज बिहानैदेखि चहलपहल शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानरमा शुक्रवार रातिदेखि लगाएको २४ घण्टे निषेधाज्ञा गएराति १२ बजेदेखि हटेको छ ।   हिजो दिनभर धरान सुनसान भएको थियो । निषेधाज्ञाका कारण मानिसहरूको चहलपहल कम थियो । धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक गाडी पनि प्रभावित भएका थिए । आज भने बिहानैदेखि चहलपहल शुरु भएको छ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धरानमा भइरहेका गतिविधिले नकारात्मक प्रभाव पार्ने भन्दै संवादको माध्यमबाट समस्या समाधान गर्न अपिल समेत गर्नुभएको छ ।   त्यस्तै, राष्ट्रिय मानवअधिकार आयोगले हिजो विज्ञप्ति निकालेर सुनसरीको धरानमा साम्प्रदायिक हिंसा भड्किन सक्नेतर्फ संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको छ । धरानमा सामाजिक एकता कायम गर्न विभिन्न राजनीतिक दल, त्यहाँका पूर्व मेयरदेखि अहिलेका मेयर हर्क साम्पाङ राई, विभिन्न सङ्घसंस्था र नागरिक समाजले पनि आग्रह गरेका छन् ।

पोखरा:    लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र नेपाल र बेलायतमा प्रदर्शनपछि हङकङमा प्रदर्शन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।  लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र हङकङमा अगष्ट ३० तारिखमा प्रदर्शन हुने भएको छ ।  ब्रेजमेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र घान्द्रुक समाज हङकङको सहयोगमा अगष्ट ३० तारिखमा जोर्डन स्थित ब्लु ओसन रेष्टुरेन्टमा बेलुका ८ बजे प्रदर्शन हुने लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले जानकारी दिए ।  ‘कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुक लगायत विभिन्न क्षेत्रमा निर्माण भएको वृत्तचित्र घान्द्रुक, पोखरा, काठमाडौंसहित बेलायतको तीन शहरमा प्रदर्शन भएको छ’, गुरुङले भने, ‘घान्द्रुकको (कोँड नाश)वृतचित्रलाई नेपाल र बेलायतपछि अगष्ट ३० तारिखमा हङकङमा प्रदर्शन गर्दै छौं ।’ लामा अमृत फाउण्डेशन घान्द्रुकका अमृत गुरुङले निर्माण गरेको उक्त वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको संगीत र सञ्जय मल्लको आवाजले सिगारिएको छ । भने बार डिजिटल पोखरामा रेकर्ड गरिएको हो । उक्त वृत्तचित्रमा तमु समुदायसँग सम्बन्धित संस्कृति त्यसैगरी प्राकृतिक सौन्दर्यता तथा कास्कीको उत्तरी भेगमा रहेको पर्यटकीय गाउँ घान्द्रुकको रहनसहन भेषभुषा तथा कला संस्कृतिलाई चित्रण गरिएको छ । लामा अमृत फाउण्डेशनले घान्द्रुक लगायत देशको विभिन्न स्थानमा सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।