बनेपामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मंगलबार राति ९ बजे बनेपा नगरपालिका-७ धनेश्वर गेट नजिकै टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। बनेपाबाट पनौती जाँदै गरेको बा-८४ प ६९५९ न को मोटरसाइकललाई विपरीत दिशाबाट आएको बा-४ ख-९९७५ न को टिपरले ठक्कर दिएको थियो। ठक्करबाट काभ्रे रोशी गाउँपालका-८ खार्पाचोकका ३९ वर्षीय सिद्धिकुमार लामा घाइते भएका थिए। घाइतेपछि उनलाई उपचारका लागि शिर मेमोरियल अस्पतालमा लगिएको थियो। उनको टाउकोमा गम्भीर चोट लागेको थियो।थप उपचारका लागि उनलाई अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो। त्यहाँ बुधबार बिहान सवा ५ बजे मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दियो।
रुकुमपश्चिम: रुकुमपश्चिममा वनको रुख फँडानी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक वडाध्यक्ष छन् । अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडाध्यक्ष ओलीसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी र ५१ वर्षीय दिलबहादुर शाह रहेका छन् । डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार वडाध्यक्ष ओलीलाई मङ्गलबार, नेपाली र केसीलाई यही असोज ८ गते र शाहलाई भदौ २९ गते नै पक्राउ गरिएको हो । उहाँहरूविरुद्ध चौरजहारी–११ स्थित जनकल्याण सामुदायिक वन र सोही स्थानमा अवस्थित सर्केना सामुदायिक वन क्षेत्रका रुख अवैध ढङ्गले फँडानी गरेको आरोप छ । आरोपी चारै जनालाई अदालतबाट पक्राउ पूर्जी जारी भएपछि डिभिजन वन कार्यालयले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ । पक्राउ परेका वडाध्यक्ष ओली २०७९ वैशाखमा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित हुनुभएको हो । रासस
बैतडी: गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको ज्यान गएको छ । ज्यान जानेमा पाटन नगरपालिका–८ हरिचन घर भइ सशस्त्र प्रहरी बाजुराको आश्रित गुल्ममा कार्यरत हवल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् । बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा गाडीले बिहान ठक्कर दिएको र उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । बाजुराबाट बझाङ जाने गाडीमा घर आएका महरा खोड्पे बजारमा झरेका र खोड्पेबाट हिँडेर घर आइरहेका बेला उनलाई गाडीले ठक्कर दिएको बताइएको छ । महरालाई ठक्कर दिने गाडीको पहिचान हुनसकेको छैन । यसैबीच महरालाई ठक्कर दिने गाडीको पहिचान गर्न माग गर्दै मृतकका आफन्तले दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्ग अवरुद्ध हुँदा अहिले तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन् । घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । महरालाई ठक्करदिने गाडीको पहिचान गर्ने कार्य र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मंगलबार दिउँसो ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोरङ कहटरीमा एक जना कर्मचारीको मृत्यु भएको छ। दुर्घटनामा परेर मोटरसाइकलमा सवार हुलाकमा काम गर्ने एक जना कर्मचारीको घटनास्थलमै मृत्यु भएको हो। पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाईकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ वर्षीय चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ख ००७७ नम्बरको ट्रकले को १३ प ३० नम्बरको कालो पल्सर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।
लडेर घाइते भएका गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर २ स्यो गाउँका वृद्ध छेन्वा दोर्जे लामाको उद्धार गरिएको छ। सामाजिक सुरक्षा भत्ता लिन गएका लामा लडेर गम्भीर घाइते भएका थिए। लामालाई नेपाली सेनाको हेलिकप्टरबाट मंगलबार उद्धार गरिएको प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईले जानकारी दिए। गम्भीर घाइते लामालाई सोमबार नै उद्धार गर्न सांसद बजगाईले पहल गरेका थिए। तर चुमनुब्री निषेधित क्षेत्रभित्र पर्ने भएकोले हेलिकप्टर उडान अनुमति लिन ढिलाइ भएको थियो। घाइते लामालाई काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। उनी सोमबार बिहान करिब ११ बजेतिर लडेका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको छ। सांसद बजगाईले निजी खर्चमा सेनाको हेलिकप्टरबाट लामाको उद्धार गरिएको बताए। बजगाई गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्। उनले आफ्नो तलबभत्ता निर्वाचन क्षेत्रका जनताको सेवामा खर्च गर्ने प्रतिबद्धता जनाएका थिए।
काठमाण्डौ: डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले आन्दोलन थालेका छन् । उनीहरुले सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । अहिले विभिन्न ठाउँबाट र्यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको टोली माइतीघर मण्डलामा भेला भइरहेका छन् भने केहीले बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । हिजो पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि कुटपिट भएको थियो । यसअघि गएको २७ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डक्टर प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । यसको विरोधमा नेपाल चिकित्सक सङ्घले ३१ गते देशभर सरकारी अस्पतालको आकस्मिक सेवा बन्द गरेर विरोध गरेको थियो । दोषीलाई कारबाही गर्ने सहमतिपछि सङ्घले आन्दोलन फिर्ता गरेको थियो । तर,हिजो फेरि डाक्टरमाथि कुटपिट भएपछि डाक्टर तथा स्वास्थ्यकर्मी कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने माग राखेर आन्दोलनमा निस्किएका हुन् ।
दमौल: डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास –२ की १३ वर्षीया बालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगत केही समयदेखि दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो अवस्थामा रहेको बताउनुभयो । कुल बिरामी सङ्ख्या एक हजार छ सयमध्ये एक हजार तीन सय ५० बिरामी नगरपालिकाको रहेको जनाइएको छ । दमौली अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेपछि नगरपालिकाअन्तर्गतका स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाउने तयारी गरिएको छ । अस्पतालमा जनशक्ति कम भएको जानकारीमा आएपछि नगरपालिकाले एक डाक्टर, दुई जना ल्याबका कर्मचारी र दुई जनालाई इमर्जेन्सीमा परिचालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । शाखा प्रमुख सोतीले भन्नुभयो, “अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेको र अस्पतालको जनशक्तिले धान्न नसक्ने अवस्था आएको जानकारी भएपछि नगरपालिकाबाट तत्कालका लागि पाँच जना कर्मचारी खटाउन लागेका छौँ ।” नगरपालिकाले टोल–टोलमा डेङ्गुसम्बन्धी सचेतनासमेत सुरु गरेको छ । सोतीले डेङ्गु नियन्त्रण रोकथामका लागि औषधि छर्कनेदेखि स्वास्थ्यसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । गत भदौ महिनाको अन्तिम सातायता डेङ्गुको सङ्क्रमण फैलिँदै गएपछि स्वास्थ्यकर्मी परिचालन गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले प्रत्येक वडा–वडामा स्वास्थ्य सचेतना सञ्चालन भइरहेको छ ।” स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जिल्लामा डेङ्गुको सङ्क्रमण बढेकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो । डेङ्गु सङ्क्रमित बढेसँगै स्वास्थ्य संस्थामा शय्याको अभाव भएको छ । दमौली अस्पतालमा अधिकांश बिरामी डेङ्गुका छन् । एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन् । दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार डेङ्गुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधँै राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् । रासस
दाङ: काठमाण्डौबाट सुर्खेतका लागि छुटेको रात्रिबस दाङमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२-००१ ख ०३६२ नम्बरको बस आज बिहान पूर्व(पश्चिम राजमार्गको लमही नगरपालिका(९ शिवखोलामा दुर्घटनामा परेको हो । घाइते भएकाहरुको उद्धार गरेर उपचारका लागि अस्पतालमा पठाउने काम भइरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकाहरुलाई भने लमही अस्पताल पठाइएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ।
पोखरा: पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान विक्री गर्ने गरेको पाइएपछि रत्नचोकमा अवस्थित मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिवाना ताेकेकाे छ । जिल्लास्तरीय बजार अनुगमन समिति कास्कीले सोमबार गरेको अनुगमनमा म्याद गुज्रेको सामान विक्री गरी उपभोक्तालाई ठगी गरेको पाइएपछि १ लाख जरिवाना गराएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समितिका संयोजक गुरुदत्त ढकालले बताए । उनका अनुसार सो स्टोर्सबाट पाँच लिटर १२ ग्यालिन तोरीको तेल लेबलिङ नभएको, मिट मसला दुई प्याकेट, चिकेन क्रेकर १० कार्टुन, चिजवल १५ प्याकेटलगायतका करिब रु २८ हजार नौ सय ६० बराबरको म्याद गुज्रेको सामान नष्ट गरिएको छ । यसैगरी दालको लेवल नलगाएको, नुनको गोदाममा सरसफाइ नगरेको भन्दै चेतावनीसमेत दिएको छ । स्टोर्सका सञ्चालक दीपक शेरचनलाई कागजपत्र लिएर तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको छ । त्यसैगरी पोखरा–३ पालिखेचोकमा रहेको गौरव ट्रेडर्समा पनि म्याद गुर्जेको १८ किलो रङ्गीन डुम्री, नरिवल, ललिपापड लगायतका सामग्री भेटिएपछि नष्ट गरिएको छ । सो स्टोर्सका सञ्चालकलाई रु १० हजार जरिवाना गरिएको छ । यस्तै सोही स्थानमा रहेको रेशमलाल श्रेष्ठको पसलमा अनुगमन गरी म्याद गुज्रेको ११ किलो सुजीसहित नष्ट गरी सो पसलको बोर्ड राख्न र दर्ता नवीकरण गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ । सो पसललाई रु ५ हजार जरिवानासमेत तोकेको छ । यी पसललाई पनि उपभोक्ता हित संरक्षण ऐनको दफा ३८ बमोजिम सम्पूर्ण कागजपत्रसहित तीन दिनभित्र जिल्ला प्रसाशन कार्यालय कास्कीमा उपस्थित हुन समितिले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय कास्की र पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराको संयुक्त अगुवाइमा गरिएको अनुगमनमा उपभोक्ता मञ्च कास्की, खाद्य तथा गुण नियन्त्रण कार्यालय पोखरा, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । समितिले आइतबार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको भागिरथ स्टोर्समा अनुगमन गर्दा म्याद गुर्जिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि सो पसललाई रु ५० हजार जरिवाना गरेको थियो ।