काठमाडौं: रसुवाको आमाछोदिङ्मो गाउँपालिका-२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । सोमबार नेशिङ्बाट आलु बोकेर ग्रे गाउँतर्फ गइरहेको बा५ख ५७८ नम्बरको आयसर मिनी ट्रक साँझ करिब पौने ६ बजे दुर्घटना भएको थियो । दुर्घटनामा आमाछोदिङ्मो-२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए । तीनै जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएकाहरुमध्ये एक जनाको खुट्टा फ्याक्चर भएकाले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अन्य भने सामान्य घाइते भएको र उपचारका लागि अस्पताल पनि पुर्याउन नपरेको प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा ९ न्यूरोडस्थित रिडर्स कर्नरमा किताब मेला शुरू भएको छ। नयाँ तथा पुराना किताब खरिदमा विशेष छुटसहित किताब मेला शुरू भएको हो। रिडर्स कर्नरका सञ्चालक विजय भण्डारीले असोज २१ गतेदेखि कात्तिक ४ गतेमसम्म किताब मेला चल्ने जानकारी दिए। हरेक वर्ष जस्तै, रिडर्स कर्नरमा किताब विशेष चाड बनाउनका लागि किताब मेला शुरू गरिएको भण्डारीको भनाइ छ। “रिडर्स कर्नरमा यसअघिका वर्षमा पनि किताब मेला हुँदै आएको छ। यो छैटौँ किताब मेला हो,” उनले भने, “चाडबाडलाई किताब विशेष बनाऔँ भनेर किताबप्रेमीलाई केही सहुलियतसहित किताब मेला शुरू गरेका छौँ।” भण्डारीका अनुसार किताब खरिद गर्दा विभिन्न छुटको व्यवस्था छ। १९ सय ९९ रूपैयाँको किताब खरिद गर्दा १० प्रतिशतसम्म छुट, २ हजारदेखि ३४ सय ९९ रूपैयाँसम्मको किताब खरिद गर्दा १५ प्रतिशत छुट पाइनेछ। ३५ सयदेखि ४९ सय ९९ रूपैयाँसम्मको किताब खरिद गर्दा २० प्रतिशत छुट र लक्की ड्र मार्फत एउटा किताब सित्तैमा पाइनेछ। यस्तै, ५ हजार रूपैयाँभन्दा धेरैको पुस्तक खरिद गर्दा २५ प्रतिशत छुट र २ वटा किताब सित्तैमा पाइनेछ। पुस्तकालयले किताब खरिद गर्दा १० हजारदेखि २५ हजार ९९९ नेपाली साहित्यको किताब खरिदमा २० प्रतिशत र अँग्रेजी किताब खरिद गर्दा १५ प्रतिशतसम्मको छुट पाइनेछ। २६ हजारदेखि ४९ हजार ९९९ रूपैयाँसम्मको नेपाली साहित्यको किताब खरिद गर्दा २५ प्रतिशत र अँग्रेजी साहित्यको किताब खरिद गर्दा २० प्रतिशत छुट पाइनेछ। ५० हजारदेखि माथिको नेपाली साहित्यको किताब खरिदमा ३० प्रतिशत र अँग्रेजी साहित्यको किताब खरिद गर्दा २५ प्रतिशत छुट पाइनेछ।
नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले विद्यालय शिक्षा विधेयक २०८० माथि १५ बुँदे धारणा सार्वजनिक गरेको छ। नेविसंघ केन्द्रीय समितिले देशभरबाट विधेयकमाथि सुझाव माग गरी १५ बुँदे धारणा सार्वजनिक गरेको हो। विधेयकमा राखिएका प्रावधानहरू विद्यार्थी केन्द्रित नभएकोले अपूर्ण र अपुष्ट रहेको नेविसंघले निष्कर्ष निकालेको अध्यक्ष दुजाङ शेर्पा बताउँछन्। विधेयकमाथि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल भइसकेको छ। विधेयक विचार गरियोस् भन्ने प्रस्ताव आइतबार सर्वसम्मतिले पारित भएसँगै संशोधन गर्न तीन दिनको समय पनि दिइएको छ।
पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु भएको छ । रामपुर नगरपालिका–१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा२क १९५७ नम्बरको जेसिबी टोक्से भन्ने स्थानमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा जेसिबी चालक दाङ शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनालगत्तै प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले घाइते खड्काको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाएकामा उपचारकै क्रममा गए राति घाइते खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।
पोखरा: कास्की प्रहरीले स्वरुप परिवर्तन (मोडिफाई) गरिएको २ दर्जन बढी मोटरसाइकललाई कारवाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा पर्व नजिकिदै गर्दा विशेष सुरक्षा योजनाअन्तरगत मोडिफाई सवारी साधनमाथि निगरानी बढाएको हो । आइतबारमात्रै करिब २ दर्जन बढी मोडिफाइड मोटरसाइकललाई नियन्त्रणमा लिइएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार बिकले बताए । उनका अनुसार स्वरुप परिवर्तन गरिएको सवारी साधनलाई कारवाही गरेबापत पछिल्लो ४ आर्थिक वर्षमा कुल ५ करोड ६८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ । चालु आर्थिक वर्षमा ४ सय ४८ वटा मोटरसाइकललाई कारवाही गर्दा ३ लाख २७ हजार, गत आर्थिक वर्ष २०७९/०८० मा १ हजार ८ सय ४५ वटा मोडिफाइ भएका सवारीलाई कारवाही गर्दा २ करोड ६२ लाख ८ हजार ५ सय रुपैयाँ, आर्थिक वर्ष ०७८/०७९ मा १ हजार १ सय ९६ वटा सवारीलाई कारवाही गर्दा १ करोड १६ लाख २ हजार र आर्थिक वर्ष ०७७/०७८ मा ९ सय ८९ वटा स्वरुप परिवर्तन गरिएको सवारीलाई कारवाही गर्दा ९५ लाख १ हजार राजश्व संकलन भएको हो । सूचना अधिकारी विकले मोडिफाइ गरेका केही मोटरसाइकलहरु नियन्त्रणमा रहेको बताउदै पहिलेकै अवस्थामा परिवर्तन गराएर अभिभावकको रोहबरमा बुझाउने बताए । ‘स्थानीयहरुको गुनासोपछि मोडिफाइ भएका मोटरसाइकलहरु केही दिनयता नियन्त्रणमा लिएका छौं’, उनले भने, ‘मोडिफाइ भएका मोटरसाइकलहरुलाई पुनः पहिलेकै अवस्थामा परिवर्तन गर्न लगाएर कारवाहीपछि अभिभावकको रोहबरमा सवारी धनीलाई बुझाउँछौं ।’ डिएसपी बिकले स्वरुप परिवर्तन गरिएको सवारीलाई नियन्त्रणमा लिने अभियानलाई निरन्तरता दिने बताए । ‘पर्व नजिकिदै गर्दा सुरक्षा योजना पनि बनिरहेको छ साथै बजार क्षेत्रर भित्रि गल्लीमा चर्काे आवाज निकाल्ने, विभिन्न किसिमबाट लुक्स परिवर्तन गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिन्छौ, उनले भने,‘पहिलो चरणमा अभिवाकलाई बोलाएर सम्झाई बुझाई कारवाही स्वरुप जरिवाना तिराउछौं । पछि पनि त्यही साधन दोहोरियो भने सवारी व्यवस्था ऐन अनुसार कडा कारवाही नै गर्छाै ।’ उनले मोटरसाइकल मोडिफाई गर्ने सवारी धनिलाई मात्रै नभएर ग्यारेजलाई समेत कानूनी कारवाहीको दायरामा ल्याउने बताए । क्रस फायर र बुलेट सबैभन्दा बढी मोडिफाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी वरिष्ठ नायब निरीक्षक शिव प्रसाद पाठकका अनुसार सबैभन्दा बढि मोडिफाई गर्ने साधनमा क्रस फायर र बुलेट रहेका छन् । मोडिफाइड बाइककै कारण ध्वनी प्रदुषण भएको पाठकले बताए । ‘सबैभन्दा बढि मोडिफाइड गर्ने बाइक भनेको क्रस फायर र बुलेट भेटिन्छ, उनले भने, साइलेन्सर पाइप नै फेरेर ठुलो आवाज निकाल्ने साइलेन्सर पाइप फेरेको भेटिएको छ । यसकै कारण ध्वनी प्रदुषण बढेको छ ।’ उनका अनुसार प्रहरी नियन्त्रणमा आएका मोटरसाइकलहरुले विभिन्न तरिकाबाट मोडिफाई गरेको भेटिएको छ । मोटरसाइकलको ऐना, ह्याण्डल, साइलेन्सर परिवर्तन गर्ने, रङ बदल्ने, फिल्टर झिक्ने, साइलेन्सरमा प्वाल पार्ने, सिट अग्लो होचो बनाउने, एक्ट्रा लाइट हाल्ने, चर्काे हर्न हाल्ने चार पाङ्ग्रे सवारी साधनमा कालो तथा रङ्गीचङ्गी स्टिकर टाँस्ने गर्ने गरेको पाइएको पाठकले जानकारी दिए । ‘यसरी मोडिफाइ गरिएको भेटिएको छ । अत्याधिक मोडिफाइ गर्ने बाइकले चाँबी नै अन्यत्र ठाउँमा सार्ने गरेको पाइन्छ, उनले भने, ‘कम्पनीबाट आको स्थानमा चाँबी काम गर्दैन, तल कुना कुनामा चाँबी हालेर अनलक गर्ने सिस्टन बनाउछन् । चाँबी कहाँ छ भन्ने हामीलाई पत्तो नै हुदैन ।’ प्राय बुलेटले साइलेन्सर र सिट फर्ने गरेको उनले बताए । ‘ठुलो आवाज निकाल्ने साइलेन्सर फेर्ने गर्छन भने लुक्सका लागि सिट सानो बनाउँछन्, उनले भने, पोखरेली बुलेट सिट भनेपछि जुनै ग्यारेजले पनि बनाइदिदो रहेछ ।’ उनले स्वरुप परिवर्तन गर्न सघाउने ग्यारेजलाईसमेत कारवाहीको दायरामा ल्याउने बताए ।
हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ । कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार ल्याप्चेमा रहेको ९खडीखेत० घाटमा तुइनबाट खसेर बेपत्ता भएका हुन्। कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा विभिन्न १८ निर्माण समूहले काम गर्दै आएका थिए। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रोङखोलामा पहिरोका कारण करिब दश घण्टादेखि थुनिएपनि अहिले खुल्न थालेको छ । केही दिनयता लगातार परिरहेको अविरल वर्षाका कारण अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुक किम्रोङखोलामा शनिबार राति पहिरो जाँदा खोला थुनिएर ताल बनेको थियो । ताल फुटेर बाढी आउने सम्भावना भएपनि अहिले बिस्तारै खोला बग्न थालेको अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष भरतमान गुरुङले बताए । उनले खोला बग्न थालेकाले टटिए क्षेत्रमा सावधानी अपनाउन आग्रह गरे । ‘किम्रोङखोलामा गएराति गएको पहिरोले खोला थुनिएको भन्दै सूचना आएको थियो, पहिरोले खोला थुनिदा एक्कासी पहिरोबाट पानी बग्दा बाढीको जोखिम थियो’, वडाध्यक्ष गुरुङले भने, ‘अहिले पहिरोले थुनिएको खोलामा बिस्तारे पानी बहाव बढ्न थालेको छ, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिराखेका छौं ।’ पहिरोले थुनिएको खोलामा बिस्तारै पानीको बहाव बढीरहेकाले अन्नपूर्ण गाउँपालिका ११, १०, ८ र ७ मोदी खोला किनारामा बस्ने स्थानीयहरुले सावधानी अपनाउन अन्नपूर्ण गाउँपालिकाले आग्रह गरेको छ ।