आजदेखि धरहरा चढ्न पैसा लाग्ने भएको छ । सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ ।   विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहु...

दाङ: दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका–११ झमरेका ६४ वर्षीय तिलकराम विकलाई पत्रे खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजनकुमार गौतमले जानकारी दिनुभयाे ।   विकलाई घर नजिकै रहेको पत्रेखोलाले आज आइतवार बिहान बगाएको हाे । ‘घरमा शाैचालय नभएका कारण विक शाैच गर्न सधैँ खोलामा जाने गर्ने गरेका थिए, त्यही क्रममा आज खोलामा गएको समयमा उहाँकलाई बगाएको भन्ने खुलेको छ’, डीएसपी गाैतमले भन्नुभयाे ।   अहिले बेपत्ता विकको खोजीका लागि प्रहरी परिचालन भएको छ ।

गोरखा:  केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण माथिबाट झरेको पहिरोले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारमा रहेको झोङगाउँका १० घर जोखिममा परेका छन् ।   चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेकोे जानकारी दिनुभयो । पहिरोसँगै आएको ढुङ्गासहितको लेदो घरमा पसेर क्षति पुर्याएको उहाँको भनाइ छ  ।   त्यस्तै, पहिरो बगेर झोङगाउँमा स्थानीयले लगाएको फापर तथा तोरी बारीसमेत नष्ट बनाएको उहाँको भनाइ छ । ुपहिरोले नजिकै रहेको चरन क्षेत्रमा समेत क्षति पुर्याएको छु, अध्यक्ष लामाले भन्नुभयो, ुघर तथा खेतबालीमा समेत क्षति पुर्याएकाले पीडित समस्यामा परेका छन् ।   पहिरो रोकथामका लागि गाउँपालिकाले आवश्यक पहल गरिरहेको जनाइएको छ। थप क्षति हुन नदिन र जोखिममा परेका घर जोगाउनका लागि ग्यावियन तारजाली हाल्ने तयारी गरिएको अध्यक्ष लामाले बताउनुभयो।   प्रहरी र जनप्रतिनिधिको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरी जोखिमको अवस्थाका बारेमा समेत जानकारी लिइसकेको उहाँको भनाइ छ ।

दमौली:   पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो । यसअगाडी मुख्य बजारभन्दा बाहेकका ठाउँमा घरटहरा हटाइएकामा अब मुख्य बजारमा काम हुने योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बजार क्षेत्रमा धुलो नउडोस् भन्नका लागि बजार क्षेत्रमा घरटहरा भत्काउन हतार नगरिएको हो । दमौली बजारको घरटहराको क्षतिपूर्ति मुआब्जाको निर्धारण पनि हालैमात्र भयो । अब धमाधम काम अगाडि बढ्छ ।” आयोजना प्रमुख सुवेदीका अनुसार दमौली बजारका घरटहराको क्षतिपूर्तिको मूल्याङ्कन हालैमात्र भएको छ । दमौली बजारमा केही असन्तुष्टि भएकाले सरोकारवालाको छलफलपछि त्यसलाई समाधान गरिने उहाँको भनाइ छ । यो खण्डमा पाँच सय पाँच घरटहरा भत्काउनुपर्नेमा हालसम्म तीन सय ५० घरटहरा भत्काइसकिएको छ । घरटहरा भत्काउँदा रु २६ करोड मुआब्जा निर्धारण भएकामा हालसम्म रु १७ करोड ५० लाख मुआब्जा वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।  व्यास नगरपालिकाले पनि आफ्नो कार्यक्षेत्रभित्र सडक केन्द्रविन्दुबाट दायाँबायाँ २५ मिटर सडक क्षेत्र भई लागत कट्टा भएकाले सो सडक क्षेत्रभित्रका संरचना हटाई सडक निर्माणमा सहयोग पुर्याउन आग्रह गरिसकेको छ । एउटा खण्डको प्रगति ३१ प्रतिशत  मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा ३१ दशमलव पाँच प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै जामुनेबाट पोखरासम्मको पश्चिमखण्डमा जम्मा आठ प्रतिशत प्रगति भएको छ । यो खण्डमा काम सुस्त छ ।  पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रको काम सुरु भइसकेको छ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । एकचालीस दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि चालु आर्थिक वर्षमा रु पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ ।  विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।  पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।  चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । 

पोखरा:    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ ।  फोनिजको २४ औं स्थापना दिवसका अवसरमा कास्की शाखाले शनिबार पोखरा ३२ लामेआहालमा रहेको राधाकृष्ण वृद्धाश्रमलाई खाना तथा खाजाका लागि खाद्यान्न सहयोग गरेको हो । खानाका लागि चामल र दाल सहित खाजाका लागि बिस्कुट भुजा लगायत खाद्य सामाग्री सहयोग गरेको फोनिज कास्कीका अध्यक्ष दिल गुरुङले जानकारी दिए । उक्त सामान वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगललाई हस्तान्तरण गरिएको उनले बताए ।   सो कार्यक्रममा फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरले विभिन्न कारणले वृद्धाश्रममा बस्न बाध्य वृद्धवृद्धालाई सहयोग गर्नु फोनिज कास्कीको प्रशसंनीय कार्य भएको बताए । ‘हुन त बाबुआमा बुढाबुढी हुँदै गएपछि वृद्धाश्रमसम्म पुग्नु राम्रो काम त होइन्,’ उनले भने, ‘तर, विभिन्न कारण वृद्धाश्रमको शरणमा रहेकाहरुलाई सहयोग गरेर फोनिज कास्की शाखाले प्रशसंनीय काम गरेको छ ।’  फोनिज कास्कीका अध्यक्ष दिल गुरुङले फोनिजको २४ औं स्थापना दिवस देशभर मनाउने क्रममा आफूहरुले वृद्धाश्रममा सहयोग गरेर मनाएको जानकारी दिए । ‘देशभर फोनिजको स्थापना दिवस मनाइएको छ । हामीले पनि केही गर्नुपर्छ भनेर वृद्धाश्रममा सहयोग गर्ने निधो गरियो,’ उनले भने, ‘पोखरा कै आसपासमा रहेको वृद्धाश्रमलाई त धेरैले सहयोग गरेको सुनिन्छ । त्यसैले हामीले धेरैले नसुनेको राधाकृष्ण वृद्धाश्रमलाई रोजेका हौं ।’ फोनिज कास्कीले आगामी दिनमा अझ प्रभावकारी र रचनात्मक कार्य गर्दै जाने उनले बताए ।  वृद्धाश्रममा ६५ वृद्धवद्धा रहेको वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगलले जानकारी दिए । फोनिज कास्की दिएको सहयोगले उनीहरुलाई केही दिनका लागि राहत हुने भन्दै सहयोग गर्ने फोनिज कास्कीलाई उनले धन्यवाद दिए ।  

पोखरा:    पोखरा ८ बगालेटोलस्थित श्री सोंपाल तमु समाज पोखराको ३४ औं वार्षिक साधारणसभा एवम पाँचौं अधिवेशन सम्पन्न भएको छ ।  शनिवार सम्पन्न अधिवेशनले दिपककुमार गुृरुङको अध्यक्षतामा २५ सदस्यीय सोपाल तमु समाज, सुनिता गुरुङको अध्यक्षतामा २६ सदस्यीय आमा समुह र प्राण गुरुङको संयोजकत्वमा ८ सदस्यीय युवा समिति गठन गरिएको छ । समाजको प्रथम उपाध्यक्षमा सावित्री गुरुङ, द्धितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, सचिवमा इन्द्रप्रसाद गुरुङ, सहसचिवमा सुर्यमान गुरुङ, कोषाध्यक्षमा क्या.सागर गुरुङ, सहकोषाध्यक्षमा सोमबहादुर गुरुङ र सदस्यहरुमा साधना गुरुङ,कृष्णकुमारी गुरुङ, सुमिता गुरुङ, मञ्जु गुरुङ, रामकाजी गुरुङ, तिलबहादुर गुरुङ, राजु गुरुङ, राजेन्द्र गुरुङ, पञ्चकुमारी गुरुङ, अशोक गुरुङ, कृष्णबहादुर गुरुङ, नरबहादुर गुरुङ, प्राण गुरुङ, विजय गुरुङ, क्षेत्र गुरुङ,जानकी गुरुङ, ओम गुरुङ र मिनप्रसाद गुरुङ रहुनभएको छ । आमा समुहको उपाध्यक्षमा मिना गुरुङ, सचिवमा रिता गुरुङ, कोषाध्यक्षमा चन्द्रवती गुरुङ, सहसचिवमा अनिता गुरुङ, सहकोषाध्यक्षमा देविसरा गुरुङ र सदस्यहरुमा जयन्ती गुरुङ, कृष्णकुमारी गुरुङ, लक्ष्मी गुरुङ, मीना गुरुङ, जलदेवी गुरुङ, तिर्था गुरुङ, तारा गुरुङ, चण्डीकुमारी गुरुङ, जयदेवी गुरुङ, रचना गुरुङ, सरस्वती गुरुङ, अमृता गुरुङ, बृद्ध गुरुङ, निर्मला गुरुङ, जानकी गुरुङ, चिनु गुरुङ, ज्ञानु गुरुङ, किरन गुरुङ, सोनी गुरुङ र बुद्धिसरा गुरुङ रहनुभएको छ । यसरी नै युवा समितिको सहसंयोकमा क्षेत्र गुरुङ, विर्जुन गुरुङ, भुपेन्द्र गुरुङ, सुविन गुरुङ, प्रताप गुरुङ र सुदर्शन गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले जानकारी दिनुभयो। शनिवार अधिवेशन सम्पन्न भएपनि सोपाल समाजको स्थापना दिवस भदौ १६ गतेबाट मात्रै नवनिर्वाचित कार्यसमितिले पदभार सम्हाल्ने गरिनछ । यस अघि वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले श्री सोंपाल तमु समाज पोखरा सबैका लागि उदाहरणीय समाज, अग्रज एवम विशेष व्यक्तित्वहरुको समाज भएको भन्दै प्रसंसा गर्नुभयो । तमु समाजहरुमा युवाको सहभागीता, आकर्षणका विषयलाई विशेष ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । समाजका संस्थापक अध्यक्ष, पोखराका पुर्व उपमेयर क्या.मानबहादुर गुरुङले साधारणसभामा समाजका सदस्यहरुको अनिवार्य उपस्थिति हुनुपर्दछ भन्दै समाज स्थापना चर्चाका साथै आगामी दिनमा समाजले ध्यान दिनुपर्ने विषयहरु प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा समाजका सचिव इन्द्रप्रसाद गुरुङले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सावित्री गुरुङले आर्थिक प्रतिवेदन र आमा समुहका कोषाध्यक्ष साधना गुरुङ प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । समाजका अध्यक्ष मोतीप्रसाद गुरुङको अध्यक्षता, प्रथम उपाध्यक्ष दिपककुमार गुरुङले स्वागत र सचिव इन्द्रप्रसाद गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।  

बलेवा:     बलेवा कालभैरवको प्रचारप्रसार र प्रवर्द्धनका लागि ‘हरेलो मेला’को तयारी गरिएको छ । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित कालभैरव मन्दिर परिसरमा भदौको पहिलो मङ्गलबार (भदौ ५ गते) हरेलो मेला गर्न लागिएको हो ।  वर्षायाममा रोपेको धानमा कटाहा (मुसा) नलागोस्, बाली नमासियोस्, पाकेको बाली सहजै भित्र्याउन सकियोस् र अन्न राम्रो उत्पादन होस् भन्ने कामना गर्दै हरेक वर्ष भदौको पहिलो मङ्गलबार हरेलो पर्व मनाउने प्रचलन बागलुङमा छ । घर तथा खेतमै पुगेर गरिने हरेलो पूजा खेतीबाली र जमिनको पूजा हो । यसलाई प्रकृति अर्थात् जमिनको पूजा पनि भन्ने गरिन्छ ।  बर्खामा धान र कोदो रोपाइँ सकेपछि हरेलो पूजा गर्ने हुँदा हरेलो गरेपछि खेत जोतेको र रोपाइँ गरेको देख्नु हुँदैन भन्ने मान्यता पनि छ । हरेलोको दिन खेतमा धूपसहित पूजा गरेर मास, चामल, गहुँ, फापर, तोरी आदिबाट तयार पारिएका विभिन्न परिकार तयार गरी चढाउने गरिन्छ । पूजापछि यी परिकार खुर्किएको काठको टुक्रामा राखी मकैको खोस्टामा बाँधेर पोको पारी काठको लिङ्गो बनाई त्यसमा झुन्ड्याएर खेतमा राखिदिने प्रचलन छ । यसरी गाडेका वस्तुले रोग र किराबाट खेती जोगाउने मान्यता छ । त्यसैपछि धूप बालेर खेत तथा तरकारीका झालमा धूपाउने गरिन्छ । हरेक वर्ष भदौको पहिलो मङ्गलबार यसरी गरिने पूजा हरेलो पूजा हो र यसलाई स्थानीय भाषामा हरेलो गर्ने पनि भन्ने गरिएको छ ।     बागलुङमा पछिल्लो समय हरेलो पर्व मनाउने अर्थात् हरेलो गर्ने चलन घट्दै गएकाले यो परम्परालाई जोगाइराख्नुपर्ने बताउनुहुन्छ ज्योतिष पण्डित विष्णुप्रसाद पाठक । “हरेलो पूजा खासगरी प्रकृति एवं भूमिको पूजा हो । भूमिको पूजा गर्दा प्रकृतिप्रतिको मानिसको प्रेम रहिरहनुका साथै भूमिले नै अन्न उत्पादन गरी मानव एवं चराचर प्राणीको अस्तित्व राख्ने भएकाले यसप्रतिको सम्मान भावसहितको  पूजाले स्वतः खेतीपातीको सुरक्षा हुने मान्यता छ ।”  बाइसे–चौबिसे राजाका पालादेखि बलेवा कोटअन्तर्गतका सबै क्षेत्रमा भदौको पहिलो मङ्गलबार हरेलो पर्व मनाउने चलन रहेको ऐतिहासिक तथ्य भेटिन्छ । खेतीपाती सकेपछि खेतीमा कीराफट्याङ्ग्रा नलागोस् र बाढीपहिरो नआओस् भनेर यो पर्व मनाउने चलन रहेको बलेवा, पैयूँपाटाका भवानीप्रसाद रिजालले बताउनुभयो । “बलेवा क्षेत्रमा न्वाई खाने, पुली लिने, हरेलो गर्नेजस्ता अनौठा चलन छन्, यी प्रचलन पुराना हुन्”, रिजालले भन्नुभयो, “हाम्रो संस्कार र संस्कृति झल्किने यस्ता पर्वको प्रवर्द्धन आवश्यक छ ।” परम्परागतरुपमा मनाइने हरेलो पर्व बिस्तारै लोप हुन लागेकाले यस परम्परालाई आगामी पुस्तासम्म जोगाइराख्न यसैका माध्यमबाट भैरवस्थानको प्रचार गर्न गत वर्षदेखि यहाँ हरेलो महोत्सव गर्ने गरिएको छ । हरेलोका दिन भैरवस्थानमा पनि पूजा हुने र यहाँ परम्परागत मेला पनि लाग्ने भएकाले यो परम्परालाई निरन्तता दिन यसै दिन मेलाको आयोजना गर्न थालिएको यहाँका स्थानीय एवं बागलुङ नगरपालिका वडा नं १२ का पूर्वअध्यक्ष गुरुदत्त पाठक बताउनुहुन्छ ।  यो ऐतिहासिक मेला भएकाले भैरवस्थानको प्रचारप्रसार र धार्मिक पर्यटन विकासमा ठुलो अर्थ राख्ने तथा यहाँको स्थानीय परम्परालाई संस्थागत गर्न महत्त्वपूर्ण सहयोग पुग्ने उहाँको भनाइ छ ।  बलेवा क्षेत्रमा नै पर्ने संसारकै दोस्रो अग्लो बञ्जीजम्प, यान्त्रिक पुल, कालीगण्डकीमाथि बनेका अग्ला र लामा पुल तथा जैमिनी धाम, गाजाको दहक्षेत्र र जैमिनीको हाँडिकोटलाई समेत यहाँबाट जोड्न सकिने भए पनि बागलुङको पर्यटन बत्तीमुनिको अँध्यारोको अवस्थामा रहेको र सम्भावनाका तुलनामा यसको प्रचार गर्न नसकिएको प्रसङ्ग उल्लेख गर्दै धार्मिक पर्यटनको विस्तार र विकासका लागि मेला महोत्सवहरूको आयोजना गर्नुपर्ने गण्डकी प्रदेश सभा सदस्य कृष्ण पाठक बताउनुहुन्छ ।  नेपालमा आउने करिब आधा पर्यटक पोखरा आउने भए पनि पोखरा पुगेकामध्ये अतिन्यून पर्यटकमात्र बागलुङ पुग्ने गरेका प्रसङ्ग उल्लेख गर्दै सदस्य पाठकले गण्डकी प्रदेशको सुप्रसिद्ध देवस्थल कालभैरवमा यस प्रदेशका धार्मिक तथा आन्तरिक पर्यटक ल्याउन नसकिएको अवस्थामा यस्ता मेला महोत्सव गरी यहाँको स्थानीयताको देशव्यापी प्रचारप्रसार गर्न सकिएमा जिल्लाको मात्र नभएर गण्डकी प्रदेशकै पर्यटकीय विकासमा टेवा पुग्ने धारणा राख्नुभयो ।     बागलुङ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सञ्जय श्रेष्ठले अधिक सम्भावना बोकेर पनि पछि परेको बागलुङको पर्यटनलाई उजागर गर्न तथा यहाँको स्थानीयताको प्रवर्द्धन गर्न कालभैरवस्थानमा गरिने हरेलो महोत्सवले सहयोग पुग्ने बताउनुहुन्छ । खासगरी यस्ता मेला महोत्सवहरुमा आफ्ना स्थानीय उत्पादन एवं मौलिकताहरूको पहिचान गराई देशव्यापी बनाउनुपर्ने उहाँको भनाई छ ।  यो पर्वका अवसरमा कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । दसैँको नवदुर्गा एवं विशेषगरी महानवमी र हरेलोमा कालभैरव मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको बागलुङ नगरपालिका वडा नं १२ का वडाध्यक्ष कोपिलामणि शर्माले बताउनुभयो ।  उहाँले बलेवा कालभैरव साबिकको पश्चिमाञ्चलकै प्रसिद्ध तीर्थस्थल भए पनि यसको महत्त्व र पौराणिक तथ्यलाई देशव्यापी बनाउन नसकिएकाले हरेलो महोत्सव एवं अन्य प्रचारप्रसारका कामलाई वडाले आगामी दिनमा अघि बढाउने बताउनुभयो । गतवर्षबाट सुरु गरिएको यस मेलालाई निरन्तरता दिन लागिएको बलेवा कालभैरव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताउनुभयो । “दोस्रो पटक हामीले मेला आयोजना गर्दैछौँ, यसअघि भदौ पहिलो साता भैरवस्थानमा परम्परागत पूजाआजा मात्रै हुने गरेको थियो”, ढकालले भन्नुभयो, “मेलामार्फत् बलेवा कालभैरवको प्रचारप्रसार र प्रवर्द्धन सहज हुन्छ, पहिलो हरेलो मेलाले हामीलाई धेरै सिकाएको छ ।” यसपटकको मेलामा विष्णु खत्री, कृष्ण अखेली, राजन कार्की, राजेन्द्र सापकोटा, सीता परियार, कमला गैरे लगायतका कलाकारहरूको प्रस्तुति पनि रहनेछ ।  मेलामा भजन, पञ्चेबाजा, तीज एवं लोक गीत लगायतको प्रस्तुति र छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको छ । विभिन्न झाँकी तथा कलाकारको प्रस्तुति मेलामा रहने अध्यक्ष ढकालले बताउनुभयो । मेला व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको छ । भैरवस्थान पुग्ने सडक सरसफाइ, मन्दिर परिसर सरसफाइ, शौचालय र खानेपानीको व्यवस्थापनलगायतका काम सुरु भइसकेका छन् ।   हरेलो मेलामा आउने पर्यटकले बागलुङकै पर्यटकीय घरबासको गाउँ भनेर चिनिने भकुण्डे, भकुण्डे भ्यू–टावर, मूलाबारी पर्यटकीय क्षेत्र नजिकैबाट अवलोकन गर्न सक्छन् । भैरवस्थान आउने पर्यटकलाई बलेवा क्षेत्रमा रहेका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा पुर्याउनका लागि पहल गरिने पनि मेला आयोजक समितिले जनाएको छ ।   कालभैरवको दर्शन तथा पूजाले घरपरिवारको दुःख नाश हुने र सुखशान्ति प्राप्त हुने विश्वासले यहाँ आउने गरेको पर्वतको कुश्मा नगरपालिका–८ की पार्वती पौडेलले बताउनुभयो । पछिल्लो समय पशुबलिको तुलनामा फलफूल चढाउने संस्कृति विकास हुँदै गएको छ । तर पशुबलि दिने चलन पनि अन्त्य भई नसकेको स्थानीय नन्दप्रसाद घिमिरेले बताउनुभयो ।   कालभैरवमा गण्डकी प्रदेशका पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, नवलपुर, कास्की, तनहुँ, लमजुङ र लुम्बिनी प्रदेशका गुल्मी, प्युठान, अर्घाखाँचीका साथै काठमाडौँ र चितवनबाट दर्शनार्थी निरन्तररुपमा आउने गरेका छन् । बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारदेखि १७ किलोमिटर दुरीमा भैरवस्थान मन्दिर पर्छ । बजारदेखि यहाँ सवारीसाधनमा एकदेखि डेढघन्टामा र पैदल हिँडेर बढीमा तीन घण्टामा पुग्न सकिन्छ ।  साबिकका छ वटा गाविसलाई १८औँ शताब्दीमा बलेवा राज्य मानिन्थ्यो । बलेवा कोटमा रहेका कालभैरवले छ वटै गाविसका किसानलाई रक्षा गर्छन् भन्ने मान्यता पनि रहिआएको छ । बलेवामा बाइसेचौबिसे राजाका पालामा विसं १८४२ मा बलेवा कालभैरव स्थापना गरिएको इतिहासका अध्येता डा आरुणी आचार्य बताउनुहुन्छ । यसरी यहाँ मन्दिर स्थान भएदेखि नै करिब दुई सय वर्षअघिदेखि चलेका विविध परम्परा र संस्कृति अहिलेसम्म पनि बलेवा क्षेत्रमा कायम नै छन् ।

बाग्लुङ: राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर १७ घण्टादेखि अवरुद्ध भएको छ । करिडोरको बाग्लुङ खण्डमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा बिहीवार हिजो बेलुका साढे ५ बजे माथिबाट झरेको पहिरोका कारण सडक अवरुद्ध भएको छ।   सडक खुलाउने प्रयास भइरहे पनि कहिलेबाट सञ्चालनमा आउँछ भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरोले सडकमा ठूलो क्षति पुर्‍याएको हुँदा सफाइ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।    सडक अवरुद्ध हुँदा यातायात ठप्प भएको छ। करिडोर अवरुद्ध भएपछि  बाग्लुङको कुश्मिसेरा, बलेवा, बरेङ लगायतका ठाउँबाट बाग्लुङ, पोखरा, काठमाण्डौ जाने गाडी सडकमै अलपत्र परेका छन् ।   

बाढी- पहिरोका कारण दुई वटा राजमार्ग दुई स्थानमा अवरूद्ध भएको सडक विभागले जानकारी दिएको। विभागका अनुसार विभिन्न राजमार्गहरू ३३ ठाउँमा एकतर्फीरूपमा सञ्चालनमा रहेको छ।   पहिरोका कारण अवरूद्ध भइरहने मुग्लिन-नारायणगढ सडक भने अहिले दुवैतर्फ सञ्चालनमा रहेको छ।   विभागले वेबबसाइटमा अद्यावधिक गरेको विवरणअनुसार धनगढी,सहजपुर,वुडर,स्याउले, सतबाँझ,थाकतोली,दार्चुला,टिङ्कर जोड्ने सडक कैलालीको बुढीतोलामा अवरूद्ध छ। यस्तै तमोर कोरिडोर अन्तर्गत चतरा,मुलघाट,माझीटार,अमरापुरडाँडा,गणेशचोक जोड्ने सडक पाँचथरको हेवाखोलामा अवरूद्ध छ।   विभागले जानकारी दिएअनुसार मनसुन सुरू भएयता विभिन्न राजमार्गहरू १७३ स्थानमा अवरूद्ध भएका थिए। अहिले १३८ स्थानमा दुवैतर्फ सञ्चालनमा आइसकेका छन्। विभागले उल्लेख गरेअनुसार यस वर्षको मनसुनजन्य विपद्बाट सडक भत्कँदा १ अर्ब २६ करोड ५६ लाख ५० हजार रुपैयाँ बराबर क्षति भएको छ।   पुलपुलेसा, कल्भर्ट बगाउँदा २५ करोड रूपैयाँ बराब क्षति हुन पुगेको विभागको आकलन छ।

पाँचथर: पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेकगाउँमा आगलागीमा परेर एक जनाको ज्यान गएको छ ।   बुधवार बिहान घरसँगै रहेको भान्साघरमा आगो लागेको र छानो खसेर थिच्दा लेकगाउँकी ५५ वर्षीया सरिता राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।   आगलागीको कारण थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले जानकारी दिनुभयो ।