काठमाण्डौ: नेपालले सिक्किममा बेपत्ता भएका इलामका पाँच जनाको खोजीका लागि भारतीय सुरक्षानिकायलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय इलामले भारतीय सुरक्षाकर्मीलाई खोजीका लागि अपिल गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले भारतीय सुरक्षा अधिकारीलाई बेपत्ताबारे जानकारीसहित उनीहरूको खोजीका लागि अपिल गरिएको जानकारी दिनुभयो । गएको १७ गते टिस्टा नदीमा बाढी आएपछि यो क्षेत्रमा काम गर्न गएका इलामको इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुसी बस्नेत र कुमार बस्नेतलगायत सम्पर्कविहीन छन् । बाढी गएको ठाउँमा टेलिफोन र विद्युत् सेवा अवरुद्ध भएकाले सम्पर्क हुन नसकेको भारतीय निकायले जानकारी गराएको छ ।
काठमाडौंको सुन्धारास्थित एक होटलमा युवती मृत फेला परेकी छन्। काठमाडौं महानगरपालिका वडा नम्बर ११ सुन्धारास्थित श्री गुरू गेष्ट हाउसमा युवती मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत सोमबार मृत फेला परेको प्रहरीको भनाइ छ। उनी उक्त होटलमा गत असोज ८ गतेदेखि बस्दै आएकी थिइन्। उनी उक्त होटलको कोठा नम्बर ६०४मा बस्दै आएकी थिइन्। सोमबार बिहान साढे ८ बजे कोठा नखुलेपछि संचालकले प्रहरीलाई खबर गरेको थियो। प्रहरी वृत्त जनसेवाबाट प्रहरी नायब उपरीक्षक भेषराज रिजालको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी पुग्दा पनि ढोका बन्द नै थियो। पछाडि रहेको झ्यालबाट हेर्दा युवती सुतिरहेको अवस्थामा रहेको र बोलाउँदा पनि नबोलेपछि आफन्तलाई घटनास्थलमा बोलाइएको थियो।
इटहरीमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। इटहरी उपमहानगरपालिका-१७ की ३२ वर्षीया कमला तामाङको हत्या गरेको आरोपमा भोजपुर साल्पा सिलिचोक गाउँपालिका-९ बस्ने ४९ वर्षीय निमा तामाङ पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ हो। सामान्य विवादमा निमाले कमाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। उपचारको क्रममा सोमबार न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाण्डौ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमवार काठमाण्डौ आएका धामीले टिभीको भित्रपट्टी लुकाइछिपाइ ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका इन्द्रचोकस्थित आकाश भैरव मन्दिरमुनि भएका पसलहरू हटाइएको छ। गत बिहीबार झन्डै १२ वर्षअघिदेखि सञ्चालन भइरहेको ७ वटा पसलहरू बन्द गरिएको आकाश भैरव सञ्चालन समितिका सचिव श्याम महर्जनले जानकारी दिए। उनका अनुसार पसल सञ्चालकहरू र गुठी समितिको सहमतिमा ती पसल मन्दिरमुनिबाट हटाइएका हुन्। स्थानीय र सम्पदा अभियानकर्ताहरूले मन्दिरको मुनि जुठो गर्न नहुने र फोहोर भएको बताउँदै आएका थिए, उनले भने, हनुमानढोका सम्पदा संरक्षण विभागले तीन महिनाअघि ती पसल हटाउन पत्राचार समेत गरेको थियो। यस्तै, सम्पदा संरक्षण गर्नुपर्ने र महानगरपालिकाबाट समेत ट्राफिक व्यवस्थापनमा सहयोग हुने बताइएपछि असोज १५ गतेदेखि पसलहरू हटाउने सम्झौता भएको उनी बताउँछन्। असोज १५ गते हटाउने सम्झौता भए पनि पसलेहरूले १८ गतेदेखि पूर्ण खाली गराइदिनुभएको थियो, उनले भने। पसल सञ्चालकहरूले प्रतिपसल वार्षिक १८ हजार रुपैयाँ गुठीलाई बुझाउँदै आएका थिए। आकाश भैरवमुनि चार वटा लस्सी पसल, दुई वटा जुत्ता पसल र एउटा मोबाइल पसल थियो।
काठमाण्डौ: झापामा राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ परेका छन् । हिजो दिउँसो जुम्लाको सिँजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका-४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका-८ का २३ वर्षीय कमल खनाललाई घुससहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हल्दिबारी गाउँपालिकामा उनीहरु कार्यरत थिए । हल्दिबारी वडा नं १ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार रुपैयाँ लिएपछि घटना सार्वजनिक भएको हो । पौडेलले उनीहरुविरूद्ध जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराएपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।
कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन्। ' टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले दिएको जानकारी अनुसार घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमबार मृत्यु भएको थियो भने सुस्मिताको आइतबार बेलुकी नै मृत्यु भएको थियो। बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले टोकेर घाइते भएको प्रमुख बस्नेतले । उनीहरूलाई गाईगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिङ्गालले टोकेको थियो। अरिङ्गालले टोकेपछि तत्काल स्वास्थ्यकर्मीलाई खबर नगर्दा बालिकाको मृत्यु भएको प्रमुख बस्नेतले बताए।
-कैलाली भजनीका वीरेन्द्र चौधरी दक्षिण इजरायलको किबुज अलुमिमस्थित हामी रहेको कृषि फार्ममा शनिबार बिहान साढे पाँच बजे नै गोली चलेको आवाज आयो । हामी एकै ठाउँमा १७ नेपाली थियौँ । सबैजना तत्काल बंकरमा छिर्यौँ, किनभने हामीलाई गोलाबारीको आवाज आउना साथ ‘बंकरमा बस्नू सुरक्षित हुन्छ’ भनिएको थियो । हामी बंकरमा गयौँ, फोटो–भिडियो बनायौँ । एक घन्टापछि (अन्दाजी ६:३० तिर) बन्दुकधारी आतंककारीहरू बंकरभित्र प्रवेश गरेर गोली चलाए । सुरुमै हाम्रा दुई साथी ढले । बाँकी सबै एकै ठाउँ घोप्टो पर्यौँ, आँखा बन्द गर्यौँ । त्यहाँ दुईवटा ग्रिनेड छाडेर आतंककारीहरू फर्किए । हाम्रा एक साथीले एउटा ग्रिनेट उठाएर फालिदिए, अर्को पड्कियो । अरू तीन साथी पनि घाइते भए । त्यसपछि तीनजना इजरायली प्रहरी हामी भएको बंकरमा आइपुगे । घाइते पाँच साथीलाई त्यहीँ छाडेर प्रहरीले हामी १२ जनालाई अर्को बंकरमा लग्यो । त्यो भान्सा भएको बंकर थियो । तर, साढे ९ बजेतिर उक्त बंकरमा पनि आतंककारीहरू आइपुगे । तीन इजरायली प्रहरीलाई समातेर लगे अनि हामीतिर गोली वर्षाउन थाले । साथीहरू पानी, पानी भन्दै ढले । सुरुमा दुईजना साथीहरूको प्राण गयो । यस्तो आतंकित अवस्था भयो कि म अहिले बताउन सक्दिनँ । साथीहरू चिच्याउन थालेपछि आतंककारीले झन् गोली वर्षाए । म साथीहरू ढलेको थुप्रोभित्र पुरिएँ । पछि थाहा भयो, १० साथीको प्राण गइसकेछ । आफू बाँचेको पनि धेरैपछि मात्र थाहा भयो, किनभने मेरो होस गुमेको रहेछ । अर्को साथी सल्यान त्रिवेणीका प्रमोद केसी पनि बाँचेका रहेछन् । मलाई म मात्रै बाँचेजस्तो लागेको थियो । प्रमोदलाई पनि ऊ मात्रै बाँचेजस्तो लागेको रहेछ । आफ्नै आँखाअगाडि साथीहरूको मृत्यु देखेपछि दिनभर त्रासमा रह्यौँ । साँझ साढे ६ बजे इजरायली आर्मी आए । हामीलाई अर्को ठूलो बंकरमा लगे । साथीहरूको शव त्यहीँ छाडेर हामी अर्को बंगरमा जानुपर्ने बाध्यता भयो । त्यहाँ थाई र इजरायली नागरिक पनि थिए । इजरायलको आर्मीले हामीलाई बीचबाटोसम्म उद्धार गर्यो, आधा बाटो बसमा यात्रा गर्यौँ । त्यसपछि नेपाली दाइहरू लिन आउनुभएको रहेछ । उहाँहरूसँगै तेलअभिभमा आएर बसेका छौँ । आँखैअगाडि साथीहरू भकाभक ढलेको त्यो घटना म सम्झिन पनि सक्दिनँ । जीवनमा यस्तो घटना न देखेको थिएँ, न कल्पना गरेको थिएँ । बंकर सेफ (सुरक्षित) हुन्छ भन्ने थियो, त्यो पनि सुरक्षित नभएपछि कहाँ जाने ? कसरी सुरक्षित हुने ? चार साथीहरूको उपचार भइरहेको सुनेका छौँ, एक साथीको अहिलेसम्म अत्तोपत्तो छैन । हामी नेपाल फर्किन चाहन्छौँ । अरू साथीहरूको पनि उद्धार गरेर एकैचोटि नेपाल फर्काउने भनिएको छ । यो खबर नयाँ पत्रिकामा छापिएको छ ।