पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

बडीमालिकाको जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ। त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढाको मृत्यु भएको हो।   बडीमालिकाको दर्शन गर्न गएका बुढा अक्सिजन अभावका कारण बाटोमै अचेत भएका थिए। अचेत अवस्थामा भेटिएका उनको दुर्गाभञ्जन गुल्म बाजुराद्वारा सञ्चालित स्वास्थ्य शिविरमा उपचारका क्रममा गए राति मृत्यु भएको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले बताए।   यस्तै अक्सिजन अभावका कारण अचेत भएकी कैलालीको अत्तरियाकी ६३ वर्षीया ईश्वरी बोहोराको सेनाको स्वास्थ्य शिविरमा उपचार भइरहेको छ।   बिरामी बोहोरालाई थप उपचारका लागि अन्यत्र लैजान नेपाली सेनाको हेलिकोप्टरका लागि पहल भइरहेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सेनाले बताए।   यसअघि अक्सिजन अभावका कारण बिरामी भएका कालिकोटको पलाता गाउँपालिका–१ का धनप्रसाद न्यौपानेको उद्धारपछि सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको थियो।   यस्तै सेनाको हेलिकोप्टरमा उद्धार गरिएका बझाङको जयपृथ्वी नगरपालिका–९ की झुपु धामीलाई उपचारपछि घर फर्काइएको छ।

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।   मृत्यु हुनेमा बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीका बुवा ७२ वर्षीय जनकलाल चौधरी छन्।   उनलाई मंगलवार साँझ नुहाउने क्रममा पानीको मोटर चलाउने क्रममा विद्युतको तारबाट करेन्ट लागेको थियो।   बेहोस भएका चौधरीको धनगढीको निर्सग अस्पतालमा उपचारको क्रममा मंगलवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए।

पाल्पा:   पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका-७ की ५० वर्षीया मनकला चुँदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवल्दार अन्दाजी वर्ष ३२ का यमबहादुर गोदार र पोखरा महानगरपालिका– २५ का विनोद तिम्सिना रहेका छन्।   अन्य ८ जना घाइते भएका छन् ।   गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको जिपमाथि पहिरोसँगै ढुंगा खसेको रिब्दीकोट गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रसाद पोख्रेलले जानकारी दिए।   ‘त्यहाँ सडक चौडा गर्ने काम भइरहेको थियो। पहिरो गइहाल्ने ठाउँ होइन, गुडिरहेको जिपमाथि ठूलो ढुंगा खसेछ। घटनास्थलमै तीनजनाको मृत्यु भयो,’ पोखरेलले  भने।   उनका अनुसार पहिरोसँगै खसेको ढुंगा जिपको पछाडि भागमा लाग्दा घटनास्थलमै तीनजनाको मृत्यु भएको हो । घाइते पाँचजनाको पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए।

पोखरा:  विश्व हिन्दु महासंघले संस्कृतविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’को उपाधि दिएको छ ।   यस उपाधिसँगै महासंघको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ ।    सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विश्व हिन्दु महासंघको चुनौती विषयक प्रवचन गोष्ठीमा डा गुरुङलाई उपाधिसहित सम्मान गरिएको हो ।    समाजसेवी शोभित उप्रेतीको सक्रियतामा दोलखाको चरणावती त्रिवेणीधाम विकास प्रवर्द्धन संघले गुरुङलाई सो उपाधि प्रदान गरेकोमा महासंघले यसलाई अनुमोदन गरेको हो ।    सम्मान ग्रहण गर्दै डा गुरुङले आगामी जीवन सामाजिक कल्याणमा लगाउने बताए ।   उनले नेपालको सद्भाव कायम राख्न ¥याली भन्दा पनि धर्म र संस्कृतिको व्याख्या गर्ने बेला आएको धारणा राखेका थिए ।  

सराङ्गकोट बहुउद्धेश्यीय सहकारी संस्थाले बृहत महिला भेला सहकारी शिक्षा कार्यक्रम गरेको छ । संस्थाले हरेक वर्ष महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा सचेतना सहितको कार्यक्रम गर्दै आएको छ ।    संस्थामा रहेका महिला शेयर सदस्यहरुलाई कार्यक्रमको माध्यमले सहकारी ऐन, नियमको जानकारी सहित आपसी सम्बन्धको विस्तार गराउने उद्धेश्यले कार्यक्रम गरिदै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए । कार्यक्रमको शुभारम्भ गर्दै संघीय सांसद विद्यादेवी भट्टाराईले सहकारीमा महिलाको सहभागिता हुनु महत्वपूर्ण रहेको र सहकारीको माध्यमबाट हुने रचनात्मक, सामाजिक, आर्थिक कार्यक्रमहरुले सकारात्मक सन्देश सहित  देशको आर्थिक सहभागितामा सहयोग पुगेको बताइन् ।   सहकारीको मुख्य खम्बा शेयर सदस्य नै रहेकोले कस्तो सहकारी बनाउने जिम्मेवारी संचालक सहित सवै सदस्यहरुको भूमिका महत्वपूर्ण रहने बताईन् । २०६३ मा स्थापित संस्थाले सदस्यहरुको लागी आर्थिक सङ्गै रेडियो सराङ्गकोटको संचालन गर्दै हाल ६४ करोड कुल कारोबार गर्दै आएको कोषाध्यक्ष राममणि पौडेलले बताए ।    कार्यक्रममा संस्थाका सल्लाहकार रोहितराज बास्तोला, शोभियत बहादुर अधिकारी, पुर्व अध्यक्ष प्रेम बहादुर जि.सी, सृजना विकास केन्द्रका पूर्व अध्यक्ष इन्द्र पौडेल, राष्ट्रिय सहकारी बैँकका प्रबन्धक नरेश पाण्डे, सल्लाहकार इन्द्रकमल मानन्धर, लक्ष्मी पाण्डे , सचिव कुल सुवेदी, महिला समिति संयोजक माया कुमारी शर्मा, संस्थाका व्यवस्थापक सुरेन्द्र थापा, रेडियो सराङ्गकोटका व्यवस्थापक योगेन्द्र श्रेष्ठ लगाएतले आ– आफ्नो धारणा राखेका थिए ।   कार्यक्रममा राष्ट्रिय कलाकार युवराज भण्डारीको विशेष गाईजात्रे प्रस्तुती सहित विविध साँस्कृतिक प्रस्तुतीहरु राखीएको थियो ।

नवलपुर: नवलपुरको विभिन्न विकासका विषयमा जिल्लाको टोलीद्वारा प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराएको छ ।    जिल्ला समन्वय समिति नवलपुरको समन्वयमा संघीय तथा प्रदेश सांसद, पालिकाका जनप्रतिनिधि ,जिल्लाका राजनीतिक दलका प्रतिनिधि लगायतको सँयुक्त उपस्थितिमा प्रधानमन्त्री समक्ष जिल्लाको विकासका विषयमा ध्यानाकर्षण गराएको हो ।   जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले जिल्लामा विभिन्न योजना तथा बजेट सुनिश्चितताको माग गरिएको बताए ।   उनले नमूना सदरमुकामको काम अघि बढ्न नसकेको र गत वर्षको बजेटसमेत फ्रिज भएको हुदाँ उक्त कार्यलाई तत्काल अगाडि बढाउनका लागि कार्यक्रममा समावेश गरी आवश्यक बजेट  व्यवस्था गरिदिन ध्यानाकर्षण गराइएको प्रमुख विश्वकर्माले जानकारी दिए ।   उक्त टोलीले बुझाएको पत्रमा नवलपुर (ब.सु.पू.) जिल्लाको गण्डकी प्रदेश राजधानी जोड्ने पहाडी मार्गलाई छिटो सम्पन्न गर्न जोड दिनुपर्ने,  जिल्लाको नमुना सदरमुकाम हुँदै बग्ने केरुङ्गे खहरे खोला लगायत जिल्लामा अवस्थित अन्य खोलाहरु मानवबस्ती भन्दामाथी भएकाले सोबाट निकट भविष्यमा कावासोती बजार र अन्य क्षेत्रमा पर्न सक्ने जोखिमलाई ध्यान दिँदै खोला व्यवस्थापनका लागि बजेटको व्यवस्था गर्नुपर्ने, नवलपुर (ब.सु.पू.) जिल्लामा पर्ने नेपालकै सबैभन्दा ठूलो धौबादी फलाम खानी संचालनमा ल्याउन आवश्यक बजेट व्यवस्था गर्नुपर्ने, नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्लाको नाम परिवर्तन गरि नवलपुर जिल्ला नामाकरण गर्नु पर्ने, दुम्कीबासबाट त्रिवेणी जोडने सडकलाइ तत्काल संचालनमा ल्याउनु पर्ने,  प्रदेश औद्योगिक क्षेत्र लोकाहाको कार्य अगाडी बढाउनु पर्ने उल्लेख छ ।     जिल्ला समन्वयको संयोजनमा पुगेको टोलीमा संघीय सांसद डा. शशांक कोइराला, प्रदेश सांसद रोशन बहादुर गाहा, दमयन्ती रूचाल, देवचुलीका नगर प्रमुख हरिप्रसाद न्यौपाने, गैंडाकोटका मेयर मदन भक्त अधिकारी , विनयी त्रिवेणीका अध्यक्ष घनश्याम गिरी, माओवादी केन्द्रका नेता किसन शर्मा लगायत विभिन्न राजनीति दलका व्यक्तिको सहभागीता रहेको थियो ।   प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नवलपुरको भूगोलका विषयमा आफू जानकार रहेको र उठाएका विषय सम्बोधनका लागि पहल गर्ने धारणा राखेका थिए ।  

तनहुँमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन्।   ऋषिङ गाउँपालिका- ६ स्थित ज्यामिरेमाई आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा पक्राउ परेका हुन्। उनी त्यहीँका स्थानीय हुन्।    थापाविरूद्ध भदौ ३ गते सोही विद्यालयमा पढ्ने १२ वर्षीया छात्रालाई बलात्कार गरेको उजुरी प्रहरीमा आएको थियो। त्यसपछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अबदेश विष्टले बताए।   थापालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको एसपी विष्टले जानकारी दिए।

मोरङको उर्लाबारीमा टिपर र मोटरसाइकल जुध्दा  एक जना चिकित्सकको मृत्यु भएको छ।   दुर्घटनामा  सप्तरीका २८ वर्षीय चिकित्सक निरज यादवको मृत्यु भएको हो।    मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालका अनुसार पूर्व(पश्चिम राजमार्गको उर्लाबारी–४ स्थित  ओम  सत्य साई पेट्रोल पम्प नजिकै यादवलाई बिहान सवा छ बजे टिपरले ठक्कर दिएको थियो। डाक्टर यादव पूर्वतिर गइरहेका थिए भने टिपर पश्चिम गइरहेको थियो। टिपरले यादव सवार  प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई   प्र ३–००१ क ००९५ नम्बरको टिपर आपसमा जुध्दा उनी गम्भीर घाइते भएका थिए।    ‘लगत्तै मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा उहाँलाई उपचारका लागि पुर्याइयो, चिकित्सकले ६:५० मा मृत घोषणा गरे’, डिएसपी दाहालले भने।   उनका अनुसार टिपर चालक झापा  मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई  प्रहरीले नियन्त्रणमा लिएको छ। 

नवलपरासी:  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–१६ चालीसकिलोमा ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन् ।    कपिलवस्तुको बहादुरगञ्जबाट काठमाण्डौका लागि छुटेको ना ४ ख ९२२७ नम्बरको ट्रक खाल्डोमा परि पल्टिन जाँदा ट्रकमा रहेका ३६ वटामध्ये १७ वटा भैँसी र पाडा मरेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।   दुर्घटनामा मानवीय क्षति भने नभएको र ट्रकमा रहेका १९ वटा भैँसीरपाडा जीवितै रहेका उहाँले बताउनुभयो । मरेका भैँसी र पाडाको व्यवस्थापन गर्नेतर्फ स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।