बाढी- पहिरोका कारण दुई वटा राजमार्ग दुई स्थानमा अवरूद्ध भएको सडक विभागले जानकारी दिएको। विभागका अनुसार विभिन्न राजमार्गहरू ३३ ठाउँमा एकतर्फीरूपमा सञ्चालनमा रहेको छ। पहिरोका कारण अवरूद्ध भइरहने मुग्लिन-नारायणगढ सडक भने अहिले दुवैतर्फ सञ्चालनमा रहेको छ। विभागले वेबबसाइटमा अद्यावधिक गरेको विवरणअनुसार धनगढी,सहजपुर,वुडर,स्याउले, सतबाँझ,थाकतोली,दार्चुला,टिङ्कर जोड्ने सडक कैलालीको बुढीतोलामा अवरूद्ध छ। यस्तै तमोर कोरिडोर अन्तर्गत चतरा,मुलघाट,माझीटार,अमरापुरडाँडा,गणेशचोक जोड्ने सडक पाँचथरको हेवाखोलामा अवरूद्ध छ। विभागले जानकारी दिएअनुसार मनसुन सुरू भएयता विभिन्न राजमार्गहरू १७३ स्थानमा अवरूद्ध भएका थिए। अहिले १३८ स्थानमा दुवैतर्फ सञ्चालनमा आइसकेका छन्। विभागले उल्लेख गरेअनुसार यस वर्षको मनसुनजन्य विपद्बाट सडक भत्कँदा १ अर्ब २६ करोड ५६ लाख ५० हजार रुपैयाँ बराबर क्षति भएको छ। पुलपुलेसा, कल्भर्ट बगाउँदा २५ करोड रूपैयाँ बराब क्षति हुन पुगेको विभागको आकलन छ।
पाँचथर: पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेकगाउँमा आगलागीमा परेर एक जनाको ज्यान गएको छ । बुधवार बिहान घरसँगै रहेको भान्साघरमा आगो लागेको र छानो खसेर थिच्दा लेकगाउँकी ५५ वर्षीया सरिता राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीको कारण थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले जानकारी दिनुभयो ।
दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ। बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो तामाकोशी नदीमा माछा मार्न गएको तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले जनाएको छ। उनी गए राति माछा मार्न तामाकोशी नदी जाँदै गर्दा बाटोमा पहिरोले पुरिएका हुन्। तामाङसँगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ। केही दिनअघि गौरीशङ्कर गाउँपालिका–७ मा पहिरोबाट दुई जनाको ज्यान गएको थियो ।
महोत्तरीको सोनमा गाउँपालिकामा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन्। मरहा खोलाले मङ्गलबार साँझ बगाउँदा सोनम–१ का ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार मरहा खोला तर्ने क्रममा जाबिरलाई बाढीले बगाएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उनको खोजी गरिरहेका छन् ।
काठमाडौं: अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एस अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ । दिवसका अवसरमा आज बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ । त्यसैगरी आदिवासी जनजाति महासङ्घले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि आयोजना आयोजना गरेको छ । सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो । उक्त दिवसका लागि संयुक्त राष्ट्रसङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ । सोही सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले पनि काठमाडौँमा कार्यक्रमको आयोजना गरेको छ
पोखरा: अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले महिलालाई ३३ प्रतिशतमा सीमित नराखी समान सहभागिता गराइनुपर्नेमा जोड दिएकी छन् । महिलाहरूको क्षमता अभिवृद्धि गरी राज्यका हरेक अंगमा समान सहभागिता नै अनेम संघको प्रमुख मुद्धा रहेको उनले बताइन् । अनेम संघ, गण्डकीको बैठक समापन र कमिटि सदस्यहरुलाई प्रशिक्षणपछि आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले नेपालमा ३३ प्रतिशत महिलाको सहभागिता रहने कानुनी व्यवस्था गरिएपनि यो सकारात्मक रहेको तर पूर्ण नरहेको बताइन् । जनसंख्याको आधा हिस्सा महिला छन् । आन्दोलनमा समान सहभागिता छ । त्यसैले ३३ प्रतिशत हैन, समान हुनुपर्छ । उनले भनिन्– ‘जनसंख्याको हिसाबले महिलाको संख्या ५० प्रतिशतभन्दा बढी भएको हुनाले हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व ५० प्रतिशतलाई अनिवार्य गरिनुपर्छ । अहिले गरिएको व्यवस्थालाई नफेर्ने हो भने महिला सहभागिता ३३ प्रतिशतमा सीमित रहनेछ । महिलाले आधा सत्ता चलाउने व्यवस्था गर्नुपर्छ ।’ उनले थपिन् – ‘महिलाका सन्दर्भमा आरक्षणको मात्र कुरा होइन, बराबरी प्रतिनिधित्वको कुरा हो । ३३ प्रतिशत सहभागितामा पनि नेतृत्वमा महिलालाई स्विकारिरहेको अवस्था छैन । अब महिलाहरुले क्षमता अभिवृद्धि गर्दै अघि बढ्नुको विकल्प छैन । यसकै लागि अनेम संघ क्रियाशील छ ।’ अनेम संघ गण्डकीकी अध्यक्ष हिराकुमारी गिरीले गत जेठ ३१ र ३२ गते पोखरामा भएको सम्मेलनले आफ्नो नेतृत्वमा ७१ सदस्यीय कमिटि निर्वाचित गरेपछि अहिले साउन २० र २१ गते बैठकका साथै सदस्यहरुलाई प्रशिक्षण सञ्चालन गरेको जानकारी दिइन् । प्रशिक्षणमा नेकपा एमालेको दशौं महाधिवेशनको कार्यदिशा बारेमा नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्ट, अनेम संघको आगामी कार्यभार विषयमा केन्द्रीय अध्यक्ष टुकाभद्र हमाल, अनेम संघको इतिहा र आन्दोलन विषयमा एमाले स्थायी कमिटि सदस्य थममाया थापा, संगठन निर्माण विधानबारे अनेम संघ महासचिव पेम्बा लामा, जबज र महिला विषयमा एमाले गण्डकी सचिव धनञ्जय दवाडी र संघको आगामी कार्ययोजना सम्बन्धमा अनेम संघ गण्डकीका अध्यक्ष हिराकुमारी गिरीले सहजीकरण गरे । अध्यक्ष गिरीका अनुसार अनेम संघ गण्डकीले जिल्ला कमिटिको बैठकहरु भदौ महिनाभित्र सम्पन्न गर्न निर्देश गरेको छ । यस्तै, अधिवेशन गर्न बाँकी जिल्लालाई असोज भित्र सक्न भनेको छ भने सदस्यहरुका लागि लेबीको निर्धारण पनि बैठकले गरेको छ । अनेम संघ गण्डकीले ९१ हजार बढीलाई सदस्यता वितरण गर्ने लक्ष्य लिएको छ । टोल स्तरसम्मै संगठन निर्माण गर्ने, प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरी प्रशिक्षकहरु तयार गर्ने, महिला सम्मान कार्यक्रम गर्ने, जहाँ विभेद त्यहाँ अनेमसंघ कार्यक्रम सञ्चालन गर्ने, प्रदेश सम्पर्क कमिटि गठन लगायतका कार्ययोजना बैठकले पारित गरेको छ ।
काठमाण्डौ: आज सर्लाही, रौतहट र सिन्धुलीमा बाढीको उच्च जोखिम छ । बाग्मती र यसका प्रमुख सहायक नदीमा जलसतह खतराको तहभन्दा माथि हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र सुरक्षित रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। त्यस्तै, झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, नवलपरासी, तनहुँ, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रका नदी तथा साना खोलामा आज बाढीको जोखिम छ । त्यस्तै, काठमाण्डौ उपत्यकामा पनि जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान ठूलो पानी परेको काठमाण्डौ उपत्यकामा अहिले पानी पर्न रोकिएको छ । तर आज दिनभरी नै झरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
सल्यानमा आफ्नै छोराको लाठी प्रहारबाट आमाको ज्यान गएको छ । शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरकी ४८ वर्षीया शारदा भण्डारीको लाठी प्रहारबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बिहान ४ बजे २३ वर्षका छोरा नवीन भण्डारीले कोठामा सुतिरहेकी आमालाई लाठीले टाउकोमा प्रहार गरेका र आमाको ज्यान गएको प्रहरीले जनाएको छ । छोरालाई पक्राउ गरिएको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन्। विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम २३ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको खरिद अनुगमन कार्यालयले जनाएको छ। कालोसूचीमा परेको अवधिभर यी कम्पनीहरू अरु कुनै पनि सरकारी निकायको खरिद प्रणालीमा संलग्न हुन पाउने छैनन्। कार्यालयका अनुसार सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुङ्गाको सिफारिसमा पप्पुरकोशी एन्ड न्यौपाने जोइन्ट भेन्चरकम्पनीलाई एक वर्ष छ महिना र पूर्वाधार विकास कार्यालय ललितपुरको काम अलपत्र पार्ने नतासा निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। सडक डिभिजन कार्यालयअन्तर्गत दाङको सिफारिसमा त्रिवेणी निर्माण सेवालाई एक वर्ष, भरतपुरको सिफारिसमा समृद्ध निर्माण सेवालाई एक वर्ष र भक्तपुरको काम अलपत्र पार्ने नवनिर्माण बिल्डर्सलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ। त्यस्तै सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनुषाको सिफारिस पछि कार्यालयले चेतना÷युके एन् जोइन्ट भेन्चर कम्पनीलाई डेढ वर्षका लागि कालोसूचीमा राखेको छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन सिन्धुलीको काम अलपत्र पारेपछि बिकेबि कन्स्ट्रक्सन एन्ड सप्लायर्सलाई एक वर्षका लागि, सन्धिखर्क नगरपालिकाको सिफारिसमा ब्लुबर्ड डिजाइन एन्ड कन्स्ट्रक्सनलाई एक वर्ष, सडक डिभिजन कार्यालय इलामको सिफारिसमा बुढाथोकी निर्माण सेवालाई एक वर्ष र सडक डिभिजन भरतपुरको सिफारिसमा तीन कम्पनी नयाँ निर्माण सेवा, शुभम् कन्स्ट्रक्सन र जय भगवती निर्माण सेवालाई एक÷एक वर्षका लागि कालोसूचीमा राखिएको छ। भरतपुर महानगरपालिकाको सिफारिसमा अर्भन कन्स्ट्रक्सन लिमिटेडलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ भने भरतपुर महानगरपालिकाकै सिफारिसमा अन्जल निर्माण सेवा एक वर्ष, अनुष्ठान कन्स्ट्रक्सन डेढ वर्ष र युद्ध निर्माण सेवा एक वर्षका लागि कालोसूचीमा परेका छन्।