पोखरा: युनाटेड क्लबले उदयपुरको गढी गाँउपालिकाका हावाहुरी प्रभावितहरुलाई राहत प्रदान गरेको छ । युनाइटेड क्लब पोखराले विपद ब्यवस्थापन सहयोगार्थ कोष अन्तर्गत उदयपुर जिल्लाको गढी गाँउपालिका वडा नम्बर १, २ र ५ मा हावाहुरीका कारण पूर्ण रुपमा घरमा क्षति पुगेका २५ परिवारलाई राहत वितरण गरेकोे हो । नेपालीहरुको महान पर्व दिपावलीको अवसरमा देउसीभैलो कार्यक्रमको आयोजना गरी स्थापना गरिएको विपद ब्यवस्थापन कोष अन्तर्गत युनाइटेड क्लब पोखराले उक्त क्षेत्रमा राहत वितरण गरेको हो । सो अवसरमा बोल्दै गढी गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष इन्द्र बहादुर रावतले उदयपुर जिल्लाको गढी गाँउपालिकामा हावाहुरीका कारण क्षती भएका घर बस्तीमा पोखरादेखी युनाइटेड क्लबको सहयोगबाट आफ्नो वडा र अन्य दुई वडाका हावाहुरी पिडितहरुलाई सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । समाजसेवामा उत्कृष्ट रहेको युनाइटेड क्लबले सामाजिक कामकै लागि पोखरादेखी उदयपुरको बिकट बस्तीमा सहयोग गर्नु आफैमा स्रहानिय काम भएको बताए । त्यस्तै गढी गाँउपालिका स्थायी घर भइ हाल पोखरा १० निवासी समाजसेवी राजु राईले युनाइटेड क्लबलाई आफुले आफ्नो ठांउमा विपदका कारण जनताहरु प्रभावित रहेको जानकार गराइ सहयोग जुटाउन पाउदा खुसी लागेको बताउदै युनाइटेड क्लब प्रति आभार प्रकट गरे । त्यस्तै युनाइटेड क्लबका आजीवन सदस्य तथा विपद ब्यवस्थापन उपसमिति सदस्य चन्द्र बहादुर थापाले युनाइटेड क्लब संगै आफ्नो ब्यवशायीक संस्था युएनआइ एलइडी एक्सपर्टको माध्यामबाट हावाहुरी प्रभावित क्षेत्रमा आफ्नो संस्थाबाट सानो रकमको भएपनि बिजुलीको सामाग्री वितरण गर्न पाउदा खुसी लागेको बताए । उक्त अवसरमा बोल्दै युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले स्थापना कालदेखीनै पोखरामा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य,खेलकुद, पर्यटन, सेती नदी संरक्षण संगै विपद ब्यवस्थापनमा समेत काम गर्दै आइरहदा उदयपुरको पहाडी भेगमा रहेका जनतालाई सानो भएतापनि राहत प्रदान गर्न पाउदा खुसी लागेको बताए । राहत वितरण कार्यक्रमका अध्यक्ष तथा युनाइटेड क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले युनाइटेड क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत यसअघिपनि कैलाली जिल्लाको कैलारी गाँउपालिकाका हावाहुरी पिडितहरु, कास्कीको सराङकोटका पहिरो पिडितहरुलाई पनि सहयोग गरेको स्मरण गर्दै हाल आएर उदयपुर जिल्लामा आएर सहयोग गर्न पाउदा खुसी लागेको बताए । प्राकृतिक विपत्ति जुनसुकै वेलामा पनि आउन सक्ने भएकाले यसको सामना गर्नका लागी सवैजना तयार रहनुपर्ने वताउदै थापाले युनाइटेड क्लबले नेपालको जुनसुकै ठाउमा पनि सहयोग गर्न तयार रहेको बताए । सो अवसरमा तीनवटै वडाका २५ जना पिडितहरुलाई युनाइटेड क्लबले जनही ४ हजार, युएनआइ एलईडी एक्सपर्ट लाइटिङ र विबश इलेक्ट्रीकल प्रा.लिले २५ घरमा २५ सयका दरले बिजुलीका सामग्री र समाजसेवी राजु राइले २५ घरपरिवारलाई जनही १ हजारका दरले २५ हजार रुपैया राहत स्वरुप प्रदान गरिएको थियो । युनाइटेड क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका कोषाध्यक्ष सूर्य बहादुर बानियाँले स्वागत मन्तब्य राखेका थिए ।
बिगतका बर्षहरुमा झैं यस बर्ष पनि गोर्खा कप २०२३ तथा गोर्खा कपको २१ सौं संस्करण बेलायतको अल्डर्सटस्थित कुईन्स एभिन्यू फुटबल ग्राउण्डमा भण्डै १४ हजार दर्शक सहभागी गोर्खा कप आइतवार २८ मे का दिन सम्पन्न भएको छ। यसपटक मेन मुख्य समूहमा ३२ र भेट्रानतर्फ १० एवं दुई महिला टिमबीच प्रतिष्पर्धा भएको थियो । बेलायतस्थित नेपाली समुदायकै ठूलो फुटबल प्रतियोगिता गोर्खाकपको २१ औं संस्करण एलजी लायनले जितेको छ । आइतबार अल्डरसटस्थित क्वीन्स् एभिन्यू खेल मैदानमा आयोजित प्रतियोगितामा एलजी लायनले ३ १ गोल अन्तरले प्लमस्टिड एफसीलाई पराजित गरेको हो ।उपाधिसंगै एलजी लायनले २५ सय पाउन्ड, ट्रफी र प्रमाणपत्र पाएको छ भने रनरअप प्लमस्टिड एफसीलाई १५ सय पाउण्ड, ट्रफी र सर्टिफिकेट दिइयो । मेन टिमतर्फको बिजयी टिमलाई नेपाली भिलेज युकेका म्यानेजिङ डाइरेक्टर मेजर खुशिमान गुरुङ एमभीओले घ्२५०० प्रायोजक गरेका थिए भने उपविजेता टिमलाई श्री लक्की जोलार्स अल्डर्सटका म्यानेजिङ्ग डाइरेक्टर मेजर योगेश राईले घ्१५०० प्रायोजक गरेका थिए। मेन टिमको बेष्ट म्यानेजरको प्रायोजक हुप थापाले घ्१००० गरेका थिय भने बेष्ट म्यानेजरको उपाधि एलजी लाइन्सका सोम गुरुङले हात पारेका छन। मेन टिमको टप स्कोरर पलम्स्टेड एफसीका रागन गुरुङले हात पार्न सफल भएका छन। भेट्रानतर्फ हिमालयन एफसी पेनाल्टी सुटआउटबाट विजेता बनेर १२ सय पाउण्ड प्राप्त गरयो भने इन्टेक २००० ले रनरअपमा चित्त बुझायो । रनरअप टिमले ८ सय पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पाएको छ ।भेट्रानतर्फको बिजयी टिमको प्रायोजक हाम्सायर एकाउन्टटेन्टका डाइरेक्टर राजा थापाले घ्१२०० गरेका थिए भेट्रान टिमका उपविजेतालाई मान ट्राभल्स एण्ड टुर्स सर्भिसेस लिमिटेडका डाइरेक्टर सुमन पुन र बागबिर पुनले घ्८०० र क्याप्टेन पिताम्बर गुरुङले घ्५०० ट्रफिको लागि प्रायोजक गरेका थिए । महिलातर्फ ‘म खेल्छु एफसी’ वीनर र रन्डरबोल्ट्स एफसी रनरअप बने । महिला टिमतर्फ पहिलो हुनेलाई ५ सय पाउण्ड र दोश्रो हुनेलाई तीनसय पाउण्ड, ट्रफी र सर्टिफिकेट प्रदान गरियो । बिजेता म खेल्छुू ९ यमके ० बिजयी भएका छन भने प्लेयर अफ द म्याच सुष्मा शाही घोषित भएकी छिन। उपविजेता रोनडरबोल्ट एफसी भएको छ भने क्ष्ःभ् ीयलमयल कमल पौडेल ले घ्५०० किंग्स गेट फ़ाइनेन्स का डाइरेक्टर प्रजेश श्रेष्ठले घ्३०० प्रायोजक गरेका थिए। त्यसैगरि खेलमा वेष्ट प्लेयरको उपाधि एलजी लायनका सौगात गुरुङले पाए भने टप स्कोररको उपाधि प्लमस्टिड एफसीका रेगन गुरुङले प्राप्त गरे । एलजी लायनका सोम गुरुङ वेष्ट म्यानेजर बने । लेडिजतर्फ वेष्ट प्लेयर भइन् सुष्मिता शाही । बिगतका बर्षहरुमा झैं यस बर्ष पनि गोर्खा कपमा ठेलो प्रतियोगिता पनि राखिएको थियो । छेलोमा प्रथम भएर निरज गुरुङले २०० पाउन्ड र भेट्रेन तर्फको प्रथम गोकुल गुरुङले २०० पाउन्ड पुरस्कार पाए । ठेलोको पुरस्कार प्रायोजक सेवा मोर्गेजेजले गरेको थियो । गोर्खा कप २०२३ को मुख्य आकर्षणहरु मध्ये प्यारासुट जम, सांकृतिक कार्यक्रम, खानपिनका स्टलहरु, च्यारिटीका स्टलहरु, मोरगेजका स्टलहरु, घरयासी प्रयोजनका लागि चाहिने भाडाकुडा पसलहरु, लत्ताकपडा पसलहरु, जनचेतनामुलक स्टलहरु लगायत बिभिन्न स्टलहरु झण्डै १०० स्टल राखिएको थियो। गोर्खा कपमा प्रमुख अतिथि, रशमोर बरो काउन्सिलका मेयर क्लाइभ ग्रयाटन, आमन्त्रण गरिएको थियो भने, बिशेष अतिथिहरुमा नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनाल, रसमुरबोरो काउन्सिलका काउन्सिलरहरु, ब्रिगेडियर पीएस रिहाल एमबीई, गौरब घले,अन्य अतिथिहरुमा विभिन्न संघसंस्थाका प्रमुखहरु, काउन्सिलरहरु, सेनाका सिनियर दर्जाहरु, धर्मगुरुहरु, पत्रकारहरु गरी करिब ३५० जति अतिथि नै थिए। फाइनल अघि आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथी रसमबोर बरो काउन्सिल मेयर क्लाइभ ग्रेटनले आफ्नो क्षेत्रमा नेपाली समुदायले वृहत कार्यक्रम गरेकामा खुशी व्यक्त गरे । विशेष अतिथी लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनालले खेलकुदका माध्यमबाट सामाजिक सद्भाव र एकता उजागर भएको उल्लेख गर्दै इभेन्टले स्थानीय व्यापार प्रवर्धन समेत गरेको बताइन् । तमुधिं यूके अध्यक्ष हरि गुरुङले बेलायतस्थित नेपालीबीच एकता र सद्भाव सुदृढ पार्न गोर्खाकपले महत्वपूर्ण योगदान गरेको बताए । उनले स्थानीय व्यापार प्रवर्धन गर्न, युवालाई कुलतमा लाग्न रोक्न र स्थानीय समुदायबीच अन्तरघुलनका लागि पनि गोर्खाकप अभिन्न अंग बन्दै आएको उल्लेख गरे । यसअघि गोर्खा कपको भिभिआइपी अतिथीमा ग्रीस र डेनमार्कका युवराज फिलिपोस र युवराज्ञी निना आउने बताइएपनि स्वास्थ्यका कारण उनीहरु उपस्थित भएनन् ।आयोजक तमुधिं यूकेले १० प्रतिशत आम्दानी टर्की र सिरियाका भूकम्पपीडितलाई सहयोग गर्ने बताएको छ । तमुधी युकेका अध्यक्ष हरी गुरुङले अध्यक्षता गरेको कार्यक्रमलाइ संस्थाको महासचिब डा। बिशाल गुरुङले संचालन गरेका थिए ।तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, संयोजक क्या। दिपकराज घले, टिम दर्तामा सुलभ गुरुङ, कुमार गुरुङ, ले। कुसाङ गुरुङ, मे। रि। खुशीमान गुरुङ, स्टल व्यापार संयोजक उपाध्यक्ष कमल गुरुङ, पाहुना सत्कारमा उपाध्यक्ष परशु गुरुङ, मे रि कृष्ण गुरुङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, पोर्टलु क्याम्पेनका दुर्गा गुरुङ, कोषाध्यक्ष दिलमाया गुरुङ, मिडिया सेक्रेटरी एसके गुरुङ, तमुधिं आमा समूहका अध्यक्ष सन्ध्या गुरुङ र सम्पूर्ण टिमले कार्यक्रमको ब्याबस्थापन गरेका थिए।
सिरहा: सिरहाको नवराजपुर गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जनप्रतिनिधिले पोषिलो खानेकुरा, बच्चाका लागि कपडा र तीन हजार पाँच सय रुपैयाँ लिएर पुग्दा स्थानीय महिला खुसी भएका हुन् । सुरक्षित मातृत्वका लागि गर्भवतीलाई चार चरणमा स्वास्थ्य परीक्षण गराउनुपर्छ । बर्थिङ सेन्टरमा सुत्केरी गराउन उत्प्रेरित गर्ने उद्देश्यले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएको नवराजपुर गाउँपालिका उपाध्यक्ष पुनमकुमारी यादवले बताउनुभयो । उहाँले भन्नुभयो 'सुत्केरी खोज्दै हामी घर घर जाने गरेका छौँ । घरमै पुगेर सुत्केरीलाई सेवा उपलब्ध गराउँदै आएका छौँ । यसका लागि स्थानीय स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएकाले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन भइरहेको छ ।' नवराजपुर–३ फूलवरियाकी पुष्पा यादवले ‘सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ बच्चालाई कुपोषण हुनबाट कसरी जोगाउन सकिन्छ भन्ने जानकारी पनि प्राप्त हुनेहुँदा कार्यक्रम उपलब्धिमूलक भएको बताउनुभयो । नवराजपुर–१ देवीनगरकी गनिताकुमारी दासले कार्यक्रमबाट बच्चाका लागि कपडा र रकम पाएपछि निकै खुसी लागेको सुनाउनुभयो । पोषिलो खानेकुरा किन्नका लागि रकम र बच्चाका लागि कपडा लिएर उपाध्यक्ष यादव घरमै पुग्नुभएको थियो । स्वास्थ्यचौकी देवीनगरका प्रमुख सञ्जीव यादवले शिशु अस्पताल वा स्वास्थ्य संस्थाबाट प्राप्त जन्म प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि अधारमा सेवा उपलब्ध गराइरहेको जानकारी दिनुभयो । ग्रामीण भेगमा अझै पनि महिला घरमै सुत्केरी हुने गरेको पाइन्छ । यसका कारण शिशु मृत्युदर तथा पोषणसमबन्धी जानकारी अभावमा कुपोषित बच्चा जन्म हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । नवराजपुर गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमका लागि आर्थिक वर्ष २०७९/८० का लगि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरु वडा अध्यक्षको लेबलमा आएको टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०८०र८१ को बजेटबाट सांसद विकास कोष व्युँतिएपछि बालेनले सो टिप्पणी गरेका हुन् । ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आए ,’ बालेनले फेसबुकमा लेखेका छन् । उनले ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु’ भनेर प्रश्नसमेत गरेका छन् । अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमार्फत् सांसद विकास कोषलाई व्युँताउँदै प्रत्यक्ष निर्वाचित सांसदहरुमार्फत् हरेक निर्वाचन क्षेत्रमा ५ करोड खर्च गर्न पाउने व्यवस्था गरेका छन् । सांसद विकास कोषको रकम दुरुपयोग हुने गरेको गुनासो बढेपछि अघिल्ला अर्थमन्त्री विष्णु पौडेलले सांसद विकास कोष खारेज गरेका थिए । अर्थमन्त्री महतले बजेटमा सांसद विकास कोषको लागि ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेका छन् । एउटा आयोजनामा न्यूनतम एक करोड विनियोजन हुनेगरी कार्यक्रम छनोट गरिने मन्त्री महतको भनाइ छ । सुशील कोइराला प्रधानमन्त्री भएको बेला ‘पूर्वाधार विकास कोष’को अवधारणा सुरु भएको थियो । पछि त्यसको नाम फेरेर ‘सांसद विकास कोष’ र ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ भन्न थालियो । यस कार्यक्रम अन्तर्गत संघीय संसद निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँको दरले बजेट विनियोजन हुने गरेको थियो । तर यो रकम विकासको नाममा कार्यकर्तामा बाँडेर दुरुपयोग हुने गरेको भन्दै आलोचना हुँदै आएको थियो । त्यसैले खारेज भएको सांसद विकास कोषलाई केही सांसदहरुले पुनः व्युँताउनुपर्ने दबाब दिँदै आएका थिए ।
पोखरा: मान्छेलाई मोहले तान्छ भन्छन् । म मोहले तानेर यहाँ उपस्थित भएको छु । जान्ने भएर उपस्थित भएको होइन । पत्रकारितासम्बन्धी औपचारिक अध्ययन मैले गर्न पाइन । तर, जिन्दगीको अत्यन्त उर्वर समयमा मैले पत्रकारिता गरेँ । झण्डै २०३४/३५ सालबाट २०४१ सालसम्म राष्ट्र पुकार साप्ताहिक (त्यो बेलामा नेपाली कांग्रेसको मुखपत्र पनि भन्ने गरिन्थ्यो ) संवाददाताका रुपमा काम गर्ने अवसर पाएँ । त्यो बेलामा केही असल पत्रकारहरुको संगत भयो । मसँगै त्यो बेलामा दुर्गा बराल ‘वात्सायन’ ले राष्ट्र पुकारमा कार्टुनहरू पठाउने गर्नुहुन्थ्यो । अत्यन्त कठीन समय थियो । त्यो पठाइएको समाचार के बाट पठाउने हो ? हुलाकबाट पठाउँदा लामो समय लाग्थ्यो । अनि त्यो समाचार र कार्टुन दुवै पठाउन हामी साइकल चढेर एयरपोर्टसम्म पुग्थ्यौं । एयर डकुमेन्ट गरेर काठमाडौं पठाउने गथ्र्यौं । फ्याक्सको जमाना पनि थिएन । अहिलेको जस्तो इन्टरनेटको सुविधा थिएन । र त्यो बेलाको पत्रकारिता मिसन पत्रकारिता थियो । विशुद्ध रूपले प्रजातन्त्र पुुनस्र्थापनाका निम्ति एउटा लडाईंको मोर्चाका रूपमा हामीले पत्रकारितालाई लिएका÷ ग्रहण गरेका थियौं । त्यसरी म पत्रकारितामा संलग्न भएको थिएँ । त्यसको एउटा मोह मसँग अझै पनि बाँकी छ । सँगसँगै नेपाल प्रेस युनियनसँग पनि सम्बन्ध र साइनो छ । नेपाल प्रेस युनियनको काठमाडौंमा पहिलो अधिवेशन भयो । पहिलो अधिवेशनमा हरि अधिकारी अध्यक्ष हुनुभयो । त्यसपछि दोस्रो अधिवेशनमा सहभागी हुन पुगेका थियौं । म पुगेको थिएँ । पोषनाथ शर्मा पुग्नुभएको थियो । अहिले नेपाली फिल्म जगतमा चरित्र अभिनेताका रूपमा चीरपरिचित हुनुभएका प्रकाश घिमिरे पुग्नुभएको थियो । दुर्गा बराल पुग्नुभएको थियो । हामीले त्यहाँ रमेश तुफानको अध्यक्षतामा नेपाल प्रेस युनियनको दोस्रो कार्यसमितिको गठन गरेका थियौं । मसँग विषयवस्तुको ज्ञान भएर होइन । मसँग असाध्यै अध्ययन भएको विषय पनि होइन । तर, कारण के हो भन्दा कुनै समय म पत्रकारितामा संलग्न थिएँ । पोखराकै जनमत दैनिक, पर्यवेक्षक साप्ताहिक (जो तिलकमान गुभाजू दाईले निकाल्नुहुन्थ्यो ) त्यसको स्तम्भ लेखकका रूपमा पनि म जोडिएको थिएँ । अहिले पनि एक ढंगले पत्रकारितासँग जोडिएको छु । धेरै पत्रकार साथीहरू विभिन्न विषयमा सोध्न आउने गर्नुहुन्छ । कुनै चाडपर्वका विषयको सन्दर्भ भयो भने केही भन्दिनुस् न भन्ने गर्नुहुन्छ । एउटा समय त यस्तो पनि थियो–कतिपय नयाँ पत्रकार भाइबहिनीहरुलाई समाचार लेख्न सिकाउने काममा पनि संलग्न भएको थिएँ । त्यो हुनाले नेपाल प्रेस युनियन कास्कीको आग्रहलाई नाइँ भन्न सकिन । पत्रकारलाई नै पत्रकारिता भनेको के हो भनेर परिभाषित गर्न लागँे भने म अन्यौलमा पर्छु । मलाई पत्रकारिता भनेपछि हाम्रो पूर्वीय सभ्यतामा पत्रकारको भूमिका निर्वाह गर्ने को थिए भन्ने विषयवस्तुतर्फ जानुपर्छ कि भन्ने लाग्छ । सनातन वैदिक संस्कृतिमा विभागहरु छुट्याइएका छन् । देवताहरूको विभागहरू छुट्याइएको छ । देवीहरूको विभाग छुट्याइएको छ । देवता र देवीको विभाग छुट्याउँदा अत्यन्त महत्वपूर्ण मन्त्रालयहरू चाहिँ महिलाहरूलाई दिइएको छ । शिक्षा मन्त्रालयलाई सरस्वतीलाई दिइयो । अर्थ मन्त्रालय लक्ष्मीलाई दिइयो । रक्षा मन्त्रालयलाई भगवतीलाई दिइयो । संचार मन्त्रालय चाहिँ नारादमुनीले पाए । नारादमुनी सम्भवतः हाम्रा पौराणिक पात्रहरूमा त्यस्ता पात्र हुन्, जसले सूचना संवाहकका रूपमा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अर्को एउटा महत्वपूर्ण पात्र पनि छन्–जसले सूचनालाई आफ्ना निम्ति अत्यन्त महत्वपूर्ण ढंगले उपयोग ग¥यो । हामीले महाभारतका कथाहरू पढेका छौं । महाभारतमा कृष्णजीको भूमिका झण्डै तटस्थ थियो । मलाई छान्छौ कि मेरो एक अक्षौहिणी सेनालाई छान्छौ ? भन्दा दुर्योधनले भगवान कृष्णलाई छानेनन् । उनले भगवान कृष्णका एक अक्षौहिणी (एक अक्षौहिणी सेनामा २१ हजार ८७० रथ, त्यति नै हात्ती,६५ हजार ६१० घोडसवार सैनिक र १ लाख ९ हजार ३५० पैदल सेना हुन्छन् ) सेनालाई छाने । अर्जुनले कृष्णलाई छाने । तर, प्रत्यक्ष म युद्धमा सहभागी हुन्न भन्ने कृष्णको सर्तनामा थियो । युद्धको अन्त्यमा जाँदा सबैले आ—आफ्ना भूमिकालाई आत्ममुग्धताको स्तरमा पु¥याए मेरा कारणले यो युद्धमा जित हासिल भएको भनेर पाण्डवका पात्रहरूले भन्न थालेपछि भगवान कृष्णले वर्वरिक भन्ने नामको पात्र थिए । जसको सुरुमै भगवान कृष्णले घाँटी काटेर कुनै रूखमा झुण्डाइदिएका थिए । त्यो झुण्डाइएको टाउकोले महाभारतको युद्ध सबै देखिराखेको थियो ।ती पाण्डवहरूलाई लगेर कृष्णले वर्वरिक समक्ष उभ्याए । अनि सोधे वर्वरिक यो युद्धमा तिमीले के देख्यौ ? ‘मैले कि तपार्इंलाई देखेँ कि तपाईको सुदर्शन चक्रलाई देखेँ’,वर्वरिकले भने । र, सबै आफ्ना कारणले युद्धमा विजयी भएको घोषणा गर्नेहरु नतमस्तक भए । महाभारतको यो पाटोलाई अर्को ढंगले हेर्ने हो भने यति धेरै सूचना कृष्णजीसँग थियो । वर्वरिकसँग सम्पूर्ण महाभारतको युद्धलाई पल्टाउन सक्ने क्षमता छ भन्ने कुरा कृष्णले थाहा पाएका थिए । त्यसकारण उनी कतै दुर्योधनतिर मिसिन्छन् कि भनेर बाधा दिने काम पनि कृष्णजीले गरे । कर्णसँग यस्तो गज्जबको कवच थियो । त्यो कवच ननिकालिकन कर्णको बध सम्भव थिएन । कर्णलाई विवश बनाउनका निम्ति कुन्तीलाई कसरी प्रयोग गर्ने कृष्णजीले आफ्नो सूचनाका आधारमा थाहा पाएका थिए । चाहे जरासन्धको बधमा होस्, चाहे दुर्योधनको बधमा नै किन नहोस् ! कृष्णजीले प्राप्त गरेको सूचना सबैभन्दा बलशाली थियो । भीमसेनको गधा भन्दा पनि कृष्णजीको सूचना प्रवल थियो । त्यसकारण सूचना कति महत्वपूर्ण छ भन्ने कुरा दर्शाउँछ । सूचना महत्वपूर्ण भएकै कारणले गर्दा प्रत्येक राज्यले ठूलो संख्यामा गुप्तचरहरू तैनाथ गरे । गुप्तचरहरू राज्यका निम्ति अत्यन्त महत्वपूर्ण ठहरिन्थे/ठहरिन्छन् । मैले यहाँहरुलाई के निवेदन गर्न खोजेको भन्दा,जीवनमा, युद्धमा, विकासमा सबै चीजमा सूचनाको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । हामीले समाचार भन्नासाथै के चिजलाई समाचार भन्ने ? पत्रकारिताको सबै भन्दा ठूलो धर्म भनेको के रैछ भन्दा समाचार संकलन गर्ने । त्यसको लेखन गर्ने । त्यसको सम्पादन गर्ने र त्यसलाई आम जनसाधारणका बीचमा पु¥याउने । सामान्यतयः त्यो छापा पत्रकारिताको कुरा गरौं वा विद्युतीय संचारमाध्यमको कुरा वा अन्य अहिले विकसित भएका इन्टरनेटका कुराहरु गरौं । तर, सूचनाहरु सँधै उपयोगी हुन्छन् कि हुँदैनन् ? सूचनाहरुलाई कसरी समाजमा उपयोगी बनाउने ? सूचनालाई प्रस्तुत गर्दा लोककल्याणको भावनाको जन्मको कसरी हुन सक्छ भन्ने सोच पनि आवश्यक छ । हाम्रो अधिकांश समाचारहरु एउटा नेता आयो भाषण ग¥यो, त्यसपछि समाचार बन्यो । हाम्रो अधिकांश समाचारहरु घटनामा आधारित छन् । अधिकांश समाचारहरुमा शब्दको तलमाथि बाहेक मनसाय उस्तै छ । अधिकांश समाचारहरु अहिलेका सन्दर्भमा भन्नुपर्दा आग्रहले परिपूर्ण छन् । जबकि पत्रकारिताको सबैभन्दा ठूलो योग्यता भनेको तटस्थता र निष्पक्षता हो । सबैभन्दा ठूलो पत्रकारिताले निर्वाह गर्नुपर्ने भूमिका सत्यप्रतिको निष्ठा हो । तपाई सत्यप्रतिको निष्ठाबाट विचलित हुनुभयो भने मलाई लाग्छ, पत्रकारिता सम्भव छैन । तपाईमा आग्रह परिपूर्ण भो र निश्चित उद्देश्यका निम्ति जानुभयो भने पत्रकारिता सम्भव छैन । हामीले चाहिँ पत्रकारिता गर्दा पनि आग्रहका साथ गरेका थियौं । त्यो भन्नलाई हिच्किचाउन हुँदैन । आग्रह के थियो भन्दा, पञ्चायती शासन व्यवस्थालाई ढालेर प्रजातन्त्रको पुनस्र्थापना थियो । त्यो मिसनमा पत्रकारिता गरिएको थियो । अब त्यो मिसनबाट पत्रकारिता कमिसनसम्म पुग्यो । मैले सबै पत्रकार मित्रहरुलाई दोषारोपण गर्न खोजेको होइन । हामी यस्तो दलदलमा फसेका छौं कि यहाँबाट जस्तोसुकै पानी निकाल्छु भने पनि पानी चाहिँ फोहोर नै आउने अवस्था छ । समाज सम्पूर्ण रुपले दूषित भइसकेपछि त्यो समाजबाट स्वच्छताको कल्पना अलिक असम्भव हुँदोरहेछ । त्यस सन्दर्भमा मैले भनेको पत्रकारिता पनि अब मिसनबाट कमिसनतर्फ पुगेको अवस्था छ । पत्रकारिता व्यनवसायिक हुन आवश्यक छ । त्यसमा संलग्न भएका मानिसहरु पनि पेटसहितका हुन्, केही आकांक्षासहितका हुन् । पेटरहित र आकांक्षारहित मानिस हुँदैन । अन्य मानिसमा जस्तै पत्रकारमा पनि आकांक्षा हुन्छ । उनलाई पनि जीवन बाँच्नका निम्ति आवश्यक सुविधाहरुको खाँचो छ । तर, त्यसको लागि हामीले पत्रकारिताको व्यावसायिकाको विकास गर्न खोजेका हौं भन्ने मलाई लाग्छ । अब पत्रकारितामा सिर्जनशीलता भनेको के ? अथवा सिर्जनशीलतालाई पत्रकारितामा कसरी प्रस्तुत गर्ने ? मैले आफ्नो अवधारणा मात्रै भनेको हुँ है । फेरि यसलाई यसले बडो जान्ने भएर भन्यो, हामीले यसले भनेको मान्नुपर्छ र भन्ने अर्थमा ग्रहण नगरिदिनुहोला । मैले पत्रकारहरुसँगको निकट संगत र पत्रकारितासँगको आत्मियताको कारणले मलाई लागेको कुरा भनेको हुँ । दुईटा कुरा देखेँ मैले । पहिला–पहिला भर्खरको ठिटा हुने बेलामा हिन्दी पत्रिका खुब पढिन्थ्यो । राजनीतिमा चासो राख्ने हरेकका निम्ति दिल्लीबाट प्रकाशन हुने दिनमान नपढि नहुनेजस्तै थियो । अलिअलि साहित्यप्रति पनि रुची भएका कारणले मुक्ता, सरिता, नवनित, कादम्बिनी पढ्थे । त्यो दिनमानका सम्पादक थिए–रघुवीर सरहाय । रघुवीर सरहाय भनेको भारतका अत्यन्त प्रसिद्ध कवि हुन् । धर्मयुगका सम्पादक थिए–डा.धर्मवीर भारती । हिन्दी साहित्यमा डा. धर्मवीर भारतीको त्यति नै महत्वपूर्ण योगदान छ । नेपालको पत्रकारिताको इतिहासको कुरा गरौं । चाहे त्यो सुधासागरको कुरा गरौं । चाहे त्यो मोतीराम भट्टको पत्रिकाको कुरा गरौं । चाहे सिद्धिचरणले श्रेष्ठले पहिलो दैनिक पत्रिका दर्ता गर्नुभयो ‘आवाज’ को कुरा गरौं । चाहे गोरखापत्रमा भएका सम्पादकहरुको कुरा । गोरखापत्रले पहिलो पटक प्रधानसम्पादक भनेर कसलाई तोक्यो भन्दा बालकृष्ण समलाई । नेपाली पत्रकारिताको बीचको भागमा किशोर नेपालको अत्यन्त चकचकी–बकबकी थियो । किशोर नेपालले बनाएका टिमहरु धेरै थिए । देशान्तरको टीम होला अथवा कान्तिपुरकै टीम होला । मैले यी सबै उदाहरण दिएर भन्न खोजेको के हो भन्दा– साहित्य, सिर्जनशीलता र पत्रकारिता टाढाका विषय होइनन् । यी एउटै घरका अलग कोठाहरु हुन् । पत्रकारितालाई हामी कहिलेकाहिँ के पनि भन्छौ भन्दा यो हतारको साहित्य पनि भन्छौं । तपाईंले आज एउटा घटना भएको देख्नुभो अथवा तपाईले कुनै विषयका विषयमा अनुसन्धान गर्नुभयो भने त्यसलाई भोलिपल्ट नै प्रस्तुत गर्नुपर्छ । ६ महिना पर्खेर बसेर, त्यसका विषयमा एउटा आख्यान बनाएर प्रस्तुत गर्ने फुर्सद तपाईंले पाउनुहुन्न । तर, एउटा कविले त्यसका विषयमा ६ महिना घोत्लिएर एउटा कविता लेख्छ । एउटा उपन्यासकारले त्यसैका विषयमा दुई वर्ष अनुसन्धान, अवलोकन, अध्ययन गर्छ अनि उपन्यास निकाल्छ । तपाईंहरुलाई याद होला नारायण वाग्लेजीले कान्तिपूरमा ‘कफी गफ’ लेख्नुहुन्थ्यो । कफी गफले नारायण वाग्लेको कलमलाई यति मिहिन ढंगले परिमार्जित गरिदियो कि उहाँले पल्पसा क्याफे लेखेर मदन पुरस्कार जित्नुभयो । सिर्जनशीलतासँग पत्रकारिताको सम्बन्ध के ? सिर्जनशीलता र पत्रकारसँगको निकट सम्बन्धका कुरा मैले राखेँ । हामी केटाकेटी थियौ । नेपालमा तीनवटा साप्ताहिक हामी खुब पढ्थ्यौं । एउटा राष्ट्रपुकार थियो । जसलाई हाम्ले कांग्रेसको कण्ठ भन्थ्यौं । एउटा मातृभूमि थियो, जसलाई हामीले चिनिया कम्युनिष्टहरुको वाणि मुखरित गर्छ भन्थ्यौँ । एउटा समीक्षा साप्ताहिक थियो । त्यो अलिक बढी वौद्धिक पनि थियो र वामपन्थको सोभियत खेमालाई प्रतिनिधित्व गथ्र्यो । त्यहाँ एउटा गजबको स्तम्भ थियो । त्योभन्दा अगाडि त्यस्तो स्तम्भ नेपाली छापा जगतमा देखिएको थिएन । त्यो स्तम्भ के थियो भन्दा–‘सडक बोल्छ’ । रमेश तिवारी भन्ने पत्रकार हुनुहुन्थ्यो । सडकमा हिँडिरहेका मान्छेलाई उहाँ प्रश्न गर्नुहुन्थ्यो,समसामयिक विषयमा । सडकमा भेटिएको आवाजलाई साप्ताहिक पत्रिकामा मुखरित गर्नुहुन्थ्यो । जुन नविन र सिर्जनशील शैली थियो । समीक्षामै अर्को शैली थियो । मदनमणि दिक्षित–जसले ऋग्वेदका विषयमा पिएचडी गर्न लाग्नुभएको थियो । त्यो पिएचडीको सोध निर्देशक सर्वपल्ली राधाकृष्णन (जो पछि भारतका राष्ट्रपति हुनुभयो) हुनुहुन्थ्यो । त्यति ज्ञान भएको मान्छे मदनमणि दिक्षित । उहाँले चक्रपाणिका नामबाट एउटा स्तम्भ चलाउनुहुन्थ्यो । सायद, अहिलेसम्म पनि (मलाई कतै मेरो अज्ञानता होला । कति मेरो ध्यान नपुगेको होला ) त्यो स्तरको स्तम्भ लेखन मैले अहिलेसम्म पढ्न पाएको छैन । त्यहीताका र त्यसको सेरोफेरोमा किशोर नेपाल, कृष्णप्रसाद भट्टराईका दाजु गोपालप्रसाद भट्टराई गोरखापत्रमा सम्पादक हुनुहुन्थ्यो । र, काम नपाएर हल्लिरहेका किशोर नेपाललाई कृष्णप्रसाद भट्टराईले ‘तिमी गोरखापत्रमा जाऊ, गोपाल दाईलाई म भन्दिन्छु’ भनेर त्यहाँ पठाएपछि एउटा गजबको स्तम्भको सुरुवात भयो । ‘हाम्रा गाउँघर’ नामक स्तम्भ सुरु भयो । पत्रकार एउटा गाउँमा पुग्छ । त्यो गाउँमा के के उत्पादन हुन्छ ? त्यो गाउँको सडक कस्तो छ ? त्यो गाउँका विद्यालय कस्ता छन् ? एउटा गर्वको समाचार आउथ्यो । जुन गाउँमुखी थियो । अहिले पनि हाम्रो पत्रकारिता गाउँमुखी हुन सकेको छैन । तपार्इंहरुलाई याद छ कि छैन ? गोरखापत्रमा पहिला पहिला के हुन्थ्यो भन्दा महावाणी भनेर राजाले भनेका कुरालाई कोट गरेर महावाणि आउथ्याँे । महानवाणी छापिन्थ्यो– महावाणी । हामी चाहन्थ्याँै, महावाणी हैन, महानवाणी छापियोस् । महानवाणी भनेको के भन्दा जीवनका निम्ति, समाजका निम्ति, राष्ट्रका निम्ति उपयोगी चीज कसैबाट भनियो भने त्यो महानवाणी हो । महावाणी भनेको के हो भन्दा ठूलो पदमा बसेको ठूलाबडाले भनेको कुरा महावाणी हो । अहिले पनि हाम्रो पत्रकारिता महावाणीमा छ, महानवाणीमा छैन । तपाईंले समाचार लेख्नुभयो भने समाचारको पहिलो अनुच्छेद के लेख्नुहुन्छ भन्दा, त्यो प्रमुख अतिथिले बोलेका कुराहरुले पहिलो प्राथमिकता पाउँछ । चाहे उसले बोलेको दुई पैसाको किन नहोस् । तर त्यहीँ अर्को एउटा मान्छेले महत्वपूर्ण कुरा बोल्यो भने त्यसको उल्लेख नै हुँदैन । हामी अहिले पनि त्यो महावाणी सिस्टममा छौं । पोषनाथ शर्मा गोरखापत्रमा काम गर्दा मलाई सोधेँ–‘दाई समाचार पाइएन के लेख्नेहोला ?’ मैले उनलाई भनेँ,‘ समाचार प्रशस्तै छ तर समाचार हेर्ने दृष्टिकोण चाहिँ हामीसँग हुन आवश्यक छ ।’ ‘के छ दाई?’ भनेपछि मैले भनेँ,‘फेवातालको बाँध छ नि, त्यो फेवातालको बाँध, जुन हाइटसम्म फेवातालको बाँध रोकिनुपर्ने त्यो बाँध रोकिएको छैन । त्यसको तलपट्टि प्वाल परेको छ । बालुवाका बोरा लगेर थुपारेका छन् । त्यसको आयूको सम्बन्धमा समाचार लेख न’ भनेर मैले भनेँ । पोषनाथले त्यसका आयूका विषयमा समाचार लेखे । त्यसलाई राइजिङ नेपालले प्राथामिकता दिएर छाप्यो । सूचना सधैँ घटनामा आधारित मात्र हुँदैन । तारा पाखे दाई संस्कृत माविमा प्रधानाध्यापक, म अध्यक्ष भएर काम गरेका थियौं । अनि मैले एक जना पत्रकार साथीलाई भनँे,‘संस्कृत स्कुल ठ्याक्कै गोरखापत्रसँग जन्मियो ।१९५८ असार २४÷२५ गते गोरखापत्रको जन्म भयो । १९५८ सालमै राजकीय संस्कृत प्रधान पाठशाला भनेर यहाँ पाठशाला खोलियो । स्कुलको आयू एक सय वर्ष पुग्यो तर सयजना विद्यार्थी भएनन् । यो भन्दा ठूलो समाचार के हुन सक्छ ?’ एक जना केदार शर्मा भन्ने मान्छे पत्रकारिता पनि गर्नुहुन्छ । हिमालमा लेख्नुहुन्थ्यो । उहाँले नेपाली खाद्य संस्कृतिका सम्बन्धमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अध्ययन गर्नुभएको छ, भ्रमणमा हिड्नुभएको छ । त्यो खाद्य संस्कृति विषयमा छलफल गर्न म कहाँ आउनुभयो । उहाँले के भन्नुभयो भन्दा ‘तीर्थजी विन्ध्यावासिनीमा बली कस्तो छ ?’ मैले भनें,‘ किन ?’ उहाँले भन्नुभयो–‘ बली दिन जाती होइन ।’ मैले उहाँलाई भनें,‘ बली दिन जाती त होइन तर त्यो त म पनि मान्छु तर विन्ध्यावासिनीमा दिएका मात्र बली हुन्छन् ? बुच्चडका दिएका बली हुँदैनन् ?’ विन्ध्यावासिनीमा बली एकदम घटेको छ तर पोखरामा मासु पसल बढेको छ । फरक के र’ैछ भन्दा बली दिँदा मान्छेले प्रसाद खान्छन् मासु खादैनन । बली वर्षको तीन चार चोटी दिन्थ्यो । उनीहरु मासु खाने भनेर खाँदैनथे । देवीको प्रसादका रुपमा ग्रहण गर्थे । त्यसको परिमाणसमेत सानो हुन्थ्यो । तर, मन्दिरहरुमा बली समाप्त भयो । एउटै टोलमा ५÷६ ठाउँमा बलीहरु सुरु भए । यो समाचार हुन सक्छ कि सक्दैन ? समाचार अर्को पनि छ, हामीले पोखराबाट सँधैं हिमाल देखेका छौं । हामीमध्ये कतिलाई थाहा छ– हिमालका नामहरु, उचाइहरु । हिमाल आरोहण इतिहासका विषयलाई हामीले आफ्नो समाचार लेखनीमा विषय बनाएका छौं कि छैनौं ? हाम्रो दुर्भाग्य ! संसारमा पहिलो चोटी ८ हजार मिटरभन्दा अग्लो हिमालको आरोहणको प्रारम्भ हामीबाट भयो । अन्नपूर्ण प्रथम चढेर यसको आरम्भ भयो । १९५० जुन ३ तारिखमा । सगरमाथा कहिले चढियो ? १९५३ को मे मा । अन्नपूर्ण चढेको तीन वर्षपछि सगरमाथा चढियो तर हामीले यसलाई उजागर गर्न नसकेको हुनाले सगरमाथाको आरोहणको इतिहास बन्यो । अन्नपूर्णको आरोहणको इतिहास बनेन । हामीले पोखराबाट देख्दै गरेको पाँचवटा हिमालले नाम नै पाएको छैन । ७ हजार ५ सय मिटरको सेरोफेरोमा भएका पाँच हिमाल नामविहीन छन् । समाचारहरु छन् । समाचार खोज्नका लागि हामीले अध्ययन गर्न जरुरी छ । त्यसलाई प्रस्तुतिकरणमा हामी कति नवीन हुन सक्छाँै ख्याल गर्न आवश्यक छ । समाचार वाचकको त समाचार लेखनमा केही भूमिका हुँदैन । समाचार लेखन एउटाले गर्छ, त्यो सम्पादककोमा पुग्छ । सम्पादकले सम्पादन गर्छ अनि वाचकले वाचन गर्छ । तर पनि वाचन कति आकर्षक हुन्छ ? भन्ने कुरासँग समाचारको सम्प्रेषण जोडिन पुग्छ । समाचार अत्यन्त महत्वपूर्ण थियो तर वाचन नै काम नलाग्ने भयो भने स्रोताले त्यो समाचारमा ध्यान दिँदैन । समाचार स्रोताका मनसम्म पु¥याउनका निम्ति त्यसलाई बलशाली बनाउनका निम्ति वाचकको पनि भूमिका हुन्छ । मैले यो पत्रकारितामा सिर्जनशीलतालाई यसरी जोड्न चाहेँ । पत्रकारिता यस्तो डरलाग्दो विधा हो । हामीले जुन बेलामा पत्रकारिता गथ्र्यौँ, त्यो बेलामा सबै बीटमा लेख्नुपथ्र्यो । राजनीति, भाषासाहित्य, संस्कृति, विज्ञान, सडक सबै विषयमा समाचार लेखिन्थ्यो । अहिले विस्तारै विधागत पत्रकारिताको युगमा प्रवेश गरिसक्यौं । राजनीतिको विषय लेख्नेले त्यसमा मात्रै केन्द्रित भएर लेख्ने प्रचलन बढ्दो भयो । पत्रकारहरुको संघसंस्था समेत विधागत रुपमा बन्न थालेका छन् । यतिबेला अझै विषयवस्तुका विषयमा हामीले आफूलाई अझै गम्भीरताका साथ लान सक्ने परिस्थतिको निर्माण भएको छ । मैले पत्रकारितामा सिर्जनशीलतालाई के भन्न चाहँे भन्दा, तपाईँको प्रस्तुतिमा सिर्जनशीलता, तपाईको दृष्टिमा सिर्जनशीलता हुन आवश्यक छ । पत्रकार राष्ट्रको मार्गदर्शक पनि हो । एउटा पत्रकारको खोजी पत्रकारिता र त्यसको अध्ययनले संसारको चक्रवर्ति महाराज जस्ता भएका अमेरिकाका राष्ट्रपतिको सत्ता गुमेको इतिहास पनि छन् । त्यस कारण मेरो आग्रह छ, निवेदन छ । पत्रकारिता सामान्य विषय होइन । घटना घट्यो, त्यसको सूचना संकलन गरी आफ्ना माध्यम बाट आम जनमानस समक्ष पु¥याउने मात्र उत्तरदायित्वमा सीमित हुनुभयो भने पत्रकारिताको कर्मकाण्डमा तपाईं सम्मिलित त हुनुभयो तर पत्रकारितालाई एउटा उचाईमा पु¥याउने कुराबाट तपार्इं चुक्नुभयो । त्यो हुनाले पत्रकार साथीहरुले दुईटा विषयमा आफूलाई गम्भीर राख्नुपर्छ जस्तो लाग्छ । सत्यका प्रतिको निकटता, सत्यको सामिप्यतामा जीवलाई आलोकित बनाउने एउटा अभ्यास । दोस्रो आग्रह नराख्नुहोस् । दल वा दलको गुट विषयमा आग्रह नराख्नुहोस् । मैले सम्प्रेषण गरेको समाचार मुलुकका हितमा हुनुपर्छ भन्ने आग्रहका साथ समाचार लेख्नुभयो भने त्यसले तपार्इं, समाज र राष्ट्रलाई कल्याण गर्छ । जसले भोलिका दिनमा अझ सिर्जनात्मक हुनका लागि पनि बल दिइन्छ । पत्रकारिता भनेको छिटछिटो विषय होइन । यो सतहको कुरा मात्रै होइन । पत्रकारितामा जीवतको गाम्भीर्यता छ । पत्रकारितामा सिर्जनशीलता छ र त्यो सिर्जनशीलता मुलुकका पक्षमा छ भनेर हामीले साबित गर्न सक्छौं । (नेपाल प्रेस युनियन कास्कीले ३२ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजना गरेको ‘पत्रकारितामा सिर्जनशीलता’विषयक कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठबाट प्रस्तुत विचारको सम्पादित अंश )
पोखरा: सरकारले बागलुङ, पर्वत र म्याग्दीको उत्तरी क्षेत्रलाई पर्यटन र मगर संस्कृति, पर्यटन क्षेत्रको रुपमा विकास गर्न प्रोत्साहन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बागलुङ, पर्वत र म्याग्दीको उत्तरी क्षेत्रलाई मगर सस्कृति पर्यटन क्षेत्रको रुपमा विकास गर्न प्रोत्साहन गर्ने बताएका हुन् ।
काठमाण्डौ: सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरिएको छ । सिंहदरबारमा बिहान बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे गणतन्त्र दिवसका दिन भोलि चौधरीले आममाफी पाउने छन् । २०७२ साल भदौमा थरूहट थारूवानले कैलालीको टीकापुरमा गरेको आन्दोलनले हिंसात्मक रूप लिँदा ७ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो । त्यसको प्रमुख योजनाकारको रूपमा चौधरी २०७४ फागुन १५ गतेदेखि थुनामा छन् । गएको २ गते सर्वोच्च अदालतले चौधरीलाई जन्मकैद हुने उच्च अदालतको फैसलालाई सदर गरेको थियो । अदालतको यस्तो फैसलापछि पनि सरकारले गणतन्त्र दिवसका अवसरमा उनलाई आममाफी दिन सिफारिस गरेको हो । चौधरीको नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा छ।
काठमाण्डौ: रक्तदानका कार्यक्रम नियमित नहुँदा रगतको अभाव हुन थालेको छ । काठमाण्डौ, चितवन, नेपालगञ्ज लगायत जनघनत्व र अस्पताल धेरै भएका क्षेत्रमा रगत अभाव हुन थालेको हो । नेपाल रेडक्रस, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका अनुसार दुई हप्तादेखि नियमित रुपमा रक्तदानका कार्यक्रम हुन सकेको छैन । यही कारण रगतको अभाव देखिएको केन्द्रका उपनिर्देशक डाक्टर प्रकाशकुमार यादवले जानकारी दिएका छन्। उनका अनुसार काठमाण्डौं उपत्यकामा अहिले दैनिक ६ सयदेखि ८ सय पिन्ट रगतको माग छ । केन्द्रले साढे दुई सयदेखि तीन सय पिन्ट रगत वितरण गर्दै आएको छ । अन्य रगत भने विभिन्न अस्पतालमा खोलिएका ब्लड बैंक तथा सङ्घसंस्थाहरुले वितरण गर्ने गरेका उनले बताए तर, रक्तदान कार्यक्रम नियमित नहुँदा समस्या भएको उनको भनाइ छ । रगतदानका लागि सचेतनामूलक कार्यक्रम नहुँदा र रक्तदातालाई प्रोत्साहन गर्न नसक्दा हरेक वर्ष रगतको अभाव हुने गरेको छ । रगत अभाव भएपछि केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र र यसका शाखाहरुले रगत दानलाई नियमित गरिदिन आग्रह गरेका छन् । रगतको माग अनुसार पूर्ति गर्न नसकेकाले रक्तदान गरेर जीवनदान दिन सबै रक्तदाता, रक्तदान गर्ने सङ्घसंस्था, रेडक्रसकर्मीमा रक्तदान कार्यक्रमको आयोजना गरिदिन केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र र यसका शाखाहरुले आग्रह गरेका छन् ।
काठमाडौं: ललितपुर महानगरपालिकाले सडक बनाउन ढिलाइ र लापरबाही गर्ने दुई वटा निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधेको छ । महानगरले आज सार्वजनिक सूचना निकालेर बिरुवा कन्सट्रक्सन प्रालि काठमाण्डौ र सीएम–पवित्रा महर्जन जेभी ललितपुरलाई ७ दिनभित्र उपस्थित भइ स्पष्टीकरण दिन भनेको हो । महानगरपालिका र ती निर्माण व्यवसायीबीच विभिन्न सडकको कालोपत्र स्तरोन्नति गर्ने ठेक्का सम्झौता भएको थियो । सम्झौतापछि निर्माणको काम गर्न महानगरपालिकाले आवश्यक सबै समन्वय र सहजीकरण गरेको तर निर्माणको काम सन्तोषजनक नरहेको महानगरले जनाएको छ । कार्यतालिका अनुसार काम नगरि अलपत्र परेका निर्माण व्यवसायीले प्रचलित कानुन एवं ठेक्का सम्झौता र आफ्नै प्रतिबद्धता उल्लङ्घन गरेको महानगरपालिकाले जनाएको छ ठेक्का सम्झौता, सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को उल्लङ्घन गरेकोमा सम्झौता रद्द गरी कालोसूचीमा राखेर किन कारबाही नगर्ने ? भनेर महानगरले स्पष्टीकरण सोधेको छ । तोकिएको समय ७ दिनभित्र उपस्थित भइ चित्तबुझ्दो कारण पेस नगरेमा सम्झौता रद्द गरी थप कारबाहीको प्रक्रिया अगाडि बढाउने पनि महानगरले चेतावनी दिएको छ ।