पोखरा: लायन्स क्लब अफ पोखरा ग्यालेक्सीले विभिन्न सेवामूलक कार्यसहित साप्ताहिक कार्यक्रम सम्पन्न गरेको छ । क्लबका नँया अध्यक्ष अम्बरबहादुर थापाको कार्यकाल र नँया लायन वर्षको शुभारम्भको अवसर पारेर क्लबले यही जुलाई १ देखि ७ तारिखसम्म सातवटा सेवामूलक कार्यक्रम गरेको हो । जसअन्तर्गत जुलाई १ तारिखका दिन वृक्षरोपण, २ मा पोखरा आरोग्य आश्रममा खाघ सामाग्री वितरण, ३ मा मृगौला पीडितलाई आर्थिक सहयोग, ४ मा मधुमेह सम्बन्धी सचेतना, ७ मा विद्यार्थीहरुका लागी ट्राफिक सचेतना, ६ मा भद्रकाली मन्दिर परिसरमा सरसफाई र ७ तारिखमा लायन सदस्यहरुका लागी क्षमता वृद्धिसम्बन्धी तालिम सञ्चालन गरिएको सहसचिव जिवलाल न्यौपानेले जानकारी दिनुभयो ।
सर्लाहीको पर्सा गाउँपालिका–४ को बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको ज्यान गएको छ । स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले जानकारी दिनुभयो । हिजो दिउँसो घरबाट निस्केका उनीहरु राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा गए राति घरभन्दा तीन सय मिटरको दूरीमा रहेको बाँके खोलामा खनिएको खाल्डोमा मृत अवस्थामा भेटिएका हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विषालु च्याउ खाँदा डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना बिरामी भएका छन् । बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो । च्याउ खाँदा १८ वर्षीय अनमोल डुरा, ६० वर्षीया गङ्गा डुरा, १४ वर्षीया एलिजा डुरा, ३९ वर्षीय बासु बोगटी, १० वर्षीया मिना बोगटी, १२ वर्षीय सुनिल बोगटी, ४३ वर्षीया सकुन्तला खड्का बिरामी भएका छन् । १२ वर्षीया निशा बोगटी, ३९ वर्षीय बर्मा देवल, ५० वर्षीय बबर देवल र १९ वर्षीय सानु बोगटी पनि बिरामी परेका हुन् । यसअघि हिजो दैलेखको महाबु गाउँपालिका–२ डुङ्ग्रीमा जङ्गली विषालु च्याउ खाँदा एकै घरका चार जना बालबालिका बिरामी परेका छन् । विषालु च्याउ खाँदा गएको १५ गते ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको थियो । हरेक वर्ष विषालु च्याउ खाँदा झण्डै ३० जनाको ज्यान जान गरेको सरकारी तथ्याङ्क छ । स्वास्थ्य मन्त्रालय र विज्ञले जङ्गलमा पाइने च्याउ नखान आग्रह गरेका छन् । जङ्गली च्याउ खाँदा बिरामी पर्ने र ज्यानैसमेत जान सक्ने जोखिम हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाण्डौ: काठमाण्डौको ठमेलमा रहेको लर्ड अफ द ड्रिङ्क्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिलबल्लव श्रेष्ठलाई प्रहरीले आज पक्राउ गरेको छ । एलओडीमा गएकी १६ वर्षकी बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई आज बिहान कुपण्डोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । त्यही मुद्दामा अर्का सञ्चालक राजुसिंह सुवाललाई बिहीवार हिजो बेलुका बालुवाटारबाट पक्राउ गरिएको थियो । उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी शाहले जानकारी दिनुभयो । जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुई जना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको थियो । प्रहरीले यसअघि बलात्कारको आरोप लागेका सुदन कोइरालालाई पक्राउ गरिसकेको छ ।
पोखरा: नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपिए) गण्डकी प्रदेशको अध्यक्षमा वरिष्ठ फर्मासिस्ट उपप्राध्यापक प्रकाश पौडेल निर्वाचित भएका छन् । औषधि विज्ञानको पुरानो संस्थाको रुपमा रहेको एसोसिएसनको पोखरामा सम्पन्न प्रथम अधिवेशनले पौडेललाई अध्यक्षमा निर्वाचित गरेको हो । पोखरा महानगरपालिका २५ हेमजा स्थित सुब्बाथर घर भएका उपप्राध्यापक पौडेल गण्डकी विश्वविद्यालय अन्र्तगत औषधि विज्ञान संकायका संयोजक समेत हुन् । एसोसिएसनको विधान अनुरुप देशका सातै प्रदेशमा कार्यसमिति चयन गर्ने कार्यक्रम अनुसार गण्डकीमा चयन भएको कार्यसमितिको उपाध्यक्षमा नवराज बाँस्तोला, सचिवमा विजय त्रिपाठी, कोषाध्यक्षमा कुशल सुवेदी र सदस्यहरुमा शोभित पौडेल, युवराज पौडेल सगै महिला सदस्यमा अमृता अधिकारी निर्वाचित भएकी छिन् । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा मतदान भएको थियो भने बाँकी अन्य पदहरुमा निविरोध भएको थियो । कार्यसमिति चयनका लागि अधिवक्ता नारायण प्रसाद तिवारीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचित कार्यसमितिका पदाधिकारी एंव सदस्यहरुलाई निर्वाचन संयोजक तिवारी सगै नेपाल फर्मास्यूटिकल एसोसिएसनका केन्द्रिय अध्यक्ष ललितमोहन पन्त, महासचिव संजिव कट्टेल, प्रचार सचिव अनिश श्रेष्ठ र नेपाल फार्मेसी फार्मेसी परिषद (एनपिसि) का रजिस्ट्रार संजिव पाण्डे लगायतले प्रमाणपत्र प्रदान गरेका थिए । नेपाल फार्मेसी परिषद्को स्थापना, फर्मास्यूटिकल जर्नलको प्रकाशन, औषधि व्यवस्थापन सम्बन्धी तालिम, हस्पिटल फार्मेसी र कम्युनिटि फार्मली सम्बन्धी कार्यशालाको आयोजना, औषधि विज्ञान विषयका विद्यार्थीलाई व्यवाहारिक तालिम जस्ता औषधि विज्ञानको विषयमा प्राविधिक सेवा पुरयाउनुका साथै फर्मासिष्टको पेशागत हक हितको क्षेत्रमा काम गर्दै आएको औषधी विज्ञानको विभिन्न क्षेत्रमा कार्यरत जनशक्तिको वैधानिक छाता सङ्गठनको स्थापना वि.सं. २०२८ मा भएको थियो ।
काठमाण्डौ: कलाकार सारुक ताम्राकार मृत भेटिएका छन् । काठमाण्डौ रातोपुलमा रहेको आफ्नै घरमा उनी मृत भेटिएका काठमाण्डौ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिनुभयो । ताम्राकारको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले फिल्म ‘रानी’ ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डनमा’ र ‘नमरी बाँचे’ मा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायाङ्कनमा व्यस्त थिए । उनी कलाकार सानु ताम्राकारका छोरा हुन् ।
काठमाण्डौ: वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाण्डौ उपत्यकामा ल्याइने भएको छ । मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा अहिले सुरुङ बन्द गरिएको छ। नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाण्डौ उपत्यकामा ल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । आयोजनाले काठमाण्डौ उपत्यकामा पानी यति नै महिना बन्द गर्ने भनी निर्णय त गरेको छैन । तर वर्षापछि बाढी आउने हुँदा अहिलेलाई सुरुङ बन्द गरिएको छु, उहाँले भन्नुभयो । वर्षा रोकिए सङ्लो पानी भएको अवस्थामा पुनः पानी काठमाण्डौ उपत्यकामा ल्याइने पन्तको भनाइ छ। आयोजनाले काठमाण्डौ उपत्यकामा पानी यस वर्ष वर्षाभरि नै बन्द नगर्ने गरी योजना बनाएको थियो । अहिले लेदोसहितको पानी आएपछि सुरुङ केही समय बन्द गरिएको आयोजनाले जनाएको छ । आयोजनामा संलग्न दातृ निकाय र परामर्शदाता कम्पनीले चलाउँदै बन्द गर्दै गर्दा सुरुङमा समस्या आउनसक्ने सम्भावना भएकाले वर्षा हुँदासम्म बन्द गर्न सुझाव दिएको पन्तले बताउनुभयो । पानी पठाउँदा बालुवा र माटो थुप्रिन सक्ने भएकाले बन्द गरिएको होु, पन्तले भन्नुभयो । मेलम्चीको पानी यसअघिका वर्षमा पनि हिउँदमा काठमाण्डौ ल्याइएको भए पनि वर्षामा सुरुङ बन्द गरिएको थियो । विसं २०७८ साल असार १ गते मेलम्चीमा बाढी आउँदा आयोजनामा क्षति पुगेको थियो । क्षति भएका संरचनाको पुनःनिर्माण बाँकी छ ।
इलाम: इलाममा एक पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माईजोगमाई–२ टारसिंहका ५६ वर्षीय पीताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेका इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिनुभयो । राधिका पिताम्बरकी जेठी श्रीमती हुन् । गएराति करिब साढे १० बजेतिर बजेतिर चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेर्दा घटनाबारे जानकारी प्राप्त भएको घिमिरेले बताउनु भयो । राधिका कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीचौकी गोर्खेका प्रहरी सहायक निरीक्षक मदन बस्नेत तथा प्रहरीचौकी जौबारीका प्रहरी सहायक निरीक्षक धनप्रसाद रिमालको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ । गालामा गहिरो चोट लागेकी राधिकाको घटनास्थलमै ज्यान गएको एसपी घिमिरेले जानकारी दिनुभयो । पिताम्बर भने घरदेखि एक सय मिटर टाढाको निबारोको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट समेत थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
काठमाण्डौ: प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उच्च शिक्षाका लागि बर्सेनि लाखौँको सङ्ख्यामा विद्यार्थी बाहिरिने परिस्थिति रोकेरमात्र विश्वविद्यालयहरूले आफ्नो औचित्य पुष्टि गर्नसक्ने बताउनुभएको छ । बिहीवार दिउँसो पोखरा विश्वविद्यालयको सिनेट बैठकमा प्रधानमन्त्री प्रचण्डले विदेशमा अध्यययन गर्न जाने विद्यार्थीको अस्वाभाविक आकर्षण बढेको विषयलाई नेपालका विश्वविद्यालयहरूले गम्भीर समीक्षा गर्न जरुरी रहेको बताउनुभएको हो । विश्वविद्यालयको २३ औँ सिनेट बैठकलाई सम्बोधन गर्दै उहाँले, ‘पछिल्लो समय नेपाली विद्यार्थीहरूमा विदेशमा अध्यययन गर्न जाने अस्वाभाविक आकर्षण बढेको छ । यस विषयलाई नेपालका विश्वविद्यालयहरूले गम्भीर समीक्षा गर्न जरुरी छ ।’ सङ्घीय शिक्षा ऐन छिटो पारित गर्न सरकारले उच्च प्राथमिकता दिएकोसमेत प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सङ्घीय शिक्षा ऐन सङ्घीय संसदमा प्रस्तुत भइसकेको छ । शिक्षा क्षेत्रसम्बन्धी जति पनि समस्याहरू छन्, त्यसको समाधानका निम्ति ऐन निकै महत्त्वपूर्ण हुने हामीले विश्वास लिएका छौँ ।’ प्रधानमन्त्रीले ‘विश्वविद्यालयको रणनीतिक योजनामा रहेका विषयवस्तु र कार्ययोजना राम्रो रहे पनि रणनीतिक योजनामा यसअघिको रणनीतिक योजनामा लक्ष्य निर्धारण भएका क्रियाकलापहरू कति परिणाममुखी भए, कति कार्यान्वयन हुन सके वा सकेनन्, के कस्ता जोखिमहरू आए’ जस्ता विषयहरूमा गम्भीर बहस हुनुपर्ने बताउनुभयो । सबै विश्वविद्यालयहरूले एकेडेमिक क्यालेन्डर बनाई दृढतापूर्वक लागू गर्नुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्रीले भन्नुभयो, ‘अध्ययनका लागि विद्यार्थी विदेशिने परिस्थिति रोक्न विश्वविद्यालयहरूले एकेडेमिक क्यालेन्डर बनाई विद्यार्थी भर्ना, पठनपाठन र परीक्षा सञ्चालन समयमै हुने एवम् तोकिएको शैक्षिक अवधिमा विद्यार्थीहरूको अध्ययन पूरा हुने व्यवस्था गरिनुपर्दछ । विश्वविद्यालयले देशको आवश्यकता र विद्यार्थीहरूको मागअनुसारको समय सान्दर्भिक पाठ्यक्रमहरू निर्माण र कार्यान्वयनमा जोड दिनुपर्ने देखिन्छ ।