आजदेखि धरहरा चढ्न पैसा लाग्ने भएको छ । सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ ।   विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहु...

बागलुङ : बागलुङको जैमिनी नगरपालिका-१ ले ज्येष्ठ नागरिकहरूलाई ब्ल्यांकेट वितरण गरेको छ।    वडा कार्यालयले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै न्यानो कपडा ब्ल्यांकेट वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद आचार्यले बताए।    वडाध्यक्ष आचार्यले ९० वर्ष माथिका ज्येष्ठ सदस्यहरूलाई सम्मान गर्नका लागि र उदास हुने उमेरमा हौसला प्रदान गर्नको लागि गर्मी र जाडो दुवै समयमा ओड्न काम लाग्ने ब्ल्यांकेट प्रदान गरिएको बताए।    उनले वडामा १० जना ९० वर्ष माथिका ज्येष्ठ सदस्य रहेपनि सात जनालाई वितरण गरिएको र तीन जना बाहिर रहेकाले पछि सम्मान गरिने बताए।   ‘वृद्ध उमेरमा ज्येष्ठ नागरिकहरूलाई स्थानीय सरकार उनीहरूको साथमा रहेको अनुभूति दिलाउन सम्मान गरिएको हो, वडा अध्यक्ष आचार्यले भने,‘स्थानीय तहको विकासको लागि ज्येष्ठ नागरिकहरूबाट सल्लाह र सुझाव लिएर अगाडि बढ्ने छौं।’

गुल्मी:  गुल्मीमा पहिलो पटक पशुको भिडियो एक्स–रे सेवा सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले यो सेवा सुरु गरेको हो ।   केन्द्रले पशुको भिडियो एक्स–रे सेवा सुरु गर्दा स्थानीय कृषकहरु निकै खुसी भएका छन् ।    लुम्बिनी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको सिफारिसमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले यहाँ भिडियो एक्स–रे मेसिन उपलब्ध गराएको हो ।   भिडियो एक्स–रेबाट पशुहरुको बाँझोपनको समस्या र गर्भ परीक्षण गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख डा.भरत काफ्लेले जानकारी दिनुभयो ।    किसानका घर–घरमा पुगेर पशुहरुको भिडियो एक्सरे गर्न पालिकाका प्राविधिकमार्फत तथ्याङ्क सङ्कलन भइरहेको छ । इस्मा गाउँपालिकाको विभिन्न्न स्थानबाट यो सेवा सुरु गरिएको हो ।   किसानको मागअनुसार यो सेवालाई जिल्लाका सबै स्थानमा पु¥याइने डा. काफ्लेले बताउनुभयो ।   

पोखरा:    पोखरा महानगरपालिका २३ मा तेस्रो संस्करणको चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव मंगलबारदेखि सुरु हुने भएको छ ।  चापाकोट पर्यटन प्रवद्र्धन समितिले पोखरामा पत्रकार सम्मेलन गर्दै मंगलबार (भोलि) देखि महोत्सव सुरु हुने जानकारी दिएको हो । फेवातालको सिरानमा रहेको वडा २३ को स्थानीय उत्पादनसँगै पर्यटन र होमस्टेलाई प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको समितिको अध्यक्ष भीम पराजुलीले बताए ।   ‘महानगरपालिकाको पनि कर्णाली क्षेत्र रहेको उक्त वडामा महोत्सवकै कारण पछिल्लो समय कालोपत्रे सडक निमार्ण कार्य थालिएको छ,उनले भने, ‘हामीले यहाँको विकासका लागि नै यो महोत्सव आयोजना गरेर नेतृत्व तहमा पुगेका नेताहरुलाई ल्याउने जमर्को गरेका छौँ ।’ पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा नौमती बाजा प्रतियोगिता, भजन प्रतियोगिता र रत्यौली प्रतियोगिता मुख्य आकर्षण रहेको चापाकोट पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष पराजुलीले जानकारी दिए । उनका अनुसार तिनै प्रतियोगिताको पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः ३३ हजार ३३३, २२ हजार २२२, ११ हजार १११ र ५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् । महोत्सवमा यो वर्ष लप्सी, मह र दमौराको प्रदर्शनीसँगै बिक्री गर्ने गरिनेछ । महोत्सवमा महिला तथा पुरुष दौड प्रतियोगिता समेत आयोजना गरेको छ । प्रतियोगिताको विजेताले पाँच हजार रुपैयाँ दोस्रोले तीन हजार, तेस्रोले दुई र सान्त्वनाले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । भने प्रतियोगितामा सहभागिता जनाउन पुरुष तर्फ ५ र महिलातर्फ ३ सय शुल्क कायम गरेको कार्यक्रम संयोजक चेतनाथ देवकोटाले बताए ।  उनका अनुसार बाल नृत्यतर्फको विजेताले २ हजार ५ सय, दोस्रोले २ हजार, तेस्रोले १ हजार पाँच सय र सान्त्वनाले ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै दुना टपरी बुन्ने प्रतियोगितामा विजेताले २ हजार, दोस्रोले १५ सय, तेस्रोले १ हजार सान्त्वनाले ५ सय र सहभागि हुन् २ सय शुल्क कायम गरेको छ । झाकी प्रदर्शनी तर्फको विजताले ५ हजार, दोस्रोले ३ हजार, सान्त्वनाले १ हजार पुरस्कार पाउनेछन् । महोत्सवमा २५ लाख खर्च हुने आयोजकले जनाएको छ भने २५ हजारले दर्शकले महोत्सव अवलोकन गर्ने बताइएको छ । सचिव घनश्याम पराजुलीले महोत्सव स्थलसम्म जानका लागि पोखराको हल्लनचोकदेखि गाडीको व्यवस्था गरिएको जानकारी दिए ।

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताउनुभएको छ । आदिवासी जनजाति आयोगले शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिवासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो ।   कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “हामीले संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा विभिन्न संवैधानिक आयोगहरुका बारेमा गम्भीर रुपमा छलफल गरेका थियौँ । गम्भीर छलफलपछि हामी आदिवासी, महिला, दलित, मुस्लिमलगायतका आयोग बनाउने निष्कर्षमा पुगेका हौँ । यो सानो संघर्ष र बलिदानीबाट प्राप्त भएको होइन ।”   “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलूक हो । सबै वर्ग, जाति र समुदायलाई समान अवसर र प्रतिनिधित्व गराएर मात्र आन्तरिक राष्ट्रियता बलियो बनाउन सकिन्छ” प्रधानमन्त्रीले भन्नुभयो, “राज्यका सबै अंगमा समावेशी प्रतिनिधित्व भएको छ । यद्यपि, यो पूर्ण छैन । तर, यो निकै महत्त्वपूर्ण कुरा हो । यसलाई अझै समावेशी र पूर्ण समानुपातिक बनाउने छलफल चलि नै रहेको छ । त्यसका लागि हाम्रो प्रयास जारी रहनेछ ।”     “महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख हुनुमा मलाई गर्व छ । यो अधिकार हाम्रै संघर्षको परिणाम हो । एकीकृत र केन्द्रिकृत राज्यले अपमान र विभेदमा पारिएका समुदायको पक्षमा लड्दै आएको छु । भोलि पनि लड्नेछु । कुन पार्टीबाट को आए भन्ने कुरा मेरा लागि खास अर्थ राख्दैन । जुन पार्टीबाट आए पनि हाम्रो मुद्दाका कारण आउनुभएको छ, हाम्रो आन्दोलनका कारण आउनुभएको छ” प्रधानमन्त्रीले भन्नुभयो ।   “सिङ्गो देश नै हामीले गरेको आन्दोलन र मुद्दाको वरिपरि नै छ । हाम्रो आन्दोलनको विजय भएको छ” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “तर, एउटा प्रश्न त आउँछ नै । एउटा नेतृत्वले समाजको रुपान्तरणका लागि जे जस्तो संघर्ष र त्याग गर्‍यो, त्यसलाई सम्मान गर्न हामी चुकेका त छैनौँ ? हाम्रो आन्दोलनबिना यी मुद्दा सम्वोधन हुन सम्भव थिएन । तर, यसको उचित सम्मान गर्न, नेतृत्व स्थापित गर्न हामी चुकेका छौँ । त्यसलाई सम्मान गर्न सकिएन भने प्राप्त उपलब्धि पनि खोसिने खतरा रहन्छ ।”   प्रधानमन्त्री भन्नुभयो, “उत्पीडित वर्ग दिग्भ्रमितमा पर्नु हुँदैन, त्यसो हुँदा आन्दोलनका उपलब्धि खोसिन सक्छन् । यसप्रति तपाईहरु सबै गम्भीर हुनुपर्छ । यी उपलब्धि सजिलै प्राप्त गरेको होइन । धेरै ठूलो संघर्ष र बलिदानीबाट प्राप्त भएको हो । यो कुरा एकथरि मान्छेलाई मन परेको छैन । हामीले त्यसको रक्षा र विकास गर्नुपर्छ ।”     “म आन्दोलनको नेतृत्व गर्दा सुरुदेखि नै आदिवासी जनजाति समुदायसँग घनिष्ठ सम्बन्ध स्थापित गर्दै आएको छु”, प्रधानमन्त्रीले भन्नुभयो, “चाहे रोल्पा, रुकुम भन्नुस्, चाहे भोजपुर, खोटाङ भन्नुस्, चाहे गोरखा, लम्जुङ, तनहुँ, मनाङ भन्नुस्, चाहे थारुका आधार क्षेत्र बाँके, बर्दिया, कैलाली, कञ्चनपुर भन्नुस्, चाहे मधेश भन्नुस्, म उत्पीडित वर्ग र समुदायसँग एकाकार भएर नै आन्दोलनको नेतृत्व गरेको हुँ।”   प्रधानमन्त्रीले भन्नुभयो, “केही भ्रमहरु छन् । तर, यो आन्दोलनको सच्चाइ कसैले रोकेर रोक्न सक्दैन । यो माओवादी आन्दोलनको उपलब्धि हो । हामीले विश्वभरिका आन्दोलनको कुरा गर्छौं, अधिकारको कुरा गर्छौं । तर, हाम्रै आन्दोलन र यसको नेतृत्वका बारेमा कुरा गर्न, त्यसको सम्मान गर्न हामीलाई के कुराले रोक्यो ? तसर्थ, इतिहासप्रति न्याय गर्न हामी चुक्नु हुँदैन ।”   “अर्थतन्त्रमा चुनौतीहरु छन्, त्यसलाई सही बाटोमा लैजानु छ, समतामूलक समाजको निर्माण गर्नु नै छ । राष्ट्रिय एकताको आधार पनि यही हो । उत्पीडितहरुको एकताले मात्र देशको मात्र रक्षा गर्न सकिन्छ, जनताको अधिकारको पनि रक्षा गर्न सकिन्छ । तसर्थ, उपलब्धिको रक्षाका निम्ति राष्ट्रिय सहमति र एकता जरुरी छ । राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छ र बदल्नुपर्छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

पोखरा:   नेपाल वित्तिय संस्था कर्मचारी संघ (FIEUN) कास्की जिल्ला कार्यसमितिको शुक्रबार भएको नवौं अधिवेशनले यामबहादुर रानाभाटको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।   संघको उपाध्यक्षमा कृष्णप्रसाद वराल, सचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा नविन भण्डारी, र सदस्यमा शंकर भण्डारी, देवी लामिछाने, मुना जिसी, निलम लम्साल, सुनिता कार्की, गणेश आले, मञ्जु आले, अध्यक्षबाट मनोनित दुई सदस्यहरु कुलबहादुर तामाङ र गोपिनाथ पोखरेल रहेका छन् ।   कार्यक्रमका प्रमुअख अतिथि नेपाल ट्रेड युनियन गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माले श्रमिकको हकहितको लागि वर्तमान सरकार गम्भिर नभएको हुँदा सबै श्रमिक एकजुट हुनपर्ने बताए ।   विशेष अतिथि नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय समिति सदस्य ओमकार गिरीले वित्तिय क्षेत्रका कर्मचारीहरुको हकहितको लागि राष्ट्रिय समितिले विविध कार्य गर्दै आएको बताए।     प्रमुख अतिथि शर्माले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।   सो अवसरमा ट्रेड युनियनका जन्मदाता पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको तस्विरमा पुष्प गुच्छा अर्पण गरिएको थियो ।   संघका अध्यक्ष ज्ञाज शर्माले आफ्नो कार्यकालमा कोरोना महामारीको कारण संस्थाले सोचे जस्तो कामहरु गर्न नपाएको उल्लेख गर्दै आगामि दिनहरुमा संस्थाका गतिविधिलाई निरन्तर अगाडि वढाउनु पर्ने वताएका थिए । संघमा प्रायः बैक तथा वित्तिय संस्थाहरु, विमा कम्पनिहरु, कर्मचारी सञ्चयकोष आवद्ध रहेका बताए ।   नवनिर्वाचित अध्यक्ष यामबहादुर रानाभाटले वित्तिय क्षेत्रमा कार्यरत कर्मचारीहरुले आफ्नो अधिकार र कर्तव्यलाई आत्मसात गर्दै संस्थाको गरिमालाई उच्च पार्ने कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।   अध्यक्ष ज्ञाज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुर्यरमण पराजुलीले र संचालन सचिव यामबहादुर रानाभाटले गरेका थिए ।

जनकपुरधाम: धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भाग्ने योजनाकार पक्राउ परेका छन्। लागुऔषध मुद्दामा पक्राउ परेर फरार भएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –५ का ३५ वर्षीय विनोदकुमार शर्मा पक्राउ परेका हुन्।   उनलाई बुधबार राति १ बजे मथिला नगरपालिका १० स्थित रातु खोलाको बगरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।   पुस २८ मा लागुऔषधसहित पक्राउ परेका शर्मा नै हिरासत फोड्ने योजनाकार हुन्। हिरासतमा सबै भन्दा बढी १८ दिनदेखि शर्मा नै थिए। उनैले फोड्ने सुरुवात गरेरपछि अन्य थुनुवाको साथ पाए र पछि फोड्न सफल भएर ६ जना एक साथ फरार भएका थिए।   शर्मासँगै फरार ६ जनामध्ये ४ जना पक्राउ परिसकेका छन्। मंगलबार राति अभद्र व्यवहार तथा शान्ति सुरक्षा विरुद्धको मुद्दाका फरार थुनुवा हरिदिप सिंह, मंगलबार दिउँसो अमित मण्डल र सोमबार हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको हो। अन्य दुई थुनुवाको खोजी पनि गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

घोराही:  बङ्गलाचुली गाउँपालिका–८, पाँचपोखरी निवासी १७ वर्षीया पशुपति सोमई आमा बन्नुभएको डेढ वर्ष भयो। माध्यमिक विद्यालय जबरकोटमा कक्षा ९ अध्ययन गर्ने क्रममा गाउँकै एक किशोरसँग मायाप्रेम बसेपछि पशुपतिले १४ वर्षको उमेरमा विवाह गर्नुभएको थियो।  विवाह भएपछि नयाँ घरको बुहारी बन्नुभएकी पशुपति घरको काममा लाग्न थल्नुभयो। तर, उहाँसँगैका साथीहरू भने पढ्दै गरेका थिए। “साथीहरू पढ्दै छन्, उनीहरूले पढेको देख्दा रहर लाग्छ,” उहाँले भन्नुभयो, “तर मैले विवाह गरेपछि घरको काममा लागेँ, पढ्न सकिनँ।” त्यसैमा पछिल्लो समय बच्चासमेत भएकाले थप समस्या हुन पुग्यो। सुरुमा रहरमै विवाह गरे पनि अहिले पढेको भए हुन्थ्यो झैँ लाग्ने गरेको उहाँले बताउनुहुन्छ।  बङ्गलाचुली–८, हाँसीपुरकै भुमा दर्लामी पनि १८ वर्षको उमेरमा आमा बन्नुभयो। तीन वर्षअघि भागी विवाह गर्नुभएकी भूमासँग अहिले आठ महिनाको बच्चा छ । कक्षा १० मा पढ्दै गर्दा भागेर विवाह गर्नुभएकी भुमाले पनि पढाइ छोड्नु परेको थियो। श्रीमान् कमाउनका लागि छिमेकी देश भारत गएपछि भूमालाई बच्चासँगै घर व्यवस्थापनको समेत जिम्मेवारी थपियो। त्यसमाथि सासुससुराको हेरचाह गर्नुपर्ने जिम्मेवारी पनि उहाँमाथि नै आइप(यो।  पशुपति र भूमा मात्रै होइन, पछिल्लो समय यस जिल्लाको विकट क्षेत्र बङ्गलाचुली गाउँपालिका–८ का अधिकांश किशोरी १४ देखि १६ वर्षकै उमेरमा विवाह गर्ने गरेका छन्। किशोरी उमरमै विवाह गर्नेहरूको सङ्ख्या बढ्दो गतिमा रहेको हाँसीपुर स्वास्थ्य चौकी इन्चार्ज देवीमाया बुढामगर बताउनुहुन्छ। उहाँका अनुसार स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न २० वर्षमुनिका गर्भवती किशोरीको सङ्ख्या बढी नै हुने गरेको छ । विवाह गर्ने उमेर महिलाका लागि २० भने पनि अधिकांशले १५र१६ वर्षकै उमेरमा विवाह गर्ने र २० वर्षअघि नै दुईदेखि तीनवटासम्म बच्चा जन्माइसक्ने गरेको इन्चार्ज बुढाले बताउनुभयो। विवाह गरेपछि सानै उमेरमा बच्चा जन्माउने गरेका कारण स्वास्थ्यमा समस्यासँगै अधिकांश विवाहित किरोशीले पढाइ छोड्ने गरेको उहाँले बताउनुभयो। “विवाह गरेर पढ्नेहरू गाउँमा देखिँदैन, अधिकांशले पढाइ छोडेका छन्,” उहाँले भन्नुभयो, “गाउँमा अहिले पनि विवाहपछि पढ्नुपर्छ भन्ने सोच छैन। विवाहित बुहारीले घरकै काम गर्नुपर्छ भन्ने मात्रै सोचिन्छ।”  सानो उमेरमा विवाह गरेर बच्चा जन्माउँदा आमा र शिशुको स्वास्थ्यमा समस्या देखिने गरेको छ। बाल विवाह गर्ने धेरै भए पनि आधिकारिक तथ्याङ्क भने पालिकासँग छैन। विवाह गरेर किशोरी घरको काममा लाग्ने र श्रीमान् कमाउनका लागि विदेश जाने हुँदा गाउँका अधिकांशले स्कुल तहमै पढाइ छोड्ने गरेको हाँसीपुरका स्थानीय गोपालसिंह गाहामगर बताउनुभयो। “विवाह गरेपछि खर्च बढ्ने गर्छ, त्यसैले केटाहरू कमाउनका लागि बाहिर जाने गर्छन्,” उहाँले भन्नुभयो, “केटीहरू भने घरको काममा लाग्ने गर्छन्, जसका कारण उनीहरूको पढ्ने उमेर खेर जाने गरेको छ ।”    

पोखरा:  एबिसी टेलिभिजनका गण्डकी ब्यूरो प्रमुख एम बि आस्थामगरलाई तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकीको दोस्रो प्रदेश अधिवेशनको अवसरमा संचारकर्मी तथा गायक स्वं सुवेदीको स्मृतिमा स्थापित सो पुरस्कारबाट आज (सोमबार)  पुरस्कृत भएका हुन् ।   उनलाई कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका संस्थाका केन्द्रीय अध्यक्ष रमेश बिजीले सम्मानपत्र, दोसल्ला तथा नगद राशी अर्पण गरे ।   सो अवसरमा बोल्दै केन्द्रीय अध्यक्ष बिसीले कलाकारलाई देशको गहना भएतापनि अहिलेसम्म स्तरीय सम्मान दिन नसकेको बताए । उनले लोक तथा दोहोरीगीतको विकासका लागि कलाकारसंबद्ध संस्थाले मात्रै नभएर सरकारी निकायले पनि ध्यान दिन आवश्यक रहेको धारणा राखेका थिए ।    प्रतिष्ठानले सोही कार्यक्रमकाबीच विभिन्न विधामा योगदान पुर्याएका व्यक्तित्व तथा अग्रज कलाकारहरुलाई सम्मान प्रदान गरिएको थियो ।    सो कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष पुर्षाेत्तम न्यौपाने, प्रजापति पराजुली लगायतले शुभकामना व्यक्त गरेका थिए ।   पुरस्कृत आस्थामगर विगत २ दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशिल छन् भने नेपाल आदिवासी जनाजाति पत्रकार महासंघ (फोनिज) का गण्डकी प्रदेश इन्जार्चसमेत हुन् ।

दैलेख:  ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिवार साँझ दैलेख सदरमुकाम नजिकै मध्यपहाडी राजमार्गको गहतारीमा भएको दुर्घटनामा परी नारायण नगरपालिका १० भवानीका २३ वर्षीय रमेश विकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डीएसपी) भुवनेश्वरप्रसाद साहले छामघाट खोलाबाट ढुङ्गा बोकेर किम गाउँतर्फ जाँदैगरेको भे २ त १४७८ नम्बरको ट्याक्टर पल्टिएर घाइते भएको र उपचारका लागि जिल्ला अस्पताल पुग्दा उहाँको मृत्यु भएको बताउनुभयो । उहाँले ट्याक्टर चालक भगवतीमाई गाउँपालिका –७ बडाभैरबका कृष्णबहादुर बिक फरार भएकाले उनको खोजी भइरहेको उहाँले बताउनुभयो । मृतक रमेश बिक पनि ट्याक्टर चालक रहेको प्रहरीले जनाएको छ ।