दैलेख । लिङ्गे पिङबाट लडेर १८ वर्षीय युवकको मृत्यु भएको छ । नारायण नगरपालिका–६ काँडाचौर बसपार्कमा पिङ खेल्ने क्रममा लडेर नारायण नगरपालिका–६ का १८ वर्षीय नवराज बोगटीको मृत्यु भएको हो । पिङ खेल्न सुरु गरेलगत्तै दुईपटकसम्म पिङमा मच्चिएका उनी एक्कासी पिङबाट लडेका थिए । स्थानीयले उनको उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेख लगेको भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहले बताउनुभयो । जिल्लाभर पिङ हाल्ने र खेल्ने प्रचलन धेरै छ । पिङ खेल्दा सुरक्षा अपनाउन जिल्ला प्रशासन कार्यालय दैलेखले सबैलाई अनुरोध गरेको छ ।
काठमाडौँ । लक्ष्मीपूजाको दिन भैली र गोवर्धन पूजाको दिन देउसी खेल्ने नेपाली मौलिक धार्मिक परम्परा विस्तारै लोपहुँदै गएको छ । झिलिमिली साँझमा घरका दैलोमा आएर भैली खेल्ने, आगनभरी घुमेर देउसी खेल्ने विगतका सांस्कृतिक मौलिक परम्परा आजभोलि विरलै देख्न पाइन्छ । सहरी क्षेत्रमा तिहार पर्व प्रारम्भ हुने वित्तिकै लक्ष्मीपूजा वा गोवर्धन पूजा नै नगरी देउसी खेल्न प्रारम्भ गरिन्छ । त्यो देउसीमा चलचित्र गीत, माया पिरतिका गीत, पप, ¥याप गीत गाउने गएर देउसीभैली खेल्ने गरेको देखिन्छ । कान्तिपुर दैनिकका सम्पादक उमेश चौहानले आफ्नो फेसबुक पेजमा पोखरा लेकसाइडमा खेलिएको देउसीको गीत राख्नुभएको छ । त्यो देउसी गीतमा भनिएको छ, “कहाँ गयो जुरेली किन गीत गाउँदैन, तिम्रो जति माया त लालुमै किन होला कसैको लाग्दैन ।” पोखरामा मात्र होइन । राजधानी काठमाडौँ, चितवन, विराटनगर, नेपालगञ्ज, बुटवल, हेटौँडाजस्ता देशका धेरैजसो सहरी क्षेत्रमा र केही मात्रामा ग्रामीण क्षेत्रमा अहिले देउसी र भैलीमा अन्य गीतहरु गाउने चलन बढ्दै गएको छ । यस्ता कार्यले देउसीभैलीमा नेपालीपन मासिँदै जाने जोखिम देखिएको छ । धार्मिक तथा संस्कृतिविद् डा गोविन्द टन्डनका अनुसार तिहार पर्वमा देउसीभैली खेल्ने मौलिकपन हराउँदै गएको छ । “तिहारमा बत्ती र फूलको झिलिमिलीमा जुन पवित्र उद्देश्यका साथ देउसीभैली खेलिन्थ्यो” उहाँले भन्नुभयो, “अहिले र सिमेनामा गीत गाएर नाच्ने, भोजपुरी, अन्य गीतमा नाच्ने गाउने गरेको देखिन्छ, त्यो तिहारको संस्कृति होइन ।” तिहारको महत्व बुझाउनका लागि राज्यले पाठ्यपुस्तकमा विस्तृतरुपमा राख्ने, अन्य कार्यक्रम आफैले आयोजना गरेर मौलिकपनलाई जोगाइ राख्नुपर्ने उहाँको भनाइ छ । सांस्कृति विचलन देखियो: डा टन्डन धार्मिक मान्यता अनुसार अहिले देउसीभैली खेल्न प्रचलनमा कमी आएको छ । “धार्मिक मान्यता अनुसार देउसीभैली खेल्ने मूल तत्व हराउन थाल्यो, सिनेमाको गीत गाएर, अरुअरु गीत गाएर नाच्न थाले” सांस्कृतिविद् डा टन्डनले थप्नुभयो,“एतिहासिक र पुरानो शैलीलाई छाड्दै गएर अन्य गीतमा नाच्नु संस्कृति विचलन हो ।” तिहार अर्थात यमपञ्चकको पाँच दिन नै अत्यन्तै महत्वपूर्ण भए पनि राज्यले यो पर्वको महत्व बुझाउने गरेको नपाइएको उहाँको बुझाइ छ । तिहार सयपत्री, गोदावरी र मखमलीको पर्व मात्र होइन । फूलको व्यापार गरेर आम्दानी पनि गर्न सकिन्छ । तिहारमा जुन जुन जनावरको पूजा गरिन्छ । ती सबै मानिसको जीवनमा अत्यन्तै नजिकबाट जोडिएका छन् । देउसी भैलीको एतिहासिक पक्ष देउसीभैली भन्ने वित्तिकै तिहार पर्व भन्ने बुझिन्छ । तर तिहार पर्व कहिले ? कुन मितिबाट प्रारम्भ भयो ? भन्ने एकिन नभए पनि झिलिमिली पर्वका रुपमा तिहार मनाउनुका विभिन्न आधार छन् । धार्मिक ग्रन्थ रामायणमा भगवान रामले वनबास सकेर आएपछि अयोध्यामा फर्केपछि खुसीयाली मनाउनका लागि दिपावली गरिएको भन्ने प्रसङ्ग छ । अर्को प्रसिद्ध धामिक प्रसङ्ग बलि राजासँग जोडिएको छ । राजा बले शक्तिशाली र धनाढ्य दानव अहंकारी राजा थिए । बलिराजाको मुख्य उद्देश्य भनेको देवीदेवतालाई आफ्नो अधिनमा कजाएर राख्ने थियो । त्यसले गर्दा देवीदेवतामा त्रास बढ्दै गयो । सबै देवीदेवता मिलेर एक दिन भगवान विष्णुसँग गएर भने । त्यो सुनेपछि भगवान विष्णुले सानो भिक्षु भनेर बलि राजाको कहाँ जानुभयो । राजा बलिले तिमी यति सानो मान्छे किन भीक्षा मागेर हिँड्छौँ । मेरो आधी राज्य दिन्छु यही बस भने तर भिक्षुले म यति सानो भिक्षा मागेर हिँड्ने मान्छे हुँ । मलाइ यत्रो राज्य के गर्नु ?बरु मलाई तीन पाहिला जमिन दिनुहोस । त्यति भए मलाई पुग्छ भन्नुभयो । राजा बलिले हुन्छ भने । भगवान विष्णुले आफ्नो विराट रुप धारण गरी एक पहिला टेक्दा पृथ्वी पूरै ढाकियो, अर्को पाहिला टेक्दा अन्तरिक्ष (आकाश) पूरै ढाकियो । तेस्रो पाहिला टेक्ने ठाउँ भएन । भगवान विष्णुले बलि राजालाई तेस्रो पाइला कहाँ राखु भनेर सोध्नुभयो । बलिराजाले कही ठाउँ नदेखे पनि मेरो शिरमा राख्नुहोस भनेर भन्नुभयो । भगवान विष्णुले देउ शिर भन्नुभयो । एउटा पाइला शीरमा राख्नुभयो । त्यही ‘देउ शिर’ भन्ने शब्दलाई पछि देउसी रे भन्न थालियो । धार्मिक तथा सांस्कृतिविद् डा टन्डनका अनुसार सुरुमा देस शिर भनिएपछिपछि यसैलाई खुसीयालीमा रुपमा दउेसी खेल्दै जाँदा ‘देउसी रे’ भन्न थालियो । धार्मिक तथा एतिहासिक रुपमा विशेष महत्व बोकेर मनाउन थालिएको तिहार पर्वका अवसरमा महत्वका साथ खेलिने देउसी भैलीलाई अहिले आधुनिकताका नाममा आफ्नो मौलिक सांस्कृति परम्परालाई भुल्दै गएको देखिन्छ ।
काठमाडौं । तिहारलाई विशेष परिकारको पर्व भन्ने गरिन्छ । चाडपर्वका समयमा सहर बजारमा गाउँघरको जस्तो मौलिक परिकार पाक्नै छोडिसकेका छन् । परिकार बनाउने सीप भएका महिलाले तिहारअघि नै परिकार बनाएर बेच्न थालेका छन् । फिनी, सेल रोटी, अनरसा, झिलिङ्गा, खुर्मालगायतका तिहार विशेष परिकार सहजै बजारमा किन्न पाउने भएपछि कामकाजी महिलालाई परिकार बनाउने झन्झट हटेको छ, भने सीप र जागर भएका महिलाले आयआर्जन गर्ने मौका पाएका छन् । नेपालगञ्जस्थित सफल बहुउद्देशीय सहकारी संस्थाकी सरस्वती सुवेदीलाई यतिबेला तिहार विशेष सामग्री बेच्न भ्याइनभ्याइ छ । बत्तीस सदस्य रहेको सहकारीले बचत र सदस्यहरुमै ऋण लगानी गर्दै आएको छ । विगत एक वर्षदेखि सञ्चालनमा रहेको सहकारी यसैवर्ष दर्ता भयो । पहिलो पटक संस्थामार्फत तिहारका लागि भाइमसला, चामलको साटो र पिठो बिक्री भइरहेको छ । नरिवल, ओखरलगायतका १७ सामग्री मिसाएको भाइमसला रु एक सय ५० देखि रु एक हजार ५० सम्म बिक्री भइरहेको छ । सधैँ बजारमा गएर तिहार विशेष सामग्री किन्ने संस्थाका सदस्य यसपटक घरमै तयार गरेर बिक्री गरिरहेका छन् । सामग्री धमाधम बिक्री हुन थालेपछि यो काममा उत्साह थपिएको उहाँको भनाइ छ । उहाँ जस्तै नेपालगञ्जका सीप र जाँगर भएका अन्य महिलाले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेर तिहार विशेष परिकार बिक्री गरिरहेका छन् । यस्ता महिलाको उत्पादनलाई बजारीकरण गर्न महिला उद्यमी सङ्घ बाँके र नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको कोसेली घरले सघाउँदै आएको महिला उद्यमी सङ्घ बाँकेका महासचिव सुनिता पाण्डेले बताउनुभयो । नेपालगञ्जमा विगत पाँच वर्षदेखि कोसेली घरले महिला उद्यमीले उत्पादन गरेका विभिन्न मौलिक सामग्री बजारीकरणमा सघाउ पुर्याउँदै आएको छ । यसपटक पनि फिनी, सेल रोटी, अनरसा, झिलिङ्गा खुर्मालगायतका तिहार विशेष परिकार बिक्रीमा राखिएको छ । चाडवाडमा अधिकांशको घरमा यी परिकार अनिवार्यरुपमा पाक्ने गर्छन् । तिहार परिकारको पर्व पनि हो । तर कामकाजी महिलालाई कामबाट फुर्सदलिएर परिकार बनाउनुपर्ने झण्झट रहेकोमा तयारी परिकार नै किन्न पाइने भएपछि सहज भएको भेरी नर्सिङ कलेजका सञ्चालक रेवती सिंहले बताउनुभयो । उहाँ जस्तै नेपालगञ्जकी महिला नेत्री नितु चन्दलाई पनि घरकै स्वादमा तयारी परिकार पाउन थालेपछि सहज भएको बताउनुहुन्छ । कामकाजी महिलालाई तयारी परिकारले एकातिर सहजता थपिएको छ, भने अर्कोतिर चाडवाडमा हातमा सीप भएका गृहिणी महिलाले रोजगारी समेत पाउन थालेका छन् । गतवर्ष कोशेली घरमार्फत करिब रु ४० हजार बराबरको परिकार विक्री भएको महिला उद्यमी संघ बाँकेका उपाध्यक्ष सावित्रा बस्नेतले जानकारी दिनुभयो । परिकार खेर जान नदिन कोशेली घरले माग अनुसार महिलाहरुलाई उत्पादनको काम दिने गरेको छ । गतवर्ष २ महिलालाई तिहार विशेष परिकार विक्रीका लागि जिम्मा दिएकोमा यसवर्ष माग बढेपछि १० जनाले यो काम पाएको उहाँको भनाई छ । चाडपर्वमा पाक्ने मौलिक परिकार केहि समय यता शहरमा देखिन छोडिसकेका थिए । सिप भएका महिलाहरुले व्यवसायका रुपमा गर्न थालेपछि विभिन्न समुदायका मौलिक परिकारबारे नयाँ पुस्ताले जान्ने अवसर पाएका छन् भने महिलाका आयआर्जनमा थप टेवा पुगेको छ ।
बागलुङ । गत भदौको दोश्रो साता खसेको पहिरो थपिँदै जाँदा बागलुङको रायडाँडाको सिंगो बस्तीका मानिस बस्न छाडेका छन् । छिमेकीको घरमा गएर आश्रय लिएका उनीहरु अझै पनि घर फर्कन सकेका छैनन् । बागलुङ नगरपालिका वडा नं ११ रायडाँडाको तल्लो रामतोलामा घर भत्कने, पहिरोले खेतबारी बग्ने क्रम नरोकिएपछि घर छाडेका फर्कन सकेका छैनन् । घर बगेकाहरुले पनि बनाउने ठाउँ नभेटेको गुनासो गरेका छन् ।पानी पर्दा वा नपर्दा पनि निरन्तर पहिरो खसेर भदौमा क्षति भएको बस्तीमा दसैँको झरीले थप क्षति पुगेको छ । यहाँका १२ घरसहित जैमिनी नगरपालिका–१ को ओडारका आठ घरमा पहिरो पसेको थियो । सुख्खा पहिरो पनि खस्ने गरेकोले उनीहरुले पुरानै थलोमा फर्कन नसकेको बताए । अहिले पनि यहाँ जोखिम कायम छ । अधिकांश खेतबारी र घरगोठ बगेकोले पुनःस्थापना गर्न समेत कठिन छ । जोखिम रहेको स्थानमा पनि जबर्जस्ती ल्याएर राख्न नसकिने वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । ‘‘घरै भत्कियो, अन्यत्रै सरेर बसेको थिएँ, अब फर्कने अवस्था रहेन’’ स्थानीय ७८ बर्षिय ढालनाथ शर्माले भन्नुभयो, ‘‘खेतीपाती पनि बगायो, अब कहाँ गएर बस्ने ?’’ उहाँको घर गोठ र खेत पहिरोले पुरेको थियो । पहिरोले शर्मासहित यहाँका दुइवटा खानेपानीका ट्याङ्की पनि बगाएको थियो । अहिले पनि स्थानीय टाढाबाट पानी बोकेर खान बाध्य छन् । पोल बगेकोले बिजुली थिएन, अहिले स्थानीयले अस्थायी पोल गाडेर बिजुली बालेका छन् । पहिरो थपिँदै जाँदा यहाँको गैराघर र तमाखुबारीमा पनि जोखिम बढेको हो । पहिरोले रायडाँडादेखि जैमिनी नगरको कुश्मीसेरा जाने मोटरबाटो बगेको बन्न सकेको छैन । जैमिनी नगरपालिका–१ को ओडारका दर्जन घर पनि पहिरोले जोखिममा परेका छन् । यहाँको सिँचाइ योजनाको कुलो बगेकोले सिँचाइ छैन । ‘‘यतिको ठूलो पहिरो अहिलेसम्म देखिएको थिएन, अहिले भोग्नु परेको छ’’ स्थानीय बिष्णु पौडेलले भन्नुभयोे, ‘‘खानेपानी र बिजुली नभएको दसैँ मान्नु प¥यो ।’’ पहिरो पीडितलाई दसैँमा नगरपालिका, लायन्स क्लबले खाद्यान्न सहयोग गरेका थिए । ‘‘पहिरो नियन्त्रण गर्न सकिने अवस्था छैन, बरु १०÷१२ घर स्थानान्तरण गरेर एकीकृत बस्ती बनाउन सके सुरक्षा होला’’ प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले भन्नुभयोे, ‘‘त्यसका लागि सुरक्षित जग्गा खोज्ने तयारी गर्छौँ ।’’ एकीकृत बस्ती भएमा खानेपानी, बिद्युत र अन्य सेवा जडानमा सहज हुने उहाँले बताउनुभयो । ‘‘पहिरो पन्छाएर बस्ती बसाल्न कठिन छ, त्यसैले नयाँ ठाउँको खोजीमा छौं’’ वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले भन्नुभयो, ‘‘दीर्घकालीन योजना बनाएर अन्य बस्तीको पनि पुनस्र्थापना खोज्नु पर्ने भएको छ ।’’ किसानको खरबारी र सुन्तला लगाएको बारी समेत सयौँ रोपनी बगेको छ ।
चितवन । चितवन जिल्लामा निजीस्तरको पहिलो क्यान्सर अस्पताल सञ्चालनमा आएको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भगिनी संस्थाको रुपमा सिएमसी क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको हो । अस्पताल परिसरमा छुट्टै भवन निर्माण गरी एक सय शय्याको इन्स्टिच्युट स्थापना गरिएको हो । इन्स्टिच्युटमा क्यान्सरका बहिरङ्ग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा सुरु गरिएको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेका अनुसार सेवा सुरु गरिएको भए पनि औपचारिक उद्घाटन मङ्सिरमा गरिने छ । अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण अस्पतालमा ल्याएर जडान गरिएको डा न्यौपानेले जानकारी दिनुभयो । उपकरणमा मात्रै रु एक अर्ब २७ करोड बढी खर्च भइसकेको उहाँले जानकारी दिनुभयो । दैनिक एक सय जनासम्मलाई रेडियसन सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको छ । क्यान्सर उपचारकै लागि अस्पतालले छ तले भवन निर्माण गरेको छ । इन्ष्टिच्युटका रेडियसन अङ्कोलोजिष्ट डा सुवास ठाकुरले टाउकोभित्रको ट्युमरलाई बिना शल्यक्रिया उपचार गर्ने प्रविधि पनि ल्याएको बताउनुभयो । उहाँका अनुसार ब्रेकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि इन्ष्टिच्युटमा ल्याइएको छ । पाठेघरको क्यान्सरमा यो प्रविधिको उपचार बढी हुने गर्दछ । जिल्लामा ल्याइएका क्यान्सरका बिरामीलाई अन्यत्र जान नपर्ने गरी सेवा दिइने प्रबन्ध निर्देशक न्यौपानेले बताउनुभयो । उहाँले क्यान्सरका ५० प्रतिशतभन्दा बढी बिरामी उपचारका लागि भारत जाने गरेको भन्दै अस्पतालमा भारत, अमेरिका र चीनमा काम गरिरहेकासमेत १६ क्यान्सरका विशेषज्ञ चिकित्सक रहने जानकारी दिनुभयो । रेडियसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, रक्त क्यान्सरको उपचार, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचारका लागि उपकरण खरिद गरिएको उहाँको भनाइ छ । अन्य उपकरण र भौतिक पूर्वाधारमा गरी रु दुई अर्बभन्दा बढी खर्च लगानी हुने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले बताउनुभयो । नेपालका मेडिकल कलेजमा धेरै बिरामी परीक्षण गर्ने मध्येमा यो मेडिकल कलेज पर्दछ । देवकोटाले क्यान्सर इन्स्टिच्युट सञ्चालनमा आएसँगै नेपालका बिरामी विदेश जान नपर्ने बताउनुभयो । भारतीय बिरामी समेतलाई सेवा दिन सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी विदेश जान बाध्य बिरामीलाई यही त्योभन्दा राम्रो सेवा दिन सक्ने गरी व्यवस्थापन गर्दैछौँ ।” जिल्लामा सरकारीस्तरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनमा छ । बिरामी चापका कारणले रेडिएसन, केमोथेरापीलगायतका सेवा लिन पालो कुर्नुपर्ने बाध्यता छ । समयमा पालो नआउँदा बिरामी भारत जान बाध्य छन् । निजीस्तरको अस्पताल सञ्चालनमा आएसँगै ती बिरामीलाई सहज हुनेछ ।
रामपुर । फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रुपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ । टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई नजिक बनाउने, उनीहरुबीचको सम्बन्ध प्रगाढ बनाउने पर्व उत्साह र उमङ्गका साथ भाइटीका मनाईन्छ । साहित्य श्रष्टा दानस मल्ल भाइटीकाको अवसरमा दिदीलाई समर्पण गरेर आफ्ना सिर्जनालाई यसरी पोख्नुहुन्छ, सयपत्री र मखमली, घरको दायाँबायाँ । पवित्र होस् सधैँभरि, दिदीभाइको माया ।। यी माथि व्यक्त गरिएका साहित्य हरफले तिहार पर्वमा गलामा सयपत्री, मखमली फूलको माला र दिदीको न्यानो स्नेह, ममता पाउँदाको भाव र ती क्षणलाई सम्झदै उहाँले आफ्ना शब्दमार्फत दर्शाउन खोज्नुभएको छ । तिम्रै साथमा रहन पाऊँ, बनी तिम्रो छाया । पवित्र होस् सधैँभरि, दिदीभाइको माया ।। तिहार पर्वले दिदीभाइ र दाजुबिहिनीबीचको सम्बन्ध अझै पवित्र प्रगाढ स्नेही र पुनर्मिलन गराउनमा महत्वपूर्ण भूमिका खेलेको उहाँको बुझाइ छ । “दाजुभाइ पनि आफ्नो कार्यव्यस्तताले जहाँ रहे पनि वर्ष दिनमा एक पटक आउने चाड तिहारमा जस्तोसुकै काम भए पनि थाती राखेर दिदीबहिनीसँग पुनर्मिलन हुन पुग्ने गर्दछन्”, उहाँले भन्नुभयो, “मलाई सबैभन्दा बढी मनपर्ने चाड तिहार हो, यस पर्वले सबैलाई उमङ्ग, उज्यालो र आत्मीयता बढाएको हुन्छ ।” निधारमा सप्तरङ्गी टीका, मखमली र सयपत्री फूलले सजिएका ती गला, दिदीबहिनीको माया, स्नेह र आशीर्वाद लिने पर्व भाइटीकाले सबै उमेर समूहमा उत्तिकै आत्मीयता र महत्व राख्दछ । साहित्यकार मित्रलाल गौतम कवितामार्फत भाइटीकालाई यसरी व्यक्त गर्नुहुन्छ, बल्छन् बत्तीहरु झिलीमिली गरी सबैका घर । दुःखी हुन् अथवा गरिब पनि सुखी देखिने तर।। आफ्ना जो घरका दिदी र बहिनी छन् जसका जहाँ जति । आशीर्वाद लिनेदिने समयको मौका मिलेको कति ।। सबका घरमा बलेका ती झिलीमिली बत्तीले को धनीको गरिब छुट्याउँदैनन्, धनी गरिब सबैलाई समानरुपमा जोड्ने पर्व तिहार अर्थात् भाइटीकालाई लिनुहुन्छ, साहित्यकार गौतम । उहाँका कविताले दिदीभाइ, दाजुबहिनीले एकापसमा भाइटीका ग्रहण गरी आशीर्वाद दिने र लिने एक महत्वपूर्ण अवसर, उत्सवका रुपमा लिने गरेको गौतम बताउनुहुन्छ । “अन्य पर्वका तुलनामा यो पर्वले फरक भूमिका खेलेको छ, दाजुभाइ दिदीबहिनीले एकले अर्कोलाई गर्ने माया प्रेम, हेरचाह, प्रेमिल सम्बन्धलाई फराकिलो बनाएको पाइन्छ, दिदीभाइ, दाजुबहिनीबीचको माया, प्रेम, आशीर्वाद लिने र दिने गर्दा अझ बढी तिहारको महत्व बढेको पाइन्छ”, उहाँले भन्नुभयो । रामपुर साहित्यिक प्रतिष्ठानको आयोजनामा भएको तिहारको सन्दर्भ पारेर आयोजना गरिएको रचनावाचन कार्यक्रममा लक्ष्मीपूजा, देउसीभैलो, भाइटीकाको महत्व समेटिएका आफ्ना सिर्जना साहित्य श्रष्टाले अभिव्यक्त गरेका छन् । करिब दुई दर्जन श्रष्टाले तिहार विशेष आफ्ना साहित्य सिर्जनामार्फत दिदीभाइ, दाजुबहिनीबीचको सम्बन्धलाई जोड्ने, मखमली फूल, सप्तरङ्गी टीकाको महत्वलाई उजागर गरेका छन् । दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ । मखमली फूलको तिहारमा धेरै महत्व छ । यो फूल कहिले न ओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ । त्यसैले यस फूलको माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लागाइदिन्छन् । नझर्ने, नओइलाउने र वर्षौं पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात् गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन् । विभिन्न समयमा पर्व विशेष, मोती जयन्ती, भानु जयन्ती, लक्ष्मी जयन्ती, मेला पर्व, विभिन्न मठ मन्दिरमा हुने पूजाका अवसरमा विभिन्न क्लब सङ्घ संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी भई रचनावाचन कार्यले कला, संस्कृति, सिर्जना, साहित्यको विकासका निम्ति महत्वपूर्ण योगदान रहेको बताउनुहुन्छ, रामपुर साहित्यिक प्रतिष्ठानका अध्यक्ष वासुदेव ढकाल । “रामपुर नगरपालिका मात्रै नभई कालीगण्डकीबेँसी आसपासका साहित्यकारले नियमित रचनावाचनका अलवा चाडपर्व विशेष र समय सान्दर्भिक बिशेष कार्यक्रमलाई असाध्यै चासो दिनुुहुन्छ, बेला बेलामा रचनावाचन कार्यक्रम आयोजना हुने गरेपछि साहित्य श्रष्टा जुर्मुराउन थालेको पाइएको छ”, उहाँले भन्नुभयो । प्रतिष्ठानले साहित्यिक रचनावाचन कार्यक्रमलाई नियमितरुपमा हरेक महिना गर्न थालेपछि लुकेर रहेका प्रतिभाको उजागर गर्ने अवसर मिलेको छ । कला र गला भएका श्रष्टाले आफ्ना सिर्जना, भावनालाई बेला बखत पोख्ने माध्यम बनेको छ । प्रतिष्ठानले घुम्तीरुपमा रामपुरका विभिन्न स्थानमा साहित्यिक गतिविधि गर्दै आइरहेको छ ।
भरतपुर । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले अहिले चार बिघामा फूल रोप्नुभएको छ । सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उहाँको भनाइ छ । पाख्रिनले भन्नुभयो, “गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पु¥याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको झनै अपुग भयो ।” कृतिम फूल प्रयोगकर्ता घटेपछि प्राकृतिक फूलमा आकर्षण बढ्दा जिल्लामा सयपत्री फूलको माग बढी भएको उहाँले बताउनुभयो । तिहारको अवधिभर १२ हजार फूलको माला बिक्री हुने पाख्रिनको विश्वास छ । जसबाट रु छ लाखभन्दा माथि आम्दानी हुने उहाँले बताउनुभयो । पाख्रिनले १८ वर्षदेखि व्यवसायीकरुपमा सयपत्री फूलको उत्पादन गर्दै आउनुभएको छ । चितवनमा यो पेसा गर्नुभएको पाख्रिनले पाँच वर्ष भयो । धादिङ फूलखर्क–४ का उहाँले नौबिसेबाट पुष्प खेतीको सुरुआत गर्नुभएको थियो । यसका लागि उहाँले शिक्षण पेसासमेत छोड्नुभयो । बीस वर्ष अगाडि उहाँले काठमाडौँको लगनखेल स्थित बालविद्या गृहमा इतिहास र भूगोल विषय पढाउनु हुन्थ्यो । मानविकी सङ्कायमा स्नातक गर्नुभएका पाख्रिनले कक्षा १० सम्मका विद्यार्थीलाई अध्यापन गराउनुहुन्थ्यो तर, उहाँलाई शिक्षण पेसाले आत्मसन्तुष्टि भने दिन सकेन । उहाँ भन्नुहुन्छ, “फूलसँग रमाउने मेरो रुची हो । सानैदेखि फूल प्रति मेरो मोह नै छ । मेरो घर वरपर बिरुवाले भरिभराउ हुन्थ्यो तर, यो नै मेरो पेसा बन्ने छ भन्ने सोचेको थिइनँ । जब मैले शिक्षण पेसा गरे यसले पनि मलाई खुसी, उत्साह र शान्ति दिन सकेन र छोडेँ ।” यसपछि पनि पाख्रिनले फूल खेतीमा व्यावसायिक रुपमा लाग्ने सोच्नुभएको थिएन । उहाँले छ वर्ष क्रिष्टल इन्स्टिच्युट कमलपोखरी काठमाडौँमा फोटो सम्बन्धि पढानुभयो । यसले पनि उहाँको तिर्खा मेट्न सकेन । अन्ततः दुईवटा काम छोडेपछि पाख्रिनले आफूलाई चाहेको गन्तव्य पहिल्याउनुभयो । पुष्प किसान बन्ने निधो गर्नुभयो । त्यसयता उहाँ फूलसँग नाता गासेर रमाउँदै हुनुहुन्छ । यो व्यवसाय गर्नका लागि उहाँलाई श्रीमती सरस्वती खत्री पाख्रिनको उत्तिकै साथ छ । उनीहरुका दुई छोरी र दुई छोरा छन् । फूलको माग पुर्याउन धौधौ पुष्प खेतीबाट पर्याप्त आम्दानी हुँदैन, बजार छैन भन्नेका लागि पाख्रिन एक उदाहरण बन्नुभएको छ । “फूलखेतीबाट आफ्नो परिवार चलाउन मलाई दुःख छैन । १० हजार माला मात्र बेचे मुनाफा रु दुई लाख हुन्छ । चार बिघामा फूल रोप्दा पनि जिल्लाभन्दा बाहिर माग पु¥याउन सकेको छैन, बजार छैन भन्न मिल्दैन”, उहाँले भन्नुभयो । बजारमा मालाको अभाव देखिनु नेपाली कृषकले व्यावसायिकरुपमा पुष्प खेती नगर्नुको उपज भएको पाख्रिनको भनाइ छ । फूल खरिदमा करोडौँ रकम भारत जानु र यहाँ बजार नदेख्नु हास्यास्पद कुराबाहेक केही नभएको उहाँको भनाइ छ । रोजगारीको राम्रो अवसर ६२ वर्षीय पाख्रिनले १८ वर्षको दौरानमा देशभर सयभन्दा बढी शिष्य बनाइसक्नुभएको छ । जो अहिले व्यावसायिकरुपमा फूलखेती गरिरहेका छन् । पाख्रिनसँगै सात जनाले स्थायी रोजगारी पाएका छन् । मौसमी रोजगारी धेरैले पाउने गरेको कामदार बताउँछन् । जसले खाली समय उपयोगसँगै आर्थिकरुपमा सबल बनाउन सहयोग पुगेको भीममाया रानामगर बताउनुहुन्छ । “विगत तीन वर्षदेखि फूल गोडमेल, फूल टिप्ने, माला उन्ने, औषधि राख्नेलगायतको काम गर्दै आएका छौँ । घर खर्च, छोराछोरीको टिफिन खर्च आफैँले पु¥याउन सक्दा खुसी लाग्छ”, उहाँले भन्नुभयो । भीममायासँगै सन्तमाया थापामगर, विसरा थापामगर, फूलमाया रानामगर, सीता सुवेदी, सुमित्रा भण्डारीलगायत पाख्रिनको फूलबारीमा काम गर्दै आउनुभएको छ । उहाँहरुलाई घरपरिवारको रोकटोक छैन । स्थानीय सीता सुवेदी भने उद्योग व्यवसाय धेरै भए मौसमी बेरोजगार बन्नुनपर्ने बताउनुहुन्छ । तीन महिनादेखि पाख्रिनको फूलबारीमा काम गर्दै आउनुभएकी सुवेदीले अन्यबेला खाली बस्नुपर्ने गुनासो गर्नुभयो । “आफ्नै लगानी गरेर केही गरुँ भने रकम छैन । केही व्यवसाय छन् तर बाह्रै महिना काम दिन सक्दैनन् । काम नपाएको समयमा खाली बस्नु पर्छ”, उहाँले भन्नुभयो । फ्लोरी कल्चर एशोसिएशन चितवनका अनुसार जिल्लामा अहिले ३५ देखि ४० बिघामा सयपत्री फूलको खेती गरिएको छ । यसले जिल्लाको ८० प्रतिशत माग पूरा गर्ने फ्लोरी कल्चर एशोसिएशनका कोषाध्यक्ष सुलभ श्रेष्ठले जानकारी दिनुभयो । मखमली फूल भने कमै लगाइएको छ । जिल्लामा १२ जना व्यावसायिकरुपमा फूल खेती गर्दै आएका छन् । तिहार लक्षित पुष्पखेती गर्ने किसान गरी एक सय बढी रहेको श्रेष्ठको भनाइ छ ।
कास्की: कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ र ३ जोड्ने गरी रातोपानीस्थित सेती नदीमा पक्की मोटरेवल पुल निर्माणको काम सुरु भएको छ । सो स्थानमा पुल नहुँदा वडा नं २ सार्दिखोलाका बासिन्दा गाउँपालिकाको प्रशासकीय कार्यालय लाहाचोक आउजाउका लागि पोखरा पुग्नुपर्ने बाध्यता छ । लामो समयको प्रतिक्षापछि अहिले पुल निर्माणको काम अघि बढेपछि स्थानीय उत्साहित छन् । सेतीमा पुल नहुँदा झोलुङ्गे पुलबाट जोखिम मोलेर मोटरसाइकल वारपार भए पनि ठूला सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदैआएको छ । माछापुच्छ्रे–२ सार्दिखोलाका पुष्पराज गौतमले प्रदेश सरकारबाट बजेट विनियोजन भएर पुल निर्माणको काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुल नहुँदा हामीलाई धेरै सास्ती थियो, गाउँपालिका मुकाम जानसमेत पोखरा भएर जानुपर्ने बाध्यता छ । अहिले पुल निर्माणको काम सुरु हुँदा खुशी छौँ । यसै वर्षभित्र पुलको काम सकिए अर्को बर्खायामा सहज हुन्थ्यो ।” गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालको पहलमा पुल निर्माण थालिएको हो । उहाँले नै पुलको शिलान्यास गर्नुभएको थियो । माछापुच्छ्रे–२ सार्दिखोला र वडा नं ३ घाचोक जोड्ने गरी प्रदेश सरकारको रु १० करोड ४३ लाख ५७ हजार लागतमा पुल निर्माण गर्न हिमदुङ एण्ड थोकर र राम जानकी जेभी काठमाडौँसँग ठेक्का सम्झौता भएको छ । पूर्वाधार विकास कार्यालय कास्कीका अनुसार सो पुल आगामी २०८० साउनसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । पुलको लम्बाइ ७० मिटर छ । गण्डकी प्रदेश सरकारले पाँच वर्षको अवधिमा माछापुच्छ«ेमा दुई पक्की मोटरेवल पुल निर्माण गरेको छ भने तीनवटाको काम भइरहेको छ । माछापुच्छ«े–६ इदीखोलामा भिँडाबारी र डाँडागाउँ जोड्ने गरी पक्की पुल बनेपछि सञ्चालनमा आएको छ । यसैगरी वडा नं ५ रिभानस्थित खहरेखोलामा समेत मोटरेवल पुल निर्माण गरिएको छ । वडा नं ६ र ४ लाहाचोक जोड्ने पक्की पुलका लागि गण्डकी प्रदेश सरकारबाट चालू आर्थिक वर्षमा रु पाँच करोड ५० लाख विनियोजन गरिएको छ । यसैगरी वडा नं १ को धिप्राङ खोलामा मोटरेवल पुल निर्माण गर्न रु ५० लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिनुभयो ।
ढोरपाटन । बागलुङको गलकोट, तमानखोला, बडिगाड र निसीखोला क्षेत्रमा प्रचलित नाच हो ‘सोरठी नाच’ । चाडपर्व र मेला महोत्सवमा नाचिने यो नाच खासगरी तिहार पर्वसँग सम्बन्धित मानिन्छ । सोरठी मगर, गुरुङ जातिमा बढी लोकप्रिय छ । तिहार आउनु एक साता पहिलेनै गाउँमा बूढापाकाले गाउने नाच्ने र युवाले साथ दिने चलन चल्दै आएकोमा पछिल्लो एक दशकयता निकै कम भएको छ । आधुनिक गीत सङ्गीत र नाचप्रति युवापुस्ताको मोह बढ्नुले सोरठी नाच ओझेलिएको बुढापाका बताउँछन् । यो नाच समूहमा नाचिने गरिन्छ । नाच प्रस्तुत गर्दा एक जना सिङारु हुन्छ । जसले महिलाको पहिरन गरेर नाच्छ । समूहमा रहेका केही बूढापाकाले मादल बजाउने र गीत गाउने गर्छन् भने अन्यले उनीहरुसँगै गाउने र नाच्ने गर्छन् । एक दशक अगाडिसम्म बागलुङ पश्चिमका ग्रामीण भेग तिहारको बेला निकै रमाइलो हुने गथ्र्यो । जताततै सोरठी नाच्ने र गाउनेहरु भेटिन्थे । अहिले यो नाच देख्नसमेत मुस्किल पर्छ । बडिगाडका ७७ वर्षीय रत्नबहादुर बुढा आफ्नो जवानीमा सोरठी नाचेर थाक्नु हुँदैनथ्यो । आफ्नो हात खुट्टा चल्न थालेपछि उहाँले नाच्न छोड्नु भयो । नयाँ पुस्ताले यो नाच नाच्न चासो नदेखाएपछि लोप हुने अवस्थामा पुगेकोमा उहाँ चिन्तित हुनुहुन्छ । “हराउँछ अब, अहिलेका युवाले सिक्नै चाहन्न्, यो नाच लोप भयो भने त हाम्रो पहिचान पनि गुम्छ कि भन्ने डर लाग्छ, हाम्रो हात खुट्टा बस्न थाले, म नाच्न सक्दैन, सिकाउ मैले धेरै खोजे तर सिक्नेले सिक्नै नखोजेपछि सकिँदो रैनछ, बरु अरु गीतमा नाच्छन् सोरठीमा नाच्दैनन् ।” नाच लोप हुने डरले उहाँलाई पिरोली रहन्छ । बाउ, बाजे र काकाबाट नाच्न सिक्नुभएका बुढाले आफ्नो छोरा, भतिज र नातीले सिक्न नचाहँदा नाच सङ्कटमा परेको बताउनुहुन्छ । “हामीपछिका भाइहरुले त अहिले पनि नाच्दैछन्, अब उनीहरुले पनि दुई/चार वर्षपछि नाच्न सक्दैनन्, उतिबेला बाउ, बाजे र काकाले हाम्लाई सिकाए, हामीहरुले भाईहरुलाई सिकाइयो, तर अहिलेका जवानले चासो दिँदैनन्, हराउने भयो अब यो नाच”, बुढाले भन्नुभयो । पुराना पुस्ताबाट नयाँ पुस्ताले मौलिक कला संस्कृति नसिक्दा सोरठी नाच हराउँदै गएको तमाखोला–३ का ६७ वर्षीय भक्तबहादुर पुनले बताउनुभयो । पुनले आफूले १०/१२ वर्षको उमेरदेखिनै सोरठी नाच सिकेर नाच्दै आएको बताउँदै अहिलेका युवाले यसतर्फ चासो नदेखाउँदा हराउँदै गएको बताउनुभयो । उहाँले नयाँ पुस्तालाई सिकाउने कोसिस गर्दा पनि सिक्ने इच्छा नदेखाउने बताउनुहुन्छ । “जमाना फेरिए अहिलेका युवाले पुराना कला संस्कृति सिक्नै चाहन्नन्, के–के गीत सुन्छन्, गाउँछन्, तर पुराना गीत सङ्गीत त मनै पराउँदैनन्, हाम्ले सिकाउन खोजे पनि सिक्न चाहन्न्”, उहाँले भन्नुभयो, “हामी मरेपछि पुराना संस्कृति पनि मर्छन् होला, यस्ता राम्रा संस्कृति हराउँदै गए, निकै दुःख लाग्छ, अहिलेका युवाले सिके त पुर्खौंसम्म पनि जीवित रहने थिए ।” मौलिक संस्कृतिमध्येको विशिष्ट संस्कृति भएको भन्दै यसको संरक्षण गर्नका लागि युवापुस्ता नै जागरुक हुनुपर्ने पुनले बताउनुभयो । उहाँले आधुनिकतासँगै पुराना संस्कार संस्कृतिलाई निरन्तरता दिनसके यस्ता संस्कृति युगौँसम्म संरक्षण गर्न नसकिने बताउनुहुन्छ । पुनले भन्नुहुन्छ, “मौलिक संस्कृतिलाई बिर्सिएर विदेशी संस्कृतिलाई अंगाल्नु गलत हो, संस्कृतिले हाम्रो पहिचान बोको छ, आधुनिक संस्कारसँगै पुराना संस्कार संस्कृतिलाई पनि निरन्तरता दिने हो भने मौलिक संस्कृतिको संरक्षण हुन्छ ।” निसीखोला गाउँपालिका–६ का ७० वर्षीय पृथबहादुर घर्तीमगर पुस्ता हस्नान्तरण नहुँदा पुराना कला संस्कृति लोप हुने अवस्थामा पुगेको बताउनुहुन्छ । केही वर्ष अगाडिसम्म मेला पर्वमा पुराना परम्परासँग जोडिएका गीत गाइने, पुराना नाच नाच्ने गरेकोमा अहिले त्यस्ता गीत र नाच सुन्न र देख्नसमेत नपाइने बताउनुहुन्छ । “अहिले बूढो भएर पनि यो नाच्न गाउन निकै मन लाग्छ, परानले भेट्दैन, हात खुट्टाले पनि धोका दियो, बैसमा मेला पर्व सुरु भयो भने सोरठी नाच्ने पुराना–पुराना गीतहरु गाउने गरिन्थ्यो, अहिले त्यस्ता गीत र नाचहरु कतै देख्न पनि पाइन्न, सुन्न पनि पाइन्न, अहिले त सुन्दा रिस उठ्नेजस्ता गीतहरु गाउँ छन् आफन्तसँग बसेर हेर्नै नमिल्ने गरी नाँच्छन्, यसले त हाम्रो संस्कृतिलाई फोहोर बनाएको छ”, उहाँले भन्नुभयो । अहिले गाउँ सहरमा बूढापाकाले नाच्दै आएको सोरठी नाच खास्सै नदेखिने गलकोटका ३२ वर्षीय प्रेम काउचाले बताउनुभयो । उहाँले आफ्नो पुस्ताले पुराना लोक संस्कृतिलाई जगेर्ना गर्नुको सट्टा पश्चिममा संस्कृतिलाई बढावा दिइरहेको कारण सोरठी हराउँदै गएको उहाँ स्वीकार गर्नुहुन्छ । “हामी १५/१६ वर्ष हुँदासम्म पनि गाउँमा सोरठी नाच्ने टिम धेरै हुन्थे, हामीहरुले पनि सिक्ने कोसिस गरेनौँ, त्यही भएर पनि अहिले यो लोप हुँदै गयो, अझै पनि पुराना बूढापाका अग्रजसँग सिक्ने अवसर छ, हामीहरुले सिक्यौँ भने नयाँलाई पनि सिकाउन सहज हुन्थ्यो”, उहाँले भन्नुभयो, “मौलिक संस्कृतिलाई दैनिक भित्रिएका पश्चिमा कला संस्कृतिले विस्थापित गरिरहेको छ, नयाँ संस्कृतिलाई अंगाल्ने र पुरानालाई संरक्षण गर्न जरुरी छ ।” काउचाले पछिल्लो सयम अध्ययन तथा रोगारीका लागि बजार झार्ने र बजारमा आधुनिक किसिमका गीत सङ्गीत सुन्ने र गाउने हुँदा सोरठी नाच लोप हुने अवस्थामा पुगेको उहाँ बताउनुहुन्छ । उहाँले तिहारमा समेत विद्यार्थी, विभिन्न सङ्घसंस्था र स्थानीय पनि आधुनिक गीत सङ्गीत बजाएर नाच्न थालेका बताउनुहुन्छ ।