पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

  काठमाडौं:  पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थका खपतमा कम भएको जानकारी दिएको छ ।  यसअघि चाडपर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने भए पनि आसन्न निर्वाचन नजिकिए पनि पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुन नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।  उहाँका अनुसार गत वर्षको कात्तिक महिनाको तुलनामा चालु वर्षको कात्तिक महिनामा पेट्रोल तथा डिजेलको खपतमा ठूलो परिमाणमा कमी आएको छ । २०७८ को कात्तिक २३ गतेसम्म (कात्तिक महिना) ६३ हजार ३१५ किलोलिटर पेट्रोल र एक लाख ३५ हजार आठ सय १२ किलोलिटर डिजेलको खपत भएको थियो । जबकी २०७९ को कात्तिक २३ गतेसम्म ४४ हजार पाँच सय १३ किलोलिटर पेट्रोल र ७८ हजार चार सय २६ किलोलिटर मात्रै डिजेल खपत भएको छ । तरलता अभाव तथा विकास निर्माणको सिजन नहुँदा निर्माणका काम ठप्प हुँदा, तेलको मूल्यमा वृद्धि, नेपाल र भारतको तुलनामा पछिल्लो समय नेपाली बजारमा तेलको मूल्य धेरै हुँदा खपत घटेको हो । ट्याङ्कर चालकले भारतमै तेल हाल्दा, सीमा नजिक हुनले भारतमै पेट्रोलियम पदार्थको खरिद गर्दा खपतमा कमी आएको हुनसक्ने निगमको अनुमान छ ।

बागलुङः   ताराखोलाका रैथाने मगरले ‘भुस पोल्ने पर्व’ मनाएका छन् । प्रकृतिपूजक अर्गली मगरले बर्सेनि कात्तिकमा यो पर्व धुमधामसँग मनाउँछन् ।   २४ गतेदेखि सुरु भएको पर्वलाई गाउँलेले आइतबार बिदाइ गरेका छन् । पूर्वजले खोरिया खनेर हिउँदे खेती लगाउन सुरु गरेको सम्झनामा मगरहरूले सो पर्व मनाउँदै आएका छन् । मुख्य गरी ताराखोला गाउँपालिका–२ अर्गलमा भुस पोल्ने पर्व प्रचलित छ । पर्वका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिन्छ ।    गाउँलेले ठूलो चाडका रुपमा सो पर्वलाई लिन्छन् । मगर भाषा तथा संस्कृति संवद्र्धन समितिका सचिव बिर्बलाल घर्तीमगरका अनुसार हरेक वर्ष कात्तिक २४ गतेदेखि नै पर्व मनाउन सुरु हुन्छ । सो दिन शङ्खुबारी (मूल बारी) मा भुस पोल्ने गरिन्छ । मकै बाली भित्र्याएपछि बारीमा रहेका डाँठ, पात, पतिङ्गर जम्मा पारेर आगो लगाउने कार्यलाई नै भुस पोल्ने भनिन्छ । संस्कृतिकर्मी घर्तीमगरले पहिलेपहिले अर्गलमा भुस पोलेपछि मात्र छिमेकी गाउँमा खेती सुरु गर्ने चलन रहेको बताउनुभयो ।   शङ्खुघर ९गाउँको मूल घर० का मूल भाञ्जाले भुस पोल्ने चलन छ । उक्त दिनमा शङ्खुबारीमा विशेष पूजाआजा हुन्छ । त्यहाँ उब्जेको जौ बाली शुङ्खुघरले प्रयोग गर्ने र त्यही घरले पूजाआजाको खर्च चलाउनुपर्ने नियम छ । गाउँको ज्येष्ठ व्यक्तिको घरलाई नै शङ्खुघर नामाकरण गर्ने गरिन्छ ।    पर्वको अर्को दिन २५ गते वर्ष दिनभित्र मृत्यु भएकाका परिवारमा मृत्यु संस्कारका रुपमा बरखी (दुःख) उम्काउने चलन छ, २४ गतेअघि जहिले मृत्यु भएको भए पनि २५ गते नै मृत्यु संस्कार पूरा हुने गर्छ ।    २४ गते मृत्यु भएमा भने वर्षभरि नै दुःख बार्नुपर्ने हुन्छ । घरमा चेलीबेटी, भाञ्जाभाञ्जीलाई बोलाई दानदक्षिणा दिई मृत्यु संस्कार पूरा गर्ने गरिन्छ । मृत्यु संस्कारको समापनलाई गाउँलेले ‘होलादास’ पनि भन्ने गर्छन् । मृतकको घरमा दिदीबहिनीमध्ये जेठीले १८ माना चामल र सोही बराबरको सुकुटी र सुकेको छाला ल्याउनुपर्ने प्रचलन छ ।   मृतकको परिवारबाट पनि सोही अनुसार मावली र माइतीघरमा पठाउने गर्छन् । त्यसरी पठाएको कोसेली दाजुभाइ मिलेर बाँड्ने र त्यसबापत नगद दक्षिणा गर्ने चलन छ । “यो पर्वका धेरै आयाम छन्, पितृकार्यदेखि पुत्र बढाइँसम्मका परम्परा यसमा जोडिएका छन्”, समितिका सचिव घर्तीमगरले भन्नुभयो ।   पर्वको मुख्य दिन २६ गते छापे खन्ने गरिन्छ । शङ्खुबारीको बीचमा रहेको ठूलो ढुङ्गालाई सहकालका देउता मानेर पुज्ने चलन छ । त्यहाँ पूजाआजा गरे सहकाल भित्रने र खेतीबाले सप्रने जनविश्वास छ । प्रकृतिका देउता ‘शङ्खु’ को प्रतीकस्वरुप मूल घर र बारीलाई समेत शङ्खु भनेर चिनिन्छ ।    सो दिन शङ्खुबारीमा बाली छर्नुपूर्व अविवाहित युवायुवती जम्मा भएर बारीमा मेलो खन्ने गर्छन् । पूजाको विधिपछि युवा कोदालो लिएर शङ्खुबारीमा दौडन्छन् र युवतीलाई डाक्छन् । युवती पनि कोदालोसहित शङ्खुबारी आउँछन् । पाका र विवाहितले अघिअघि बीउ छर्छन्, अविवाहित युवायुवती मिलेर शङ्खुबारीमा मेलो खन्न सुरु गर्छन् ।    मेलो सकिएपछि युवायुवती एकापसमा कोदालो जुधाउँछन् र तानातान गर्छन् । अन्तिममा सँगै कोदालो उठाउँदै खुसी साट्छन् र खेती लगाएको सन्देश दिन्छन् । यसलाई नै ‘छापे खन्ने’ भन्ने गरिएको स्थानीय बताउँछन् । विवाहित युवायुवतीले छापे खन्न नहुने मान्यता छ । त्यसको भोलिपल्ट २७ गतेदेखि यो वर्ष पहिलो छोरा जन्मिएका घरमा पुत्र बढाइँ सुरु हुन्छ ।    पुत्र बढाइँमा गोपिचन नाच देखाउने, गाथा हाल्ने पुरानो चलन छ । “यो वर्ष जजस्को घरमा पहिलो छोरा जन्मेका छन्, त्यहाँ गोपिचन राजाको जीवन कहानीमा आधारित कथा भन्ने, झाँकी देखाउने चलन छ”, संस्कृतिकर्मी घर्तीमगरले भन्नुभयो, “पुत्र बढाइँ गरेपछि विवाहपूर्व गरिने सबै संस्कार पूरा हुने मानिन्छ ।”   पुत्र बढाइँलाई परिवारका सदस्य र आफन्तले उत्सवका रुपमा मनाउने गर्छन् ।  पन्ध्रौँ शताब्दीतिर पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी अर्गल आएका मगरहरुले सो पर्वको चलन बसालेका हुन् । अर्गल खेलकुद विकास मञ्चले भुस पोल्ने पर्वका अवसरमा विभिन्न खेलकुद र मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गर्दै आएको छ । यस वर्ष पनि पुरुष तथा महिला भलिबल, सामूहिक लोकनृत्य, धनुषबाण, रस्साकस्सीलगायत प्रतियोगिता राखिएको मञ्चका अध्यक्ष लोकबहादुर क्षेत्रीले बताउनुभयो ।

बागलुङ:  गत स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले मतदातालाई मतदाता शिक्षा नदिँदा  बागलुङमा ठूलो सङ्ख्यामा मत बदर भयो । यसपाली भने आयोगले स्थानीय तहसँग सहकार्य गरेर मतदाता शिक्षा सुरु गरेको छ । जिल्लाका १० वटै स्थानीय तहमा यति बेला महिला स्वयंसेविका घर–घर पुगेर मतदातालाई मतदान गर्न सिकाइरहेका छन् । मतदाता शिक्षा पाएपछि मत बदर नहुनेमा मतदाता विश्वस्त छन् । बागलुङ नगरपालिका–१ रामरेखाका ८९ वर्षीय मनवीर रोकाले यसअघिका  चुनावमा नेता कार्यकर्ताहरु आएर सिकाउनेजस्तो गरे पनि अहिले सरकारले नै भोट हाल्न सिकाएको बताउनुभयो । उहाँले मतदाता शिक्षाका लागि खटिएका महिला स्वास्थ्य स्वयंसेविकाले मतपत्रमा छाप लगाउने र मतपत्र पट्याउने तरिका सिकाएका छन् भन्नुभयो । “मैले अहिलेसम्म धेरै चुनावमा भोट हाले तर पहिला यसरी कोही पनि भोट हाल्ने तरिका सिकाउन आउँदैनथे, आए पनि एमाले, कांग्रेस र मसालका मान्छे आएर यहाँ छाप लाउनु है भनेर धेरै पटक भने, त्यही अनुसार भोट हालियो,” रोकाले भन्नुभयो–“तपाईंलाई इच्छा लागेको चिन्हमा छाप लगाउनु, अन्य चिन्हमा छाप नछोइ पट्याएर बाकसमा खसाल्नु भनेर पहिलो पटक सिकाए, पहिले यस्तो चलन थिएन ।” यतिबेला  जिल्लाका दुई निर्वाचन क्षेत्रका ८५ वटा वडामा ८५  महिला स्वास्थ्य स्वयंसेविका मतदाता शिक्षाको लागि खटिएका छन् । कात्तिक १८ गतेदेखि घरदैलो गरेका उनीहरुले मङ्सिर २ गतेसम्म मतदातालाई भेटेर बदर नगरी मतदान गर्न सिकाउँदै  छन् । जिल्ला निर्वाचन कार्यालयको सहयोगमा जिल्लाका १० वटै स्थानीय तहले आ–आफ्ना वडामा प्रतिवडा एक महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा प्रदान गर्न खटाएको हो । स्थानीय तहको निर्वाचनमा जिल्लामा १० दशमलव ६३ प्रतिशत मत बदर भएको थियो । एक लाख ९३ हजार दुई सय २६ मतदातामध्ये एक लाख २१ हजार आठ सय ६९ प्रतिशत मत खसेको थियो । जसमा १३ हजार सात सय ४२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले बताउनुभयो ।  स्थानीय तहको निर्वाचनको तुलनामा सदरमत बढाउन  आयोगकोे निर्देशनअनुसार स्थानीय तहको सहयोगमा  महिला स्वास्थ्य स्वयंसेविकालाई घर–दैलोमा खटाइएको निर्वाचन कार्यालयका प्रमुख यज्ञ रिजालले बताउनुभयो । मतदाता शिक्षा दिन घर–घर महिला स्वास्थ्य स्वयंसेविका भने मतदाताका प्रश्नबाट घेरिएका छन् । कुन राजनीतिक दलबाट आएको, हामीलाई फुर्सद छैन, मेलापातको समयमा नअल्मल्याउनुस्, जसलाई मत दिए पनि काम गर्ने होइनन् भन्ने प्रश्नले हैरान भएको स्वयंसेविकाको गुनासो छ ।  “हामीले लगाएको पोसाक देखेपछि कतिपयले त राम्रोसँग सुन्नुहुन्छ, कतिले वास्तै गर्नुहुन्न् धेरैजसो राजनीतिक दलप्रति असन्तुष्ट भएर होला सिक्न समेत मान्नुहुन्न” बागलुङ नगरपालिका–१ मा खटिनु भएकी स्वास्थ्य स्वयंसेविका दुर्गादेवी शर्माले भन्नुभयो । निर्वाचन कार्यालयबाट आएको भनेपछि भने मतदाता उत्साहित हुने गरेको उहाँको भनाइ थियो । घर–घर पुगेर मतदाताको नाम टिप्ने, मतपत्रमा छाप लगाउन, पट्याउन, बाकसमा खसाल्न सिकाउने गरेको शर्माले जानकारी दिनुभयो । यसअघि छोराछोरी, बुहारी नातिनातिना र अन्य व्यक्तिको सहयोगमा  मत खसाल्नुपर्ने बाध्यता भएकामा यसपटक आफै मताधिकार प्रयोग गर्न सक्ने गरी मतदाता शिक्षा प्रदान गरिएको स्वयंसेविकाको भनाइ थियो । पन्ध्र दिनका लागि मतदाता शिक्षाको दिन खटिएका स्वयंसेविकलाई सम्बन्धित स्थानीय तहले रु १५ हजार भत्ता दिने व्यवस्था गरेको   नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो । 

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आइतबार घरदैलोका क्रममा मुग्लिनमा गाडी तोडफोड भएको हो । उनले निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने दायित्व भएको राज्य मुकदर्शक भएको आरोप लगाएका छन् ।

बागलुङ:  दुर्घटनमा परी गम्भीर घाइते हुनुभएका मनिष कँडेलको उपचारका लागि सामाजिक सञ्जालमा चलाइएको सहयोग अभियानबाट रु चार लाख ३८ हजार रकम सहयोग जुटाइएको छ ।  कात्तिक १७ गते मोटरसाइकल दुर्घटनमा परी गम्भीर घाइते हुनुभएका बागलुङ काठेखोला गाउँपालिका–५ का १९ वर्षीय मनिष कँडेल अहिले मणिपाल शिक्षण अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ ।  कँडेलको परिवारको आर्थिक अवस्था कमजोर भएकाले स्वतःस्फूर्तरुपमा युवाको सक्रियतामा सामाजिक सञ्जालमार्फत् सहयोग अभियान चलाइएको थियो । सहयोग सङ्कलन अभियानका युवा रोशन कुँवरका अनुसार सङ्कलित रकममध्ये रु एक लाख परिवारलाई हस्तान्तरण गरिसकेको छ भने अन्य रकम कँडेलको उपचारमै खर्च गरिनेछ ।  “साथी दुर्घटनामा गम्भीर हुँदा हामीहरुले  सामाजिक सञ्जालमार्फत् सहयोग अभियान सञ्चालनमा ल्याएका हौँ”, कुँवरले भन्नुभयो, “हाम्रो अभियानलाई धेरैले साथ र सहयोग गर्नुभएको छ, हालसम्म सङ्कलन भएको रकम छिट्टै मनिष कँडेलको उपचारका लागि प्रदान गरिनेछ ।” सामाजिक सञ्जालमा सञ्चालन गरेको एक अपिलमार्फत् उक्त रकम जुट्नुले कँडेलको उपचारमा सहयोग पुग्ने परिवारको भनाइ छ । कँडेल बागलुङ नगरपालिका–१ माझीबस्ती जनिकै मालढुङ्गादेखि आउँदै गरेको ध२प ३३२ नम्बरको मोटरसाइकल र बागलुङ बजारदेखि जाँदै गरेको ध २ प २१९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते हुनुभएको थियो । दुर्घटनामा पर्वत पिपलटारीका २३ वर्षीय रोहित भुसालसमेत घाइते हुनुभएको थियो ।

  काठमाडौं: आसन्न निर्वाचन आउन अब सात दिन मात्र बाँकी छ । राजनीतिक दल र नेताहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन् । कोही घरदैलो गर्दै हिँडिरेका छन् त कोही कोणसभा र चुनावीसभा ।  पछिल्लो साता राजनीतिक माहोल तातिरहेका बेला दिनभर काम गरेर खाने निम्न वर्गका मतदातालाई भने चुनावले खासै तताउन सकेको छैन । उनीहरु अहिले पनि कसरी आफ्नो गर्जो टार्ने भन्ने चिन्तामा छन् । निर्वाचनको समयमा गरेका बाचा जितेर गइसकेपछि भुल्ने नेताहरूलाई किन भोट हाल्ने भन्ने उनीहरुको प्रश्न छ ।   भरतपुर महानगरपालिका–१ लीलाचोककी बाटुलीमाया श्रेष्ठ चुनाव जितेर गएपछि नेताहरू पाँच वर्ष देखा नै नपर्ने गरेको गुनासो गर्नुभयो । “भोट हालेर चुनावमा जिताएर के गर्ने ? काम गरीखाने ठेला महानगरमा छ । काम गरेर पनि खान दिइएन”, उहाँले गुनासो गर्नुभयो । “रोजगारी दिन्छु भन्दै भोट मागेको सम्झदै उहाँले नेताहरू जितेपछि फर्केर नआएकामा कसलाई गुनासो गर्ने”, भन्नुभयो ।  उहाँले ठेलामा मकै पोलेर परिवार पाल्दै आउनुभएको छ । उहाँले साँझ बिहानको हातमुख जोर्ने ठेला भरतपुर महानगरपालिकाले लगिदिएको छ । सडकमै मकै बेच्दै गर्दा महानगरपालिकाबाट आएका नगर प्रहरीले उहाँको ठेला नियन्त्रणमा लिएका थिए । “पटक–पटक महानगर धाउँदा पनि ठेला पाइएन”, उहाँले भन्नुभयो, “हामी सोझा मान्छेको पहुँचमा मान्छे छैनन् ।” उहाँले निर्वाचनपछि काम गरेर खाना र सुखले बाँच्न पाए अरु केही नचाहिने बताउनुभयो । भरतपुर महानगरपालिका–११ भोजाडकी मतिमाया कुमाल यसपटकको निर्वाचनमा दोधारमा रहेको बताउनुहुन्छ । “यसअघि पटक–पटक भोट हाल्यौँ, तर हाम्रो जीवनमा परिवर्तन आएन”, उहाँले भन्नुभयो । खाद्यान्नको मूल्य आकाशिएको भन्दै उहाँले साँझ बिहानको छाक पनि टार्न नसक्ने अवस्था आउन लागेको गुनासो गर्नुभयो ।  “महँगी दिनदिनै बढ्छ, मजदुरको ज्याला बढ्दैन, जनताको दुःख बुझ्ने नेता को छ र ?” उहाँले प्रश्न गर्दै भन्नुभयो । प्यारालाइसिसका कारण एउटा हात नचल्ने उहाँका श्रीमान्ले ज्याला मजदुरी गर्नुहुन्छ । यसैबाट घरमा चुलो बलेको छ । आफूलाई भोट हाल्न मन नलागे पनि श्रीमान्ले भने एकपटक सोचेर भोट दिनुपर्छ भन्ने गरेको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिका–१ की लक्ष्मी श्रेष्ठले प्रत्येक चुनावमा लालपुर्जाको आश्वासन दिँदै उम्मेदवार भोट माग्न आएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हामीलाई आश देखाएको वर्षौँ भइसक्यो, अब कहिलेसम्म पर्खने ।” उहाँले आफ्नै घर अगाडिको भत्केको सडक देखाउँदै यिनीहरूलाई कसरी भोट दिने भन्नुभयो । “तीन वर्षअघि कालोपत्र गरेको कमसल काम भएका कारण भत्कियो”, उहाँले भन्नुभयो, “अहिले दिनभर धुलो खाँदै बस्नुपरेको छ ।” अटो चलाउँदै आउनुभएका भरतपुर–१ का रामबहादुर क्षेत्री काम गर्ने वातावरण नभएकै कारण हजारौं युवा विदेशिनुपरेको बताउनुहुन्छ । “निर्वाचनका बेला जनताको माग र आवश्यकता उम्मेदवारको घोषणापत्रसँग मिल्दोजुल्दो हुन्छ । पदमा गएपछि ती सबै कागजमा सीमित हुन्छ”, उहाँले भन्नुभयो । भरतपुर–१ स्थित पोखरा बसपार्कका रामजी शर्माले निर्वाचनको समयमा मत दिँदा विचार पुर्याउनुपर्ने बताउनुभयो । “फकाउन र प्रलोभन दिन घर–घरमा आउन सक्छन्”, उहाँले भन्नुभयो, “देशको अवस्था हेरेर सोचविचार गरेर मत दिनुहोला ।” दियालो टोल विकास समिति भरतपुर–१ की अध्यक्ष सुवद्रा श्रेष्ठले पार्टीप्रति आफ्नो आस्था भए पनि सही व्यक्ति छनोट गर्नुपर्ने बताउनभयो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चितवनका चार लाख आठ हजार तीन सय ४२ मतदाताले भोट हाल्दैछन् । यसमा महिला दुई लाख नौ हजार तीन सय नौ रहेका छन् भने पुरुष एक लाख ९९ हजार ३२ जना छन् ।

तनहुँ:  तनहुँको व्यास नगरपालिका–१० निवासी कृष्ण थापा शारीरिकरूपमा अपाङ्गता हुनुहुन्छ । उहाँलाई हिँडडुल गर्न ह्वीलचियरको सहायता पर्दछ । ह्वीलचियरको सहारामा उहाँको दैनिकी गुज्रिरहेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पनि मतदान गर्न तयारी अवस्थामा हुनुहुन्छ । निर्वाचनमा मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा थापाजस्तै थुप्रै अपाङ्गता भएका व्यक्तिलाई समस्या हुँदै आएको छ ।  “मतदान केन्द्र अपाङ्गमैत्री नहुँदा मतदान गर्न जान निकै अप्ठ्यारो हुँदै आएको छ, मतदान केन्द्र अपाङ्गतामैत्री भइदिए सहजरूपमा मतदान गर्न पाउँथ्यौँ”, उहाँले भन्नुभयो, “चौर भएको ठाउँमा ह्वीलचियर गुडाउन गाह्रो हुन्छ, मेरो ह्वीलचियर त बरु त्यस्तो ठाउँमा पनि गुड्न सक्ने भएकाले म आफैँ एक्लै मतदान केन्द्रसम्म पुग्न सकेँ ।” मतदान केन्द्रमा मतपेटिका अग्लो स्थानमा राखिदिँदा मत खसाल्ने बेला अप्ठ्यारो हुने गरेको उहाँको अनुभव छ । “छाप लगाउने ठाउँमा टेबल अग्लो भइदिँदा हामीजस्ता ह्वीलचियर प्रयोगकर्तालाई छाप लगाउन गाह्रो हुने गरेको छ, मतपेटिका पनि अग्लो स्थानमा राखिदिँदा मत खसाल्न गाह्रो हुन्छ”, उहाँले भन्नुभयो । मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाउन पटक–पटक माग गर्दै आए पनि आफूहरूको मागको सुनुवाइ हुन नसकेको उहाँको गुनासो छ । अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको सहृदयी मञ्च तनहुँका सचिव रहनुभएकी उहाँले भन्नुभयो, “हामीहरूले यस विषयमा आवाज उठाउँदै आएका छौँ, तर पनि सुनुवाइ हुँदैन ।” अधिकांश मतदान केन्द्रमा ह्वीलचियर लैजान नै नसकिने उहाँको अनुभव छ । मतदान केन्द्र विद्यालयमा हुने र त्यहाँ प्रवेशद्वार हुने भएकाले ह्वीलचियर लैजान समस्या हुँदै आएको छ । “प्रवेशद्वार अपाङ्गतामैत्री हुँदैन, सिँढी हुन्छ, कतिपय प्रवेशद्वार खोलिदैन”, आफ्नै अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “ह्वीलचियर लैजान नमिलेपछि मलाई उचालेर भित्र लगिएको थियो ।”  स्थानीय तह निर्वाचनमा आफूसँग गएको सहयोगीले तपाईँ गेटमै बस्नुस्, म भोट हाल्दिहाल्छु नि भनेको सम्झिँदै उहाँले आफूहरू त्यस्तो नचाहने बताउनुभयो । “हाम्रो भोट अरुले हालिदिओस् भन्ने हामी चाहँदैनौँ, म अपाङ्गता हो, मेरो आधा शरीरले काम नगर्ला, मेरो एउटा अङ्गले काम नगर्ला”, उहाँले भन्नुभयो, “मतदान गर्ने मेरो अधिकार म आफैँ प्रयोग गर्छु ।” मतदान केन्द्रमा जानका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिने गरिए तापनि केन्द्र नै अपाङ्गतामैत्री नहुँदा समस्या हुँदै आएको रिसेड तनहुँका उपाध्यक्ष ईश्वर बाँस्तोलाले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिलाई मतदान केन्द्रसम्म पुगेर मतदान गर्न अप्ठ्यारो हुने भएकाले सहजरूपमा वातावरण मिलाउन माग गरिए पनि मागको सुनुवाइ हुन नसकेको सहृदयी मञ्चका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिनुभयो ।  निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले मतदान केन्द्र व्यवस्थापन गर्दा अपाङ्गता भएका व्यक्तिलाई सहजरूपमा मतदान गर्न पाउने व्यवस्था मिलाइने बताउनुभयो । “मतदान केन्द्रलाई तत्कालै केही गर्न सक्ने अवस्था छैन, मौजुदा केन्द्रहरूमा अपाङ्गता भएका व्यक्तिलाई सहजरूपमा मतदान गर्न पाउने व्यवस्था मिलाउँछौँ”, ढकालले भन्नुभयो ।  जिल्लामा तीन सय पाँच मतदान केन्द्र छन् । सबै मतदान केन्द्र विद्यालय र गाविस भवनमा निर्धारण गरिएको छ । विद्यालय र गाविस भवनका मतदान केन्द्र अपाङ्गतामैत्री छैनन् ।

  बर्दिया: बर्दियाको मधुवन नगरपालिका ८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बाघ मृत फेला परेको हो । मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले बताएको छ । जङ्गल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिनुभयो । बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ । बाघको मृत्युको कारण खुल्न बाँकी छ ।

  नवलपरासी: नवलपरासीपूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन् । नौ दिनअघिको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि यो तथ्य बाहिर आएको हो । काठमाडौँ बसेर विभिन्न प्रतियोगितामा भाग लिँदै गरेका र्यापर समेत रहेका कावासोती–१ निवासी २० वर्षे मिलनजङ्ग कुँवर बिरामी भएर घर आउनुभएको थियो । उहाँको उपचारका लागि भन्दै परिवारले नौ दिनअघि घरमा झारफुक गर्न देवचुली–१२ का ४२ वर्षीय झाँक्री दीपक सार्कीलाई बोलाएको थियो । सार्कीले झारफुक गर्ने क्रममा अगुल्टोले मुखमा पटक–पटक झोस्दा कुँवर गम्भीर घाइते हुनुभएको हो ।  घाइते कुँवरको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको परिवारजनले जानकारी दिएको छ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि शुक्रबार झाँक्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो । घटनाका बारेमा अनुसन्धान भइरहेको पाठकले बताउनुभयो ।