चितवन : चितवन मेडिकल कलेज तोडफोडको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नौ जना विरुद्ध अस्पतालले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१३ का धनबहादुर विक, जीवन सुनार र विकासबहादुर दमाई रहेका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरुलाई आइतबार पक्राउ गरिएको हो । अस्पतालका तर्फबाट उनीहरुसहित नौ जना विरुद्ध किटानी जाहेरी परेसँगै पक्राउ गरिएको उहाँले बताउनुभयो । अन्यको खोजी कार्य भइरहेको कार्यालयले जनाएको छ । उनीहरु विरुद्ध स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी संरक्षण ऐन, २०६६ को संशोधन, २०७९ अनुसार मुद्दा दर्ता गरिएको पण्डितले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन, २०६६ को संशोधन, २०७९ अनुसार स्वास्थ्य संस्था तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्याउनेलाई तीन वर्षसम्म कैद वा रु तीन लाख जरिवाना हुने व्यवस्था रहेको छ । यही असोज १७ गते बिरामीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर बिरामीका आफन्तले अस्पताल तोडफोड गरेका थिए । तोडफोडका कारण अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा क्षति भएको थियो । सो घटनालाई लिएर नेपाल चिकित्सक सङ्घले कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको थियो ।
काठमाडौं : बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतार एयरवेजको विमानबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उहाँलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ प्रहरी वृत्तका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार अहिले लामिछानेलाई प्रहरी वृत्त, गौशालामा राखिएको छ । पीडित बालिकाले प्रहरी वृत्त, गौशालामा बलात्कारको जाहेरी दिएकाले उहाँलाई त्यहीँ लगिएको हो । लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइने बताइएको छ । लामिछाने विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले आफुलाई लामिछानेले बलात्कार गरेको जाहेरी दर्ता गराउनु भएको थियो । उजुरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग ९सीपीएल० खेल्न नेपाल बाहिर जानुभएको थयो ।
तनहुँ : तनहुँ कारागारमा रहेका कैदीबन्दी आफन्तसँग टीका लगाउन पाउँदा खुसी भएका छन् । विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन् । कोभिड–१९ को सङ्क्रमणपछि पहिलो पटक कैदीबन्दीले आफन्तको हातबाट टीका लगाउन पाएका हुन् । विगतका वर्ष कोभिड–१९ को जोखिमका कारण आफन्तबाट टीका लगाउन रोक लगाइएको थियो । कारागारमा पुर्पक्षका लागि थुनामा रहेका एक कैदीबन्दीले दसैँका दिन आफन्तसँग भेटघाट गर्दै टीका लगाउन पाउँदा खुसी लागेको बताउनुभयो । “दसैँका बेला निधार खाली हुन्छ की भन्ने चिन्ता थियो, तर आफन्तसँगै टीका लगाउन पाएर एकदमै खुसी लागेको छ”, उहाँले भन्नुभयो । “यो वर्ष आफन्तको हातबाट टीका लगाउन पाउने व्यवस्था मिलाएका हाँै”, कारागारका निमित्त प्रमुख नारायण अधिकारीले भन्नुभयो, “आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दीले राम्रो मान्नुभएको छ ।” उहाँका अनुसार दिउँसो १ः३० बजेसम्म ३४ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् । बिहानैदेखि झरी परेकाले उनीहरुका आफन्त आउन ढिलाइ भएको हुनसक्ने उहाँले बताउनुभयो । “झरीले केही समस्या बनाए पनि टीका लगाउने व्यवस्थापन मिलाएका छौँ”, अधिकारीले भन्नुभयो । कैदीबन्दीहरुले दसैँ मनाउन खशीबोका खरिद गर्नका लागि कोष बनाएका थिए । कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन् । सोही कोषमा जम्मा गरिएको रकमले खशी, कुखुरा लगायत खरिद गरिएको छ । “सरकारले दसैँ खर्चबापत प्रत्येक कैदीबन्दीलाई रु तीन सयका दरले रकम उपलब्ध गराउँछ, सोही रकम र मूढा बिक्री गरेर कमाएको पैसा कैदीबन्दीले कोषमा राखेका छन्, त्यही रकमबाट आवश्यक सामग्री खरिद गरी रमाइलो गरिएको छ”, अधिकारीले भन्नुभयो । तनहुँ कारागारमा १२ महिलासहित दुई सय ८७ कैदीबन्दी छन् ।
काठमाडौं : नवरात्रको नौ दिनसम्म विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा आज विजयादशमीका दिन बिहान देवी विसर्जन गरिँदै छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा देवी विसर्जन गर्न लागिएको हो । देवी विसर्जनका लागि बिहान १०ः३४ बजेको साइत शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । विधिपूर्वक देवी विसर्जनपछि शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइन्छ । आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन साइत हेर्नु नपरे पनि शुभ साइत खोज्नेका लागि समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ । आज टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । विजयादशमीका दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने बताउनुहुन्छ धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उहाँ सुनाउनुहुन्छ । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधीमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ । कोरोना भाइरस एवं डेङ्गुको सङ्क्रमण फैलिरहेकाले जमराको जुस सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ ।आज गुरु पुरोहित, हजुरबा, हजुर आमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।
काठमाडौं : मोहनी नखाःको दशौँ दिन नेवार समुदायले आज चालँ मनाउँदैछन् । यस दिन मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादका रूपमा असत्यमाथि सत्यको विजयको प्रतीक रातो टीका, समृद्धिको प्रतीक जमरा र रातो कोखा लगाइन्छ । साथै खड्ग र पायो बोकेर खाँ निस्कने गरिन्छ । नेवार समुदायमा विजयादशमीको दिन घरको सबैभन्दा जेठो व्यक्तिले बिहानै पवित्र भई महानवमीको दिन नवदुर्गा भवानी र नःलास्वाँ (जमरा) पूजा गरेको स्थानमा मोहनी पूजा सम्पन्न गरिन्छ । त्यसपछि परिवारका सबैजना बसेर सम्ये बजीको प्रसाद ग्रहण गरी परिवारको ज्येष्ठ सदस्यबाट परिवार सबैलाई क्रमैसँग मोहनी सिन्हः (कालो टीका), नःलास्वाँ र रातो कोखासहित पूजामा राखेका औजार सामग्री हस्तान्तरण गरिन्छ । यसरी प्रसाद लिँदा आफूभन्दा ठूलालाई ढोग्नुपर्ने र ठूलाले पनि सुख समृद्धि, सुस्वास्थ्यको कामनासँगै सत्य र न्यायको पक्षमा जुझ्न सक्ने शक्ति होस् आदि भनेर आशीर्वाद दिन्छन् । चालँअर्थात् दशमीका दिन काठमाडौँ उपत्यकाको सहरमा र अन्य नेवार बस्तीमा पायो वा खड्ग जात्रा निकालिन्छ । घरघरमा पनि आगनमा पूजा गरिराखेको खड्ग जेठो पुरुष सदस्यले बोकेर आँगन बाहिर ल्याउँछन् । सबै घरपरिबारले खड्ग ढोग्दछन् । यसो गर्नाले खड्गसिद्धी प्राप्त भई शक्ति हासिल हुने बिश्वास छ । खड्ग बोक्ने पायोमा पनि देवी प्रवेश गर्ने भएकोले पायो काँप्न थाल्दछ । त्यसपछि कुभिन्डो, उखु र अदुवाको बोटलाई खड्गले हाने पछि पायो पनि सम्पन्न हुन्छ । किम्वदन्तीअनुसार भगवतीले महिषासुरको बध गर्न खोज्दा ज्यान जोगाउन कुभिन्डो, उखु र अदुवाको बोटमा प्रवेश गरेकोले ती वस्तुलाई पनि काट्ने गरेको बताइन्छ । यसैगरी पायो निकाली कुभिन्डो आदि काट्नु भनेको अन्याय अत्याचारमाथि सत्य र न्यायको विजय भनेर पनि बुझ्ने गरिन्छ । पायोअर्थात् खड्गलाई घरभित्र मात्र होइन, बाहिर समुदायमा पनि धुमधामसँग जात्रा नै गरिन्छ । नेवार समुदायमा दशमीको दिनदेखि मोहनी नखाःत्या सुरु हुने र यसदिनदेखि मान्यजनका घरघर गएर टीका लगाउने परम्परा नभए नि अचेल यसको प्रचलन बढेको छ । नेवार समुदायमा दिदीबहिनी, भान्जाभान्जी, छोरी ज्वाइँलगायतका आफन्तजनलाई मोहनी नखाःको भोजको निम्तो दिएर खुवाउने प्रचलन छ, यसैलाई नखाःत्या सतेऊ (बोलाउनें) र नखाःत्या वनेऊ (जाने) भन्ने गरिन्छ । यो दिन देवी दुर्गा भवानीले महिषासुर राक्षसको वध गरेको विश्वासमा विजय मनाउने भएकाले यस दिनलाई विजयादशमी पनि भन्ने गरेको संस्कृतिविद्को भनाइ छ । यो दिन भक्तपुरको ब्रह्मायणीमा ठूलो मेला लाग्दछ । यस दिन घटस्थापनाको दिन राखेको जमरा र महानवमीको दिन विशेष प्रकारले बनाएको मोहनी टीका देवीको प्रसादको रुपमा शिरमा लगाइन्छ । तलेजु समेत विधिवत रुपमा अन्तिम पूजा गरी कुमारी घरमा रहेको तलेजुलाई पुन देवगृहमा विराजमान गराइन्छ । राती ब्रह्मायणीबाट नवदुर्गा फर्केपछि खड्ग जात्रा निकालिन्छ । देवीले दैत्यलाई वध गरेको सम्झनामा यो जात्रा सञ्चालन गरिएको संस्कृतिकर्मीहरु बताउँछन् । खड्ग जात्रालाई पायो जात्राको रुपमा पनि लिइन्छ । यो जात्रामा तलेजु भवानीलाई नवदुर्गा गणसहितले विधिवत्रुपमा पूजा गर्दछन् । यो जात्रामा तलेजुको वाहन सेतो घोडा दौडाउनुका साथै फलामे पोसाक लगाएका मानिससमेत जात्रामा सामेल हुन्छ । किम्वदन्तीअनुसार सत्ययुगमा दैत्यहरुले ब्रह्माको तपस्या गरे । ब्रह्माले खुसी भई दैत्यहरुलाई वरदान माग्ने आज्ञा दिए । दैत्यले कसैले मार्न नसक्ने वरदान माग्दा ब्रम्ह्माले स्वास्नीमान्छेबाहेक कसैले मार्न नसक्ने वरदान दिए । वरदान प्राप्त गरेपछि दैत्य स्वर्गमा गई देवतालाई दुःख दिन थाले । यो देखेर महादेव, इन्द्र र विष्णु मिलेर शक्ति स्वरुपा देवीको उत्पत्ति गराए । दैत्यसँग युद्ध गराए अन्तःमा मुख्य मुख्य दैत्य सबै मारिए । बाँकी भएका दैत्यरुकोही हाँस भए, कोही कुखुरा भए, कोही बोका, कोही राँगा भए । देवीले त्यसरी दोपाया र चौपायामा प्रवेश गरेका दैत्यलाई खोजी खोजी मार्न थाले । यसैको सम्झनामा खड्ग जात्रा सुरु भएको लोककथन रहेको पाइन्छ ।
काठमाडौँ : विजयादशमीको उत्तम साइत भोलि (असोज १९ गते) बुधबार बिहान ११: ५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । भोलि बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उहाँले बताउनुभयो । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ । नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाउने गरिन्छ । दशैँमा वातावरण नै उल्लासमय बन्छ । विभिन्न पेशा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ ।
बेनी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) रु तीन लाखको बोलकबोल भएको छ । सोमबार भएको कालरात्रिमा खुला बडीबढाऊमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बडीबढाऊमा सहभागी सचिन केसीले सबैले भन्दा धेरै रु तीन लाख १५ हजार रकम तिर्ने कबोल गरेर सरकारी बलिको मार हान्ने हुनुभएको छ । उहाँले सोमबार नै कबोल रकम पूजा व्यवस्थापन समितिलाई उपलब्ध गराइसक्नुभएको छ । यसअघि २०७८ सालको दशैँको नवमीमा भगवतीमा रु तीन लाखमा सरकारी मारको बढीबढाऊ भएको थियो । नवमीको दिन बलि दिइने राँगो मार हान्ने व्यक्तिको मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण आकाङ्क्षी धेरै हुने भएकाले खुला बडीबढाऊमार्फत छनोट गरिएको भगवती कोत मन्दिर पूजा व्यवस्थापन समितिका सचिव कृष्णबहादुर शाहीले जानकारी दिनुभयो । भगवती कोत मन्दिरमा कालरात्रिको राति कोत मन्दिरमा सर्वसाधारणको बीचमा खुला बोलकबोल गर्ने परम्परागत चलन रहेको छ । यो क्षेत्रकै ऐतिहासिक कोत मन्दिर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । हरेक वर्ष सरकारी मार हान्न आकाङ्क्षा राख्नेको सङ्ख्या र बोलकबोल रकमसमेत बढ्दै गएको पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताउनुभयो । “यहाँ सरकारी मार हानेका व्यक्ति सबैको उन्नति प्रगति भएको छ, त्यसैले पनि भगवती कोतमा दुर्गाभगवतीलाई बलि चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुँदै आएको हो”, उहाँले भन्नुभयो । तत्कालीन बाइसे/चौबिसे राज्यकालदेखि यहाँको कोत मन्दिरमा बडीबढाऊ गरी राँगो हान्ने (काट्ने) चलन छ । नवमीका दिन कोत मन्दिरमा सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ । यहाँ सरकारी मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको मानिएको छ । म्याग्दीको प्रमुख शक्तिपीठमध्येमा पर्ने भगवती कोत मन्दिरलाई पुरातत्व विभागले दुई वर्षअघि रु ६९ लाख खर्चेर पुनःनिर्माण गरेको छ ।
काठमाडौं : प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ । नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ । हनुमानढोको दरबार क्षेत्रको तलेजु भवानी मन्दिर खोलिँदै हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ । मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले सोमबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको जनाइएको छ ।
नवलपुर : दशैं र पिङ एकअर्कामा पर्यावाची जस्तै बनेका छन् । दशैंमा टीकाको दिन भुइँ छोड्नुपर्ने (पिङ चढ्नुपर्ने) परम्परागत मान्यताका कारण पनि गाउँघरमा पिङ संस्कृतिको महत्व छ । पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको संरक्षणका लागि यहाँको एक वडाले पिङ बनाउन सहयोग गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–३ ले आफ्नो वडामा पिङ बनाउन प्रोत्साहन गर्दै प्रतिपिङ रु पाँच हजार दिने निर्णय गरेको छ । “दशैं तिहारमा पिङ राख्नु खेल्नु परम्परा नै हो तर, पछिल्लो समयमा प्राविधिको विकाससँगै यस्ता मौलिकता हराउँदै छन्”, वडाध्यक्ष शिवकान्त तिवारीले भन्नुभयो, “फूलपातीको अघिल्लो दिनसम्म गाउँमा कहीँ कतै पिङ हाल्ने सुरसार नदेखेपछि वडाले पिङ बनाउन रु पाँच हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।” गैँडाकोट वडा नम्बर ३ मा रहेका प्रत्येक टोल सुधार संस्थामा एक÷एक वटा पिङ निर्माण गर्न पनि उहाँले अनुरोध गर्नुभयो । “पिङ रोको प्रमाणसहित वडा कार्यालयमा पुगेपछि कार्यालयले टोल सुधारलाई पाँच हजार रुपैयाँ सहयोग गर्नेछ”, उहाँले भन्नुभयो, “यो हाम्रो परम्परादेखि चलेको संस्कृति संरक्षणका लागि वडा कार्यालयले सानो प्रयास गरेको हो ।” दशैंको पर्यायवाचीजस्तै बनेको पिङ गाउँघरबाट हराउन नदिनका लागि सबै समुदाय लाग्नुपर्ने तिवारीको भनाइ छ । “हाम्रो वडामा मात्रै नभएर धेरै ठाउँमा दशैंको सातौँ दिन फूलपातीसम्म पनि पिङ राख्ने सुरसार देखिएन”, वडाध्यक्ष तिवारीले भन्नुभयो, “पहिले दशैं आउनु एक साताअघि पिङका लिङ्गा खोज्ने, बाँस काट्ने, बाबियो काटी डोरी बाट्ने चटारो हुने गथ्र्यो ।” गाउँघरका चोक, चौर, चौतारामा दशैँँ लाग्नुअघिनै पिङ राख्ने चहलपलसँगै सबै भेट्ने थलो बन्ने गरेको भन्दै वडाध्यक्ष तिवारीले टीकाको एक दिन भए पनि पिङमा खुट्टा राख्नुपर्ने बूढापाकाको भनाइ रहेको बताउनुभयो । पछिल्ला आठ÷दश वर्षमा समुदायबाट लिङ्गे पिङसँगै दशैंको रमाइलो पनि हराएकोजस्तै भइरहेको उहाँको भनाइ छ । गाउँघरमा पिङ निर्माण गरिने बाँसको लिङ्गो पाउन गाह्रो हुन थालेपछि पिङ निर्माणमा समुदायले बेवास्ता गरेको हुनसक्ने मध्यविन्दु–३ का भानुभक्त पौडेलले बताउनुभयो । बह्मदीप युवा क्लबका निवर्तमान अध्यक्षसमेत रहनुभएका पौडेलले विगतका वर्षहरुमा आफ्नो गाउँम पिङ निर्माण गर्ने गरिएको भए पनि यस वर्ष गाउँमा पनि पिङ निर्माण नभएको बताउनुभयो । “पहिला पहिला गाउँमा युवा जनशक्ति टन्नै हुने गर्दथे”, उहाँले भन्नुभयो, “अहिले वैदेशिक रोजगार र विभिन्न कारणले युवा विदेश पलायन हुँदा गाउँमा युवा देख्न मुस्किल भएको छ ।” पिङ निर्माणमा युवाहरुको सहभागिता आवश्यक भए पनि युवा नभेटिँदा पिङ बनाउन कठिन भएको उहाँले बताउनुभयो । “कोरोना कालभन्दा अघिसम्म हामी युवाहरु गाउँमा भेला भएर प्रत्येक घरघरबाट बाबियो तथा सुनपाट सङ्कलन गरेर पिङको लठ्ठा बाट्ने गर्दथ्यौँ”, उहाँले भन्नुभयो, “घटस्थापनाको दिनसम्म सबै तयारी सकेर पिङ ठड्याएर खेल्न सुरु हुन्थ्यो ।” दशैंमा हालिएको पिङ हरिबोधनी एकादशीपछि मात्रै निकाल्ने गरिएको उहाँले स्मरण गर्नुभयो । विदेश गएका युवा दशैँँमा घर फर्किने क्रम न्यून हुने तथा अध्ययनका लागि जिल्ला बाहिर रहेका युवा ढिला गरी घर फर्किने गर्दा गाउँघरबाट पिङ हराउने अवस्थामा पुगेको उहाँले बताउनुभयो । “हामीले अझै पनि पिङ निर्माण गर्ने तयारी भने गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “आवश्यक स्रोत र साधन जुट्यो भने अष्टमीको साँझसम्म गाउँमा पिङ तयार हुन्छ ।” पिङ निर्माण भएपछि मात्रै दशैँँ आएको जस्तो लाग्ने स्थानीय बताउँछन् । पिङ निर्माणका लागि आवश्यक पर्ने बाँसको लिङ्गो पाउनै कठिन हुन थालेपछि पिङ बनाउने उत्साह हराएको मध्यविन्दु–३ का शिखाराम थनेतले बताउनुभयो । “पहिले पिङ हाल्ने भनेपछि हामीले अनुमति लिएर नारायणी पारी निकुञ्जको पहाडमा पुगेर बाबियो काटेर ल्याउने गरेका थियौँ”,उहाँले भन्नुभयो, “बाबियो काट्न नजाने गाउँमा बाँसको लिङ्गो खोज्न हिँड्ने गर्दथे ।” सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेका अहिलेका युवा पुस्ताले पिङ निर्माणमा चासो नदिँदा आफूहरुको संस्कृति नै हराउने पो हो कि भन्ने चिन्ता लाग्ने गरेको उहाँको भनाइ छ । आधुनिक प्रविधिको प्रयोग र सुख सुविधाले हाम्रा पुराना संस्कृति नै हराउँदै जान थालेका छन् । अहिलेका युवापुस्ताले पिङप्रति त्यति चासो दिँदैनन् । कामको व्यस्तता, बाह्य संस्कृतिको प्रभाव, पिङप्रतिको मोह कम हुँदै जाँदा अहिले गाउँघरबाट परम्परागत हाम्रा चाडपर्व झल्किने संस्कृति लोप हुँदै गएका हुन् ।