काठमाडौं । आजदेखि सबै सरकारी कार्यालय तीन महिनाका लागि एक घण्टा अगाडि नै बन्द हुने भएको छ। गृह मन्त्रालयले वैशाख २६ गते राजपत्रमै सूचना जारी गरेको थियो। उक्त सूचनामा कात्तिक १६ गते देखि माघ १५ गतेसम्म एक घण्टा अगाडि नै कार्यालय बन्द हुने उल्लेख छ। कात्तिक १६ गते देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि अपरान्ह साढे चार बजेसम्म रहनेछ। यसअघि साढे ५ सम्म कार्यालय समय थियो। गृह मन्त्रालयले सोही समय प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर उक्त निर्णय असार २ गते राजपत्रमै सूचना जारी गरी खारेज गरेको थियो।
रामपुर । अर्काको देशमा गएर सामाजिक कार्यमा आफ्नो जीवन समर्पण गर्ने व्यक्ति बिरलै हुन्छन् । मानिसले भरसक धन सम्पत्ति कमाउनका लागि आफ्नो जन्मभूमि छाडेर केही समयका लागि अन्यत्र जान्छन् । आफूलाई पुग्ने सम्पत्ति आर्जन भएपछि आफ्नै थाकथलोमा फर्केर घर जग्गा, गाडीलगायतका विभिन्न सम्पत्ति जोडेर आरामको जीवन जिउने प्रायः सबैको चाहना हुन्छ । जीवनलाई सुखसयलमा आनन्ददायकपूर्वक बिताउने सबैले सपना बुनेर बस्छन् । तर जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) भने तीन दशकदेखि नेपालमै बसेर सामाजिक कार्यमा समर्पित हुनुहुन्छ । उहाँ देश, परिवार, धन–सम्पत्ति, आफन्त छाडेर नेपालमा निस्वार्थभावले सामाजिक काममा संलग्न हुनुहुन्छ । उहाँ गरिब, दुःखीका आशा र भरोसाका केन्द्र बन्नुभएको छ । जापानमा जन्मनुभएका ओकेबाजे नेपाली भूमिलाई कर्मथलो बनाएर निरन्तर सामाजिक सेवामा खटिरहनुभएको छ । शिक्षा, स्वास्थ्य, आमा समूह, महिला समूहलाई सहयोग, अर्थाभावमा विद्यालय जान नपाएका बालबालिकालाई पठनपाठनको व्यवस्था, विभिन्न सङ्घसंस्थाको भवन निर्माणलगायत क्षेत्रमा ओकेबाज ठूलो सहयोग गर्नुभएको छ । उहाँकै सहयोगमा विद्यालय जान नपाएका बालबालिकाले राम्रो शिक्षा ग्रहण गर्न पाएका छन् । विशेषगरी ओकेबाजेले पाल्पामा रहेर यहाँको विविध समस्यालाई जापानका विभिन्न सङ्घसंस्थाको सहकार्यमा सहयोग गरी समस्याको निकास दिँदै आउनुभएको छ । शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानी, भवन निर्माण, आमा समूहलगायतका धेरै क्षेत्रमा उहाँको सहयोग छ । उहाँले जापानस्थित साइतामा युनेस्को, रोटरी क्लब जापान, बाजिरा, ओके एसएसलगायत २० भन्दा बढी संस्थामार्फत समन्वय गरी यहाँको सामाजिक क्षेत्रमा रकम खर्चनुभएको छ । हँसिलो र जिज्ञासु स्वाभावका ओकेबाजे ग्रामीण भेगमा सबै उमेर समूहका व्यक्तिसँग बसेर छलफल गर्ने, समस्या बुझ्ने गर्नुहुन्छ । गाउँका नागरिकसँग बसेर त्यहाँको रीतिरिवाज, चालचलन, संस्कृतिबारे सोधखोज गर्ने, ग्रामीण जीवन जिउन बढी मन पराउने उहाँको स्वभाव छ । विसं २०५० देखि पाल्पालाई कर्मथलो बनाएर नितान्त सामाजिक क्षेत्रमा रहेर ठूलो सहयोग गर्दै आउनुभएका ओकेबाजे पाल्पाली गरिब, दुःखी, विपन्न, असहाय वर्गको साहारा बन्नुभएको छ । ओकेबाजेले यहाँका न्यून आय भएका नागरिक, दलित, विपन्न वर्गका परिवारमा अभिभावकको जिम्मेवारी निभाउनुभएको छ । यसरी नेपालमा काम गर्दै जाँदा करिब तीन दशकको समय बितेको उहाँलाई पत्तो छैन । यसरी नै काम गर्न पाउँदा उहाँ खुसी हुनुहुन्छ । आर्थिक समस्याले विद्यालयको हातासम्म पुग्न नसकेका बालबालिकालाई शिक्षाको ज्योति दिने, औषधोपचार, गाउँका विकास निर्माण, खानेपानी, शैक्षिक भवन निर्माण, अक्षयकोष स्थापना, पुस्तकालय स्थापना, आयमूलक काम, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा ओकेबाजेले ठूलो धनराशि खर्च गर्नुभएको छ । ओकेबाजे जापानमा शिक्षण पेशाबाट सेवानिवृत्त भएपछि पाल्पामा रहेर सामाजिक क्षेत्रमा उहाँले काम गरिरहनुभएको छ । गाउँ–गाउँका गरिब, दुखी नागरिकलाई सेवा गर्न पाउँदा निकै आनन्द लाग्ने गरेको ओकेबाजेले बताउनुभयो । “गाउँका गरिब, दुःखी नागरिकलाई सेवा गर्न पाउँदा अत्यन्तै आनन्द लागिरहेको छ, समय मिलाएर जापान जान्छु, विभिन्न संस्था, व्यक्तिसँग रकम सहयोग मागी नेपालमा बसेर सामाजिक क्षेत्रमा खर्च गरिरहेको छु, मैले जे चाहेको छु, सबै कुरा पूरा हुँदै गएको छ”, उहाँले भन्नुभयो । नेपालभूमिमा गरेको योगदानको कदर गर्दै नेपाली परम्पराअनुसार २०७९ असोज २३ गते वैदिक परम्पराअनुसार पाल्पाको रामपुरमा चौरासी पूजा तथा नागरिक अभिनन्दन सम्पन्न भएको छ । नेपालमा बसेर गाउँको विकासमा तल्लिन रहने, गरिब विपन्न वर्गका नागरिकको उत्थानका लागि चिन्तन–मनन् गर्ने ओकेबाजे सबैका प्रियपात्र बन्नुभएको गङ्गा मावि रामपुरका प्रधानाध्यापक देवराज देवकोटा बताउनुहुन्छ । “ओकेबाजेका कारण पाल्पामा धेरै विकास निर्माणका काम भएका छन्”, उहाँले भन्नुभयो, “उहाँले गरेको लगानीले सही ठाउँमा सदुपयोग हुँदा पाल्पालीले धेरै लाभ लिन पाएका छन्, उमेर ढल्किँदै गए पनि उहाँको सामाजिक क्षेत्रमा काम गर्ने चाहना अझै बढ्दै गएको छ ।” पाल्पावासीमा पु¥याउनुभएको योगदानको कदर गर्दै ओकेबाजेलाई २०७० सालमा रामपुर नगरपालिकामा र २०७६ सालमा सदरमुकाम तानसेनमा पाल्पाका नागरिकद्वारा संयुक्तरूपमा अभिनन्दन गरिएको थियो । ओकेबाजेले मानार्थ नेपाली नागरिकताको अपेक्षा गर्नुभएको छ । त्यसका लागि प्रक्रिया अगाडि बढाइएको छ । जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई सिफारिस पत्र पठाएको छ । आवासीय भिसा भने उहाँले पाइसक्नुएको छ । “जीवनको अन्तिम समयसम्म नेपालकै भूमिमा नै बिताउन मन छ”, ओकेबाजे भन्नुहुन्छ । उहाँले आफ्नो केही जीवनको अवशेष छोराछोरीलाई जापान पठाउन आग्रह गर्नुभएको छ । पाल्पाली र समग्र नेपालीको मायालाई आफूले कहिल्यै पनि भुल्न नसक्ने उहाँ बताउनुहुन्छ । सबैलाई हँसाउने र खुसी पार्ने ओकेबाजे सबैका मन–मनमा बस्न सफल हुनुभएको छ । ओकेबाजेले सामाजिक क्षेत्रमा गर्नुभएको योगदानलाई यहाँका नागरिकले कहिल्यै भुल्न नसक्ने रामतुलसी मावि रामपुरका शिक्षक लेखनाथ शर्मा मरासिनी बताउनुहुन्छ । “अत्यन्तै सरल, निस्वार्थ स्वभाव, गरिब, दुःखी विपन्नको उत्थानका निम्ति उहाँको सहयोग योगदानले सबै उमेर समूहका मानिसलाई प्रभावित बनाएको छ”, उहाँले भन्नुभयो । आजभन्दा तीन दशकअघि पहिलोपटक पाल्पा आउनुभएका ओकेबाजे हालको पूर्वखोला गाउँपालिका–२ जल्पास्थित ढोलीमारामा पुग्नुभयो । उहाँ त्यहाँ पैदलयात्राका सहयोगी ढोलीमाराका तिलक आलेमार्फत पुग्नुभएको थियो । एक हप्ताको बसाइका लागि पुग्नुभएका ओकेबाजे स्वास्थ्यमा समस्या आएपछि केही दिनमै जापान फर्कनुभयो । ढोलीमारामा बस्ने क्रममा त्यहाँका समुदायका बालबालिका, नागरिकको अवस्था अत्यन्तै दयनीय देखेपछि उहाँले स्वास्थ्योपचार र शैक्षिक क्षेत्रमा सहयोग गर्न थाल्नुभयो । “ढोलीमारामा बस्ने क्रममा कोही बालबालिका नाङ्गै छन्, कोही भोकै छन्, औषधि नपाएर नागरिक जीवनमरणको दोसाँधमा बाँचिरहेको देखेपछि केही सहयोग गर्न थालेको हुँ”, ओकेबाजेले भन्नुभयो । अर्थाभावमा विद्यालय नजाने बालबालिकालाई शैक्षिक सामग्री, पोशाकलगायत उहाँले सहयोग गर्न थाल्नुभयो । विशेषगरी यो क्षेत्र मगर समुदायको बाक्लो बस्ती रहेको र गरिब, विपन्न परिवारका नागरिक समस्यामा थिए । उनीहरूको अवस्थालाई मध्यनजर गर्दै ओकेबाजेले पाल्पामै बसेर सामाजिक क्षेत्रमा सहयोग गर्ने मनसाय बोकेर केही दिनको जापान बसाइपछि पुनः पाल्पा फर्कनुभयो । “मान्छे बिरामी छन्, उपचार गर्न उनीहरूसँग पैसा नभएको देखेपछि सहयोग गर्न थालेँ, उनीहरूको जीवनरक्षा र शिक्षाबाट बञ्चित बालबालिकालाई शिक्षाको मूलधारसम्म पु¥याउन दुर्गम गरिब विपन्न परिवारबाट सहयोग सुरु गरेको हुँ”, ओकेबाजेले भन्नुभयो । ओकेबाजेले ढोलीमाराबाट सुरु गरेको सामाजिक सहयोग अभियान अहिले पाल्पा र नवलपरासीका विभिन्न क्षेत्रमा निरन्तररूपमा अगाडि बढाइराख्नुभएको छ । पाल्पा र नवलपरासीमा गरी हालसम्म दुई सय बढी विद्यालयमा भवन निर्माण, शैक्षिक सामग्री र अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले दुर्गम र विकट क्षेत्रका नागरिकलाई गाउँ–गाउँमा आँखा उपचार शिविर आयोजना गरी औषधोपचार सेवा दिँदै आउनुभएको छ । ओकेबाजेले नेपाली भाषा मज्जाले बोल्नुहुन्छ । सुरुमा नेपाली भाषा नबुझ्दा गाउँका नागरिकले जे सोधे पनि अङ्ग्रेजीमा ओके भन्ने गरेका कारण उहाँको नाम ओकेबाजे रहन गएको हो । आफूलाई ओकेबाजे भनेर सम्बोधन गर्दा असाध्यै खुसी लाग्ने उहाँ बताउनुहुन्छ । जापानको टोकियो सहरमा सन् १९३९ जुन ८ तारिखका दिन बुवा साइस्के काकिमी र आमा उमे काकिमीको कोखबाट जन्मनुभएका ओकेबाजे बाल्यकालदेखि नै सामाजिक कामबाट प्रेरित हुनुहुन्थ्यो । अठ्ठाइस वर्षको उमेरमा श्रीमती कियोको काकिमीसँग विवाहबन्धनमा बाँधिनुभएका ओकेबाजेका एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँले स्नातक तहसम्मको औपचारिक अध्ययन गर्नुभएको छ । सन् १९८८ मा पहिलोपटक ओकेबाजे सोलुखुम्बुमा पैदलयात्राका लागि नेपाल आउनु भएको हो । त्यसयता उहाँको नेपालयात्रा निरन्तर जारी छ ।
बागलुङ । मिर्गौला रोगबाट पीडित ताराखोला गाउँपालिका–५ करिमेलाका सङ्कल रोकाको उपचारमा रु १५ लाख ३५ हजार सहयोग जुटेको छ । पच्चीस वर्षीय उहाँको मिर्गौला प्रत्यारोपणका लागि गत साउनदेखि आर्थिक सहयोग अभियान चलाइएको हो । स्थानीय नवसिर्जना र असारे युवा क्लबको संयुक्त पहलबाट सङ्कलित सो रकम रोकाका परिवारजनलाई हस्तान्तरण गरिएको नवसिर्जना युवा क्लबका अध्यक्ष पूर्णभद्र न्यूरेले जानकारी दिनुभयो । त्यसमध्ये रु ६५ हजार बहराइनमा रहनुभएका जीवन रोका मगरको अगुवाइमा सङ्कलन भएको हो । मिर्गौला प्रत्योरापणका लागि अर्थाभाव भएपछि रोकाका परिवारजनले सहयोगको याचना गरेका थिए । परिवारको आग्रहमा स्थानीय दुई क्लब मिलेर चलाएको अभियानमा देश–विदेशबाट सहयोग रकम जुटेको हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि रोका अहिले सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचाररत हुनुहुन्छ । दिदी पूर्णमायाको मिर्गौला रोकामा प्रत्यारोपण गर्ने तयारी भइरहेको जनाइएको छ । आफन्त र शुभेच्छुकहरूको सहयोगबाट आर्थिक जोहो भएपछि रोकाका परिवारजन अब उपचार सफल हुनेमा आशावादी छन् । उपचारका क्रममा थप रकम चाहिने भएकाले इच्छुकलाई सहयोग गर्न आग्रह गरिएको छ । नौ महिनाअघि रोजगारीका लागि विदेश जानुपूर्व स्वास्थ्य जाँच गर्दा रोकामा मिर्गौलाको समस्या देखिएको थियो । त्यसअघि तीन वर्ष कतार र एक वर्ष युएईमा काम गरेर फर्कुनभएका उहाँ पुनः रोजगारीका लागि बहराइन जाने तयारीमा हुनुहुन्थ्यो । अकस्मात मिर्गौलामा समस्या देखिएपछि उहाँ विदेश जान नपाइ घर फर्कनुपर्यो । कमाउन विदेश हिँड्नुभएका रोका उल्टै बिरामी परेर घर फर्केपछि परिवारमा पनि समस्या आइपरेको छ । रोकाको परिवारलाई आर्थिक सहायताका लागि सङ्कल रोकाका नाममा प्रभु बैंकमा रहेको खाता नं ०६००१५१२५३२०००१६ रकम जम्मा गर्न सकिने छ ।
पाल्पा : मन्दिरमा पुगेर चिच्याएर वर माग्ने परम्परा सुन्दा झट्ट अनौठो लाग्दछ । आफूले मन्दिरमा मागेको वर भरसक अरुले थाहा नपाउन् भनेर मनभित्रैबाट वर मागिने गरिन्छ । पाल्पामा भने सबैले सुन्ने गरी चिच्याएर वर माग्ने मेला लाग्दैछ । पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा यही कात्तिक १८ देखि २२ गतेसम्म मेला आयोजना गरिएको छ । हरेक वर्ष यहाँ कात्तिक पूर्णिमाका बेला तीन दिन मेला लाग्दै आइरहेको छ भने यसवर्ष दुई दिन थप गरेर पाँच दिनसम्म मेला लाग्ने भएको छ । यो वर्ष राम्रो जोग परेकाले पाँच दिनसम्म मेला सञ्चालन गर्ने तयारी भइरहेको सत्यवती मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिनुभयो । उहाँका अनुसार दुई वर्ष कोभिडका कारण चहलपहल नभएको मेला यो वर्ष भव्यरूपमा सञ्चालन गरिनेछ । मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीले चिच्याएर वर माग्ने चलन छ । धार्मिक पर्यटकीय स्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको विश्वासमा चिच्याएर वर माग्ने गरिन्छ । यहाँ बाँसको लिङ्गो लिएर आवाज निकाल्ने गरी चिच्याउँदै वर माग्ने र सत्यवती मन्दिर परिसरको पोखरीमा लिङ्गो गाडेर पूजा गर्ने गरिन्छ । मन्दिरमा प्रायः रातको समयमा पूजा गर्ने प्रचलन छ । किंवदन्तीअनुसार एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले आफ्नो मनोकाङ्क्षा पूरा गर्ने वर मागे । बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिइन् । ती युवाले घर फर्किए लगत्तै सुनाउँदा उनको मृत्यु भएकोले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको स्थानीयवासी बताउँछन् । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकलअनुसार पूजा गर्न विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा दर्शनार्थी भित्रिने हुनाले पूजालाई व्यवस्थापन गर्न समितिलाई अनुरोध गरिएको तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । यो वर्ष मेलामा आउने भक्तजनलाई सहजरूपमा मन्दिरसम्म पुग्न यातायातको व्यवस्था र सुरक्षाको प्रबन्ध राम्रो गरिने अध्यक्ष श्रेष्ठ बताउनुभयो । नेपालका विभिन्न जिल्ला र भारतको सुनौली, नौतुना, गोरखपुरलगायतका क्षेत्रबाट ठूलो सङ्ख्यामा हरेक वर्ष यहाँ लाग्ने मेलामा दर्शनार्थी मन्दिरमा पूजाआजा गर्न आउने गरेको स्थानीयवासी धु्रवप्रसाद पंगेनी बताउनुहुन्छ । यसवर्ष राम्रो जोग परेकाले एक लाखभन्दा बढी दर्शनार्थी भित्रिने समितिको अनुमान छ । मेलालाई मध्यनजर गर्दै मन्दिरसम्म पुग्ने सडक मर्मत, खानेपानी, शौचालयलगायतको पूर्वाधार व्यवस्थापनका कामहरू भइरहेका छन् । चौबीस माइलदेखि झुम्सासम्मको सडकमा हुने सवारी चाप व्यवस्थापनमा जोड दिने पालिकाले जनाएको छ । परापुर्वकालमा सत्यवती बज्यैले कुभिण्डोको भाँडामा पिउने पानी लिएर हिँडेको र सोही क्रममा यहाँ विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किंवदन्ती छ ।
बागलुङ । चार वर्षअघि सम्म लहलह पहेँलपुर धान झुल्ने बागलुङ नगरपालिका–८ सिगानाको पाल्तेखेतमा अहिले हरियाली देख्न सकिन्छ । सिगानाका निर्वतमान वडाध्यक्ष तथा पूर्वभारतीय सेना ४६ वर्षीय राजन जिसीले धान फल्ने खेतमा व्यावसायिक सुन्तला र कागती खेती सुरु गरेको चार वर्ष भयो । अहिले उहाँको सुन्तला बगानमा एक सय ३८ सुन्तलाका बोटमा फल लाग्न सुरु भएको छ भने ५२ वटा कागतीका बोट हुर्किरहेका छन् । राम्रो धान फल्ने खेतमा धमाधम सुन्तला खेती विरुवा लगाउदा धेरैले खेतीयोग्य जमिन मासेर रूख उमारेको भन्ने गरेका थिए । तर, व्यावसायिकरुपमा धान खेतीभन्दा धेरै गुणा बढी आम्दानी सुन्तला खेतीले दिने भएपछि जिसीले धान मासेर सुन्तला र कागती खेती गर्नुभएको हो । यस संगै उहाँले परीक्षणका लागि एक रोपनी जग्गामा बहुगुणी फलफूल किबी पनि रोप्नुभएको छ । १६ वर्ष भारतीय सेनामा सेवा गरेर अवकाश पछि गाउँमै उद्यम गर्ने सोचका साथ कृषिसँगै उद्योग सञ्चालनमा ल्याउनुभएका छ । जिसी २०७४ सालको स्थानीय तह निर्वाचनमा सोही वडाको वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँको कार्यकालमा सिगानामा सुन्तला खेतीको विस्तार भएको थियो । वडाध्यक्षको कार्यकालभरिमा सिगानाका जनतालाई ३५ हजार सुन्तलाका बिरुवा लगाउनका लागि अभियान नै चलाइएको थियो । “मेरै घरमा सुन्तला थिएन, यो बीचमा मैले सुन्तला खेतीका धेरै फाइदा बुझे, अहिले सात रोपनी जग्गामा सुन्तला र कागती खेती गरेको छु”, जिसीले भन्नुभयो, “धान खेती मासेर सुन्तला लगाउँदा तत्काललाई भन्दा पनि दीर्घकालीन रुपमा फाइदा पुग्छ, सुन्तलाकै बीचमा अन्य तरकारी खेतीसमेत गर्दै आएको छु, फर्निचर उद्योग र कृषि खेतीबाट आठजनालाई प्रत्यक्ष रोजगारी दिँदै आएको छु ।” खड्काले अवकाशपछिको जीवन धेरैले आराम गरेर बिताउने गरे पनि आफूले भने कृषि, उद्यम र सामाजिक कामलाई सँगसँगै लगेको बताउनुभयो । जिसीले परीक्षणका लागि लगाउनुभएको किबी खेतीसमेत सफल भएको बताउँदै पहिलो वर्ष नै किबीले राम्रो उत्पादन दिएको बताउनुभयो । जिसीकी श्रीमती पुष्पा क्षेत्रीले सुन्तला र कृषि खेतीमा सघाउँदै आउनुभएको छ । सुन्तला जोन कार्यक्रममा समेटिएको सिगानामा वार्षिक रु दुई करोडभन्दा बढीको सुन्तला निर्यात हुने गरेको सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काले बताउनु हुन्छ । आगामी पाँच वर्षभित्र सिगानाले सुन्तला बिक्रीबापत वार्षिक रु पाँच करोड भित्र्याउने लक्ष्यका साथ कृषि ज्ञान केन्द्र, बागलुङ नगरपालिका र सुन्तला जोनमार्फत अनुदानमा सुन्तलाका बिरुवा रोपण कार्य भइरहेको सिगानाका सुन्तला किसानहरुले बताएका छन् । सिगानामा सुन्तला भण्डारण गरी चैत वैशाखमा बिक्री गरेर दोब्बर आम्दानी लिन सक्ने गरी २० टन क्षमताको विद्युतीय शीत भण्डार गृहसमेत तीन वर्षदेखि सञ्चालनमा छ ।
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेका संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग बनेको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुँदै बाजाढुङ्गासम्म जोड्ने रेलिङसहितको पदमार्ग निर्माण भएको हो । यसैगरी रुप्से झरनाको शिरको डाँडामा सम्माएर वरपर रेलिङ राखी दृश्यावलोकन गर्ने ठाउँ बनाइएको वडा सदस्य लालबहादुर पुनले जानकारी दिनुभयो । मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटकलाई अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा अवलोकन गर्ने सुविधाका लागि पदमार्ग बनाइएको उहाँले बताउनुभयो । रुप्से छहराको संरक्षण तथा पर्यटकीय विकास योजनाका लागि नेपाल सरकारको सशर्त अनुदानमा अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा रु २० लाख विनियोजन गरेको थियो । अनुदानबाहेक थप रु दुई लाख १९ हजार चार सय ७८ बराबरको श्रमदान गरेर पूर्वाधार निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सुनिल पाइजाले बताउनुभयो । काभ्रे गाउँको बेनी–जोमसोम सडकबाट रुप्से झरना हुँदै बाजाढुङ्गा जोड्ने उकालो बाटोमा ढुङ्गाको सिँढी चिनेर करिब एक किलोमिटर पदमार्ग निर्माण भएको छ । उपभोक्ता समितिका अनुसार अप्ठ्यारो र जोखिमयुक्त ठाउँको पदमार्गको डिलतर्फ चार सय मिटर रेलिङ राखिएको छ । पदमार्गबाट अन्धगल्छीसँगै रुप्से झरना, पहाडी भूगोल अवलोकन गर्दै छुँदा बाजाको आवाज आउने ढुङ्गा भएको गुफासम्म पुग्न सकिन्छ । यसअघि बाजाढुङ्गासम्म जाने बाटो साँघुरो र जोखिमयुक्त थियो । पदमार्ग बनेपछि सुरक्षित यात्रा गर्न सकिने भएको छ । अग्लो पहाडको टुप्पोमा गुफाभित्रका ढुङ्गाका चुचुरा हेर्दा पञ्चेबाजाका आकृति छन् । यी आकृतिको आवाज पनि बाजाको जस्तै सुनिन्छ । ढुङ्गामा दमाह, ढोलक र ट्याम्कुलीको आकृति देखिने चुचुरोमा आकृतिअनुसारकै आवाज निस्कने गर्छ । ढुङ्गाको अलौकिक कला र सङ्गीत आश्चार्यजनक छ । छङछङ गर्दैै बग्ने रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाबाट चिटिक्क मिलेको काभ्रे गाउँ, अन्नपूर्ण हिमशृङ्खलाई समेत अवलोकन गर्न सकिन्छ । काभ्रे गाउँबाट ३० मिनेट पैदल हिँडेपछि बाजाढुङ्गा पुग्न सकिन्छ । यस ढुङ्गाको नजिक भएर रुप्से झरना बग्ने र संसारको गहिरो अन्धगल्छीसमेत समिपमै रहेकाले यस क्षेत्रको एकीकृत पर्यटन विकासमा जुटेको वडा सदस्य पुनले बताउनुभयो । धवलागिरि र अन्नपूर्ण हिमालको टुप्पोबाट नापिएको संसारकै गहिरो खोंच ‘अन्ध गल्छी’, मनमोहक रुप्से झरना र बाजा बज्ने ढुङ्गा नजिकको दूरीमा छन् । तीनवटै पर्यटकीयस्थललाई समेटेर काभ्रे गाउँको प्रवेशद्वारमा जानकारीमूलक होडिङ बोर्ड राख्न पहल गरिएको रुप्से सङ्गम युवा क्लबका अध्यक्ष सुनिल पाइजाले बताउनुभयो ।
काठमाडौं । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन तीन खम्बे नीति लिनुपर्ने बताउनुभएको छ । मातृ तथा बाल स्वास्थ्य क्लिनिकको आज यहाँ शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री लामाले स्वास्थ्य सेवालाई गुण्स्तरीय बनाउनका लागि भौतिक पूर्वाधार, आधुनिक उपकरण र दक्ष जनशक्ति अत्यावश्यक रहेको बताउनुभयो । स्वास्थ्य क्षेत्रको विकासका लागि यी कुरा पूरा हुन आवश्यक रहेकाले प्रदेश सरकार सोही अनुरुप अघि बढेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकार तयार रहेको छ ।” प्रदेश सरकारले बिरामीको चाप र आवश्यकता अनुसार बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणपछि स्वास्थ्य क्षेत्रलाई हेर्ने दृष्टिकोण बदलिएको भन्दै उहाँले गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरेर सङ्घीयताको आभास दिलाउन कर्मचारीहरुलाई निर्देशन दिनुभयो । प्रदेशका १३ जिल्लामा प्रदेशस्तरीय अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्र रहेको बताउँदै उहाँले प्रादेशिक अस्पताललाई आवश्यक उपकरण खरिद प्रक्रियामा रहेको बताउनुभयो । स्वास्थ्य क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रको विकासका लागि तीन तहको समन्वय आवश्यक छ ।” कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेल र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाप्रमुख दीपक सुवेदीले जनताको सेवाका लागि स्वास्थ्य क्षेत्र महत्वपूर्ण रहेको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा भएका समस्या हटाउनका लागि उहाँहरुले मन्त्रीसँग आग्रह गर्नुभयो । गुणस्तरीय सेवाका लागि जनशक्ति पर्याप्त हुन जरुरी रहेको उहाँहरुको भनाइ थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाइँले भरतपुर महानगरपालिकाले सञ्चालन गर्दै आएको मातृ तथा बाल स्वास्थ्य क्लिनिक प्रदेश सरकारले नीति तथा कार्यक्रममा ल्याएपछि पुन: कार्यालयले सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । यस अघि २७ वर्षदेखि जिल्ला जनस्वास्थ्य कार्यालयले क्लिनिक सञ्चालन गर्दै आएकामा २०७६ सालदेखि भरतपुर महानगरपालिकाले सञ्चालन गर्दै आएको छ । अहिले स्वास्थ्य कार्यालय चितवनको नेतृत्व एवं भरतपुर महानगरको सहकार्यमा सञ्चालनमा ल्याइएको चापागाइँले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य कार्यालयका दुई र भरतपुर महानगरका दुईजना स्वास्थ्यकर्मीले क्लिनिकबाट सेवा दिनेछन् । यस कार्यालयबाट बाल खोप, वृद्धि अनुगमन, गर्भवती जाँच, टि.डी खोप, उत्तर प्रसूति जाँच, परिवार नियोजन सेवा, अस्थायी परिवार नियोजनका साधनहरु, कोभिड–१९ विरुद्धको खोप लगायतका सेवाहरु दिइने कार्यालयले जनाएको छ ।
स्याङ्जा । स्याङ्जाको पुतलीबजारमा बङ्गुरमा ‘अफ्रिकन स्वाईन फिवर’ देखा परेको छ । बङ्गुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि ल्याबपरीक्षण गर्दा ‘अफ्रिकन स्वाईन फिवर’ भएको पुष्टि भएको भेटेरिनरी तथा पशु विज्ञकेन्द्र स्याङ्जाका प्राविधिक प्रमुख गोपाल गिरीले जानकारी दिनुभयो । जिल्लाको पुतलीबजार नगरपालिकाको १४ लगायतका विभिन्न वडामा किसानले पालेका बङ्गुरमा रोग देखा परेपछि पोखरास्थित पशुरोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा प्रयोगशालाले उक्त रोग भएको पुष्टि गरेको हो । “बङ्गुरमा रोग लागेपछि दसैँ अघि पनि एकपटक परीक्षणका लागि प्रयोगशालामा नमुना पठाएका थियौँ”, उहाँले भन्नुभयो, “त्यतिबेला ‘रिपोर्ट नेगेटिभ’ आयो, अहिले तिहारअघि पठाएको ‘रिपोर्ट पोजेटिभ’ आएको छ ।” पुतलीबजारका विभिन्न स्थानमा किसानले पालेका बङ्गुरमा एक महिना अघिदेखि यो रोगको सङ्क्रमण फैलिएको हो । “यसको कुनै उपचारविधि तथा भ्याक्सिन छैन”,उहाँले भन्नुभयो, “सङ्क्रमण फैलिएको स्थानमा आवातजावत गर्दा चुना र ‘भिरकोन’ छर्किने, मरेका बङ्गुरलाई खाडल खनेर गाड्नुपर्छ ।” सङ्क्रमण फैलिएका ठाउँमा कार्यालयबाट चुना र ‘भिरकोन’ उपलब्ध गराइएको र व्यवसायीलाई प्राविधिक ज्ञान तथा परामर्श दिइएको उहाँले बताउनुभयो । यो सरुवा रोग भएकाले सङ्क्रमित बङ्गुरलाई छुट्टै राख्ने, होटलमा फालिएका खानेकुरालाई राम्रोसँग पकाएर खुवाउनुपर्ने सुझाव उहाँको छ । स्याङ्जाको पुतलीबजार १४ र सोही पालिकाको अन्य दुई ठाउँमा देखिएको सङ्क्रमणबाट हालसम्म तीनसय बढी बङ्गुर तथा पाठापाठी मरिसकेको विवरण प्राप्त भएको भेटेरिनरी तथा पशु विज्ञकेन्द्र स्याङ्जाले जनाएको छ ।
बझाङ । खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका प्रेमबहादुर खाती गाउँमा नयाँ मानिस देखिने बित्तिकै राहतको आश्वासन दिन आएको सम्झिनुहुन्छ । उहाँ बझाङ–बाजुरा जाने सडक गाउँमै भएको हुँदा गाडी रोकिए पनि राहतको कुरा सुनाउन आएको हुनसक्ने अनुमान गर्नुहुन्छ । गाउँमै बाटो भएपछि त मानिस ओहोरदोहोर गर्दा उहाँलाई एक दुई जना दानी मानिस (दाता)को आशा नलाग्ने कुरै भएन । उहाँ दिनहुँ आशा देखाउनेको बाटो हेर्दैमा दिन बितेको पत्तै पाउनुहुन्न । हुन पनि एक वर्षको बीचमा खाती परिवारलाई राहतको कुरा तीन दर्जन बढी मानिसले सुनाइसके । कसैले पालिकासँगको समन्वयमा राहत दिने भने त कसैले प्रदेशसँगको समन्वयमा राहत दिने भने । तर महिना बित्यो, वर्ष बित्यो राहत आएन । “बाढी आएको एक वर्षभन्दा बढी भइसक्यो । हामी त्यो बेलादेखि राहतकै पर्खाइमा छौँ”, उहाँले भन्नुभयो, “आश्वासन दिने ३०–३५ जना आइसके, तर कसैले पनि सम्झिएनन् । ‘दाता’ भनाउँदाको बाटो हेर्दैमा बित्यो वर्ष दिन ।” गत वर्ष कात्तिक २ गते आएको बाढीले खातीगाउँवासीले सर्वश्व गुमाए । दुई परिवारले त रित्तो ज्यानबाहेक सबै गुमाए । अर्काका छानोमा बसेका दुई परिवारलाई तीन–चार जनाले केही खाद्यान्न पनि सहयोग गरे भने आफन्तले भाँडाकुँडा तथा लुगाकपडाको व्यवस्था गरे । “सहयोगप्राप्त गरेको रकम तथा अन्नले दुई महिनालाई खान पुग्यो”, बाँकी समय भने आफन्तको सहयोगमै गुजारा गरिरहेको उहाँले बताउनुभयो । गत वर्ष बाढीपछि समाजसेवी धिरा खत्रीले १० हजार, कलक खत्रीको टिमले पाँच हजार र अन्य केही व्यक्तिले अन्न सहयोग गर्नुभएको थियो । ज्ञानदेवी खातीले भन्नुभयो, “बाढी आएको साढे १३ महिना हुन लागिसक्यो । सर्वश्व गुमाएका हामीहरू अझै भोक मेटाइको पर्खाइमै छौँ । तिहार–सिहार त हाम्रो लागि परको कुरा ।” उहाँले भोको पेटले आश्वासन थेग्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भोको पेटले आश्वासन थेग्न सक्दैन रहेछ । धेरै निकायले दिगो व्यवस्था गर्छौँ भनेर आश्वासन बाँडे । तर, हामीलाई भने कसरी भोक मेटाउने चिन्ता लागिरहन्छ । जाने कतै ठाउँ छैन न त खाने गास नै ।” ठूलो परिवार त्यसैमा बालबालिका बढी भएको हुँदा मजदुरी गर्न सहर पनि जान नसकेको उहाँले बताउनुभयो । “गाउँघरमा कतै योजना आएमा काम गर्न त हुन्थ्यो, गाउँ खोला नजिक भएको हुँदा योजना पनि आउँदैन । सहर पस्नलाई सहरबारे जानकारी नै छैन”, उहाँले भन्नुभयो । अहिले प्रेमबहादुर बसेको छानोमा दाताले दिएको चामलको आधा बोरा जति छ । प्रेमबहादुरले भन्नुभयो, “एक जनाले चामल दिनुभएको थियो । जोगाएर खाँदा पनि सकिनै लाग्यो । त्यसपछि कसलाई माग्ने ? के गर्ने ? कसरी छाक टार्ने होला भनेर चिन्ता लागिरहेको छ ।” खोलाले बगाउन बचेको जमिनमा दुई केजी जति कोदो फलेको देखाउँदै उहाँले भन्नुभयो, “घरमा छ जना छौँ । आफू बूढो भइसकेँ, छोराको त्यस्तो हालत छ (प्यारालाइसिसको बिरामी) । नाति–नातिना सानै छन् । भएको सम्पत्ति सबै बाढी निल्यो”, उहाँ टोलाउनुहुन्छ । खातीगाउँमा सर्वश्व गुमाएका प्रेमबहादुर र ज्ञानदेवीको परिवार हुन् । अन्य परिवारको पनि घरबाहेक केही छैन । “अहिलेसम्म घरको सास त जोगिएकै छ”, धन्धुरी खातीले भन्नुभयो, “अहिले बस्नलाई घर त छ । तर खानलाई केही छैन । गत वर्ष बचेको खायौँ, यसपटक सबै घर अन्नविहीन छन् ।” बाढी आएको साढे १३ महिनासम्म खातीगाउँवासीले स्थानीय सरकार भएको महसुससमेत गरेका छैनन् । “राहतका लागि गाउँपालिका गयौँ । पालिकाले उल्टै पीडा थप्ने झटारो हानेर पठायो”, धन्धरीले भन्नुभयो, “राहतका लागि जाँदा अघिल्लो अध्यक्ष वर्कबहादुर रोकायाले खोला नजिक घर किन बनाएको भन्दै झपारेर पठाउनुभयो ।” केही दाताले सहयोग गरे पनि गाउँपालिकाले भने राहतको नाममा खुर्सानीसमेत नदिएको उहाँले बताउनुभयो । “अहिलेका अध्यक्षले आश्वासन दिएको पनि सात महिना भइसक्यो । सहयोगको नाममा शून्य छ । चुनावको बेलामा कापीमा टिप्नुभएको त थियो । खै कता बिर्सनुभयो ?” उहाँले भन्नुभयो । अहिले खातिगाउँबासी राहतभन्दा पनि झरी पर्ने बित्तिकै आत्तिन्छन् । धन्दरीले भन्नुभयो, “झरी परे निकै डर लाग्छ । फेरि कात्तिकको महिना । गत वर्ष कात्तिकमै आएको बाढीले नमिटिने छाप बसाएको छ । दिउँसो भए त दौडधुप गर्न सकिन्छ । राति पानी परे त जाग्राम बस्नु नियमितजस्तै भइसक्यो ।” बाढीले पु¥याएको क्षति खातीगाउँ मात्रै नभई सबै वडाका खोला किनाराको बस्तीमा छ । गडरायदेखि तमैल बजारको भू–भागसम्म बाढीले करोडौँ मूल्य बराबरको क्षति पुर्याएको छ । खप्तडछान्ना गाउँपालिका–५ का विष्ट परिवार पनि अहिले खापरदेव क्याम्पसको भवनमा आश्रय लिइरहेका छन् । गत वर्ष कात्तिकमा आएको अविरल बाढीका कारण घरको जगदेखि नै पहिरो आउँदा भागदौड मच्चिएको थियो । स्थानीय सरकारले चासो नै नदिएपछि उनीहरू अहिले क्याम्पसको भवनमा बस्दै आएका छन् । वडा नं १ को मुसुराडीमा पनि बाढीपीडित राहतकै पर्खाइमा बसेका छन् । बाढी आएको बेलामा ज्यान जोगाउन भागेका दलित समुदाय अहिले पानी पर्दासमेत निदाउन सक्दैनन् । वडा नं १ का वडाध्यक्ष देवीभक्त जोशी भने आफूसँग बजेट नहुँदा केही गर्न नसकेको बताउनुभयो । “बाढीपीडितलाई निकै समस्या छ । तर हामीसँग सहयोग गर्नलाई बजेट पनि छैन । यस वर्षका लागि बजेट त छुट्याएका छौँ । तर पीडित धेरै भएको हुँदा पर्याप्त भने मुस्किल नै छ”, उहाँले भन्नुभयो । खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकाया पनि बजेटको अभाव नै देखाउनुहुन्छ । “खातीगाउँवासीको मात्रै होइन, छान्नामा धेरै नै बाढीपीडित छन् । उहाँहरूका लागि हामीले सोचेका छौँ । बजेटको अभावले समस्या भएको हो । यसपटक समस्या समाधान हुन्छ”, उहाँले भन्नुभयो । रोकायाले अघिल्लो सरकारले बजेटबिना नै रकम छुट्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो सरकारले बजेटबिना नै छुट्याएको थियो, त्यसैले दिन सकेन । अहिले बाढीपीडितका लागि रकम छुट्याएका छौँ, कार्यान्वयनमा गइसकेको छ ।” आफूसँग पर्याप्त बजेट नभएको भन्दै उहाँले भन्नुभयो, “हामीसँग ठूलो बजेट पनि छैन, संघीय सरकारसँग पटक–पटक आग्रह गर्दा पनि चासो देखाएन । गृहमन्त्री नै अवलोकनका लागि आएको बेला सङ्कटग्रस्त क्षेत्र घोषणाका लागि माग गयौँ, तर कतैबाट सुनुवाइ भएन ।”