आजदेखि धरहरा चढ्न पैसा लाग्ने भएको छ । सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ ।   विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहु...

  दाङ । तुलसीपुर उपमहानगरपालिका–७ प्रसेनी निवासी प्रेमबहादुर कुमाल माटोका प्लेट र कप बनाउँदै हुनुहुन्थ्यो । कुनै समय माटाका गाग्री बनाउने कुमाल हिजोआज प्लेट, कप बनाउनमै व्यस्त हुनुहुन्छ । “कुनै समय गाग्री, भुर्का, हाँडीको धेरै माग आउँथ्यो, तर अहिले बजारमा प्लाष्टिकका गार्गी आएकाले त्यसको माग छैन”, उहाँले भन्नुभयो, “बरु अहिले प्लेट र कपको माग बढेको छ ।” अहिले उहाँको दैनिकी त्यही प्लेट र कप बनाउनमै बित्ने गरेको छ । बजारमा मट्का चिया पसल पनि धेरै खुलेकाले मट्का चियाका लागि कपको माग अत्यधिक हुने गरेको उहाँले बताउनुभयो । पछिल्लो मागअनुसार प्लेट, कपहरु पु¥याउनै गाह्रो हुने गरेको छ । “माग धेरै आउँछ, कोही होटलले त कोठा दिन्छौँ, यही आएर बनाइदिनुस् पनि भन्ने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “तर हामीले माग भएअनुसार पु¥याउन गाह्रो हुने गरेको छ ।” पछिल्लो समय गमला र माटोबाट घोडाका मूर्ति बनाउन पनि माग आउने गरेको छ ।   माटाका कप, प्लेटलगायत आधुनिक सामग्रीको माग बढेको भए पनि त्यसअनुसार जनशक्ति नहुँदा समस्या भएको उहाँको भनाइ थियो । नयाँ पुस्ताले माटोका भाडा बनाउने पेशाप्रति चासो नदिँदा पेशा नै लोप हुने अवस्थामा पुगेको स्थानीय कविराम कुमालले बताउनुभयो । “माग धेरै छ, हामी पहिलेदेखि गर्दै आएका बूढापाकाले यो पेशा अँगालिरहेका छौँ, नयाँ पुस्ताले त्यति धेरै चासो नदिएकाले पनि यो पेशा सङ्कट पर्ने हो कि भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो, “तर केही नयाँ पुस्ताले भने चासो दिइरहेका छन् ।”   माटाका भाडालाई ‘ग्लेजिङ’ गर्ने मेसिन पनि भएकाले त्यहीअनुसार कप बनाएर बजारमा पठाउने गरेकोसमेत उहाँले बताउनुभयो । गरिबी निवारण कोषले उक्त सामग्री प्रदान गरेपछि अहिले त्यहाँका कुमाल समुदायलाई सहज भएको छ । करिब ६० परिवार रहेको उक्त कुमालगाउँमा अहिले १०–११ जनाले मात्रै माटाका भाँडा बनाउने गरेका छन् । हस्तकला महासङ्घले तालिम दिएपछि कुमाल समुदायले आधुनिक प्लेट, कप बनाउन सिकेका हुन् । तर उनीहरुले बनाएका सामग्रीको मूल्य भने निर्धारण भएको छैन । “हामीले बनाएका माटाका भाँडाको मूल्य निर्धारण छैन”, कविरामले भन्नुभयो, “त्यसैले हामीले अहिले अनुमान र बार्गेनिङका आधारमा बिक्री गर्ने गरेका छौँ ।” नयाँ युवा युवतीलाई सिकाएर घोराही, तुलसीपुरमा माटाका भाँडा निर्माण गर्ने स्थान र छुट्टै पसल स्थापना गर्नेसमेत तयारी गरेको उहाँको भनाइ छ । अहिले दैनिक एक जनाले करिब एक सय कप निर्माण गर्दै आएका छन् ।   कुमाल समुदायलाई माटो पाउन पनि उत्तिकै समस्या हुने गरेको छ । अहिले तुलसीपुर–७ स्थित कालोखोलाको मटेराबाट माटो निकाल्ने गरेको भए पनि  त्यहाँबाट ल्याउन पटक–पटक विवाद हुने गरेको छ । स्थानीयले त्यहाँबाट माटो निकाल्न नदिने गरेको कुमाल समुदायको गुनासो छ । 

  काभ्रेपलाञ्चोक ।  ‘पञ्चकन्या झरना’ पछिल्लो समयमा धेरैको रोजाइको थलो बनेको छ । को पनौती नगरपालिका–१२ खारखोलास्थित मनमोहक सो झरनामा हरियाली, शान्त र रमणीय वातावरणमा बसेर पानी छ्याप्दै मनोरञ्जन लिन सकिन्छ ।   पनौती–मल्पी–रोशी भूमेडाँडा हुँदै सो स्थानमा  पुग्न  सकिन्छ । मान्छेको आवागमन बढ्दै गएपछि करिब डेढ वर्ष अगाडि वडाले झरना जाने सिँढी निर्माण गर्नुका साथै बार र रेलिङ हालेर बाटो सहज बनाएको थियो ।  घनाजङ्गलका छेउमा रहेको झरना पुग्नका लागि खोलाको बाटो हुँदै जानुपरेका कारण निकै रमाइलो र मनमोहक भएको स्थानीय बासिन्दा सन्तबहादुर तामाङले सुनाउनुभयो । “हरेक दिनजसो यहाँ घुम्न आउने गरे पनि प्रायःजसो बिदाका दिनमा पाइला टेक्ने ठाउँ हुँदैन”, उहाँले भन्नुभयो, “बजारबाट नजिकेको दूरीमा रहेको हरियाली जङ्गलछेउमा रमयणीयस्थल भएका कारण पनि मान्छेहरूको गन्तव्यको केन्द्र बनेको छ ।” धेरै टिपर गुड्ने समयमा आवागमनमा कमी आउने गरेको उहाँले बताउनुभयो । धेरै मात्रामा गाडी गुड्ने कच्ची मोटरबाटो भएका कारण खाल्डाखुल्डीका कारण साना सवारीसाधनलाई आवजावतमा समस्या हुने गरेकाले पनि मानिसको आवागमनमा समस्या हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । पनौती नगरपालिका–२ कुशादेवीका डिल्लीराम आचार्यले पनौती बजारबाट नजिकै रहेको पञ्चकन्या झरनामा जानेहरूले बाटोको समस्याका कारण यात्रा गर्न कठिन परिस्थिति खेप्नुपरेको बताउनुभयो । “पनौती बजारबाट जम्मा छ किलोमिटर मात्रैको दूरी हो”, उहाँले भन्नुभयो, “सो क्षेत्रमा धेरैजसो खानी र क्रसर उद्योग सञ्चालनमा ल्याएका कारण एकातिर शान्त वातावरणमा प्रदूषण बढाउन र अर्कोतर्फ बाटो बिगारेर समस्या पैदा गराएका कारण वितृष्ण पैदा गराइदिएको छ ।” पनौतीको मल्पिबाट कच्ची बाटो र खारखोलादोभानबाट खानी र क्रसरका कारण हिँड्न समस्या पैदा गराएकाले त्यहाँसम्म जान कठिन हुने गरेको झरना जानेहरू बताउँछन् । कुशादेवीकै  हस्तबहादुर तामाङले भने पर्यटकीयस्थल झरनाको  विकास संरक्षणका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने जानकारी दिनुभयो । “ठाउँ निकै मनमोहक छ, तर त्यहाँसम्म जानका लागि सहज भए पनि बाटोघाटो र त्यहाँ सञ्चालित खानी र क्रसरले गर्दा दिक्क बनाउने गरेको अवस्थाबाट सो ठाउँलाई छुटकारा दिलाउन आवश्यक छ”, उहाँले भन्नुभयो । विशेषगरी कोरोना सङ्क्रमणका समयमा टाढा–टाढा घुम्न र भीडभाडा गरी बाहिर निस्कन नपाएका नजिकै रहेको रमणीयस्थल खोज्ने क्रममा सो झरनास्थल बढी रोजाइको गन्तव्य बनेको हो ।  पनौती– १२ का वडा सदस्य दीपक तामाङले झरना  क्षेत्रलाई व्यवस्थित गर्न बजेटको व्यवस्थापन गरेर काम गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । शौचालय निर्माण गर्न, फोहर व्यवस्थापन गर्न र सवारीसाधन पार्किङ गर्न यसै आर्थिक वर्ष रु एक लाख बजेट व्यवस्थापन गरिसकेको उहाँको भनाइ छ । “अब दशैँ–तिहारलगत्तै सो योजना अगाडि बढ्छ”, उहाँले भन्नुभयो, “खानी र क्रसर उद्योग क्षेत्रको बाटो भएका कारण समस्या भएकाले त्यहाँ जाने पर्यटकको सहजताका लागि मल्पिबाट रोशीबजार निस्कने वैकल्पिक बाटोका लागि रु पाँच लाख बजेट व्यवस्था गरी मर्मतको काम अगाडि बढाउने र रोशीबजार क्षेत्रबाट झरनासम्म जाने अर्को वैकल्पिक बाटो छिचोल्नका लागि पनि प्रयन्त भइरहेको छ ।” 

कास्की  :  ‘आयो दशैं ढोल बजाई, गयो दशैं रिन बोकाई ।’ दशैं जति नजिकिँदै जान्छ, उति नै यो पुरानो आहान सुुन्ने गरिन्छ ।    दशैं धेरैकालागि खानपिन, हर्षाेल्लासको चाड भएपनि भुुइँमान्छेकालागि भने दशा हुने गरेको छ । रिन खोजेर दशैं मनाउने र बाँकी महिना तिर्दै जाने परिपाटी अहिले पनि यथावत छ ।    यस्तैमा, भुइँमान्छेको दशैं योजना रिपोर्टिङ्का दौरान भेटिए म्याग्दीका मनोज परियार । उमेरले ३ दशकका मनोजसँग यतिबेला मुस्ताङ्को स्याउसँगै दशैंको पनि भारी छ । दशैंको भारी पन्छाउन पहिले स्याउको भारी पन्छाउनुु पर्नेछ ।    स्याउको भारी घटाएर आउने नाफाबाट परिवारको ४ जनालाई ‘दशैं’ लैजानु छ । ‘म गएपछि बल्ल दशैं पुुग्छ घरमा’ मनोज भन्छन् ‘स्याउको भारी नघटे दशैंमा दुखको भारी पनि घट्ने छैन ।’   पोखरामा भिडभाड देख्दा दशैं आए जस्तो लाग्छ तर दिनमा डोकोमा भएको स्याउ विक्री हुँदा मेरो पनि दशैं आउने भयो भनेर खुसी लाग्छ । मुस्काउँदै उनले भने ।    ‘स्याउँको सिजन अनुसार म एक महिना पहिले दशैं ल्याउन स्याउको साथमा पोखरा आए’ उनले भने ‘दिनमा ८ देखि ९ हजारको व्यापार भएको छ, बेलुका हिसाब गर्दा केही फाइदा भएको रकम साथमा हुँदा नजिकनजिक दशैं आए जस्तै लाग्छ ।’   पोखराको विपी चोकको गल्लीमा उमेरले ७ दशक पुग्न लागेका तनहुँका तिलकबहादुर  विश्वकर्मा एक डोको स्याउ, ३ काइयो केरा र केही केजी डल्ले खुर्सानी बिक्री गर्दै भेटिए ।    ‘दशै आयो भन्छन् मलाई दशा आए जस्तो लाग्छ, बस्नलाई घर छैन, छोराछोरी साथमा छैनन्’ उनले भने ‘छोरीहरुको विवाह भयो छोराहरु कमाउन भारत गएका छन् । बिरामी श्रीमतीको उपचार खर्चको लागि स्याउ बिक्री गर्दै छु ।’ औषधी किनेर बचेको पैसाले दशैको दिन एक पाउ मासु किनेर खुवाउने बाहेकको अन्य तयारी केही नभएको उनले सुनाए ।   पोखरामा ४ दशक बिताएका तिलकबहादुरले थपे, ‘सिद्धार्थ चोकमा भाडाको घरमा हरेक वर्षजस्तै, बिरामी श्रीमतिसँग औषधी उपचार गरेर बचत भएको रकमले दशैं मनाउने गरेका छौं ।’    यस्तैमा, भुइँमान्छेको दशैं योजना रिपोर्टिङ्का दौरान भेटिए काभ्रेका सिताराम रोका । महेन्द्रपुल नजिक  छाताको ओझेलमा जुत्ता सिलाइरहेका सितारामले दिनभर गरेको कमाइले दशैंको जोहो गर्ने सुनाए ।    ‘पानी नपरे काम हुन्छ पानी परे हुदैन् ’ आइतबार मध्यान्हको चर्काे घाममा छाताको ओझेलमा जुत्ता सिलाउँदै सिताराम भन्छन् ‘हिजोआज कमाई राम्रै भएको छ । परिवारसँगको दशैं रमाइलो बनाउन केही दिनमा काभ्रे फर्किदै छु ।’    

  काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खामा रहेको माझी समुदायमा पितृ खुसी नभएको भन्दै आइतबार साँझ भेला भएका माझी समुदायले कुटेर स्थानीय ५५ वर्षीया बिबी माझीको हत्या गरेका छन् ।   उनीहरूको कुटाइबाट मृतककी ७० वर्षीय आमा सुनमाया माझीको अवस्था गम्भीर रहेको छ । उनलाई घटनास्थलबाट उद्धार गरी हाल सदरमुकाम मन्थलीमा रहेको तामाकोसी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।   उनका अनुसार उक्त घटनामा संलग्न भएको आरोपमा सात जना महिलासहित २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैले आफूले मृतकलाई कुटपिट नगरी पितृ खुसी नहुने भएकोले कुटेर गरेको स्वीकारेका छन् ।   सोह्रश्राद्ध माझी समुदायको पितृ तार्ने सबैभन्दा ठूलो पर्व रहेको र उनीहरूको संस्कारअनुसार सोह्रश्राद्धमा मरेका पितृहरूलाई (नदी) घाटमा गएर बोलाउने चलन छ । यसरी पितृलाई बोलाउँदा शिरमा पितृ आउने (काम छुट्ने) र परिवारको कुनै एक सदस्यको शरीरमा पस्ने गर्छ भन्ने विश्वास छ ।   जसको शरीरमा पितृ पस्नेबित्तिकै ऊ काम्ने गर्दछन् । घाटबाट काम्दै गरेको व्यक्तिलाई लिएर घर फर्कने र भोलिपल्ट एक दिन सत्कारसहित घरमा पाल्ने र पर्सिपल्ट बिहानै झिसमिसे (उज्यालो नहुँदै) घाटमा लगेर विधिपूर्वक पितृ बिर्सजन गर्ने चलन छ ।   नदीमा बगाउने वेला पितृ पसेको व्यक्ति काम्न छाड्ने गर्दछन् । यसरी पितृ बगाउँदा उनीहरूको शरीरमा पितृ खुसी हुन्छन् भन्ने विश्वास माझी समुदायको छ । योसँगै उनीहरूको विशेष चाड सोह्रश्राद्ध सकिन्छ ।   तर, यसपटक पितृलाई बगाउँदासमेत काम्ने व्यक्तिलाई पितृले नछाड्दा कामी नै रहे । उनीहरूले पितृले गर्दा काम्न नछोड्नुमा यसको दोषी गाउँकै बिबी माझी रहेको निष्कर्ष युवायुवतीले निकालेका थिए । र, उनीहरूले पिट्न थालेको बताइएको छ ।

  पाल्पा । आफ्ना चौहत्तर वर्षीय श्रीमान्लाई हात समातेर आश्रमको आँगन डुलाउनु फुलसा रास्कोटीको दिनचर्या बनेको छ । उहाँलाई नजिकिँदै गरेको दशैँको  रौनक छैन । आफ्नो जीवनकालका ५० बढी दशैँहरू सम्झँदा यस वर्षको दशैँ उहाँलाई नरमाइलो लागेको छ । पाल्पाको तिनाउँ गाउँपालिका–४ मस्यामका मानबहादुर रास्कोटी र फुलसा  गत वर्षदेखि तानसेन  वडा नं १ भुँसालडाँडा स्थित निलसागर आश्रममा बस्नुहुन्छ । “अर्कैको घरमा बसेर मेलापात गरी खान्थ्यौँ”, फुलसा भन्नुहुन्छ, “पोहर मेरो आँखा दुख्यो, केही देखिन गाउँलेले आश्रममा ल्याएर छाडे ।”  ती दम्पती सत्र वर्षदेखि अर्कैको घरमा बस्दै आएका थिए ।    घरपरिवार र अन्य आफन्त नभएका उहाँहरू दशैँमा आश्रममै बस्ने बताउनुहुन्छ । आश्रममा देशका विभिन्न स्थानबाट २५ असहाय र असक्त आश्रित छन् । उहाँहरुमध्ये अधिंकाशको घरपरिवार छैनन्, भएकाहरू पनि परिवारबाट अपहेलित हुनुपरेका जनाइएको छ । उहाँहरूलाई सबै दशैंको कुनै रौनक छैन । रामपुर–७ पाल्पाका ६४ वर्षीय रामचन्द्र आचार्य आश्रममा बस्न थालेको सात महिना भयो । आँखा धमिलो र कान कम सुन्ने उहाँ परिवारमा मनमुटाव भएपछि विरक्तिएर आश्रम आइपुग्नुभएको हो । दुई छोरा, दुई बुहारी र श्रीमती घरमा छन् । “छोराबुहारीलाई टीका लगाइदिने इच्छा त थियो, म आश्रममा छु, यहाँ उनीहरू आउदैनन् बाबु”, उहाँ भन्नुहुन्छ । दशैँ नजिकिँदै गर्दा गाउँघरमा चहलपहल बढ्न थालेको छ । घर लिपपोत गर्ने मीठा परिकार पाक्ने र खाने क्रम सुरु भएको छ । तर आश्रममा बस्नेहरूलाई चहलपहलले छोएको छैन । मिस्त्री काम गरेर गुजारा चलाउनुभएका तिनाउ–४ मस्यामकै मनबहादुर पुन दुई महिनाअघि आश्रम आइपुग्नुभयो, “पाखुरीमा बल छउञ्जेलमात्र प्यारो होइन्छ”, गहँभरि आँशु पार्दै उहाँले भन्नुभयो, “क्षयरोग रोग लाग्यो, उपचार गर्न सकिन, आश्रममा आइपुगँे। ” निको नहुञ्जेल घर नजाने उहाँले बताउनुभयो ।    आश्रममा रहेका बिरामीको नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ । आश्रमका हेरालु गणेश गिरीका अनुसार यहाँ उनीहरूलाई उपचार र खानेबस्ने व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो, “मनकारीले कपडा र खानेकुरा दान गर्दछन्, त्यसैबाट आश्रम सञ्चालन गरिरहेका छौँ ।”

लमजुङ  :  यतिबेला लमजुङमा दशैँको छुट्टै रौनक छाएको छ । खेतमा ‘लहलह’ धानको बाला झुलेको छ भने बारीमा ढकमक्क कोदो फुलेको छ । रात जुनेली, दिन पनि घमाइलो भइरहेको छ । घर बाहिर गएका परिवारका सदस्य पनि घरमा आउन थालेका छन् । गाउँघर तथा सहरमा मानिसको चहलपहल पनि बढ्दो छ ।    सुन्दरबजार नगरपालिका–९ सिउँदीबारका सन्तोष श्रेष्ठ भने खासै रमाएका छैनन् । उहाँले भन्नुभयो, “विगतका वर्षहरूमा प्रत्येक घटस्थापनाका दिनदेखि बिहान–बिहानै नगरा बजाउन आउँथ्यो, नगराका धुन सुन्दा दशैँको आभास हुने गर्दा मनै उल्लासमय हुन्थ्यो, तर यस वर्ष नआउँदा नरमाइलो लागेको छ । सानै छँदादेखि नगरा बजाएको सुन्दै आएँ तर यस वर्ष भने नआएपछि नगराको धुन सुन्न नपाउँदा लोप भयो कि भन्ने चिन्ता लागेको उहाँको भनाइ छ ।   हिन्दू धर्म संस्कृतिसँग जोडिएको नगरा लगाउने प्रथा पछिल्लो समय हराउँदै गएको छ ।  घटस्थापना सुरु भएदेखि अर्थात् नौरथा सुरु भएसँगै गाउँ–सहरका घरघरमा नगरा लगाउने चलन छ । नगरा लगाउँदाको दमाहाको धुनले दशैँ आएको आभास स्थानीयलाई हुने गरे पनि यस वर्ष भने गाउँघरमै सुनिन छाडेको छ ।   दशैँको बेला नगरा लगाएको घरमा सुख र शान्ति छाउने धार्मिक विश्वास पनि रहिआएको छ । दशैँका बेलामा परियार समुदायका मान्छेले घर–घरमा पुगी दमाहा बजाएर लगाउने नगरा प्रथा पछिल्लो समय भने हराउँदै जाँदा जिल्लावासी चिन्तित छन् । अझै बुढ्यौली हुँदै गएका दमाह बजाउने परियार समुदायका सन्तति अर्थात् युवापुस्ताको चासो नगरा लगाउनेमा नहुँदा लोप हुँदै गएको पाइन्छ ।   नगरा लगाउनेलाई समाजले राम्रो नजरले नहेर्ने भएकाले पनि यो प्रचलन विस्तारै हराउँदै गएको दोर्दी गाउँपालिकाका सन्तेबहादुर परियारले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेका युवापुस्तालाई बाजा बजाउनै नआउने र बजाउन सिकेकासमेत बाजा बजाउँदै हिँड्न लाज मान्ने गरेका छन् । त्यसैमाथि यो नगरा लगाउने चलन त हराइनै सकेजस्तो छ ।”   विगतमा घर–घरमै नगरा लगाउने चलन भए पनि केही वर्षदेखि भने नगरा लगाउने चलन हराउँदै गएको क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “अब नगरा संरक्षणका लागि पालिकाले नयाँ पुस्ताका परियार समुदायलार्ई आकर्षित गर्ने वातावरण सिर्जना गर्छौँ । नगरा प्रथा परियार समुदायको संस्कार, परम्परा र पुर्खाले दिएको सम्पत्ति हो । तर अहिले परम्परा नै लोप हुन थालेको जनाउँदै परियार समुदाय नै चिन्तिन बन्दै गएका छन् ।”    घटस्थापनादेखि ब्राह्मण–क्षेत्री समुदायमा दशैँको नवमीसम्म बिहान दुर्गा भवानीको पूजा गर्ने चलन छ । नहरा लगाउने प्रथा संरक्षणमा सबै परियार समुदाय पनि एकजुट हुनुपर्ने सरोकारवाल बताउँछन् । विस्तारै विभिन्न संस्कार र संस्कृति लोप हुँदै गर्दा संस्कृतिविद्समेत चिन्तित बनेका हुन् ।

काठमाडौं  ः  नवरात्रको दोस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।   नवरात्रको दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको वोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ ।   मार्कण्डेय पुराणलगायत ग्रन्थमा भनिएको छ, ‘ब्रह्म चारयितुं शीलं यस्याः सा ब्रह्मचारिणी’ अर्थात् सच्चिदानन्द ब्रह्मस्वरुपको प्राप्ति गराउने स्वभाव नै ब्रह्मचारिणी हो । यसैले ब्रह्मतत्वको ज्ञान गर्न चाहनेले विशेषरूपमा ब्रह्मचारिणी देवीको विशेषरूपमा पूजा आराधना गर्ने गर्छन् ।   नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आरधना गरिने हनुमानढोका दरबारस्थित दशैँघरमा पनि आज विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।   नवरात्रको पहिलो दिन सोमबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।     नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।    यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । वर्षमा चार नवरात्र पर्छन् ।    त्यसमध्ये आश्विन शुक्ल पक्ष र चैत्र शुक्ल पक्षमा पर्ने नवरात्रमा विशेषरूपमा शक्ति स्वरुपा देवीको पूजा आराधना गरिन्छ । पुस र असारमा पर्ने नवरात्रमा केही साधकले देवीको आराधना गरे पनि आश्विन चैत्रमा जसरी मनाइँदैन ।

  काठमाडौँ:  काठमाडौँ उपत्यकाबाट सबैभन्दा नजिक रहेको जुगल हिमालको प्रचारप्रसार गर्ने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ फोटो पुस्तक ‘गन्तव्य  जुगल’ आज सार्वजनिक भएको छ । आज यहाँ आयोजित समारोहमा सभामुख अग्निप्रसाद सापकोटाले त्यस हिमाल र आसपासका क्षेत्रमा रहेका पर्यटकीय गन्तव्य समेटिएको पुस्तक सार्वजनिक गर्नुभयो ।       काठमाडौँ उपत्यकाबाट कूल एक सय ५० किलोमिटरको दूरी तय गरेपछि जुगल हिमालको आधार शिविर पुग्न सकिन्छ । सोही हिमालका आरोही मिलन तामाङले पुस्तकको संयोजन एवं लेखन गर्नुभएको हो ।       जुगल गाउँपालिकाले प्रकाशन गरेको पुस्तकमा त्यस हिमाल र आसपासका क्षेत्रका बारेमा सविस्तार जानकारी दिइएको छ । जुगल क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बि=स= २०७५ चैतमा नै सो हिमाल आरोहणको अनुमति दिइएको थियो ।       तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्टको कार्यकालयमा नै सो हिमाल आरोहणको अनुमति दिइएको थियो । आरोहणको अनुमति पाउने वित्तिकै यस पुस्तकका लेखक तमाङलगायतले सफल आरोहण गर्नुभएको थियो । हाल आधार शिविरतर्फ सहज रुपमा पुग्नका लागि बलेफी–कात्तिके–पेम्बाथान सडक निर्माण भइरहेको छ । केही दिन पहिले मात्रै सभामुख सापकोटाले सो सडक निर्माणलाई गति दिन सम्बन्धित निकायलाई आयोजनास्थलमा नै पुगेर निर्देशन दिनुभएको थियो । सभामुख सापकोटाको पहलमा नै सो सडक निर्माण भइरहेको छ । सडक निर्माणका लागि रु एक अर्ब बराबरको लगानी भएको छ ।       राजधानी नजिक भएर पनि प्रचारप्रसार हुन नसकेको सो हिमाललाई मूल प्रवाहमा ल्याउने र धेरै धेरै पर्यटक भित्र्याएर आर्थिक समृद्धिको दिशामा ध्यान केन्द्रीत गर्न आफुहरु लागिपरेको पुस्तकका लेखक तामाङको भनाइ छ ।       आर्थिक विकासका लागि पर्यटन क्षेत्रको प्रवद्र्धन र त्यसलाई विस्तारित उद्योगका रुपमा लैजानका लागि पुस्तक महत्वपूर्ण हुने त्यस अवसरमा जानकारी दिइएको थियो । एउटै आधार शिविरबाट आठ वटा हिमाल आरोह गर्न सकिने भएकाले पनि पर्यटकको विशेष आर्कषणमा पर्ने  विश्वास लिइएको छ ।       सभामुख सापकोटाका अनुसार जुगल क्षेत्रको पर्यटन विकासका सम्भावनालाई पुस्तकले अझ विस्तार गरेको तथा आन्तरिक र बाह्य पर्यटकको चासो बढाउनेछ । जुगल गाँउपालिकाका अध्यक्ष रेशम स्याङ्बोका अनुसार जुगल हिमशृङ्खलालगायत यस पालिकाभित्र रहेका अन्य धार्मिक, सांस्कृतिक, प्राकृतिक र अन्य पर्यटकीय क्षेत्रहरुलगायत समग्र क्षेत्रको यर्थाथ चित्रण गर्न पुस्तक महत्वपूर्ण छ । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये जुगल गाउँपालिका पर्यटन क्षेत्रको विकासका लागि प्रवल सम्भावना रहेको पालिका हो ।      नेपालकै विभिन्न पासमध्ये तिलमान पास, धार्मिक र प्राकृतिक महत्व रहेको भैरवकुण्ड क्षेत्र, धार्मिक महत्व रहेको नेपेमासाल यस क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य हुन् । जलस्रोतको धनी रहेको यो गाँउपालिकामा साना तथा ठूला गरी १० वटा जलविद्युत् आयोजना छन् ।       सो हिमशृङ्खलामा कूल छ हजार मिटर माथिका ११ वटा हिमाल छन् । भैरव टाकुरा छ हजार सात सय ८८ मिटर, दोर्जेलाक्पा छ हजार आठ सय ६६, गङछेम्बु छ हजार तीन सय ७८, गुरकर्पो ह्री छ हजार आठ सय ८८ मिटर, ग्याल्चेन पिक छ हजार एक सय ५१ मिटर, लाङशिसा ह्री छ हजार चार सय १२ मिटर उचाईका हिमाल छन् ।       सन् १९४६ मा बेलायती आरोही बिल तिलमानले नेपालको विभिन्न हिमालको अध्ययन तथा आरोहण गर्ने क्रममा यस हिमशृृङ्खलाका पिक र हिकालको आधार क्षेत्र र पाँच पोखरी हुँदै नेपालकै सबैभन्दा लामो पास तिलमान पास यात्रा गरेको इतिहास छ । अत्यत्नै साहसिक र चुनौतीपूर्ण पास भएकाले त्यस स्थानलाई आफ्नै नाम दिएर ‘तिलमान पास’ नामाकरण गरिएको हो । सो बारेमा ‘ नेपाल हिमालय’ नाम पुस्तक पनि प्रकाशन भएको छ ।       सिन्धु पर्यटन परिषद्को समन्वयमा बागमती प्रदेश र जुगल गाउँपालिकाको आयोजनामा २०७५ साल चैत २६ गते जुगल हिमालका ११ वटा चुचुरामध्ये कूल छ हजार एक सय ५१ मिटर उचाईको ग्याल्जेन पिकको सफल आरोहण गरिएको थियो । सो आरोहण दलमा पुस्तकका लेखक तामाङ, सर्मिला थापा, सुभाष कर्माचार्य, माधव सापकोटा र प्रेम गुरुङ सहभागी हुनुहुन्थ्यो ।      आरोहण दलका सदस्य समेत रहनुभएका नेकपा-माओवादी केन्द्र_का केन्द्रीय सदस्य माधव सापकोटाका अनुसार सिन्धुपाल्चोक जिल्लाको पर्यटन प्रवद्र्धन गर्दै आर्थिक विकासका लागि पनि जुगल क्षेत्रको प्रचारप्रसार जरुरी रहेको बताउनुभयो । 

   काठमाडौं ।  ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च: विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुनेभएको छ । सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोसत्व दुई वर्षको अन्तरालमा आयोजना गर्ने बताइए पनि विविध कारणले दोस्रो संस्करण आउँदो मङ्सिर ९ देखि १७ गतेसम्म मण्डला थिएटरमा आयोजना हुनेछ ।    नाटक हेर्ने परम्परालाई बढाउन यस किसिमको महोत्सवको आयोजना गर्न लगिएको मण्डला नाटक घरका संस्थापक अध्यक्ष दयाहाङ राईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी विदेशमा विभिन्न फेस्टिभलमा सहभागी हुन्छौँ । तर, हामीकहाँ किन यस्ता महोत्सव भइरहेका छैनन् भनेर यसलाई सुरु गरेका हौँ । किनकी हामी नाटकलाई महोत्सवका रूपमा मनाउन चाहन्छौँ ।”    नाटक घर नै व्यस्थापन गर्न अप्ठ्यारो स्थिति रहेकाले यसलाई दुई वर्षको अन्तरालमा आयोजना गर्ने तयारी अनुरूप सुरुआत गरिएको उहाँले बताउनुभयो । अभिनेता राईले अग्रजबाट लिएको नाटकको संस्कारलाई नयाँ पुस्तासम्म पुर्याउन महोत्सव गर्नुपर्ने दायित्व रहेको बताउनुभयो ।    नौ दिनसम्म चल्ने महोत्सवमा १६ देश सहभागी हुने र २३ नाटक मञ्चन हुने महोत्सवकी संयोजक विजया कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले यसलाई उत्सवका रूपमा मनाउने तयारी गरेका छौँ । हामी नाटकको दर्शक बढाउन चाहन्छौँ । यसले नियमित दर्शकभन्दा फरकलाई पनि आकर्षित गर्छ ।”    अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रस्तुतिहरू गर्ने योजनासहित आयोजना हुने महोत्सवमा रङ्गमञ्चअन्तर्गतका विविध शैलीका प्रदर्शन, कलाकारसँग अन्तरक्रिया, खुला छलफल, सेमिनारलगायत अन्य क्रियाकलापहरू हुनेछन् ।