पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

  कास्की: कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ र ३ जोड्ने गरी रातोपानीस्थित सेती नदीमा पक्की मोटरेवल पुल निर्माणको काम सुरु भएको छ । सो स्थानमा पुल नहुँदा वडा नं २ सार्दिखोलाका बासिन्दा गाउँपालिकाको प्रशासकीय कार्यालय लाहाचोक आउजाउका लागि पोखरा पुग्नुपर्ने बाध्यता छ ।  लामो समयको प्रतिक्षापछि अहिले पुल निर्माणको काम अघि बढेपछि स्थानीय उत्साहित छन् । सेतीमा पुल नहुँदा झोलुङ्गे पुलबाट जोखिम मोलेर मोटरसाइकल वारपार भए पनि ठूला सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदैआएको छ । माछापुच्छ्रे–२ सार्दिखोलाका पुष्पराज गौतमले प्रदेश सरकारबाट बजेट विनियोजन भएर पुल निर्माणको काम भइरहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “पुल नहुँदा हामीलाई धेरै सास्ती थियो, गाउँपालिका मुकाम जानसमेत पोखरा भएर जानुपर्ने बाध्यता छ । अहिले पुल निर्माणको काम सुरु हुँदा खुशी छौँ । यसै वर्षभित्र  पुलको काम सकिए अर्को बर्खायामा सहज हुन्थ्यो ।” गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालको पहलमा पुल निर्माण थालिएको हो । उहाँले नै पुलको शिलान्यास गर्नुभएको थियो ।   माछापुच्छ्रे–२ सार्दिखोला र वडा नं ३ घाचोक जोड्ने गरी प्रदेश सरकारको रु १० करोड ४३ लाख ५७ हजार लागतमा पुल निर्माण गर्न हिमदुङ एण्ड थोकर र राम जानकी जेभी काठमाडौँसँग ठेक्का सम्झौता भएको छ ।  पूर्वाधार विकास कार्यालय कास्कीका अनुसार सो पुल आगामी २०८० साउनसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । पुलको लम्बाइ ७० मिटर छ । गण्डकी प्रदेश सरकारले पाँच वर्षको अवधिमा माछापुच्छ«ेमा दुई पक्की मोटरेवल पुल निर्माण गरेको छ भने तीनवटाको काम भइरहेको छ । माछापुच्छ«े–६ इदीखोलामा भिँडाबारी र डाँडागाउँ जोड्ने गरी पक्की पुल बनेपछि सञ्चालनमा आएको छ ।  यसैगरी वडा नं ५ रिभानस्थित खहरेखोलामा समेत मोटरेवल पुल निर्माण गरिएको छ । वडा नं ६ र ४ लाहाचोक जोड्ने पक्की पुलका लागि गण्डकी प्रदेश सरकारबाट चालू आर्थिक वर्षमा रु पाँच करोड ५० लाख विनियोजन गरिएको छ । यसैगरी वडा नं १ को धिप्राङ खोलामा मोटरेवल पुल निर्माण गर्न रु ५० लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिनुभयो ।

  ढोरपाटन । बागलुङको गलकोट, तमानखोला, बडिगाड र निसीखोला क्षेत्रमा प्रचलित नाच हो ‘सोरठी नाच’ । चाडपर्व र मेला महोत्सवमा नाचिने यो नाच खासगरी तिहार पर्वसँग सम्बन्धित मानिन्छ ।  सोरठी मगर, गुरुङ जातिमा बढी लोकप्रिय छ । तिहार आउनु एक साता पहिलेनै गाउँमा बूढापाकाले गाउने नाच्ने र युवाले साथ दिने चलन चल्दै आएकोमा पछिल्लो एक दशकयता निकै कम भएको छ । आधुनिक गीत सङ्गीत र नाचप्रति युवापुस्ताको मोह बढ्नुले सोरठी नाच ओझेलिएको बुढापाका बताउँछन् । यो नाच समूहमा नाचिने गरिन्छ । नाच प्रस्तुत गर्दा एक जना सिङारु हुन्छ । जसले महिलाको पहिरन गरेर नाच्छ । समूहमा रहेका केही बूढापाकाले मादल बजाउने र गीत गाउने गर्छन् भने अन्यले उनीहरुसँगै गाउने र नाच्ने गर्छन् । एक दशक अगाडिसम्म बागलुङ पश्चिमका ग्रामीण भेग तिहारको बेला निकै रमाइलो हुने गथ्र्यो । जताततै सोरठी नाच्ने र गाउनेहरु भेटिन्थे । अहिले यो नाच देख्नसमेत मुस्किल पर्छ । बडिगाडका ७७ वर्षीय रत्नबहादुर बुढा आफ्नो जवानीमा सोरठी नाचेर थाक्नु हुँदैनथ्यो । आफ्नो हात खुट्टा चल्न थालेपछि उहाँले नाच्न छोड्नु भयो । नयाँ पुस्ताले यो नाच नाच्न चासो नदेखाएपछि लोप हुने अवस्थामा पुगेकोमा उहाँ चिन्तित हुनुहुन्छ ।  “हराउँछ अब, अहिलेका युवाले सिक्नै चाहन्न्, यो नाच लोप भयो भने त हाम्रो पहिचान पनि गुम्छ कि भन्ने डर लाग्छ, हाम्रो हात खुट्टा बस्न थाले, म नाच्न सक्दैन, सिकाउ मैले धेरै खोजे तर सिक्नेले सिक्नै नखोजेपछि सकिँदो रैनछ, बरु अरु गीतमा नाच्छन् सोरठीमा नाच्दैनन् ।”  नाच लोप हुने डरले उहाँलाई पिरोली रहन्छ । बाउ, बाजे र काकाबाट नाच्न सिक्नुभएका बुढाले आफ्नो छोरा, भतिज र नातीले सिक्न नचाहँदा नाच सङ्कटमा परेको बताउनुहुन्छ । “हामीपछिका भाइहरुले त अहिले पनि नाच्दैछन्, अब उनीहरुले पनि दुई/चार वर्षपछि नाच्न सक्दैनन्, उतिबेला बाउ, बाजे र काकाले हाम्लाई सिकाए, हामीहरुले भाईहरुलाई सिकाइयो, तर अहिलेका जवानले चासो दिँदैनन्, हराउने भयो अब यो नाच”, बुढाले भन्नुभयो । पुराना पुस्ताबाट नयाँ पुस्ताले मौलिक कला संस्कृति नसिक्दा सोरठी नाच हराउँदै गएको तमाखोला–३ का ६७ वर्षीय भक्तबहादुर पुनले बताउनुभयो । पुनले आफूले १०/१२ वर्षको उमेरदेखिनै सोरठी नाच सिकेर नाच्दै आएको बताउँदै अहिलेका युवाले यसतर्फ चासो नदेखाउँदा हराउँदै गएको बताउनुभयो । उहाँले नयाँ पुस्तालाई सिकाउने कोसिस गर्दा पनि सिक्ने इच्छा नदेखाउने बताउनुहुन्छ ।  “जमाना फेरिए अहिलेका युवाले पुराना कला संस्कृति सिक्नै चाहन्नन्, के–के गीत सुन्छन्, गाउँछन्, तर पुराना गीत सङ्गीत त मनै पराउँदैनन्, हाम्ले सिकाउन खोजे पनि सिक्न चाहन्न्”, उहाँले भन्नुभयो, “हामी मरेपछि पुराना संस्कृति पनि मर्छन् होला, यस्ता राम्रा संस्कृति हराउँदै गए, निकै दुःख लाग्छ, अहिलेका युवाले सिके त पुर्खौंसम्म पनि जीवित रहने थिए ।” मौलिक संस्कृतिमध्येको विशिष्ट संस्कृति भएको भन्दै यसको संरक्षण गर्नका लागि युवापुस्ता नै जागरुक हुनुपर्ने पुनले बताउनुभयो । उहाँले आधुनिकतासँगै पुराना संस्कार संस्कृतिलाई निरन्तरता दिनसके यस्ता संस्कृति युगौँसम्म संरक्षण गर्न नसकिने बताउनुहुन्छ । पुनले भन्नुहुन्छ, “मौलिक संस्कृतिलाई बिर्सिएर विदेशी संस्कृतिलाई अंगाल्नु गलत हो, संस्कृतिले हाम्रो पहिचान बोको छ, आधुनिक संस्कारसँगै पुराना संस्कार संस्कृतिलाई पनि निरन्तरता दिने हो भने मौलिक संस्कृतिको संरक्षण हुन्छ ।” निसीखोला गाउँपालिका–६ का ७० वर्षीय पृथबहादुर घर्तीमगर पुस्ता हस्नान्तरण नहुँदा पुराना कला संस्कृति लोप हुने अवस्थामा पुगेको बताउनुहुन्छ । केही वर्ष अगाडिसम्म मेला पर्वमा पुराना परम्परासँग जोडिएका गीत गाइने, पुराना नाच नाच्ने गरेकोमा अहिले त्यस्ता गीत र नाच सुन्न र देख्नसमेत नपाइने बताउनुहुन्छ । “अहिले बूढो भएर पनि यो नाच्न गाउन निकै मन लाग्छ, परानले भेट्दैन, हात खुट्टाले पनि धोका दियो, बैसमा मेला पर्व सुरु भयो भने सोरठी नाच्ने पुराना–पुराना गीतहरु गाउने गरिन्थ्यो, अहिले त्यस्ता गीत र नाचहरु कतै देख्न पनि पाइन्न, सुन्न पनि पाइन्न, अहिले त सुन्दा रिस उठ्नेजस्ता गीतहरु गाउँ छन् आफन्तसँग बसेर हेर्नै नमिल्ने गरी नाँच्छन्, यसले त हाम्रो संस्कृतिलाई फोहोर बनाएको छ”, उहाँले भन्नुभयो । अहिले गाउँ सहरमा बूढापाकाले नाच्दै आएको सोरठी नाच खास्सै नदेखिने गलकोटका ३२ वर्षीय प्रेम काउचाले बताउनुभयो । उहाँले आफ्नो पुस्ताले पुराना लोक संस्कृतिलाई जगेर्ना गर्नुको सट्टा पश्चिममा संस्कृतिलाई बढावा दिइरहेको कारण सोरठी हराउँदै गएको उहाँ स्वीकार गर्नुहुन्छ ।   “हामी १५/१६ वर्ष हुँदासम्म पनि गाउँमा सोरठी नाच्ने टिम धेरै हुन्थे, हामीहरुले पनि सिक्ने कोसिस गरेनौँ, त्यही भएर पनि अहिले यो लोप हुँदै गयो, अझै पनि पुराना बूढापाका अग्रजसँग सिक्ने अवसर छ, हामीहरुले सिक्यौँ भने नयाँलाई पनि सिकाउन सहज हुन्थ्यो”, उहाँले भन्नुभयो, “मौलिक संस्कृतिलाई दैनिक भित्रिएका पश्चिमा कला संस्कृतिले विस्थापित गरिरहेको छ, नयाँ संस्कृतिलाई अंगाल्ने र पुरानालाई संरक्षण गर्न जरुरी छ ।”   काउचाले पछिल्लो सयम अध्ययन तथा रोगारीका लागि बजार झार्ने र बजारमा आधुनिक किसिमका गीत सङ्गीत सुन्ने र गाउने हुँदा सोरठी नाच लोप हुने अवस्थामा पुगेको उहाँ बताउनुहुन्छ । उहाँले तिहारमा समेत विद्यार्थी, विभिन्न सङ्घसंस्था र स्थानीय पनि आधुनिक गीत सङ्गीत बजाएर नाच्न थालेका बताउनुहुन्छ ।   

  डोल्पा । डोल्पाको छार्का ताङसोङ गाउँपालिका–६ का श्यामा तेन्जिन गुरुङलाई आफ्नो घरमा खाद्यान्न कसरी पुर्याउने चिन्ताले सताएको छ । कात्तिक महिनादेखि उपल्लो डोल्पाका अधिकांश बस्तीमा हिमपात भएर बाटो बन्द हुने भएपछि गुरुङलाई जसरी नि चिसो मौसममा परिवार पाल्नका लागि खाद्यान्नको जोहो गर्नुपरेको हो ।  उहाँको घरमा आठ जनाको परिवार छ । वर्षमा एक पटक मात्र पाक्ने अन्न उवाले सबै घर परिवारलाई पाल्न मुस्किल भएपछि सदरमुकाम दुनैबाट चामल ढुवानी गरेर गाउँ सम्मा लिनुपर्ने गुरुङको बाध्यता हो । सदरमुकाम सम्मा मात्र सडक सञ्जाल जोडिएका कारण उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्ने उपयुक्त माध्यम घोडा, खच्चड र चौँरीको सहारा नै हुन् । उहाँजस्तै डोल्पोबुद्ध–१ का फुर्बा लामालाई समेत खाद्यान्न जम्मा गर्नकै पिरलो छ । हिमपातले बाटो बन्द नहुँदै खाद्यान्न जोहो गर्नु उहाँलाई बाँच्नका लागि सङ्र्घषजस्तै भएको छ ।   आर्थिकरुपमा बलियो भएका यहाँका स्थानीयवासी उपल्लो डोल्पाबाट अन्यत्र अस्थायीरुपमा बसाई सरे पनि निम्न आर्थिक अवस्था रहेका उपल्लो डोल्पाका सर्वसाधारण हिउँमै प्राकृतिक नाकाबन्दीमा परेर भए पनि थाकथलोमा बस्दै आएको लामाले जानकारी दिनुभयो । मङ्सिर ४ गते हुने चुनावको अन्य ठाउँमा भारी चिन्ता भए पनि उपल्लो डोल्पामा खाद्यान्न जोहोदेखि हिउँले कति समयभित्र बाटो बन्द गर्ला भन्ने चिन्ता बढी रहेको लामाको भनाइ छ ।  उपल्लो डोल्पाका तीनवटा पालिकामा कुन समयमा हिमपात हुन्छ वा मौसम बिग्रिन्छ थाहा नै नहुने गरेको शे फोक्सुण्डो गाउँपालिका–२ का पेम्मा ग्याल्छेल लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “सुविधा सम्पन्न ठाउँमा गफ लगाएजस्तो हाम्रो ठाउँमा छैन, भनेको समयमा औषधि, खानेकुरा, यातायातको सुविधा पाइँदैन । अब प्रकृतिले नै हामीलाई नाकाबन्दी लगाउँदै छ । भोट पनि कसरी खसाउने हो, समयमै हिउँ बढी परेमा मतदान केन्द्र सम्मा जानसमेत मुस्किल होला ।” उपल्लो डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री केन्द्रमा चामलसमेत छैन । लामो समयदेखि उपल्लो डोल्पामा चामल अभाव भए पनि व्यापार कम्पनीले ढुवानी गर्न नसकिएको खाद्य व्यस्था तथा व्यापार कम्पनी डोल्पाका प्रमुख विष्णु घिमिरेले जानकारी दिनुभयो । कात्तिकदेखि फागुनसम्मा उपल्लो डोल्पामा हिउँले ढोकेको हुन्छ । हिउँले ढाक्ने समयमा सदरमुकाम दुनैदेखि उपल्लो डोल्पा जान र आउन समस्य हुने गरेको छ ।    जुफाल र दुनैबाहेक अन्य कुनै पनि ठाउँमा चामल नभएको उहाँले जानकारी दिनुभयो । जुफालमा दुई सय क्विन्टल चामल रहेको र दुनैमा पनि सोही अनुपातमा भएका कारण तत्काल सडक सञ्चालन नभए खाद्यान्न सङ्कट पर्नसक्ने प्रमुख घिमिरेले जानकारी दिनुभयो । जाजरकोट– डोल्पा सडकखण्डको डोल्पाखण्डको सडक अझै सञ्चालन नभएका कारण खाद्यान्न ढुवानीमा समस्य हुँदै आएको घिमिरेको भनाइ छ । उपल्लो डोल्पामा एकमात्र बिक्री केन्द्र रहेको छ ।  त्यहाँ रहेको डिपोमा एक वर्षदेखि चामल नभएको स्थानीयवासीले बताएका छन् । नयाँ ठेक्का सदर भए पनि अहिले सम्मा चामल ढुवानी हुन सकेको छैन । सहुलियतमा पाइने व्यापार कम्पनीको चामल जनताले नपाएर दैनिक फर्किरहेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । चामल मात्र नभएर यहाँ नुनसमेत नभएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । उपल्लो डोल्पामा आयोडिनयुक्त नुन ढुवानी नभएको पाँच वर्ष भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डोल्पाका प्रमुख प्रकाश धामीले बताउनुभयो ।  तिब्बतको बाटो हुँदै उपल्लो डोल्पामा नुन ढुवानी गर्नुपर्ने भए पनि सो कार्य पाँच वर्षदेखि रोकिएका कारण तेन्जे डिपोमा नुन ढुवानी हुन नसकेको हो । तीन पालिकामा लक्षित गरेर तिन्जे डिपोमा नुन ढुवानी हुने गरेको थियो । तल्लो डोल्पाका पाँच ठाउँमा रहेका केही डिपोमा मात्र नुन ढुवानी हुने गरेको छ । यातायातको पहुँच भएको ठाउँमा मात्र नुन ढुवानी हुने गरेको कार्यालय प्रमुख धामीले बताउनुभयो । 

  काठमाडौं । फूलैफूलको पर्वका रुपमा लिइने तिहारमा रु १३ करोड ५० लाख बराबरको पुष्पमाला कारोबार भएको छ । तिहारको समयमा करिब साढे २४ लाख मालाको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो । “यस वर्षको तिहारमा करिब साढे २४ लाख माला खपत हुने हाम्रो अनुमान छ । त्यसमध्ये सयपत्रीको मात्रै २० लाख मालाको माग हो”, तामाङले भन्नुभयो, “थोक मूल्यका आधारमा रु साढे १३ करोड बराबरको फूल र मालाको कारोबार हुने अनुमान छ ।” यद्यपि, खपत र कारोबार रकमबारे वास्तविक तथ्याङ्क भने तिहारपछि मात्रै आउने उहाँको भनाइ छ । फ्यानका अनुसार यस वर्षको तिहारका लागि साढे २४ लाख मालाको माग छ । सबैभन्दा बढी सयपत्री मालाको माग छ । यसवर्ष बिक्री हुने अनुमान गरिएका २० लाख सयपत्रीका मालामध्ये १७ लाख माला नेपालभित्रकै उत्पादन रहेको र तीन लाख माला भारतबाट आयात गरिएको छ । त्यस्तै, यस वर्ष तीन लाख २५ हजार हाराहारी मखमली मालाको किनबेच हुने अनुमान गरिएको छ । बीसदेखि २५ हजारको सङ्ख्यामा गोदावरी फूलको माला बिक्री हुनेछ । नेपालबाट मखमली माला निर्यात भएको छ । तिहारको समयमा मात्रै करिब एक लाखको सङ्ख्यामा मखमली माला निर्यात हुने गरेको फ्यान अध्यक्ष तामाङले बताउनुभयो । “मखमली फूल विश्वका विभिन्न देशमा जान्छ । भारत र विभिन्न देशमा रहेर तिहार मान्ने नेपालीले मखमली मालाको माग गर्ने गरेका छन् । एक लाखको सङ्ख्यामा मखमली माला हामीले निर्यात गरेका छौँ”, उहाँले भन्नुभयो । यस वर्ष सयपत्री फूलको प्रतिमाला थोक मूल्य रु ५५ रहेको छ । त्यस्तै, मखमली फूलको मालाका रु ४० मा कारोबार भइरहेको छ । यद्यपि खुद्रा मूल्य भने फरक छ । पसलैपिच्छे फरक–फरक मूल्यमा बिक्री भइरहेका छन् । फूल र मालाको कारोबार यस वर्ष पनि गत वर्षकै मूल्यमा भइरहेको फ्यानले जनाएको छ । “उत्पादन, आयात र कारोबारको अवस्था हेरेर हामीले यस्तो अनुमान गरेका हौँ । यो वर्ष सयपत्रीको माला गत वर्षकै मूल्यमा कारोबार भएको छ । मखमलीको मालामा भने रु पाँच जति बढेको छ ।” अध्यक्ष तामाङले भन्नुभयो । तिहारमा प्रयोग हुने माला र फूलका लागि नेपालभित्रकै उत्पादनले धान्न सक्ने अवस्था रहे पनि व्यवसायीले बढी नाफा कमाउनका लागि भारतबाट आयात गर्ने गरेका छन् । “हामीलाई चाहिने जति माला नेपालभित्रै उत्पादन हुन्छ । यस वर्षको उत्पादन पनि बढी नै हो”, तामाङले भन्नुभयो, “नेपालको उत्पादन पर्याप्त भए पनि भारतीय मालामा बढी नाफा हुन्छ । त्यस कारण व्यापारीले भारतबाट ल्याउने गरेका छन् ।” यस वर्ष बजारको मागभन्दा बढी आयात भएको देखिन्छ । अर्कोतर्फ आयातित माला मूल्यमा पनि सस्तो हुने भएका कारण नेपाली उत्पादनले बजार नपाउने तर भारतबाट ल्याइएका फूलमाला तिहारमा प्रयोग हुने देखिएको छ ।

काठमाडौं । कार्तिक कृष्ण औँसीका अवसरमा आज लागेको ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण बेलुकी पौने सात बजे सकिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।      ग्रहण नेपालको पश्चिमी भेगबाट राजधानीबाट भन्दा बढी स्पष्ट देखिएको जनाइएको छ । आजको सूर्यग्रहण ग्रस्तास्तअर्थात् ग्रहणकै समयमा सूर्यास्त भएकाले यस्ता ग्रहण बार्ने शास्त्रीय नियम फरक रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । सामान्य अवस्थामा ग्रहण सकिने बित्तिकै अन्न खान समस्या नभए पनि आज ग्रस्तास्त सूर्यग्रहण लागेकाले बुधबार बिहान सूर्योदयपछिमात्र बाल, वृद्ध र रोगीबाहेकले भोजन गर्नुपर्ने नियम छ ।      बाल, वृद्ध र बिरामीले भने ग्रहणका बेला पनि भोजन गर्न सक्ने जनाइएको छ । यस्तो अवस्थामा पानी, कन्दमूल, फलफूल, हवनीय वस्तु (जौ), श्रोत्रीय ब्राह्मणलाई बनाएको खाना, गुरुको वचन र औषधि गरी आठ कुरा खान सकिने शास्त्रीय व्यवस्था रहेको उहाँले सुनाउनुभयो । आधुनिक विज्ञानले भने ग्रहणमा भोजन निषेध नगरेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।      सूर्यग्रहणमा १२ घण्टाअघिदेखि र चन्द्रग्रहणका बेला नौ घण्टाअघिदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई शास्त्रीय आधारमा भोजन निषेध गरिएको छ । औँसीका दिन सूर्य र पूर्णिमाका दिन चन्द्रग्रहण लाग्ने गर्छ ।

  काठमाडौं । मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दसैँ मौसमी हिसाबले केही प्रभावित बनेको थियो । असोज १८ गतेदेखि झण्डै डेढसाता निरन्तर देशैभर वर्षा भयो । यतिखेर तिहारको माहोल चलिरहेको छ । तर मनसुन सकिएसँगै मौसमले पनि साथ दिएकाले यो पटकको तिहार निकै उल्लासमय हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तिहारमा मौसम सफा रहने जनाएको हो । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले वर्षा गराउने कुनै मौसमी प्रणाली विकसित नभएकाले यो पटकको तिहारमा मौसम सफा रहने बताउनुभयो । वर्षाका कारण दसैँमा आफन्त मान्यजनकहाँ टीका लगाउन जाने र विभिन्न गन्तव्यमा पुग्नेलाई निकै सास्ती दियो । पाकेको धानबालीमा पनि क्षति पु¥यायो, बाढी, पहिरो र डुबानका घटना पनि भए । त्यतिमात्रै होइन, शरद ऋतुको मुख्य पर्यटकीय सिजन पनि चलिरहेकामा वर्षाले आन्तरिक तथा बाह्य पर्यटनलाई पनि असर पुग्यो । तिहार आउन एक साताअघिदेखिनै देशैभरको मौसम सफा रहेको छ । आज तिहारको तेस्रो दिन गाईपूजा गरी मनाइएको छ । सोमबार साँझ लक्ष्मीपूजा गरी धुमधामका साथ मनाइयो । महाशाखाको पछिल्लो विवरणमा अहिले देशका पहाडी भेगमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । वरिष्ठ मौसमविद् पौडेलका अनुसार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा छिटफुट र हल्का वर्षा हुने सम्भावना छ तर, सानो–सानो बादलको टुक्रा रहेकाले ठूलो प्रणाली देखिँदैन । “मनसुन पनि बाहिरियो, पश्चिमबाट पानी पार्ने प्रणाली आउनुपर्छ त्यो सम्भावना देखिँदैन स्थानीय वायु पनि सक्रिय छैन । त्यसैले तिहारमा मौसम सफा रहने देखिन्छ । चिसो क्रमिकरूपमा बढ्दैछ, बिहान–बेलुका बढी चिसो हुन्छ”, मौसमविद् पौडेलले भन्नुभयो ।

काठमाडौं । चारैतिर शरद्ऋतुको उल्लासमय वातावरण छ । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैंँ सिँगारिदिएका छन् । बिजुलीबत्तीको झिलिमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ तर, प्रकृतिसँंग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ ।  युवा पुस्ता आयातित संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएका संस्कृतिविद् बताउँछन् । नेपालीका लागि दसैँंपछिको दोस्रो ठूलो चाड तिहार पशुपंक्षी, प्रकृति र पुरुष (भाइ) पूजा गरिने चाड हो । हिन्दू संस्कृतिका अध्येता पं भीमनाथ पराजुलीका अनुसार तिहार प्रकृति, पुरुष र ऐश्वर्य (लक्ष्मी)लाई खुसी बनाउने चाड हो तर, पछिल्लो समय यो चाडमा विकृति भित्रिएकाले यसको सांस्कृतिक पहिचान  ओझेलमा पर्दै जान थालेको छ । “अरु बेला वास्ता नगरिने पशुपंक्षीलाई पनि तिहारमा पूजा गरिन्छ,” पराजुलीले भन्नुभयो,“यसले सबै प्राणीबीच सम–दृष्टिकोण राख्नुपर्दछ भन्ने सन्देश दिन्छ । काग, कुकुर, गाई, गोरु, लक्ष्मी र भाइ (दाजुभाइ) लाई तिहारमा पूजा गरेर सुख, शान्ति र ऐश्वर्यको कामना गरिने यो पर्व अहिले केवल औपचारिकतामा सीमित भएको छ ।” माटाको दियो र अमिलाको पातमा बत्ती बालेर फाल्ने चलन अहिले हराएको छ । घरको मूलढोका, सहायक ढोका, आँगनको डिल, तुलसीको मठ, धनसार, गोठ, जुठेल्नो जतातलै बत्ती बालेर जिम फाल्ने चलन थियो तर, अहिले  जतातलै बिजुली बत्ती बालेर उज्यालो बनाइन्छ । बेनी नगरपालिका–२ बगरफाँटका ८७ वर्षीय वेदप्रसाद शर्मा भन्नुहुन्छ,“यसबाट मनोरञ्जन त प्राप्त हुन्छ तर, जिम फाल्ने विधान र तिहारको मौलिकता हुँदैन ।” आजभोलि माटोको पाला पूजाकोठामा सीमित छ । माटोको दियोपछि मैनबत्ती र मैनबत्तीलाई उछिन्दै बिजुली बत्तीमा अहिलेको तिहार भुलेको छ । हराउँदैछ तेलको धार यमराजलाई बाटो छेक्न विशाल नदीको प्रतीकका रुपमा घरको मूल ढोकामा हालिने तेलको धारले प्रतीकात्मक अर्थ दिन्थ्यो ।  दाजुभाइलाई यमराजबाट सुरक्षित राख्न दिदीबहिनीले मूलढोकामा तेलको धार हालेर बाटो छेक्ने प्रचलन पछिल्लो समय हराउँदै गएको शर्माले बताउनुभयो । “ओखर फोरिन्थ्यो, तेलको धार हालिन्थ्यो, देउसी भैलो खेलिन्थ्यो, साथीभाइ एकै ठाउँमा भएर जुवातास खेली रमाइलो गरिन्थ्यो”, शर्माले भन्नुभयो,“अब ती सबै कुरा हराइसके । तिहार केवल औपचारिकतामा सीमित हुन थालिसकेको छ ।” भाइमसला बजारको  सूचना र प्रविधिले विश्वलाई नै साघुरो बनाइदिए पनि अपनत्व र सौहार्दतालाई भने निकै टाढा पुर्याइदिएको छ । मोबाइल र इन्टरनेटको बढ्दो प्रभाव र प्रयोगका कारण मानिस यति व्यस्त भएका छन् कि उनीहरुलाई आफ्नो नजिकैको मान्छेले के गर्दै छ र के भन्दै छ भन्ने कुराको समेत पत्तो हुँदैन । युवा पुस्ताका दिदीबहिनी पनि सूचना प्रविधिको यो प्रभावबाट मुक्त हुने कुरै भएन । सूचना प्रविधि र सामाजिक सञ्जालको प्रभावका कारण दिदीबहिनी पनि बेफुर्सदिला हुने गरेका छन् भने झण्झटिला कामप्रति उनीहरुको रुचि घट्दै गएको छ । फूल खोज्ने, माला गाँस्ने, भाइमसला बनाउने, खानाका परिकार तयार गर्ने र समग्रमा तिहारको रौनक बढाउने प्रमुख भूमिका दिदीबहिनीको नै हुने गर्छ । तर, उनीहरु पनि बेफुर्सदिला बनिदिँदा तिहारको मौलिकतामा पनि असर गरेको छ भन्नुहुन्छ अर्मनका खडानन्द सापकोटा । सापकोटाका अनुसार अहिले बजारमा प्याक गरेर राखिएका भाइमसलामै दिदीबहिनीले काम चलाउने गरेका छन् । सापकोटाको भनाइसँग सहमत हुनुहुन्छ अर्मनकै रसिला जैसी पनि ।“पहिला पहिला दिदीबहिनी भेला भएर तिहार सुरु हुनेवित्तिकै भाइमसलाको खोजी गथ्र्यौँं, ओखरदेखि लिएर सम्पूर्ण सामग्रीको जोहो गरेर भाइमसला बनाउँथ्यौँ,” ६३ वर्षीया जैसीले भन्नुभयो“अहिले त कसैलाई कामले फुर्सद छैन, कसैलाई मोबाइलले ।” देउसी, भौलो पैसामुखी तिहारको आकर्षणमध्येको एक मानिएको देउसी भैलो हिजोआज आशिष दिने, मनोरञ्जन लिने र साथीभाइसँग रमाउने माध्यम नभइ पैसा असुल्ने माध्यम बन्दै गएको आरोप लाग्न थालेको छ । केही सामाजिक सङ्घ संस्था र व्यक्तिले मेमोरीमा रेकर्ड गरिएका गीतको सहयोग लिई नृत्य देखाउँदै देउसी भैलोलाई पैसा असुल्ने माध्यम बनाइरहेका स्थानीय व्यापारीले बताएका छन् । हुन पनि हिजोआज गाइने देउसी भैलो र देखाइने नृत्यमा कुनै पनि मौलिकता देखिँदैन । अधिकांश भैली समूहले हिन्दी र नेपाली चलचित्रका गीत एवं एल्बममा राखिएका देउसी भैलो गीतमा नाच्छन् । न उनीहरुले मादल बोकेका हुन्छन् न मुरली र खैजडी नै । ठूलाठुला आवाजमा गीत घन्काउँदै हल्ला गर्दै देउसी भैलो समूह हिँडेका देखिएका छन् ।  बेनीका वयोवृद्ध नैनकुमार श्रेष्ठ भन्नुहुन्छ,“पहिलेका भैली आउँदा स्थानीय लोकबाजा र गीत देख्न सुन्न पाइन्थ्यो तर, आजभोलि आयातित गीत सुन्न पर्दा वाक्क लाग्छ । पहिले आफैं भट्याएर देउसी खेल्दा छुट्टै मज्जा आउथ्यो अनि हेर्नेलाई पनि रमाइलो लाग्थ्यो । आजभोलिका भैली खेल्ने उफ्रिने र कराउने मात्र गर्छन् ।” केही वर्षपछि लोकबाजा र भैलिकै मौलिकता हराउन सक्ने चिन्ता उनी व्यक्त गर्छन् । बेनीका ज्येष्ठ नागरिक डम्मरबहादुर कार्कीका अनुसार पहिला पहिला देउसी भैलो खेल्दा सबैले लोकगित आफैले गाउने, मुरली, मादल, खैजडी, झ्याली, ट्याम्कोलगायतका मौलिक बाजा बजाउने गर्थे  ।“अब ती सबै कुरा एकादेशका कथा भए,” उहाँले भन्नुभयो ।

  काठमाडौँ । ठीक छ वर्षपहिले अर्थात् २०७३ सालमा हरेक साता विद्युत्भार कटौतीका सूचना सार्वजनिक हुन्थे । तिहार उज्यालोको पर्व । यसको आफ्नै गरिमा र महत्व छ । तर तिहारका अवसरमा समेत नेपालीले मैनबत्तीको भरमा आफ्नो खुसी साट्नु पर्दथ्यो । बिजुली उपलब्ध गराउने जिम्मा लिएको नेपाल विद्युत् प्राधिकरण हरेक साता सूचना प्रकाशित गरेर आनन्दसँग निदाउँथ्यो ।      समय बदलियो, अवस्थामा पनि परिवर्तन आयो । तत्कालीन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को संयुक्त गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले लिएको नीतिका कारण २०७३ सालको लक्षमी पूजाको दिनदेखि काठमाडौँ उपत्यकाबाट विद्युत्भार कटौती अन्त्य भयो । सरकारले जनताका सामु गरेको वाचालाई पूरा गर्यो । त्यो वाचा पूरा गराउन हालका अर्थमन्त्री एवम् तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको पहलकदमी पनि उत्तिकै महत्वपूर्ण थियो । प्राधिकरणको नेतृत्वमा रहेर कार्यकारी निर्देशक कुलमान घिसिङले निर्वाह गर्नुभएको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ ।      नेपालबाट अब विद्युत्भार कटौती इतिहास भएको छ । विद्युत्भार कटौती मात्रै इतिहास भएको छैन, तिहारमा भारतीय बजारबाट खरिद गरेर ल्याइने बिजुली पनि अब आयात हुन बन्द भएको छ । नेपाल र नेपाली क्रमशः ऊर्जामा आत्मनिर्भर बन्दैछन् भन्ने अवस्थामा पुगिएको छ ।      सोमबार देशैभर हर्ष उल्साहका साथ तिहारको महत्वपूर्ण दिन लक्ष्मी पूजा गरिएको छ । लक्ष्मी पूजा बत्ती बाल्ने दिन । लक्ष्मीको आराधना गर्ने दिन । त्यस दिन देशभर कूल एक हजार तीन सय पाँच मेगावाट बराबरको बिजुली खपत भएको प्राधिकरणले जनाएको छ । देशभर बिजुलीको के कति माग छ भन्ने कुराको खास मापन गर्ने दिनका रुपमा यस यस दिनलाई लिइन्छ । आन्तरिक रुपमा क्रमशः बिजुलीको मागमा वृत्ति हुँदै गएको छ । गत वर्षको तिहारमा अधिकतम बिजुली खपत एक हजार दुई सय मेगावाट बराबर थियो । यस आधारमा गत वर्षभन्दा एक सय पाँच मेगावाट थप बिजुली खपत भएको छ, यस वर्ष ।      यस्तै, गत असार २८ गते अधिकतम बिजुली खपत अर्थात् पिक लोड एक हजार सात सय  ४७ मेगावाट रहेको थियो । काठमाडौँ उपत्यकामा तीन सय ४२ मेगावाटको हाराहारीमा अधिकतम माग  देखिएको प्राधिकरणले जनाएको छ । लक्ष्मी पूजाको दिनसमेत प्राधिकरणले तीन सय ८० मेगावाट बिजुली भारत निर्यात गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार सोमबार निजी क्षेत्रका ऊर्जा उद्यमीका आयोजनाबाट प्रणालीमा सात सय ६७ दशमलव पाँच मेगावाट बिजुली प्रणालीमा उपलब्ध भएको थियो ।      यस्तै प्राधिकरणका सहायक कम्पनीका आयोजनाबाट कूल चार सय ८२ दशमलव दुई मेगावाट उपलब्ध भएको थियो । प्राधिकरणका अर्धजलाशयुक्त आयोजनाबाट चार सय ३५ मेगावाट बिजुली प्रणालीमा उपलब्ध भएको थियो । यस आधारमा भारतमा समेत निर्यात गरेको जोड्दा एक हजार छ सय ६८ मेगावाट बिजुली कूल खपत भएको देखिन्छ । लक्ष्मी पूजाको दिनसमेत कूल दुई सय मेगावाट बिजुली खेर गएको छ ।      विसं २०७३ को लक्ष्मी पूजाको दिनदेखि काठमाडौँ उपत्यका र २०७५ साल वैशाख ३१ ग्तेदेखि देशभर नै विद्युत्भार कटौती अन्त्य गरेको प्राधिकरणले पछिल्ला दिनमा गुणस्तरीय बिजुली उपलब्ध गराउने प्रयास गरिरहेको छ । बिजुलीको खपत बढाउने अभियान पनि निरन्तर जारी छ ।      यद्यपि अपेक्षित रुपमा बिजुलीको माग भने बढ्न नसकेको गुनासो पनि उत्तिकै आउने गरेको छ । सोमबार साँझ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोली स्युचाटारस्थित भार प्रेषण केन्द्रबाट लक्ष्मी पूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि खटिएको थियो । विनाअवरोध देशभरि विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ ।     विगतका वर्षहरुमा लक्ष्मी पूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकामा अब आन्तरिक उत्पादनले माग धान्ने मात्र हैन खपत हुन नसकेर बढी हुन थालेको छ । प्राधिकरणले यस वर्ष लक्ष्मी पूजाको पिक डिमान्ड धान्नको लागि कुलेखानी जलाशययुक्त जलविद्युत् केन्द्रसमेत सञ्चालन गरेन । कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।     यस वर्षको लक्ष्मी पूजाको पिक समयमै तीन सय ८० मेगावाट विद्युत् भारत निर्यात गरिएको र दुई सय मेगावाट विद्युत् खपत गर्न नसकिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड ९आइएक्स०को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गरिरहेको छ । “विगतमा लोडसेडिङ हुँदा लक्ष्मी पूजाको दिनको विद्युत् खपतलाई पिक डिमान्ड मानिन्थ्यो भने अहिले त्यो अवस्था छैन, अरू बेला नै पिक डिमान्ड आउने गरेको छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।     तिहारमा उद्योगकलकारखानाहरु र कार्यालयहरु सबै बन्द छन्, फेरि तराइमा गर्मी छैन र काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रमा जाडो पनि सुरु भइनसकेकाले अहिले विद्युत् माग नआउने समयका रुपमा लिइन्छ ।  उहाँले आन्तरिक रुपमा विद्युत् खपत बढाउनु ठूलो चुनौती रहेको बताउनुभयो ।     प्राधिकरणले गत असार २८ गते देशभित्रको पिक डिमान्ड सबैभन्दा बढी रहेको थियो । देशभित्रको विद्युत् खपत र भारततर्फको निर्यातसहित लक्ष्मी पूजाको दिन प्रणालीको पिक डिमान्ड एक हजार छ सय ८५ मेगावाट रेकर्ड गरिएको छ । यस वर्ष सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमान्ड तीन सय ४२ मेगावाट छ । गत वर्ष तीन सय २० मेगावाट थियो ।     प्राधिकरणले पर्याप्त विद्युत् रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तलाई आग्रह गरेको थियो । प्राधिकरणले लक्ष्मी पूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत् गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो । 

  कैलाली । तिहारमा घर झिलिमिली पारिएका छन् । कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन् । तिहारका समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन् । दीपावलीको रमझमसँगै सबैतिर देउसीभैलो खेल्न सुरु भएको छ । तिहारका लागि किनमेलसँगै भाइटीकाको तयारी भइरहे पनि जिल्लाका किसान खेती स्याहार्नमा व्यस्त छन् ।      दीपावलीको चौथो दिन लागिसक्दा पनि अधिकांश किसान धान भित्र्याउनमा व्यस्त छन् । तयार भएको धान मौसम प्रतिकूलताका कारण काट्न नपाएका किसान यतिखेर मौसमले साथ दिएकाले धानखेतमै व्यस्त छन् । “दसैँमै धान बाली तयार थियो, मौसमको सूचनाले काट्न पाइएन, त्यसपछि मौसम सफा भएपछि काट्न थाल्यौँ, अहिले पनि मौसमको के भर त्यसैले हामी धान स्याहार्नमै व्यस्त छौँ”, किसान पल्टु चौधरीले भन्नुभयो, “खानका लागि धान, वस्तुभाउका लागि पराल पनि भण्डारण गर्नुप¥यो । अहिले तिहारमा भुलेमा खेतमै धान सकिन्छ ।”      उहाँ भाइटीकाको एक दिन मात्रै रमाइलो गर्नेगरी परिवार काममा जुटेका बताउनुहुन्छ । “चार बिघा खेत काटिसक्यौँ, अहिले धान दाउने ९थ्रेसिङ० गर्ने र धान र पराल भण्डारणको काम चलिरहेको छ”, उहाँले भन्नुभयो, “बढी भएको धान बिक्री गरेर हिउँदे खेतीका लागि आवश्यक मल, बीउको जोहोसमेत गर्न आवश्यक छ ।”     धान तयारी भएका बेला मौसम प्रतिकूलताले दसँैपछि मात्र धान कटानी थालेका किसानहरु अहिले दीपावलीमा धान कटाइसँगै भित्र्याउनमा व्यस्त रहेका छन् । दीपावली लागे पनि किसानलाई खासै नछोएको टीकापुर बनगाउँका किसान मानबहादुर चौधरीले बताउनुभयो । “धान भित्र्याउने कि तिहार मनाउने, अन्न भित्र्याउँदा वर्षभरि खान पाइएला”, उहाँले भन्नुभयो, “अहिले धान नभित्र्याए भोकमरी हुने जोखिम छ । अधिकांशको धानबाली बाढीले सक्यो, बचेका किसानहरु खेतमा छौँ ।”     गत वर्ष धान भित्र्याउने बेला आएको बाढीले किसानको धान बालीमा नोक्सानी गरेको हुनाले यस वर्ष किसानहरु दीपावली पर्व नमानेर खेतमा छन् । वर्षदिनका लागि आवश्यक अन्न भएकाले समयमा धान बाली भित्र्याउन नपाए खाद्यान्नको सङ्कट आउन सक्ने भएकाले दीपावलीमा पनि खेतमा काम गरिरहेको राजकुमारी चौधरीले  बताउनुभयो । “गत वर्ष बाढीले सबै धान बगायो, यस वर्ष पनि केही किसानको बाला छैन, हाम्रो जोगिएको धान स्याहार्न थालेका छौँ, यो मौसमको भर छैन”, उहाँले भन्नुभयो, “धान पनि काट्न ढिला भएकाले खेतमै झर्न थालेको छ ।”     चाडपर्व सबैका लागि रमाइलो र महत्वपूर्ण हुन्छ । वर्षदिनमा आउने पर्व र खेती उस्तै हुन्छ । तर पर्व लागे पनि मुख्य दिनबाहेक अन्य दिनमा खेतमा काम गर्दा केही फरक नपर्ने किसानको भनाइ छ । भाइटीकाको एक दिन दीपावली भव्यरुपमा मनाउने तयारी भइरहेको तर अन्य दिनमा खेतमा काम गर्नुपर्ने भएकाले काम गरिरहेका किसान सीता चौधरीले बताउनुभयो । “बल्लबल्ल बाढीबाट बच्यौँ, धान नस्याहारे के खानु, अब तिहारभन्दा पनि धान स्याहारेमा वर्षभरि पेट भोको रहँदैन”, उहाँले भन्नुभयो, “सबै परिवार, हाम्रा छिमेकीहरु पनि खेतमै छौँ, तिहारमा देउसीभैलो खेल्नेहरु आउँछन् भनी एक÷एकजना घरमा बस्ने अरू सबै खेतमा पस्ने गरेका छौँ ।”  गत असोजको अन्तिम बाढीले यहाँ धानबालीमा क्षति पुगाएको छ । बाढीले टीकापुरमा करिब २० प्रतिशत धानबाली नोक्सान भएको पालिकाले जनाएको छ ।