आजदेखि धरहरा चढ्न पैसा लाग्ने भएको छ । सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ ।   विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहु...

  मुगु । मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाही भन्नुभयो, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो , अहिले स्याउले बजार नै पाएन ,  स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।”      यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुसी थिए । उहाँले भन्नुभयो, “छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु ,  यसवर्ष स्याउ उत्पादन बढेको छ तर बजार पाउन समस्या परेको छ ।” स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उहाँले आग्रह समेत गर्नुभयो ।  

  दोधारा चाँदनी । महाकालीपारिको गाउँ भनेर चिनिने कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विकास निर्माणले गति लिएको छ ।   कुनै बेला टुकी बालेर जङ्गली जनावर र बाढीको त्रासमा रहेका यहाँका बासिन्दाले स्थानीयतह आएपछि यहाँ सरकार भएको महसुस गर्न पाएको बताउँछन् । विसं २०२१ देखि दोधारा चाँदनीमा बस्दै आउनुभएका ७० वर्षीय धीरबहादुर कठायतले विगतको तुलनामा अहिले धेरै विकास भएको बताउनुभयो । “उतिबेला न बिजुली थियो, न सडक नै महेन्द्रनगर जान पनि भारतको बाटो शारदा ब्यारेज भएर जानुपथ्र्यो”, उहाँले विगत सम्झिँदै भन्नुभयो, “बर्खामा बाढी, जङ्गली जनावर तथा कतिपय अवस्थामा डाकाहरू लुटपाट गर्न आउँने डर हुन्थ्यो ।”   उहाँले २०७४ को निर्वाचनपछि मात्रै दोधारा चाँदनीले बिजुली बत्ती देख्न पाएको बताउनुभयो । “यहाँका बडुवाल टोल र कुतियाकवर अन्धकारमा थिए”, उहाँले भन्नुभयो, “अहिले सबै बस्तीमा बिजुली पुगेको छ, सडकले छोएको छ ।” कञ्चनपुरको दोधारा चाँदनीलाई महेन्द्रनगर सदरमुकासँग जोड्न विसं २०६१ मा महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि मात्रै दोधारा चाँदनी नेपालसँग जोडिएको हो ।   त्यसअघि दोधारा चाँदनी पुग्न भारतको बाटो भएर महेन्द्रनगर आउनुपर्र्ने बाध्यता रहेको थियो । दोधारा चाँदनी–३ बडुवाल टोलका मनि क्षेत्रीले पहिलाको तुलनामा अहिले धेरै सहज भएको बताउनुभयो ।“पहिला गाउँमा हात्ती पस्थे, भागौं भनेपनि उज्यालो थिएन”, उहाँले भन्नुभयो, “अहिले बिजुली बत्ती र सडक पुगेको छ यसले धेरै सहज भएको छ ।”   विसं २०२३ देखि यहाँ बसोबास गरिराख्नुभएका उहाँले स्थानीय सरकार आएपछि जोगबुढा नदीमा बनेको तटबन्धले बाढीको त्रास हटेको बताउनुभयो ।  “पहिले त यहाँ नेपाली पैसासमेत चल्दैन थियो कारोबार भारतीय पैसामा हुन्थ्यो”, उहाँले भन्नुभयो, “किनमेल औषधोपचार सबै भारतबाट हुने गथ्र्यो ।”   दोधारा चाँदनी नगरपालिका–४ का सदस्य गगनबहादुर सिंहले स्थानीय सरकार गठन भएपछि दोधारा चाँदनीमा विकासले फड्को मारेको बताउनुभयो । “विगतको तुलनामा दोधारा चाँदनीमा धेरै विकास भएको छ सडक,बिजुलीबत्तीलगायतका सुविधा स्थानीय सरकार आएपछि बनेका हुन्”, उहाँले भन्नुभयो, “दोधारा चाँदनीमा बन्ने भनेको सुक्खा बन्दरगाह बने यहाँको कायापलट हुन्छ ।”    महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आएपछि  दोधारा चाँदनीको मुहार फेरिएको छ । पुलले यहाँका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ भने यहाँको व्यापार व्यवसायसमेत फष्टाएको स्थानीय बताउँछन् ।    दोधारा चाँदनी नगरपालिका–३ का अध्यक्ष हरिसिंह धनाडीले महाकाली नदीमा बनेको मोटरेबल पुलले दोधाराको मुहार नै परिवर्तन गरिदिएको बताउनुभयो । “हामीलाई सर–सामान ल्याउन धेरै समस्या हुन्थ्यो शारदा ब्यारेजमा भारतीयले गेट नखोल्ने, घण्टौँ कुर्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “महाकाली नदीमा बनेको पुलले दोधारावासीका सुखका दिन आएका छन् ।”   दोधारा चाँदनी नगरपालिकाले पनि पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ । नगरपालिकाले सबै वडालाई सडक सञ्जालले जोडेको छ । गत आर्थिक वर्षमा नगरपालिकाले दुई हजार दुई सय ९१ मिटर सडक कालोपत्रे गरेको छ भने नौ हजार चार सय ४० मिटर सडक ग्राभेल गरेको छ । नगरप्रमुख किशोर लिम्बूले पूर्वाधार विकासलाई नगरपालिकाले मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । “सडक, शिक्षा स्वास्थ्य र कृषि नै हाम्रो प्रमुख प्राथमीकतामा छ”, उहाँले भन्नुभयो, “अहिले नयाँ बाटा खोल्ने र सडक कालोपत्र गर्ने काम भइरहेका छन् ।” उहाँले नगरपालिकाकालाई समृद्ध नगर बनाउन आफू प्रतिबद्ध भएर काम गरिरहेको बताउनुभयो ।   “नगरपालिकाको आन्तरिक आम्दानी न्यून छ, यहाँको बजेटले मात्रै यहाँको विकासका लागि पुग्दैन”, उहाँले भन्नुभयो, “प्रदेश र केन्द्र सरकारले पनि सहयोग गरेमात्रै यहाँको विकास गर्न सहज हुन्छ ।” उहाँले केन्द्र सरकार र प्रदेश सरकारसँग बजेट माग गरेको बताउनुभयो ।   कुल क्षेत्रफल ५६.८ वर्गकिलोमिटर फैलिएको यो नगरपालिकालाई टापुको बस्ती भनेर पनि चिनिन्छ । तीनतर्फ जोगबुढा नदी र एकातर्फ महाकाली नदीले घेरेको यो नगरपालिका भारतको उत्तराखण्ड र उत्तरप्रदेशसँग सीमा जोडिएको छ ।यहाँ मुख्यरूपमा मकै,धान,गहुँ,मसुर,तोरी,उखुखेती हुने गरेको छ । यहाँका अधिकांश मानिसको आयस्तर कम भएकाले रोजगारीका लागि भारत जाने गरेका छन् ।

  बागलुङ । अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका–७ स्थित लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका तीन सय ५० परिवार बिजुलीबिहीन अवस्थामा छन् । भुजीखोला लघुजलविद्युत् आयोजना बन्द भएको छ ।   एक सय किलोवाट क्षमताको सो आयोजनाको कुलो बग्दा ढोरपाटन नगरपालिका–७ का तीन सय ५० परिवार बिजुलीबाट वञ्चित भएका छन् । अन्धकारमा बस्नुपर्दा उनीहरूको दैनिकी कष्टकर भएको छ । “बिजुली नभएपछि बालबालिकाले पढ्न लेख्न पाएका छैनन्, गृहकार्य  पनि अँध्यारो नहुँदै सकाउनु परेको छ”, ज्ञानोदय माविका प्रधानाध्यापक यामबहादुर कायतले भन्नुभयो, “मोबाइलसमेत चार्ज गर्न सकिएको छैन ।” चाडपर्वका बेला देश–विदेशमा बसेका आफन्तलाई सम्पर्क गर्नसमेत नसकिएको उहाँले गुनासो गर्नुभयो ।   ढोरपाटन नगरपालिकाको वडा नं ५, ६, ७, ८ र ९ मा अहिले पनि राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन । गाउँलेकै चन्दाका भरमा एक दशकअघि बनेको उक्त लघुविद्युत् आयोजनाका भरमा स्थानीयले कुटानी, पिसानी तथा विद्यालयमा कम्प्युटर कक्षा चलाएका थिए । “भत्के–बिग्रेको काम पनि चन्दा उठाएरै गरिरहेका थियौँ, अहिले त पहिरो खसेर बर्बादै बनायो”, नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले भन्नुभयोे, “चाडपर्वमा बत्ती नभए कसरी खुसी हुने रु” कायतले स्थानीय युवाहरू परिचालन गरेर अस्थायीरूपमा पानी चलाउने प्रयास भएको बताउनुभयो ।   भुजीखोलाबाट निकालिएको बिजुलीको झण्डै २० मिटर कुलो पहिराले बगाएको छ । बगेको पहिरो तीन सय मिटर उचाइको छ । भिरमा गएर काम गर्न कठिन भएपछि स्थानीयले जस्तापाता र पाइपबाट पानी कटाएर कुलो चलाउने प्रयास गरिरहेका छन् । दिगो व्यवस्थापनका लागि भने स्थानीयले नगरपालिकासँग सहयोग मागेका छन् । वर्षात् नरोकिएकाले तत्काल दिगो व्यवस्थापन गर्न नसकिने अवस्था देखिएको उहाँले बताउनुभयो ।    “पहिरो अझै खस्नेजस्तो छ, मौसम ठिक भएपछि मात्रै बनाउने योेजना छ”, कायतले भन्नुभयो, “अस्थायीरूपमा पानी चलाउन पनि रु १० लाखभन्दा बढी खर्च हुने अवस्था छ ।” तीन वर्षअघि भुजीखोलाको बाढीले मुहान बगाएको थियो । मर्मत गरेर चलाएको कुलोको बीच भागमा खसेको पहिराले फेरि विद्युत् अवरुद्ध भएको हो ।

 टीकापुर ।  गत शनिबार गएको बाढीले कैलालीमा ठूलो क्षति भएको छ । बाढीका कारण मानवीय क्षति, धनजनको क्षतिमात्र नभई कृषि तथा पशुपालनतर्फ समेत ठूलो क्षति पुगेको छ । कैलालीको भजनी नगरपालिकामा व्यावसायिकरूपमा माछापालन गरिरहेका किसान पोखरीका सबै माछा बगेपछि मारमा परेका छन् ।    भजनीमा करिब ४० किसानले व्यावसायिकरूपमा माछापालन गरेका छन् । सबै किसानका पोखरीका माछा बाढीमा बगेका छन् । भजनीका दीपक चौधरीले पोखरीमा १० हजार माछा पाल्नुभएको थियो । माछा हालेको छ महिना भइसकेको थियो । माछा आधा किलोदेखि एक किलोसम्मका थिए । “माछा तयार भइसकेकाले दशैँमा बेच्ने तयारी थियो”, उहाँले भन्नुभयो, “आम्दानी लिने बेलामा बाढीले सखाप पार्यो, माछाका भुरामा लगानी, दानापानी, दैनिकको लगानी खेर गयो । यही व्यवसायले जीवन चलेको थियो, हामी त बर्बाद भयौँ ।”   चौधरीका माछासँगै बङ्गुरसमेत बगेका छन् । उहाँका बङ्गुरका १२ बच्चा र दुई माउ बाढीमा बगेका छन् । “कृषिकर्म गरेर जीवन चलाउन भने पनि बाँच्न सक्ने अवस्था रहेन”, उहाँले पीडा सुनाउनुभयो, “न धानखेती बाँकी रह्यो, पालेका माछा बगे, बङ्गुर पनि बगे, अब के गर्ने केही सोच्न सकिएको छैन ।”   बाढी आएपछि भजनी–८ थापापुरका पुरनकुमार चौधरीका पनि एक हजार छ सय माछा बगेका छन् । पुरनकुमारको पोखरीमा सात महिनाका माछा थिए । उहाँले पनि दशैँ–तिहारमा माछा बेच्ने तयारी गर्नुभएको थियो । “दशैँमा बेचेर आम्दानी लिने तयारी थियो, सबै बगेर गए”, उहाँले भन्नुभयो, “लाखौँको क्षति भयो ।”   भजनीकै सन्तोष शाहका पनि पाँच हजार माछा बगेका छन् । उहाँले रु ६० हजारका माछाका भुरामात्रै हाल्नुभएको थियो । उहाँको पोखरीमा आधा किलोसम्मका माछा भएका थिए । “माछा दशैँ–तिहारमा बजारमा पठाउने तयारीमा थियौँ, लगानी जति सबै भइसकेको थियो, उत्पादन बजार पठाउने र आम्दानी लिनेबेला ब्रजपात प¥यो”, सन्तोषले भन्नुभयो, “विपद्ले पनि किसानलाई बढी पीडा दिने रहेछ । न माछा रहे, फुलिरहेको धानखेती पनि रहेन, अब कसलाई के भन्नु रु”   भजनी नगरपालिकाका पशु शाखा प्रमुख हरिलाल जैसीले माछापालनतर्फ कति क्षति भयो भन्ने पूर्ण विवरण आउन समय लाग्ने बताउनुभयो । “अहिलेसम्म सात जना पोखरी किसानले पालिकामा निवेदन दिनुभएको छ”, उहाँले भन्नुभयो, “पालिकाभरि ४० भन्दा बढी पोखरीमा व्यावसायिकरूपमा माछापालनमा लाग्नुभएका किसान हुनुहुन्छ । सबैको क्षति भएको खबर छ”, उहाँले भन्नुभयो, “एउटै किसानले चार कठ्ठादेखि दुई बिघा जमिनसम्ममा माछा पाल्नुभएको छ ।”   बाढीले कैलालीमा ठूलै धनजनको क्षति गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्याङ्कअनुसार जिल्लामा ११ हजार तीन सय ९४ घरधुरी प्रभावित छन् । बाढीले बढी क्षति भएको भजनीमा सात हजार ७६ घरपरिवार प्रभावित छन् । भजनीमा तीन हजार ३२ घरधुरी विस्थापित छन् । विस्थापित भएकाहरू हुलाकी सडकमा बसिरहेका छन् । त्यस्तै जोशीपुर गाउँपालिका बाढी तथा डुबानबाट एक हजार दुई सय ३६ परिवार विस्थापित भएका छन् । टीकापुर नगरपालिकामा सात सय ५५ घरपरिवार प्रभावित भएको तथ्याङ्क छ । बाढीले टीकापुर नगरपालिकाका ५, ६, ७, ८, ९ नं वडा सबैभन्दा बढी प्रभावित भएका पालिकाले जनाएको छ ।   जानकी गाउँपालिकामा दुई सय परिवार, कैलारीमा एक सय ७५, लम्कीमा एक सय ४५, गोदावरीमा एक, धनगढीमा १४ घरपरिवार विस्थापित भएका छन् । बाढीबाट भएको क्षतिको सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले निरीक्षण गर्नुभएको छ । मन्त्रीले टीकापुर, भजनी, जोशीपुरलगायतका क्षेत्रमा निरीक्षण गर्नुभएको हो । वडा नं ६ लगायतका ठाउँमा राहत वितरणसमेत गर्नुभएको छ । 

  सिन्धुपाल्चोक:  सिन्धुपाल्चोकका चौँरीपालक किसान बीमा र अनुदानको कार्यक्रमले उत्साहित भएका छन् । जिल्लामा लोप हुने अवस्थामा रहेको चौँरी भोटेकोसी गाउँपालिकाको लिस्ती, फुल्पिङकट्टी र मार्मिङका बासिन्दाका लागि भने आम्दानीको दरिलो माध्यम बनेको छ ।    परम्परागतरूपमा पालिने चौँरीलाई व्यावसायिक रूप दिएपछि स्थानीयवासीले चौँरी लोप हुन नदिन अभियान नै सञ्चालन गरेका छन् । लिस्तीमाथि छगाम बगामको चौँरीखर्कमा ६० चौँरी थपिएका छन् । एशियन नेपाल र सेन्डाकले संयुक्तरूपमा चौँरीपालक किसानलाई रु ५३ लाख अनुदान दिएको छ । साठी चौँरीका लागि रु ३३ लाख र खानेपानीसहित अन्य व्यवस्थापनका लागि रु २० लाख अनुदान उपलब्ध भएको हो ।    स्थानीय निमा शेर्पाका अनुसार चौँरीबाट उत्पादित दूधजन्य सामग्रीको बजारीकरणका लागि लेकाली खर्कमै सङ्कलन केन्द्र स्थापना गरिएको छ । किसानको उत्साहलाई ध्यानमा राख्दै गाउँपालिकाले प्रत्येक किसानको गोठमा रहेका चौँरीको बीमा र औषधोपचारको जिम्मा लिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताउनुभयो । चौँरीखर्कको व्यवस्थापन र उत्पादित सामग्रीको बजारीकरणका लागि स्थापना गरिएको चौँरी संरक्षण समितिले कुल आम्दानीको ६० प्रतिशत किसानलाई र ४० प्रतिशत कोषमा राखेर पुनः किसानकै लागि शेयरमा परिणत गर्ने योजना बनाएको छ ।     परम्परागतरूपमा चौँरीपालन गर्दै आएका जुगल गाउँपालिकाका किसान बीमाको कार्यक्रम लागू भएपछि खुसी भएका छन् । महँगो मूल्य पर्ने चौँरी मर्दा पूरै नोक्सानी व्यहोर्दै आएका किसानले अहिले बीमावापतको रकम पाउने भएका छन् । जुगल गाउँपालिकाले किसानलाई सहुलियतमा चौँरीको बीमा गरिदिएपछि चौँरीपालक किसानको सङ्ख्यासमेत बढ्न थालेको शेर्पाले बताउनुभयो । चौँरीको दूधबाट नौनी, घ्यू र छुर्पी उत्पादन हुन्छ । एउटै गोठमा ५० भन्दा बढी चौँरी पाल्ने किसानको उत्पादन खरिद गर्न व्यापारी खर्कमै पुग्ने गरेका छन् । 

  कञ्चनपुर । कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा रौतहट घर भइ कैलालीको अत्तरिया  बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय राजकिशोर साह र २७ वर्षीय विकासकुमार साह रहेका छन् ।    “बच्चा चोर्न लागेको भन्दै गाउँलेले चारै जनालाई घेरा हालेका रहेछन्, हामीलाई खबर गरेपछि नियन्त्रणमा लिएका हौँ”, उहाँले भन्नुभयो । पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । शुक्लाफाँटा–८ का छ वर्षीय बालकलाई मिठाई दिएर ललाइफकाई जङ्गलतर्फ लैजान खोज्दा चारैजनालाई घेरा हाली नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् । 

  बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–१ का १९ वर्षीय दीपक विक १९ दिनदेखि बेपत्ता हुनुभएको छ । गत भदौ १६ गते घरबाट निस्किनुभएका उहाँ अहिलेसम्म परिवार तथा आफन्तको सम्पर्कमा आउनुभएको छैन ।     परिवारको सम्पर्कमा नआएपछि विकका बुबा दुर्गाबहादुरले भदौ १७ गते  खोजतलासका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा निवेदन दिनुभएको थियो । प्रहरीले उहाँको खोजतलास जारी राखिको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो । विकको खोजतलासमा ढिलाइ भएको गुनासो गरेको छ ।

  पोखरा । स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला प्रवल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् । राष्ट्रपतिबाट संविधान दिवसको दिन प्रदान गरिने सो पदकबाट उनी सम्मानित भएका हुन् ।   आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक समेत रहेका बास्तोला पत्रकारितामा विगत ४२ वर्षदेखि निरन्तर क्रियाशील छन् ।    यसअघि उनी प्रजातन्त्र सेनानीको नाउँमा स्थापित दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार, हिमदूत पत्रकारिता पुरस्कार, रोयल सहकारी पत्रकारिता पुरस्कार, इर्खबहादुर श्रीप्रभा गुरुङ स्मृति पुरस्कार र गंगा–ज्योति स्मृति पुरस्कारबाट सम्मानित भएका थिए ।    उनका चार वटा मौलिक कृति तथा छ वटा सम्पादित कृति प्रकाशित छन् ।   

  पोखरा । पोखरामा मंगलबारबाट प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डककीको संयोजनामा सुरु भएको तालिम असोज ५ गते बुधबार सम्म चल्नेछ । गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ लाई लक्षित गरेर यो तालिम आयोजना भएको हो ।   तालिमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले तालिमले खेल पत्रकारितामा रुचि राख्ने पत्रकारको दक्षता अभिवृद्धि हुने बताए । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्र्तगत खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका गुरुङले खेलकुद क्षेत्रमा भएका विकृति विसंगतीको बारेमा उजागर गर्न समेत पत्रकार समक्ष आग्रह गरे । प्राविधिक कारण तय भएका केही ठाउँको खेल स्थल परिवर्तन हुन सक्ने संकेत गरे । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य स्थल पोखरा रंगशालामा रहेका संरचनालाई मर्मत तथा स्तरउन्नती गर्नको लागि पर्याप्त बजेट नछुट्याइएको गुनासो गुरुङले गरे । पर्याप्त बजेट नहुँदा काम गर्न समस्या भएको उनको भनाई थियो ।   प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुद पत्रकार मञ्च गण्डकीसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्बन्धी गतिविधिलाई आम सर्वसाधरणमाझ पु¥याउन सञ्चारकर्मीबाट निरन्तर साथ पाउने विश्वास उनको थियो ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठक, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर वानिया, नेपाल पत्रकार महासंघ मनाङका अध्यक्ष नविन लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल लगायतले बोलेका थिए ।   तालिममा गण्डकी प्रदेशमा कार्यरत खेल पत्रकारितामा रुचि राख्ने झण्डै ७० जना पत्रकारको सहभागीता रहेको  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले बताए । पौडेलका अनुसार पहिलो दिनमा कुल १३ जना प्रशिक्षकले प्रशिक्षण दिए । यसरी प्रशिक्षण प्रदान गर्नेमा योगेन्द्र शेरचन, पुनम गुरुङ, बिशाल कुँवर, सन्दिप बराल, मोहन गुरुङ, गोपाल श्रेष्ठ, रिजन प्रजु, राजन बडगामी, रामकृष्ण ज्ञवाली, राम गुरुङ, निरज थापा, प्रियंका बर्मा र योगेश भट्टराई रहेका छन् ।   राष्ट्रिख खेलकुद परिषदको आयोजना भएको तालिमा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गरेको छ । यसैगरी कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, मादि गाउँपालिका, रुपा गाउँपालिका, अन्न्पूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका,  केटिएम सिटी, वरपिपल रिर्सोट लगायतको सहयोग तालिममा रहेको छ ।   नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कार्तिक ३ गतेसम्म हुँदैछ । सोही प्रतियोगितामा समावेश गरिएका ३६ खेलहरुको समाचार लेखनमा सहज पु¥याउने उद्धेश्यले तालिम आयोजना भएको तालिम संयोजक समेत रहेका नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले बताए ।