काठमाडौं । मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ । मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन बदली र वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मनसुन बाहिरिएसँगै पश्चिमी वायुहरू सक्रिय हुन्छन् आज र भोलि धेरै नै सक्रिय छन् जसले गर्दा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बदली गराएर पहाडी भू–भागमा हल्का वर्षा गराउने सम्भावना रहेको छ ।” पश्चिमी वायुसँगै चिसो पनि आउने भएकाले अबका दिनमा क्रमशः चिसो बढ्दै जाने मौसमविद् भट्टराईको भनाइ छ । यस वर्षको मनसुन गत शनिबारबाट नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेस प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको थियो । बाँकी प्रदेश नं १ को मनसुन पनि आइतबार बाहिरिएको छ । अहिले नेपालबाट मनसुन पूर्णरूपमा बाहिरिसकेको महाशाखाले जनाएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भू–भाग भएर नेपालमा मनसुन प्रवेश गरेको थियो । नेपालमा मनसुन बाहिरिएपछि पछिल्ला दिनमा देशैभरको मौसम सफा रहेको छ । मौसम खुलेपछि राजधानी काठमाडौँबाट उत्तरी भेगमा देखिन हिमशृङ्खला र हरिय डाँडाको मनमोहक दृश्यले शरद ऋतृमा रौनक थपिएको छ । तीन दिनयता खुलेको मौसममा क्यामेरामा कैद गरिएका मनोरम दृश्यले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाएको छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशैभरको मौसम सामान्यतया सफा रहेको छ । अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा गण्डकी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । आज काठमाडौँको न्यूनतम १२ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।
बागलुङ । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–७ स्थित नरसिंहकोटमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्लाको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजारको शिरमा रहेको नरसिंहकोटमा सडक सञ्जाल र पदमार्गले जोडेपछि दैनिक सयौँ आन्तरिक पर्यटक यहाँ पुग्न थालेका हुन् । निसीखोलाकै सबैभन्दा महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल नरसिंहकोटमा गाउँपालिकाले पूर्वाधार निर्माणसँगै पर्यटकलाई आकर्षण गर्ने संरचना बनाएको छ । स्थानीय सरकार आएपछि यसको मुहार फेरिँदै गएको स्थानीयवासी बताउँछन् । अहिले दैनिक दुई सय पर्यटक यहाँ आउने गरेका छन् । घुमाघाम र रमाइलो गर्नका लागि अति उपयुक्त मानिने नरसिंहकोट पौराणिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । बाइसे चौबिसे राज्य रहेको बेला राजा शासन गरेको यस ठाउँमा अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । जनप्रतिनिधि आउनु पूर्व आजापूजा मात्र गर्ने यो ठाउँ अहिले आन्तरिक पर्यटक घुम्ने केन्द्रको रुपमा विकास भएको निसीखोला गाउँपालिका–७ का वडाअध्यक्ष दीपक कुँवर बताउनु हुन्छ । गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसारलाई प्राथमिकता दिएपछि आन्तरिक पर्यटक बढ्न थालेको उहाँको भनाइ छ । अध्यक्ष कुँवरले केही वर्ष अगाडिसम्म सुनसान रहेको नरसिंहकोट पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढन थालेपछि चहलपहल पनि बढ्न थालेको बताउनुहुन्छ । खासगरी यहाँ बिदाको दिन बढी मान्छे घुम्न आउने गरेको उहाँको भनाइ छ । अध्यक्ष कुँवरले बाहिरबाट घुम्न आउने आगन्तुकका लागि खानेपानी, शौचालय लगायतका पूर्वाधार आफूहरुले निर्माण गरिसकेको भन्दै अब थप संरचना बनाउने योजना रहेको उहाँको भनाइ छ । यहाँसम्म आएको सडकलाई स्तरोन्नतिसमेत गर्ने योजना बनाएको उहाँले बताउनुभयो । “अहिले सडककच्ची छ, कच्ची सकडमा आउँदा पर्यटकलाई समस्या पर्ने गरेको छ, केही वर्षमै यसको स्तरोन्नति गर्ने योजना छ, पदमार्ग पनि व्यवस्थित बनेको छ, खानोपानी र शौचालय पनि निर्माण भइसकेको हुँदा पर्यटकलाई समस्या छैन”,उहाँले भन्नुभयो,“पछिल्लो समय बिदाको दिन यो ठाउँ बुर्तिबाङ बजारका व्यापारी तथा कर्मचारीको थकाइ मार्ने चौतारी जस्तै बनेको छ ।” तत्कालीन बाइसे–चौबिसे राज्य हुँदा भूरे राजाले राज गरेको यो ठाउँ निकै मनोरम छ । करिब दुई हजार मिटरको उचाइमा रहेको नरसिंहकोटदेखि धौलागिरि, माछापुछ्रै, अन्नपूर्ण लगायतका दर्जनौँ हिमशृङ्खलासँगै बागलुङको विभिन्न स्थान, गुल्मी, प्यूठान, रोल्पा, रुकुम, पर्वत, स्याङ्जा, अर्घाखाँचीलगायतका स्थानीयवासीसमेत देख्न सकिन्छ । गुल्मीदेखि घुम्न आउनुभएका निकेश शर्माले नरसिंहकोट निकै रमणीय रहेको बताउनुभयो । उहाँले गाउँबाट धेरै मान्छे यहाँ घुम्न र पूजागर्न आएको हुँदा आफू पनि उनीहरुसँगै आएको बताउनुभयो । शर्माले यो ठाउँ निकै पर्यटकीय हिसाबले निकै सम्भावना बोकेकोे भन्दै यहाँसम्म आउने सडक राम्रो भए धेरै मान्छे घुम्न आउन सक्ने बताउनुहुन्छ । राष्ट्रिय प्राथमिताको योजना साल झण्डीढोरपाटन सडकले जोडिएको नरसिंहकोटमा तराई क्षेत्रसँगै भारतका पर्यटक पनि भित्र्याउन सकिने भावना देखिन्छ । यो सडकको गुल्मीखण्डसम्म तीव्र रुपमा काम भए पनि बागलुङ खण्डमा हुनसकेको छैन ।
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत बुधबार दोहोरी गीत प्रर्दशन गरिने भएको छ । पोखरा रंगशालाको बास्केटवल कोर्टमा बुधबार दिउँसो ३ः०० बजेदेखि दोहोरी गीत प्रदर्शन गरिने राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका सचिव जीवन दाहालले जानकारी दिए । उनका अनुसार दोहोरी गीत कार्यक्रम साँझ ८ बजेसम्म जारी रहनेछ । दोहोरी गीत प्रदर्शन कार्यक्रममा राष्ट्रिय, प्रदेश र जिल्ला स्तरका कलाकारहरुले नेपाली मौलिकपन झल्किने दोहोरी गीत प्रस्तुत गर्ने सचिव दाहालले जानकारी दिए ।
पोखरा : नेपाल आदिवासी जनजाती महासंघका पूर्वमहासचिव तथा मानवशान्त्री डा.. ओम गुरुङको आज (सोमबार) निधन भएको छ । बागलुङको ताराखोला गाउँपालिका १ घर भएका गुरुङको ललितपुरको हिरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा मृत्यु भएको हो । नेपाल आदिवासी जनजाती महासंघका पूर्वमहासचिव तथा मानवशास्त्री डा.ओम गुरुङको ६८ वर्षको उमेरमा मृत्यु भएको ताराखोला गाउँपालिका १ का वडा सदस्य गौरीमाया गुरुङले जानकारी दिए । ‘डा. गुरुङको केही वर्षपहिले मृगौलाको उपचार गरिएको थियो’ उनले भनिन्, ‘अहिले क्यान्सर पनि देखिएको छ भनेर उपचार गर्नुभएको थियो । अचानक आज उहाँको मृत्यु भएको खबर पायौं । यसले हामी सबैलाई दखित तुल्याएको छ ।’ वडा सदस्य गुरुङका अनुसार डा। गुरुङको आज (सोमबार) गुरुङको १ बजेर ४५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको थियो । २०११ सालमा जन्मिएका गुरुङले त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गरेका थिए भने १२ वर्षसम्म समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख भएका थिए । १९९६ मा गुरुङले अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधी गरेका थिए । गुरुङको श्रीमती, १ छोरा र २ छोरी छन् ।
भादगाउँ । तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मीपूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी अनिवार्य चाहिन्छ । लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन होस या पसल, कार्यालय, व्यावसायिकस्थल सिंगार्न तिहारमा सयपत्री फूलको माग उच्च हुने गर्दछ । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले अहिलेदेखि नै कामदार राखेर फूल टिप्ने गरेको भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वागेश्वरीमा व्यावसायिकरुपमा पुष्पखेती गर्दै आएका युशव मताङ्गीले बताउनुभयो । उहाँले भन्नुभयो, “गएको वर्षमा भन्दा यसपाली फूलको माग बढी छ, तिहार आउन हप्ता दिनमात्र बाँकी छ, मागअनुसार बजारमा फुल पठाउन सकेको छैन, यसपाली बेमौसमी वर्षाले फूलखेतीमा धेरै क्षति पुगेको छ, त्यही भएर उत्पादन भएका फूलहरु समयमै टिपेर माला उनेर काठमाडौँ पठाएको हो ।” तिहारमा लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा सयपत्री फूलको मालाले सजाएर दियो बाली झिलीमिली पार्ने परम्परा रहेको छ । तिहारमा नेवार समुदायले धनकी देवी लक्ष्मीको पूजा गर्दा लक्ष्मीलाई घरमा भित्र्याउन पालाको दियो राख्ने स्थानमा सयपत्री फूल, मखमली, गोदावरीलगायत पञ्चरङ्गीन फूलको टुक्रा, ताय, जुङ्गेधान र अबिर आसन राखेपछि मात्र दियो बाल्ने परम्परा रहेको छ । भक्तपुरको गुण्डु र ताथलीलाई मखमली, सयपत्री, गोदावरीलगायतका फूलको गाउँ भनिए पनि पछिल्लो समय भक्तपुरका चारै नगरपालिकामा व्यावसायिकरुपमा पुष्प व्यवसाय गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । केही वर्ष पहिला तिहारका लागि भक्तपुरको बजारमा गुण्डु र ताथलीबाट मात्र फूल बेच्नका लागि आउँथे । अहिले यी दुई ठाउँका मात्र सीमित नभएर चारै नपाका विभिन्न ठाउँबाट बजारमा फूल बेच्ने व्यवसायीले बजार ओगटेको अर्को व्यवसायी श्रीमाया वनमाला बताउनुहुन्छ । पुख्र्यौली पेशा नै फूल व्यवसाय गर्दै आउनुभएका वनमालाले पछिल्लो समय तिहारमा आधुनिक फूलको मालाभन्दा सयपत्री फूलको मालाकै माग बढी रहेको बताउनुभयो । तिहारमा प्लाष्टिक र कपडाका रङ्गीचङ्गी फूलभन्दा किसानले उत्पादन गरेका सयपत्री र गोदावरी फूलको प्रयोग अत्यधिक हुने भएकाले माग झन झन बढ्दै गएको वनामाला बताउनुहुन्छ । “विभिन्न आधुनिक प्लाष्टिक र कपडाका रङ्गीन फूलभन्दा हामीले उत्पादन गरेका फूल चोखो, पवित्र र सुन्दर हुनुका साथै सुकेपछि यसलाई बीउकारुपमा पुनःप्रयोग गरी फूलको बोट उत्पादन गर्न मिल्ने भएकाले यसले बजार लिएको हो”, वनमालाले भन्नुभयो । भक्तपुरका पुष्प व्यवसायीले अहिले तिहारका लागि मात्र नभएर विभिन्न भोजभतेर, सेमिनार, पुष्पगुच्छा र विवाहमा गाडी सजाउन मिल्ने बाह्रमहिना उत्पादन हुने जातका सयपत्री, गोदावरी, जरवेरा र कार्नेश फूलखेती गरेको देखिन्छ । भक्तपुरमा उत्पादन गरिएका फूल यहाँका बजारमा मात्र सीमित नभएर काठमाडौँका थोक व्यापारीलाई बिक्री गर्ने र त्यहीँबाट सहरका विभिन्न स्थानमा बिक्रीका लागि जाने गरेको छ । त्यसैगरी यहाँ उत्पादन गरेका अधिकांस सयपत्री फूल पशुपतिमा पठाउने व्यवसायी बताउँछन् ।
पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार खेलका क्रममा निधन भएका त्रिभुवन आर्मी क्लबका प्याराग्लाइडिङ खेलाडी निसिम थापा मगरको आज अन्त्येष्टी गरिएको छ । निसिमको रामघाटमा आज बिहान १० बजे अन्त्येष्टी गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागका निर्देशकले जानकारी दिए । उनलाई श्रद्धाञ्जली दिन राखेपका सदस्यसचिव, गण्डकी प्रदेश खेलकुद परिषद्का पदाधिकारी, राखेपका विभिन्न विभागको विभागिय प्रमुख लगायतको उपस्थिती भएका थिए । आइतबार पोखरा महानगरपालिका १८ स्थित सराङ्कोटमा क्रस कन्ट्री प्याराग्लाइडिङ भइरहेको थियो । त्यसै क्रममा आकाशमा उडिरहेको प्याराग्लाइडिङ करिब १०० मिटरमाथिबाट जमिनमा खसेको थियो । प्याराग्लाइडिङ उडाइरहेका निसिम गम्भिर घाइते भएका थिए । घाइते थापालाई थप उपचारका लागि पोखरा सिर्जन चोकस्थित मेट्रोसिटी अस्पतल ल्याइएको थियो । सोही अस्पतालमा करिब १२ः ४५ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यसैबीच निसिमको निधनमा श्रद्धाञ्जली प्रकट गर्न नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आजको सबै खेलअघि एक मिनेटको मौनधारण गरिएको थियो ।
पोखरा । पर्यटकीय नगरी पोखराले सञ्चालन गर्ने हरित यातायात प्रणाली विकास परियोजनालाई कोरियाले सहयोग गर्ने भएको छ । पोखराको यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवद्र्धन गर्ने विषयमा महानगर र कोरियाका विज्ञको टोलीबीच यहाँ भएको छलफलमा उक्त सहमति भएको हो । परियोजनाअन्तर्गत कोरियाले विभिन्न साझेदार संस्थाको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्ने जनाइएको छ । कोरियन टोलीले यस क्षेत्रको सार्वजनिक यातायात र रुट तथा पूर्वाधारका विषयमा स्थलगत अध्ययन गरेको टोली प्रमुख रेलमार्ग अनुसन्धान संस्थान कोरियाका परियोजना प्रबन्धक जियोन ह्यन किमले जानकारी दिनुभयो । “परियोजना अन्तर्गत पोखराका ८४ वटा बस रुटमा एक हजार दुई सय ८६ स्थानमा बस स्टप निर्माण गरिने छ”, उहाँले भन्नुभयो,“यस्तै तीन स्थानमा बस टर्मिनल निर्माण गरिने छ ।” जसका लागि पहिलो चरणमा १५ लाख डलर खर्च हुनेछ । यसको आधा रकम बस स्टप र बसमा मेसिन जडान गर्दा खर्च हुने टोली प्रमुख किले बताउनुभयो । पोखराको मुख्य पृथ्वीचोकलाई थप विस्तारसमेत गरिने परियोजनाको लक्ष्य छ । तीन चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा २०२५ सम्म सहरी यातायाता व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ । यस्तै दोस्रो चरण सन् २०३० सम्म दिगो हरित यातायात प्रणालीको विकास गरिने छ । विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना प्रविधि पोखरामा हुने किमले विश्वास दिलाउनु भएको छ । परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारी साधनहरुको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिने दुई पक्षबीच सहमति भएको छ । टोलीका अनुसार परियोजनाको अन्त्यसम्ममा पोखराको सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुने विश्वास लिइएको छ । सम्झौता अनुसार पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारेमा हरेक नागरिकले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । यात्रुलाई लामो समयसम्म बस कुर्नुपर्ने छैन भने चालकले समेत जथाभावी यात्रु चढाउन र ओराल्न पाउने छैनन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजनामार्फत पोखरामा बातावरणमैत्री यातायात प्रणालीको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्नुको साथै बसको प्रयोग गर्ने यात्रुको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुने बताउनुभयो । उहाँले कार्वन उत्सर्जन न्यूनीकरणका साथै सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुलाई सहजता पुग्ने उहाँको विश्वास छ ।
बागलुङ: बागलुङ ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु हुनुहुन्छ । उहाँले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो । दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आउनुभएको थियो तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्नुहुन्छ । मादल व्यवसाय सङ्कटमा परेपछि दर्जीले पेसा बदल्नुपरेको हो । बाउ, बाजे र दाइहरुबाट सिकेको सीपले उहाँलाई सात वर्ष अगाडिसम्म परिवार पाल्न सहज थियो । अहिले छोराहरु विदेश पलायन भए भने छोरीहरु बिहे गरी सके । उहाँले आफूसँग भएको सिप नबिकेपछि पेसा परिवर्तन गर्नुपरेको दुखेसो गर्नुभयो । उहाँ भन्नुहुन्छ, “मलाई पाँचा÷सात वर्ष पहिलेसम्म परिवार चलाउन समस्या थिएन, मादल बिक्री गरेरै नौ जनाको परिवार चलाएको थिए, छोराछोरी पढाएको थिए, अहिले दुई जनाको पेट पाल्न पनि अरु काम गर्नुपर्छ, मादल बिक्री हुँदैन, बिक्री नहुने काम किन गर्ने भनेर त्यो काम गर्नै छोडेँ, अहिले गिट्टी बालुवा कुटेर पेट पालेको छु ।” पहिले बाह्रौँ महिना मादलको माग बढ्ने गरेको र पछि–पछि चाडबाडको बेला ग्राहक आउने गरेको जनाउँदै अहिले मादल बिक्रीनै नहुने उहाँको भनाइ छ । उहाँले कुनै बेला आफूलाई मादल बनाउन भ्याइनभ्याइ हुनेको गरेको स्मरण गर्दै अहिले केही ग्राहक आएपछि आफूले पहिले बनाएर राखेका मादल बेच्ने गरेको बताउनुभयो । अहिले मादलको मूल्यसमेत घटेको दर्जी बताउनुहुन्छ । “मेरो पसलमा पहिले बाह्रैमास मादल किन्ने आउँथे, हरेक महिना कम्तीमा पनि १० वटा मादल बिक्री ग¥थ्यौँ, मलाई मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो, बिहान उठेदेखि रातिसम्म नसुतुन्जेलसम्म मादल बनाइरहन्थे कमाइ पनि राम्रो हुन्थ्यो, वर्षमा झण्डै रु पाँच लाख कमाइ गर्थे, मूल्य पनि राम्रै पथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले मादल किन्न बेला मौकामा एक÷दुई जना मान्छे आउँछन्, उनीहरुलाई पहिले बनाएको मादल दिएर पठाउँछु, पहिलेको जस्तो मूल्य पनि पर्दैन, मैले एउटा मादलको रु १२ सयदेखि पाँच हजारसम्ममा बेच्ने गर्थें ।” दर्जीले तिहारको बेला मादलको बढी माग हुने गरेको बताउनुभयो । गाउँ तथा सहरमा देउसीभैलो खेल्नेले मादल किन्ने गरेको भन्दै अहिले मादलको सट्टा ठूला–ठूलो साउण्ड सिस्टम किन्ने गरेको दर्जीको भनाइ छ । “तिहार आयो की मादल किन्नेको भीड लाग्थ्यो मेरो पसलमा, अहिले मादल किन्नभन्दा ठूला–ठूला स्पिकर किन्छन्, तिहारको गीत पनि गाउँदैनन्, कलाकारले गाएको गीत बजाएर नाच्ने गर्छन्, यसले त देउसीभैलो खेल्ने प्रचलनमा पनि विकृति ल्याएको छ”, उहाँले भन्नुभयो । निसीखोला गाउँपालिका–५ का कुलबहादुर नेपालीले पनि मादल व्यवसाय गरेको १४ वर्ष भयो । उहाँको पनि अचेल मादल कमै बिक्री हुन्छ । वार्षिक आठ सय बढी मादल बेच्ने नेपालीले अहिले ५० वटा पनि बिक्री गर्न नसकेको बताउनुभयो । पहिले आफ्नो पसलमा निसीखोलासँगै, ढोरपाटन, तमान, रोल्पा र रुकुमदेखि मादल किन्ने ग्राहक आउने गरेको स्मरण गर्दै अहिले पसल सुनासन रहेको बताउनुभयो । “चार वर्षौं भइसक्यो मादल निकै कम बिक्छन्, तिहार आउने बेला अलिअलि बिक्री त हुन्छ, यस बेला मात्रै मादल बेचेर दुई महिना पनि खान पुग्दैन, तिहारको बेला त मादल किन्ने ग्राहकको लाइन हुन्थ्यो, मादल पुराउनै सकिन्नथ्यो, अहिले हेर्नुस् त यति धेरै मादल बनाएँ, बिक्री नै हुँदैनन्” नेपालीले भन्नुभयो, “वर्षभरि मादल बनायो, बिक्री हुन्न, अब अरुनै काम गर्नुपर्ने भयो, अब यसबाट परिवार पाल्न सकिने भएन ।” नेपालीले सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको बताउनुभयो । उहाँले मादल मौलिकता र परम्परासँग जोडिएको बाजा भएको भन्दै आधुनिकताले मादल व्यवसाय पनि सङ्कटमा पर्न थालेको बताउनुहुन्छ । अहिले चाडबाड तथा मेला महोत्सवमा मादल, बाजा बज्नै छोडे र बाजाको ठाउँमा ठूलाठूला स्पिकर र साउण्ड सिस्टमको प्रयोग हुन थालेको नेपालीको भनाइ छ । “आजभन्दा १० वर्ष पहिले गाउँमा मादलको महत्व निकै थियो, मेला महोत्सव, विवाह व्रतबन्धमा मादल घन्किने गर्थे, विद्युत्को पहुँच थिएन, माइक, स्पिकर र राउण्ड सिस्टमको आएका थिएनन्, अहिले गाउँ–गाउँमा बिजुली बलेका छन्, बिजुली आएपछि मादलको माग घट्यो”, उहाँले भन्नुभयो, “अब मादल र बाजा हराउँदै जाने सम्भावना छ, मेला महोत्सवमा पनि बाजा र मादल बज्न छोडे ।” गाउँ–गाउँमा सूचना प्रविधिको पहुँच पुगेपछि मादल व्यवसायी विस्थापित हुने अवस्थामा पुगेपछि बजारमा विद्युतीय सामग्रीको माग बढी रहेको व्यवसायी बताउँछन् । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा विद्युतीय सामग्री बेच्दै आउनुभएका जीवन शर्माले पछिल्लो समय ठूला–ठूला साउण्ड सिस्टम र माइकको माग निकै बढेको बताउनुभयो । उहाँले पहिले–पहिले चाडबाडको समयमा मादलको बिक्री अत्यधिक हुने गरेकोमा अहिले मादल कम र साउण्ड सिस्टम धेरै बिक्री हुने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अहिले बजारमा साना–ठूला साउण्ड सिस्टमको माग निकै बढी रहेको छ, अझ यो तिहारको बेलामा त झन बढी माग हुने गरेको छ, पहिले–पहिले मादल बेच्ने व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो, अहिले उनीहरुको व्यवसाय सुक्दै गएको छ, अहिले त मेला महोत्सव जताततै साउण्ड सिस्टम घन्किन्छन्, मादल त बज्नै छोडे, केही वर्ष अगाडिसम्म त गाउँमा जाँदा मादल बाजा घन्किने गरेको पाइन्थ्यो, अहिले त जताततै साउण्ड सिस्टममा गीत मात्रै सुनिन्छन् ।”
चितवन । दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ । सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरु सडकमा जनता र देशका लागि सुरक्षा दिइरहेका हुन्छन् । यसरी खटिने प्रहरीले न शुक्रबारको आधा दिन मात्रै काम गरे पुग्छ, न बिदा र चाडपर्वमा अन्य कर्मचारीसरह बिदा पाउँछन् । यसो त अन्य समयमा पनि जुनसुकै बेला कामका लागि तयारी हुनुपर्दछ । परिवार सँगसँगै रहेर सेवा गर्ने मौका उनीहरुलाई कमै मात्र पाउँछन् । सरकार तलब भत्ता खुवाउने फौजीबाहेकका सबै कर्मचारीको भन्दा पृथक र कडाइका साथ उनीहरु खट्नु पर्छ । यसरी खट्दै गर्दा अन्यको भन्दा धेरै पारिश्रमिक पनि उनीहरुले पाउँदैनन् । थोरै पारिश्रमिकमा आफ्नो जीवनको उर्वर समय उनीहरुले राष्ट्रलाई दिइरहेका हुन्छन् । उनीहरुले पाउने पारिश्रमिक श्रमका आधारमा नगण्य हुने गर्दछ । घरपरिवारबाट टाढा रहेर रातदिन खट्ने प्रहरी जवानको पारिश्रमिक रु २६ हजार ८२ मात्रै रहेको छ । यो उनीहरुको परिश्रमको आधारमा न्यून हो । यही सङ्गठनले आज ६७ औँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । एउटा उत्सवको रुपमा प्रहरी दिवस मनाइरहँदा जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी सहायक हवल्दार भीमबहादुर लायोमगर निकै उत्साहका साथ दिवसलाई सफल बनाउन लागि रहनुभएको छ । उहाँले भन्नुभयो, “हाम्रो लागि प्रहरी दिवस एउटा उत्सव हो । यसलाई रमाइलो गरेर मनाउनुपर्छ ।” प्रहरी सङ्गठनभित्र काम गर्दा पाउने दुःखलाई बिर्सिएर उत्सवको रुपमा दिबस मनाउने गरेको उहाँले सुनाउनुभयो । उहाँले थप्नुभयो, “२४ घण्टा कार्यक्षेत्रमा रहँदा हुने हरेक किसिमका समस्यालाई समाधान गर्ने बानी परेको छ ।” जुनसुकै कामलाई पनि सकारात्मक रुपमा लिएर काम गर्दा सहज हुने उहाँको भनाइ छ । आफूले पाउने पारिश्रमिकको हिसाब नगरी कर्म क्षेत्रमा खटिने गरेको उाहँ बताउनुहुन्छ । लायो मगरले भन्नुभयो, “बाहिर हेर्दा आहा भए पनि भित्र काममा हुने दुःख कस्ले बुझेको छ र ।” न कुनै चाडपर्व, न कुनै समय सधै जनताको सेवामा लाग्नु पर्दा पाईने दुःखलाई बाहिरका कस्ले बुझ्ने रु उहाँले प्रश्न गर्नुभयो । जे भए पनि प्रहरी सङ्गठनमा लागेर जनता र राज्यको सेवा गर्न पाउनु खुसीको कुरा रहेको उहाँले बताउनुभयो । यस्तै उत्साही देखिँदै हुनुहुन्थ्यो प्रहरी सहायक हवल्दार चिजकुमार श्रेष्ठ । उहाँ प्रहरी सेवामा लागेको १६ वर्ष भएछ । उहाँमा प्रहरी सङ्गठनप्रतिको मायाँ उत्तीकै छ । उहाँले भन्नुभयो, “सङ्गठनले दिएको जिम्मेवारी हर हालतमा पूरा गर्छांै ।” जस्तोसुकै दुःखमा पनि काम गर्ने बानी सङ्गठनले बनाइदिएको उहाँको भनाइ छ । प्रहरी सेवा भनेको नै कठिनभन्दा कठिन काम गर्नका लागि भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीमा प्रवेश गर्न सुरुआती कठिन हुन्छ । त्यसपछि तालिम र कार्यक्षेत्रमा खटिँदा झनै कठिन हुन्छ ।” बाहिर देख्नेले सहज देखे पनि संगठनको नियम कानुनमा बसेर काम गर्न कठिन हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चाड पर्ब, मेला, महोत्सव भन्ने कुरा सम्झने हो ।” देश र जनताको सेवामा लाग्न पाउनु नै खुसीको कुरा रहेको उहाँको भनाइ छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डित अन्य क्षेत्रमा भन्दा फौजीको काम कठिन नै हुने बताउनुहुन्छ । यहाँ काम गर्दा पर्ने हरेक समस्यालाई सहजताका साथ लिन सके हरेक काम गर्न सकिने उहाँले बताउनुभयो । कुनै पनि फौजमा बाहिर देखेभन्दा कठिन हुने उहाँको भनाइ छ । घाम–पानी, घर–परिवार नभनी देश र समाजको सुरक्षामा खटिनु गर्वको कुरा भए पनि यहाँ काम गर्दा आइपर्ने समस्या बाहिरकाले बुझ्न कठिन हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “२४ घण्टा कार्यक्षेत्रमा खटिनु पर्दा जटिल कति हुन्छ रु” यसलाई उचित व्यवस्थापन गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । व्यवस्थापन गर्नसके प्रहरी पेसा राम्रो रहेको उहाँले बताउनुभयो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले नेपाल प्रहरीले चाडपर्व, बिदा भन्न नपाउने बताउनुहुन्छ । अन्य कर्मचारी घरमा चाडपर्व मनाइरहँदा आफूहरु सडक वा ब्यारेकमा रहेर सेवामा जुट्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “परिश्रमको आधारमा पारिश्रमिकलाई तुलना गर्न सकिँदैन ।” सरकारका अन्य कर्मचारीले दैनिक घडी हेरेर काम गर्न पाउने भए पनि प्रहरी जुनसुकै बेलामा पनि काममा खटिनुपर्ने उहाँको भनाइ छ । प्रहरी दिवसका अवसरमा प्रहरीको मनोबल बढाउनुपर्ने उहाँले बताउनुभयो । थोरै जनशक्तिले धेरै काम गर्नुपर्ने बाध्यता आफूहरुसँग रहेको उहाँको भनाइ छ ।