आन्तरिक पर्यटकको रोजाइमा नरसिंहकोट
बाग्लुङ | कात्तिक १, २०७९
बागलुङ । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–७ स्थित नरसिंहकोटमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्लाको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजारको शिरमा रहेको नरसिंहकोटमा सडक सञ्जाल र पदमार्गले जोडेपछि दैनिक सयौँ आन्तरिक पर्यटक यहाँ पुग्न थालेका हुन् ।
निसीखोलाकै सबैभन्दा महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल नरसिंहकोटमा गाउँपालिकाले पूर्वाधार निर्माणसँगै पर्यटकलाई आकर्षण गर्ने संरचना बनाएको छ । स्थानीय सरकार आएपछि यसको मुहार फेरिँदै गएको स्थानीयवासी बताउँछन् । अहिले दैनिक दुई सय पर्यटक यहाँ आउने गरेका छन् । घुमाघाम र रमाइलो गर्नका लागि अति उपयुक्त मानिने नरसिंहकोट पौराणिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ ।
बाइसे चौबिसे राज्य रहेको बेला राजा शासन गरेको यस ठाउँमा अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । जनप्रतिनिधि आउनु पूर्व आजापूजा मात्र गर्ने यो ठाउँ अहिले आन्तरिक पर्यटक घुम्ने केन्द्रको रुपमा विकास भएको निसीखोला गाउँपालिका–७ का वडाअध्यक्ष दीपक कुँवर बताउनु हुन्छ ।
गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसारलाई प्राथमिकता दिएपछि आन्तरिक पर्यटक बढ्न थालेको उहाँको भनाइ छ । अध्यक्ष कुँवरले केही वर्ष अगाडिसम्म सुनसान रहेको नरसिंहकोट पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढन थालेपछि चहलपहल पनि बढ्न थालेको बताउनुहुन्छ ।
खासगरी यहाँ बिदाको दिन बढी मान्छे घुम्न आउने गरेको उहाँको भनाइ छ । अध्यक्ष कुँवरले बाहिरबाट घुम्न आउने आगन्तुकका लागि खानेपानी, शौचालय लगायतका पूर्वाधार आफूहरुले निर्माण गरिसकेको भन्दै अब थप संरचना बनाउने योजना रहेको उहाँको भनाइ छ । यहाँसम्म आएको सडकलाई स्तरोन्नतिसमेत गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।
“अहिले सडककच्ची छ, कच्ची सकडमा आउँदा पर्यटकलाई समस्या पर्ने गरेको छ, केही वर्षमै यसको स्तरोन्नति गर्ने योजना छ, पदमार्ग पनि व्यवस्थित बनेको छ, खानोपानी र शौचालय पनि निर्माण भइसकेको हुँदा पर्यटकलाई समस्या छैन”,उहाँले भन्नुभयो,“पछिल्लो समय बिदाको दिन यो ठाउँ बुर्तिबाङ बजारका व्यापारी तथा कर्मचारीको थकाइ मार्ने चौतारी जस्तै बनेको छ ।”
तत्कालीन बाइसे–चौबिसे राज्य हुँदा भूरे राजाले राज गरेको यो ठाउँ निकै मनोरम छ । करिब दुई हजार मिटरको उचाइमा रहेको नरसिंहकोटदेखि धौलागिरि, माछापुछ्रै, अन्नपूर्ण लगायतका दर्जनौँ हिमशृङ्खलासँगै बागलुङको विभिन्न स्थान, गुल्मी, प्यूठान, रोल्पा, रुकुम, पर्वत, स्याङ्जा, अर्घाखाँचीलगायतका स्थानीयवासीसमेत देख्न सकिन्छ ।
गुल्मीदेखि घुम्न आउनुभएका निकेश शर्माले नरसिंहकोट निकै रमणीय रहेको बताउनुभयो । उहाँले गाउँबाट धेरै मान्छे यहाँ घुम्न र पूजागर्न आएको हुँदा आफू पनि उनीहरुसँगै आएको बताउनुभयो । शर्माले यो ठाउँ निकै पर्यटकीय हिसाबले निकै सम्भावना बोकेकोे भन्दै यहाँसम्म आउने सडक राम्रो भए धेरै मान्छे घुम्न आउन सक्ने बताउनुहुन्छ ।
राष्ट्रिय प्राथमिताको योजना साल झण्डीढोरपाटन सडकले जोडिएको नरसिंहकोटमा तराई क्षेत्रसँगै भारतका पर्यटक पनि भित्र्याउन सकिने भावना देखिन्छ । यो सडकको गुल्मीखण्डसम्म तीव्र रुपमा काम भए पनि बागलुङ खण्डमा हुनसकेको छैन ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

