पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

  सिन्धुपाल्चोक । आधारभूत तहमा अध्ययनरत बालबालिका कक्षाकोठामा टाउको दुख्यो भनेर टोलाउँदा शिक्षकले अनेक जुक्ति लगाउँदासमेत समस्या सुल्झिएन ।  सीमान्तकृत माझी र दनुवार समुदाय रहेको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भीमटारस्थित भीमेश्वरी माविका विद्यार्थीमा यो समस्या रोकथाम हुनुभन्दा झनै बढेर आउन थालेको थियो । कारण पहिल्याउन नसकेर हैरानीमा परेका शिक्षकले अहिले भने विद्यार्थीको समस्याबाट उन्मुक्ति पाएका छन् । बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रमको अवधारणा ल्याई कार्यान्वयन गरेपछि नर्सको परामर्शका कारण समस्याबाट मुक्ति मिलेको हो । “विद्यार्थी झुम्म भएर एकोहोरो हुने गर्दथे”, कार्यक्रमअन्तर्गत विद्यालयमा खटिएकी विद्यालय नर्स शोभा गिरीले भन्नुभयो, “उनीहरुको अवस्था र रोगको प्रकृतिबारे परामर्श गर्दा विद्यार्थीले मदिरा सेवन गर्ने गरेको भेटियो ।” समस्या समाधानका लागि विद्यालय नर्स गिरीले विद्यार्थीको मनोभावना बुझ्नुभयो । अनि आफूलाई के–के हुन्छ भनेर पनि सोध्नुभयो । विद्यार्थीको जवाफअनुसार मदिरा सेवन गर्ने गरेको पाइएपछि त्यसको रोकथामका लागि परामर्श दिएको उहाँको भनाइ छ । “यहाँको संस्कृति नै यस्तै रहेछ, बाबुआमाले नै मदिरा खुवाउने गरेको पाइयो”, उहाँले भन्नुभयो, “समस्या सुल्झाउनका लागि कक्षा–कक्षाका मदिरा सेवन गर्दा हुने बेफाइदाबारे चेतना प्रवाह गर्दै स्वास्थ्य शिक्षा प्रदान गरेपछि अहिले यो समस्या रोकिएको छ ।” स्वास्थ्य शिक्षापछि विद्यार्थी अहिले ढाँट्दैनन् । उहाँले अहिले विद्यार्थीमा यस्तो नदेखिएको दाबी गर्नुभयो । विद्यालयमा नर्सको व्यवस्था भएपछि शिक्षाको मूलधारमा ल्याउन चुनौती मानिएको सीमान्तकृत तथा माझी समुदाय रहेको भीमटारका बालबालिकामा सानै उमेरमा विवाह गर्ने क्रमसमेत न्यूनीकरण भएको छ । “आठ–नौ कक्षा पढ्दै गर्दा यहाँका बालबालिका विवाहबन्धनमा बाँधिने गरेका थिए”,  प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठले भन्नुभयो, “विद्यालय नर्सले सानै उमेरमा विवाह र बच्चा पाएपछिको समस्याबारे परामर्श दिएपछि अहिले रोकिएको छ ।” पछिल्लो वर्ष दिनमा यहाँका कुनै पनि बालबालिकाले विवाह नगरेको उहाँले बताउनुभयो । यहाँका बालबालिका विशेषगरी अनुत्तीर्ण भएपछि सिधै विवाह गर्ने गरेका थिए । उनुत्तीर्ण भएपछि साथीले हेप्ने, आफूलाई लाज हुने हुँदा विवाह गरेर जाने गरेका हुन् । विद्यालयमा नर्स कार्यक्रमपछि प्रजनन स्वास्थ्य, सरसफाइबारे चेतना जगाएपछि बालबालिकाले सानै उमेरमा विवाह गर्ने सोच बिर्सँदै गएको उहाँको भनाइ थियो ।  गाउँमा वर्ष दिनमा आठ–दश बालिकाले उमेर नपुगी विवाह गर्ने गर्दथे । पछिल्लो वर्ष सानै उमेरमा विवाह गरेको भन्ने नसुनिएको र सबै बालिका विद्यालयमा नियमित भएको उहाँले जानकारी दिनुभयो । भीमेश्वरीमा मासिक हरेक कक्षामा स्वास्थ्य शिक्षा दिइन्छ । विद्यालयमा नर्सको व्यवस्थाभएपछि स्वास्थ्यबारे बालबालिका सचेतसमेत भएका छन् । “अहिले विद्यालयको चौरलगायत कक्षाकोठा हामी नियमित सरसफाइ गर्छौँ”, कक्षा १० मा अध्ययनरत अञ्जना दनुवारले भन्नभयो, “पहिला स्वास्थ्यलाई हामीले हेलचेक्रयाइँ गरेका रहेछौँ, बल्ल स्वास्थ्यप्रति सचेत भएका छौँ ।” उहाँले विद्यालयमा नर्स आएपछि आफूले उपचार पाएको बताउनुभयो । “कक्षामा पढ्दापढ्दै खुट्टा दुख्ने, पेट दुख्ने हुन थाल्यो”, उहाँले भन्नुभयो, “स्वास्थ्य कक्षमा गएर उपचार गराएपछि फेरि कक्षामा फर्कन सकेँ ।” नर्स गिरीका अनुसार अञ्जनालाई सामान्य उपचारका साथै हटवाटर ब्यागले पेटमा सेकाएपछि केही समय आराम गरेर कक्षाकोठामा फर्कन सक्ने बनाइएको हो । यसअघि यस्ता समस्या हुँदा बीचमै पढाइ छाडेर घर जाने गरेको अञ्जना बताउनुहुन्छ । यो साता कक्षा ५ मा अध्ययनरत अनिशा दनुवारलाई कक्षा ३ मा अध्ययनरत एक विद्यार्थीले रडले हानेर टाउकामा दुई ठाउँ घाउसमेत बनाइदिए । कक्षाकोठामा रगत बग्यो । तत्काल नर्स पुगेर रगत थमाइएपछि स्वास्थ्य कक्षमा ल्याइ उपचार गरिएको थियो । “रगत धेरै बगेको थियो, रोक्न निकै गाह्रो भयो”, नर्स गिरीले भन्नुभयो “पछि सफा गरेर ड्रेसिङ गराएँ, अनि केही समय आराम गराएर पुनः कक्षाकोठामा फर्काइयो ।” विद्यालयमा नर्स कार्यक्रम नभएको भए उहाँलाई अस्पताल , स्वास्थ्यचौकी लैजानुपर्ने शोभा बताउनुहुन्छ । भीमेश्वरीको स्वास्थ्य कक्षमा बिरामीका लागि दुईवटा शय्या छ । प्रदेश सरकारले उपलब्ध गराएको औषधि केही सकिएपछि नजिक रहेको स्वास्थ्यचौकीबाट पनि ल्याइने जनाइएको छ । औषधिको भण्डारण सुरक्षित दराजमा गरिएकाले बिग्रन सक्ने अवस्था छैन । गर्मी ठाउँ भएकाले दैनिक २० सम्म बालबालिकालाई उपचार गराइएको नर्सको भनाइ छ । कार्यक्रम लागू भएयता हालसम्म नौ सय ४७ ले उपचार गराइसकेका छन् । “गर्मीमा अलि बढी समस्या हुन्छ”, विद्यालय नर्स गिरीले भन्नुभयो “पखाला लाग्ने, टाउको दुख्ने, उच्च रक्तचापका समस्या आउने गर्दछ ।” उहाँका अनुसार छात्राहरू महिनावारी हुने बेलाको समस्या प्रमुख छ । पहिले छात्रा महिनावारी भएको बेला विद्यालय आउने गर्दैनथे, अरुले गिज्याउने र आफैँलाई पनि लाज हुने हुँदा छात्रा हप्ता दिनसम्म विद्यालय अनुपस्थित हुन्थे । अहिले महिनावारी भएको खण्डमा सेनिटरी प्याडको विद्यालयमै व्यवस्था भएपछि यो समस्या हटेको प्रधानाध्यापक कृष्णप्रसाद बताउँनुहुन्छ । “चेञ्ज गर्नका लागि शौचालयमा आवश्यक सामग्रीसहितको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “पहिला यस्तो व्यवस्था नभएकै कारण छात्रामा विद्यालय छाड्ने क्रमसमेत रहेको थियो ।” अहिले छात्रामा शतप्रतिशत ड्रपआउट समस्या रोकिएको उहाँले दाबी गर्नुभयो ।  विद्यालयमा नर्स कार्यक्रमपछि जङ्कफुड रोकिएको छ । व्यक्तिगत र विद्यालयमा भएको सरसफाइले फड्को मारेको छ । पाँच सय ५० विद्यार्थी रहेका यो विद्यालयमा पहिला सामान्य पेट दुख्दासमेत विद्यार्थी घर जानुपर्ने अवस्था थियो । गत मङ्सिरबाट कार्यक्रम लागू भएपछि विद्यालयमै उपचार उपलब्ध भएपछि यो समस्या हल भएको छ । छात्रामा खुलेर भन्न सक्ने बानीको समेत विकास भएको प्रधानाध्यापक श्रेष्ठ बताउनुभयो । “नर्स भएपछि बालबालिकाले अभिभावक पाएको अनुभूति गरेका छन्”, उहाँले भन्नुभयो ।

पोखरा : बागलुङको ताराखोला गाउँपालिका ५ स्थित मृगौला पीडित संकल रोकालाई दुई क्लब र स्थानीयको सक्रियतामा संकलित १५ लाख रुपैयाँ सहयोग गरेको छ ।    तिहारको अवसरमा नवसृजना युवा क्लबले आयोजना गरेको दिपावली मेलाको अवसरमा मृगौला पीडितका परिवारलाई आर्थिक सहयोग हस्तातरण गरिएको हो ।     ताराखोलास्थित नवसृजना युवा क्लब र असारे युवा क्लबको सक्रियता र वैदेशिक रोजगारीको लागि बहराइनमा रहनुभएका जीवन रोकामगरको संयोजकमा संकलन भएको १५ लाख ३५ हजार रुपैयाँ बिरामीका परिवारलाई हस्तारण गरिएको नवसृजना युवा क्लबका अध्यक्ष पुर्णभद्र निउरेले बताए ।    निउरेका अनुसार नवसृजना युवा क्लब र असारे युवा क्लबको संयुक्त आर्थिक संकलन अभियानमा १४ लाख ७९ हजार ५ सय ७६ रुपैयाँ र बहराइनमा कार्यरत जीवन रोका मगरको संयोजकमा ६५ हजार ४ सय २४ रुपैयाँ संकलन भएको थियो ।    तेस्रोपटक वैदेशिक रोजगारीका लागि तयारीमा रहेका २५ वर्षीय रोकालाई स्वास्थ्य जाँच गर्दा दुवै मृगौलाले काम नगरेको चिकित्सकले बताएका थिए ।    ३ बर्ष कतार र १ बर्ष युएइमा रोजगारी गरेर फर्केका उनलाइ शारीरिक रुपमा कुनै समस्या थिएन । तेस्रोपटक बहराइन जाने सोच बनाएर स्वास्थ्य जाँच गर्दा उनलाई मृगौलामा समस्या आएपछि वैदेशिक रोजगारीमा पठाउन नसकिने रिर्पोट आएको थियो ।    उनले वैदेशिक रोजगारीका लागि गरिएको मेडिकल रिपोर्टमा बिस्वास नलागे पछि सहिद धर्मभक्त मानब अंग प्रत्यारोपण केन्द्र र वीर अस्पताल काठमाण्डौमा पुनः स्वास्थ्य जाँच गर्दा दुबै मृगौलाले काम नगरेको पत्ता लागेको थियो ।    कमाउन हिडेको छोराको मृगौला फेल भएको खबरले हामी अतालियौं, संकलका बुवा भिम बहादुर रोकाले भने, छोराको जीवन बचाउने चाहना छ त्यसैले साथ दिदै आउनुभएको छ । अठ्यारोमा सहयोगको माग गरेका छौं । सकारात्मक सोचका साथ आर्थिक सहयोगको अपेक्षा गरेका छौं ।    ६ जनाका परिवार रहेका भिमबहादर रोकाको संकल माहिला छोरा हुन् । भिमबहादुरका अनुसार सहयोग गर्न चाहनले संकल रोकाको प्रभु बैंक ताराखोला शाखाको खातामा सहयोग गर्न सकिने छ । खाता नं 0600151253200016 प्रभु बैंकमा पठाउन सकिने परिवारले बताएको छ ।

ढोरपाटन : प्रतिनिधि सभा तथा प्रदेश  निर्वाचन नजिकिएसँगै बागलुङमा चुनावी सरगर्मी बढेको छ । गाउँदेखि सहरसम्म जताततै उम्मेदवार र राजनीतिक दलका नेता मतदाता रिझाउन व्यस्त छन् तर ढोरपाटनका बाढीपीडितलाई कुनै रौनकले छुन सकेको छैन । एक सातायता उनीहरुका घरमा उम्मेदवार विभिन्न आश्वासन देखाएर भोट माग्न पुगिरहेका छन् तर, यसपटक ढोरपाटनका बाढीपीडितले सजिलै भोट दिने छैनन् ।    पटक–पटक चुनाव जिताएर पठाएका प्रतिनिधिले आफ्ना लागि केही काम गर्न नसकेपछि उनीहरुले अहिले गरिब दुःखीको पक्षमा काम गर्ने उम्मेदवारलाई भोट दिने योजना बनाएका छन् । बाढीपीडित कुलबहादुर विक भन्नुहुन्छ, “नेताहरु चुनावका बेलामात्रै भोट माग्न आउँछन्, अनेक प्रलोभन देखाउँछन्, धेरै पटक चुनाव जिताएर पठायौँ, हाम्रा लागि भने केही गरेनन्, यस पटक जसले हाम्रो पीडा बुझ्छ उसैलाई भोट दिने छौँ ।”   उहाँले आफूहरु अशिक्षित र दुर्गममा भएका कारण अनेक समस्यासँग झेल्नुपरेको भन्दै चुनावका बेला आउने नेताले आशा मात्रै देखाउने तर काम भने नगरेको बताउनुभयो । बाढीले सिङ्गो भुजीखोलावासीलाई घरबास र आफन्तविहीन बनाउँदा पनि आफूहरुले जिताएको प्रतिनिधिले दुखेको घाउमा मलम लगाउन नसकेको विकले गुनासो पोख्नुभयो ।   उहाँ भन्नुहुन्छ, “हामी अनपढ छौँ, दुर्गम गाउँमा छौँ, हाम्रो गाउँठाउँमा विकास हुन सकेको छैन, जब चुनाव आउँछ तब नेता दिनरात घरमा आएर धर्ना दिन्छन्, चुनाव सकियो भने फर्किएर पनि आउँदैनन्, दुई वर्ष अगाडि बाढीले हामीलाई घर न घाटको बनायो, आफन्त बगायो, त्यो बेला कोही आएनन्, केहीले त थोरै सहयोग गरे तर नेता हुँ भन्नेले नाक मुख देखाएनन्, अहिले भोट माग्न दिनदिनै आउँछन्, उनीहरुलाई किन हाम्ले भोट दिने ।”    बाढीले विकको घर, जग्गा जमिनसहित २२ वर्षका जेठो छोरो, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षीया नातिनी गरी चार जना बगाएको थियो । आफन्त र भए भरको सम्पत्ति गुमाएपछि विकले ऋणधन घरेर ढोरपाटनमा सानो घर बनाएको भन्दै त्यसको ऋण तिर्न अहिले हम्मेहम्मे भएको बताउनुभयो । विकले विभिन्न सङ्घ संस्थाले सहयोग गरेको रु दुई लाख राहत पाए पनि घर बनाएको अझै रु चार लाख ऋण थुप्रिएको बताउनुभयो ।   “सुरुमा केही समयोग पाएर घर बनाइयो, थप सहयोग पाइन्छ भने पनि अहिलेसम्म पाउन सकिएको छैन, विभिन्न सङ्घ संस्थाले सहयोग गरेको रु दुई लाख त पाइयो, प्रदेश सरकारले दिने भनेको रु ५० हजार आएन, घर बनाउँदा रु छ लाख ऋण लाग्यो, रु चार लाख त मेरो काँधमाथि छ, बरु घर बनाएर सानो छाप्रो बनाएर बस्नु पर्ने रैछ”, उहाँले निरास हुँदै भन्नुभयो ।   अर्का बाढीपीडित लिलमाया विकले पनि यसपालि भोट नहाल्ने योजना बनाएको बताउनुहुन्छ । उहाँले भोट हाल्नै परे बाढीपीडितलाई सहयोग गर्ने उम्मेदवारलाई मात्रै हाल्ने बताउनुभयो । आफूहरुलाई नेताले चुनावका बेला भ्रममा पारेर भोट माग्ने गरेको भन्दै अब भ्रममा नपर्ने उहाँको भनाइ छ । “अहिलेसम्म मैले धेरै पटक भोट हाले, भोट हालेर मैले केही पाएन, गाउँले केही पाउन सकेन, नेतामात्रै बने, गरिब, पीडितको दुःख जहाँको त्यही भयो, अहिले भोट हाल्नै परे बाढीपीडितलाई जसले सहयोग गर्छ, उसैलाई भोट दिने हो ।   बाढीले विकको घरसहित छोरा, बुहारी बगाएको थियो । उहाँले पनि अहिलेसम्म पाउनु पर्ने राहत पूरै पाउन नसकेको गुनासो गर्नुभयो । केही नेताले बाढी आएको बेला राहत दिलाइ दिने आश्वासन दिए पनि अहिलेसम्म दिन लाउनन सकेको बताउनुभयो । “सरकारले दिने राहत त अहिलेसम्म पाउन सकेका छैनौँ, अरु त झन हामीलाई कसले दिन्छ र रु, बाढी आएको धेला केही नेता आएर हामी राहत दिलाइ दिन्छौँ भनेर आश्वासन दिए तर अहिलेसम्म उनीहरुले दिलाउन सकेनन्”, विकले भन्नुभयो ।   बाढीमा जीवन सङ्गीनीसहित तीन सन्तान गुमाउनुभएका निमप्रकाश विकले पनि आफूहरुका माग पूरा गर्ने नेतालाई भोट दिने बताउनुभयो । उहाँले बाढीले भए भरको सम्पत्ति र परिवारका सबै सदस्य बगाएको दुई वर्ष बितिसक्दा पनि कुनै नेताले सहयोग नगरेको गुनासो गर्नुभयो । उहाँले अहिले दिनदिनै नेता भोट माग्न आएको भन्दै उनीहरुलाई भोट नदिने भनेर फर्काइ दिएको बताउनुभयो ।   “आफ्नो दुःखका बेला कसैले हेर्ने होइन, चुनाव आयो भने घरमा आएर काम गर्ने उछार दिँदैनन्, आफ्नो पीडा एकातिर छ, उनीहरुले बुझ्ने होइन, हाम्रो भोट उनीहरु नेता बन्ने, मन्त्री बन्ने हामीलाई केही न केही”, उहाँले भन्नुभयो, “मैले त घरमा आउने सबैलाई भोट दिन्न भनेर फर्काइदिन्छु, केहीले त घर बनाइदिन्छौँ, सहयोग गर्छौं पनि भन्छन्, चुनाव जितेपछि उही होला पारा ।”   बाढीले विकको श्रीमती, तीन छोरा भए भरको जायजेथा सबै बगाएको थियो । विसं २०७७ भदौ १७ गते भुजीखोलामा आएको बाढीमा परी ३८ बढीले ज्यान गएको थयो । तेइस जनाको शव फेला परे पनि १५ अहिलेसम्म बेपत्ता छन् । बाढीले एक सय ३१ घरमा क्षति पु¥याएको थियो भने ११ वटा जलविद्युत् आयोजनाको गृह तथा नहर, एक स्वास्थ्य एकाइ, ११ झोलुङ्गे पुल, ढलान पुल पाँच काठेपुल १० र दुई विद्यालयसमेत बगाएको थियो । 

पर्वत : पर्वत, कास्की र स्याङ्जा जिल्लाको सङ्गमस्थल प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेमा तोरण महोत्सव गरिने भएको छ । यही कात्तिक १८ गते हरिबोधनी एकादशीको अवसरमा उक्त महोत्सव आयोजना गर्न लागिएको हो ।   पछिल्लो समय पवित्र कालीगण्डकी नदीमा तोरण तार्ने प्रचलन लोपहुँदै गएकाले त्यसको जगेर्नाका लागि पञ्चासेमा विगत पाँच वर्षदेखि निरन्तर उक्त महोत्सव गरिँदै आइएको छ । हरिबोधिनी एकादशीलाई तोरण तार्ने दिनका रूपमा पनि लिने गरिन्छ । दुई–तीनदशक अगाडिसम्म जिल्लामा ‘तोरण तार्ने’ लाई ठूलो उत्सवका रूपमा लिने गरिन्थ्यो । हरिबोधिनी एकादशीका दिन गाउँ–गाउँबाट जन्तीले झैँ काँधमा डोला बोकेर  हिँडेका देखिन्थे । उनीहरूको गन्तव्य पवित्र कालीगण्डकी हुन्थ्यो ।   जिल्लाको कुश्मा नगरपालिका–५ मोदीवेणीको मोदीवेणीधाम हुँदै बग्ने कालीगण्डकी नदी तारेर ‘तोरण’ तारिन्थ्यो । वारिपट्टि पर्वत र पारिपट्टि बागलुङको किनारमा बाबियोका मोटा लट्ठामा फूलमाला उनेको ‘तोरण’ तार्न कालीगण्डकी नदी पौडेरै वारपार गर्नेहरू भेटिन्थे । आजभोलि ‘तोरण’ तार्ने प्रचलन लोपहुँदै गएको छ । पछिल्लो पुस्तालाई त कालीगण्डकी तरेर ‘तोरण’ तारिन्थ्यो भन्दा पनि विश्वास लाग्दैन तर तीन जिल्लाको सङ्गमस्थल तथा जिल्लाकै उच्च स्थानमा रहेको पञ्चासेको तालमा भने विगत चार वर्षदेखि ‘तोरण महोत्सव’ हुँदै आएको हो । तोरणको महत्व लोप हुन नदिन तथा संस्कृतिलाई निरन्तरता दिन एकदिने महोत्सव आयोजना हुँदै आएको छ ।    पञ्चासे बुद्ध विहार साहिस्वारा र राधाकृष्ण सुदामा मन्दिरको संयुक्त आयोजनामा महोत्सव हुन लागेको छ । समुद्री सतहबाट करिब दुई हजार दुई सय मिटरको उचाइमा रहेको पञ्चासे ताल वारपार गर्ने गरी बाबियोबाट बनाइएको ‘तोरण’ तार्ने र सोही अवसरमा भजन चुड्कासहितका सांस्कृतिक कार्यक्रम राखेर महोत्सव आयोजना गर्न लागिएको राधाकृष्ण सुदामा मन्दिर सञ्चालक समितिका सचिव लक्ष्मण शर्माले बताउनुभयो ।    “पहिले–पहिले मोदीवेणीधाममा तोरण तार्नेको भीड हुन्थ्यो । गण्डकीको किनारमा हजारौँ जम्मा भएर वारिको तोरण पारी किनारमा लगिन्थ्यो ।    पौडीबाजहरूले ढाडमा तोरण बाँधेर पौडिएरै गण्डकी पारी लगेर बाँध्थे”, उहाँले भन्नुभयो, “विस्तारै यो परम्परा हराउँदै गयो। मोदीबेणीमा तोरण तारेको देख्न पाइएको थिएन तर यो लोप हुनु हुँदैन भनेर हामीले अहिले पाँचौँपटक तोरण महोत्सव आयोजना गरेका छौँ ।’   पञ्चासे बुद्ध बिहारको विशेष पहलमा हुन लागेको महोत्सवमा पर्वतका विभिन्न स्थानका भक्तजन सहित कास्कीको अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिका, स्याङ्जाको आँधीखोला गाउँपालिका, फेदीखोला गाउँपालिका  र पुतलीबजार नगरपालिकाका सहित गुल्मीबाट पनि दर्शक तथा भक्तजन महोत्वसवमा आउने गरेका छन् ।   बालाचतुर्दशीमा भक्तजनको बढी भीडभाड हुने गरेको पञ्चासेमा पर्यटकीय दृष्टिले  पनि आकर्षणको केन्द्र हो। पञ्चासेमा पूजा गरेपछि कुनै काम पूरा होस् भनी गरिएको भाकल पूरा हुने तथा दिवङ्गत आत्मले मुक्ति पाउने विश्वास गरिन्छ ।   सुनसान जङ्गलको बीचमा रहेको तालको वरिपरि रूख छन् । ती रूखबाट खसेका हरेक पात चराचुरुङ्गीले नै निकालेर ताल सफा राखिरहन्छन् । तालभन्दा माथि २५ मिटरभन्दा बढीको उचाइमा रहेको पञ्चासे मन्दिर धर्मावलम्बीहरूका लागि अर्को आकर्षण हो ।   बालाचतुर्दशीमा सतबीज छर्दा तालदेखि मन्दिरसम्म नै मानिसको घुइँचो लाग्ने गरेको छ । सुदामा मन्दिर सञ्चालक समितिका सचिव शर्माका अनुसार विगतको बालाचतुर्दशीमा झन्डै एक लाख भक्तजन आएको अनुमान गरिएको पञ्चासेमा हरिबोधिनी एकादशीमा पनि झन्डै त्यतिकै  सङ्ख्यामा भक्तजन आउने अनुमान गरिएको बताउनुभयो ।    कास्कीको पोखरा महानगरपालिकाको पामे–घाँटीछिना हुँदै भञ्ज्याङदेखि आर्थरसम्म जोडिने सडक भने अहिलेसम्म पनि सञ्चालनमा नआउँदा पोखराबाट पञ्चासे आउने पर्यटक तथा धर्मावलम्बीलाई समस्या भइरहेको स्थानीय बासिन्दाले बताए  ।

  जनकपुर । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन ।     छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अघ्र्यकारूपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुनेहुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताउनुभयो ।     स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनुपरेको उहाँले बताउनुभयो । अध्यक्ष यादवले अघिल्लो वर्ष पौने दुई करोड रुपैयाँभन्दा बढीको केरा जनकपुर भित्र्याइएको बताउनुभयो । “यस वर्ष भित्र्याइएका केरा झण्डै ६० ट्रक छन्”, उहाँले भन्नुभयो ।     जनकपुरमा गोपाल र वंशीभोग केरा नेपालको सप्तरी जिल्लास्थित भारदह, भन्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिनुभयो । छठ पर्वसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको पूर्वेले बताउनुभयो ।     पूर्वेले भन्नुभयो, “छठ पर्व मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो । यसैले बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५–२० ट्रक बढी ६० ट्रकजति केरा मगाइएको छ ।”     फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी केरा आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च रु छ लाख पर्छ । बजारमा प्रत्येक केराको घरीलाई पाँचसयदेखि एक हजार रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गरिन्छ ।       नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छ । केरा उत्पादनका लागि तराई–मधेस वा समग्र नेपालको भूमि राम्रो मानिन्छ । तर केराको आवश्यकता हुने चाडपर्वका समयमा समेत भारतकै भरपर्नुपर्ने अवस्था छ । नेपालमा मालभोग, झापाली मालभोग, विलियम हाइब्रिड रोवस्टा, विलियम हाइब्रिडलगायत जातका केराखेती उत्पादन हुँदै आएको छ ।     सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ । देशभित्र यस्तो अवस्था छ भने उता भारतबाट आउने केराको मूल्य भने यहाँको भन्दा सस्तो पर्छ । भारतले किसानका लागि सहुलियत र विभिन्न प्याकेज दिने भएकाले उताको लागत कम परेको बताइन्छ ।

  तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आउनुभएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न विद्युत्बाट चल्ने स्वचालित घन बनाउनुभएको छ । फलामको हतियार गाल्न विश्वकर्माले दुई वर्ष पहिले विद्युत्बाट चल्ने स्वचालित घन बनाएपछि उहाँको परिचय अहिले फेरिएको छ ।      फलामलाई आकार दिन घन हान्न बलियो मानिसको चाहिने भएकाले विकल्पका रुपमा स्वचालित घन बनाएको उहाँले बताउनुभयो । “फलाम गाल्न घन हान्नुपर्दा दुई जना चाहिने भयो”, आरानमा घरेलु औजार बनाउँदै गर्नुभएका रामलालले भन्नुभयो, “दिन रात उपाय खोजें र यो मेसिन बनाएँ ।”      मेसिन बनाउन रामलालले मोटर, नट बोल्ट, चेन, पुल्ली, घिर्नी, फलामका पाता र काठको प्रयोग गर्नुभएको छ । मेसिन बनाउन करिब रु ३० हजारका सामान खरिद गरेको उहाँले बताउनुभयो । युट्युब हेरेर बनाएको सो मेसिन तेस्रो पटकको प्रयासमा सफल भएको उहाँले जानकारी दिनुभयो । फलामलाई पातलो बनाउन दुई वर्षदेखि विश्वकर्माले सो मेसिन नै प्रयोग गर्दै आउनुभएको छ । करिब ५० हजार रुपैयाँ खर्च गर्नसके अझ राम्रो र कम आवाज आउने स्वचालित घन बनाउनसक्ने क्षमता आफूसँग भएको उहाँले बताउनुभयो ।      कोइलामा तताएर रातो बनाइएको हतियारलाई पातलो र निश्चित आकार दिनुपर्दा विद्युत् अन गरी दुई वटा घनको बीचमा लैजानु पर्दछ । खुट्टाले थिचेपछि स्वचालित घनले दबाब दिन्छ र घनको चाललाई नियन्त्रण र बन्द पनि खुट्टाबाटै गर्न सकिन्छ । स्वचालित घन प्रयोग गर्दा महिनामा करिब एक हजार रुपैयाँ विद्युत् महशुल उठ्ने गरेको उहाँको भनाइ छ ।      चितवन पदमपुर घर भई हाल घुमाउनेघाट बस्दै आउनुभएका विश्वकर्माले आरन दर्ता गर्नु भएको छैन । आरान दर्ता गर्ने प्रक्रियाबारे आफूलाई केही थाहा नभएको उहाँले बताउनुभयो । निर्वाहका लागि मात्र आफूले आरान सञ्चालन गरेको उहाँ बताउनुहुन्छ ।      करौती, हँसिया, बञ्चरो, खुर्पा र कोदालो बनाउने गर्दै आउनुभएका विश्वकर्माले घरायसी हतियार अरचापेको (धार लगाएको) ५० रुपैयाँदेखि दुई सय रुपैयाँसम्म लिने गर्नुहुन्छ । नयाँ घरेलु हतियारको प्रकारअनुसार चार सय रुपैयाँदेखिमाथि पर्ने विश्वकर्माले बताउनुभयो ।      आफूले घरेलु हतियारको अलावा ट्र्याक्टरको डिब्बालगायत लेथका कामसमेत गर्नसक्ने उहाँले जानकारी दिनुभयो । ठूलो ग्रिल कारखाना सञ्चालन गर्ने उद्देश्य भए पनि आर्थिक अभावमा त्यो पूरा गर्न नसकेको उहाँको भनाइ छ । “ठूलो ग्रिल उद्योग सञ्चालन गर्न आर्थिक अवस्था कमजोर हुँदा सकिन ।” सामान्य लेखपढ गरेका विश्वकर्मा राज्यले केही सहयोग गरेमा आफूले व्यवसायलाई थप विस्तार गर्नसक्ने बताउनुहुन्छ । आरनको कमाइबाट घरको दैनिक जर्गो टार्दै आउनुभएको छ ।      विश्वकर्माको क्षमता, खुबी र लगनशीलता देखेर आफूहरुले घुमाउने घाटमा आरान राख्न करिब एक आना जग्गा निःशुल्क प्रदान गरिएको छ । आफूहरुले हँसियादेखि कुटो कोदालोसम्म बनाउन र अरचाप्न परे विश्वकर्मालाई नै लगाउने गरेको घुमाउने घाटकी ५६ वर्षीया सन्सरी गुरुङले बताउनुभयो । घुमाउने, साराङघाट, मास्दीघाटलगायतका छ÷सात वटा गाउँका बासिन्दाले उहाँको आरनबाट सेवा लिँदै आएका छन् । 

  पर्वत । तनहुँदेखि मुस्ताङसम्मको यात्रामा निस्केका दश जना युवा हिजो शनिबार कुश्माको ‘द क्लिफ रिसोर्ट’मा भेटिए । ‘बञ्जीजम्प’ गर्ने योजनासहित कुश्मालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाए पनि उनीहरुले ‘बञ्जीजम्प’ गर्न भने पाएनन् ।  “एक साताअघिदेखि नै बुकिङ हुने रहेछ त्यसैले हाम्रो पालो आउने कुरै भएन”, समूहका एक सदस्य दीपेश पौडेलले भन्नुभयो, “त्यसको साटो ‘जिपलाइन’को अनुभव लियौँ ।” उहाँले शनिबार कुश्मामै बसेर आइतबार बिहानै मुस्ताङको यात्रा तय गर्ने बताउनुभयो । ् त्यसैगरी चितवनबाट आउनु भएकी शर्मिला गुरुङ पनि झोलुङ्गे पुलमा श्रीमान र छोरीसहित तस्बिर कैद गर्दै हुनुहुन्थ्यो । दसैँमा आउने योजना बनाए पनि झरीले योजना तिहारमा सफल भएको उहाँले बताउनुभयो ।  पछिल्लो समय कुश्मा पर्यटकीय गन्तव्य बन्दै गएको छ । मुस्ताङ जाने पर्यटक मात्रै नभइ पोखरासम्म पुग्ने पर्यटकहरु पनि बञ्जी, जीपलाइन लगायतको अनुभव लिन कुश्मासम्म पुग्न थालेका छन् ।  तर कुश्मालाई नै गन्तव्य बनाउने आउने पर्यटकको संख्या भने निकै कम भएको रेष्टुराँ व्यवसायी मौसम केसीले बताउनुभयो । “कुश्मासम्म आए पनि बास बस्ने पर्यटकहरु कम हुनुहुन्छ,” उहाँले भन्नुभयो, “धेरै जसो पर्यटक निजी गाडीमा बञ्जी हेर्न आउने र पोखरा फर्कनुहुन्छ यसरी बजार प्रवद्र्धन हुँदैन ।” शनिबार मात्रै कुश्माको झोलुङुगे पुल तर्नेको संख्या  दुई हजारभन्दा बढी रहेको ‘द क्लिफ’ कम्पनीले जानकारी दिएको छ । पुल तर्न मात्रै प्रतिव्यक्ति रु पाँच सय तोकिएको छ । कम्पनीका अनुसार हाल औसतमा दैनिक ६० देखि ६५ जनाले बञ्जीजम्प गर्दै आएको सञ्चालक नेत्र पराजुलीले बताउनुभयो ।  “म बिहानैदेखि खटिएको थिए, शनिबार स्काइ साइक्लिङ, स्काइचियर, स्काइक्याफे, गुलेली पिङ खेल्नेहरुको भिड थियो”, उहाँले भन्नुभयो, “रिसोर्टमा बास बस्ने ‘टेन्ट’ पनि भरिभराउ थिए ।”

   बागलुङ । ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घरहरु पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन् । एकाध भेटिए पनि जीर्ण अवस्थामा मात्रै भेटिन्छन् । कलात्मक शैलीका झ्याल तथा ढोका भएका र  मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत अचेल पाइँदैनन् । पछिल्लो समय आधुनिकता हावी हुँदा यस्ता मौलिक घर लोप हुँदै गएको स्थानीयहरुको बुझाइ छ । मगर र गुरुङ समूदायको पहिचानसँग जोडिएका यस्ता घुमाउने घर संरक्षण अभावमा लोप हुँदै गएको निसीखोला गाउँपालिका(१ का थिर्तराम गुरुङको भनाइ छ । उहाँले परम्परागतभन्दा आधुनिक शैलीका घर बनाउन सहज हुने भएपछि घुमाउने घर संकटमा पारेको बताउनुहुन्छ । “१२र१५ वर्ष अघिसम्म गाउँका धेरै स्थानमा घुमाउने घरहरु भेटिन्थे, अहिले १र२ वटा पनि भेट्याउन मुस्किल पर्छ, घुमाउने घर बनाउन सोही किसिमको सीप चाहिन्छ”, उहाँले भन्नुभयो, “तर अहिले सिमेन्ट, गिट्टी र बालुवा बनाउन सजिलो हुन थाल्यो ।” गुरुङ घुमाउने घर निर्माण गर्ने मिस्त्रीहरुको सीप पुस्तान्तरण नहुँदा लोप हुँदै गएको बताउनुहुन्छ ।  त्यस्तै, स्थानीय पूर्णबहादुर घर्ती मगरले भन्नुभयो, “घुमाउने घर मगर र गुरुङको पहिचानसँग जोडिएको छ, तर हामी नै यसको संरक्षण गर्न सकेका छैनौँ, आगामी दिनमा यसको संरक्षणमा काम गर्ने को नै होला र ?” निसीखोला गाउँपालिका(६ का नरसिंह बुढामगर घुमाउने घरको संरक्षण गर्न सक्ने हो भने आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने बताउहुन्छ । यस्ता घरहरुलाई नयाँ ढंगले संरक्षण र मर्मत गरी सञ्चालन गर्न पनि सकिने उहाँको भनाइ छ । गाउँ ठाउँमा भएका घुमाउने घरको तथ्याङ्क संकलन गर्ने र पुनःनिर्माण गरि संग्राहलयको रुपमा विकास गर्न सकिने उहाँको सुझाव छ ।  घुमाउने घर आधुनिक घरभन्दा न्यानो हुने हुँदा गुरुङ र मगरहरु यस्ता घर बनाउनमा बढी केन्द्रित हुने गरेको उहाँको भनाइ छ । उच्च पहाडी क्षेत्रमा जनजाति समूदायको बसोबास बढी हुने र त्यस्ता स्थानहरुमा बढी जाडो हुने हुँदा न्यानोका लागि घुमाउने घर बनाउने गरेको उहाँको भनाइ छ ।

स्याङ्जा: प्रतिनिधि सभा सदस्य उम्मेदवार बोधराज रेग्मीले अति विपन्न परिवारका लागि रासन कार्डको व्यवस्था गर्ने बताएका छन् ।   राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्याङ्जा क्षेत्र नं १ बाट उम्मेदवार बनेका रेग्मीले उक्त कुरा बताएका हुन् ।  चुनावी अभियानमा जुटेका उनले स्याङजा क्षेत्र १ को विकासका लागि आफु दत्तचित्त भएर लागिपर्ने बताए । ‘स्थानीय निकायहरुसँग समन्वय गरी अति विपन्न वर्गका लागि रासन कार्डको व्यवस्था गर्न पहल गर्नेछु’ उनले भने,‘हामीले सद्यैँ सुन्दै आएका हौँ गरिबी निवारण हुन्छ भन्दै तर अहिलेसम्म खै कहाँ के भयो ? सद्यैँ हामीलाई झुटा आश्वासन मात्रै बाडियो त्यहि कारण म यहाँबाट उम्मेदवार बनेको हुँ ।’  उनले २०४७ सालदेखि पछाडी उच्च पदमा रहेका राजनीतिज्ञ र उच्च पदमा रहेका कर्मचारीको सम्पत्ति छानविन गरी कारवाही गर्न विशेष पहल गर्ने समेत बताए ।