पोखरा । पोखरामा संचालनमा रहेको ऋक्रियसनको पहिलो बार्षिक उत्सवको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर १३ का दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । पोखरा १३ आर्वामा रहेका अमरज्योति आधारभूत विद्यालय र सिमला आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । सिमला आधारभूत विद्यालयका ३५ जना र अमरज्योति आधारभूत विद्यालयका ४१ जना विद्यार्थीलाई टिर्सट, कपि, पेन्सि, इरेजर लगाएतका शैक्षिक सामग्री वितरण गरेको ऋक्रियसनका सञ्चालक रितेश पौडेलले जानकारी दिए । विद्यार्थीलाई पोखरा महागनरपालिकाका वडा नम्बर १३ का वडा अध्यक्ष किरण बराल, सञ्चालक रितेश पौडेल, नारायण पौडेले लगाएतले शैक्षिक सामग्री वितरण गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष बरालले सरकारी विद्यालयमा अध्यन गर्ने बालबालिकाको शैक्षिक स्तर सुधार गर्न शैक्षिक सामग्री फलदाई हुने बताए । उनले ग्रामिण क्षेत्रमा रहेका विद्यालयलाई सबैको आर्थिक तथा शैक्षिक सामग्री सहयोगको आवश्यकता रहेको बताए । कार्यक्रममा सिमला आधारभूत विद्यालय प्रधानध्यापक हरिमाया बराल, अमरज्योति आधारभूत विद्यालयका प्रधानध्यापक विमलबहादुर बरालले सहयोगले विद्यार्थीको शैक्षिक उन्नतीका लागि सहयोगी हुने बताए । ऋक्रियसनले विभिन्न काम गर्दै आएको छ भने ऋस्टोस मार्फत टिर्सटहरु बनाएर विक्रि गर्दै आएको छ ।
पोखरा । ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीलाई स्वर्गीय सूर्यबहादुर केसीको परिवारले १५ लाख रुपैयाँ सहयोग गरेको छ । पोखरामा बिहीबार केसी परिवारले स्व. केसीको दोश्रो वार्षिक पुण्य तिथिको अवसर पारेर सहारा क्लव पोखराद्वारा सञ्चालित एकेडेमीलाई उक्त सहयोग गरेको हो । कार्यक्रममा स्व.केसीकी धर्मपत्नी प्रेम कुमारी केसीले सहारा क्लव पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज)लाई सहयोग हस्तान्त्रण गरेकी हुन् । सो अवसरमा बोल्दै केसीका छोरा तथा युवा उद्योगी प्रकाश केसीले सहारासँग आफ्ना बुबाको संस्थागत निकटता र सबैलाई मायाको दृष्टिकोणले हेर्ने भएकोले पनि आफ्नो परिवार एकेडेमीको सञ्चालनमा जोडिएको बताए । उनले भविष्यमा समेत सहाराका हरेक कार्यमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । केसीका अर्का छोरा तथा हिमश्री फुड्सका निर्देशक किरण केसीले आफ्नो बुबाको नाम सहारा एकेडेमीसँग जोडिन पाउँदा निकै गौरव लागेको बताए । उनले आफ्नो बुबाको काम र विचारलाई स्थापित गर्नेसँगै जिवन्त बनाई राख्ने प्रण गरे । कार्यक्रममा पूर्व एसएसपी कृष्ण बहादुर थापा, सहारा क्लव पोखराका मानार्थ सदस्य महेश गुरुङ लगायतले स्व. केसीको जीवनी र समाजसेवाका विविध क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । गत वर्ष स्व. केसी परिवारले क्लवले सञ्चालन गर्दै आइरहेको एकेडेमीको जिम्मेवारी लिँदै वार्षिक रु. १५ लाख १० वर्षसम्म प्रदान गर्ने सम्झौता गरेको थियो । यसैविच कार्यक्रममा स्व. जुमबहादुर गुरुङको स्मृतिमा उनको परिवारले अक्ष्यकोषको स्थापना गरेको छ । बिहीबार सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा आयोजित कार्यक्रममा स्व.गुरुङकी श्रीमती तुलसी गुरुङले आफ्ना श्रीमान्को स्मृतिमा ५० हजार रुपैयाँको अध्यक्षकोष सञ्चालन गर्ने गरि रकम हस्तान्त्रण गरेकी हुन् । क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज)को अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष केशवराज बरालले स्वागत र सञ्चालन महासचिव रामजी प्रसाद अधिकारीले गरेका थिए । एकेडेमीमा १४ जना कठिन परिस्थितिका बालकहरु आश्रित रहँदै आएको क्लबका अध्यक्ष हरि गुरुङले बताए । हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको नाममा केसी परिवारले सहारा क्लवले आयोजना गर्ने ‘आहा–रारा ’ गोल्डकप प्रतियोगिताको मुख्य प्रयोजन समेत गर्दै आइरहेको छ । सहारा क्लबले आफैले जग्गा खरिद गरेर दोविल्लामा एकेडेमी सञ्चालन गरेको छ ।
मुगु: गत असोजको अन्तिम साता आएको भारी वर्षाका कारण साना जलविद्युत्गृहमा ठूलो क्षति पुर्याएपछि नेपाल विद्युत् प्राधिकरणले मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत् आपूर्तिको व्यवस्था गरेको छ । पहिराले क्षति पुर्याएका विद्युत्गृह पुनःनिर्माण तथा मर्मत नगरी त्यस क्षेत्रमा विद्युत् उपलब्ध नहुने अवस्था आएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरमार्फत विद्युत् उत्पादन गरी मुगु र हुम्लामा आपूर्ति गर्नेछ । यसका लागि प्राधिकरणले जेनेरेटरको व्यवस्था ती जिल्लामा पुर्याइसकेको छ । गत असोज १९ देखि २५ गतेसम्मको भारी वर्षासँगै आएको बाढीपहिराले मुगुस्थित चार सय किलोवाट क्षमताको गमगाढ र हुम्लास्थित पाँच सय किलोवाटको हेल्दुङ साना जलविद्युतगृहको नहरमा ठूलो क्षति पुर्याएको थियो । नहरमा क्षति पुगी विद्युत् उत्पादन बन्द भएपछि मुगु र हुम्ला विद्युतविहीन भएका थिए । भौगोलिक कठिनाइ तथा विकटताले गर्दा दुई जिल्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छैन । क्षति पुगेका विद्युत्गृहका संरचनाको पुनःनिर्माण भइरहेको छ । प्राधिकरणले गमगढी र आसपासका क्षेत्रमा विद्युत् आपूर्तिका लागि कालीकोटमा रहेको तीन सय केभिए क्षमताको जेनेरेटर मुगु पुर्याएको छ । हुम्लाको सिमिकोट र आसपासका क्षेत्रमा विद्युत् आपूर्तिका लागि एक सय २५ र एक सय केभिए क्षमताका जेनेरेटरको व्यवस्था गरिएको छ । प्राधिकरणका मुगुमा तीन हजार एक सय र हुम्लामा दुई हजार तीन सय ग्राहक छन् । जेनेरेट कुलेखानी विद्युत् गृह र नयाँ बुटवल सबस्टेसनबाट सिमिकोट लगिएको हो । प्राधिकरणले ती जेनेरेट सडकबाट ढुवानी गरी मुगुको गमगढीसम्म लगेको थियो । राष्ट्रिय सडकले अहिलेसम्म नजोडिएको हुम्लामा गमगढीबाट जेनेरेटर र त्यसका लागि आवश्यक पर्ने डिजेल हेलिकप्टरमार्फत ढुवानी गरी सिमिकोट पुर्याएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादव सम्मिलित टोली बुधबार जेनेरेटर लिएर सिमिकोट पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरण र हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियार नेतृत्वको टोलीले पहिराले क्षति पुर्याएको हेल्दुङ विद्युत्गृहको संरचना र त्यहाँ भइरहेको पुनःनिर्माणको स्थलगत निरीक्षण गरेको थियो । टोलीले एक महिनाभित्रमा पुनःनिमाणको काम सम्पन्न गर्न निर्माण व्यवसायी लगायतलाई निर्देशन दिएको छ । कार्यकारी निर्देशक घिसिङले साना विद्युत्गृहको पुनःनिर्माण भइरहेको र यसका लागि अझै कम्तीमा एक महिना लाग्ने देखिएकाले यस अवधिमा त्यस क्षेत्रको विद्युत्विहीनताको अवस्थाप्रति संवेदनशील भई तत्कालका लागि हेलिकोप्टरमार्फत जेनेरेटर र डिजेल ढुवानी गरी वैकल्पिक रुपमा विद्युत् आपूर्तिको व्यवस्था गरिएको जानकारी दिनुभयो । “जेनेरेटरमार्फत विद्युत् उत्पादन गर्दा लागत प्रतियुनिट रु ८० भन्दा बढी पर्छ, तर यहाँका अधिकांश ग्राहकबाट न्यूनतम रु ३० मात्र उठ्छ, यहाँ खपत हुने विद्युत्को आम्दानीभन्दा लागत दोब्बर बढी महँगो छ, तर सबैको घरमा उज्यालो पुर्याउने राज्यको दायित्व भएकाले नाफा नोक्सान नहेरी विद्युत्लाई आधारभूत आवश्यकताको वस्तुका रुपमा लिएर हेलिकप्टरमार्फत सामान ढुवानी गरेरै भए पनि आपूर्तिको व्यवस्था गरेका छौँ”, घिसिङले भन्नुभयो । क्षति पुगेका विद्युत्गृहको जतिसक्दो छिट्टो पुनःनिर्माण तथा मर्मत गर्ने तयारी छ । त्यस स्थानको भौगोलिक अवस्थिति र बनावट हेर्दा त्यो पनि दीर्घकालीन हुने जस्तो देखिएको छैन । तसर्थ सौर्य ऊर्जा केन्द्रको स्थापना गर्ने र दुई वर्षभित्रमा कर्णाली प्रदेशका सबै जिल्लामा राष्ट्रिय प्रसारण लाइन लाइन पुर्याउने गरी काम गरिरहेको प्राधिकरणले जनाएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी परियारले स्थानीय सरकारी कार्यालय तथा प्राधिकरणबाट रकम जोहो गरिएको र जनश्रमदानमार्फतसमेत पहिराले क्षति पुर्याएको विद्युत्गृहको नहरको पुनःनिर्माण भइरहेको बताउनुभयो । “पुनःनिर्माणमार्फत विद्युत्गृह तत्कालका लागि सञ्चालनमा ल्याए पनि त्यो क्षेत्र विपद् जोखिमयुक्त भएकाले दीर्घकालीन हुँदैन, त्यसैले विद्युत् आपूर्तिको स्थायी विकल्प खोजी गरी तत्काल काम सुरु गर्नुपर्छ”, उहाँले भन्नुभयो । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले गमगाढ विद्युत्गृहको पुनःनिर्माण जतिसक्दो छिट्टो सम्पन्न गरी विद्युत् आपूर्तिको व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले पुनःनिर्माणका लागि आवश्यक सहजीकरण गरिदिन आफू तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक सय मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइने भएको छ । निर्वाचन आयोगले गरेको निर्णय अनुसार ती केन्द्रमा साङ्केतिक भाषा सूची, त्यहाँ खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिकासम्बन्धी ब्रेल समाग्री, रङ्गीचङ्गी डोरी तथा पोल, र्याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीको व्यवस्था गरिनेछ । आयोगले निर्वाचनका लागि कूल २२ हजार दुई सय २६ मतदान केन्द्र तय गरेको छ ।
स्याङ्जा । पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो । स्थानीय बजारका एग्रोभेट पसलबाट ‘युएस ३१२’ जातको हाइब्रिड धानको बीउ लगेर रोपेको स्थानीय कृषक टेकप्रसाद डुम्रेले बताउनुभयो । विगत दुई तीन वर्षदेखि यही जातको धान लगाउँदै आए पनि अरु बेला उत्पादन राम्रो भएको तर यसपटक धानमा दानानै नलागेको हो । “विगतमा पनि यही धान लगाउँदै आएको थिएँ, यसपटक पनि यही धानको बीउ ल्याएर ब्याड राखी धान रोपेको हुँ”, उहाँले भन्नुभयो, “यसपटक त के भयो–भयो, पराल हरियै छ तर धान पसाएर नुग्ने बेलामा नुग्दै नुगेन ।” डुम्रेले सात रोपनी क्षेत्रफलमा लगाउनुभएको धानखेतीमा दाना नै नलागेको हो । मानो खाएर मुरी उब्जाउने समयमा धानमा दाना नलागेर कालै भएपछि उहाँ चिन्तामा हुनुहुन्छ । “धान ठटाउनै पर्दैन, पराल हरियै छ, बल्ने भए आगो लगाइदिन्थे”, उहाँले भन्नुभयो, “विगत वर्षहरुमा यही क्षेत्रफलमा १४–१५ मुरी धान उत्पादन हुन्थ्यो, यसपटक त मेहनत, परिश्रम, लगानी सबै माटोमै मिल्यो ।” यस ठाउँमा डुम्रेको सात रोपनी र अन्य तीन जना कृषकको दश रोपनी गरी कूल १७ रोपनी क्षेत्रफलमा लगाइएको धानमा दाना नलागेको वालिङ नगरपालिकाका कृषि प्राविधिक केशबहादुर थापाले बताउनुभयो । कृषकले धानमा दाना नलागेको भन्ने खबर गरेपछि खेतमै पुगेर अनुगमन तथा निरीक्षण गरेर फर्किएको उहाँले बताउनुभयो । “यो ठाउँमा अन्य कृषकले लगाउनुभएको उही जातको धान राम्रो फलेको छ तर चार कृषकको खेतमा लगाइएको धानमा दाना नै छैन”, उहाँले भन्नुभयो, “यो अन्य कारणले भन्दा पनि धान पसाएर फूल खेल्ने बेलामा परेको अविरल वर्षाका कारण क्षति भएको हो ।” ‘युएस ३१२’ जातको हाइब्रिड धान यस ठाउँका लागि उपयुक्त भए पनि ढिलो रोपेकाले पनि समस्या देखिएको उहाँको दाबी छ । केही दिनअघि रोपिएको खेतमा धान राम्रो भएको तर ढिलो रोपिएको साथै फूल खेल्ने बेलामा चार÷पाँच दिनको अविरल वर्षा मुख्य कारण भएको उहाँ बताउनुहुन्छ ।
म्याग्दी: वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका रघुगंगा गाउँपालिकाका ३३ वर्षीय देवेन्द्र पुनको मेसिनमा च्यापिएर मृत्यु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) रोमानियाले दिएको जानकारी अनुसार पुनको बुधबार तिमिश्वारा सहर नजिक भिजिडियास्थित बनेट मेलोन एग्रिकल्चर कम्पनीमा मेसिनले खेतमा आलु खन्ने क्रममा मेसिनको वेल्टमा परी च्यापिएर मृत्यु भएको हो । मोना रोमानियाका अध्यक्ष विजय कुँवरका अनुसार पुन रोजगारीका लागि ३ महिनाअघि मात्र रोमानिया पुगेका थिए ।
कालीकोट । कर्णाली करिडोर अन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा गएको पहिरो पन्छाउने काम सुरु भएको छ । गत असोज १९ गते आएको वर्षाका कारणले करिब २५ दिनदेखि अवरुद्ध कर्णाली करिडोरको पहिरो आजदेखि पन्छ्याउन थालिएको हो । भिरालो जमिन भएका कारणले माथिबाट निरन्तर सुख्खा पहिरो खस्दा पहिरो पन्छ्याउन समस्या भएको थियो । अहिले सुख्खा पहिरो खस्न कम भएपछि डोजर लगाएर पहिरो पन्छ्याउन थालिएको हो । पहिरो खस्न कम भएपछि अवरुद्ध रहेको कर्णाली करिडोरको पहिरो पन्छ्याउन थालिएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताउनुभयो । पहिरो स्थायीरुपले रोकथामका लागि विपत व्यवस्थापन समितिमा छलफल भइरहेको तत्काललाई डोजर लगाएर कर्णाली करिडोरको ट्र्याक खोल्ने काम मात्रै हुने अध्यक्ष केसीले जानकारी दिनुभयो ।“पहिरो निरन्तर बगिरहने समस्याका रहेको छ”, उहाँले भन्नुभयो,“ पहिरो रोक्ने दीर्घकालीन उपायका लागि विपद् व्यवस्थापन समितिमा छलफल भइरहेको छ ।” सडक खुलाउनका अहिले डोजर प्रयोग भइरहेको र बिहीबारसम्म सडक सञ्चालनमा आउने हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले जानकारी दिनुभयो । “पहिरो रोकिनासाथ करिडोर खुलाउने योजनाका साथ मेसिन र जनशक्ति तयारी अवस्थामा राखेका थियौँ”, उहाँले भन्नुभयो,“मङ्गलबारबाट पहिरो रोकिएका कारणले आज बिहानैबाट पहिरो खुलाउन थालिएको छ । भोलिबाट करिडोर पूर्ण रुपमा सञ्चालनमा आउँछ ।” कर्णाली करिडोर अवरुद्ध हुँदा कालीकोट, बाजुरा, हुम्ला र मुगु जिल्लाका स्थानीयवासीले कष्टपूर्ण यात्रा गर्दै आएका थिए । कर्णाली करिडोर सञ्चालनमा आए नागरिकलाई यात्राका लागि सहज हुने कालीकोट रास्कोट नगरपालिका–५ का स्थानीयवासी हुकुम शाहीले बताउनुभयो । कर्णाली करिडोरअन्तर्गत कालीकोट जिल्लामा ४० किलोमिटर सडकखण्ड, बाजुरामा जिल्लामा ४३ किलोमिटर र हुम्ला जिल्लामा एक सय १३ किलोमिटर रहेको छ ।
पोखरा । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर २ (१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिमबहादुर कार्कीलाई उक्त निर्वाचन क्षेत्रका मतदाताहरूले आम भुमिहिन तथा अव्यवस्थित बसोबास गरिरहेका जनताहरूको सारथी भएको प्रतिक्रिया दिएका छ्न् । केपी ओली नेतृत्वको एमाले सरकारद्वारा गठित भुमीसम्बन्धी समस्या समाधान आयोगमा केन्द्रीय सदस्य तथा प्रवक्ताका रूपमा काम गर्दा उनी हुदा खाने जनताहरूका असल सारथी भएको प्रमाणित भएको स्थानियहरूले उल्लेख गरे । आफ्नो निर्वाचन क्षेत्रका विभिन्न ठाउँका मतदातासँग साक्षात्कार अभियानमा रहेका उम्मेदवार कार्कीलाई स्थानियले निर्वाचनमा जिताएरै छोड्ने वचन दिएका छन् । आफ्नो कार्यकालमा भुमिहिनहरूलाई भुमिको मालिक बनाउने अभियानलाई आवश्यक नीति निर्माण गर्दै नेतृत्व दिने एक मात्रै सवल उम्मेदवार कास्की २ (१) ले प्राप्त गरेको भन्दै आफुहरुका सपनालाई विपनामा बदल्ने उम्मेदवार कार्की भएको उनीहरुको विश्वास छ । पोखरा १५ निवासी स्थानिय मुक्ति गुरुङ भन्छन्–‘एमालेले बाँडेका सपना कहिल्यै झुटा थिएनन । जनताको पक्षमा काम गर्ने योजनाबद्द चरणमा आयोग थियो तर गठबन्धन सरकारले आयोग खारेज मात्रै गरेन, गरेका कतिपय कामलाई बैधता नदिदा भुमिहिनका समस्या अलपत्र पारे ।’ अहिले आँखामा छारो हाल्न निर्वाचनको मुखमा निस्सा बाँडेको प्रपन्च रच्ने गठबन्धन सरकारको रबैया प्रति सबै भुमिहिन जनताहरू सचेत रहेको उनले बताए । हिजोका दिनमा भुमिहिनको नाम लिएर आफू मोटाउने दाउमा लागेकाहरूदेखि सतर्क रहदै सच्चा भुमिहिनको अधिकारका लागि लड्ने पार्टी एमाले नै आफुहरूको रोजाईमा रहने पोखरा ७ निवासी स्थानिय निकेश श्रेष्ठले प्रष्ट पारे ।
नवलपरासी । पूर्वी नवलपरासीको देवचुलीस्थित अमरज्योति सामुदायिक वनले महिला उपभोक्तालाई आत्मनिर्भर बनाउन दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको छ । वनजङ्गलमा खेर जाने सालको पातबाट दुनाटपरी बनाएर बजारमा बेच्न सुरु गरेपछि यहाँका महिला हर्षित छन् । सामुदायिक वनले वैकल्पिक आम्दानीको स्रोत पहिचान गर्दै खेर गइरहेको वन पैदावरको सदुपयोग गरी दुना टपरीको उद्योग सञ्चालन गरेको हो । यसले विपन्न वर्गका उपभोक्ताको सामान्य घर खर्चको जोहो मात्र नभई पर्यावरणीयरुपमा समेत फाइदा पुगेको छ । वनसँग सम्बन्धित विभिन्न गैरसरकारी सङ्घसंस्था र सामुदायिक वनको सहकार्यमा रु तीन लाख १५ हजारको लागतमा सञ्चालित उद्योगबाट प्रारम्भिक चरणमा एक सय महिलाले रोजगार पाएको अमरज्योति सामुदायिक वनका अध्यक्ष टेकलाल रुचाल मगरले बताउनुभयो । परम्परागत नेपाली दुनाटपरीले बजारमा प्लास्टिकका आयातित प्लेटसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ । दुनाटपरी जङ्गलमा प्रशस्त पाइने पातबाट बनाइने भएकाले कच्चापदार्थको अभाव हुँदैन । महिलालाई आयआर्जनका लागि दुनाटपरी उद्योग उपयुक्त हुने अध्यक्ष मगरको भनाइ छ । “दुनाटपरीको कच्चापदार्थ सबै प्राकृतिक भएकाले प्रयोगपछि फोहर व्यवस्थापन सहज हुन्छ”, मगर भन्नुहुन्छ, “आफ्नै वनपाखामा झरेर खेरजाने पात टिपेर बनाइने भएकाले कच्चापदार्थको समस्या छैन । गाउँघरका महिलाका लागि सजिलो रोजगारी हुन्छ ।” हिन्दू संस्कारमा दुनाटपरी धेरै प्रयोग हुने भएकाले माग पनि कम नहुने मगरको विश्वास लिइएको छ । वातावरणीय दृष्टिले कुरा बुझाउनसक्दा प्रयोग झन् बढ्छ । “आफ्नो पुँजीअनुसार मानिसले सस्तो वस्तु खोज्नु स्वाभाविक भए पनि सालको पातको दुनाटपरी प्रकृति, स्वास्थ्य र संस्कृतिसँग जोडिएकाले माग धेरै छ”, उहाँले भन्नुभयो । सामुदायिक वनले १३ जना सदस्य रहेको उपसमिति गठन गरेर दुनाटपरी उत्पादनको काम अगाडि बढाएको अध्यक्ष मगरले बताउनुभयो । वनका उपभोक्ता सदस्यले बनाएर ल्याएको लाफा (आवश्यताअनुसार सिन्काले पात गाँसेर फेरो नउठाइएको चरण) उपसमितिले टपरी एक रुपैयाँ ४० पैसा र दुना ७० पैसामा खरिद गर्ने गरेको मगरले जानकारी दिनुभयो । उद्योग चलाउन सामुदायिक वनले गठन गरेको उपसमितिले उपभोक्ताले खरिद गरेर ल्याएको लाफालाई मेसिनबाट दुनाटपरी बनाएर बजारमा पठाउने गरेको छ । तयारी दुनाटपरी बजारमा पुग्दा दुनाको दुई रुपैयाँ ५० पैसा र टपरीको पाँच रुपैयाँ पर्ने गरेको अध्यक्ष मगरले जानकारी दिनुभयो । उहाँकाअनुसार एक महिलाले अहिलेको अवस्थामा पाँचदेखि सात सय रुपैयाँसम्मको लाफा उपसमितिलाई बेच्ने गरेका छन् । सामुदायिक वनले दुनाटपरी उद्योग सञ्चालनमा ल्याएपछि उपभोक्ता महिला खुसी भएका छन् । दुनाटपरीको लाफा बेचेर सामान्य खर्च चलाउन सहज हुन लागेको वनकी उपभोक्ता बीमा नेपाली बताउनुहुन्छ । “पहिलेपहिले श्रीमान्ले पैसा नपठाउँदासम्म दैनिक खर्च चलाउनै गाह्रो हुन्थ्यो, अहिले दैनिक नूनतेल, बच्चाको कापीकिताब यसैबाट पुग्न लागेको छ”, नेपालीले भन्नुभयो । सामुदायिक वनमा स्थापित दुनाटपरी उद्योगले सुरुआती चरणमा माग आएका आधारमा उत्पादन गर्ने गरेको छ । विषेशतः जिल्लाको दलदले, कावासोती तथा छिमेकी जिल्ला चितवनको नारायणघाट बजारका होटल तथा रेष्टुरेन्टबाट माग आउने गरेको अध्यक्ष मगरले बताउनुभयो । “अहिले बजारबाट आएको मागअनुसार उत्पादन गरेका छौँ, अब बजार व्यवस्थापन गरेर उत्पादनलाई नियमित गर्ने योजनामा छौँ”, उहाँले भन्नुभयो, “पछिल्लो समय धार्मिक कार्यक्रमबाहेक होटल तथा रेष्टुरेन्टबाट माग आउनेक्रम बढेको छ ।” एक दिन जङ्गल गएर टिपेको पातले तीन÷चार दिन लाफा बनाउन सकिन्छ । यसबाट महिलालाई घरव्यवहार चलाउन सहज भएको दुनाटपरी उद्योग सञ्चालनार्थ गठित उपसमितिकी अध्यक्ष टकमाया नेपाली बताउनुहुन्छ । हेर्दा सामान्य लागे पनि दुनाटपरी उद्योगबाट फुर्सदको समय सदुपयोग गरेर दैनिक घरव्यवहार चलाउन पैसा कमाउन सकिन्छ भन्ने यो गतिलो उदाहरण हो ।