सुनिन छाड्यो नगराको धुन
लमजुङ | असोज ११, २०७९

लमजुङ : यतिबेला लमजुङमा दशैँको छुट्टै रौनक छाएको छ । खेतमा ‘लहलह’ धानको बाला झुलेको छ भने बारीमा ढकमक्क कोदो फुलेको छ । रात जुनेली, दिन पनि घमाइलो भइरहेको छ । घर बाहिर गएका परिवारका सदस्य पनि घरमा आउन थालेका छन् । गाउँघर तथा सहरमा मानिसको चहलपहल पनि बढ्दो छ ।
सुन्दरबजार नगरपालिका–९ सिउँदीबारका सन्तोष श्रेष्ठ भने खासै रमाएका छैनन् । उहाँले भन्नुभयो, “विगतका वर्षहरूमा प्रत्येक घटस्थापनाका दिनदेखि बिहान–बिहानै नगरा बजाउन आउँथ्यो, नगराका धुन सुन्दा दशैँको आभास हुने गर्दा मनै उल्लासमय हुन्थ्यो, तर यस वर्ष नआउँदा नरमाइलो लागेको छ । सानै छँदादेखि नगरा बजाएको सुन्दै आएँ तर यस वर्ष भने नआएपछि नगराको धुन सुन्न नपाउँदा लोप भयो कि भन्ने चिन्ता लागेको उहाँको भनाइ छ ।
हिन्दू धर्म संस्कृतिसँग जोडिएको नगरा लगाउने प्रथा पछिल्लो समय हराउँदै गएको छ । घटस्थापना सुरु भएदेखि अर्थात् नौरथा सुरु भएसँगै गाउँ–सहरका घरघरमा नगरा लगाउने चलन छ । नगरा लगाउँदाको दमाहाको धुनले दशैँ आएको आभास स्थानीयलाई हुने गरे पनि यस वर्ष भने गाउँघरमै सुनिन छाडेको छ ।
दशैँको बेला नगरा लगाएको घरमा सुख र शान्ति छाउने धार्मिक विश्वास पनि रहिआएको छ । दशैँका बेलामा परियार समुदायका मान्छेले घर–घरमा पुगी दमाहा बजाएर लगाउने नगरा प्रथा पछिल्लो समय भने हराउँदै जाँदा जिल्लावासी चिन्तित छन् । अझै बुढ्यौली हुँदै गएका दमाह बजाउने परियार समुदायका सन्तति अर्थात् युवापुस्ताको चासो नगरा लगाउनेमा नहुँदा लोप हुँदै गएको पाइन्छ ।
नगरा लगाउनेलाई समाजले राम्रो नजरले नहेर्ने भएकाले पनि यो प्रचलन विस्तारै हराउँदै गएको दोर्दी गाउँपालिकाका सन्तेबहादुर परियारले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेका युवापुस्तालाई बाजा बजाउनै नआउने र बजाउन सिकेकासमेत बाजा बजाउँदै हिँड्न लाज मान्ने गरेका छन् । त्यसैमाथि यो नगरा लगाउने चलन त हराइनै सकेजस्तो छ ।”
विगतमा घर–घरमै नगरा लगाउने चलन भए पनि केही वर्षदेखि भने नगरा लगाउने चलन हराउँदै गएको क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “अब नगरा संरक्षणका लागि पालिकाले नयाँ पुस्ताका परियार समुदायलार्ई आकर्षित गर्ने वातावरण सिर्जना गर्छौँ । नगरा प्रथा परियार समुदायको संस्कार, परम्परा र पुर्खाले दिएको सम्पत्ति हो । तर अहिले परम्परा नै लोप हुन थालेको जनाउँदै परियार समुदाय नै चिन्तिन बन्दै गएका छन् ।”
घटस्थापनादेखि ब्राह्मण–क्षेत्री समुदायमा दशैँको नवमीसम्म बिहान दुर्गा भवानीको पूजा गर्ने चलन छ । नहरा लगाउने प्रथा संरक्षणमा सबै परियार समुदाय पनि एकजुट हुनुपर्ने सरोकारवाल बताउँछन् । विस्तारै विभिन्न संस्कार र संस्कृति लोप हुँदै गर्दा संस्कृतिविद्समेत चिन्तित बनेका हुन् ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...