कावासोती । चाउरिएको अनुहारमा सेतै फुलेको दारी, पिठ्युमा झोला, साधारण पोशाकमा जिल्लाका लगभग सबै साहित्यिक कार्यक्रममा सर्जक दीपक सोती देखिनुहुन्छ । उहाँ उमेरले ७५ मा हिँड्दै हुनुहुन्छ । उहाँको साहित्यप्रतिको लगाव र हुटहुटी देख्दा लाग्छ उहाँ २०–३० वर्षकै उमेरमा हुनुहुन्छ । मञ्चमा उक्लिएपछि सबै उमेर समूहका दर्शक, स्रोताको मन जित्न सफल उहाँको मनमा भने विगत ३४ वर्षदेखि एउटै पिरले डेरा जमाएको छ ‘म्याउँ म्याउँ बिरोलो’ आफ्नो भनेर प्रमाणित कसरी गर्ने । विसं २०२८ तिर रत्न रेकर्डिङमा सङ्गीता थापाको स्वरमा सो बालगीत रेकर्ड भएको जनाइएको छ । चार सन्तानका पिता उहाँले वर्षौँ पहिले आफ्नो जेठो सन्तान गुमाउनुभयो, अनि अहिले आएर उहाँलाई आफैँले लेखेको म्याउँम्याउँ बिरालोलाई पनि आफ्नो जीवनकालमा आफ्नो नाम दिन पाउँदिन कि भन्ने पिरलोले दिन–दिनै सताएको छ । विगतलाई उहाँले यसरी सम्झनुहुन्छ, “विसं २०२५ असारको महिना थियो, बा–आमा खेतमा जानुभएको थियो, घरमा भाइलाई हेर्दै बसेका बेला बिरालो आएर कराइको दूध खाँदै थियो, त्यहीँ देखेपछि गीत लेखेको हुँ । ” विसं २०२८ ताका लमजुङबाट पाँच दिन पैदलयात्रा गरेर काठमाडौँ गएको बेला पशुपतिमा प्रज्ञा प्रतिष्ठानका सदस्य श्यामदास वैष्णवसँग भेट भएको र उनै श्यामदाससँग डिल्लीबजारसम्म पुगेपछि चिया पिउँदै गर्दा म्याउँम्याउँ बिरालो देखाएपछि रेकर्ड गर्ने सल्लाह उहाँबाट पाएको सर्जक सोती सम्झनुहुन्छ । उहाँले श्यामदासबाट सल्लाहमात्रै पाउनुभएन, उस्ताद भैरवबहादुर थापासँग भेट गराइदिनुभयो । भेटपछि भैरवबहादुरकै सङ्गीत र उनै भैरवबहादुरकी १० वर्षीया सानी छोरी सङ्गीता थापाको स्वरमा रत्न रेकर्डिङमा गीत रेकर्ड भएको सोतीलाई सम्झना छ । रत्न रेकर्डिङको प्लेट नं ८१ मा गीत रेकर्ड भएको र गीत रेकर्डपछि रु ८५ पारिश्रमिकसमेत पाएको सर्जक सोतीले जानकारी दिनुभयो । रत्न रेकर्डिङमा रेकर्ड भएपछि म्याउँम्याउँ बिरालो बोलको बालगीत रेडियो नेपालसहित अल इन्डिया रेडियो, श्रीलङ्का र चीनको रेडियोबाट बज्ने नेपाली कार्यक्रममा यो गीत बज्ने गरेको सर्जक सोतीले बताउनुभयो । गीत रेर्कड भएपछि उहाँले खासै वास्ता राख्नुभएन, त्यतिबेला त्यो गीत रेडियो नेपाल, भारत, चीन र श्रीलङ्काको रेडियोबाट पनि बजेको भने उहाँलाई सम्झना छ । “सुरु–सुरुमा गीतको चासो त्यति राखिनँ तर विगत ३४–३५ वर्षदेखि गीतको खोजी गरेको छु, तर अत्तोपत्तो छैन”, उहाँले भन्नुभयो । “पछि त यही गीत मेरो नाम नराखी पाठयपुस्तकमा पनि छापिएर आएछ”, थाहा पाउँदा दुःख लाग्यो”, उहाँले भन्नुभयो । गीत पाठयपुस्तकमा बिना नाम छापिएर आएपछि कवि सोतीले तत्कालीन शिक्षा सहायकमन्त्री क्षेत्रप्रताप अधिकारीलाई भेटेर पाठयपुस्तकमा आफ्नो नाम राखिदिन आग्रह गर्नुभएको थियो । विसं २०४६ को जनआन्दोलनका समय भएकाले पुस्तकमा समेत नाम आउन नसकेको उहाँको दुःखेसो थियो । आन्दोलनपछि विसं २०५०÷५१ ताका आफ्नो नाम नराखी पाठयपुस्तकमा छापेको एकता प्रकाशन पुगेर आफूले आपत्ति जनाएको उहाँले बताउनुभयो । यसपछि नाम राखिदिने आश्वासन समेत उहाँले पाउनुभएको थियो । पारिश्रमिकस्वरुप रु दुई हजार प्रकाशनले दिएको उहाँले बताउनुहुन्छ । “नाम त हालेनन् हालेनन्, झन् सम्पादन गर्दा एक जना वस्ती थर भएकाले गीत नै बिगारी दिएछन्”, उहाँले दुःखेसो पोख्दै भन्नुभयो, “अहिले त झन् युट्युबमा आएको छ, हेर्न त धेरैले हेरेका रहेछन्, तर मेरो नाम नै छैन, त्यही माथि गीत पनि बिगारेका रहेछन्”, उहाँले भन्नुभयो । आफूसँग भएको गीतको क्यासेट विसं २०४३÷४४ ताका पोखरामा डेरा सर्ने क्रममा फुटेपछि गीतलाई आफ्नो नाम दिन काठमाडौँमा रहेको रेडियो नेपाल र नेपाल टेलिभिजनको कार्यालयमा बर्सेनि धाइरहेको उहाँले सुनाउनुभयो । उहाँलाई आफ्नो जीवनकालमै त्यो गीतको रचनाकारका रूपमा आधिकारिकरूपमा फेरि पनि नाम लेखाउन पाउँदिन कि भन्ने पिरले गिजोल्न भने कत्ति छाडेको छैन । रेडियो नेपालका निर्देशक कार्यक्रम महाशाखा प्रमुख वरिष्ठ साहित्यकार नवराज लम्साल पनि त्यो गीत कवि सोतीकै भएको बताउनुहुन्छ । “विसं २०७२ को महाभूकम्पको बेला धेरै पुराना क्यासेट फुटे, सायद सोतीजीको पनि त्यही बेला फुटेको हुनुपर्छ, हामाीले सबै पुराना क्यासेटहरूलाई रिकभर गर्दैछौँ, भेट्नासाथ उहाँको सम्पत्ति उहाँलाई हस्तान्तरण गर्छौ”, उहाँले भन्नुभयो । विसं २०२८ मा गीत रेकर्ड गर्दा आफू स्वयं स्टुडियोमै रहेको जनाउँदै वरिष्ठ सङ्गीतकार दीपकजङ्गम म्याउँ–म्याउँ बिरालो कवि सोतीको रचना भएको बताउनुहुन्छ । “गीत रेकर्ड मेरै अगाडि भएको हो, सङ्गीताले गाएकी हुन्, यसको रचनाकार सोतीजी नै हो”, उहाँले बताउनुभयो, “गीतको रचनाकार सोती नै भए पनि अहिले पुष्टि गर्न प्रमाण जुटाउन परेको छ, इतिहास बिर्सनु हुँदैन, यो गीत उहाँले नै लेख्नुभएको हो ।” उमेरले ७५ लागेका सोतीलाई भने उक्त गीतको प्रतिलिपि अधिकार आफ्नो नाममा गराउन मन छ । “उमेरले बूढो भए पनि हिम्मत हारेको छैन, एकपटक फेरि काठमाडौँ जान्छु, आफ्नो सन्तानको माया कसलाई पो हुन्न र”, उहाँ भन्नुहुन्छ । यस्तो छ गीत म्याउँ–म्याउँ बिरालो यतातिर आउ मेरो नाना काटी गर्ने मुसा मारी खाउ कराइको दूध खाइदेऊ भने म त भोकै हुन्छु, नखाइदेउ भन्छु बाबा भन्छिन् खाली बुबु चोर्न जाली आमा भन्छिन् चोर्ली भाडाहरु फोर्ली बुबु चोर्यो भने लट्ठीले म हान्छु नआइज न यता चोर्नै म्याउ भन्छु विसं २००६ मा लमजुङको कुन्छामा जन्मिनुभएका सर्जक सोती अहिले स्थायीरूपमा पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं १२ मा बसोबास गर्नुहुन्छ । विसं २०२१ मा ‘नरोक मलाई’ कविता लेखेर दोस्रो स्थान हासिल गरेका उहाँ अनवरतरूपमा साहित्य सिर्जनामा क्रियाशील हुुनुहुन्छ । विसं २०२८ मा लमजुङको कुन्छा साहित्य परिषद्को अध्यक्ष, २०३८ मा मकवानपुर साहित्य परिषद् हटौँडाको संस्थापक उपाध्यक्ष, २०४६ मा युवा साहित्य सदन पोखराको संस्थापक सचिवसमेत भएका कवि सोतीको ‘मेरी मस्र्याङ्दी’ कविता सङ्ग्रह(२०२८), ‘दुई बत्ती निभेर’ कविता सङ्ग्रह (२०३०), ‘जगदम्बा’ काव्य (२०४५), ‘समालोचक’ शोक काव्य (२०४१) , ‘मेरी आमा रुँदी हुन्’ कविता सङ्ग्रह (२०६७), फुल्न नसकेका फूलहरू (२०७८) र थुप्रै फुटकर कविता प्रकाशित भएका छन् ।
पोखरा : लहरै बसेर केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खिरसहित केरा र आलुको अचार खाइरहेका थिए विद्यार्थी । उक्त दृश्यले हाम्रा समाजमा पहिले–पहिले हुने गरेका भोजभतेरको झल्को दिन्थ्यो । खुसी थिए विद्यार्थी, खाजा बाँड्न खटिएका शिक्षक तथा कर्मचारी पनि उत्तिकै प्रफुल्ल देखिन्थे । कृषिप्रतिको अनिच्छासँगै खेतबारी बाँझिएपछि यतिखेर गाउँघरमा कोदो पाउन मुस्किल छ । फाट्टफुट्ट कोदाको खेती देखिने गरे पनि कागुनो त लभगभ हराइसकेको छ । परम्परागतरूपमा केराको पात र दुनामा खाने प्रचलन पनि छैन । यिनै कुरालाई दृष्टिगत गर्दै पोखरा महानगरपालिका वडा नं २२ पुम्दीभुम्दी दहरास्थित लीला आधारभूत विद्यालयका विद्यार्थीलाई सोमबार रैथाने बालीका परिकारको खाजा खुवाइयो । पुम्दीभुम्दी कृषि सहकारी संस्था र कराङ्गे कृषि समूहद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रमको उद्देश्य नै विद्यार्थीलाई रैथाने बालीका परिकारको खाजा खुवाएर यसबारे जानकारी गराउँदै अभिभावकलाई यसतर्फ अभिप्रेरित गर्नु थियो । खेतबारीहरू बाँझिदै गएका अवस्थामा पोषकतत्वयुक्त रैथाने बालीतर्फ सचेतना जगाउने उद्देश्यका साथ विद्यालयका विद्यार्थीलाई रैथाने कोदोको सेल, कागुनाको खिरसहित केरा र आलुको अचारको खाजा खुवाइएको कराङ्गे कृषक समूहका अध्यक्ष श्यामलाल पोख्रेलले बताउनुभयो । “पछिल्ला वर्षमा गाउँघरतिर खेतबारी बाँझै छन्, कोदो, कागुनोजस्ता रैथाने बाली लोप हुने अवस्थामा छन्”, उहाँले भन्नुभयो, “विद्यालयका विद्यार्थीमार्फत रैथाने बालीप्रति सचेतना जगाउने उद्देश्यका साथ यो अभियान थालेका हौँ ।” पहिले–पहिले गरिब, विपन्न परिवारले खाने अन्नका रूपमा लिइने कोदो पछिल्ला वर्षमा भने सम्पन्न हुनेखानेको रोजाइमा पर्न थालेको छ । विभिन्न रोग प्रतिरोधात्मक कोदोको पछिल्ला वर्षमा खेती कम हुँदै गएको छ भने बजारमा माग बढ्दो रहेको पोखरा कृषि महाशाखा प्रमुख मनोहर कडरिया बताउनुहुन्छ । कोदोखेती कम हुन थालेसँगै यसका विभिन्न रैथाने प्रजाति पनि लोप हुँदै जानु यतिखेर चुनौतीका रूपमा देखिएको छ । विगतमा कास्की र आसपासमा दूधे काले, कुकुर काने, ठूलो कोदो, ज्याउदी खोले, देउराली काले, माझठाने, चुल्ठे, कालो डल्ले, सम्धी, सेतो झ्यापे, सिर्कुताने, हुम्ला डल्लेजस्ता विभिन्न प्रजाति पाउने गरिएकामा ती प्रजाति लोप हुँदै गएका छन् । मधुमेहजस्ता रोगका बिरामीलाई पनि खान हुने भएकाले बजारमा कोदोको अत्यधिक माग हुने गरेको पाइन्छ । पौष्टिक अन्नमध्येको कोदो रोटी, ढिँडो, पुवाजस्ता परिकार बनाउन प्रयोग गरिन्छ भने यसबाट घरेलु मदिरा पनि बनाउने गरिन्छ । कोदोखेतीलाई अघि बढाउन सकेमा यसले बाँझिएका जग्गामा खेती गर्दै स्थानीयवासीलाई आयआर्जनसँग जोड्न सकिने कडरियाको भनाइ छ । विद्यालय तहबाट सचेतनामूलक किसिमले रैथाने बालीका परिकारका खाजा खुवाउने अभियानलाई व्यापक गर्न सकेमा हराउँदै गएका बालीलाई पुनः लगाउने वातावरण तयार गर्न सकिने कडरियाले बताउनुभयो । कागुनो पुराना अन्न बालीमध्येमा पर्दछ । नेपाली समाजमा यसलाई काउनो पनि भन्ने गरिन्छ । नेपालका विभिन्न स्थानमा प्राचीनकालदेखि हुँदै आएको यो खेती अहिले भने लगभग लोपोन्मुख अवस्थामा पुगेको छ । नेपालका कणाली क्षेत्रका साथै रामेछाप, काभ्रे, गोरखा, लमजुङ, कास्की, धादिङजस्ता जिल्लामा फाट्टफुट्ट यो खेती गर्ने गरिए पनि अहिले भने लगभग हराइसकेको कृषक बताउँछन् । पहाडी भेगमा त यसलाई अनिकाल टार्ने अन्नका रूपमा समेत लिने गरिन्थ्यो । असिना तथा खडेरी सहनुका साथै भिरालो र कम उर्वर जमिनमा पनि राम्रो उत्पादन हुनसक्ने भएकाले यसलाई अनिकालको अन्न भन्ने गरिएको हो । कागुनोको भात, खिर, ढिँडो बनाएर खाने चलनका साथै कोदोसँग मिसाएर रक्सीसमेत बनाउन सकिने यो बाली बाँझिएका जग्गामा लगाउन सके स्थानीयको आयआर्जन बढाउन सकिन्छ । कृषिप्रतिको अनिच्छासँगै रैथाने बालीको महत्व बुझ्न बुझाउन नसक्दा कोदो, कागुनोजस्ता रैथाने बालीहरू सङ्कटमा परेको पुम्दीभुम्दी कृषक समूहका अध्यक्ष खेमराज बरालले बताउनुभयो । “हाम्रा बाँझिएका जग्गामा यी रैथाने बालीलाई अघि बढाउन सकेमा यसले उत्पादनसँगै आम्दानी बढाउन सकिन्छ”, उहाँले भन्नुभयो । कृषिलाई वडा कार्यालयले प्राथमिकतामा राखेको बताउनुहुने पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल स्थानीयको जागरुकता भएमा वडाका तर्फबाट हुनसक्ने सबै किसिमका सहयोगमा आफूहरू प्रतिबद्ध भएको बताउनुभयो । लीला आधारभूत विद्यालयका प्रधानाध्यापक घनश्याम देवकोटाले विद्यार्थीमार्फत रैथाने बालीको संरक्षणमा घर–घरमा सन्देश पुग्ने विश्वास व्यक्त गर्नुभयो । शिक्षक प्रितम देवकोटाले बाँझिएका जग्गामा खेती गर्न सकेमा परनिर्भरता हट्दै आत्मनिर्भरता बढ्ने धारणा राख्नुभयो ।
काठमाडौं । चितवनको एक सामुदायिक विद्यालयले मोबाइल म्यासेजमार्फत विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानाकारी दिने प्रविधि प्रयोगमा ल्याएको छ । भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमूना माविले विद्यार्थीलाई समयमै विद्यालय आउने र घर जाने वातावरण बनाउन अभिभावकको मोबाइलमा म्यासेज पठाउन थालेको हो । यो प्रविधि जडान भएपछि विद्यार्थी विद्यालय पुग्नासाथ र विद्यालयबाट घरका लागि हिँड्नासाथ म्यासेज अभिभावकको मोबाइलमा पुग्छ । विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडीले स्कुलमा विद्यार्थीको सङ्ख्या धेरै भएका कारण व्यवस्थापनमा सहजता ल्याउन मोबाइलमा म्यासेज पठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी घरबाट हिँडेर कहिलेकाहीँ स्कुल नपुग्ने र स्कुलबाट छुटेपछि पनि समयमा घर नजाने गुनासो आउने गरेपछि यो प्रविधिको सुरुआत गरेका हौँ ।” उहाँले विद्यालयले विद्यार्थीबारे म्यासेजको व्यवस्था गरेपछि अभिभावकलाई पनि ढुक्क हुने बताउनुभयो । “कहिलेकाहीँ ५ बजेसम्म पनि अध्ययन हुनसक्छ, म्यासेज नआएसम्म आफ्ना छोराछोरी स्कुलमा सुरक्षित छन् भनेर अभिभावक ढुक्क हुनुहुन्छ”, प्रचार्य दवाडीले भन्नुभयो । यो प्रविधिमार्फत विद्यार्थीको वैज्ञानिक व्यवस्थापनको अभ्यास थालिएको उहाँको भनाइ छ । यो प्रविधि जडानका लागि विद्यालयले भरतपुरको प्राचीन मेटल आर्टस् एण्ड फ्लेक्ससँग सम्झौता गरेको छ । प्राचीन मेटलका सञ्चालक गोपालभक्त अधिकारीले विद्यार्थीको आइडी कार्डमा चिप जडान गरिएको र विद्यार्थी विद्यालय प्रवेश गर्ने र बाहिरिने बित्तिकै अटोमेटिक रिड गरेर अभिभावकलाई म्यासेज पठाउने बताउनुभयो । अभिभावकलाई म्यासेज पठाउने प्रविधि केही निजी स्कूल कलेजमा यसअघिनै जडान गरे पनि सामुदायिक विद्यालयमा नारायणी नमूना मावि जिल्लामा नै पहिलो भएको उहाँले बताउनुभयो । विद्यालयसँग एक वर्षको सम्झौता गरेर काम गरिएको अधिकारीले जानकारी दिनुभयो । विद्यालयको बसमा समेत जिपिएस जडान गरिएको छ । जसको माध्यमबाट अभिभावक तथा शिक्षकले मोबाइल एपको माध्यमबाट स्कुल बसलाई ट्रयाक गर्न सक्नेछन् । विद्यालयमा तीन हजार पाँच सय बढी विद्यार्थी अध्ययनरत छन् । अभिभावकले विद्यालय पुर्याउने र लैजानेबाहेकका अन्य विद्यार्थीलाई म्यासेज पठाउने व्यवस्था गरिएको छ । करिब तीन हजार विद्यार्थीलाई एकैपटक म्यासेज जाने प्राचार्य दवाडीले बताउनुभयो । विद्यालयले सूचना र प्रविधिको माध्यमबाट अध्ययन अध्यापन गराउने कुरालाई प्राथमिकतामा राखेको जनाएको छ । सबै कक्षाकोठामा प्रोजेक्टरको व्यवस्था गरिएको छ भने सिसीटिभी जडान समेत गरिएको दवाडीेले जानकारी दिनुभयो । विद्यालयले पढाउने विधिलाई पनि प्रविधिमैत्री बनाएको उहाँले जानकारी दिनुभयो ।
त्रिशूली । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको देशकै ठूलो सोलार फार्म (प्लान्ट) बाट २५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । एक वर्षभित्र काम सम्पन्न गर्ने भनेर विसं २०७५ वैशाख १४ गते शिलान्यास गरिएको फार्मबाट साढे तीन वर्षपछि लक्ष्यअनुसार २५ मेगावाट विद्युत्को परीक्षण उत्पादन भइरहेको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न सात ब्लकमा स्थापना गरिएका सौर्य फार्मबाट सुरु भएको परीक्षण उत्पादन सफल ठहरिएको छ । “फार्मबाट पछिल्लो दुई सातादेखि २५ मेगावाट विद्युत् उत्पादनको परीक्षण निरन्तर भइरहेकाले आयोजना सफल भएको छ”, आयोजना प्रमुख रघुवंशीले भन्नुभयो, “मौसम अनुकूल भएको समयमा लक्ष्यअनुसार २५ मेगावाटभन्दा केही बढी विद्युत् उत्पादन भइरहेको छ ।” फार्मबाट उत्पादित विद्युत् विदुर नगरपालिका–६ स्थित देवीघाट जलविद्युत् केन्द्रमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सौर्य फार्म विदुर–६ र १२ मा पर्दछ । विसं २०७४ जेठ ३ मा सम्झौता गरिएको आयोजनाको शिलान्यास विसं २०७५ वैशाख १४ मा गरिएको थियो । एक वर्षभित्र काम पूरा गर्ने लक्ष्य लिइएको भए पनि निर्माण व्यवसायीबाट ढिलो गरेर तयार भएको डिजाइन परामर्शदाता कम्पनीले पुनरावलोकन आवश्यक रहेको भन्दै स्वीकृत गर्न थप ढिला गरेसँगै फार्म निर्माणको काम डेढ वर्ष पर धकेलिएको हो । निर्माण व्यवसायी चिनियाँ कम्पनी राइजन इनर्जीले विसं २०७६ कात्तिकदेखि काम सुरु गरेर पहिलो चरणमा विसं २०७७ माघमा एक दशमलव पाँँच मेगावाट विद्युत् उत्पादन गरेको थियो । आयोजनाको पूर्ण क्षमता ९२५ मेगावाट० गत भदौ १० गतेदेखि थालिएको परीक्षण उत्पादन दुई सातासम्म नियमित भएसँगै सफल ठानिएको छ । सोलार आयोजनाबाट उत्पादित विद्युत् फार्मले आफैँले निर्माण गरेको ३३र६६ केभी २५ एमभिए क्षमताको सब–स्टेशनबाट अपग्रेड गरेर एक सय मिटर दूरीमा अवस्थित देवीघाट विद्युत्गृहको सबस्टेशनसम्म भूमिगत प्रसारण लाइनमार्फत पुर्याएर त्यहाँबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजना प्रमुख रघुवंशीका अनुसार सौर्य प्लान्टले बिहान ६ देखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन गर्दछ । “सिधै प्रसारण प्रणालीमा पठाएकाले ब्याट्री राखेर विद्युत् सञ्चय गरिएको छैन”, उहाँले भन्नुभयो, “मौसम सफा भएको मध्याह्नको समयमा २५ दशमलव दुई मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको छ, परीक्षण अवधिमा दैनिक एकलाख युनिट विद्युत् उत्पादन भएकाले आयोजनाको निर्माण सफल मानिएको हो ।” सौर्य प्यानलबाट उत्पादन हुने विद्युत् डिसी (डाइरेक्ट करेन्ट)बाट एसी (अल्टरनेट करेन्ट)मा रूपान्तरण गर्दा सोही परिणामको प्रयोगयुक्त विद्युत् उत्पादन भइरहेको छ । अब नियमित उत्पादन सुरु गरिने आयोजना पक्षले जनाएको छ । यद्यपि फार्ममा जडान गरिएका सौर्य प्यानल सफा गर्न चाहिने पानीपोखरी, संरक्षणका लागि लगाउनुपर्ने घेराबार र पर्खाललगायतका केही भौतिक संरचना निर्माणको काम जारी रहेकाले आयोजना सम्पन्न भएको जानकारी दिन अझै एक महिना लाग्ने निर्माण व्यावसायीले नेपाल विद्युत् प्राधिकरणलाई जनाएको छ । खेर गएका बाँझो जग्गा उपयोग एउटा प्यानलबाट दुई सय ७५ वाट विद्युत् उत्पादन हुनेछ । एक मेगावाट विद्युत् उत्पादनका लागि प्यानल राख्न २० रोपनी जग्गा आवश्यक पर्दछ । हाल प्राधिकरणको नाममा रहेको ३८ हेक्टर बाँझो जग्गाको उपभोग गरेर २५ मेगावाट विद्युत् उत्पादन थालिएको हो । विदुर नपा वडा नं ६ र १२ स्थित प्राधिकरणको आफ्नै नाममा रहेको खाली जग्गाको विभिन्न सात ब्लकमा सौर्य प्यानल जडान गरेर प्राधिकरणले सौर्य फार्म निर्माण गरेको हो । सुरुमा स्टाफ क्वार्टर (विद्युत् प्राधिकरणमार्फत सञ्चालित बोर्डिङ स्कुल रहेको स्थान) र फोर–वे (नेपाली सेनाको ब्यारेक पछाडिको चौर)बाट विद्युत् उत्पादन सुरु भएको थियो भने क्रमश ः रातमाटे, केराघारी, हेलिप्याड, कफीघारी–१ र कफीघारी–२ बाट विद्युत् भइरहेको छ । उक्त जग्गा यसअघि अधिकांश अतिक्रमणमा परेका थिए । पाँच वर्षसम्म निर्माण व्यवसायीको जिम्मामा नेपाल सरकारले आन्तरिक उत्पादनबाटै विद्युत्मा आत्मनिर्भर हुने योजनाअनुरुप १० वर्षमा १५ हजार मेगावाटको लक्ष्यमा विद्युत् आयोजनाको उत्पादन समिश्रण अनुपात निर्धारणअनुसार सरकारीस्तरबाट देवीघाटमा सौर्य फार्म निर्माण गरिएको हो । यो देशको पहिलो र हालसम्मकै ठूलो फार्म मानिन्छ । आयोजना निर्माणमा ‘ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना’मार्फत विश्व बैंकको सहुलियतपूर्ण ऋण अनुदानमा प्राप्त ३८ मिलियन डलर लगानी छ । परियोजनाको प्लान्टका लागि चिनियाँ कम्पनी राइजन इनर्जीसँग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो । उक्त कम्पनीसँग विसं २०७४ जेठ ३ मा भएको सम्झौताअनुसार सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार समेत गरेर चालु अबस्थामा पाँच वर्षपछि मात्र सरकारलाई हस्तान्तरण गर्ने भनिएको छ । प्राधिकरणलाई फार्म औपचारिकरूपमा हस्तान्तरण गर्न बाँकी रहेकाले उक्त पाँच वर्ष अवधिको गणना सुरु भएको छैन । प्रतिमेगावाट रु १६ करोड लगानी प्लान्टबाट वार्षिक तीन करोड ४६ लाख ५० हजार युनिट सुनिश्चित (ग्यारेण्टी) विद्युत् आपूर्ति हुनुपर्ने सम्झौतामा भनिएको छ । सो परिणाममा विद्युत् उत्पादन नभए निर्माण व्यवसायीले प्रतियुनिट ३० सेन्ट क्षतिपूर्ति तिर्नुपर्दछ । फार्म निर्माणका लागि सम्झौता समयमा रु तीन अर्ब ८० करोड लाग्ने प्रक्षेपण गरिए पनि लक्ष्यभन्दा साढे तीन वर्ष ढिलो हुदाँ लगानी थप बढेको प्राधिरकणले जनाएको छ । आयोजनामार्फत विद्युत् उत्पादनमा लगानी महँगो भए पनि ऊर्जाको वैकल्पिक स्रोतको व्यवस्थापन र नमूना योजनाका रुपमा निर्माण गरिएकाले लगानीसँग तुलना गर्न नहुने आयोजना प्रमुख रघुवंशीको भनाइ छ । उहाँका अनुसार प्लान्ट निर्माण गर्दा प्रतिमेगावाट रु १६ करोड लगानी छ । वैकल्पिक ऊर्जाको पहिलो ठूलो स्रोत खेर गएको सौर्य ऊर्जा सङ्कलन गरेर प्राधिकरणको खुला (प्रयोगविहीन) जग्गामा सञ्चालनमा ल्याएको आयोजनामा गरिएको लगानी र विद्युत् उत्पादनलाई वैकल्पिक ऊर्जाका लागि देशकै ‘नमूना’ योजना रहेको प्राधिरकणको दाबी छ । फार्म सञ्चालनमा आएपछि हिउँदको समयमा राष्ट्रिय प्रसारण प्रणालीमा हुने ऊर्जा अभाव कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । काठमाडौँको नजिक दूरीमा पर्ने र यसका लागि छुट्टै प्रसारण प्रणाली बनाउन नपर्ने भएकाले पनि यस आयोजना निर्माण सम्पन्नले ऊर्जाको राष्ट्रिय योगदानमा महत्वपूर्ण मानिन्छ । भूकम्पलगायतका विपद्का कारण जलविद्युत् आयोजनामा क्षति पुग्नसक्ने भएकाले उक्त समयमा चाहिने ऊर्जाको वैकल्पिक स्रोतको उपभोग गर्न सौर्य फार्मको निर्माणलाई थप महत्वका रुपमा हेरिएको छ । हिउँदको समयमा फार्मबाट उत्पादन हुने विद्युत् उपयोग गरेर उक्त समयमा कुलेखानी जलाशययुक्तसहित कालीगण्डकी ‘ए’, मध्यमस्र्याङदी, मस्र्याङदी, चिलिमेलगायतका अर्ध–जलाशययुक्त उत्पादनगृहको पानी दिउँसो सञ्चित गरेर विद्युत्को माग बढी हुने बिहान र बेलुका (पिकआवर)को समयमा सञ्चालन गर्न सहयोग पुग्नेछ ।
बागलुङ । भदौको अन्तिम साता सुरु भएसँगै मुस्ताङको स्याउ बागलुङ, कुश्मा, बेनीलगायतका नजिकका बजारमा देखिन थालेको छ । चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दी र आसपासका जिल्लामा मुस्ताङको स्याउको माग हुन्छ । यहाँ एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँका बेला त अझै बढी मुस्ताङी स्याउको कोशेली चल्छ । चाहे मुस्ताङ बसेर गाउँ फर्किने हुन् वा देशविदेशमा रहेका दसैँका बेला गाउँ फर्किने किन नहुन् १ गाउँघरमा एउटै आशा हुन्छ, ‘कोशेलीमा मुस्ताङी स्याउ छ, छैन ।’ दसैँलगायतका चाडपर्वको छेको पारेर मुस्ताङी स्याउ बजारमा आएको हो । भदौको अन्तिम सातादेखि बिक्रीका लागि खुला भएको मुस्ताङी स्याउ बजारमा देखिन थालेको बागलुङ बजारका फलफूल व्यवसायी बताउँछन् । रातो र सेतो दुवै रङको स्याउ बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा आइपुगेको व्यसायीले बताएका छन् । धादिङका चन्द्र लामालाई यतिबेला बजारमा स्याउ पुर्याउन भ्याइनभ्याइ छ । हरेक वर्ष मुस्ताङको टुकुचेमा बगान ठेक्का लिएर बजारमा स्याउ पुर्याउने लामाले यस वर्ष पनि बगान ठेक्कामा लिनुभएको छ । रु ५० लाखमा खरिद गरेको बगानका स्याउ दसैँअघि नै बजारमा पु¥याउने र मुनाफासमेत आर्जन गर्ने लामाको लक्ष्य छ । मुस्ताङको टुकुचेमा रहेको स्थानीयको बगान उहाँले ठेक्कामा लिनुभएको हो । “दसैँपछि बजारमा माग घट्छ, कोशेली हुने भएकाले दसैँका बेला सबै बजारमा स्याउ राम्रोसँग बिक्री हुन्छ”, लामाले भन्नुभयोे, “दिनमा दुई ट्रकसम्म स्याउ बजार पु¥याउने गरेको छु ।” पहिलो पटक बजारमा आएको स्याउ खुद्रा व्यापारीले हानथाप गरेर खरिद गरेको लामाले बताउनुभयो । यहाँका बजारमा पाइने स्याउमध्ये चाडपर्वका बेला अधिकांशको रोजाइमा मुस्ताङी स्याउ पर्ने गरेको छ । लामा जस्तै व्यवसायीलाई अहिले मुस्ताङको स्याउ काठमाडौँ, पोखरा, बागलुङलगायतका सहरमा पठाउन भ्याइनभ्याइ छ । बगैँचाबाट सङ्कलन गरी पठाउँदा मुस्ताङमै थोकमूल्य रु ९० देखि र एक सय २५ सम्म पर्ने गरेको उहाँले जानकारी दिनुभयो । दसैँ तिहारका समयमा पाक्ने भएकाले यस अवधिमा स्याउको निकै खपत हुने गर्दछ । बजारका कतिपय फलफूल पसलले ग्राहकलाई आकर्षित गर्नेगरी पसलमा मुस्ताङको स्याउ पाइन्छ भनेर लेखेर टाँस्ने गरेको मुस्ताङको ठिनीका स्याउ व्यवसायी पल डिसी बताउनुहुन्छ । व्यापारीले मुस्ताङको स्याउ रु दुई सयदेखि दुई सय ५० सम्ममा बिक्री गर्ने गरेका छन् । “पहिलो पटक आएको स्याउ निकै उत्साहजनक हिसाबले बिक्री भइरहेको छ”, मिलन फलफूल पसलका सञ्चालक खगेन्द्र पौडेलले भन्नुभयो, “बागलुङका स्थानीय बजारमा पनि हामीले स्याउ पठाइसकेका छौँ ।” विसं २०२२ मा तत्कालीन कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरेको तथ्याङ्क भेटिन्छ । मुस्ताङीका अनुसार सरकारले सुरुमा प्रत्येक घरमा तीन÷तीन वटा स्याउका बेर्ना बाँडेको थियो । मुस्ताङी स्याउको स्वाद वर्षभरि नै चखाउन बेमौसमका लागि चाना बनाएर सुकाउने प्रचलन पनि छ । मुस्ताङ पुग्ने पर्यटकका साथै प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने भक्तजनका लागि पनि मुस्ताङको स्याउ प्रमुख कोसेली बन्ने गरेको छ । मुस्ताङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम सञ्चालनमा छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम मुस्ताङको सल्लाहमा भदौको अन्तिम साता मात्रै बगानमा प्रवेश दिइएको हो । गत वर्ष रु ४० करोडको स्याउ मुस्ताङबाट बिक्री भएको तथ्याङ्क छ । मुस्ताङमा एक हजार चार सय हेक्टर जमिनमा स्याउ लगाइएको छ । पाँच सय हेक्टर जमिनमा मात्रै अहिले उत्पादन दिने बिरुवा तयार छन् । बाँकी बिरुवाले क्रमशः उत्पादन दिने स्थानीय बताउँछन् ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सङ्घीय शिक्षा ऐन जारी हुने क्रममा रहेकाले ऐन आएसँगै शिक्षक दरबन्दी व्यवस्थापनलगायतका सवाल सम्बोधन हुने बताउनुभएको छ । मधेस प्रदेशको ‘शिक्षा र बालश्रम’ विषयमा सिकाइ आदानप्रदानका लागि शिक्षा पत्रकार समाज र आसमान नेपालले आज आयोजना गरेको राष्ट्रियस्तरको कार्यक्रममा सचिव सुवेदीले उक्त ऐन नआउँदा पनि शिक्षाका काम गर्नमा गम्भीर बाधा नभएको तर नयाँ ऐन आएपछि तीन तहका सरकारबीचको शैक्षिक अधिकार र दायित्व थप स्पष्ट हुने जनाउनुभएको हो । तराई मधेसमा बालिकाको शिक्षाको अवस्था झन कमजोर रहेकाले आफू प्रदेश सरकारको प्रमुख सचिव रहेका समयमा ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम र छोरी बीमाको रकम रु तीन लाख दिने गरी प्रबन्ध गरिएको स्मरण गराउनुभयो । बालश्रम र बाल विवाह अन्त्यका लागि बीमाको कार्यक्रम प्रभावकारी हुनुपर्ने बताउँदै उहाँले सरकार स्रोत साधनले भ्याएसम्म खुला र सकारात्मक सोचका लागि शिक्षामा सुधारका लागि प्रयत्नशील रहेको र यसमा सम्बन्धित सबै पक्षको उत्तिकै सहयोग आवश्यक भएको बताउनुभयो । कार्यक्रममा भारतस्थित एमभी फाउण्डेशनका राष्ट्रिय संयोजक आर बैंकट रेड्डीले भारतमा बालश्रम अन्त्यका लागि भएका प्रयास र उपलब्धिबारे अवगत गराउँदै विद्यालय बाहिर रहेका बालबालिका बालश्रमिक हुने भएकाले यस भाष्यलाई विश्वभर फैलाउन आवश्यक रहेको बताउनुभयो । पछिल्लो आँकडाअनुसार मधेस प्रदेशको साक्षरता दर ४९ दशमलव ५४ प्रतिशत रहेको छ । मधेस प्रदेशका आठवटै जिल्ला ९सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा० साक्षर घोषणा हुन सकेका छैनन् । यस प्रदेशमा सबैभन्दा कमजोर रौतहटमा ४१ दशमलव ६९ प्रतिशत र प्रदेशमा बढी साक्षर भएको जिल्ला पर्सामा ७६ दशमलव ९८ प्रतिशत साक्षरता दर रहेको छ । यस प्रदेशमा विद्यार्थी भर्नादर ५३ दशमलव तीन रहेको छ । शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले सरकारका निकाय र शिक्षक इमान्दार नभएसम्म शिक्षा शिक्षामा सुधार नहुने भएकाले नागरिक समाज र सञ्चार क्षेत्रले निरन्तर आवाज उठाउनुपर्ने बताउनुभयो । आसमान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादवले आफूहरुले ‘काम छोडाउ, स्कुल पठाउ’, ‘निक शिक्षा दिअ’ जस्ता अभियानबाट मधेस प्रदेशमा शिक्षाको सुधारका लागि २३ वर्षदेखि काम गर्दै आएको जनाउनुभयो ।
काठमाडौं । बागमती प्रदेशभित्रका नागरिकलाई अत्यावश्यक रक्तसञ्चार सेवा निःशुल्क हुने भएको छ । प्रदेश सरकारले विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधिबमोजिम आर्थिकरुपले विपन्न नागरिकलाई यस्तो सेवा सुरु गरिएको हो । जिल्लामा पनि सेवा सञ्चालनका लागि स्वास्थ्य कार्यालय चितवनले क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरसँग सम्झौता गरेको छ । स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाई र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रका सभापति ज्ञानशाली न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । तीन वटा अस्पतालका प्रतिनिधिको रोहवरमा सम्झौता भएको हो । कार्यालयका प्रमुख चापागाईले असोज १ गतेबाट भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र बकुलहर रत्ननगर अस्पतालमा उपचाररत बिरामीलाई रगत निःशुल्क उपलब्ध गराइने बताउनुभयो । कार्यविधिअनुसार एउटा बिरामीले एक वर्षमा १० युनिट रगत निःशुल्क पाउने छ । डायलासिस र रक्ततत्व आवश्यकपर्ने बिरामीका लागि थप १० युनिट निःशुल्क हुनेछ । आकस्मिक अवस्थामा रहेका घाइते र बिरामीलाई भने प्रदेश सरकारले जहाँका बिरामी भए पनि निःशुल्क उपलब्ध गराउने छ । बिरामीले निःशुल्क सेवा लिनका लागि आफू बागमती प्रदेशको वासिन्दा भएको खुल्ने कागजपत्र पेश गर्नुपर्ने हुन्छ । चापागाईले भन्नुभयो, “यो सेवा लिनका लागि आवश्यक कागजात पेश गर्नुपर्ने भएकाले सोहीअनुसार अनुरोध गर्दछु ।” निःशुल्क रगत लिनका लागि विपन्न नागरिक भएको स्वघोषणा गर्नुपर्ने हुन्छ । यसका लागि कुनै प्रमाण माग नगरी स्वघोषणा फाराम भरे पुग्ने गरी व्यवस्था गरिएको छ । कार्यालयले एक वर्षका लागि तीन हजार आठ सय युनिट रगतका लागि बजेट विनियोजन गरेको छ । हाल रगतका लागि केन्द्रले सेवा शुल्कबापत रु आठ सय ५० लिँदै आएको छ । जिल्लामा दैनिक एक सय ५० युनिट हाराहारी रगतको माग हुने गर्दछ । यहाँबाट माग पूर्ति गर्न नसकेर छिमेकी जिल्ला, काठमाडौँ, पोखरालगायतका ठाउँबाट रगत ल्याउने गरिएको छ । यस कार्यक्रमसँगै यहाँका तीनवटा अस्पतालमा उपचारका लागि आउने विपन्न वर्गका बिरामी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । दुर्घटना, क्यान्सर र सुत्केरीले तीन अस्पतालमा धेरै रगत खपत हुँदै आएको छ ।
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित खल्ला मसेट्टी अहिले पनि यातायातका सञ्जालसँग जोडिएको छैन । विकासको पूर्वाधारबाट पछाडि परेको यो ठाउँ सडक सञ्जाल, विद्युत्, सञ्चारलगायत सेवा–सुविधाबाट बञ्चित छ । सदरमुकामबाट उत्तरतर्फ चुरेफेदमा करिब २० किलोमिटर टाढा रहेको यो बस्तीमा न यातायातको सहज पहुँच छ न त विद्यालय र खानेपानी नै छ । मोबाइलमा प्रायः नेटवर्क हुँदैन भने भएको बिजुलीको पनि भर हुँदैन । यहाँका स्थानीयले दुई दिनदेखि बिजुली बाल्न पाएका छैनन् । महेन्द्रनगरबाट करिब १३ किमी ब्रह्मदेवसम्म सुविधासम्पन्न सडक छ । ब्र्रह्मदेव कटेपछि यहाँ पुग्न कठिन बाटोको यात्रा गर्नुपर्छ । कच्ची ढुङ्गैढुङ्गाको जोखिमपूर्ण बाटो भएर यहाँ पुग्न सकिन्छ । यहाँका स्थानीय किनमेलका लागि पैदलै आठ किलोमिटर टाढाको ब्रह्मदेव बजार पुग्ने गरेका छन् । विसं २०६१ मा डडेल्धुराको रुपालबाट खल्ला मसेट्टी बसाइँसराइ आएका रतनसिंह ठगुन्नाले यहाँका स्थानीयले धेरै दुःख झेल्नुपरेको बताउनुभयो । “यहाँको मुख्य समस्या भनेकै बाटो हो, बाटो नहुँदा धेरै समस्या झेल्नुपरेको छ ।” उहाँले भन्नुभयो, “घरायसी सामान खरिदका लागि आठ किमी पैदल हिँडेर जानुपर्छ, आउनजान एक दिन पूरै लाग्छ ।” उहाँले यातायातको सुविधा नहुँदा बिरामीको उपचार गराउन निकै समस्या झेल्नुपरेको बताउनुभयो । “गाउँमा उपचार गराउन स्वास्थ्य संस्था छैन, महेन्द्रनगर पुग्नुपर्छ ।” उहाँले भन्नुभयो, “खानेपानी छैन, मोबाइलमा नेटवर्क हुँदैन, बिजुली पनि नियमित छैन समस्या धेरै छन् ।” छ सय बढी जनसङ्ख्या रहेको यो बस्तीमा आधारभूत विद्यालयबाहेक अरु केही छैन । विद्यालय नभएकै कारण यहाँका बालबालिका पढ्नबाट बञ्जित हुने गरेको उहाँले बताउनुभयो । यहाँबाट ब्रह्मदेव पढ्नका लागि आठ किमी पैदल जानुपर्छ । “सुविधाका नाममा कक्षा ५ सम्मको मात्र विद्यालय छ ।” उहाँले भन्नुभयो, “विद्यालय नहुँदा स्कुल छाडेर कामका लागि धेरै कम उमेरमै भारत जाने गरेका छन् ।” सडक सञ्जाल नहुँदा कष्टकर जीवन बिताउनुपरेको यहाँका स्थानीय सडक भएपछि अन्य समस्या विस्तारै समाधान हुँदै जाने थिए”, उहाँले भन्नुभयो, “बिरामी हुँदा सबैभन्दा बढी समस्या झेल्नुपर्छ, हिँडेर जान पनि बाटो राम्रो छैन ।” उहाँले नेपाल टेलिकमको टावर यहाँ रहे पनि नेटवर्क समस्या बेले–बेला भइरहने बताउनुभयोे । उहाँका अनुसार यहाँका बासिन्दाले भारतीय सिमकार्ड प्रयोग गर्ने गरेका छन् । “सबैभन्दा बढी समस्या वर्षात्का बेला हुने गरेको छ हिउँदमा मोटरसाइकलमा ओहोर–दोहोर गर्न सजिलो हुन्छ”, उहाँले भन्नुभयोे, “दैनिक उपभोग गर्ने सामग्री ल्याउन समस्या झेल्नुपर्छ ।” यहाँ पक्की बाटो बन्ला र गाडी गुड्ला भन्ने आशामा दशक बितेको स्थानीय सुमित्रा थापामगरले बताउनुभयो । “यहाँ गाडी आउँछ भनेकै २० वर्ष भइसक्यो भोट माग्ने बेलामात्रै आश्वासन दिन्छन्”, उहाँले भन्नुभयो, “यहाँ सुविधाका नाममा केही पनि छैन । खोलाको पानी खान बाध्य छौँ ।” उहाँले गाउँमा सुविधासम्पन्न स्वास्थ्यचौकी नहुँदा धेरैपटक बिरामीलाई बोकेरै ब्रह्मदेव बजारसम्म पु¥याएको बताउनुभयो । राज्यको सेवासुविधा लिन पनि यहाँका स्थानीयलाई धेरै कठिन हुने गरेको छ । महाकाली किनारको जोखिमपूर्ण बाटो भएर ब्रह्मदेव पुग्नुपर्छ । वडा कार्यालय पनि ब्रह्मदेवमा भएकाले यहाँका स्थानीयले वडाबाट पाउने सेवा–सुविधा सहजरूपमा पाउन नसकेको स्थानीय मानमति धामीले बताउनुभयो । “सरकारबाट धेरै टाढा छौँ, गाउँमा सरकार आयो भन्छन्, हाम्रा दिन फेरिएका छैनन् ।” उहाँले भन्नुभयो, “एउटा सिफारिस लिन पनि एक–दुई दिन लाग्छ ।” भीमदत्त –९ का वडाध्यक्ष गगनसिंह कार्कीले यहाँको विकासका लागि नगरपालिका र प्रदेश सरकारसँग आग्रह गरेको जानकारी दिनुभयो । उहाँले यहाँका स्थानीयको भेला गरेर समस्या पहिचान गरी नगर र प्रदेश सरकारलाई विभिन्न योजना माग गरिएको बताउनुभयो । “सडक निर्माण खोलामा पुल र खानेपानीका लागि नगर र प्रदेश सरकारलाई वडाबाट लेखेर पठाएका छौँ ।” उहाँले भन्नुभयो, “यहाँ विद्यालय र अन्य आधारभूत समस्याका लागि पनि प्रदेश सरकारलाई माग गरेका छौँ ।” उहाँले यहाँको विकासका लागि आफू लागिरहेको बताउनुभयो । अर्थावस्था कमजोर भएका नागरिकको बसोबास रहेको यो बस्तीका अधिकांश पुरुष जीविकोपार्जनका लागि भारतमा श्रम गर्न जाने गरेका छन् ।
भोजपुर । यहाँ पहिलोपटक पशुचौपायाको कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा सुरुआत गरिएको छ । नश्ल सुधार गरेर पशुलापनमा संलग्न किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यले सो सेवा सुरु गरिएको हो । यहाँका धेरै किसान पशुपालनमा लागेका भए पनि गाई र भैँसीको नश्ल राम्रो नहुँदा सोचेजस्तो आम्दानी लिन नसकिरहेको जनाइएको छ । पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले पहिलोपटक निःशुल्क कृत्रिम गर्भाधान सेवाको सुरुआत गरेको भोजपुर नगरपालिकाका भेटेरेनरी शाखाका प्रमुख सन्तोष कटुवालले जानकारी दिनुभयो । पशुको वंशाणु विकास गरेर पशुपालक किसानलाई थप लाभान्वित बनाउन कृत्रिम गर्भाधान गर्न सुरु गरिएको नगरपालिकाले जनाएको छ । किसानका गोठमा पुगेर गर्नुपर्ने अवस्थामा भने सामान्य यातायात खर्च लाग्ने कृषि शाखाले जनाएको छ । जिल्लाका अन्य आठ स्थानीय तहमा पनि यसै वर्षदेखि कृत्रिम गर्भाधान सेवा सञ्चालन गरिने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालयका प्रमुख सुन्दरलाल यादवले जानकारी दिनुभयो । तरल नाइट्रोजन एक सय ९६ डिग्री सेल्सियसको चिसोपनमा राँगा र साँढेको शुक्राणुलाई लामो समयसम्म सुरक्षित राख्ने गरिन्छ । गाई–भैँसीमा कृत्रिम गर्भाधान गराउँदा उत्पादन वृद्धि तथा विकास हुने जनाइएको छ । यसबाट उन्नत जातका पशु उत्पादन हुने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सङ्खुवासभा, भोजपुरका प्रमुख हिमालयन पोखरेलले बताउनुभयो ।