नर्जाखानीमा भेटिन्छन् तामाखानी

बाग्लुङ | असोज १६, २०७९

नर्जाखानीमा भेटिन्छन् तामाखानी

ढोरपाटन:

निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् ।

 

गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन् । बागलुङको तमानखोला गाउँपालिका–६ पर्ने नर्जाखानी गाउँमा रहेका यी खाडलबाट स्थानीयवासीले फेरि तामा निकाल्नुपर्ने माग गरिरहेका छन् ।

 

यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म उत्खखन गरेर स्थानीयले जीविकोपार्जन गरेको इतिहास नै छ । “यो गाउँ तामाखानीले घिरिएको छ, गाउँका वरपर थुप्रै खाडल छन्, खाडल पुर्खाहरूले तामा निकाल्दा बनेको हो, गाउँ नै तामाखानीले भरिए पनि उत्खनन गर्न छाडेको सय वर्ष बढी भएछ”, स्थानीय ओमप्रसाद छन्त्यालले भन्नुभयो, “गाउँमा यति धेरै आयस्रोतको सम्भावना हुँदा पनि हामी गरिब छौँ, सरकारले यसको तत्काल उत्खनन गर्न जरुरी छ ।”

 

यस्ता खाडल नर्जाखानी क्षेत्रमा अनगिन्ती रहेको स्थानीय उहाँले बताउनुभयो । गाउँ तथा जङ्गलभरि खानी नै खानी रहेको हुँदा यसको गणना नै गरेर नसकिने उहाँको भनाइ छ । घरछेउ र बारीमासमेत अहिले पनि तामाका टुक्रा भेटिने गरेको उहाँले बताउनुभयो । “यो यस्तो गाउँ हो, यहाँ बारी खनजोत गर्दा पनि तामा निक्लिन्छ, पहिरो जाँदा पसनि तामा भेटिन्छ, जहाँ हे¥यो त्यहाँ तामाको खानी नै खानी छन्,” उहाँले भन्नुभयो, “यहाँ भएका भिर–पहरा जहाँसुकै खानी छन्, यसको गणना अहिलेसम्म हामीले गर्न सकेका छैनौँ ।”

 

उहाँले खानीहरूको पुनः उत्खनन गर्न सके गाउँका धेरैले रोजगार पाउने र जीवनस्तर उकासिने बताउनुभयो । छन्त्याल, थकाली र दलित जातिले यहाँ काम गरेर जीविकोपार्जन गरेको इतिहास रहेको उहाँको भनाइ छ । “अहिलेको जमानामा नयाँ–नयाँ प्रविधि छ, उतिबेलाको समयमा त बाउबाजेले एउटा निँगालो दियालोको भरमा त्यति ठूला–ठूला पहरा काटेर तामा निकाल्नुभयो, अहिले त केही समस्या छैन”, स्थानीय छन्त्यालले भन्नुभयो, “सरकारले तदारुकता देखाउने हो भने यहाँका जनताले यही नै रोजगार पाउन सक्थे, आत्मनिर्भर बन्ने थिए, रोजगारीका लागि भौतारिनुपर्ने थिएन ।”

 

खुङ्खानी नर्जाखानी क्षेत्रमा धेरै खानी भएको हुँदा खुबै खानी भन्ने गरेको र पछि खुङ्खानी भन्ने गरिएको स्थानीय कुलबहादुर छन्त्यालले बताउनभुयो । खुङ्खानी जर्जाखानी नजिकै रहेको गाउँ हो । “गाउँभरि खानी हुँदा हाम्रा अग्रजहरूले खुङ्खानीलाई खुबै खानी भन्ने गर्थे, अहिले आएर खुङ्खानी भन्ने गरिन्छ, यति धेरै खानी त अरु कुनै पनि ठाउँमा छैनन् होला”, उहाँले भन्नुभयो ।

 

उहाँले तामा निकालेको बाहेक नर्जाखानी क्षेत्रमा तत्कालीन समयका नागरिकहरूले बसोबास गरेको ठाउँको भग्नावशेष भेटिने गरेको बताउनुभयो । तत्कालीन सरकारले अत्यधिक कर बढाएपछि स्थानीयले तिर्न नसकेपछि तामा निकाल्न छाडेको छन्त्यालको भनाइ छ ।

 

तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेरको पालादेखि यस क्षेत्रमा तामाखानी बन्द भएको कुलबहादुरको भनाइ छ । “बाउबाजेले भने अनुसार तत्कालीन सरकारले स्थानीयले निकालेको तामाभन्दा बढी मूल्यको कर बुझाउन भनेपछि तामा निकाल्न छाडेका रहेछन्, अहिलेसम्म निकाल्न सकिएको छैन”, कुलबहादुरले भन्नुभयो, “अहिलेको जस्तो प्रविधि थिएन, धेरै समय लगाएर कम तामा निकाल्ने गर्थे रे, कर धेरै तिर्न सरकारले ह्वीप जारी गरेपछि छाडेको रहेछन्, अब सरकारले सञ्चालन गर्न सक्ने हो भने स्थानीय र राज्यलाई करोडाैँको आम्दानी हुने थियो ।”

 

खासगरी खानीमा छन्त्यालहरूले काम गर्ने हुँदा उनीहरूलाई अनपढ वैज्ञानिक भन्ने गरिएको कुलबहादुरको भनाइ छ । छन्त्यालहरूले माटो सुँघेर तामाखानी पत्ता लगाउने गरेको बताउनुभयो ।

 

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   आज एक शुभकामना सन्दे...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले भोलि (शनिवार)  इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...

थप पढ्नुहोस्

पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।    अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...

थप पढ्नुहोस्