स्याङ्जा: स्याङ्जाको गल्याङ नगरपालिका–११ तुल्सीभञ्ज्याङमा सिद्धार्थ राजमार्ग भासिएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाले तुल्सीभञ्ज्याङस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको झण्डै ५० मिटर सडक भासिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार गएराति सडक भासिएको हो । सडक भासिएपछि सवारीसाधन बीच बाटोमै थन्किएका छन् । वर्षा निरन्तर रूपमा भइरहेकाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने क्रम रोकिएको छैन । ग्रामीण क्षेत्रका सहायक मार्ग पनि वर्षासँगै पहिरो आएकाले अवरुद्ध छन् ।
कञ्चनपुर: महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिनुभयो । आज बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव एक लाख ६४ हजार ६ सय ६० क्युसेक रहेको छ । “शनिबार बेलुकी ४ बजेदेखि नै पानीको बहाव बढेपछि बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाइएको छ”, उहाँले भन्नुभयो । शनिबार साँझ महाकालीमा एक लाख पाँच हजार क्युसेक पानी मापन गरिएको थियो । बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाएपछि पश्चिमीनाका गड्डाचौकी हुँदै नेपाल–भारत आवतजावत गर्ने यात्रु मर्कामा परेका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सूचना जारी गर्दै यहाँका नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ । केन्द्रीय विपद् व्यवस्थापन महाशाखाका अनुसार कञ्चनपुर र कैलालीमा भारी वर्षा हुने सम्भावना छ । यहाँ शनिबार बिहानैदेखि लगातार वर्षा भइरहेको छ ।
काठमाडौं: बाढीको जोखिम सोमबारसम्मै रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा लेखिएअनुसार आगामी तीन दिन कोशी र यसका प्रमुख सहायक नदीहरुका साथै कन्काई, कमला र पूर्वी राप्ती नदीको जलसतह उल्लेख्य बढ्ने छ । आज दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश नदीहरुमा बहाव बढ्ने पूर्वानुमान छ । आज र सोमबार नारायणी, कोशी, महाकाली, कर्णाली, बबई, पश्चिम राप्ती, पश्चिम सेती र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान छ । नारायणी, कोशी र महाकालीमा उच्च जोखिमको अवस्था हुने पूर्वानुमान छ । यसैगरी कर्णाली, बबई, पश्चिम राप्ती, पश्चिम सेतीमा मध्यम जोखिमको सम्भावना छ । झापा, मोरङ, सुनसरी, बारा, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, चितवन, कास्की, बागलुङ, पर्वत, स्याङ्जा, म्याग्दी, नवलपरासी पूर्व र आसपासका जिल्ला भई बग्ने नदी तथा खोलाहरुमा आकस्मिक बाढीको मध्यम जोखिम छ । यसैगरी मध्यम जोखिम हुने अन्य जिल्लाहरुमा नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, रोल्पा, प्युठान, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, अछाम, बाजुरा, बैतडी र बझाङ समेत छन् । सोमबार देशका अधिकांश स्थानका साना नदीहरुमा बहाज बढ्ने पूर्वानुमान छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी सुदूरपश्चिम र मधेश प्रदेशका नदी तथा खोलाहरुमा बाढीको जोखिम छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले ५ जना जुवाडेलाई पक्राउ गरेको छ । ब्यास नगरपालिका–१२ छिर्कनस्थित ५७ वर्षीया पूर्णमाया थापाको घरमा जुवाखालबाट थापासहित ५ जनालाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट नगद रु ३ हजार ३ सय २० रूपैयाँ र १ बुक तास बरामद गरेको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
दाङ: राप्ती नदीमा बगेर बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । शनिबार राप्तीमा आएको बाढीले लमही नगरपालिका–७ नयाँबस्तीका ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका–८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए । उनको शव आज खोलाको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । यस्तै दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान लमही नगरपालिका–७ हस्नापुर घाटबाट राप्ती नदीको बाढीमा बगेर बेपत्ता भएका राजपुर गाउँपालिका–२ बेलाका १७ वर्षीय राजकुमार यादवको शव फेला परेको छ । उनको शव खोलाको बगरमा फेला परेको हो । हस्नापुर घाटबाट राजपुर गाउँपालिका–२ का ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने सशस्त्र प्रहरी बल नेपाल नं ४१ रिजर्भ गण अर्जुनखोलाबाट खटिएको टोलीले सकुशल उद्धार गरेको थियो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सम्बन्धित सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मुलुकका विभिन्न भागमा अविरल वर्षापछि आएको बढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितहरूको उद्धारमा जुट्न निर्देशन गरेका हुन् । प्रधानमन्त्री दाहालले यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढीपहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनिकरण गर्न सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेको जनाएका छन् । उनले सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध समेत गरेका छन् । प्रधानमन्त्रीले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अपील समेत गरेका छन् ।
चितवन: नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ स्थित झोलुङ्गे पुल बगाएको छ । न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गए राति ११ः३० बजे बाढीले दुवैतर्फको पिल्लर भत्काई पुल बगाएको हो । नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सावधानी अपनाउन उहाँले अनुरोध गर्नुभएको छ । शनिबार परेको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दा एक सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । शनिबार राति आएको नारायणीको बाढीका कारण घरमा पानी पसेकाले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार भरतपुर महानगरपालिका–२ का २६ जना, बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने चारजना, भरतपुर–१७ गोब्रेनीका ५४, वडा नं १ देवघाटको नदी किनारमा बस्दै आएका २८ तथा वडा नं १६ गुम्बाचोकका ५९ जनालाई सुक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरूलाई सुरक्षाकर्मीले डुङ्गाको सहायताले स्थानान्तरण गरेको हो ।
पोखरा: पोखरामा चितुवा धपाउने क्रममा एक प्रहरी जवान घाइते भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र रेग्मीका अनुसार घाइते हुनेमा प्रहरी चौकी छोरेपाटनमा कार्यरत ३२ वर्षीय प्रहरी जवान नारायण प्रसाद तिवारी रहेका छन् । पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित शनिबार बेलुकी करिब साढे ५ बजे श्याम बास्तोलाको बारीमा चितुवा आएको सूचनापछि प्रहरी टोली धपाउन पुगेका थिए । सोही क्रममा प्रहरी जवान तिवारीलाई कम्मरमा चिथोरेर घाइते बनाएको थियो । यद्यपी उपचारपछि उनका अवस्था सामान्य रहेको प्रदेश प्रहरीले जनाएको छ ।
दुलेगौडा: तनहुँको शुक्लागण्डकी ७ काउरेमा एक घर पहिराेमा पर्दा बेत्तपा भएका तीनै जनाकाे शव फेला परेकाे छ । ७ का वडाध्यक्ष खड्कसिं थापा मगरका अनुसार अविरल वर्षाका कारण शनिवार दिउँसो हिरा नेपालीको घरको सामान सार्ने क्रममा ४० वर्षिया हिरा नेपाली, ३७ वर्षिया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएका थिए । उनीहरूकाे शव फेला परेकाे वडाध्यक्ष थापामगरले बताए । उनका अनुसार पहिराे आएको देखेपछि भाग्ने क्रममा ५ घाइते भएका थिए । घाइते हुनेहरुमा ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिम्लिसिना, ३५ वर्षीय रवि घिमिरे र १८ वर्षीय रुप कुमार नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका थिए । उनीहरुको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीका एसएसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

