पोखरा: पोखरा महानगरपालिका–१४ का स्थानीयहरुले मणिपाल शिक्षण अस्पतालमा स्वास्थ्य उपचार गर्दा छुट पाउने भएका छन् । मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविल र पोखरा महानगरपालिका–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्थानीयले अस्पतालमा छुट पाउने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । पोखरा–१४ का वडाध्यक्ष कार्कीले वडा बासीका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्धेश्यले अस्पतालसँग ५ शिर्षकमा सम्झौता गरेको बताए । ‘ वडाबासीको स्वास्थ्य उपचारमा सहज र कम खर्चिलो होस भन्ने उद्धेश्यले आज एक कार्यक्रमका बीच मणिपाल अस्पतालसँगै विभिन्न शिर्षकमा सम्झौता गरेका छौं’, वडाध्यक्ष कार्कील भने । पोखरा–१४ का स्थानीयले मणिपाल अस्पतालमा उपचार गर्दा ओपिडी दर्तामा १०० प्रतिशत, बेड शुल्कमा २५ प्रतिशत, नियमित जाँचका ल्याब टेस्टमा १५ प्रतिशत, न्यूरोसर्जरी तथा अति विशिष्ट सेवा बाहेक अन्य शल्यचिकित्सकमा १० प्रतिशत, विशेष अनुसन्धानमा १० प्रतिशत छुट दिने सम्झौता भएको वडाध्यक्ष कार्कीले बताए । उनले पोखरा–१४ का स्थानीयहरुले मणिपाल अस्पतालमा उपचार गर्न जाँदा पोखरा–१४ उल्लेख भएको नागरिकताको प्रतिलिपि, बसाईसराई गरी बसोबास गर्ने वडावासीको हकमा बसाईसराईको कागजको प्रतिलिपि र नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने उल्लेख गरे ।
काठमाडौं: नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनमा ९३ जना केन्द्रीय कमिटी घोषणा गरिएको छ । हालसम्म सम्मानित नेता झलनाथ खनाल, अध्यक्ष माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भइसकेका छन् । यस्तोमा केही पदाधिकारीसहित ९३ जना केन्द्रीय कमिटी सदस्य घोषणा गरिएको हो। प्रदेशगत रूपमा अन्य केन्द्रीय सदस्यहरू पनि घोषणा गर्दै जाने योजना समाजवादीको छ । पदाधिकारी पनि घोषणा गरिने एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल बताउँछन् । उनका अनुसार सबै कमिटी घोषणा हुन शुक्रबार बेलुकासम्म लाग्न सक्नेछ । (सूचीसहित)
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । त्यसका लागि शुक्रबार संसद सचिवालयलाई पत्र पठाइएको छ। प्रचण्डले सङ्घीय संसदका महासचिवलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारमा सहभागी दलहरूमध्ये एक दल (एमाले)ले आफ्नो समर्थन फिर्ता लिएकाले विश्वासको मत लिनका लागि असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् । ‘मेरो नेतृत्वमा संवत् २०७९ साल पुस ११ गते गठित सरकारमा सहभागी दलहरूमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राखु पर्ने प्रावधान भएअनुरूप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ’, प्रधानमन्त्रीको पत्रमा भनिएको छ । असार १७ गते राति एमाले र कांग्रेसबीच नयाँ समीकरण बनाउने सहमति भएको थियो । लगत्तै एमालेले आफ्नो मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । कांग्रेस र एमालेले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेपनि उनले संसदमार्फत विश्वासको मत लिने बताउँदै सोहीअनुसार पत्राचार गरेका हुन् ।
पोखरा: अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा सरकारले अन्तर्राष्ट्रिय जगत्मा व्यक्त गरेको प्रतिबद्धतालाई प्रमुख आधार मानेर बजेट तर्जुमा गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयकमाथिको छलफलमा राष्ट्रियसभा सांसदका जिज्ञासाको जवाफमा उहाँले नेपालको संविधान, सोह्रौँ योजनाको सोच, गणतन्त्रका डेढ दशकका उपलब्धिको समीक्षा र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा सांसदहरूले रचनात्मक सुझाव दिनुभएको बताउनुभयो । विगतका आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने, बदलिँदो विश्व अर्थव्यवस्था र मुलुकको वस्तुगत आवश्यकतालाई दृष्टिगत गरी उत्पादन र रोजगारीका अवसर सृजना गर्दै देशको अर्थतन्त्रलाई सबल र उत्थानशील बनाउने स्पष्ट कार्यदिशा निर्धारण गरी आगामी आवका लागि पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच रणनीति र पाँच रूपान्तरणकारी क्षेत्र पहिचानसहित बजेट बनाइएको, त्यसको कार्यान्वयनबाट यसले लिएको लक्ष्य हासिल हुने विश्वास मन्त्री पुनले व्यक्त गर्नुभयो । सांसदहरुले बजेटले संविधान र नीति तथा कार्यक्रमलाई सम्बोधन नगरेको, सङ्घीयताको सवलीकरणमा जोड नदिएको, शिक्षा क्षेत्रमा बजेट न्यून विनियोजन भएको, कृषिमा लगानी दशक घोषणा भएको तर पर्याप्त बजेट विनियोजन नभएको, बजेटलाई उत्पादकत्व बढाउने गरी बजेट नआएको गुनासो गर्नुभयो । सांसदहरुका जिज्ञासा शान्त पार्दै मन्त्री पुनले भन्नुभयो, “मुलुकको चालु आवको कूल गार्हस्थ्य उत्पादनको आकार, सार्वजनिक वित्तको अवस्था र विगतका बजेटको तुलनामा प्रस्तुत बजेट सन्तुलित छ, बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप गतिशील बनाउन निजी क्षेत्रको मनोबल बढाउने रहेकाले बजेट वितरणमुखी नभई उत्पादनमुखी छ ।” उहाँले आगामी आवका लागि कूल खर्च रु १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन गरिएको र त्यो खर्च अनुमान चालु आवको विनियोजनको तुलनामा ६ दशमलव २ प्रतिशतले मात्र अधिक रहेको बताउनुभयो । चालु आव २०८०र८१ मा चालु खर्च ६५ दशमलव २ प्रतिशत, पुँजीगत १७ दशमलव २५ प्रतिशत र वित्तीय व्यवस्थामा १७ दशमलव ५५ प्रतिशत रहेकामा आगामी आव चालु खर्च ६१ दशमलव ३१ प्रतिशत, पुँजीगततर्फ १८ दशमलव ९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १९ दशमलव ७४ प्रतिशत प्रस्ताव गरिएको अर्थमन्त्रीले जानकारी दिनुभयो । “चालु आव २०८०/८१ को तुलनामा चालु खर्चतर्फ न्यून बजेट विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ बजेट वृद्धि गरिएको छ, त्यसैगरी प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट र अनुदान गरी रु पाँच खर्ब ६७ अर्बअर्थात् कूल विनियोजनको ३० दशमलव ५ प्रतिशत वित्तीय हस्तान्तरणको सुनिश्चितता गरिएकाले प्रदेश र स्थानीय तहमा जाने रकममा पनि चालु आवभन्दा बढी नै विनियोजन गरिएको छ”, मन्त्री पुनले भन्नुभयो । सो रकमबाट सञ्चालन हुने क्रियाकलाप तथा सङ्घीय सरकारको कार्यक्रमबाट सञ्चालन गरिने क्रियाकलापबाट प्रादेशिक सन्तुलन कायम गर्न योगदान पुग्ने विश्वास मन्त्री पुनले व्यक्त गर्नुभयो ।
काठमाडौं: साविक विजेता अर्जेन्टिना ४८औं संस्करणको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलमा इक्वेडरलाइ पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गरेको हो । इक्वेडर समूह ‘बी’ बाट उपविजेता बन्दै अन्तिम आठमा पुग्दा उपाधि दावेदार अर्जेन्टिना समूह ‘ए’ मा अपराजित रहँदै विजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरेको हो । अर्जेन्टिनाले सबैभन्दा बढी १५ पटक उपाधि उचालेको छ भने १४ पटक उपविजेता बनेको छ । इक्वेडर भने हालसम्म कोपा–अमेरिकाको सेमिफाइनल भन्दा अगाडि बढ्न सकेको छैन । विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिताका रुपमा रहेको कोपा अमेरिका पहिलो अन्तराष्ट्रिय फुटबल प्रतियोगिता पनि हो ।
पोखरा: पोखरा महानगरपालिका–२ मिरुवा स्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो स्थापना दिवसका अवसरमा आयोजना गरेको रक्तदानमा ५१ युनिट रगत संकलन भएको छ । आफ्नो १४ औ स्थापना दिवस सगै १०२ औ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रबार कार्यालय परिसरमा रक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा शेयर सदस्य, कर्मचारीसँगै सर्वसाधारणले रक्तदान गरेका सहकारी संचालक समिति सदस्य कविता गुरुङले जानकारी दिईन । यस अघि कार्यक्रमको उद्घाटन पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले कार्यक्रम संयोजक प्रेम बहादुर गुरुङलाई व्लड ब्याग हस्तान्तरण गरेर गरेका थिए । उद्घाटन पछि तिवारीले सहकारीहरुले आर्थिक र सामाजिक क्षेत्रमा धेरै काम गरेको बताएका थिए । सामाजीक उत्तरदायी अन्र्तगत आजको यो रक्तदान रहेको भनाई उनको थियो । तर पनि केही सहकारीले आर्थिक र वित्तिय अनुशासन कायम नगर्दा समस्या आएको उनले बताए । महानगर अन्र्तगत हाल तीन सय ६३ सहकारी रहेकोमा तीन सहकारीमा समस्या रहेको भनाई उनको थियो । रक्त संचार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसीले प्रत्येक मानिसको शरिरमा ७५ मिलिलिटर रगत रहने र त्यो मध्ये ५० मिलिलिटर मात्र शरिरका लागि आवश्य रहने बताएका थिए । स्वस्थ मानिसले प्रत्येक तीन तीन महिनामा रक्तदान गर्न सक्ने भनाई उनको थियो । यसै विच ए एण्ड बि इन्टरनेश्नल हस्पिटलले सहकारी संग सहकार्य गदै हस्पिटलले प्रदान गर्ने सेवामा सहकारीका सदस्यहरुलाई छुट दिने भएको छ । कार्यक्रममा हस्पिटलल चिकित्सक डा राम अधिकारीले हस्पिटलले प्रदान गर्ने ल्याव, ओपिडी, औषधी लगायत अन्य सेवामा सहकारीका शेयर सदस्यहरुलाई छुट दिने जानकारी दिएका थिए । सहकारी संचालक समितिका अध्यक्ष जयलाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संस्थापक एंव निवर्तमन अध्यक्ष विश्व बहादुर गुरुङ, उपाध्यक्ष गंगा बहादुर गुरुङ, सल्लाहकार राम प्रसाद अधिकारी, सहकारीका सचिव शिवराज अधिकारी, रक्तदान कार्यक्रम संयोजक प्रेम बहादुर गुरुङ लगायतले सहकारीले गरेका विभिन्न सामाजिक सगै अन्य कामका बारेमा भनाई राखेका थिए ।
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
तनहुँ: जिल्ला प्रहरी कार्यालय तनहुँले मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चालाएको आरोपमा पोखराका एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३ मियापाटनका ५० वर्षीय अन्नजन मिया रहेका छन् । ग २ च ७००२ नम्बरको एम्बुलेन्स म्याग्दे गाउँपालिकामा दुर्घटना भएको थियो । त्यसपछि अनुसन्धानका क्रममा मादक पदार्थ सेवन गरेर चलाएको पुष्टि भएको भन्दै मियालाई नियन्त्रणमा लिइएको तनहुँ प्रहरीका प्रवक्ता तथा डिएसपी दिपककुमार रायले बताए । डिएसपी रायका अनुसार मियालाई अहिले अभद्र कसुरमा मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ । मियाले विगतदेखि पोखरा महानगरपालिका–१३ मियापाटनस्थित मुस्लिम धार्मिक सेवा समितिद्वारा सञ्चालित एम्बुलेन्स चलाउदै आएका थिए ।
पोखरा: कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका पाँचवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । जिल्लास्तरीय खोप समन्वय समिति र स्वास्थ्य कार्यालयद्वारा बिहिबार आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापाले उक्त घोषणा गर्दै सरकारले लिएको स्वस्थ नागरिक सम्बृदीको महत्वपूर्ण आधार भएको र खोपले बालबालिकाहरूलाई विभिन्न रोगबाट सुरक्षित रहन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । थापाले गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोसणा हुने र छिट्टै गण्डकी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा हुने उल्लेख गरे। सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलले खोप सुनिश्चिततालाई दिगोपना राख्नुपर्ने बताए । कास्की जिल्लाले पहिलो पटक २०७५ असार २७ गते जिल्ला पूर्ण खोप घोषणा गरे पश्चात नयाँ जन्मने तथा अन्यत्रवाट कास्की जिल्ला भित्र आई वसोवास गर्ने सवै वालवालिकाले पाउनु पर्ने सवै खोप पाएको सुनिश्चत गर्ने गरिएको पौडेलले बताए । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख राम बहादुर नेपालीले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएको जानकारी दिए । कास्की जिल्लाका पाँचवटै पालिकाका कूल ७२ वटा वडाका कुल ३००७४ बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयका अधिकृत बद्री आचार्यले जानकारी दिए। आचार्यका अनुसार घर धुरी सर्वेक्षणका क्रममा भेटिएका खोप पुरा नगरेका १४० जना वालवालिकाहरुलाई खोप लगाउने व्यवस्था समेत मिलाईएको थियो । १५ महिनासम्मका ७२२७ जना बालबालिकालाई पनि खोप लगाइएको उनको भनाइ छ । त्यस्तै १६ महिनादेखि पाँच वर्षसम्मका २२८४७ जनाबालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको जानकारी दिए । कास्की जिल्लामा पाँचवटै स्थानीय तहहरुमा रहेका स्वास्थ्य संस्था तथा वाह्य २३० खोप केन्द्रहरु मार्फत नियमित खोप सेवा प्रदान हुदै आएको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य सचिब बिनोद बिन्दु शर्मा , कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे ,कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल,गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा,स्वास्थ्य स्वयम् सेविकाहरूको संजालका अध्यक्ष भीमा पौडेल सहितले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा पोखरा म न पा तथा मादि गाउ पालिकाका ६० बर्ष माथिका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानजनक विदाई समेत गरिएको थियो ।

