काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

काठमाडौं:     सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट सरकार पछि हटेको छ।  बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट सरकार तत्कालका लागि पछि हटेको हो। बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मुलुकका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिनुभयो।  प्रवक्ता शर्माका अनुसार सरकारले नेपाल र चीन सरकारबिच हस्ताक्षर हुने ‘स्टेन्थेनिङ द डेभलपमेण्ट कोअप्रेशन इन बिल्डिङ द ट्रान्स हिमालयन मल्टी डाइमेन्सन कनेक्टिभिटी नेटवर्क’ विषयक समझदारी पत्र स्वीकृत गर्ने निर्णय गरेको छ।   उहाँका अनुसार सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गरी सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ।  त्यस्तै स्थानीय तह राजश्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका २०८१ स्वीकृत गर्ने र सरकारी कोषको नगद व्यवस्थापन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णयसमेत सरकारले गरेको छ।  प्रवक्ता शर्माका अनुसार सरकारले हुम्लु जातिलाई जनजातिमा सूचिकृत गर्ने निर्णयसमेत गरेको छ।

काठमाडौं:   काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट स्रोत नखुलेको रु ३८ लाखसहित चितवन भरतपुर महानगरपालिका–१५ गणेशटोल निवासी ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । साथै प्रहरीले बाप्र २०४८ प ८१३० नम्बरको स्कुटर र एक थान मोबाइल पनि बरामद गरेको छ । यसैबीच, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–७ कुमारीगाल बस्ने ५२ वर्षीय मणिराम पौडेललाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट २०८१ असार १२ गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका कुमारीगालबाट पक्राउ गरेको हो । निजलाई प्रहरी वृत्त गौशालाले हिरासतमा लिएर अनुसन्धान थालेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

धादिङ:    बेनीघाट रोराङ्ग गाउँपालीका स्थित पृथ्वी राजमार्गको जवाङ्ग खोला नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण विहानैदेखी राजमार्गको विभिन्न स्थानमा खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएकोममा पटक पटक खुलाएकोमा पुन बन्द भएको हो । चितवनको ईच्छाकामना गाउँपालीकाको फिस्लिङ् नजिकै खसेको पहिरो हटाई सवारी सुचारु गरिएकोमा जवाङ्ग खोला नजिकै पुन पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडकमा खसेको पहिरो हटाउनका लागी जिल्ला प्रहरी टोलि खटि सकेको छ भने चट्टान खसेकोले हटाउनको लागि केही समय लाग्ने प्रहरी चौकी जोगिमाराले जनाईएको छ । अवरुद्ध राजमार्गका कारण राजधानी प्रवेशकालागि आएका र राजधानीबाट बाहिरिने सवारीका साधनहरु रोकिएका छन् ।

काठमाडौं:   अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ। सिंहदरबारमा बिहीबार बसेको जसपा संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक वीरेन्द्रप्रसाद महतोले जानकारी दिए। उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालबाट विभाजन भएर बनेको जसपाका प्रतिनिधि सभामा सात सांसद छन्। प्रधानमन्त्री दाहालले असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै छन्। नेपाली कांग्रेस र नेकपा (एमाले)ले यसअघि नै विश्वासको मतको विपक्षमा मत दिन आफ्ना सांसदलाई ह्वीप जारी गरिसकेका छन्। जसपाले नयाँ गठबन्धनलाई सघाउने भएको छ। आफ्नो पार्टीले कांग्रेस(एमाले लगायतको सहमति अनुसार बन्न लागेको नयाँ सरकारलाई सहयोग गर्ने निर्णय गरेको जसपाका सांसद प्रदीप यादवले जानकारी दिए।

काठमाडौं:    बुढानिलकण्ठस्थित माछापुच्छ्रे बैंकको एटिएम फोड्नेक्रममा दुई जना पक्राउ परेका छन् ।  वडा नम्बर ३ रुद्रेश्वर चोक स्थित सडकको किनारमा रहेको बैंकको एटिएम तोडफोड गर्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।  स्थानीयले बुधबार बिहान ३:१० बजे स्थानीयले एटिएम तोडफोड हुँदै गरेको जानकारी दिएपछि प्रहरी वृत्त महाराजगञ्जको टोलीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।  पक्राउ परेका नुवाकोट ३४ वर्षीय श्यामबहादुर घले र १९ वर्षका सुजन तामाङ रहेका छन् । उनीहरूबाट एटिएम फोड्न प्रयोग हुने विशेष प्रकारको फलामको रड बरामद गरिएको छ । उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

विराटनगर:    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताउनुभयो । “दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक पर्छ”, उहाँले भन्नुभयो । महामन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका शीर्षनेताबीच भएको सातबुँदे समझदारी पालना गरिने बताउनुभयो । पहिलो चरणमा एमालेकै नेतृत्वमा सरकार बन्ने उहाँको भनाइ थियो । महामन्त्री थापाले सातबुँदे समझदारीबारे पार्टीको कार्यसम्पादन समितिमा बृहत् छलफल भएको र यसलाई पार्टीले स्वीकार गरेको उल्लेख गर्दै लिखित समझदारीलाई कसैले पनि हलुका रुपमा लिन नहुने बताउनुभयो ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर राष्ट्रिय सरकार बने पनि प्रतिपक्ष कमजोर बन्न नहुने बताउनुभयो । उहाँले प्रतिपक्ष कमजोर भए सत्तापक्ष निरङ्कुश बन्न सक्ने उल्लेख गर्दै संविधानको अक्षरसः पालना गर्दै त्रुटि सच्याउँदै जानुपर्ने बताउनुभयो । संविधानको मूल मर्ममा कुनै संशोधन नहुने उहाँको भनाइ थियो ।

बारा:    बाराको पूर्व पश्चिम राजमार्गमा जनकपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ ।  बिहीबार बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६  मा रहेको पसाहा पुल छेउमा बस सडक दुर्घटनामा परेको हो । केही बेर अगाडि सवारी दुर्घटना हुँदा सात जना घाइते बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार सवारी दुर्घटनामा परेर घाइते भएकाहरूको उद्धार गरी उपचारका निम्ति सिमरा अस्पतालमा पठाइएको छ भने घाइतेहरूको पहिचान अझैसम्म खुल्न सकेको छैन।

काठमाडौं:     प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदै हुनुहुन्छ । पछिल्लोपटक उहाँलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि भोलि असार २८ गते बस्ने प्रतिनिधिसभा बैठकमा उहाँले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्री दाहालले असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मतसम्बन्धी प्रस्ताव समावेश गर्ने व्यवस्थाका लागि सङ्घीय संसद्लाई लिखित आग्रह गरिसक्नुभएको छ । नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँपटक विश्वासको मत लिनुपरेको सम्भवतः यो पहिलो घटना हो । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । दुवै ठूला दलले आलोपालो सरकारको नेतृत्व लिनेगरी सरकार गठनको सहमति र निर्णय गरेका छन् । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद्मा तेस्रो ठूलो दल बनेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो  । एमालेसहित एक सय ६९ सांसदको समर्थनमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।  प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उहाँले पहिलोपटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा दुई सय ७० जना सांसदमध्ये दुई सय ६८ जनाको मत प्राप्त गर्नुभएको थियो । दुईजना सांसदले विपक्षमा मतदान गर्नुभएको थियो । त्यसको झण्डै साढे दुई महिनापछि एमाले लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०७९ साल चैत ६ गते दोस्रोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला उहाँलाई प्रतिनिधिसभा बैठकमा उपस्थित दुई सय ६२ सांसदमध्ये कांग्रेससहित एक सय ७२ जनाले विश्वासको मत दिनुभएको थियो भने विपक्षमा ८९ सांसदको मत परेको थियो । एकजना सांसदको तटस्थ मत रहेको थियो ।  प्रधानमन्त्री दाहालले २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि तेस्रोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला प्रतिनिधिसभा बैठकमा सहभागी दुई सय ६८ सांसदमध्ये एक सय ५७ जनाले उहाँको पक्षमा मतदान गर्नुभएको थियो । कांग्रेससहित एक सय १० सांसदले भने विपक्षमा मतदान गर्नुभएको थियो । एक मत तटस्थमा परेको थियो । त्यसपछि जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०८१ साल जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको संसद् बैठक अवरोधबीच चौथोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला उहाँको पक्षमा एक सय ५७ सांसदले मत दिनुभएको थियो भने एकजना सांसदले तटस्थ मत जाहेर गर्नुभएको थियो । संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले  विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा (३) मा उपधारा (१) र (२) बमोजिम पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ । संविधानअनुसार हालको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिकतर्फ एक सय १० गरी कुल दुई सय ७५ सदस्यीय रहेको छ । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको दुई सय ७५ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले ८९, एमालेले ७८, माओवादी केन्द्रले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीले १२, नेकपा (एकीकृत समाजवादी)ले १०, जनमत पार्टीले छ, स्वतन्त्र पाँचजना, लोकतान्त्रिक समाजवादी पार्टीले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा एक–एक सिटमा विजयी भएका थिए ।    नेपालको संविधानपछि पनि भएन राजनीतिक स्थिरता मुलुकमा गणतन्त्र स्थापनापछि राजनीतिक स्थिरता, सुशासन र समृद्धि हुने अपेक्षासहित संविधानसभाबाट नेपालको संविधान विसं २०७२ असोज ३ गते जारी भएको थियो । संविधानमा राजनीतिक स्थिरताका लागि विभिन्न प्रावधान राखियो पनि । तर संविधान जारी भएको आठ वर्षमै सात प्रधानमन्त्रीले पद सम्हाल्नुभयो भने दर्जनौँपटक मन्त्रिपरिषद् हेरफेर भएको छ । संविधानको धारा १०० को उपधारा (४) मा प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरूमध्ये एक चौथाइ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेस गर्न सकिने व्यवस्था छ । सोही उपधारामा प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एकपटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्षभित्र अविश्वासको प्रस्ताव पेस गर्न सकिने छैन भनी उल्लेख छ । उक्त व्यवस्था राजनीतिक स्थिरताका लागि राखिए पनि गणतन्त्र स्थापनापछि संसद्मा कुनै पनि दलको एकल बहुमत नहुँदा पूरा कार्यकालसम्म सरकार चलाउन सकेका छैनन् । विसं २०७२ मा संविधान जारी गर्दा कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसयता एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई–दुईपटक प्रधानमन्त्री भइसक्नुभएको छ ।

काठमाडौं:     नेपाली कांग्रेसले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् ।  प्रधानमन्त्री प्रचण्डले भोलि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।