स्याङजा: स्याङजामा मृत अवस्थामा चितुवा फेला परेको छ । स्याङजाको गल्याङ नगरपालिका १ भेडावारीमा शनिवार बिहान मृत अवस्थामा चितुवा देखेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । चितुवालाई डिभिजन बन कार्यालयको जिम्मा लगाइएको राम्दि प्रहरीले जनाएको छ। घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
चितवन: चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी नदी बीचमा एक पुरुषको शव भेटिएको हो । चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरिएको हो । करिब ३०/३५ वर्ष जतिको पुरुष व्यक्तिको शव भेटिएको जनाइएको छ । मृत भेटिएका व्यक्तिको पर्सबाट ग्लोबल आइएमई बैँकको ऋषि पल साह नामको एटीएम कार्ड पनि भेटिएको छ । उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको छ । उनको साथमा रहेको रासन कार्डको आधारमा शवको पहिचान गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । यद्यपि, उक्त शव बस दुर्घटनामा परेकाे यात्रुको हो होइन भन्नेबारे यकिन भइसकेको छैन । शव भेटिएको स्थान बस खसेको भन्दा झण्डै ५० किलोमिटर तल भेटिएको हो।
सिरहा: सिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका सङ्ग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्दै आएकी ३० वर्षीया रोशिना खातुनको शुक्रबार मृत्यु भएको हो । चुलोबाट खरानी निकाल्ने क्रममा खातुनलाई सर्पले डसेको हो । उनको उपचारका क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई चोहर्वा सैनिक गण परिसरमा रहेको जयकाली सर्पदंश उपचार केन्द्रमा पु¥याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि कर्जन्हा अस्पताल लगिएको थियो ।
काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा नयाँ सरकार गठनलगायत समसामयिक विषयमा छलफल हुनेछ । साथै अब गठन हुने सरकारमा पठाउने मन्त्रीहरूका बारेमा पनि छलफल हुने बताइएको छ ।
चितवन: नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट शुक्रबार बिहान त्रिशूली नदीमा खसेका दुई बस र त्यसमा रहेका यात्रुको अवस्था अझै अज्ञात रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार शुक्रबार दिनभर भएको खोजी कार्य साँझ रोकिएकोमा आज बिहानैबाट फेरि सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उनीहरुको खोजी गरिरहेको हो । नदीमा पानीको मात्रा बढी भएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या भएपछि शुक्रबार साँझ खोजीकार्य रोकिएको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले सम्भावित सबै स्थानमा हराइरहेका यात्रुको खोजी भइरहेको बताए । उनले भने, ‘धमिलो पानीकैबीच खोज र उद्धार थालेका छौँ ।’ काठमाडौँबाट गौरतर्फ गुडेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँका आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए । काठमाडौँबाट गौरतर्फ गएको बसमा २७ तथा वीरगञ्जबाट काठामाडौँतर्फ आउँदै गरेको बसमा सवार २४ यात्रु बेपत्ता भएको प्रजिअ यादवले जानकारी दिए । उक्त घटनामा तीन यात्रु पौडी खेलेर बाँचेका छन् ।
पोखरा: पोखरा ३० स्थित खुदिखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्य भएको छ । शुक्रबार खुदीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर बिष्णु थापामगरको मृत्यु भएको हो । पोखरा महानगरपालिका–३० खुदिखोलामा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा थापामगर गम्भीर घाइते भएका थिए । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उद्धार गरी उपचारका लागि सरुवा तथा संक्रमण अस्पताल शिसुवा पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका सम्पूर्ण नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको तथ्यलाई मनन् गर्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ । आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्नुहुँदै आदिकवि भानुभक्तले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको वाल्मीकि रामायण सबै नेपालीको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबीच भावनात्मक एकता अभिवृद्धि गर्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । भानुभक्तीय रामायण नेपालका विभिन्न जातजातिलाई एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण रचना रहेको उहाँको भनाइ छ । नेपाली भाषाको समुन्नयनबाट अन्य मातृभाषाको संवर्द्धनमा टेवा पुग्ने हुँदा सबै भाषाभाषी समुदायबीच सिर्जनाको महत्व बुझेर आ(आफ्नो भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपति पौडेलले शुभकामनामार्फत आह्वान गर्नुभएको छ । भानुभक्तले नेपाली भाषालाई काव्य भाषाका रूपमा समुन्नत तुल्याउन र नेपाली भाषा, साहित्य एवं संस्कृतिको संवर्द्धनमा अतुलनीय योगदान पुर्याएको उहाँले उल्लेख गर्नुभयो । सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ होस् भन्ने राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गर्नुभएको छ । भानुभक्तको जन्मजयन्तीका अवसरमा नेपालभित्रका सबै जातजाति, भाषाभाषी, साहित्य र संस्कृतिप्रतिको प्रेम, सम्मान एवं संरक्षण गर्न प्रेरणा मिलोस् भन्ने उहाँले कामना गर्नुभएको छ । पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँ जिल्लाको चुँदी रम्घामा १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गतेका दिन स्वदेश तथा विदेशमा रहनुभएका नेपाली भाषा, साहित्य र संस्कृतिप्रेमीले विविध कार्यक्रम आयोजना गरी भानुजयन्ती मनाउँदै आएका छन् ।
काठमाडौं: नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गर्नुभएको थियो । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो । ‘वधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी, उहाँका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा पर्नुभएका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नुभएको थियो, ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली ।’ नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उहाँको सम्मान गर्नुपर्ने र उहाँको विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ । त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आजबिहान काठमाडौँको रानीपोखरीअगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगरप्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । घरघरमा उहाँले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानुजयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन् । भानुभक्तभन्दा अघि नै नेपालीभाषामा कविता लेख्ने कवि भएकाले उहाँलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । भानुभक्तका विषयमा अध्ययन अनुसन्धान गरिरहनुभएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्वपूर्ण योगदान गर्नुभएकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउनुहुन्छ । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युगनिर्माण गरेको मानिन्छ । उहाँको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।
काठमाडौं: सत्ता सहकार्यमा जोडिनुभएका प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा ९एमाले० का नेता तथा सांसदहरुले नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार राति दावी पेश गर्नुभएको छ । राष्ट्रपति निवास पुगेर दुई दलका नेताहरुले सांसदहरुको हस्ताक्षरसहित सरकार गठनको दावी पेश गर्नुभएको हो । एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाका अनुसार दुई दलका बहुमत सांसदहरुको हस्ताक्षरसहित सरकार गठनको दाबी पेश गरिएको छ । कांग्रेसको ८८ र एमालेको ७८ सहित १६६ सांसदको हस्ताक्षरमा दाबी पेश गरिएको उहाँले जानकारी दिनुभयो । काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीको संयुक्त हस्ताक्षरमा सरकार गठनको दाबी पेश गरिएको छ । पेश गरिएको दाबीमा भनिएको छ, “प्रतिनिधिसभामा स्पष्ट बहुमत सहित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा हामीहरुको समर्थन रहेको व्यहोरा अनुरोध गर्दछौं । हस्ताक्षरकर्ता दलको प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य संख्या कुल प्रतिनिधिसभा सभा सदस्य संख्याको बहुमत रहेको हुँदा उहाँलाई नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरिदिन हुन अनुरोध गर्दछौं ।” राष्ट्रपतिको सचिवालयको एक सदस्यका अनुसार दुई दलको तर्फबाट बहुमत सांसदहरुको हस्ताक्षरसहित दुई दलले दावी पेश गरिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गएको दुई दलका नेता तथा सांसहरुको टोलीले सो दावी पेश गरेको सचिवालयका सदस्यको भनाइ छ । तर उहाँले सरकार गठन आज हुने सम्भावना कम भएको बताउनुभयो । काँग्रेस र एमालेका नेता तथा सांसहरु राष्ट्रपतिसमक्ष सरकार गठनको दावी पेश गरेर त्यहाँबाट बाहिरनुभएको छ ।

