चितवन: मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको जनाइएको छ । यसका दक्ष प्राविधिक अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका छन् । मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो । केबुलकार सेवा बन्द रहे पनि उक्त अवधिभर चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस) स्थित केबुलकारको प्रवेशद्वार (बटम स्टेसन) मा रहेको रेष्टुराँ सेवा भने निरन्तर रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ आज बिहान लिंदैहुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे प्रधान मन्त्रीले शपथ लिनुहुने विशेष कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथमा उपस्थित हुने सांसदलाई आज बिहान साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्न अनुरोध गरेको छ । शपथ समारोहमा उपस्थित हुन सङ्घीय संसद्का सम्पूर्ण सदस्यलाई राष्ट्रपति कार्यालयले निमन्त्रणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएपछि शपथ समारोह तय भएको हो । गत शुक्रबार असार २८ गते नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रुपमा सदनबाट विश्वास गुमाउनुभएपछि नेकपा (एमाले)का अध्यक्ष एवम् संसदीय दलका नेता ओली प्रधानमन्त्री बन्नुभएको हो । नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५औँ प्रधानमन्त्रीका रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियुक्त हुनुभएको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने एक राजनीतिज्ञ हुनुहुन्छ । प्रधानमन्त्री ओलीलाई देशका प्रमुख राजनीतिक पार्टी कांग्रेस र एमालेको प्रस्तावमा करिब दुई तिहाइको समर्थनमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक अवसर प्राप्त भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ७६ (२) बमोजिम आज प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष ओली संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेको समर्थनमा मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुनः आउनुभएको हो । संसद् विघटन र सर्वोच्च अदालतमा रिट निवेदन परेका अवधिलाई गणना नगर्ने हो भने अध्यक्ष ओली यसअघि तीन कार्यकाल प्रधानमन्त्री भइसक्नुभएको छ । विसं २०७१ साउन १ गते सम्पन्न पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा निर्वाचित ओली स्पष्ट अडान राख्ने र दृष्टिकोणमा अडिग रहने नेताका रूपमा चिनिनुहुन्छ । उहाँको गतिशील एवं सबल नेतृत्वमा पार्टी पनि यही देष्टिकोणका साथ अघि बढेको छ । नेपालको वर्तमान संविधान जारी भएसँगै २०७२ असोज २४ गते अध्यक्ष ओली पहिलोपटक मुलुकको प्रधानमन्त्री बन्नुभएको थियो । यसैगरी, विसं २०७४ को आम निर्वाचनपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को समर्थनमा २०७४ फागुन ३ गते झन्डै दुई तिहाइ बहुमतसहित उहाँले दोस्रोपटक सरकारको नेतृत्व गर्नुभएको थियो । त्यसपछि २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रको एकता भई उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई अध्यक्षमध्ये पहिलो वरियताको अध्यक्ष हुनुभएको थियो । पार्टीभित्रको विवादका कारण उहाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो । तत्कालीन राजनीतिक घटनाक्रमका बीच प्रधानमन्त्रीका हैसियतले मध्यावधि निर्वाचनका लागि गर्नुभएको सिफारिस सर्वोच्च अदालतको आदेशबाट बदर भएपछि अध्यक्ष ओली सरकारको नेतृत्वबाट बाहिरिनु भएको थियो । किसान परिवारमा जन्म, पञ्चायतविरोधी आन्दोलनमा अगुवाइ निम्न मध्यम वर्गीय परिवारमा बुबा मोहनप्रसाद र आमा मधुमाया ओलीको सुपुत्रका रुपमा जन्मिएका प्रधानमन्त्री ओली लोकतन्त्रका लागि लामो सङ्घर्ष, जेलनेल, पटकपटक कठोर यातना भोग्ने सीमित नेताहरुमा पर्नुहुन्छ । पूर्वी पहाडी जिल्ला तेह्रथुमको आठराईस्थित इवा गाउँको साधारण किसान परिवारमा २००८ साल फागुन ११ जन्मनुभएका ओली चार वर्षको उमेरमै मातृस्नेहबाट विमुख हुन पुग्नुभएको थियो । हजुरआमा रमादेवी ओलीको पालनपोषणमा हुर्कनुभएका ओलीले बालक छँदा पढाइका साथै ग्रामीण किसान परिवारमा गरिने सबै काम गर्नुभएको थियो । तेह्रथुम छोडेर २०२० सालमा उहाँको परिवार झापा बसाइँ सर्यो । झापाको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक परिवेशमा अन्तरघुलित हुँदै जिज्ञासु स्वभावका ओलीले किशोर अवस्था पार गर्नुभयो । हरेकजसो विषयमा जिज्ञासा राख्ने स्वभावले ओलीलाई समाजभित्र हुने असमानता, विभेद र पक्षपातलगायतका प्रश्नहरुको उत्तर खोज्नतिर प्रेरित गर्यो । अध्यक्ष ओलीको राजनीतिक उदय झापा आन्दोलनको सिर्जना र कठोर भूमिगत सङ्घर्षबाट भएको हो । राजतन्त्रात्मक पञ्चायती शासन व्यवस्थाको विरोधसहित देशभक्ति, लोकतन्त्र, समानता, सामाजिक न्याय, भेदभावरहित समाज र जनजागरणका लागि कम्युनिष्टहरुको सहभागितामा भएको आन्दोलनमा उहाँको नेतृत्वदायी भूमिका रहँदै आएको छ । उहाँले लोकतान्त्रिक संरचनाहरुको सबलीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको मूल्यमान्यतप्रति प्रतिबद्धता, उग्रता र भड्काउहरुबाट समाजको रक्षा र जनताको जीवनमा सुखशान्तिका लागि अविचलित रूपमा अग्रणी भूमिका निर्वाह गर्नुभएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पलाई काँधमा बोकेर मुलुक र जनताको सेवाका लागि सरकारको नेतृत्वमा रहँदा र नरहँदा पनि अहोरात्र खट्ने अध्यक्ष ओली कुशल वक्ता, तार्किक र अध्ययनशील नेतासमेत हुनुहुन्छ । करिब छ दशक लामो राजनीतिक यात्राका क्रममा १४ वर्ष कठोर जेलजीवन बिताउनुभएका अध्यक्ष ओली २०७८ मङ्सिरमा चितवनमा सम्पन्न एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि भारी मतका साथ अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पन्ध्र वर्षेको किशोर उमेरमै २०२३ सालमा उहाँ रामनाथ दाहालको अगुवाइमा रहेको मार्क्सवादी अध्ययन दलमा सामेल हुनुभयो । नेता दाहालसहित पाँच योद्धालाई तत्कालीन पञ्चायती सरकारले जेल सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर गोली हानी हत्या ग¥यो, उहाँहरूलाई अहिले झापा आन्दोलनका शहीदका रूपमा चिनिन्छ । मार्क्सवादी अध्ययन दलमा सामेल भएको दुई वर्षमै पूर्णकालीन राजनीतिमा जोडिएर २०२६ माघमा उहाँले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता पाउनुभयो । पार्टी सदस्यता पाएको वर्ष नै पहिलोपटक उहाँ गिरफ्तारीमा पर्नुभयो । विसं २०२८ मा ओली झापा आन्दोलन कमिटीको प्रमुखमा मनोनीत हुनुभएको थियो । सोही आन्दोलनको आधारभूमिबाट अघि बढ्दै गएको पार्टी अहिलेको एमाले हो । निरङ्कुश पञ्चायती व्यवस्थाको विरोधका क्रममा नेता ओलीलगायत झापा आन्दोलनका क्रान्तिकारीहरु २०३० सालमा पक्राउ पर्नुभएको थियो । त्यसपछि उहाँले चार वर्ष गोलघरको यातनासहित १४ वर्ष लामो कठोर कारावास जीवन बिताउनुभयो । अध्यक्ष ओली जेलमै रहँदा २०३५ साल पुस ११ मा गठित नेपाल कम्युनिष्ट पार्टी (माले)को संस्थापकको हैसियतमा हुनुभयो । २०४४ साल असार ११ गते जेलबाट रिहा भएपछि सोही वर्षको पुस २ मा बसेको नेकपा ९माले०को केन्द्रीय कमिटी बैठकले उहाँलाई केन्द्रीय सदस्यमा मनोनयन गरी पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परिचालकका लागि लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी तोक्यो । नेकपा (माले) समेतको नेतृत्वमा सञ्चालित जनआन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्था पराजित भएपछि २०४७ जेठ १ गते नेता ओली पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको संस्थापक अध्यक्ष बन्नुभयो । नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकरण र विस्तार गर्ने क्रममा २०४७ पुस २२ गते नेकपा ९माले० र नेकपा ९माक्र्सवादी०बीच पार्टी एकीकरण भएर नेकपा ९एमाले० बन्यो र एकीकृत पार्टीमा ओली केन्द्रीय सदस्य रहनुभयो । संसदीय यात्रा र एमालेको नेतृत्व बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा झापा–६ बाट प्रतिनिधिसभाको सदस्यमा ओली निर्वाचित हुनुभयो । त्यसको तीन वर्षपछि २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा झापा–२ बाट उहाँ प्रतिनिधिसभा सदस्य चुनिनु भयो । यही बीचमा पार्टी जिम्मेवारीका क्रममा उहाँ पोलिटब्यूरो सदस्यसहित विदेश विभाग, प्रचार विभाग र संसदीय विभाग प्रमुख हुनुभयो । बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको प्रथम जननिर्वाचित कम्युनिष्ट सरकारमा उहाँ पहिलोपटक मुलुकको गृहमन्त्री हुनुभयो । उहाँले सफल गृहमन्त्रीको मानक स्थापित गर्नुभयो । जनकपुरमा २०५९ सालमा भएको एमालेको सातौँ राष्ट्रिय महाधिवेशनमा ओलीबाट प्रस्तुत पार्टीको आन्तरिक लोकतान्त्रिकीकरण गरी बहुपदीय प्रणालीमा जाने प्रस्ताव प्रस्तुत भएपछि पार्टीको उहाँको प्रभाव थप विस्तारित भयो । सो प्रस्तावलाई २०६५ सालमा बुटवलमा भएको आठौँ राष्ट्रिय महाधिवेशनले पारित गर्यो । उहाँको प्रस्तावलाई महाधिवेशनले पारित गरे पनि उहाँ पार्टी अध्यक्षमा तत्कालीन अध्यक्ष झलनाथ खनालसँग झिनो मतान्तरले पराजित हुनुभयो । दुईपटक मिर्गौला प्रत्यारोपण गराउनुभएका ७३ वर्षीय अध्यक्ष ओली समकालीन अन्य नेताभन्दा बढी सक्रिय देखिनुभएकाले विकास र समृद्धिको अधुरो यात्राले गति लिने अपेक्षा गरिएको छ ।
काठमाडौं: स्पेनले चौथोपटक युरो कप २०२४ को उपाधि जितेको छ । बर्लिनमा भएको फाइनलमा इङ्ल्यान्डमाथि २–१ को जित निकाल्दै स्पेनले युरोपेली च्याम्पियनशीपको उपाधि जितेको हो । दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो । लामिन यमालको पासमा निको विलियम्सले पहिलो गोल गरे । ७३औं मिनेटमा इङ्ल्यान्डका लागि कोल पालमरले बराबरी गोल गरे । तीन मिनेट अघि मैदान प्रवेश गरेका उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे । तर ८६औं मिनेटमा स्पेनले विजयी गोल गर्यो । मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जित दिलाए । स्पेनको यो चौथो युरो उपाधि हो । इङ्ल्यान्ड भने लगातार दोस्रोपटक पनि युरो कप फाइनलमा पराजित भएको छ । इङ्ल्यान्डले युरो कप उपाधि जित्न सकेको छैन ।
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । यससँगै ओली चाैंथाेपटक प्रधानमन्त्री बनेका छन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि ओलीको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको थियो । संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ । यसैबीच नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ बजे हुने तय भएको छ ।
काठमाडौं: प्रहरीले झन्डै छ किलो कोकिनजस्तो देखिने पदार्थसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोली र प्रहरी वृत्ति लैनचौरको संयुक्त टोलीले आज ठमेलस्थित काठमाडौँ सिटी होटलबाट ४७ वर्षीया मलेसियन महिला बाथुमलाई भादिभालोलाई पक्राउ गरेको हो । प्रहरीले भादिभालोका साथबाट पाँच किलो आठ सय २० ग्राम कोकिनजस्तो देखिने पदार्थ बरामद गरेको छ । प्रहरी परिसर काठमाडौँले आज यहाँ पत्रकार सम्मेलनमार्फत बरामद गरिएको लागुऔषधसहित महिलालाई सार्वजनिक गरेको हो । ती महिलाले छवटा विद्यालय झोलामा ‘फल्स बटम’ बनाई उक्त पदार्थ थाइल्यान्डको बैङ्कक हुँदै नेपाल भित्र्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । बरामद गरिएको लागुऔषधको अन्दाजी मूल्य रु २० करोड ३७ लाख हुने प्रहरीले जनाएको छ । उक्त होटलमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । ती महिला मलेसियाबाट १२ जुलाई २०२४ मा लाओस पुगेको, लाओसबाट १३ जुलाईमा थाइल्यान्डको बैङ्कक हुँदै राति ११ः२५ बजे काठमाडौँ आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । निजका साथबाट यही जुलाई १९ मा काठमाडौँबाट मलेसिया फर्कने हवाई टिकट फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलाले लाओस वा थाइल्यान्डबाट कोकिन ल्याएको प्रहरीको आशङ्का छ । कोकिन पठाउने लाओस वा थाइल्यान्डमा रहेको र पाउने भारतमा रहेको अनुमान गरिएको छ । ती महिलाले ‘मेडियटर’को काम गरेको अर्को व्यक्ति भारतबाट काठमाडौं लिन आएको हुनसक्ने प्रहरीको भनाइ छ । “ती महिला पाँचरछपटक नेपाल आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले भन्नुभयो, “काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएको देखिएको छ, यसबारेमा अनुसन्धान भइरहेको छ ।” पक्राउ परेकी महिला मलेसियाको भाषा मात्र बोल्ने भएकाले थप अनुसन्धानमा जटिलता थपिएको उहाँको भनाइ छ । ती महिलाले कोकिन काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएर भारत पठाउन लागेको आशङ्का गरिएको छ । उक्त कोकिन लिन आउने व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ । अहिले ठूलो परिणामको लागुऔषधसँगै पक्राउ परेकी ती महिलाले यसअघि पनि पटकपटक नेपाल आउँदा लागुपदार्थको ओसारपसार गर्ने गरेको हुनसक्ने निष्कर्षसहित अनुसन्धानलाई व्यापक बनाइएको प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले बताउनुभयो ।
चितवन: त्रिशूली नदिमा दुर्घटना भई बेपत्ता भएको दुई यात्रुसहितको बस खोजी कार्यका लागि एक सय ४९ जनाको सुरक्षा फौज परिचालन गरिएको छ । सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सह प्रवक्ता शैलेन्द्र थापाले बेपत्ताहरूको खोजी तथा उद्धारका लागि एक सय ४९ जनाको सुरक्षा फौज परिचालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट डिएसपीको कमाण्डमा ११ गोताखोरसहित ७९ जना, नं. १७ गणबाट डिएसपीको कमाण्डमा ११ जना ९चनौली इलाका० र इन्स्पेक्टरको कमाण्डमा २५ जना (सिमलताल इलाका) बेपत्ताको खोजी कार्य गर्नेछन् । यसैगरी, सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १५ जना र्याफ्टिङ बोटसहित (देवघाट–गोलाघाट) इलाका, सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जना (देवघाट इलाका) र सप्रसनिको कमाण्डमा नौ जना (पुलचोक नारायणी नदी किनार) इलाकासहित जम्मा एक सय ४९ जना खोजी कार्यको लागि परिचालन भएको छ । काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए । गौरतर्फ गइरहेको बसमा ३८ जना र काठमाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए । यसैगरी, गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीन जनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएका मध्ये दुई जनाको परिचय खुल्न बाँकी छ ।
सिन्धुपाल्चोक: सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवद्र्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ । भोटेकोशी गाउँपालिका४ मा निर्माणाधीन आयोजनाको प्रवद्र्धक इलेक्ट्रोपावर कम्पनी लिमिटेडले मृतक कामदार बर्दियाको ठाकुरबाबा नगरपालिकाका रामजीन थारू र सुमन थारूका परिवारलाई प्रतिपरिवार रु ३० लाख आर्थिक सहयोग प्रदान गर्ने भएको हो । लेट्रो पावरका आयोजना प्रबन्धक उमेश पराजुलीका अनुसार आयोजना निर्माणको ठेक्का लिएका ‘सब–कन्ट्र्यक्टर’ कम्पनी बीएमआर कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि र मृतक परिवारको तर्फबाट वडा अध्यक्षले आर्थिक सहायता दिने लिखित सम्झौतामा हस्ताक्षर गरेका छन् । सहायता रकम १५ दिनभित्र उपलब्ध गराउने सम्झौता भएको छ । मृतक दुवै कन्ट्र्याक्टर कम्पनीका तर्फबाट आयोजनामा कार्यरत थिए । पराजुलीका अनुसार सम्झौतामा कम्पनीले मृतक परिवारलाई कामदारको जीवन बीमा बापतको २० लाख रुपैयाँ परिवारको मुद्दति खातामा निक्षेपको रूपमा जम्मा गरिदिने छ । प्रतिपरिवार नगद सात लाख रुपैयाँ र डेढ लाख काजकिरिया खर्चबापत उपलब्ध गराउने छ । मृतकका छोराछोरीको १२ कक्षासम्म पढाइ खर्च व्यहोर्ने, आयोजना निर्माण अवधिभर मृतकले पाउने तलब परिवारको खातामा जम्मा गरिदिनेसमेत सम्झौतामा उल्लेख छ । मृतक परिवारका सदस्यलाई आयोजनामा रोजगारी दिने सम्झौता भएको छ । आयोजना प्रबन्धक पराजुलीका अनुसार मृतक परिवारमध्ये एक परिवारको दुई वर्षकी छोरी र अर्को परिवारमा मृतककी श्रीमती गर्भवती भएकाले गर्भवतीलाई पोष्टिक आहार तथा स्याहार सुसारका लागि आयोजनाले थप एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आयोजनाको ‘डिसेन्डर बेसिनको कभर स्ल्याब’ ढलान भत्किँदा उनीहरु यही असार २१ गते थिचिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयलगायतले अविरल वर्षाकैबीच उनीहरूको खोजी सुरु गरेको थियो । शनिबार बिहान मात्र उनीहरु मृत अवस्थामा फेला परेका थिए । उक्त दुर्घटनामा घाइते भएका १० जनामध्ये एक जनाको ढाडको हाड भाँचिएकोले उपचार भइरहेको छ । अन्यको अवस्था सामान्य रहेको आयोजनाले जनाएको छ ।
काठमाडौं: उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन्। गृह मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गरी उनले आफ्नो बारेमा पनि धेरै प्रश्नहरु उठेको भन्दै मन्त्री भएकाले कुनै प्रभाव परेको भए आजबाट अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने बताए। आफूले सरुवा र बढुवा कुनै व्यक्ति विशेषलाई हेरेर नगरेको उनले बताए। आफूले नेपाल प्रहरीमा कुनै पनि विधि मिच्ने काम नगरेको दाबी उनको छ। ‘सरुवा, बढुवाका कुराहरु छन्। सरुवा र बढुवामा कुनै व्यक्ति विशेषलाई हेरेर मैले गरेको छैन। विधि मिच्ने काम गरेका छैनौँ, बाँकी रह्यो मेरो कुरा। विषय त मेरो बारेमा पनि धेरै कुरा उठेका छन्। उठ्छ, हिजो पनि उठेका हुन्,’ उनले भने, ‘मैले आजसम्म यहाँहरु सबै यहीँ साक्षी हुनुहुन्छ, आफ्ना विषयमा यो गर्नुहोस्, त्यो गर्नुहोस्, भनेको छैन, निर्देशन दिएको छैन। तर पनि मन्त्री भएका कारणले केही अफ्ठ्यारो परेको रहेछ भने आजैबाट मेरा विषयमा गहन अध्ययन, गहन अनुसन्धान गर्नुस्। गल्ती गरेको जो कोही होस्, त्यो बच्नु हुँदैन, बचाउनु हुँदैन।’ उनले कयौँ विषयहरु भगबण्डामा टुंगिने गरेको भन्दै एउटा बिन्दुमा आएर देशलाई भागबण्डाबाट निकाल्नुपर्ने बताए। दुई ठूला राजनीतिक दलहरू एक ठाउँमा उभिएर सरकार बनाउनु चुनौतिपूर्ण कुरा भएको उनले बताए।

