पोखरा: पोखरा महानगरपालिकाले चैते धान लगाउने कृषकहरूलाई प्रोत्साहन रकम प्रदान गरेको छ । महानगरको वडा नं.२६ र २७ का २२६ जना कृषकहरूलाई नगद रु.६ लाख ८१ हजार ३ सय बराबरको प्रोत्साहन रकम प्रदान गरेको हो । उनीहरूलाई सोमबार आयोजित एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य उक्त प्रोत्साहन प्रदान गर्नुभएको हो । प्रोत्साहन रकम प्रदान गर्दै नगर प्रमुख आचार्यले कृषिलाई पोखरा महानगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । कृषिको यान्त्रीकरण तथा व्यवसायीकरण, उत्पादकत्व वृद्धि, बाँझो जमिनमा खेतीपाती, विभिन्न बालीहरूको क्लष्टरमा खेती, वडा स्तरमा पकेट कार्यक्रमहरू, कृषक सम्मान तथा प्रोत्साहन, अुनदात र साझेदारी लगायतका कार्यक्रमहरू मार्फत महानगरको कृषि प्रवर्द्धन गरिएको उहाँले बताउनुभयो । कृषि उपजको बजारीकरणका लागि समेत महानगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको उहाँले बताउनुभयो । निर्वाहमुखी कृषिलाई बिस्तारै व्यवसायीकरणका लागि कृषकहरूसँग महानगरपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । पछिल्लो समय पोखरामा चैते धानको उत्पादन राम्रो भएको उल्लेख गर्दै उहाँले यसप्रति कृषकहरूको आकर्षण समेत बढिरहेको नगरप्रमुख आचार्यले बताउनुभयो । कृषकहरूलाई प्रदान गरिएको प्रोत्साहन रकमले उनीहरूलाई थप हौसला मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका आर्थिक विकास समितिका संयोजक बोध बहादुर कार्कीले कृषकहरूको हौसला अभिवृद्धि गर्दै उद्यमशीलता प्रवर्द्धनका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । वडा नं.२७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले महानगरपालिका कृषकहरूको साथैमा रहेको बताउनुभयो । यस प्रकारका प्रोत्साहन कार्यक्रमहरूले कृषकहरूलाई पेसा प्रति आकर्षण बढाउने उहाँले बताउनुभयो । यस वर्ष पोखरा महानगरपालिका वडा नं.२६ मा ४३९ रोपनी र वडा नं।२७ मा ३१८ रोपनी गरी ७५७ रोपनी क्षेत्रफलमा चैते धान लगाइएको छ । सोमबार वडा नं.२६ का १२३ जना कृषकहरूलाई ३ लाख ९५ हजार १ सय र वडा २७ का १०३ जना कृषकहरूलाई २ लाख ८६ हजार २ सय रुपैयाँ प्रोत्साहन प्रदान गरिएको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार महानगर क्षेत्रको करिब १ सय हेक्टर क्षेत्रफलमा ५ सय मेट्रिक टन चैते धान उत्पादन हुने अनुमान गरिएको छ । कार्यक्रममा विभिन्न संघसंस्थाहरुलाई सम्मान गरिएको छ भने, सूचिकृत व्यवसायीक कृषकहरूलाई किसान परिचय पत्र समेत प्रदान गरिएको छ ।
पोखरा: कास्की जिल्ला अदालतले विभिन्न मुद्धामा फैसला सुनाएको १ सय २९ जना फरार प्रतिवादीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत असार महिनाभरी विभिन्न मुद्धामा फैसला भएका ति फरार प्रतिवादीहरुलाई पक्राउ फैसला अनुसार कैद भुक्तानका लागि कारागार पठाएको छ भने जरिवाना असुल गर्ने प्रतिवादीहरुलाई अदालत पठाएको छ । पक्राउ भएकामध्येका केही प्रतिवादीहरुलाई ९ वर्ष ७ महिना १० दिन कैद सजाय र नगद रु २ करोड ९० लाख ३ हजार ७ सय ८३ जरिवाना स्वरुप असुल गर्न अदालतले फैसला सुनाएको थियो । कुन मुद्धामा कति जना फरार थिए ? १. चेक अनादार – ३३ जना २. बैंकिङ कसूर – ६ जना ३. वन पैदावार (काठ) को अनियमित निकासी – २ जना ४. घरेलु हिंसा – १ जना ५. बिगो – ५ जना ६. सवारी ज्यान – १ जना ७. नकवजनी चोरी – ६ जना ८. अभद्र व्यवहार – ४ जना ९. लागू औषध – ५ जना १०. साधारण चोरी – २ जना ११. केही सार्वजनिक अपराध – १३ जना १२. जुवातास – ९ जना १३. ज्यान मार्ने उद्योग – १ जना १४. पशुपंक्षी सम्बन्धी कसूर – ६ जना १५. सम्बन्ध विच्छेद – १८ जना १६. नाता कायम – ५ जना १७. जालसाजी – ५ जना १८. झुट्टा बखपत्र गरेको – २ जना १९. कुटपिट – १ जना २०. लेनदेन – ४ जना
सङ्खुवासभा: सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए । पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए । ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छिन् । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।
काठमाडौं: उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो । उक्त मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताउनुभयो । मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोग बारेमा पनि छलफल भएको उक्त मन्त्रालयका सचिव मणिराम गेलालले राससलाई बताउनुभयो । भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाको समीक्षा भएको थियो । दुई देशका सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीका बारेमा छलफल भएको सचिव गेलालले जानकारी दिनुभयो ।
काठमाडौं: नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री डा।सुव्रमन्यम जयशङ्करले हार्दिक बधाई ज्ञापन गर्नुहुँदै उहाँको कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार ‘भारतका बाह्य मामिलामन्त्रीले बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ सुमुधर तुल्याउनका खातिर मन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत छु’ भन्नुभएको छ । यसैगरी, पाकिस्तानका विदेशमन्त्री इशाक दारले पनि आफ्ना नेपाली समकक्षी डा. राणालाई मङ्गलबार एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकट सम्पर्कमा रहेर उहाँसँग काम गर्न आफू तयार रहेको बताउनुभएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।
चितवन: गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १५ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये ८ जनाको परिचय खुलेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । अन्य शव र बसको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिए पनि दुई बस अझै फेला पर्न सकेका छैनन् । काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए । गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन कायम गराउनुका साथै शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलालाई बधाई तथा शुभकामना दिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला कमिटिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सबै पक्षको साथ लिएर मुलुकको सुशासन र विकासलाई प्राथमिकता दिन सरकार कटिवद्ध रहेको बताउनुभयो । उहाँले दुवै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुमधुर बनाउन पनि लाग्ने उल्लेख गर्नुभयो । त्यसअवसरमा जिल्ला कमिटिका अध्यक्ष दीपक निरौलाले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
रुकुम पश्चिम: रुकुम पश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए । बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको शव निकालिएको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले घर बगाउँदा बेपत्ता भएका ४० वर्षीय डिल्लीबहादुर बुढाथोकीको खोजी भइरहेको छ । उहाँ बसेको घरमै पुरिएको हुनसक्ने आशङ्का गरिएको छ । लेदोसहितको बाढीले घर पुरिएपछि डोजर लगाएर लेदो हटाउने तयारी भइरहेको नगरप्रमुख केसीले जानकारी दिनुभयो । बाढीमा परेर घाइते भएका सात जनाको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय १२ वर्षीय विनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, छ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी घाइते हुनुभएको छ । घटनाको पूर्ण विवरण सङ्कलन जारी रहेको र घटनास्थलमा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले बेपत्ताको खोजी गरिरहेको नगरप्रमुख केसीले जानकारी दिनुभयो ।
झापा: झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका वडा नम्बर ५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। सोमबार बेलुका कनकाई–२ पवित्रा पेट्रोलपम्प नजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको को १९प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। कण्डक्टरले बस चलाउँदा दुर्घटना भएको बसका चालक र सहचालकले प्रहरी समक्ष बयान दिएका छन् । उक्त दुर्घटनामा सुब्बाको दाहिने खुट्टा भाचिएको थियो भने टाउको र छातीमा चोट गम्भीर चोट लागेको थियो। घाइते उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा राति ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले बस चालक इलाम माई नगरपालिका वडा नम्बर ८ का २२ वर्षीय सागर थुलुङ राई र सहचालक विराटनगर महानगरपालिका वडा नम्बर २ का १९ वर्षीय दिपेश दर्जीलाई नियन्त्रणमा लिएको छ। बेलबारीबाट उक्त बस शिवसताक्षी नगरपालिका–६ का २७ वर्षीय बसका कण्डक्टर पुण्य सिटौलाले चलाई ल्याउने क्रममा दुर्घटना भएको जनाइएको छ।

