पोखरा: पोखरामा क्रियाशिल युुनाइटेड किङ्स क्लबको आयोजनामा हुने प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा यही १८ र १९ गते सञ्चमलन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका सचिव अशोक थापाले जानकारी दिए । उनका अनुसार अहिले १५ टिम दर्ता भइसकेको छ । सो प्रतियोगितामा दर्शकका लागि भने प्रवेश निशुल्क गरिएको छ । अनुमानित २५ बढी टिमको सहभागिता रहने सो प्रतियोगिताको विजेताले ४० हजार, उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने थापाले बताए । उनका अनुसार खुल्ला भेन्ट्रान्स पुरुष भलिबल प्रतियोगितामा ३५ वर्ष माथि उमेर समूहले मात्र सहभागिता जनाउन पाउनेछन् । खेल जीवनलाई ताजा बनाइराख्न र आपसी भाइचारालाई कायम गर्नका लागि ३५ वर्ष माथिका खेलाडीहरुलाई लक्षित गरेर प्रतियोगिता आयोजना गरिएको युुनाइटेड किङ्स क्लबले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोहीअनुसार फैसलापछिको पत्र बुधबार गण्डकी प्रदेशको प्रदेश प्रमुख कार्यालयमा पुगेको थियो । सोमबार सर्वोच्चले कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।
पोखरा: पोखरामा गएराति मोटरसाइकल दुर्घटना हुँदा बागलुङका गणेश आचार्यको मृत्यु भएको छ । गएराति बागलुङ बसपार्कबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको बा ४८ प ९५७९ नम्बरको मोटरसाइकल पिर्केपुल नजिक सडकको बीच भाग रहेको डिभाइडरमा अनियन्त्रित भई ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाइते भएका बागलुङ नगरपालिका–१२ अमलाचौरका अन्दाजी ४१ वर्षीय गणेश आचार्यको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको कास्की ट्राफिक कार्यालयले जनाएको छ । दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दाङ: दाङमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस बुधबार दिउँसो दुर्घटनामा परेको थियाे । गढवा–कोइलाबास सडक खण्डमा पर्ने गढवा गाउँपालिका( ५ चिसापानीमा बस पल्टिएको हो। घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल पठाइएको छ। घाइते सबै खतरामुक्त छन्। बसका चालकले ओरालोमा ब्रेक फेल भएपछि बस अनियन्त्रित भएर पल्टिएको बयान दिएका छन् ।
पोखरा: गण्डकी प्रदेशका न्यायप्रेमी प्रगतिशील युवाले गणतन्त्र दिवसको अवसरमा नेपाल स्काउटलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितलाई सम्बोधन गर्दै नेपाल स्काउट रास्ट्रिय परिषद् सदस्य शिवबहादुर भण्डारीमार्फत ध्यानाकर्षण पत्र बुझाएको हो । नेपाल स्काउटमा पछिल्लो समय राजनीति हाबी हुदै गइरहेको ठहर गर्दै राजनैतिक कार्यकर्ताको भर्ती केन्द्र नबनाउन प्रगतिशील युवा समूहको माग छ । सो समूहले बुझाएको पत्रमा भनिएको छ, ‘पछिल्लो समय नेपाल स्काउटमा निर्वाचित पदाधिकारी, आयुक्तहरुमा विभिन्न राजनैतिक दलमा आवद्ध रही राजनैतिक गतिविधीमासमेत सकृय रहेको कुरा प्रष्ट देख्न सकिन्छ । जुन कुरा नेपाल स्काउटको मुल मर्म विपरित रहेको छ । त्यसैले समयमै यसलाई नियन्त्रण गर्न नसके नेपाल स्काउट कुनै दलको भातृ संगठन नहोला भन्न सकिन्न ।’ नेपाल स्काउट ऐन ,२०५० को दफा १८ (क) उपदफा (१) (ख) (ग)मा नेपाल स्काउटको सदस्यको योग्यता सम्बन्धि व्यवस्थामा नेपाल स्काउटको सदस्यले कुनै राजनितिक दलको सदस्य नलिएको र राजनैतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्यागी राजनैतिक गतिविधिमा संलग्न नरहेको स्वघोषणा गर्नुपर्ने व्यवस्था छ । युवा तथा खेलकुद मन्त्रालयले प्रचलित ऐन कार्यान्वयन गराउन गत वैशाख ३१ गते विज्ञप्ती नै जारी गरेको थियो ।
काठमाडौं: नेपाल भलिबल संघले आठौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगको खेलतालिका सार्वजनिक गरेको छ । यही जेठ १९ देखि २६ सम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजना हुने लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । २०८० चैत्र ३ देखि १० गतेसम्म काठमाडौंमा सम्पन्न आठौं आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ८ र महिलातर्फ उत्कृष्ट ६ टोली एनभीए लिगका लागि छनोट भएका हुन् । लिगको उद्घाटन खेलमा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र बुढानिलकण्ड भलिबल क्लबबीच खेल हुनेछ । पहिलो दिन पुरुषतर्फ ४ र महिलातर्फ २ गरी ६ खेल हुनेछ । यस्तै पुरुषतर्फ नै नेपाल पुलिस क्लब र सुदूरपश्चिम स्पोर्ट्स काउन्सिल, एपीएफ र गण्डकी प्रदेश तथा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीच पनि खेल हुनेछ । यसैगरी पहिलो दिनमै महिलातर्फ एपीएफ र चन्द्रागिरी न्युडायमण्ड तथा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । लिगमा पुरुषतर्फ २८ र महिलातर्फ १५ खेल हुनेछन् । लिग चरणपछि महिला र पुरुष दुवैमा शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ । लिगमा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोटर्स क्लब, एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानीलकण्ठ भलिबल क्लबको तथा महिलातर्फ एभरेष्ट भलिबल क्लब बुटवल, नेपाल पुलिस क्लब, एपीएफ क्लब, चन्द्रागिरि न्यू डायमण्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश भलिबल टिमले प्रतिस्पर्धा गर्नेछन् । लिगमा सहभागि टिमले संघको नियमअनुसार ३ जना विदेशी खेलाडीलाई राख्न सक्ने प्रावधान गरेको छ । यस पटक एनभीए लिगको पुरुष र महिला दुवपैतर्फको विजेताले नगद ८ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले नगद ४ लाख र तेस्रो हुनेले २ लाख पाउनेछन् । त्यस्तै विधागततर्फ सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान ५० हजार तथा उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकले जनही २० हजार प्राप्त गर्नेछन् ।
पोखरा: फोटो पत्रकार प्रेम थापालाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले पुरस्कृत गरेको छ । मंगलबार काठमाडौंमा आयोजित समारोहमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पुरस्कृत गरे । प्रतिष्ठानद्वारा आयोजित वागमती प्रदेशस्तरीय ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ बाट राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ का लागि छनोट भइ वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत फोटोग्राफी विधातर्फ उनी वागमती प्रदेशबाट नगद ३० हजारसहित पुरस्कृत भएका हुन् । राष्ट्रिय फोटो पत्रकार समितिका सदस्य थापा ५ वर्षदेखि पोखरामा क्रियाशील छन् । यस वर्ष अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान प्राज्ञ किरण मानन्धर (पूर्व कुलपति) र श्यामवदन श्रेष्ठ (वरिष्ठ हस्तकलाकार) लाई प्रदान गरियो । पुरस्कारको राशि १ लाख ५० हजार र सम्मानपत्र छ । १ लाख राशिको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरियो । प्रदर्शनीमा सहभागी र अप्रतियोगी कलाकृति समेत समावेश गरी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ४ सय ८२ कलाकारका ५ सय २२ कलाकृति प्रदर्शनीमा छन् ।
पर्वत: २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पर्वत प्रहरीका अनुसार पक्राउ पर्नेमा जलजला गाउँपालिका–४ मोहनचोक बस्ने ३२ वर्षीय सागर बहादुर मल्ल, २१ वर्षीय आकाश केसी, २२ वर्षीय सन्देश क्षेत्री र म्याग्दी बेनी नगरपालिका–४ घर भएका ३६ वर्षीय कुशल मल्ल छन् । उनीहरूले युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । सो विषयमा हाल प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गर्नुभएको छ । उहाँले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले आगाडि बढाएको ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ भन्ने अभियानलाई सघाउन आग्रह गर्नुभएको हो । विश्वव्यापी जलवायु परिवर्तनका कारण तापक्रमको वृद्धिसँगै सगरमाथा लगायतका हिमालहरू यसको असरको चपेटामा पर्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण तथा हिमालका फोहोरमैला व्यवस्थापन लगायतका चुनौती थपिएको बताउनुभयो । “हिमाललाई प्रदूषणरहित बनाइराख्न सहकार्य र समन्वयवको आवश्यकता छ । यसका लागि नेपाल सरकारले ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ भन्ने नाराका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा संवाद गर्ने नीति लिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सरकारको यस नीतिगत प्राथमिकता र पहलमा सरोकारवाला लगायत सम्पूर्ण नेपालीहरूको बलियो साथ रहने मेरो विश्वास छ ।” उहाँले पछिल्लो समय विश्वव्यापी रूपमा देखापरेका वातावरणीय सङ्कट खासगरी जलवायु परिवर्तन, तापमान वृद्धिले ल्याएको चुनौती गम्भीर भएको उल्लेख गर्नुभयो । “मुख्यतः तापमान वृद्धिसँगै हिमाल पग्लिने, हिमताल विष्फोटको खतरा बढ्दै जाने, वायु प्रदुषण बढ्दै जानेजस्ता कारणले हिमालको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जीवन, सभ्यता, विकास, जीवनशैली, स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ,” प्रधानमन्त्रीले भन्नुभयो, “नेपालले हिमाली क्षेत्रको संरक्षण एवं जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण र अनुकुलन गर्न उच्च प्राथमिकतामा राख्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा जलवायु न्यायका लागि नेतृत्वदायी पैरबी गर्दै आइरहेको छ ।” सगरमाथा दिवसले नेपालको पर्यटक आगमनमा वृद्धि गर्न, हिमालको संरक्षण गर्न, हिमाली क्षेत्रमा भइरहेको फोहोरको न्यूनीकरण एवं उचित व्यवस्थापन गर्न एवं हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेका प्रभावहरू न्यूनीकरण एवं अनुकूलनका लागि काम गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । “सगरमाथा नेपालको विशिष्ट पहिचान र सौन्दर्य हो, यो जैविक विविधताको विशिष्ट केन्द्र पनि हो, हिमाली जाति र समुदायको ऐतिहासिकता र मौलिक संस्कृति हो,” प्रधानमन्त्रीले भन्नुभयो, “हिमाली क्षेत्रले विश्वलाई वातावरणीय सेवा, जैविक विविधता, स्वच्छ पानी, स्वच्छ हावा, तापमान नियन्त्रण एवं सन्तुलन, पारिस्थितिक प्रणालीमा सन्तुलन, मानव जीवनचक्र लगायतका बहुआयमिक पक्षमा महत्त्वपूर्ण योगदान गर्दछ ।” विश्व इतिहास र रङ्गमञ्चमा नेपाली पहिचान र विशेषताका बहुआयामिक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सगरमाथा र लुम्बिनी जस्ता प्राकृतिक, ऐतिहासिक एवं सांस्कृतिक विश्व सम्पदा संसारभरिका मानिसका निम्ति गौरवको विषय बताउनुभयो । सगरमाथाबाट आरम्भ भएको हिमाल आरोहणको यात्रा नेपाल लगायत विश्वका विभिन्न हिमशिखरहरूको आरोहण हुँदै विश्वव्यापी फैलिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालका आठ हजार मिटरभन्दा अग्ला हिमालहरूका साथै अन्य हिमालहरूको आरोहणमा आकर्षण बढिरहेको बताउनुभयो । सरकारले हिमाल आरोहणलाई सुरक्षित र आरोहीहरूको आत्मसम्मानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू तर्जुमा गरिरहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्र १६ लाख पर्यटक भित्राउने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्धन, पर्यटकलाई एकद्वार प्रणालीबाट सेवा प्रवाह, पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाउने तथा टाकुरा पर्वतीय गन्तव्यको पहिचान, प्रवर्द्धन कार्यक्रम राखिएको उल्लेख गर्नुभयो । “सगरमाथा आरोहणको दौरानमा सयौँ आरोहीहरूले जीवन गुमाउनुभएको छ,” प्रधानमन्त्रीले भन्नुभयो, “यस दिनमा उहाँहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै उहाँहरूका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”