म्याग्दी: पहिराका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक ३ दिनपछि सञ्चालनमा आएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रबार पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो । पहिरोले सडक बगाएपछि २४ किलोमिटर दूरीमा पर्ने जिल्लाको पश्चिमी भेग धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने उक्त खण्डमा आवतजावत पूर्ण रुपमा बन्द भएको थियो । बांगे भिर, घुमाउने भिर र तोराखेतमा गएको पहिरोले सडक अवरुद्ध भएको थियो । पहिरो गएको ठाउँमा ग्यावीयन पर्खाल र नयाँ ट्र्याक खनेर सडक मर्मत गरेपछि आजदेखि नियमित सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुर्याउन समस्या भएको थियो । यसैबीच बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेत खण्डमा पर्ने बेनी–दरबाङ सडकको वैकल्पिक मार्ग खोजिनुपर्ने म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जोड दिए । भौतिक पूर्वाधार मन्त्रालयसहित सरोकार भएकासँग पहिरोको समस्यालाई दीर्घकालीन समाधान गर्न छलफल भइरहेको उनले बताए । सडकदेखि करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ । ‘यहाँ १८ वर्षअघि सडक खोल्नुपूर्व पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ’, सांसद गर्बुजाले भने, ‘पश्चिम म्याग्दीमा रहेका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका स्थानीय सदरमुकाम बेनीसम्म पुग्न वर्षामा जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।’
काठमाडौं: जल तथा मौसमविज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भूभागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ । मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले आजदेखि केही दिनसम्म अधिकांश स्थानमा वर्षा कम हुने जानकारी दिनुभयो । “आइतबारसम्म न्यूनचापीय रेखा उत्तरतर्फ भएकाले भारी वर्षा भएको थियो, आजदेखि उक्त रेखा दक्षिणतर्फ सर्दै जाने भएकाले मनसुन कम सक्रिय हुनेछ”, उहाँले भन्नुभयो । आजदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना भने रहेको मौसमविद् पुडासैनीले बताउनुभयो । उहाँका अनुसार मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वर्षाका कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै खहरे खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सरोकार भएका सबैलाई विभागले अनुरोध गरेको छ ।
पोखरा: गण्डकी प्रदेशको ७ जिल्लामा मनसुनजन्य विपद्मा परेर २२ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, स्याङ्जा र नवलपुरमा पहिरोमा पुरिएर २१ जनाको मृत्यु भएको हो । एकजनाको भने चट्याङ लागेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र रेग्मीले बताए । उनले पछिल्लो ११ दिनमा ७ जिल्लामा विपद्बाट २२ जनाको मृत्यु भएको जानकारी दिए । बाँकी ४ जिल्ला (मनाङ मुस्ताङ गोरखा म्याग्दी) मा भने मानवीय क्षति भएको छैन । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको तथ्याङ्क अनुसार मनसुनजन्य विपद्मा (बाढी, पहिरो, चट्याङ) परेरर २३ जना घाइते भएका छन् । यो पनि पढ्नुहोस पहिरामा पुरिएर स्याङ्जामा तीनको मृत्यु, पाँचजना घाइते तनहुँ पहिरो अपडेट: बेपत्ता तीनै जनाकाे शव फेला कास्कीमा वर्षाको प्रभाव: सय बढी परिवार विस्थापित पहिरोमा पुरिएर भिरकोटमा वृद्धाको मृत्यु एसएसपी रेग्मीले लमजुङमा विपद्का घटनामा परेर ५ जनाको मृत्यु भएको बताए । उनका अनुसार गत असार १२ गते गएको पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको थियो । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरो जाँदा ६७ वर्षीय रुद्रमान गुरुङ, ३६ वर्षीय पञ्चकुमारी गुरुङ, ८ वर्षीय इच्छा गुरुङ र निश्मा गुरुङको मृत्यु भएको थियो । यस्तै लमजुङको दोर्दी गाउँपालिका–९ धैरेनीमा पहिरोमा घर भत्किदा विकल सुनारको मृत्यु भएको थियो भने विमल सुनार घाइते भएका थिए । लमजुङको क्वहोलासोथार गाउँपालिका–३ बगुममा पहिरोमा पुरिएर भिमबहादुर घले घाइते भएका थिए । असार १२ गते नै लमजुङको बेशीशहर नगरपालिका–११ तीनपिल्ले र राईनास नगरपालिकामा चट्याङ लागेर चन्द्रमान श्रेष्ठ र रामचन्द्र अधिकारी घाइते भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी वरिष्ट उपरीक्षक रेग्मीले बताए । यस्तै असार १२ गते नै गएको पहिरोमा पुरिएर कास्कीमा २ जनाको मृत्यु भएको थियो । कास्कीको पोखरा महानगपालिका–२७ मा पहिरोमा पुरिएर ३ वर्षीय बालक अनमोल सुनार र मादी गाउँपालिका–तितेपानीमा पहिरोमा पुरिएर १३ वर्षीय आयुश्मा रानाभाटको मृत्यु भएको थियो । यस्तै पहिरोमा पुरिएर पोखरामा २७ वर्षीय रितु सुनार घाइते भएकी थिइन् । यस्तै पोखरा–२७ अघौं खोलाढोकमा पहिरोमा परी माया विक घाइते भएकी थिइन् । यस्तै असार २२ गते तनहुँको शुक्लागण्डकी–७ काउरेमा पहिरोमा पुरिएर हिरा नेपाली, अनिशा बास्तोला, श्याम भण्डारीको मृत्यु भयो । पहिरोमा पुरिएर बेपत्ता भएका उनीहरुको शव आइतबार मात्र फेला परेको थियो । ऋषिङ गाउँपालिकामा पनि पहिरोमा पुरिएर कृष्ण बहादुर पुलामीको मृत्यु भएयो । तनहुँको शुक्लागण्डकी नगरपालिकामा पहिरोमा परी ९ जना घाइते भए । तनहुँको देवघाट गाउँपालिकामा चट्याङ लागेर २ जना घाइते भएको गण्डकी प्रदेश प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यस्तै बागलुङको गलकोट नगरपालिका र पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटामा पहिरोमा पुरिएर २÷२ जनाको मृत्यु भएको । स्याङ्जाको विरुवा गाउँपालिकामा पहिरोमा परी ५ जना घाइते भएका छन् । स्याङ्जाको भिरकोट नगरपालिका–५ ज्यामिरेमा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ भने, आधिखोला गाउँपालिका–२ उखुबारीमा पहिरोमा परी १ जना घाइते भएका छन् । यस्तै नवलपुरको कावासोती नगरपालिका–१४ अग्यौलीमा चट्याङ लागेर दिलकुमारी थरुनीको मृत्यु भएको छ ।
मकवानपुर: बागमती प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाहिरिएको छ । उक्त पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी सबै पाँचजनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा पेस गर्नुभएको छ । एमालेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेल, खानेपानी ऊर्जा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र उद्योग, वाणिज्य तथा भूमि प्रशासनमन्त्री प्रकाश श्रेष्ठले राजीनामा दिनुभएको हो । केन्द्रमा नेपाली कांग्रेस र एमालले राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति सहमति गरेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो ।
पोखरा: गुणस्तरीय होटल सम्बन्धी कुकिङ तालिमलाई लक्षित गरी पर्यटन राजधानी पोखराको सिर्जनाचोकमा चार वर्ष अघिदेखि सञ्चालनमा आएको आर.के.हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लिले अन्तराष्ट्रियस्तरकोे किचन ल्याब सञ्चालनमा ल्याएको छ । कुकिङ तालिमको प्रभावकारिता अभिबृद्धि गर्दै स्वदेश एवम् विदेशमा दक्ष जनशक्ति तयार गर्ने लक्ष्यका साथ संस्थाले अन्तराष्ट्रियस्तरको किचन ल्याब सञ्चालनमा ल्याएको हो । किचन ल्याबको एक कार्यक्रमका बीच आइतबार होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, बाराही ग्रुपका कर्पोरेट म्यानेजर राजकुमार केसी लगायतले उद्घाटन गर्नुभयो । कार्यक्रममा होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन राजधानी पोखरामा दक्ष जनशक्तिका लागि पर्याप्त अवसरहरू रहेको बताउँदै उत्पादित जनशक्तिलाई रोजगारीको समस्या नरहेको बताउनुभयो । बाराही ग्रुपका कर्पोरेट डाइरेक्टर राजकुमार केसीले कुकिङ तालिम प्राप्त गरेका दक्ष जनशक्तिको भविष्य उज्वल रहेको बताउँदै उच्च मनोबलका साथ तालिम लिएर त्यसलाई ब्यबहारिकतामा उतार्न आग्रह गर्नुभयो । होटेल संघ पोखराका पूर्व अध्यक्ष विकल तुलाचनले आर.के.हस्पिटालिटीले बजारको माग अनुसारको सिकाई गरिरहेको बताउँदै विद्यार्थीहरूले आफ्नो सिकाईलाई लगाबका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो । आर.के.हस्टिालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक तथा प्रशिक्षक आर.के.लामाले देश तथा विदेशका सामान्य होटल लगायत पाँच तारे होटेलहरूमा रोजगारका लागि योग्य बनाउने तथा शतःप्रतिशत रोजगारीको सुनिश्चितता गर्दै आएको संस्थाले देशैभरका विद्यार्थी तथा अभिभावकको मन जित्न सफल बनेको बताउनुभयो । विगत २४ वर्षदेखि होटल र हस्पिटालिटीका क्षेत्रमा काम गरेको आफ्नो अनुुभव सुनाउँदै उहाँले साढे २० वर्ष त होटेल क्षेत्रमा नै काम गरी यस क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोचका साथ चार वर्ष यता आर.के. हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.सञ्चालनमा ल्याएको बताउनुभयो । यस संस्थाबाट हालसम्म करिब १५ हजार जनशक्ति उत्पादन भैसकेको उल्लेख गर्दै उहाँले उत्पादित जनशक्ति कोही पनि बेरोजगार नरहेको बताउनुभयो । सिटिइभिटिबाट मान्यताप्राप्त संस्थाले तीन महिनादेखि १० महिना समयावधिका विभिन्न किसिमका तालिम सञ्चालन गर्दै आएको बताउँदै उहाँले, “हामीले विश्व बजारमा फस्टाउँदै गएको होटेल तथा रेष्टुरेन्टलाई दृष्टिगत गरी विद्यार्थीहरूलाई कन्टिनेन्टल, इटालियन, चाइनिज, फ्रेन्च, इन्डियन बेकरी तथा पेष्ट्री खानाका परिकारहरूलाई समावेश गरी अलराउन्डर कुकिङमा विद्यार्थीहरूलाई दक्ष बनाउँदै आएका छौं”, भन्नुभयो । “कुकिङ एउटा साधारण सिप मात्र होइन, यो एउटा मूल्यवान कला पनि हो”, उहाँले भन्नुभयो, “राम्रो कुक र सेफ बन्नका लागि समय, धैर्यता, लगनशीलता, मेहेनतका साथै कुशल प्रशिक्षकको आवश्यकता पर्दछ ।” कार्यक्रममा सिनियर सेफ उमेश भुवाइँ लगायतले बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
स्याङ्जा: अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परेर स्याङ्जामा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिरकोट नगरपालिका ५ ज्यामिरेका ७३ वर्षीय खेमकुमारी मल्ल रेहकी छिन् । गत २२ गते ढुङ्गा, माटो र जस्ताले बनेको दुइतले कच्ची घर माथिबाट पहिरो आएर घर पुरेको थियो । त्यसपछि उद्धारमा खटिएको टोलीले २३ गते आइतबार मात्रै पहिरोमा पुरिएको अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
दाङ: दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका जानकारी दिए । आज विहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले आक्रमण गरेको थियो । केसीको दुवै हातमा सामान्य चोट लागेको छ, त्यस्तै सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको छ ।
नवलपुर: निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको बताए । ‘पानीमा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि अहिले यातायात सहज बनाउनेतर्फ हामीले ध्यान दिएका छौँ,’ उनले भने, ‘निर्माण कम्पनीले आफ्नो जनशक्ति र उपकरण सडक अवरुद्ध भएको ठाउँमा यातायात सहज बनाउन लगाएको छ ।’ सडकमा भएका खाल्डाखुल्डी पुर्ने, पानीले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काममा निर्माण व्यवसायीलाई खटाइएको उनले बताए । ‘यसवर्षको मनसुन सुरु भएपछि एक हप्ता अगाडिदेखि नै निर्माण कम्पनीले आफ्नो स्रोतहरु घटाउँदै लगेको थियो,’ उनले भने, ‘पानी परेपछि सडक विस्तारको काम गर्न नमिल्ने भएकाले काम बन्द गरिएको हो ।’ साढे तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी विसं २०७५ माघमा सडक बिस्तारको लागि सम्झौता भएर काम सुरु गरिएको सडकको भौतिक प्रगति हालसम्म ५२ प्रतिशतमात्रै देखिएको योजना प्रमुख मगरले बताए । नारायणगढ बुटवल सडकको ११४ किलोमिटरमध्ये पूर्वी खण्डमा ६५ किलोमिटर सडक पर्दछ । समयमै सडक विस्तारको काम नसकेको निर्माण कम्पनी चाइना स्टेट इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले दोस्रो पटक पाएको म्याद थपको अवधि यही साउन ८ गते सकिँदैछ । म्याद सकिन लागेपछि निर्माण कम्पनीले अझ एक वर्ष म्याद थपका लागि निवेदन दिएको मगरले बताए। ‘निर्माण कम्पनीले विभिन्न कारणहरु देखाउँदै म्याद थपका लागि निवेदन दिएको छ,’ उनले भने, ‘काम सुरु गर्ने बेलामा फैलिएको कोभिड प्रकोप, ढिला गरि दिइएको रुख काट्ने स्वीकृति, बिजुलीको पोल सार्न भएको ढिलाइसहित पुरानै कारण देखाएर म्याद थपका लागि निवेदन दिएको छ ।’ निर्माण कम्पनीले दिएको निवेदनको आधारमा कति दिन म्याद थप गर्दा उचित हुन्छ भन्ने विषयमा आफूहरु छलफलमा नै रहेको मगरले बताए । ‘कति दिन म्याद थप गर्ने भन्ने विषयमा कन्सल्टेन्ट र हामी मिलेर छलफल गरिरहेका छौँ,’ उनले भने, ‘हामीले यहाँबाट सिफारिस गरेपछि म्याद थपका लागि मन्त्रालयमा फाइल पठाउँछौँ ।’ म्याद थपको स्वीकृति साउन ८ भन्दा अगाडि नै आउने भए पनि कति दिन थप हुन्छ भनेर भन्न सक्ने अवस्था नभएको थापाले बताए ।
काठमाडौं: खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजतलासका लागि अनुमति दिएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि प्रमाणपत्र प्रदान गरिएको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिनुभयो । सोही समयमा आठवटा खानी उत्खननका लागि प्रमाणपत्र प्रदान गरेको छ । चालु आवमा देशभरिका विभिन्न एक सय सात खानीको अनुगमन गरेको र एक सय १४ स्थानको उत्खनन तथा खोजतलास अनुमति प्रमाणपत्र रद्द गरेको सूचना अधिकारी बाँस्कोटाले बताउनुभयो । यस्तै, दैलेखमा रहेको सम्भावित पेट्रोलियम भण्डार क्षेत्र अन्वेषणका लागि चीन सरकारको सहयोगमा ड्रिलिङ कार्य सञ्चालन भइरहेको विभागले जनाएको छ । हालसम्म नौ सय ५१ मिटर ड्रिलिङ कार्य सम्पन्न भइसकेको छ । विभागले चालू आवमा देशका विभिन्न भूभागमा चार रेक्टर स्केलभन्दा माथिका ५७ भूकम्प मापन भएको समेत जनाएको छ । विभागले यस अवधिमा गोरखाको बारपाकमा भूकम्प तथा पहिरोसम्बन्धी अभिमुखीकरण, मधेस प्रदेशअन्तर्गत जीतपुर सिमरा र आसपासका क्षेत्रको भूइन्जिनियरिङ तथा भूवातावरणीय अध्ययन गरिएको पनि बाँस्कोटाले जानकारी दिनुभयो । विभागले पहिलो चरणमा सुर्खेतस्थित चुनढुङ्गा खानीको प्रवद्र्धन सम्पन्न गरेको र उक्त समयमा रु ५८ करोड ७४ लाख राजस्व सङ्कलन गरेको छ ।

