प्रेस कार्डको दुरुपयोग गर्नेलाई कारबाही: अध्यक्ष बस्नेत
काठमाडाैं | भदौ ५, २०८१
काठमाडौं: प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘प्रेस कार्ड’को दुरुपयोग गर्ने पत्रकारलाई कानुन बमोजिम कारबाही गरिने बताउनुभएको छ ।
प्रेस काउन्सिल नेपालद्वारा आज यहाँ आयोजित ‘आमसञ्चार माध्यम’ विषयका विद्यार्थीसँगको मिडिया अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले प्रेस कार्डको दुरुपयोग गर्नेलाई हदैसम्मको कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । समाजलाई तर्साउन र धम्क्याउन नभइ सिर्जनात्मक काम गर्नका लागि व्यवस्था गरिएको प्रेस परिचयपत्रको सदुपयोग हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
“पछिल्लो समयमा प्रेस पास दुरुपयोग भएको विषयमा धेरै गुनासा आउने गरेका छन् । त्यसलाई ध्यानमा राखी छानबिन भइरहेको छ”, अध्यक्ष बस्नेतले भन्नुभयो ।
उहाँले सामाजिक सञ्जाल र आमसञ्चार माध्यमबाट सम्प्रेषित समाचार सामग्रीले नागरिकमा अन्योल र समस्या सिर्जना गरेकाले त्यसलाई सम्बोधन गर्न मिडिया साक्षरता आवश्यक भएको बताउनुभयो ।
पत्रकार र सञ्चार माध्यमलाई मात्र होइन, अहिले सूचना प्रविधिको कारण मिडिया साक्षरता समाजका लागि पनि आवश्यक भएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले सकारात्मक परिवर्तनका सवाल र रचनात्मक विषयलाई सम्प्रेषण गर्नुपर्ने दायित्व पत्रकारको भएको बताउनुभयो ।
“काउन्सिलले युट्युब माध्यमलाई व्यवस्थित बनाउन मापदण्ड बनाएर आवश्यक नियमन गर्दै आएको छ”, उहाँले भन्नुभयो ।
प्रेस कार्डको दुरुपयोग गरी धम्क्याउने, ‘बार्गेनिङ’ गर्नेलगायतलाई काउन्सिलले जारी गरेको पत्रकार परिचयपत्र खोस्ने, आचारसंहिता कक्षामा सहभागी गराउने, कालोसूचीमा राख्ने, विज्ञापन रोक्ने तथा साइवर र अन्य अपराधजन्य अभियोगमा अनुसन्धान गर्ने निकायसँग सहकार्य गरी कारबाही गर्दै आएको अध्यक्ष बस्नेतले बताउनुभयो ।
सो अवसरमा काउन्सिलको काम, कर्तव्य, अधिकार तथा संस्थागत संरचनाबारे वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले सहभागी विद्यार्थीलाई जानकारी दिनुभएको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

