नुवाकोट: नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा मृता भेटिएका छन् । आफ्नै घरमा भित्रबाट आग्लो लगाएको अवस्थामा २४ वर्षीया चन्दीमाया तामाङ, पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धन गर्न जिल्लाबाट प्रहरी प्रमुखसहितको टोली गएको छ । चन्दीमायाका श्रीमान् रेसबहादुर घरमाथि रहेको बारीमा केराउ (मटरकोसा) टिप्न गएको समयमा घटना घटेको स्थानीयले बताएका छन् ।
काठमाडौं: नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा नयाँ प्यानल घोषणा गरिएको छ । काठमाडौँमा एक कार्यक्रमबीच आज शर्माको नेतृत्वमा प्यानल घोषणा गरिएको हो । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार हुनुहुन्छ । शर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द र महासचिवमा रामप्रसाद दाहालले उम्मेदवारी दिनुभएको छ । यस्तै, खुल्ला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, आदीवासी जनजाति सचिवमा सविन प्रियासन, मधेसी सचिवमा अशोककुमार तिवारी, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा बैकुण्ठराज पराजुली र कोषाध्यक्षमा रामकृष्ण ज्ञवालीले उम्मेदवारी दिनुभएको हो । अध्यक्ष पदका उम्मेदवार शर्माले नेपाली पत्रकारिता र मिडिया उद्योगले भोगिरहेका समस्या समाधान गर्दै पत्रकारिताको बृहत्तर हित र विकासका लागि नीतिगत नेतृत्व तथा व्यावहारिक सक्रियताका साथ महासङ्घको समग्र दायित्व पूरा गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।
पोखरा: जिल्ला न्यायाधीशका लागि लोकसेवा आयोगले गत वैशाखमा लिएको खुला प्रतिस्पर्धात्मक परीक्षामा ८ जनामातै उत्तीर्ण भएका थिए । जब कि ४३ जिल्लाका लागि न्यायाधीशको दर्खास्त खुलेको थियो । आवेदन २०३ जनाले दिएका थिए । तर लिखित परीक्षा उत्तीर्ण गर्नेमात्रै ८ भए । तिनैमध्ये एक थिए नीतिज राई । त्यसो त उनी अहिले देशभरका तीनै तहका अदालतहरुमा भएका न्यायाधीशमध्ये सबैभन्दा कान्छा हुन् । अहिलेमात्रै नभई २०४७ सालको संवैधानिक व्यवस्थापछि सबैभन्दा कान्छो उमेरमा न्यायाशीश बन्न सफल भएका हुन् राई । उनै न्यायाधीश राईले गण्डकी विश्वविद्यालयमा बिएएलएलबी पढिरहेका विद्यार्थीसँग अनुभव साटेका छन् । विश्वविद्यालयको कानुन तथा व्यवस्थापन संकायले अतिथि प्राध्यापकका रुपमा आइतबार उनलाई निम्त्याएको थियो । उनले कानुन पढ्दा आफू पहिलो, दोस्रो नभए पनि मेहेनत गरेर न्यायाधीशको परीक्षा उत्तीर्ण गर्न सकेको सुनाए । त्यसो त न्यायाधीश हुनुअघि उनले ६ वर्ष कानुन समूहको अधिकृत बनेर सेवा गरिसकेका थिए । कानुन समूहमा नाम निकाल्दा पनि खुब मेहेनत गर्नुपरेको अनुभव उनले सुनाए । त्यही मेहेनतको प्रतिफल लोकसेवा आयोगको कठिन परीक्षामा उनले १ नम्बरमा नाम निकाले । त्यो ६ वर्षे अनुभव र अर्काे मेहेनतकै कारण कानुन समूहको उपसचिव बन्न पनि सफल भए । पढेका कुरा व्यावहारिक जीवनमा काम लाग्दै जाने उनले बताए । ‘कानुन पढ्दा मानविकी पढेजस्तो पनि भएको थियो,’ उनले भने, ‘तर, ती विषय पछि काम लाग्ने रहेछन् ।’ उनले विद्यार्थीलाई किताबी ज्ञानसँगै बाहिरी संसार घुम्न र विभिन्न सिप सिक्न विद्यार्थीलाई सुझाए । न्याय क्षेत्रको आयाम बृहत् रहेको हुँदा सामाजिक परिवर्तनबारे अद्यावधिक भइरहनुपर्ने उनको भनाइ थियो । विद्यार्थी छँदा फुर्सद पनि हुने हुँदा यही बेला धेरै सिप सिक्न र ज्ञान आर्जन गर्न सकिने उनले बताए । ‘कहिले सिकेको ज्ञान र सिप कहिले काम लाग्छ भन्न सकिन्न,’ उनले भने, ‘कामचाहिँ लाग्छ । मैले कलेज पढ्दा गरेको मेहेनत न्यायाधीशको परीक्षामा काम लाग्यो र नाम निकाल्न सकेँ ।’ मेहेनत गरेर आफूलाई तयार गरिराखेको खण्डमा अवसर आउँदा त्यो मेहेनत काम लाग्ने उनले सुनाए । ‘अवसर आउँदा आफू तयार भइएन भने त्यो अवसर काम लाग्दैन,’ उनले भने । राईले आफ्नो मेहेनतसँगै सफलताको श्रेय परिवार, साथीभाइ र आफ्ना अग्रजहरुलाई दिए । संगतअनुसारकै व्यक्ति निर्माण हुने भन्दै उनले साथीहरुबाट पनि धेरै सिकेको र अग्रजहरुको ज्ञान प्राप्त गरेको बताए । न्यायाधीश राईले विद्यार्थीलाई अरुसँग आफ्नो तुलना नगर्न पनि सुझाए । तुलना गर्दा निराशा पैदा हुनसक्ने उनको विचार थियो । ‘तुलना अरुसँग गर्ने पनि होइन र प्रतिस्पर्धा पनि,’ उनले भने, ‘प्रतिस्पर्धा आफैसँग गर्नुपर्छ, प्रत्येक दिन सिक्नुपर्छ, हरेक दिनलाई सिक्ने अवसरका रुपमा उपयोग गर्नुपर्छ ।’ गण्डकी विश्वविद्यालयको कानुन तथा व्यवस्थापन संकायका डिन प्रा हिमराज गिरीले न्यायाधीश राई देशमै पनि अवसर छ र यहीं केही गर्न सकिन्छ भन्ने उदाहरण भएको हुँदा विद्यार्थीलाई प्रेरणा दिने उद्देश्य स्वरुप निम्त्याइएको जानकारी दिए । कानुन कार्यक्रमका संयोजक एसिसटेन्ट प्रोफेसर रवि सिलवालले शनि र आइतबार विदा हुने हुँदा आइतबारको दिन अतिथि प्राध्यापकहरु निम्त्याएर विद्यार्थीहरुलाई अनुभवीहरुको ज्ञान प्राप्त गर्ने अवसरका रुपमा उपयोग गरिएको बताए । न्यायाधीश राईसँग विद्यार्थीहरु सपना बोगटी, धीरज परियार, मनोज सुवेदी, दिजन राना लगायतले जिज्ञासा राखेका थिए ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षा क्षेत्रमा राज्यको सहयोगी बनिरहेको निजी क्षेत्रले गुणस्तरीयता कायम गर्दै नेपाली भाषा र संस्कृतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, (प्याब्सन) कास्कीले मंसिर १९ गतेदेखि पोखरा रंगशालामा आयोजना गरेको प्याब्सन स्पोर्टस् मीट २०८१ समापन समारोहका प्रमुख अतिथि भट्टले देशप्रति गर्व गर्ने योग्य नागरिक उत्पादन गर्न निजी विद्यालयको भूमिका हुने उल्लेख गर्नुभयो । ‘विद्यार्थीको आचरण निर्माण, अनुशासन र चरित्र निर्माण जस्ता कुरामा पनि निजी विद्यालयहरुले उत्तिकै ध्यान दिनु आवश्यक देखिन्छ । शिक्षा क्षेत्रमा राज्यको एक चौथाई भार वहन गरेको निजी क्षेत्रले आफूप्रति सामाजिक विश्वास र आकर्षण बढाउन सकोस् भन्ने म शुभकामना व्यक्त गर्दछु।’ उहाँले भन्नुभयो । समयानुकूल परिमार्जित शिक्षा उपलब्ध गराउनको लागि शिक्षकहरूलाई तहगत तालिम, शिक्षक तथा कर्मचारीलाई राज्यले तोकेबमोजिम श्रमको मूल्य प्रदान गर्नतिर पनि निजी क्षेत्रको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो । सयौं विद्यार्थीहरूलाई खेलकुदमा जोडेर उनीहरुबीच स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर यस्ता कार्यक्रमबाट मिल्ने भन्दै उहाँले निजी विद्यालयहरु राज्यका महत्वपूर्ण सहयोगी अंगका रुपमा रहेको उल्लेख गर्नुभयो । ‘निजी क्षेत्रलाई सेवामुखी बनाउन राज्यका तर्फबाट नीतिगत विभेदको अन्त्य गरी सहुलियतहरु प्रदान गर्ने र लगानीमैत्री वातावरण सिजर्ना गर्न सरकारको ध्यान गएको छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो– ‘निजी विद्यालयहरुको संगठन र सरकारी संयन्त्रबीचको पारस्परिक विश्वास र सहकार्यमा जोड दिँदै अघि बढ्दा शिक्षा क्षेत्रको हित नै हुनेछ ।’ नेपालको शिक्षाको विकासमा सार्वजनिक–निजी साझेदारी अवधारणाको शक्तिलाई विकसित गर्नुपर्नेमा सरकारले जोड दिएको उहाँको भनाई छ । प्रदेश प्रमुख भट्टले अबको युग प्राविधिक दक्षता युक्त मानिसहरुको युुग भएकाले प्राविधिक ज्ञानसहितको शिक्षाको अव विकल्प रहने बताउनुभयो । शिक्षालाई प्रविधिसँग जोड्दै विद्यार्थीहरुलाई समय सुहाउँदो दक्ष नागरिक उत्पादनमा निजी विद्यालयहरु सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो । विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान मात्र नभई खेलकुदमा समेत उत्तिकै संलग्न गराउन जोड दिँदै भट्टले खेल क्षेत्रबाटै व्यक्ति र राष्ट्रले विश्वमाझ आफूलाई चिनाउने बताउनुभयो ।
काठमाडौं: काठमाडौँ महानगरपालिका–१५ डल्लु तथा नागार्जुन नगरपालिका–३ गैरीगाउँमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ६० वर्षीय दिलबहादुर लाम्गादेको घरमा जुवातास खेलिरहेको अवस्थामा दिलबहादुर समेत सात जना तथा नागार्जुन नगरपालिका–३ गैरीगाउँ बस्ने हर्कबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय दोर्जे लामा समेत नौ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले दिलबहादुरको घरबाट पक्राउ परेकाहरुको साथबाट नगद रु ६३ हजार २८० र तीन बुक तास तथा दोर्जे लामाको घरबाट पक्राउ परेकाहरुको साथबाट नगद रु दुई लाख ९९ हजार ७४५ र तीन बुक तास बरामद गरेको छ ।
काठमाडौं: प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका संशोधनकर्तासँग छलफल सुरु गरेको छ । समितिको आजको बैठकमा संशोधनकर्ताले जनतालाई राज्यका तर्फबाट दिइने सेवाप्रवाहलाई सरल, सहज र सुलभ बनाउनुपर्ने निजामती कर्मचारी व्यक्तिगत लाभ र आफ्नै सेवासुविधा प्राप्तिमै रुमलिरहेकाले अहिलेको अवस्था अन्त्य हुनुपर्ने धारणा राख्नुभयो । सेवा प्रवाहका आधारमा पदोन्नति हुने व्यवस्था बनाइनुपर्ने आवश्यकता औँल्याउँदै उहाँहरूले राज्यबाट सेवासुविधा लिएको व्यक्ति नयाँ सरकार आउनसाथ सरुवा हुने प्रवृत्ति अन्त्य हुनुपर्ने विचार प्रकट गर्नुभयो । यसअघि बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती कर्मचारीलाई राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम तथा समावेशी, व्यावसायिक र सहभागितामूलक बनाउने विधेयक ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “निजामती सेवालाई उच्च मनोबलयुक्त र नैतिकवान् बनाई राज्यका तर्फबाट प्रदान गरिने सार्वजनिक सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न ऐन निर्माणका लागि विधेयक ल्याइएको हो ।” निजामती सेवालाई राष्ट्रहित र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम, सुदृढ सेवामूलक उत्तरदायी र व्यवसायी बनाउँदै सुशासनमुखी संयन्त्रका रूपमा विकास गर्न सरकारले विसं २०८० फागुनमा यो विधेयक सदनमा दर्ता गराएको थियो । राज्यको पुनःसंरचनासँगसँगै प्रशासनिक पुनःसंरचनापश्चात् सङ्घीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई सङ्घीयताअनुरुप सञ्चालन र व्यवस्थापन गर्ने विधेयकको उद्देश्य रहेको छ । मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्थाअनुरुप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन एवं प्रशासनिक सङ्घीयतालाई प्रभावकारी बनाउन सङ्घीय निजामती सेवा ऐन जारी गर्नुपर्ने आवश्यकता रहेको मन्त्री गुप्ताको भनाइ थियो । उहाँले स्थायी सरकारका रूपमा रहेको निजामती सेवामा कार्यरत कर्मचारीलाई राजनीतिक अस्थिरताका कारण सरकारको फेरबदलसँगै सरुवा गर्ने प्रवृत्ति अन्त्य गर्दै यसलाई व्यवस्थित र अनुमानयोग्य बनाउन आवश्यक रहेको बताउनुभयो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले थारू समुदायको निजामती सेवामा प्रवेशका सन्दर्भमा अदालतबाट भएको फैसला कार्यान्वयन गर्न सहज होस् भन्ने हेतुले संशोधन दर्ता गरेको प्रतिक्रिया दिनुभयो । विधेयकमा निजामती सेवामा महिलाको प्रवेश ३७ तथा पुरुषको ३२ तथा अवकाशको उमेर हद ६० वर्षका लागि प्रस्ताव गरिएको छ । निजामतीभित्र ११ समूह, नौवटा श्रेणी तथा १४ तहसम्म रहने गरी विधेयकमा प्रस्ताव छ । त्यस अवसरमा नेपाल सरकारका मुख्यसचिव टेकनारायण अर्यालले राजनीतिक हिसाबले मुलुकमा सङ्घीयताको अभ्यास भए पनि समयमा ऐन, कानुन, विधि र पद्धति निर्माण नभएका कारण निजामती सेवामा सहज रूपमा कार्यसम्पादन गर्न चुनौती भइरहेको बताउनुभयो । कर्मचारीलाई प्रोत्साहन गर्दै सुशासन र पारदर्शिता कायम गरी अघि बढनुपर्नेमा विगतको कर्मचारी समायोजनमा त्रुटि भएका कारण भर्ना र सरुवामा समेत दोहोरोपन देखिएको उहाँको भनाइ थियो । “लामो समयदेखि सङ्घीय संसद्मा रहेको निजामती सेवासम्बन्धी विधेयकलाई यथाशीघ्र टुङ्गोमा पु¥याएर सङ्घीयता कार्यान्वयनमा सहजीकरण गरिनुपर्छ । ऐन नआउँदा कर्मचारी खेलौनाजस्तो भएका छन्”, मुख्यसचिव अर्यालले भन्नुभयो ।
पोखरा: बगर भाइ खलकको अध्यक्षमा इश्वरमान गुरुङ सर्वसम्मत चयन भएका छन् । बगर भाइ खलकको सातौं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले इश्वरमानको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा यामबहादुर गुरुङ, महासचिवमा मनकाजी गुरुङ, सचिवमा गणेश सेन्चुरी, कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा ओमकार गिरी निर्विरोध निर्वाचित भएका हुन । यस्तै कार्य समिति सदस्यमा विजया गुरुङ, सन्तोष गुरुङ (धन), इश्वर गुरुङ (चन्द्र), क्याप्टेन जुमकाजी गुरुङ, राजकुमार गुरुङ, राजेश गुरुङ (राजु), अमित गुरुङ (जोन), भिष्म गुरुङ विशाल र देवी प्रसाद गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत नेपाल भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट तथा सदस्यद्धय महेश गुरुङ र दिनेश कुमार श्रेष्ठले शनिबारनै सपथ ग्रहण गराए । निर्वाचित हुँदै अध्यक्ष इश्वरमानले संस्थालाई एकृकित गरि आर्थिक रुपमा सबल बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थाको हितका लागि च्यारिटी डिनर, फुटबल प्रतियोगितालाई निरन्तरता दिदैँ पोखरामा विभिन्न संघ संस्था तथा क्लबहरुले गर्ने खेलकुद गतिविधिमा समेत सहयोग गर्ने सुनाए । त्यसअघि भएको उद्घाटन सत्रमा बोल्दै पोखरा महानगरपालिका १ का वडा अध्यक्ष साहारा प्रधानले बगर भाइखलक खेलकुदको पर्यावाची रहेको बताए । खेलकुदको क्षेत्रमा उल्लेखनीय योगदान दिदैँ आएको संस्थाको नयाँ कार्यसमितिलाई नयाँ कामहरु गर्न अनुरोध गरे । कार्यक्रमा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा संस्थाका सल्लाहकार तेज गुरुङले बगर भाइखलक विशुद्ध सामाजिक संस्था भएको बताए । उनले संस्थाको जन्म नै सामाजिक कार्य गर्नका लागि भएको र सबै एक भएर यसमा लाग्नुपर्नेमा जोड दिए । यस्तै खड्ग रानाभाटले बगर भाइखलकले टुडिखेलको खेल मैदान संरक्षणमा अघि बढिरहँदा त्यहाँ अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउनुपर्नेमा जोड दिए । भाइखलकका अध्यक्ष दिलबहादुर गुरुङले संस्थाई अब नयाँ नेतृत्वको आवश्यक परेको र सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । सामान्य रुपमा स्थापित संस्था अहिले उत्कृष्ट हुँदै गएको र यसले आम खेलकुदसंग आबद्ध व्यक्तिहरुलाई बुढेसकालमा समेत स्वस्थ रहनका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । संस्थाले हाल ग्रासरुट फुटबल एकेडेमी सञ्चालन गर्दै आइरहेको छ । त्यो बाहेक भेट्रान खेलाडीहरुलाई एकतृत गर्नका लागि भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपिएल० मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ । प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो । यसअघि सुदूरपश्चिमले विराटनगर किङ्ग्स, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा चितवन राइनोजले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउदै एक सय ३१ रनमा समेटियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन जाडे । उनले १९ बलमा चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै सेफ जेबले ११ बलमा १८ रन जोडे भने विनोद भण्डारीले १०, दिलप्रित बाज्वाले १२ तथा नरेन साउदले १० रन बनाए । चितवनका लागि कप्तान कुशल मल्ल, जान निकोल लफ्टी इटन र अमरसिंह राउटेलाले समान दुई विकेट लिए भने रिजन ढकाल र रञ्जित कुमालले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रनको योगफल तयार गरेको थियो । चितवनका लागि ओपनर हसन इसाखिलले ५२ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै ६५ रन बनाए । त्यसैगरी रवि बोपारा १८ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३६ रन बनाए भने कप्तान कुशल मल्लले १६ बलमा १३ रन जोडे । विपीन रावलले १७ रन बनाए । सुदूरपश्चिमका लागि स्कट कुगेलेनले दुई विकेट लिए भने सेफ जेब, दीपेन्द्रसिंह ऐरी र ब्रेन्डन मक्मलनले समान एक विकेट लिए । यससँगै चितवनले आफ्नो चौथो खेलमा तेस्रो जित हात पारेको हो । सुरुवाती दुई खेल जितेको चितवन पछिल्लो खेलमा पराजित भएको थियो । काठमाडौँ र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग भने पराजित भएको थियो ।
पोखरा: पोखरामा यही मंसिर २५ देखि २९ गतेसम्म गण्डकी प्रदेशस्तरीय अन्तरपालिकास्तरीय ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंगशाला रहेको बास्केटबल कोर्टमा ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुन लागेको हो । अन्नपूर्ण गाउँपालिका बास्केटबल संघले आज पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । अन्नपूर्ण गाउँपालिका बास्केटबल संघका अध्यक्ष कृपाश्वर गुरुङले मंगलबारदेखि हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाका पालिकाबाट सहभागिता हुन पाउने बताए । ‘कृषि, पर्यटन र पूर्वाधार अन्नपूर्ण समृद्धिको आधार भन्ने नारालाई आत्मसाथ गर्दै खेलकुदको माध्यमबाट समेत गाउँपालिकालाई अगाडि बढाएका छौं, अध्यक्ष गुरुङले ‘युवाहरुलाई एकजुट बनाएर अगाडि बढाउन मंसिर २५ देखि २९गतेसम्म गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप बास्केटबल प्रतियोगिता आयोजना गरेका छौं, प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै पालिकाबाट सहभागिता हुने विश्वास लिएका छौं ।’ लिक कम नकआउटको आधारमा सञ्चालन हुने गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुष तर्फको विजेताले १लाख १५ हजार १ सय ११ उपविजेताले ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई १२ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्तै महिलातर्फको विजेताले ३० र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रापत गर्नेछन् । महिलातर्फ एक टिमलाई २ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको छ । विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर, बेस्ट अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय र अनुशासित टिमलाई नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५र१५ सय पुरस्कार प्रदान गर्ने आयोजनकले जनाएको छ । गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष बास्केटबल प्रतियोगिता ५×५ हुनेछ भने महिलातर्फ ३×३ हुनेछ ।

