गोरखा:   गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।  पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...

सुनसरी:     धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको गल्फ कोर्स पूर्वी नेपालका ‘गल्फ प्रेमिका’का लागि आकर्षण केन्द्र बन्दै गएको छ ।    धरान गल्फ क्लबका अनुसार उक्त कोर्समा धरान, इटहरी, विराटनगरलगायत पूर्व क्षेत्रका साथै पोखरा र काठमाडौँबाट पनि गल्फ खेल्न आउने गरेका छन् ।  हाल यहाँ विभिन्न ठाउँबाट दैनिक ४० देखि ५० भन्दा बढी गल्फ खेल्न आउने गरेका क्लबका अध्यक्ष हरिबहादुर राईले बताउनुभयो । उहाँका अनुसार क्लबमा अहिले ८० जना सदस्य आबद्ध हुनुहुन्छ ।         सन् १९६२ मा स्थापना भएको उक्त गल्फ कोर्सले स्थानीयस्तरमा खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको राईको भनाइ छ । क्लबमा २०७३ सालदेखि गल्फ खेल्दै आउनुभएका खेलाडी जीतेन्द्र राई ‘सिङ्गल हेण्डी क्याप’ खेलाडीका रूपमा सक्रिय हुनुहुन्छ । सुरुमा स्वास्थ्यका लागि खेलेको बताउँदै उहाँले अहिले यसको अनिवार्य अभ्यास गर्ने सोख बसेको उल्लेख गर्नुभयो ।      उहाँले भन्नुभयो, “विशेषगरी यो खेल मैले स्वास्थ्यका लागि लिएको हुँ । यो खेल खेल्न त्यति सजिलो भने छैन । सिक्नका लागि लामो समय लागे पनि यो खेल ‘जिरो इञ्जोर’ खेल भएकाले यसमा रमाइरहेको छु ।”       आफूले गल्फ खेल्न थालेपछि विभिन्न टुर्नामेन्टमा सहभागी भएर उपाधिहरू पनि जितेको जीतेन्द्रले जानकारी दिनुभयो । प्रोफेसनल गल्फ नेपाल एशोसिएसनले गरेको टुरमा आफू सिङ्गल हेण्डी क्याप भएकाले ‘स्टण्डसाइड’को खेलाडी भएर ‘टिम इभेन्ट’मा प्रथम स्थान हासिल गरेको उहाँले बताउनुभयो । पछिल्लो समय गल्फ आयआर्जन गर्ने प्रभावकारी माध्यम बन्दै गएकाले पनि खेलाडीको आकर्षण बढेको उहाँको बुझाइ भनाइ छ ।       धरानमा ब्रिटिश क्याम्प स्थापना भएपछि क्याम्पभित्र सन् १९६२ मा १८ होलको गल्फ कोर्स बनेको उक्त कोर्सका सदस्य राजु राईले जानकारी दिनुभयो । धरान लाहुरेको सहर भनेर पनि चिनिने भन्दै धरान गल्फ क्लब ब्रिटिसको संस्था नोफिल गिफ्टले स्थापना गरेपछि ब्रिटिस लाहुरेलाई सन् १९६२ हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।       “सन् १९८९ जुलाईमा ब्रिटिस लाहुरेले क्याम्प छोडेपछि गल्फ कोर्स क्लब विस्थापित भयो”, राजुले भन्नुभयो, “विस्तारै धरानका स्थानीयहरू गल्फप्रति आकर्षित हुँदै गएपछि नयाँ सदस्य बनाएर पुनःसञ्चालन गरिएको हो ।” गल्फ खेलले धरानमा आन्तरिक र बाह्य पर्यटन भित्र्याउनमा महत्वपूर्ण भूमिका खेलिरहेको उहाँको दाबी छ ।       सदस्य राजुले यहाँ अहिले धेरैजसो विदेशी पर्यटक गल्फ खेल्न आउने गरेका जानकारी दिनुभयो । इङ्ग्ल्याण्ड, इटाली, फ्रान्स, अष्ट्रेलिया, सिङ्गापुर, युकेलगायत देशका पर्यटक यहाँ गल्फ खेल्न आउने गरेका उहाँले बताउनुभयो ।       राजुले भन्नुभयो, “नेपालमा गल्फ कोर्स क्लब थोरैमात्रामा छन्, जसमा पूर्वमा धरानमा मात्र रहेको गल्फ कोर्स पूर्वको गहना जस्तै बनेको छ । यहाँ सबैभन्दा सस्तोमा खेल खेलाइँदै आइएको छ ।” उहाँले गल्फको विकासमा सरकारले ध्यान दिन आवश्यक रहेकामा जोड दिनुभयो ।          गल्फ खेल स्वास्थ्यका लागि लाभदायी मानिन्छ । शान्त रूपमा खेलिने भएकाले यो खेललाई ‘माइन गेम’ भनेर चिन्ने गरिन्छ । गल्फ खेल्दा शारीरिक र मानसिक स्वास्थ्यमा फाइदा पुग्ने खेलाडीहरूको अनुभव छ । खेलाडी राजुले गल्फ खेल्दा ढाड दुख्ने, जोर्नी नसासम्बन्धी बिरामीका लागि लाभदायी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “गल्फ खेल्न अरु खेल जस्तो उमेरको हदबन्दी रहँदैन । सबै उमेर समूहकाले यो खेल खेल्नु लाभदायक हुन्छ ।”      विसं २०८० फागुनमा धरान गल्फ कोर्समा ‘ड्राइभिङ रेञ्ज र पार्किङस्थल’ निर्माण गरेपछि प्रभावकारी व्यवस्थापन भएको छ । धरान गल्फ क्लब र नेपाली सेनाको काली शक्ति इञ्जिनियरिङ गणको सहकार्यमा निर्माण गरिएको ड्राइभिङ रेञ्ज र पार्किङले यहाँ आउने खेलाडीको व्यवस्थापनमा सहज बनाएको क्लबका सदस्य राजुले बताउनुभयो ।       क्लबका अध्यक्ष हरिबहादुर राईले नेपालमा पनि गल्फ उत्कृष्ट खेलका रूपमा विकास हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “गल्फ खेल्नका लागि विभिन्न ठाउँबाट धरान आउनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ ।”

काठमाडौं:    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ ।       यस्तै, जापानी येन, साउथ कोरियन वन र मलेसियन रिङ्गेटको मूल्य भने घटेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ पैसा कायम भएको छ ।            युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ १३ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ८९ र बिक्रीदर एक सय ७३ रूपैयाँ ६५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रूपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ६५ पैसा कायम गरिएको छ ।       केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ ७० पैसा र बिक्रीदर ९६ रूपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ शून्य पाँच पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ४९ पैसा निर्धारण गरेको छ ।       जापानी येन १० को खरिददर आठ रूपैयाँ ९९ पैसा र बिक्रीदर नौ रूपैयाँ शून्य तीन पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १८ रूपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ शून्य एक पैसा र बिक्रीदर ३६ रूपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ कायम भएको छ ।       केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ शून्य एक पैसा र बिक्रीदर चार रूपैयाँ शून्य तीन पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रूपैयाँ, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ५७ पैसा र बिक्रीदर ३० रूपैयाँ ७१ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ४५ पैसा र बिक्रीदर नौ रूपैयाँ ४९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ४२ पैसा र बिक्रीदर १२ रूपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ १९ पैसा र बिक्रीदर १९ रूपैयाँ २८ पैसा तोकिएको छ ।       राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रूपैयाँ ४० पैसा र बिक्रीदर १७ रूपैयाँ ४८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रूपैयाँ २९ पैसा र बिक्रीदर चार सय ४२ रूपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५१ रूपैयाँ ३८ पैसा, बिक्रीदर तीन सय ५२ रूपैयाँ ९४ पैसा तोकिएको छ ।  यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ ।      राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

खोटाङ:    गोलिया काठ काट्ने क्रममा रूखले किचेर हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय मिलन दमाईको मृत्यु भएको छ ।       रावाबेँसी गाउँपालिका–२ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित नीजि वनमा रहेको रूखबाट गोलिया काठ काट्ने क्रममा मौवाको सुकेको रूख ढलेर किच्दा सोमबार मिलनको घटनास्थलमै मृत्यु भएको हो ।       रूख ढल्ने क्रममा गोलिया काठ सङ्कलन गरिरहेका बेला नजिकै रहेको मौवाको सुकेको रूखले किच्दा मिलनको मृत्यु भएको रावाबेँसी–२ का वडाध्यक्ष डोलराज बस्नेतले जानकारी दिनुभयो ।       “मृतक दमाई हप्ता दिनअघि यहाँ काम गर्न आएका हुन् । ज्यालादारी कामका लागि आएका निजको रूखले किचेर मृत्यु भएको जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “मृत्युको खबर पाएपछि प्रहरीलाई जानकारी गरायौँ । जिल्लाबाट प्रहरी टोली आएर मुचुल्का उठाएपछि शव परीक्षणका लागि जिल्ला पठाइएको छ ।”      रूखले किचेर दमाईंको मृत्यु भएको खबर स्थानीयले दिएपछि सोही आधारमा घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मोहन पोखरेलको नेतृत्वमा खटिएको टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।       खार्पास्थित भडाँरेमा एक हप्ता दिनअघिदेखि गोलिया काठ निकासीका लागि निजी वनका रूख काट्ने काम भइरहेको स्थानीयले बताएका छन् । दश स्थानीय तह रहेको जिल्लाबाट स्थानीयको निजी वनका रूख काटेर ठेकेदारले तराईका विभिन्न जिल्लामा गोलिया काठ निकासी गरिरहेका छन् । 

काठमाडौं:   हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।  आगामी २४ घण्टामा बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु लाग्नुका साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उडानमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

काठमाडौं:   नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ ।       कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ः१५ बजे आरम्भ हुने छ ।       चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ ।  चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।      यस्तै लुम्बिनी लायन्स चारवटै हेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।      कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ । कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ । कर्णाली चौथो स्थानमा छ । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो । कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो ।       यसैगरी पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौँ स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ । पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो ।      आइतबारसम्म १५ खेल सम्पन्न भएका छन् । यही मङ्सिर १५ गतेदेखि सुरु भएको एनपिएलमा जनकपुर बोल्ट्स आफ्ना सबै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । उसले चार खेलबाट आठ अङ्क जोडेको छ ।  जनकपुर बोल्टस्ले उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले नै हराएको थियो । तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको जनकपुरले चौथो खेलमा लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको थियो ।       एनपिएलमा चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जित तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ । यसले चार खेलबाट ६ अङ्क जोडेको छ । सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगरलाई ९० रनले, दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले तथा तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो । चौथो खेलमा भने सुदूरपश्चिम रोयल्स चितवन राइनोजसँग ३३ रनले हारेको थियो ।       काठमाडौँ गुर्खाज दुई अङ्कसहित छैटौँ स्थानमा छ । काठमाडौँ  पहिलो खेलमा चितवनसँग पाँच विकेटले हारेको थियो । दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले हराएको काठमाडौँ तेस्रो खेलमा सुदूरपश्चिमसँग ७२ रनले पराजित भएको थियो ।       विराटनगर किङ्ग्स दुई अङ्कका साथ सातौँ स्थानमा छ । विराटनगरले तीन खेलमा हार तथा एउटामा मात्र जित निकालेको थियो । पहिलो खेलमा विराटनगर जनकपुरसँग आठ विकेटले हारेको थियो ।  दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले हारेको विराटनगरले तेस्रो खेलमा भने लुम्बिनीलाई दुुई विकेटले पराजित गरेको थियो । चौथो खेलमा विराटनगर कर्णालीसँग सात रनले हारेको थियो । 

तनहुँ:     पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ ।  मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध हटेको हो ।  गत मङ्सिर ३ देखि २३ गतेसम्म राति ११ देखि बिहान ४ः३० बजेसम्म सडक बन्द गरी काम गरिएकामा अर्को सूचना प्राप्त नहुन्जेलसम्मका लागि बाटो खुला गरी सवारी आवागमन सञ्चालन गरिएको मुग्लिन–पोखरा सडक योजना ९पूर्वी खण्ड०का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “रातिको समयमा गरिँदै आएको काम हाललाई रोकिएको छ । अब उक्त खण्डमा रातिमा पनि सवारीसाधन सञ्चालनमा आउनेछन् ।” मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । इन्जिनियर पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ साना पुल निर्माण गरिएका छन् । पूर्वी खण्डमा २०७७ माघमा सम्झौता भई २०७८ वैशाखदेखि काम सुरु भएको थियो ।  

पोखरा:    गण्डकी प्रदेशमा लैङ्गिक हिंसा, मानव अधिकार उल्लंघन र भ्रष्टाचार न्यूनिकरणमा सरोकारवालाको भूमिका विषयक परिसंवाद कार्यक्रम गरिएको छ ।  नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको सभाहलमा भएको कार्यक्रममा सहभागीले गण्डकी प्रदेशमा मानवअधिकारको वर्तमान अवस्थावारे छलफल गरेका हुन् । उनीहरुले मानवअधिकारको अवस्था चिन्ताजनक रहेको निष्कर्ष निकालेका छन् ।  कार्यक्रमका वक्ताहरुले लैङ्गिक हिंसा समाजमा मुख्य समस्याको रुपमा देखा परेको बताए । साथै भ्रष्टाचारका कारण मानवअधिकार हनन भएकोमा चिन्ता व्यक्त गरे ।  कार्यक्रमका गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले भ्रष्टाचार देशका लागि गम्भिर अपराध रहेको बताए ।  ‘हामी सबै यो समाजका उत्पादन हौँ, भ्रष्टचार देशका लागि गम्भिर अपराध हो यो गर्न हुदैँन ।  भ्रष्टचारले राज्य खोक्रो हुन्छ भन्नलाई भन्ने तर आफु त्यसमा नपरेसम्म नसुध्रीने प्रवृतिले हामी समस्यामा छौँ’, पाण्डेले भने ।   भ्रष्टचार बढ्नुमा यो समाज सबै दोषी भएकाले सबै नसुध्रीयसम्म भ्रष्टचार अन्त्य नहुने पाण्डेको भनाइ थियो ।   नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष अनन्दराज मुल्मीले राजनीतिक पहुँचका आधारमा हुने भ्रष्टचार बढेको बताए । उनले निजि क्षेत्रको संलग्नता भ्रष्टाचार हुने भन्दै राज्य संचालककै तहबाट संरक्षण गर्ने गरिएको मुल्मीको उल्लेख गरे ।  भ्रष्टाचार गर्नेलाई राज्यको तहबाटै संरक्षण हुने गरेकाले सामान्य नागरिकले सहजै सेवा पाउने अवस्था नभएको उनको भनाइ थियो ।  राष्ट्रिय मानवअधिकार आयोग गण्डकी कार्यालय प्रमुख नितु गतौलाले राजनीतिक तथा नागरिक अधिकारलाई महत्व दिए पनि सामान्य नागरिकको स्वास्थ्य अवस्थाका वारेमा मानवअधिकारको विषय ओझेलमा परेको बताइन् ।   महिला अधिकारकर्मी बिना सिलवालले दश वर्ष पहिलाको भन्दा अहिले राज्यको तहमा सहभागिता बढेको अनुभव सुनाइन् ।  संख्यात्मक रुपमा सहभागिता बढे पनि व्यवहारिक रुपमा प्रयोजन सही रुपमा हुन नसकेको उनको भनाइ थियो । स्वावलम्बन जीवन केन्द्र, पोखराका अध्यक्ष हेमबहादुर गुरुङले अपाङगता भएकाको राज्यका तहमा पहुँचन नपुगेको बताए ।  राज्यले गर्नुपर्ने लगानी नगर्दा असक्त भएकाको अन्तर्राष्ट्रिय स्तरमा सहयोग माग्नुपर्ने अवस्था रहेको गुनासो गरे ।  गण्डकी प्रदेश प्रेस रजिस्टार विमला भण्डारीले गण्डकी प्रदेशलाई कस्तो बनाउने भन्ने सरकारसँगै जनताको पनि उत्तिकै दायित्व हुने बताइन् ।  कार्यक्रममा लैङ्गिक हिंसा, मानव अधिकार उल्लंघन र भ्रष्टाचार न्यूनिकरणका क्षेत्रमा काम गरिरहेका संस्था र व्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संचारकर्मी रघुनाथ वाग्लेले गरेका थिए ।  गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा भएको परिसंवाद कार्यक्रममा प्रेस रजिस्टारको कार्यालयको समन्वय र पब्लिक फोर के टेलिभिजनको सहकार्य रहेको थियो ।   

पोखरा:    पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ मा शोमबार निशुल्क ब्रतबन्ध गरिएको छ ।  ११ जनाको ब्रतबन्ध सम्पन्न भएको यज्ञ आयोजक मुल समितिका अध्यक्ष एवं अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष मदन गिरीले जानकारी दिए । कोटिहोममा मंगलबार चौरासी पुजा र तुला दानको कार्यक्रम तय भएको गिरीले बताए। कोटिहोम संचालनको अवधिमा ब्रतबन्ध, चौरासी पुजा गर्न चाहेमा निशुल्क रुपमा पुजा गर्न सकिन्छ, कर्ताले स्वेच्छीक दान गर्न चाहेको अवस्थामा दान स्विकार गरिने छ’ गिरीले भने । कोटिहोमको सातौँ दिन ठुलो संख्यामा भक्तजनको उपस्थिति रहेको थियो । आयोजकको तर्फबाट भक्तजनको लागि निशुल्क भोजनको व्यवस्थापन गरिएको यज्ञ आयोजक मुल समितिका संयोजक नारायण भण्डारीले जानकारी दिए । यज्ञका प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले पर्यटकिय धार्मिक क्षेत्र बनाउने उदेश्य सहित कोटिहोम आयोजना गरिएकोले सबै पोखरेलीको साथ र सहयोगको अपेक्षा गरिएको बताए । यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि  धाम निर्माण गर्ने उद्धेश्यका साथ कोटीहोम आयोजना गरिएको हो ।   अबको पाचँ वर्षमा धाम विश्वको आकर्षक गन्तब्य बन्ने संकल्पकर्ता ढकालले जानकारी दिए । कोटिहोम जारी रहदा धाममा शिवालय मन्दिरको उद्याटन गरिएको छ भने, शवदहन स्थल (सेती नदी)  जाने बाटो (सिँढी)को शिलान्यस र शिव मन्दिर प्रवेश गर्ने मुलद्धारको शिलान्यस गरिएको छ ।  यस्तै महतगौंडा र टुटङ्ग्यालाई जोड्ने प्राचीन प्राकृतिक पुल ढुङ्गेसाँघुको तल हहिहर भगवानले तपस्या गरेको गुफा जानका लागि पट्नेरीबाट सिँढीसहितको बाटोको चन्दा दाताको हातबाट शिलान्यास गरिएको छ ।   यस्तै सोही स्थानमा प्रेम मन्दिरको पनि शिलान्यास गरिएको अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका सचिव कमला बरालले जानकारी दिइन । मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुने छ । 

पोखरा:    युआरएल फाउन्डेसनले यस वर्षको लाइफ टाइम एचिभमेन्ट अवार्ड डा खगेन्द्रबहादुर श्रेष्ठ र राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गरेको छ ।  आइतबार आयोजित समारोहमा शिक्षाविद् जर्ज जोन, फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्त लगायतले श्रेष्ठ र शर्मालाई सम्मानित गरेका हुन् ।  गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना र प्रवर्धन गर्दै आएको फाउन्डेसनले युआरएलको ११ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विशेष समारोहमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।  ललितपुरको कुपन्डोल निवासी डा श्रेष्ठ पूर्वराजा वीरेन्द्र शाहका शाही चिकित्सकसमेत हुन् । ८९ वर्षीय श्रेष्ठले नेपालसहित भारत, बेलायत, अमेरिकाबाट चिकित्साबारे अध्ययन र तालिम लिएका अवकाश प्राप्त जर्नेलसमेत हुन् । उनले वीरेन्द्र सैनिक अस्पताल, बेलायत र वेल्सका अस्पतालमा सेवा गरेका छन् ।  पत्रकारिता पुरस्कारको राशि ३३ हजार ३ सय ३३ रुपैयाँ र सम्मानपत्र छ । पत्रकार शर्मा राष्ट्रिय समाचार समिति र रेडियो जननीमा आवद्ध छिन् । नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्षसमेत रहेकी वर्षा आमसञ्चारमा स्नातकोत्तर हुन् ।  कार्यक्रममा शिक्षाविद् जर्ज जोनले चिकित्सकहरु ईश्वरका रुप भएको उल्लेख गर्दै यो क्षेत्रले सामाजिक दायित्व निर्वाह गर्नु, पुरस्कार प्रदान गर्नु सराहनीय काम भएको जनाए । सम्मानित चिकित्सक डा श्रेष्ठले यस खालका सम्मानले मानिसमा आशाको सञ्चार गर्ने विचार राखे । पुरस्कृत पत्रकार शर्माले कर्म गर्दै जाँदै समाजले मूल्यांकन गर्ने र निस्वार्थ सेवाको कदर हुने उल्लेख गरिन् ।  प्रतिभा छनोट समिति संयोजक वद्रीविनोद प्रतीकले दुवै क्षेत्रमा योग्य र समाजले मूल्यांकन गरेका प्रतिभाहरु सम्मानित भएको बताए ।  समितिका सदस्यसमेत रहेका प्रयोगशाला विज्ञ सुशील थापाले प्रयोगशालाले गुणस्तर कायम गर्नु, व्यवसायसँगै सामाजिक दायित्व पनि देखिने गरी निर्वाह गर्नु उदाहरणीय भएको विचार राखे । युआरएल फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्थको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकीकी प्रेस रजिष्ट्रार विमला भण्डारी, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका महानिर्देशक मनमोहन मिश्र, पूर्वपुरस्कृत व्यक्तित्व आरजू विष्ट सल्यानी, युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला, युआरएलका सञ्चालक वसन्त पंगेनी लगायतले बोलेका थिए । गत वर्षबाट प्रदान गर्न थालिएको लाइफ टाइम एचिभमेन्ट अवार्डबाट पहिलो पटक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई सम्मान गरिएको थियो ।  सुरुआतमा युआरएल पत्रकारिता पुरस्कारका रुपमा सञ्चालित पुरस्कार भने गत वर्षबाट ‘राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’मा रुपान्तरण गरिएको हो । यो पुरस्कारबाट गत वर्ष दीपेन्द्र श्रेष्ठ सम्मानित भएका थिए । राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार र लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न प्रेस स्वतन्त्रता सेनानी बदीविनोद प्रतीकको संयोजकत्वमा बनेको समितिले सर्वसम्मत अवार्ड र पुरस्कार दिने प्रतिभा छनोट गरेको हो ।