काठमाडौं: तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ । विराटनगर विमानस्थल अहिलेसम्म बन्द छभने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार तराई क्षेत्रका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ । केही विमानस्थलको उडान नै स्थगित गर्नुपरेको छभने कतिपय विमानस्थल ढिलो खुलेकाले उडान तालिका प्रभावित भएको छ । भद्रपुर, भरतपुर, पोखरा भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल अपराह्नपख मात्र खुलेका हुन् । प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थलमा सोमबार पनि कुनै उडान हुन सकेनन् । “बाक्लो हुस्सुले भिजिबिलिटी कमजोर हुँदा तराई क्षेत्रका विमानस्थलहरुमा उडान प्रभावित भएको छ”, प्रवक्ता शेर्पाले भन्नुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने आन्तरिक र बाह्य उडान नियमित रुपमा सञ्चालन भइरहेका छन् । यसैबीच, जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जनाएको छ ।
काठमाडौं: उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले महिला अधिकार स्थापनामा स्वर्गीय मङ्गलादेवी सिंहको योगदान अतुलनीय रहेको बताउनुभएको छ । नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको १००औँ जन्मजयन्तीका अवसरमा नेपाल महिला सङ्घ काठमाडौँले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले महिला अधिकार, प्रजातन्त्र र समानताका लागि मङ्गलादेवी सिंहको योगदान अतुलनीय रहेको बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले राणाकालमा महिलालाई मताधिकार, महिलाका लागि शिक्षा, पैतृक सम्पत्ति माथिको हकअधिकार र नीतिगत तहमा महिला प्रतिनिधित्वका लागि मङ्गलादेवीले गरेको सङ्घर्षले हालको उपलब्धि हासिल भएको बताउनुभयो । “वर्तमान संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मङ्गलादेवी सिंहकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि हो,” उपप्रधानमन्त्री सिंहले भन्नुभयो । उहाँले संविधानमा प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकासमा अघि बढ्नुपर्ने बताउनुभयो । महिलाको हक, अधिकारलाई सुरक्षित बनाउन विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला सङ्घ स्थापना गरिएको थियो ।
वीरगञ्ज: खानेपानीमन्त्री प्रदीप यादवले नागरिकप्रति जनमुखी एवं उत्तरदायी भएर खानेपानीका क्षेत्रमा काम गर्न निर्देशन दिनुभएको छ । आज पर्सास्थित नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले नेपाल सरकारको प्रमुख लक्ष्य भनेको नागरिकलाई शुद्ध, सफा र सुरक्षित खानेपानी उपलब्ध गराउने भएकाले सोही अनुसार पानी वितरण गर्नसमेत निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको लक्ष्य भनेको नागरिकलाई शुद्ध र सुरक्षित पानी खुवाउनु हो, सरकारको लक्ष्यअनुसार नागरिकप्रति जनमुखी र उत्तरदायी भएर काम गर्न म तपार्इंहरुलाई निर्देशन दिन्छु ।” सोही क्रममा मन्त्री यादवले ‘सरकार एक घर, एक धारा’ भन्ने राष्ट्रिय लक्ष्यलाई साकार बनाउन लागि परेको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “१ घर, १ धारा भन्ने राष्ट्रिय लक्ष्यलाई साकार बनाउन हामी लागि परेका छौँ, मन्त्रालय सबैमा खानेपानी र सरसफाइको पहुँच पुग्ने गरि कार्ययोजना तयार गरिरहेको छ ।” खानेपानी संस्थान वीरगञ्ज शाखाअन्तर्गतमा विनियोजित भएको बजेटलाई छिटोछरितो तरिकामा बोलपत्र आह्वान गरी कार्य अगाडि बढाउन र ‘टेन्डर’ प्रक्रिया सुरु भई सम्झौताको चरणमा रहेका खानेपानीका योजनालाई तत्काल कार्यान्वयनमा ल्याउनसमेत मन्त्री यादवले कर्मचारीलाई निर्देशन दिनुभयो । सो क्रममा नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जका प्रमुख प्रवीनकुमार साहले वीरगञ्ज महानगरपालिका भरिमा कुल ११ हजार ४ सय ५० खानेपानीका ग्राहक रहेका र उनीहरुलाई शुद्ध, सफा पानी वितरण गरिँदै आएको जानकारी दिनुभएको थियो ।
नेपालगञ्ज: बाँकेमा मानवअधिकार सूचना तथा स्रोत केन्द्र स्थापना गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ७६औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले निर्माण गरेको स्रोत केन्द्र भवनको बाँकेको जानकी गाउँपालिका–३ मा आज शुभारम्भ गर्नुभयो । सो अवसरमा मुख्यमन्त्री आचार्यले मानवअधिकारको रक्षा र प्रवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले समाजमा रहेका हरेक व्यक्तिलाई समान अवसर र सम्मानपूर्वक जीवनयापनको वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । न्यायपूर्ण र समतामूलक समाज निर्माणका लागि साझा ऐक्यबद्धता आवश्यक रहेको र त्यसका लागि प्रदेश सरकारले समन्वयको भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । “मानवअधिकार समाजको प्रगितसँग जोडिएको छ, हामिले न्यायपूर्ण र समतामूलक समाजको परिकल्पना गरेका छौँ, त्यसका लागि मानवअधिकार सुनिश्चित हुन जरुरी छ”, उहाँले भन्नुभयो, “मानवअधिकारको प्रत्याभूतिका लागि प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नेमा प्रतिबद्धता जनाउन चाहन्छु ।” लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा द्वन्द्वको चपेटामा परेको र त्यसबाट उत्पन्न समस्याले अहिले पनि मानवअधिकार प्रत्याभूति हुन नसकिरहेको सन्दर्भ केलाउँदै मुख्यमन्त्री आचार्यले द्वन्द्व प्रभावितहरुको न्यायका लागि प्रदेश सरकारले भूमिका बढाउने बताउनुभयो । “लुम्बिनी प्रदेश द्वन्द्वको चपेटामा प¥यो, अहिले पनि पीडितहरुले भोगेका समस्या सम्वोधन गर्नेगरी काम अघि बढेका छन्, त्यो भूमिका निर्वाह गर्न प्रदेश सरकार तयार छ”, उहाँले भन्नुभयो, “मानवअधिकार रक्षाका निम्ति कुनै कसर बाँकी राख्ने छैन, प्रदेश सरकारले खेल्नुपर्ने भूमिका निभाउँछौँ ।” मानवअधिकार रक्षाका निम्ति इन्सेकले हरेक क्षेत्रबाट प्रभावकारी भूमिका खेलेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले अझैं मानव अधिकारको क्षेत्रमा थुप्रै काम गर्न आवश्यक रहेको बताउनुभयो । “इन्सेकले द्वन्द्वको बेलामा खेलेको भूमिका कसैले भूल्न सक्दैन”, उहाँले भन्नुभयो, “अहिले पनि राज्यलाई मानवअधिकारको क्षेत्रबाट खबरदारी गरिरहनुभएको छ, राज्यले मानवअधिकार क्षेत्रबाट उठाएका कुराहरु सुन्नुपर्छ ।” इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालको अध्यक्षतामा भएको सो कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेल, इन्सेकका पूर्वअध्यक्ष सुवोध प्याकुरेल, इन्सेका लुम्बिनी प्रदेश संयोजक भोला महत, राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख द्वारिका अधिकारी लगायतले द्वन्द्व व्यवस्थापनका विषयमा बोल्नुभएको थियो । इन्सेकको आफ्नो स्वामित्वमा रहेको २७ धुर जग्गामा रु ४७ लाख २९ हजारको लागतमा सो स्रोत केन्द्र स्थापन भएको हो । स्रोत केन्द्रलाई द्वन्द्वपीडितलाई कानुनी तथा मनोपरामर्शका साथै सूचना आदानप्रदान गर्ने थलोका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
धादिङ: यहाँको नीलकण्ठ नगरपालिका–६ स्थित भैरवी मन्दिर पर्यटनको गन्तव्य बनेको छ । पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनास्लु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ मन्दिरको दर्शन गर्न, बिदा मनाउन, रमणीय दृश्यावलोकन गर्न आउनेहरुको भीड लाग्न थालेको छ । “राम शाहले विसं १६६६ मा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो । उहाँले स्थापना गर्नुभएको कुरा लालमोहरमा लेखिएको छ ”, भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले भन्नुभयो, “पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा बासबसी भाकल गर्नुभएको र त्यसपछि विजय भएको किम्वदन्ती छ ।” पूजारी र बाजा बजाउनेलाई शाहले गुठीको नाममा ९० रोपनी ११ आना २ पैसा जग्गा व्यवस्थापन गरिदिएका थिए । जिल्ला प्रशासन कार्यालयले हाल पूजा सञ्चालनका लागि हरेक वर्ष ६ हजार ७ सय ३२ रुपैयाँ ५० पैसा उपलब्ध गराउने गरेको छ । यस मन्दिरमा पूजासहित वडादसैँ र चैते दसैँमा विशेष मेला लाग्छ । मन्दिरमा विशेष पूजा, भाकल तथा बलि चढाउने परम्परा छ । वडादसैँको नवमीका दिन यहाँ सुङ्गुर बलि गरिन्छ । मन्दिर पुग्न सदरमुकामबाट १८ किलोमिटर पार गर्नुपर्छ । भैरवी मन्दिरलाई नीलकण्ठ नगरपालिकाले विशेष प्राथमिकताका साथ संरक्षण तथा प्रवर्द्धन गर्दै आएको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले बताउनुभयो । “भूकम्पले जीर्ण मन्दिर पुनःनिर्माण गरिएपछि मन्दिर घुम्न तथा दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । यहाँबाट चारैतिर हिमशृङ्खला देखिने भएकाले पर्यटक आकर्षित भएका हुन्”, उहाँले भन्नुभयो । यहाँ भारतदेखि पर्यटक मन्दिर दर्शन तथा अवलोकनका लागि आउने गरेको मन्दिरका पूजारी भगवान राना मगरले जानकारी दिनुभयो । जिल्लाका विभिन्न सङ्घ संस्थाले भैरवी मन्दिर सम्म पदयात्रा गर्न थालेपछि मन्दिरको थप प्रचारप्रसार भएको छ । नीलकण्ठ नगरपालिका– ३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले पदयात्रा र मन्दिरको प्रचारप्रसारले यस ठाउँको प्रचारमा सहयोग पुगेको बताउनुभयो ।
ललितपुर: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको बताउनुभएको छ । छयत्तरौँ मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मानवअधिकार आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो । “राज्य र राजनीतिक शक्तिहरु मानवाधिकार रक्षा गर्न प्रतिबद्ध छन् । सर्वोच्च अदालतका फैसला कार्यान्वयन र सङ्क्रमणकालीन न्यायलाई पीडितमैत्री बनाउनेमा सरकारले ध्यान दिएको छ । आयोगलाई स्वायत्त र सशक्त बनाउन सरकार तत्पर छ,” उपप्रधानमन्त्री पौडेलले भन्नुभयो । उहाँले मानवअधिकारको रक्षा र आयोगको कार्य सञ्चालनका लागि भौतिक एवं आर्थिक स्रोत सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारमैत्री हुन नसकेका कानुन संशोधन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले वैदेशिक रोजगारीमा गएकाहरुको मानवअधिकार रक्षा संवेदनशील विषय भएकाले त्यसतर्फ सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । यहाँस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक ९युएनडिपी०का आवासीय प्रतिनिधि हाना सिङ्गर–हम्डेले कोप २९ मा नेपालले निर्वाह गरेको भूमिका तथा सङ्क्रमणकालीन न्यायका निम्ति गरेका कामको सराहना गर्नुभयो । गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले मौलिक हकमैत्री कानून बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । मानवअधिकार महाभेला २०२४ का संयोजक भोला भट्टराईले महिला, श्रमिक, किसान, अल्पसङ्ख्यकहरुको मानवअधिकारको रक्षामा जोड दिनुभयो । मानव अधिकार आयोगका सदस्य लिली थापाले अन्तर्राष्ट्रियस्तरमा नेपालको मानव अधिकारको अवस्था सन्तोषजनक रहको बताउनुभयो । त्यस अवसरमा मानवअधिकार रक्षककको सशक्त भूमिका निर्वाह गर्नुभएका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘दयाराम स्मृति पुरस्कार’ प्रदान गरिएको थियो भने वातावरणअधिकार रक्षामा योगदान गर्नुभएका धनुषाका लक्ष्मी महतोलाई पनि पुरस्कृत गरिएको थियो । दुवै पुरस्कारको राशि रु ५० हजार छ ।
महोत्तरी: लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसमा जाडो बढेको छ । मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । धमाधम खेतीपाती लगाउने बेला मौसम चिसिँदै गएपछि काम अघि नसर्दा किसान विलखबन्दमा परेका छन् । “गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको काम धमाधम पर्छ, हिउँदेबाली लगाउन भ्याइनभ्याइ पर्ने बेला घरबाट निस्कन सकिएको छैन”, बर्दिबास–१३ का ठकाइ महतो भन्नुहुन्छ, “पुस नलाग्दै बढेको ठिहीले काम सबै असरल्ल छन् ।” चिसोले हातगोडा कठ्याङ्ग्रिएर कुनै काममा हात नलाग्दा समयमा खेतीपातीका काम नसकिने चिन्ताले किसानलाई पिरोलेको छ ।महोत्तरीसहितका मधेसमा हुस्सु र चिसोको कहर छ । पुस पहिलो सातापछि बढ्ने हुस्सु केही वर्षयता मध्य मङ्सिरदेखि नै डम्म लाग्ने गरेको जलेश्वर–५ का ७५ वर्षीय किसान रहिमन मण्डल बताउनुहुन्छ । मङ्सिरभित्रै बढेको ठिहिर्याउने चिसोले घरपालुवा पशुवस्तुको बिजोग छ । पशुवस्तुको आहाराको जोहो र चरनमा लान नपाइँदा बिजोग भएको हो । भङ्गाहा–४ रामनगरकी हीरादेवी दाहाल अचाक्ली बढेको चिसोले पशुवस्तु जिङ्र्याउने र बिरामी हुने क्रम बढेको बताउनुभयो । जाडोले बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरी बढी प्रभावित बनेका छन् । खासगरी श्वासप्रश्वासका बिरामीलाई यो मौसमले बढी च्याप्ने हुँदा स्याहारमा ध्यान दिनुपर्ने बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदीप ठाकुर बताउनुहुन्छ ।
चितवन: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकाङ्क्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो ध्यान सरकारतिर छैन । हाम्रो ध्यान जनतातिर छ । जनतालाई परिचालन गर्नेतर्फ नै छ । सरकारका कामको खबरदारी गरिररहन्छौँ ।” फरक प्रसङ्गमा उहाँले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालको हितमा रहेको बताउनुभयो । चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको उहाँले बताउनुभयो । इन्डो प्यासेफिक स्ट्राटिजी (आइपिएस) र बिआरआईका सन्दर्भमा अध्यक्ष दाहालले यस्तो टिप्पणी गर्नुभएको हो ।
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको पहिलो खेलमा लुम्बिनी लायन्स चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान रोहितकुमार पौडेलको ‘अलराउण्ड’ प्रदर्शनमा लुम्बिनी लायन्स चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै विजयी भएको हो । प्रतियोगितामा लुम्बिनीको यो पहिलो जित हो । लुम्बिनीले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३४ रन मात्र जोड्न सक्यो । चितवनका लागि ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए । त्यस्तै, कप्तान कुशल मल्लले १७ बलमा एक चौका र एक छक्काको सहयोगमा २० रन जोडे । त्यस्तै, रवि बोपाराले १६ बलमा १२ रन बनाए । लुम्बिनीका लागि कप्तान पौडेलले चार विकेट लिए भने रामोन सिमोण्डसले दुई तथा साद विन जाफर र अभिषेस गौतमले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रनको योगफल बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन जोडेका थिए । उनले ६८ बलमा छ चौका र पाँच छक्का प्रहार गरेका थिए । यसैगरी, साद बिन जफरले ३५ बलमा चार चौका र एक छक्काको मद्दतले अविजित ५२ रन बनाए । त्यस्तै, अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाए । चितवनका लागि रिजन ढकालले तीन तथा कप्तान कुशल मल्ल र रञ्जित कुमारले समान एक विकेट लिए । पहिलो अङ्क पाएको लुम्बिनी पाँचौँ स्थानमा उक्लिएको छ । यसअघि लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । चितवनले भने पाँच खेलमा तीन जित र दुई हारसहित तेस्रो स्थानमा छ । चितवनले जितका साथ शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । सुरुआती दुई खेल जितेको चितवन तेस्रो खेलमा भने पराजित भएको थियो । काठमाडौँ र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग हारेको थियो । पछिल्लो खेलमा भने चितवनले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो । शत्प्रतिशत जितका साथ जनकपुर बोल्ट्स शीर्ष स्थानमा छ । आज नै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्ससँग खेल्दैछ ।

