काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री हुनुहुन्छ । कोरोना महामारी, रुस युक्रेन युद्ध आदिका कारण बिग्रिएको विश्वको अर्थतन्त्रको असर नेपालमा पनि पर्यो र अर्थतन्त्र सङ्कटमा परेका बेला उहाँले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ । अहिले नेपालको अर्थतन्त्रमा केही सुधारका सङ्केतका खबरहरु आइरहेका बेला उहाँले सम्हाल्नुभएको अर्थ मन्त्रालयका चार महिनाका कामकारबाही, हाल अर्थतन्त्रमा देखिएको भनिएको सुधार र एमालेको आन्तरिक राजनीतिका विषयमा केन्द्रित रहेर राससले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । यहाँले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेको चार महिना वितिसकेको छ । यस अवधिमा अर्थतन्त्रका समस्या समाधान गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन के पहल गर्नुभयो ? अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि हामी मुलुकको समग्र आर्थिक अवस्थाको बारेमा सुक्ष्म रुपमा जानकारी लिन, समस्या पहिचान गर्न र समाधान गर्नमा केन्द्रित भएका छौँ । परिणामतः अर्थतन्त्रमा सुधारका सङ्केतहरु देखापर्दै गएका छन् । निजी क्षेत्रको आत्मविश्वास बढेको छ र लगानीको वातावरण बन्दै गएको छ । मन्त्रलयमा बहाल भएलगत्तै हामीले सय दिने कार्ययोजना बनायौँ र तीमध्ये ९० प्रतिशत भन्दा बढी कार्यान्वनय गरेका छौँ । मुलुकको अर्थतन्त्र सुधारका लागि हामीले अर्थ जगतका अनुभवी, विज्ञ र निजी क्षेत्रका छाता सङ्गठनका प्रतिनिधिहरु सम्मिलित उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेका छौँ । यसबीचमा हामीले नीतिगत क्षेत्रमा केही महत्वपूर्ण काम पनि सम्पन्न गरेका छौँ । बीमा नियमावली, साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निस्कासन तथा कारोबारसम्बन्धी नियमावली, भन्सार महसुल नियमावली, आन्तरिक राजस्व परिचालन रणनीति, भन्सार मूल्यलाई कारोबार मूल्यमा आधारित बनाउने रणनीति, सार्वजनिक संस्थानमा ऋण तथा लगानीसम्बन्धी नीति, आन्तरिक ऋण निस्कासन तथा व्यवस्थापन कार्यविधि पारित भई कार्यान्वयनमा आएका छन् । उपभोक्ताले डिजिटल माध्यमबाट गरेको खरिदको भुक्तानीमा तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम सम्बन्धित खरिदकर्ताको बैंक खातामा फिर्तादिने कार्य प्रारम्भ भएको छ । तातोपानी भन्सार कार्यालयमा लगेज तथा भेइकल स्क्यानर मेशिन प्रयोगमा ल्याइएको छ । भन्सार प्रज्ञापन पत्रको मूख्य मूख्य चरणको जानकारी निकासी तथा पैठारीकर्तालाई एसएमएस वा इमेल मार्फत गराउने प्रणाली सञ्चालनमा आएको छ । नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको अभौतिकिकरण ९डिम्याट० को कार्य आरम्भ भएको छ । यहाँले धेरै काम भयो भन्नुभयो तर निर्माण व्ययवसायीको भुक्तानी, राजश्व सङ्कलन, पूँजीगत खर्च लगायतका समस्या समाधान हुन त बाँकी नै देखिन्छ नि ? हामीले जिम्मेवारी लिँदा अघिल्लो वर्ष भुक्तानी हुनुपर्ने दायित्व समेत बाँकी रहेको चिन्ताजनक अवस्था थियो । यस बीचमा बाँकी भुक्तानी दायित्व पूरा गर्नका लागि अर्थ मन्त्रालयले सहजीकरण गरेको छ र क्रमशः भुक्तानी हुँदै पनि गएको छ । कानुन सम्मत ढंगले सिर्जित भुक्तानी दायित्व यथाशीघ्र पुरागर्ने क्रम जारी छ । आयोजनाहरुको वर्गीकरण र बहुवर्षीय स्रोत सुनिश्चितताका बारेमा विद्यमान द्विविधा हटाउने र स्पष्ट मापदण्डका आधारमा अघि बढ्ने प्रयास भइरहेको छ । विदेशी मुद्राको सञ्चिती, भुक्तानी सन्तुलन, विप्रेषण आप्रवाह, बैंकहरुमा तरलताको अवस्था, ब्याजदर जस्ता विषयहरुमा उल्लेखनीय सुधार भएको छ । पुँजीबजार चलायमान र सुधारोन्मुख अवस्थामा आएको छ । लामो सयमदेखि अनिर्णित अवस्थामा रहेको धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति भएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा ३।२ प्रतिशत राजस्व बृद्धिदर रहेकोमा यसवर्षको सोही अवधिमा १७ प्रतिशतले वृद्धि भएको छ । राजस्व चुहावट नियन्त्रणका लागि केन्द्रीय दु्रत गस्ती टोली परिचालन लगायतका विभिन्न उपायहरु अवलम्बन गरिएको छ । वैदेशिक सहयोग (अनुदान तथा ऋण) परिचालनको अवस्था तुलनात्मक रुपमा सकारात्मक बन्दै गएको छ । त्यसैगरी महङ्गी र मुद्रास्फिती नियन्त्रित अवस्थामा छ । पुँजीगत खर्च गतवर्षको पहिलो चार महिनाको तुलनामा यसवर्ष चार अर्बले बढी भएको छ । गैरआवासीय नेपालीले लगानी गर्ने गरी स्थापना गरिएको एनआरएनए डेभलपमेण्ट फण्ड कार्यान्वयनको चरणमा आइपुगेको छ । सरकारी स्वामित्वका बन्द तथा रुग्ण उद्योग तथा प्रतिष्ठानहरुको अवस्था यकिन गरी पुनः सञ्चालन गर्न र सञ्चालनमा रहेकाहरुको क्षमता विस्तार गर्न तयारी कार्य अघि बढाइएको छ । निजीक्षेत्र लगायत उत्पादनका हरेक क्षेत्रको मनोबल उठाउन सहयोग र सहजीकरण गरिएको छ । विश्व बैंकका अनुसार गत वर्ष ३.९ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर यो वर्ष ५।१ प्रतिशत पुग्ने अनुमान गरिएको छ । नेपाल सन् २०२६ मा अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नती हुने आधार तयार भइरहेको छ । केही हप्ता अघि हामीले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय क्षेत्रको प्रतिष्ठित संस्था फिच रेटिङबाट सोभरेन कन्ट्री रेटिङको काम सम्पन्न गरेका छौँ र ‘डबल बि माइनस्’ नतिजा सार्वजनिक भएको छ । यसबाट नेपालको अवस्था दक्षिण एशियामा भारतपछिको दोस्रो स्थानमा छ भन्ने पुष्टि भएको छ । नेपाल लगानीका लागि अनुकूल गन्तव्य हो भन्ने सन्देश विश्वव्यापी रुपमा नै प्रवाह भएको छ । यहाँ त आफुले गरेका कामहरुप्रति सन्तुष्ट जस्तो देखिनुहुन्छ । तर आमनागरिक विशेषतः निजी क्षेत्रले चिन्ता व्यक्त गरिरहेका छन् । यस सम्बन्धमा के भन्नुहुन्छ ? हामीले सबै समस्याको समाधान भयो भनेका छैनौँ । हाम्रो अर्थतन्त्रका समस्याको बारेमा हामी जानकार नै छौँ । समस्या समाधान गर्ने र अर्थतन्त्रलाई गतिशील बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिम्मेवारी हाम्रो हो, सरकारको हो भन्ने कुरामा स्पष्ट छौँ । भन्न के खोजिएको हो भने हामीले जिम्मेवारी सम्हाल्दा विरासतले छाडेका समस्याको चाङमा उभिनुपर्ने अवस्था थियो । स्रोत ब्यवस्थापन, विनियोजन कौशल र बजेट अनुशासनका प्रश्नमा अनेकन समस्याहरु थिए । एकै पटक हजारौँ हजार आयोजना थप गरिएको, ३१ प्रतिशत वृद्धिको लक्ष्य राखेर विश्वास गर्न नसकिने स्रोत अनुमान गरिएको जस्ता गम्भीर समस्याहरु हाम्रा सामु उपिस्थित थिए । समग्र मागमा भारी गिरावट, उद्योगहरुको उत्पादनमा ६० प्रतिशतसम्मको गिरावट, निर्यातमा मात्र होइन, आयातमा पनि भारी मात्रामा गिरावट, रोजगारीमा कटौती, राजश्व परिचालन र पुँजीगत खर्चको चिन्ताजनक अवस्था, सरकार अनिवार्य दायित्व भुक्तानीबाट समेत पन्छिन खोजको अवस्थाका साथै बजेट निर्माणसँगै जोडिएर आएका अनेकन समस्याको चाङ थियो । दुईचार महिनामा अर्थतन्त्रका यी सबै सङ्ग्रहीत समस्याको समाधान सम्भव थिएन । तर पनि यो छोटो अवधिमा उल्लेखनीय काम सम्पन्न भएका छन् । मूल कुरा मुलुक कता जाँदैछ र मुलुकको अर्थतन्त्र कता जाँदै छ भन्ने हो । हामीले मुलुकको अर्थतन्त्रलाई ओरालो लाग्नबाट रोकेका छौँ र सकारात्मक दिशातर्फ फर्काएकाछौँ । निजी क्षेत्र लगायत उत्पादनका हरेकजसो क्षेत्रमा आत्मविश्वास बढ्दै गएको छ । अर्थतन्त्रमा सुधारका सङ्केतहरु देखापरेका छन् र तिनीहरुलाई अझ प्रभावकारी बनाउनु पर्नेछ । बैंकमा सस्तो ब्याज र पर्याप्त तरलता छ तर त्यसलाई उत्पादन र उत्पादकत्व वृद्धिमा, रोजगारी सिर्जनामा परिचालन गर्नुपर्ने छ । निजी क्षेत्रका जायज सरोकारहरुलाई सम्बोधन गर्नुपर्ने छ । आम नागरिकलाई रोजगारी वा स्वरोजगारीसँग जोड्नु छ, उनीहरुको आयआर्जन बढाउनु छ र समग्र मागमा वृद्धि गर्नुछ । हो, हामी यही काममा लाग्दैछौँ । हामी अर्थतन्त्रलाई चलायमान बनाउने र राजस्व परिचालन तथा पुँजीगत खर्च वृद्धिगर्ने कुरामा अझ बढी केन्द्रीत भैरहेका छौँ । अब अलिकति फरक प्रसङ्गमा जाऔँ । कांग्रेस र एमालेको बीचमा देखापरेको दरारले गठबन्धन पूरा अवधि चल्दैन भन्ने चर्चा हुन थालेको छ । मतभिन्नताका बीचमा यस गठबन्धनलाई कसरी गन्तब्यसम्म पु¥याउनु हुन्छ ? संविधान निर्माण भएपछि नेपाली जनताको चाहना सामाजिक न्याय सहितको समृद्धि हो । तर राजनीतिक अस्थिरताले हामीलाई त्यसतर्फ अघि बढ्न दिइरहेको थिएन । लामो इतिहास, योगदान र हैसियत भएका कांग्रेस, एमाले जस्ता पार्टीसँग बहुमत नहुने, साना दलहरुलाई जोडेर निर्माण गरिएको बहुमत लामो समय टिक्न र जनताको पक्षमा राम्रो डेलिभरी दिन नसक्ने समस्या हाम्रा सामु थियो । २०७९ सालमा निर्वाचित भएको प्रतिनिधिसभा भित्रबाट राजनीतिक स्थायित्वसहितको विकासको यात्रा तय गर्न कांग्रेस एमालेको सहयात्रा बाहेक अर्को कुनै विकल्प थिएन । निर्वाचनपछिका थरी–थरीका गठबन्धनका अभ्यास र तीनका परिणामले पनि यही शिक्षा दिएको थियो । यही पृष्ठभूमीमा यो सरकार बनेको हो । नेपाली कांग्रेस र नेकपा ९एमाले०को बीचमा कायम भएको यो राजनीतिक सहयात्रा कुनै काँचो धागोमा अडिएको छैन । यो निश्चित ध्येय र उद्देश्यमा आधारित छ । राजनीतिक स्थायित्वको बलमा संविधानको रक्षा र विकास, सबै प्रकारका अतिवाद र अस्थिरताका प्रवृत्तिहरुको अन्त्य, सामाजिक न्यायसहितको विकास र समृद्धि यो सहयात्राको मूख्य उद्देश्य हो । मुलुकलाई सकारात्मक दिशामा लैजान वर्तमान प्रतिनिधिसभा भित्र खोज्न सकिने यो अन्तिम विकल्प पनि हो । कांग्रेस र एमालेको बीचमा यो सहयात्रा नहोस् भन्नेहरु निकै सक्रिय थिए । तिनको प्रयासलाई असफल पारेर यो सहयात्रा सुरु भएको हो । अब पनि कांग्रेस र एमालेको बीचमा दरार सिर्जना गर्न र यी दुई प्रमुख पार्टीलाई अलग गर्नका लागि अनेक प्रकारका कोसिस भएका छन् र भइरहने पनि छन् । तर हामीले त्यस्ता प्रयासहरुलाई परास्त गर्छौैं राजनीतिक स्थायित्व सुनिश्चित गर्छौं । विकास, समृद्धि र सामाजिक न्यायको अभियानलाई तिब्र पार्छौं । जनतामा विशेषगरी युवा–युवतीमा, निजी लगायत उत्पादनका हरेक क्षेत्रमा आशा भर्छौं । यो सहयात्रा २०८४ को आम निर्वाचनसम्मका लागि हो । त्यतिबेलासम्म नै कायम रहन्छ, कसैले प्वालपार्ने वा भत्काउने चेष्टा नगरे हुन्छ । त्यसो भए यहाँले भन्नुभएजस्तै कांग्रेस र एमालेका बीचमा कुनै समस्या नै छैन त ? तपाईलाई आश्चर्य लाग्ला हाम्रा बीचमा आजसम्म त्यस्तो कुनै गम्भीर समस्या सिर्जना भएकै छैन । हामीले सरकार सञ्चालनका लागि सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाली कांग्रेसका सभापतिज्यू र दुवै पार्टीका शीर्ष नेताहरु सम्मिलित साझा संयन्त्र निर्माण गरेका छौँ । संयन्त्र अन्तर्गत दुई पार्टीका चार–चार जना नेता सम्मिलित कार्यदल छ । महत्वपूर्ण विषयमा निर्णयमा पुग्नुअघि कार्यदल र संयन्त्रमा छलफल गर्ने प्रणालीको पनि विकास गरका छौँ । जसले गर्दा समस्या सिर्जना हुनै पाउँदैन । संयन्त्र, कार्यदल र मन्त्रिपरिषदमा अत्यन्त जीवन्त र हार्दिक वातावरणमा छलफल हुने गरेको छ । हामीले यही प्रणालीलाई निरन्तरता दिन्छौँ र सरकारमा सहभागी पार्टी, विशेषगरी नेपाली कांग्रेस र नेकपा ९एमाले० बीचको आपसी सम्बन्धलाई यसरी नै २०८४ को आम निर्वाचनसम्म लैजान्छौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैमात्र मित्र राष्ट्र चीनको औपचारिक भ्रमण सम्पन्न गर्नुभएको छ । यो भ्रमणलाई यहाँले कसरी हेर्नुभएको छ ? स्वतन्त्र एवम् सार्वभौम राष्ट्रको जननिर्वाचित सरकार प्रमुखको हैसियतमा सम्पन्न भएको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको चीन भ्रमण अत्यन्त सफल र ऐतिहासिक रह्यो । यस भ्रमणले नेपाल र चीनबीचको आपसी सम्बन्धलाई नयाँ उचाईमा उठाएको छ । भ्रमणका क्रममा विगतमा भएका सम्झौताहरुको कार्यान्वयनमा जोड दिनुका साथै नयाँ ऐतिहासिक महत्वका सम्झौताहरु पनि सम्पन्न भएका छन् । नेपालको आर्थिक विकास, विशेषगरी पूर्वाधार विकासमा यी सम्झौताहरुको विशेष र दूरगामी महत्व छ । तर पनि भ्रमणको प्रभाव त मिश्रित जस्तो देखियो नि । काँग्रेसकै कतिपय नेताले चीन भ्रमणका क्रममा भएका सम्झौता, विशेषगरी फ्रेमवर्क फर बिआरआई कोअपरेशन एग्रिमेण्टप्रति नकारात्मक टिप्पणी गरिरहेको देखिएको छ । भ्रमणको सफलतामथि प्रश्न खडा भएन र ? होइन, विषयलाई त्यसरी बुझ्न हुँदैन । नेपाली कांग्रेसको आधिकारिक धारणालाई पार्टी सभापतिले प्रतिनिधित्व गर्नुहुन्छ भन्ने मैले बुझेको छु । कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूको चीन भ्रमणलाई अत्यन्त सफल भन्नुभएको छ । त्यति मात्र होइन उहाँले सम्माननीय प्रधानमन्त्री र उहाँको नेतृत्वको सरकारले राम्रो काम गरेको पनि बताउनुभएको छ । फ्रेमवर्क फर बेल्ट एण्ड रोड कोअपरेशन एग्रिमेण्टका बारेमा सम्झौता गर्नुपूर्व दुवै पार्टीको शीर्ष नेतृत्व तहमा गम्भीरतापूर्वक छलफल भएको छ, के गर्ने के नगर्ने भन्ने विषयमा सहमति भएको छ । बिआरआई सम्झौतमा भएको हस्ताक्षर नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमति अनुरुप नै छ । कसैले यस विषयलाई उछालेर दुई प्रमुख पार्टीका बीचमा अन्तरविरोध सिर्जना गर्न सकिन्छ कि भन्ने ठानेको छ भने त्यो भ्रम मात्र हो । एमालेभित्रको अन्तरविरोधलाई भुसको आगोजस्तो अवस्थामा छ भन्छन् नि मानिसहरु । यस विषयमा यहाँको भनाई के छ ? नेकपा (एमाले) एउटा यस्तो पार्टी हो, जहाँ नीति र नेतृत्वको प्रश्नमा कुनै मतभेद छैन । हामी जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका लागि क्रियाशील छौँ । जनताको बहुदलीय जनवाद र दशौँ राष्ट्रिय महाधिवेशनका निष्कर्षहरुप्रति सिङ्गो पार्टी पङ्क्तिमा गहिरो विश्वास छ । त्यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूप्रति समस्त पार्टी पङ्क्तिको उच्च सम्मान र भरोसा छ । उहाँ वैधानिक ब्यवस्था अनुरुपको निर्वाचित अध्यक्ष मात्र होइन, समस्त पार्टी पङ्क्तिको विश्वास जितेको आस्थाकोे अध्यक्ष हुनुहुन्छ । पछिल्लो दशकमा हाम्रो पार्टीले उपलब्धि र चुनौतीका जे–जस्ता श्रृङ्खला पारगर्दै आजको यो ठाँउसम्म आइपुगेको छ । उहाँको दूरदृष्टियुक्त, सुझबुझपूर्ण र साहसिक नेतृत्व नभएको भए त्यो सम्भव हुने थिएन । हो, पार्टीभित्र परिस्थिति वा घटना विशेषमा आधारित भएर असहमति वा अन्तरविरोधहरु देखा पर्न सक्तछन् तर हामीले तीनलाई तत्क्षण त्यही ठाउँमा समाधान गर्दै पार्टीको आन्तरिक एकतालाई अक्षुण्ण राख्छौँ र पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउँछौं । अब हुने नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशन नीति र नेतृत्व दुवै प्रश्नमा पूर्ण सहमतिका साथ सम्पन्न हुनेछ । अन्य पदहरुमा निर्वाचन भएछ भने पनि मूल नेतृत्वमा, अध्यक्ष पदमा निर्वाचन हुने कुनै संभावना छैन । नेकपा (एमाले)लाई मात्र होइन, सिङगो राष्ट्रलाई सफल नेतृत्व प्रदान गर्नुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूका विरुद्ध कसैले उम्मेवारी दिन्छ भन्ने मलाई लाग्दैन । त्यसो भए के एघारौँ महाधिवेशनपछि पनि केपी ओली नै अध्यक्ष रहि रहनुहुन्छ ? तपाईहरुसँग नेतृत्व गर्न सक्छु भन्ने आत्मविश्वास नभएको त होइन ? प्रश्न आत्मविश्वासको होइन, प्रश्न सक्षम नेतृत्वको हो । हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूले नेकपा (एमाले)लाई मात्र होइन सिङगो राष्ट्रलाई योग्यतापूर्वक नेतृत्व गरिरहनु भएको छ । उहाँको क्षमता, सक्रियता र नतिजामूलक कामसँग तुलना गर्ने अर्को कुनै नेता नेकपा (एमाले)मा छैन । अनि किन खोज्नु प¥यो नेतृत्वको विकल्प ? नेतृत्व भनेको रहरको बिषय पनि होइन । यो त इतिहास, योगदान, क्षमता र राष्ट्र तथा अन्तराष्ट्रमा स्वीकार्यताको बिषय पनि हो । म स्पष्ट भाषामा भन्न चाहन्छु, एघारौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मतिका साथ उहाँ नै अध्यक्षमा निर्वाचित हुनुहुन्छ । यस बिषयमा कोही पनि द्विविधामा रहन आवश्यक छैन । तपाईले एघरौँ महाधिवेशनमा केपी ओलीको विकल्प छैन भन्ने निष्कर्ष प्रस्तुत गर्नुभयो । लामो समयदेखि उहाँसँग समिपमा रहेर काम पनि गर्नुभएको छ । यहाँले केपी ओलीलाई कसरी बुझ्नुहुन्छ ? उहाँ समकालीन नेपाली राजनीतिको सर्वाधिक लोकप्रिय, सबैभन्दा भिजनरी, आफ्नो आस्था र उद्देश्यप्रति अविचलित, जनता र राष्ट्रको हितका विरुद्ध कहिल्यै र कसैसँग सम्झौता नगर्ने, आफूमा निहित योग्यता, उर्जा र सिङ्गो जीवनलाई जनता र राष्ट्रको हितमा समर्पण गर्नुभएका नेता हुनुहुन्छ । उहाँ हावाको तालमा बग्ने होइन कि आवश्यक पर्दा ‘एण्टी करेण्ट’ पनि उभिन सक्ने र जनताको मनमा बास बनाउन सक्ने नेता हो । तर जनताका बैरीका लागि भने उहाँ अत्यन्त कठोर हुनुहुन्छ । त्यस्तै मानिसको जीवनको मूल्य बुझेको, सबै उमेर समूह, सबै जाति, भाषा, संस्कृति र लिङ्गका नेपालीले उत्तिकै प्रिय ठान्ने तथा अन्तर्राष्ट्रिय जगतमा नेपालको इज्जत र मर्यादाको प्रतिनिधित्वका साथै नेपालको पक्षमा पैरवी गरी दुनियामा नेपाललाई चिनाउन र नेपालको प्रतिष्ठा बढाउन सक्ने नेताका रुपमा मैले चिनेको छु । उहाँ एकपटक देखेको, सुनेको र भोगेको प्रसङग कहिल्यै नविर्सने असाधारण स्मरण शक्ति भएको ‘इन्साक्लोपेडिया’ जस्तो विलक्षण प्रतिभाको पनि धनी हुनुहुन्छ । यसका साथै समस्त नेपालीको साझा आकांक्षा समृद्ध नेपाल, सुखी नेपाली हो भनेर शुत्रवद्ध गर्ने नेपाली विशेषताको समाजवादका स्वप्नद्रष्टा एवं नेपालले विरलै प्राप्त गर्न सक्ने एक राजनेताका रुपमा मैले उहाँलाई बुझेको छु । मलाई लाग्छ सरलता र दृढता उहाँको जीवनका अभिन्न विशेषता हुन् । उहाँसँग सङ्गत गर्ने र सम्वाद गर्नेहरु असहमत हुन त सक्लान तर उहाँबाट प्रभावित नहुने व्यक्ति भने विरलै छन् । अध्यक्ष ओलीमा अप्ठ्यारोलाई सजिलोसँग भोग्न सक्ने र सजिलोलाई सामान्य रुपमा लिन सक्ने असाधारण खुबी छ । त्यस्तै उहाँसँग परिस्थिति बुझ्ने र समाधान खोज्ने विलक्षण क्षमता पनि छ ।
पोखरामा महानगरपालिका १३ पाटनवेशीमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किदा १ युवकको ज्यान गएको छ । मंगलबार राती ग २३ प ३५६१ नम्बरको मोटरसाइकल र ग ७ प ९०७५ नम्बरको स्कुटर एकापसमा ठक्कर खादा मोटरसाइकल चालक पोखरा ३३ बागमाराका १९ वर्षीय सरोज रामदामको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका सरोजलाई उपचारका लािग पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । सोही क्रममा उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेको थियो । यस्तै सोही दुर्घटनमा परि अर्का युवक पनि घाइते भएका थिए । उनका अहिले उपचार भइरहेको बताइएको छ ।
बागलुङ नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ । यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ । यहाँ विसं २०६० मा सडकको ट्रयाक पुगेको रायडाँडा बागलुङ बजारबाट १९ किलोमिटर टाढा रहेको छ । हाल यहाँको बस्ती–बस्तीमा सडकको ट्रयाक पुगेको छ भने रायडाँडाको वडा कार्यालयसम्म पक्की सडक पु¥याउन धमाधम स्तरोन्नतिको काम भइरहेको छ । हाल १९ किमी सडक पक्की बनाउन दुई चरणमा ठेक्कामार्फत रु ४० करोड लागतमा सडक स्तरोन्नतिको काम भइरहेको हो । अदालत—चौपारी–गौँडाकोट–तित्याङ–भकुण्डे हुँदै रायडाँडा बरेङ शान्तिपुर सडकअन्र्तगत हाल रायडाँडासम्म सडक कालोपत्रका लागि स्तरोन्नतिका काम हुँदैछन् । पहिलो चरणमा छ महिना अघिदेखि रु ३० करोड लागतमा भकुण्डेसम्म १५ किमी सडक र हाल भकुण्डे खण्डको चार किमीमा काम सुरु भएको छ । यस्तै दोस्रो चरणमा भकुण्डेको शौर्यदेखि बागलुङ नगरपालिका–११ रायडाँडाको वडा कार्यालयसम्म ४ किमी सडक स्तरोन्नतीका लागि रु १० करोड लागतमा ठेक्का सम्झौता निर्माण व्यवसायी काममा फर्केको छ । छिट्टै रायडाँडाका सडक बन्ने बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए। निरन्तरको पहल र बागलुङ नगरपालिकाको समन्वयमा सडक निर्माणले गति लिएको र दुवै खण्डमा सडक स्तरोन्नति भए रायडाँडा जस्तो विकट गाउँमा विकासले गति लिने अपेक्षा गरिएको उनको भनाइ छ । “बागलुङ बजारदेखि तित्याङ हुँदै भकुण्डेसम्मको १५ किमी सडकमा बिडारी निर्माण सेवाले काम गरिरहेको छ भने भकुण्डेदेखि रायडाँडासम्मको चार किमि सडकमा एटलान्टिक निर्माण सेवाले हालै सम्झौता गरेर सडक चौडा पार्ने काम सुरु गरेको छ”, वडाध्यक्ष गौतमले भने, “बागलुङ नगरपालिकाको विकट गाउँमा पक्की सडक पुग्नु यहाँका लागि गौरवको विषय हो ।” बहुवर्षीय आयोजनाअन्र्तगत दोस्रो खण्डमा गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालयअन्र्तगत काम भइरहेको छ । वैशाखदेखि काम सुरु गरेका निर्माण व्यवसायीले तित्याङ खण्डमा छ किमी सडक चौडा बनाइसकेको छ । बागलुङ बजारको अदालत चौपारीदेखि सडक चौडा पार्ने, ग्याबिन लगाउने र कल्भर्ट निर्माण गर्ने काम भइरहेको बिडारी निर्माण सेवाका सञ्चालक धु्रब बिडारीले जानकारी दिए । आर्थिक वर्ष २०८० चैत १६ गते दुई वर्षमा स्तरोन्नतिसहित कालोपत्र सम्पन्न गर्न सम्झौता भएकामा सडकको पहिलो खण्डमा हाल कामले गति लिएको छ । ट्रयाक खोलेको २० वर्षसम्म स्तरोन्नति हुन नसकेको सडक कालोपत्रका लागि पूर्वाधारको काम हुँदा स्थानीय पनि उत्साहित भएका छन् । स्थानीय चन्द्रप्रकाश शर्माले सडक स्तरोन्नतिले पर्यटकीय गाउँ भकुण्डे पुग्ने पर्यटकलाई सहज भई अन्य विकासमा पनि सकारात्मक प्रभाव पर्ने बताए । सडकको पहुँच, विकासका गतिविधि बढ्न थालेपछि यहाँबाट बसाइँसराइ रोकिने शर्माले आशा व्यक्त गरे ।
जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ग ३ च ९४४५ नम्बरको जिप गए राति दुर्घटना हुँदा नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र निजका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले बताउनुभयोे । घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौँ: कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो स्पर्धा काठमाडौँ गुर्खाज् जनकपुर बोल्ट्सबीच हुनेछ । हालसम्म काठमाडौंले दुई खेल जितेको छ भने पाँच खेलमा स्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ । पहिलो खेल ९: १५ र दोस्रो खेल १: १५ बजे हुनेछ ।
पोखराः पोखरा रंगशालामा जारी प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणको खेल सकिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा भएको खेलमा आज लिगचरणको खेल सकिएसँगै क्वाटरफाइनरको समिकरण पुरा भएको अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए । आज भएको पहिलो खेलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ओरेन्ज)ले लमजुङको बेशीशहर नगरपालिकालाई ४१–२८ ले पराजित गदैं क्वाटरफाइनलमा स्थान पक्का ग¥यो । यस्तै दोस्रो खेलमा पर्वतको मोदी गाउँपालिकाले म्याग्दीको रघुगंगा गाउँपालिका (ह्वाइट)लाई ५८–४६ ले पराजित ग¥यो । यस्तै तेस्रो खेलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ह्वाइट)ले पोखरा महानगरपालिकालाई ५८–५४ ले पराजित ग¥यो । चौथो खेलमा खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका (ग्रे)ले लमजुङको बेशींशहर नगरपालिकालाई ६०–३० ले पराजित ग¥यो । पाँचौ खेलमा पर्वतको जलजला गाउँपालिकाले कास्कीको मादी गाउँपालिकालाई ५४–४६ ले पराजित ग¥यो । आज भएको अन्तिम खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका (ग्रे) ले म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ओरेन्ज)लाई ४४–३६ ले पराजित ग¥यो । भोलि (बिहीबार) पहिलो क्वाटरफाइनलमा म्याग्दीको रघुगंगा गाउँपालिका (ग्रे) र म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ह्वाइट)बीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेल पर्वतको मोदी गाउँपालिका र जलजला गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै तेस्रो खेल बेनी नगरपालिका र रघुगंगा गाउँपालिका (ह्वाइट)बीच हुनेछ । यस्तै चौथो क्वाटरफाइनल खेल पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका (ओरेन्ज)बीच हुनेछ । लिक कम नकआउटको आधारमा भइरहेको गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुष तर्फको विजेताले १ लाख १५ हजार १ सय ११ उपविजेताले ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ३० र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रापत गर्नेछन् । विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर, बेस्ट अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय र अनुशासित टिमलाई नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय पुरस्कार प्रदान गर्ने आयोजनकले जनाएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुनेछ ।
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एनपिएलबाट बाहिरिने लुम्बिनी पहिलो टोली हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले जितका लागि दिएको एक सय चार रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए । उनले २९ बलमा दुई चौका प्रहार गरे । त्यसैगरी, उन्मुक्त चन्दले १९ बलमा १३ रन बनाउँदा सूर्य तामाङ ११ रन जोड्दै अविजित रहे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कप्तान रोहित पौडेल आठ, टम मुर्स छ तथा ओपनर आशुतोष घिरैया चार रनमा आउट भए । काठमाडौँका लागि कप्तान करण केसीले चार विकेट लिए भने दीपेश कँडेलले तीन विकेट लिए । त्यस्तै, जेहार्ड एरास्मसले दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौँले १९ दशमलव दुई ओभरमा एक सय तीन रनको योगफल बनाएको थियो । काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । भीमले ४० बलमा एक चौका प्रहार गरेका थिए । त्यस्तै, ड्यान ड्वाथवेटले २१ रन बनाएर आउट भए । प्रतीक श्रेष्ठले २० रन बनाउँदा स्टेफन स्केनाजी १३ रनमा आउट भए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । लुम्बिनीका लागि साद विन जाफरले तीन विकेट लिए भने अभिषेस गौतम र रेमन सिमण्डसले समान दुई– दुई विकेट लिए । त्यस्तै, सूर्य तामाङ र विवेक यादवले समान एक–एक विकेट लिए । पराजित लुम्बिनीको छ खेलमा पाँचमा हार र एकमा जितसहित दुई अङ्क छ । यस हारसँगै लुम्बिनी लिग चरणको एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो । लुम्बिनी यसअघि विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । हिजो भएको खेलमा भने लुम्बनीले चितवनलाई पराजित गरेको थियो । चार खेलमा दुईमा हार र दुईमा जितका साथ काठमाडौँ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । यो खेलमा जितसँगै काठमाडौं प्लेअफ सम्भावना कायमै छ । उक्त प्रतियोगितअन्तर्गत भोलि बुधबार दुई खेल हुनेछ । जसमा बिहान ९ बजे हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सवीच प्रतिस्पर्धा हुनेछ भने १ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।
पोखरा: आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवमा गण्डकी प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने भएको छ । युनाईटेड क्लबको आयोजनामा हुने महोत्सवमा सञ्चालन गरिने विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको सम्पूर्ण खर्च गण्डकी प्रज्ञा प्रतिष्ठानले ब्यहोर्ने भएको हो । बुधवार एक कार्यक्रमका बीच युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा र गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची बीच पोखरा महोत्सवमा आयोजना हुने सामुहिक लोकनृत्य प्रतियोगितालाई सहयोग गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले युनाईटेड क्लब आफैमा प्रतिष्ठित क्लव रहेको र सामाजिक काम संगै युनाईटेड क्लबले विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको आयोजना गरी कला तथा साहित्यको संरक्षणमा समेत टेवा पु¥याउदै आएको बताए । त्यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले पोखरा महोत्सवको आयोजना गरी युनाईटेड क्लबले सामाजिक सेवा संगै लोक संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने काम गरेकाले अघिल्लो संस्करण देखि विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्दै यो वर्षपनि निरन्तरता दिएको बताए । सो अवसरमा बोल्दै युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले सामाजिक काम संगै लोक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा लागि रहदा गण्डकी प्रज्ञा प्रतिष्ठानको साथ र सहयोगले थप हौसला प्रदान गरेको बताए । त्यस्तै क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले एघारौं संस्करण देखी सहयोग गर्दै आइरहेको र बाह्रौं संस्करणको पोखरा महोत्सवबाट विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको सम्पूर्ण खर्च ब्यवहोर्ने गरी सहकार्य गर्दै आएकोमा यो पटक पनि निरन्तरता दिएकोमा धन्यवाद ब्यक्त गरे । युनाईटेड क्लबले महोत्सवको आम्दानीबाट सामाजिक काम र महोत्सवको माध्यामबाट लोक संस्कृतिको जगेर्ना गर्ने गरि विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको आयोजना गर्दै आइरहेको उनको भनाइ रहेको थियो । सो अवसरमा युनाईटेड क्लबका पूर्व अध्यक्ष सुक बहादुर गुरु, क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, प्रथम उपाध्यक्ष सूर्य बहादुर बानियाँ लगायतको उपस्थिती रहको थियो ।
पोखरा: कास्कीको मादी गाउँपालिका गाउँपालिका–७ मा भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मादी गाउँपालिका–७ लिचु भन्ने जंगलबाट एक नाले भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए । ‘सोमबार कास्कीको मादी गाउँपालिका–७ मेलबोट लिचु भन्ने जंगल नजिकै रहेको गाईगोठमा भरुवा बन्दुक चेकजाँच गर्ने क्रममा पड्किदा बिनोद सुनार घाइते भई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको सूचना पाएको थियौै’, डिएसपी शर्माले भने, ‘सोधपुछ गर्दा उक्त बन्दुक कुल प्रसाद वि.क र सुमन तामाङले राखेको भन्ने खुल्न आएकाले नियन्त्रणमा लिएका हौं, थप अनुसन्धान जारी छ ।’ डिएसपी शर्माका अनुसार सोधपुछ पछी बन्दुक खोजतलाज गर्ने क्रममा कुलप्रसाद विकको गाईगोठ भन्दा १ सय ५० मिटर तल लुकाई राखेको अवस्थामा २ फिट २.५ ईन्च लामो एक नाले भरुवा बन्दुक बरामद गरिएको हो । बरामद गरिएको हतियारको ईजाजतपत्र (कागजपत्र) नभएकाले मादी मेलबोट बस्ने ३२ वर्षीय साईला भन्ने कुल प्रसाद विक र पानीघाट बस्ने २२ वर्षीय सुमन तामाङलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजना सम्बन्धी मुद्धामा ६ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

