पोखरा:   बक्स पोखराको आयोजनामा यही असार २७, २८ र २९ गते पोखरा रंगशालामा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । बक्स पोखराले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।...

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको छ ।  आज ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।          त्यस अवसरमा प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुङ्गाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो । “नेपालको संसदीय अभ्यासमा बेग्लै प्रभाव छाड्न सफल भएकाले उहाँले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।   आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ उहाँको अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । उहाँप्रति श्रद्धाञ्जली व्यक्ति गर्न उपप्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अन्य सदस्य पनि गौचरन पुग्नुभएको छ ।  कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

काठमाडौं:     नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिवङ्गत पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।  आज ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उहाँले ढुङ्गानाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको हो ।   त्यस क्रममा सभापति देउवाले ‘संसद् प्रतिपक्षको हो’ भन्ने भाष्य स्थापित गर्न ढुङ्गानाले भूमिका खेल्नुभएको स्मरण गर्नुहुँदै उहाँको त्यो कदमको राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रशंसा भएको बताउनुभयो । “उहाँको निधनले मुलुकको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको छ”, सभापति देउवाले भन्नुभयो ।   दिवङ्गत ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्न सानो गौचरनमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरू डा बाबुराम भट्टराई र झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी तथा पूर्वसांसद, पूर्वप्रशासक, वरिष्ठ कानुन व्यवसायी, मानवअधिकारकर्मी र नागरिकको उल्लेख्य उपस्थिति छ ।           कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।  सानो गौचरनमा श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

काठमाडौं:    आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ ।       पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।       मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर विद्यालयमा अध्ययनरत  कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई खोप दिइने लक्ष्य छ ।      उहाँले भन्नुभयो, “१७ लाख किशोरीहरुलाई खोप लगाउने अनुमान गरेका छौँ । सम्पूर्ण विद्यालय र स्वास्थ्य केन्द्रहरु खोप केन्द्रको रुपमा प्रयोग हुने छन् । यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशत सम्म पाठेघरको मुखमा हुने क्यान्सरबाट सुरक्षित बनाउँछ ।”      स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार १८ हजार नौ सय विद्यालयमा खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहनेछन् भने २७ हजार ८० जना स्वास्थ्यकर्मीहरु परिचालित हुनेछन् । उक्त अभियानमा ५४ हजार एक सय ६० जना स्वयंसेवक खटाइनेछन् । १५ हजार छ सय ७४ सुपरिवेक्षकहरु संलग्न हुनेछन् ।           उहाँले भन्नुभयो, “यो विद्यालय केन्द्रित खोप अभियान हो । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकै पटक सञ्चालन गर्ने तयारीमा छौँ ।” प्रत्येक दिन चार जनाको मृत्यु       पाठेघरको मुखमा हुने क्यान्सरको बिरामीको सङ्ख्या र मृत्यु हुने सङ्ख्या नेपालमा बर्सेनी बढ्दै गएको छ । महिलामा हुने क्यान्सरमध्ये नेपालमा यो पहिलो स्थानमा र विश्वमा हुने क्यान्सरहरुमा यो चौथो स्थानमा छ ।       विश्व स्वास्थ्य सङ्गठनको सन् २०२० को तथ्याङ्कअनुसार यो क्यान्सर हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई हुने र सन् २०३० सम्ममा सात लाखसम्म पुग्ने अनुमान गरिएको छ । त्यसैगरी हरेक वर्ष तीन लाख ११ हजार महिला यसैका कारण मृत्यु हुने र सन् २०३० सम्ममा चार लाख पुग्ने अनुमान गरिएको छ ।       नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु भइरहेको तथ्याङ्क छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ जना महिलामा यस्तो क्यान्सर हुने अनुमान गरिएको छ । हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाको यो क्यान्सरबाट मृत्यु हुने अनुमान छ ।      पाठेघरको मुखको क्यान्सर निवारणलाई सरकारले प्राथमिकतामा राख्दै आएको छ । नीति तथा कार्यक्रममा यो विषय समावेश गरी तीन पटक घोषणा गरिसकेको छ ।  राष्ट्रिय खोप कार्यक्रममा एचपीभीलाई समावेश गर्न सरकारले आव २०७२/७३ र २०७३/७४ मा ‘ग्लोबल अलाएन्स फर भ्याकसिन्स एण्ड इम्युनिजेसन’ (गाभी) को सहयोगमा अध्ययनस्वरूप कास्की र चितवनमा सफलतापूर्वक ‘पाइलट कार्यक्रम’ सञ्चालन गरिसकेको छ ।  आव २०८०/८१ मा ‘डेमोन्स्ट्रेसन’ को रुपमा हरेक प्रदेशको १–१ वटा अस्पतालमा १० हजार किशोरीलाई यो खोपको दुई मात्रा दिइ सकिएको छ ।       खोप शाखाले खोप सेवा सञ्चालन निर्देशिकामा आव २०८१/८२ स्वीकृत गरी खोप अभियान सञ्चालन र नियमित खोप सेवा सञ्चालनको तयारीमा गरेको छ । खोप शाखा प्रमुख डा गौतमले खोप यही पुसको मध्य सम्ममा आइपुग्ने बताउनुभयो ।  उहाँका अनुसार खोप गाभी र नेपाल सरकारको संयुक्त सहकार्यमा आइरहेको छ । “अर्को वर्षदेखि माघ वा फागुनतिर हरेक वर्ष यसरी नै खोप दिइनेछ । यसअघि दुई मात्राको खोप दिएका थियौँ । यो पटक एक मात्राको खोप लगाए पुग्ने छ”, उहाँले भन्नुभयो । यो अभियानका लागि १७ लाख ७० हजार २० मात्रा खोप छिट्टै  आइपुग्ने उहाँको भनाइ छ ।  के हो एचपीभी खोप ?         चिकित्सकका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्न सुरुवाती अवस्थामा उपचार गर्न सकिएमा यसबाट बच्न सकिन्छ । पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन यस भाइरस विरुद्ध दिइने खोप नै एचपीभी हो । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी नामक भाइरस हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशतभन्दा बढी क्यान्सर एचपीभीले गराउँछ ।       नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ । यो रोगबाट बच्न एचपीभी खोप नै प्रमुख उपाय हो । यौनसम्पर्क भइनसकेका नौदेखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि विश्व स्वास्थ्य सङ्गठनले एचपीभीको खोप सिफारिस गरेको छ । यो खोप लगाएपछि क्यान्सर नै हुँदैन भन्ने नभए पनि जोखिमलाई धेरै हदसम्म घटाउँछ । क्यान्सर रोक्न नियमित स्क्रिनिङ आवश्यक रहने विशेषज्ञ चिकित्सकहरु बताउँछन् ।      सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय रणनीति बनाएको छ । जसमा (९०–७०–९०) को लक्ष्य राखिएको छ । ९० प्रतिशत किशोरीलाई १५ वर्षको उमेरसम्म पूर्णरुपमा एचपीभी खोप लगाइसक्ने, ७० प्रतिशत महिलालाई ३५ वर्षसम्म एक पटक र ४५ वर्षसम्ममा पुनः परीक्षण गरिसक्ने, क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाले उपचार पाउने र निको बनाउने लक्ष्य विश्व स्वास्थ्य सङ्गठनले लिएको छ । 

सुर्खेत:   कर्णालीमा अझैपनि आयोडिनयुक्त नुन पुयाउनै कठिन छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कर्णालीका सबै डिपोहरुमा नुन ढुवानी गरिरहेको छ ।  सरकारले ढुवानी भाडामा अनुदान दिइ साल्ट ट्रेडिङले कर्णालीका जिल्लामा आयोडिनयुक्त नुन सहुलियतामा बिक्री गर्दै आएको छ । उपल्लो डोल्पाको तिन्जे बिक्री केन्द्रबाहेक अन्य ठाउँमा आयोडिनयुक्त नुन पुयाउने क्रम जारी रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रदेश कार्यालय, नेपालगञ्जका प्रमुख मनोज चौधरीले जानकारी दिनुभयो ।  चीन सरकारले अनुमति नदिएका कारण उपल्लो डोल्पामा नुन ढुवानी गर्न नसकिएको साल्ट ट्रेडिङले जनाएको छ । कर्णालीका पूरै र लुम्बिनीमा आयोडिनयुक्त नुन नेपालगञ्जबाट ढुवानी गरिँदै आएको छ । कर्णालीका हुम्ला, मुगु र डोल्पामा आयोडिनयुक्त नुन नपुग्ने समस्या यो वर्ष समाधान भएको प्रमुख चौधरीले जानकारी दिनुभयो । कर्णालीका जिल्लाहरुमा प्रति पोका रु ९ रुपैयाँले आयोडिनयुक्त नुन बिक्री हुने गरेको छ ।  ढुवानीमा अनुदानका कारण उक्त नुन प्रतिकिलो ९ रुपैयाँ परेको उहाँले बताउनुभयो । डोल्पाको सदरमुकाम दुनैमा २ हजार ५  क्वीन्टल कोटामध्ये हालसम्म १ हजार १ सय क्वीन्टल नुन ढुवानी भइसकेको छ । जुफाल डिपोमा ५ सयमध्ये ३ सय क्वीन्टल, काइगाउँमा ३ सय कोटामध्ये हालसम्म नुन पु(याइएको छैन । ढुवानीको क्रममा बाटोमै रहेको साल्ट ट्रेडिङले जनाएको छ ।  त्रिपरासुन्दरीको लिकुमा ३ सय कोटा निर्धारण गरिएकामा ढुवानीको क्रममा रहेको प्रदेश कार्यालय, नेपालगञ्जका प्रमुख चौधरीले जानकारी दिनुभयो। मुडकेचुलाको सर्मीमा ३ सय क्वीन्टलमा सबै नुन पुगेको उहाँको भनाइ  छ । तिन्जेमा १ हजार ८ क्वीन्टल कोटा निर्धारण गरेकामा हाल सम्म पु(याउन सकेको छैन । हुम्ला सदरमुकाम सिमीबोटमा एक हजार छ सय क्वीन्टल कोटा  निर्धारण गरिएकामा हालसम्म १ हजार १ सय ५० क्वीन्टल ढुवानी भइसकेको छ ।  याल्वाङ डिपोमा पाँच सय क्वीन्टल कोटा निर्धारण गरिएकामा हालसम्म ढुवानी हुन सकेको छैन । सार्केगाडमा नौ सय क्वीन्टलमध्ये ढुवानीको क्रममा बाटोमा रहेको प्रदेश प्रमुख चौधरीले जानकारी दिनुभयो । श्रीकोट डिपोमा नौ सय क्वीन्टल कोटा भएकोमा ढुवानीको क्रममा छ । सदरमुकाममा भने हवाई मार्गबाट नुन ढुवानी गर्ने कार्ययोजना रहेको छ । श्रीकोट र सार्केगाड साल्ट ट्रेडिङ् कर्पोरेशनका बिक्री केन्द्र हुन् ।  मुगु सदरमुकामका डिपोमा दुई हजार पाँच सय क्वीन्टलको कोटा रहेकामा हालसम्म एक हजार एक सय क्वीन्टल ढुवानी भइसकेको छ । बाँकी ढुवानीको क्रममा छ । सोरुकोटमा ९ सय क्वीन्टलमध्ये पाँच सय क्वीन्टल ढुवानी भएको छ ।  श्रीकोटमा ९ सय क्वीन्टल ढुवानी भएको छ । मुगुमकार्मरोङ गाउँपालिकामा १ हजार क्वीन्टल कोटा रहेकामा हालसम्म ढुवानी भएको छैन । सदरमुकामबाट नै यहाँको माग र आपूर्ति व्यवस्था हुँदै आएको साल्ट ट्रेडिङले जनाएको छ ।  जुम्लाका सबै स्थानीय तहमा नुन पु(याउन स्थानीय तहहरुसँग सहकार्य भइ सोही अनुसार ढुवानी भइरहेको चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाममा ४ हजार क्वीन्टलमध्ये २ हजार १ सय ५० क्वीन्टल ढुवानी भएको छ । नराकोटमा १ हजारमा हालसम्म ४ सय ५० क्वीन्टल पठाएको छ । गोरुचौरमा १ हजारमध्ये ५ सय क्वीन्टल नुन पु(याएको छ । जाजरकोटका ७ पालिकामध्ये सदरमुकामसहित ४ ठाउँमा नुन बिक्री हुँदै आएको छ । सदरमुकाममा २ हजार ५ सयमा १ हजार २ सय मात्र ढुवानी भएको छ । नलगाडको दल्लीमा १ हजार ५ मा ६ सय क्वीन्टल ढुवानी भएको छ । पश्चिम जाजरकोटको थलहमा १ हजार २ सय क्वीन्टलमध्ये चार४ सय ५० क्वीन्टल ढुवानी भएको छ ।  तागामा ३ सय क्वीन्टल कोटामध्ये सबै पुगेको छ । रुकुम पश्चिमको ४ हजार ५ सय क्वीन्टल कोटा मध्य हाल सम्म ८ सय ५० क्वीन्टल ढुवानी भएको छ । चौरजहारीमा ८ सय क्वीन्टल मध्य ३ सय ४० क्वीन्टल मात्र ढुवानी भएको छ ।  कालिकोटमा ३ हजार ५ सय क्वीन्टल मध्ये ७ सय ५० क्वीन्टल ढुवानी भएको छ । रासकोट डिपोमा १ हजार २ सय क्वीन्टलमध्ये २ सय ४० क्वीन्टल ढुवानी भएको छ । बाँकी ढुवानीको प्रक्रियामा छ ।  ठेक्का प्रक्रियाबाट ढुवानी हुने भएकाले ढुवानीकर्ताले आफू अनुकुलमा ढुवानी गर्दै आएका छन् । उपल्लो डोल्पामा कोभिड देखि आयोडिन युक्त नुन ढुवानी हुन सकेको छैन । हिमाली जिल्लाहरुमा चिसो र हिमपातका कारण नुन ढुवानीमा समस्या हुने गरेको छ ।  उपल्लो डोल्पा, हुम्लाको माथिल्लो भाग र मुगुको माथिल्लो क्षेत्रमा ढुवानीमा समस्या हुँदै आएको छ । स्थानीय तहहरुले समन्वय गरेर नुन लिएमा सबेलाई सहज हुने लिमिटेडको भनाइ छ ।  हाल निर्धारण गरिएको नुनको कोटा कर्णालीको हालको जनसङ्ख्यलाई अपुग भएको स्थानीय तहका प्रमुखहरुले बताउँदै आएका छन् । दैलेखमा नुनको बिक्री केन्द्र नै छैन ।  कर्णालीको सबै स्थानीय तहमा साल्ट ट्रेडिङसँग सहकार्य गरेर नुन लिन पु(याउन सकेमा सबैका लागि सजिलो हुने साल्ट ट्रेडिङले जनाएको छ। आयोडिनयुक्त नुनको आवश्यकता र माग दुवै उच्च रहेको स्थानीय तहका प्रमुखहरु बताउँछन् । साल्ट ट्रेडिङले सीमित कोटा निर्धारण गर्दा बर्सेनी कर्णालीका स्थानीयवासीका लागि नुन अपुग हुने गरेको पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताउनुभयो ।

काठमाडौं:    लगातारको हिँडाइले थाकेका गोडा पटक्कै उकालो सरिरहेका थिएनन् । तर, चितवनकी अचर्ना कार्कीको पदयात्रा रोकिएन । मर्दी हिमालको फेदैमा पुग्ने उहाँको इच्छाशक्ति सामु थकित शरीर र फतक्कै गलेका गोडाले अवरोध गर्नै सकेनन् ।  तिहार पर्व मर्दी हिमालक्षेत्रमै मनाउने उद्देश्यले उहाँ पदयात्रामा निस्कनुभएको थियो, साथमा परिवार र साथीभाई लिएर । उहाँले भन्नुभयो, “शरीर थाके पनि जति हिँड्यो त्यति नजिक देखिने हिमालले शरीरमा थप ऊर्जा थप्ने रहेछ ।” कार्कीले पहिलो पटक पदयात्राको अनुभव लिएको बताउनुभयो । पछिल्लो समय फुर्सदमा पदयात्रामा निस्कने सँस्कारको विकास हुन थालेको छ । युवा पुस्तादेखि पाका पुस्तासमेत पदयात्रामा रमाउन थालेका छन् । कार्कीले तिहारमा टिका लगाउन नमिल्ने भएपछि घुम्न जाने गन्तव्यको रुपमा मर्दी ‘ट्रेक’ रोज्नुभएको थियो । जब उहाँ पदयात्रा सकेर फिर्नुभयो । उहाँले प्राकृतिक दृश्यसँगै केही फरक अनुभूति गर्ने अवसर पाएको बताउनुभयो ।  “हिँड्दा हिँड्दै जङ्गलको शान्त वातावरण महसुस गर्न पाएँ”, उहाँले भन्नुभयो, “यस्तो प्राकृतिक शान्ति कोलाहलले भरिएको सहरमा कहाँ पाउनु र” कार्कीले सकेमा वर्षमा एक पटक पदयात्रा आवश्यक रहेको बताउनुभयो ।  यसले शारीरिक र मानसिक दुवै तन्दुरुस्ती राख्नलाई फाइदा पुग्ने उहाँको ठम्याइ छ । कार्कीकै साथी सपना थापाले पहिलो पदयात्रा मर्दी हिमाल आधारशिविर पुगेर पूरा गर्नुभयो ।  वर्षभरि जागिर, परिवार र दैनिक जीवनको सङ्घर्षमा आफ्नो लागि समय नमिल्ने हुँदा फुर्सदको सदुपयोग गर्न पदयात्रामा निस्किएको उहाँले बताउनुभयो । सुरुमा पहाडको उकालो चढेर के हुन्छ र भन्ने नकारात्मक भाव पैदा हुन्थ्यो । अरुले पदयात्रा गरेर इन्स्टाग्राम, फेसबुक जस्ता सामाजिक सञ्जालमा फोटो पोस्ट गरेको देखेपछि विस्तारै उहाँमा पदयात्रा मोह बढ्दै गयो । जब उहाँले मर्दी ट्रेक पूरा गर्नुभयो । त्यसपछि पदयात्रा र भ्रमणप्रतिको विचार नै परिवर्तन भएको छ ।  उहाँले पहिलो पदयात्राको अनुभव सुनाउँदै भन्नुभयो, “पहाड चढ्नु मात्रै होइन, यात्राका क्रममा देखिने जनजीवनले थुप्रै जीवन उपयोगी कुरा सिक्न र देख्न पाइँदो रहेछ ।” विराटनगरकी प्रज्ञा दाहाल नेपालको भौगोलिकस्थिति प्रत्यक्ष हेर्न रुचाउनुहुन्छ । सम्भव भएसम्म मुलुकका पर्यटकीय गन्तव्य घुम्ने योजना उहाँको छ । बैंकका जागिरे दाहालले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने हुँदा स्वदेश घुमफिरलाई पहिलो रोजाइमा राखेको बताउनुभयो । “आफ्नो देशको भूगोल, कला संस्कृति र सभ्यता बुझ्न पनि पदयात्रा जरुरी छ”, उहाँले भन्नुभयो, “हामीले घुम्दा स्थानीय समुदायको जीविकोपार्जनमा टेवा पुग्छ । अर्थतन्त्रमा सुधार आउँछ ।” बानेश्वरका विमल भट्टराई प्रत्येक वर्ष छोराछोरीसहित पदयात्रामा निस्कनुहुन्छ । उहाँले आफ्ना दुई छोरीलाई आन्तरिक पर्यटनको महत्त्व बुझाउन र संस्कृति सिकाउन यात्रामा लैजाने गरेको बताउनुभयो । बुवाको साथमा पदयात्रामा निस्कनुभएकी  सुविमा भट्टराईले यात्राका क्रममा देखेका र भोगका अनुभूति डायरीमा टिपेर राख्नुभयो । कक्षा १२ मा अध्ययनरत उहाँले पछि त्यही डायरीमा आधारित किताब निकाल्ने सोच बनाउनुभएको छ ।  किताबमा हिमाल र पहाडको बारेमा जति पढिएको हुन्छ, त्यसको वास्तविक अनुभूति गर्न यात्रा नै जरुरी हुने उहाँको अनुभव छ । मर्दी ट्रेकमा जुकाले हातमा टोकेको क्षण उहाँको लागि अद्भूत बन्यो ।  यसअघि उहाँले जुका भन्ने सुन्नुभएको थियो, तर कसरी टोक्छ र टोकेपछि के हुन्छ  थाहा थिएन । भट्टराईका अनुसार प्रकृतिको प्रत्यक्ष महसुस गर्न कोठाबाहिर हिँड्नैपर्छ । “कोठैमा बसेर मोबाइल हेरेर कहाँ यस्तो जुकाको जीवन नियाल्न पाइन्थ्यो र ”, उहाँ भन्नुहुन्छ, “मैले ट्रेकिङलाई सिक्ने र अनुभव गर्ने खुला विद्यालय मान्छु ।”  तिहारको अवसर पारेर मर्दी हिमाल पदयात्रा गर्नुभएका दाङका अघर दाहालले शरीर चुस्त राख्न र मस्तिष्कलाई ताजा बनाउन पदयात्रा उपयुक्त हुने बताउनुहन्छ । घरको वरिपरि हिँड्डुल गर्दा मोटरसाइकलको सहायता लिने उहाँले ३ दिनमा ४ हजार ५ सय उचाइमा रहेको मर्दी हिमाल आधारशिविर पुग्ने आँट गर्नुभयो । सबैले पहाड चढ्न सक्दैनस् भन्दै होच्याउँथे । त्यसैले उहाँमा थोरै इख थियो । पहाड चढेरै छोड्छु भन्ने अठोट थियो । तराईमा हुर्किनुभएका उहाँको परिवारका कुनै सदस्य हालसम्म हिमाली भेगमा पदयात्राका लागि जानुभएको छैन । दाहाल भन्नुहुन्छ, “मैले आँट गरेँ र सफल भएँ । पदयात्राले लक्ष्य प्राप्ति गर्न धैर्य गर्न सिकाउने रहेछ ।”  मर्दीका होटल व्यवसायी माया गुरुङ पछिल्लो समय आन्तरिक पर्यटककै भरमा व्यवसाय धानिएको बताउनुहुन्छ । “नेपालीहरु परिवारसहित घुम्ने संस्कृतिको सुरुवात भएको छ”, उहाँले भन्नुभयो, “नेपालीलाई सत्कार गर्न सजिलो पनि हुन्छ ।”  १२ वर्षदेखि मर्दी हिमाल क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका मर्दी हिमाल हाइ क्याम्पका अध्यक्ष राजकुमार तामाङका अनुसार आन्तरिक पर्यटक वृद्धि हुनुले पर्यटनमा दीर्घकालीन स्थायित्वको सम्भावना हुन्छ ।  मर्दी हिमाल पदयात्राका लागि ७४ वटा होटल सञ्चालित छन् । विदेशी र नेपाली पर्यटकहरु नजिकै माछापुच्छ्रे हिमाल, मर्दी, अन्नपूर्ण हिमश्रृङ्खलालगायत दृश्य एकैसाथ हेर्न मर्दी पदयात्रामा आउने गर्छन् ।  नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अक्टोबरमा कूल १ लाख २४ हजार ३ सय ९३ विदेशी पर्यटक भित्रिएका छन् । अघिल्लो वर्षको तुलनामा यसवर्ष सोही अवधिमा छ दशमलव चार प्रतिशतले वृद्धि भएको हो । तुलनात्मक रुपमा आन्तरिक पर्यटकको आर्कषण पनि लोभ लाग्दो रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले पछिल्ल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्नु स्वभाविक रहेको बताउनुभयो ।  घुम्ने सँस्कृतिको विकास भएको र मान्छेले आयआर्जन गर्न थालेकाले खर्च गर्न थालेको उहाँले बताउनुभयो । आन्तरिक पर्यटक वृद्धि हुँदा प्रादेशिक अर्थतन्त्रमा टेवा पुग्ने तर राष्ट्रिय अर्थतन्त्र उकास्न चाहीँ विदेशी पर्यटक नै मूलस्रोत रहेको अध्यक्ष पाण्डेको बुझाइ छ । 

कालीकोट:   जिल्लाको शुभकालिका गाउँकांपालिका–४ स्थित रारा गाउँमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बिहान ८ बजे पोल चढ्ने क्रममा करेन्ट लागेर २६ वर्षीया वीरेन्द्र चौलागाईको मृत्यु भएको जानकारी दिनुभयो ।  चौलागाईं विद्युतसम्बन्धी सामान्य काम गर्दै आएका थिए । घटनाका विषयमा मुचुल्का तयार गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल कालीकोटमा ल्याउन लागिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

काठमाडौं:    पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइएको छ ।  कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु अस्पतालमा आई उहाँप्रति श्रद्धाञ्जलि प्रकट गर्नुहुने कार्यक्रम छ । अहिले सानो गौचरणमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ । सानो गौचरणमा श्रद्धाञ्जलिपछि पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिनेछ । नेपाल सरकारले राजकीय  सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ ।  नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहनुभएका ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्रद्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।      राजनीति क्षेत्रमा देखिएका विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आउनुभएका उहाँ संविधान र कानुनका ज्ञाता हुनुहुन्थ्यो ।  विसं २०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उहाँ प्रतिनिधिसभाको सभामुख बन्नुभएको थियो ।  नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उहाँको उल्लेखनीय योगदान छ ।

बागलुङ:     ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा भएको निःशुल्क आँखा शिविरबाट १ हजार ५५ जनाले सेवा लिएका छन् ।  शनिबारदेखि सुरु भएको शिविरबाट जिल्लाको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका नागरिकले सेवा लिएका हुन् ।  ढोरपाटन नगरपालिका र लायन्स क्लब अफ ढोरपाटनको सहकार्यमा भएको शिविरमा आँखाको चेकजाँचसँगै उपचार र मोतियाविन्दुको शल्यक्रियासमेत गरिएको छ ।  शिविरको पहिलो दिन ५ सय ८१ जना र दोस्रो दिन ४ सय ७४ जना नागरिकले सेवा लिएको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेले जानकारी दिनुभयो । २ दिनमा ५४ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको उहाँको भनाइ छ । शिविरबाट थप १५ जनाको आँखाको शल्यक्रिया गर्न सिफारिस गरेको आँखा रोग विशेषज्ञ विनम लामिछानेले बताउनुभयो ।  शिविरमा नेपाल नेत्र ज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा, धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोग रहेको थियो ।  ताकम फाउन्डेसन नेदरल्याण्ड्सको विशेष सहयोग बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, नेपाल रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङ, ढोरपाटन उद्योग वाणिज्य सङ्घ, बुर्तिबाङ राइजिङ युवा क्लबले प्राविधिक सहयोग गरेका थिए । गत बिहीबार तमानखोला गाउँपालिकामा पनि निःशुल्क आँखा शिविर सञ्चालन भएको थियो । उक्त शिविरबाट ८ सय जनाले सेवा लिएका थिए ।

काठमाडौं:   सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।  आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टी गर्ने र उहाँको निधनको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।  “पूर्वसभामुख ढुङ्गानाको सम्मानमा आज सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ”, प्रवक्ता गुरुङले भन्नुभयो, “राजकीय सम्मान व्यवस्थापनको जिम्मेवारी गृहमन्त्रालयलाई दिइएको छ ।”   प्रवक्ता गुरुङले पूर्वसभामुख ढुङ्गानाले नेपालको संसदीय प्रणालीलाई व्यवस्थित बनाउन खेल्नुभएको भूमिकाको बैठकले कदर गरेको उल्लेख गर्दै उहाँको निष्ठा र आदर्शलाई आत्मसम्मान गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । बैठकले ढुङ्गानाको निधनप्रति गहिरो दुःख शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो ।  मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो । उहाँको आज अन्त्येष्टि गरिने जनाइएको छ ।