चितवन: मनकामना केबलकारको सेवा २ दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने जानकारी दिनुभयो । टावरको मर्मत सम्भारका लागि २ दिन केबलकार सेवा बन्द गर्न लागिएको भन्दै आगामी पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरिने नायब प्रबन्धक शेरचनले बताउनुभयो । सो अवधिभर ‘वटम स्टेशन’स्थित रेष्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको प्रवेशद्वार वटम स्टेशन चितवनको इच्छकामना गाउँपालिका–४ चेरेसमा पर्दछ ।
काठमाडौं: जारी नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा काठमाडौँ गुर्खाजले विराटनगर किङ्ग्सलाई एक विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगरले दिएको एक सय १८ रनको लक्ष्य काठमाडौँले १८ दशमलव एक ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो । काठमाडौँका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । उनले ३४ बलमा दुई छक्का र दुई चौकाको मद्दतले ३९ रन बनाएका हुन् । शङ्कर रानाले अविजित रहँदै १६, रासिद खानले १४, गेर्हार्ड इरास्मसले १२, दिपेश कँडेलले अविजित ११ र माइकल लेविट १० रनको योगदान दिए । यस्तै, काठमाडौँको लागि शाहब आलमले दुई रन जोड्दा स्टीफन एस्किनाजी, भीम सार्की र डेन डउथवेटले समान एकरएक रन बनाए । काठमाडौँले अतिरिक्त १३ रन प्राप्त गर्यो । बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट हात पारे । यस्तै, क्रिस सोल, बसिर अहमद र अनिल खरेलले समान दुईरदुई विकेट हात पारे । त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन बनाएको थियो । विराटनगरको लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । उनले २१ बलमा एक छक्का र एक चौकाप्रहार गर्दै २५ रन बनाएका हुन् । यस्तै, दिपक बोहराले २०, स्कट एडवर्ड्सले १५, बसिर अहमदले १३ र निकोलस किर्टनले १२ रन जोडे । विराटनगरका लागि लोकेश बमले ८, सुवास भण्डारीले ६, इस्मत आलमले ५ र क्रिस सोलले एक रनको योगदान दिए । विराटनगरले अतिरिक्त १२ रन प्राप्त गर्यो । बलिङतर्फ काठमाडौँको लागि गेर्हार्ड इरास्मसले सर्वाधिक ३ विकेट हात पारे । यस्तै, दिपेश कँडेलले २ विकेट लिँदा कप्तान करण केसी, शाहब आलम र डेन डउथवेटले एकरएक विकेट लिएका थिए ।
सिरहा: जिल्लाको सुखिपुर नगरपालिका–३ सलमपुरमा ग्याँस चुहावट भई आगलागी हुँदा रु पाँच लाख ५५ हजार बराबरको क्षति भएको छ । शनिबार राति अचानक ग्याँस सिलिण्डर विष्फोट भई आगलागी हुँदा किराना पसलमा रहेका सामान, रिचार्ज कार्ड, नगदसहित रु पाँच लाख ५५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय सुलिन्दर दासको एक तले पक्की घरमा भरत साहले सटर भाडामा लिई किराना पसल र प्रिमा ग्यास डिलर सञ्चालन गर्दै आएका थिए । साहले पसल बन्द गरी घर गएको बेलामा ग्यास चुहावट भई अचानक आगलागी हुँदा छ थान ग्यास विष्फोट हुनुका साथै साहको किराना पसल र सोही घरको अर्को सटरमा अनिलकुमार दासको किराना पसलमा पनि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासमानले जानकारी दिनुभयो । भरत साहको डिलरमा रहेको छ थान ग्यास, सहित किराना सामग्री, एनसेल र एनटिसीको रु दुई लाख रिचार्ज कार्ड, नगद रु पचास हजार गरी रु पाँच लाख ५५ हजार मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक पासमानले बताउनुभयो । उहाँका अनुसार अनिलकुमार दासको किराना पसलमा आगलागी हुँदा चामल, गँहु, खाने तेललगायत दुई लाख २३ हजार बराबरको क्षति किराना सामग्री क्षति भएको अनुमान गरिएको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खटिएको प्रहरी टोली, गोलबजार नगरपालिकाको पानी दमकल र स्थानीयको सहयोगमा शनिबार राति १० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको बताउँदै मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक पासमानले जानकारी दिनुभयो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भक्तपुर: मोटरसाइकलले ठक्कर दिँदा भक्तपुरमा १ जना पैदलयात्रीको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक जोरपाटीमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलले नलिञ्चोकमा आज बिहान पैदलयात्रीलाई ठक्कर दिएको हो । दुर्घटनामा रामेछाप दोरम्वा गाउँंपालिका–४ घर भई हाल नलिञ्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो । मोटरसाइकल चालक काभ्रेको बनेपा नगरपालिका–६ बस्ने ४४ वर्षीय जीतेन्द्र श्रेष्ठलाई पक्राउ गरी सवारीसाधनसहित प्रहरी वृत जगातीमा थप अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले काठमाडौँ गुर्खाज सामु जितका लागि १ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर १ सय १७ रन बनाएको हो । विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । उनले २१ बलमा १ छक्का र १ चौकाप्रहार गर्दै २५ रन बनाएका हुन् । दीपक बोहराले २०, स्कट एडवर्ड्सले १५, बसिर अहमदले १३ र निकोलस किर्टनले १२ रन जोडे । विराटनगरका लागि लोकेश बमले ८, सुवास भण्डारीले छ, इस्मत आलमले ५ र क्रिस सोलले १ रनको योगदान दिए । यो खेलमा विराटनगरले अतिरिक्त १२ रन प्राप्त गरेको छ । बलिङतर्फ काठमाडौँका लागि गेरहार्ड इरास्मसले सर्वाधिक तीन विकेट हात पारे । यस्तै, दिपेश कँडेलले २ विकेट लिँदा कप्तान करण केसी, शाहब आलम र डेन डउथवेटले १÷१ विकेट लिए । अहिले काठमाडौँले जवाफी ब्याटिङ गरिरहेको छ ।
काठमाडौं: अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेकोे छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । गत शुक्रबारको तुलानामा आज प्रतितोला सुनको मूल्य रू १ हजार २ सयले घटेको हो । शुक्रबार प्रतितोला रू १ लाख ५३ हजारमा कारोबार भएको सुन आज बजार खुलेसँगै रू १ लाख ५० हजार ८ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य प्रतितोला रू २० घटेको छ । शुक्रबार प्रतितोला रू १ हजार ८ सय ६० मा कारोबार भएको चाँदी आज रू १ हजार ८ सय ४० मा किनबेच भइरहेको छ ।
बागलुङ: बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा ५ हजार कुखुरा पालेर यहाँका १ उद्यमीले मासिक रु १ लाख ५० हजार बचत गर्र्दै आउनुभएको छ । स्थानीय ओमराज शर्माले सञ्चालन गर्नुभएको कुखुरा फार्मबाट दैनिक पाँच हजार अण्डाको बजारीकरण भइरहेको छ । १२ बर्ष कतार बसेर फर्कनुभएका शर्माले कुखुरापालनमा आम्दानी र जोखिम बराबर रहेको बताउनुभयो । “३ हजार कुखुरा पाल्दै आएको थिएँ, हाल थप दुई हजारले अण्डा दिन सुरु गरेका छन्, दैनिक पाँच हजार अण्डा बजार बेच्ने गरेको छु”, उद्यमी शर्माले भन्नुभयो । १ करोड ५० लाख लागतमा फार्म स्थापना गरी सञ्चालनमा ल्याएको बताउँदै उहाँले अण्डाको बजारीकरणका लागि बागलुङ बजारमा डिपो, एउटा पिकअप जिप र चार जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ । फार्मको कमाइबाट आफू सन्तुष्ट रहेको बताउँदै अहिले कर्मचारीलाई तलब खर्च कटाए मासिक रु १ लाख ५० हजार बचत हुने गरेको उद्यमी शर्माले बताउनुभयो । अण्डा बिक्रीका लागि बजार अभाव नभएको बताउँदै बाहिरबाट आउने अण्डाका कारण मूल्य भने अस्थिर हुने गरेको उहाँले बताउनुभयो । किसानलाई स्थानीय सरकारले प्राविधिक सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कुखुरापालनभन्दा गाईबाख्रा पाल्न सहज हुने उहाँको अनुभव छ । त्यसैले अब उहाँ व्यावसायिक रूपमा गाई र बाख्रापालनको योजना कार्यान्वयनमा हुनुहुन्छ ।
दाङ: यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्भने केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् । घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत रु ५ देखि ८ सय र मुढा बनाएर मासिक रु ४ देखि ५ हजारसम्म आम्दानी गर्ने गरेका छन् । उनीहरूले माछामार्ने जाल, ढकी, खेलौनालगायत सामग्री बनाउने गरेका छन् । घरलु तथा साना उद्योग कार्यालयबाट गलैँचा बुन्न ४५ दिने तालिम लिएका बन्दीले तयार पारेका गलैँचा उनीहरुलाई भेट्न आउने आफन्ती तथा अन्यले खरिद गर्ने गरेका छन् । घरेलुले पनि बिक्रीको व्यवस्था गरेको छ । साथै उक्त कार्यालयले सीप सिक्न चाहनेलाई तालिमको व्यवस्था पनि गर्दै आएको छ । “उत्पादित सामग्रीको किनबेचको व्यवस्था यहीँबाट मिलाइन्छ, भेट्न आउने आफन्त तथा अन्यले किन्ने गरेका छन्”, कार्यालय प्रमुख राठौरले भन्नुभयो । हरेक आइतबार, मङ्गलबार र बिहीबार कारागार बाहिर ‘स्टल’ नै राखेर बिक्रीको व्यवस्था मिलाइएको छ । १ सय जना क्षमताको कारागारमा ४ सय १५ जना बन्दी छन् ।
मकवानपुर: बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भावी पुस्ताका निम्ति मुलुकका मौलिक संस्कृति र परम्पराको संरक्षणमा जोड दिनुभएको छ । धान्य पूर्णिमा, उधौली पर्व, यमरीपुन्ही एवं ज्यापु दिवसका अवसरमा आज उहाँले दिनुभएको शुभकामना सन्देशमा उक्त कुरामा जोड दिइएको छ । चाडपर्व र मौलिक परम्परा देशका अमूल्य निधि भएकाले तिनको संरक्षण गर्नुपर्ने बताउँदै उहाँले सन्देशमा “हाम्रो सामाजिक सद्भाव, मेलमिलाप तथा गौरवपूर्ण मौलिक संस्कार र परम्परा सुखी जीवनका आधार हुन्”, भन्नुभएको छ ।

