गोरखा:   गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।  पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...

विराटनगर:    राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाद्वारा लिखित ‘मिथिला मिथक’ पुस्तकको मुख्यमन्त्री कार्की र कानुनमन्त्री भण्डारीले संयुक्त रुपमा विमोचन गर्नुभयो ।  पत्रकारितासँगै पुस्तकका माध्यमबाट समाज परिवर्तनमा लेखक झाले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो । 

तनहुँ:    जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ । बन्दीपुर भ्रमण वर्ष सफल पारी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पालिकाले अभियान सञ्चालन गरेको हो ।      गाउँपालिकाको नेतृत्वमा काठमाडौँमा विभिन्न सङ्घसंस्था, प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट गरी भ्रमण वर्ष सफल बनाउन छलफल गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द थापाले बताउनुभयो ।  पालिकाका अध्यक्ष थापाको नेतृत्वमा उपाध्यक्ष पञ्चमाया गुरुङ, पर्यटन शाखा प्रमुख सुरज भट्टराई, बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैश गुरुङ, राजु बानियाँलगायत प्रतिनिधिको टोली काठमाडौँ पुगेको उहाँले उल्लेख गर्नुभयो ।      काठमाडौँमा विभिन्न तहका व्यक्ति, सङ्घसंस्थाका प्रतिनिधिलगायत व्यत्तिसँग अन्तरक्रिया गर्नुका साथै भ्रमण वर्षको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न सहयोगका लागि अनुरोध गरिएको अध्यक्ष थापाले बताउनुभयो ।         थापाका अनुसार बन्दीपुरलाई देश तथा विदेशमा परिचित गराउन उक्त वर्षभरि यहाँ पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत देशका मुख्य सहरहरूमा पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने उहाँले जानकारी दिनुभयो ।      पर्यटनलाई आम्दानीको स्रोत बनाएर स्थानीयको जीवनस्तर उकास्न पनि यो कार्यक्रम प्रभावकारी हुने भन्दै यसमा सबैको सहयोग आवश्यक पर्नेमा अध्यक्ष थापाले जोड दिनुभयो । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रूपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षित बनाउँदै पौराणिकता झल्किने कार्यक्रम सञ्चालन हुनेछन् ।”      गण्डकी प्रदेशको पोखरापछि प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने योजना रहेको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइनलगायत सहासिक खेलहरूको सम्भाव्यता अध्ययन गरिनेछ ।”      थापाले गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यहरूमा क्रमशः आउटडोर जिमको विस्तार गरिने तथा पर्यटन क्षेत्रहरूमा रहेका प्राकृतिक शिलाहरूलाई थप आकर्षक बनाइने लक्ष्य राखिएको उल्लेख गर्नुभयो ।       उहाँले भन्नुभयो, “गाउँपालिकाभित्र रहेका पौराणिक चौतारा ठाँटी एवं बगैँचाहरूको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन हुने किसिमका कार्यक्रम सञ्चालन गरिनेछ । बन्दीपुरको २५ पोखरी ताल पार्कको निर्माण चालु आर्थिक वर्ष सुरुवात गर्नुका साथै वृहत् झप्री फाँट जलाशय र देवी थुम्का जलाशय निर्माणको सम्भाव्यता अध्ययन अगाडी बढाउने छौँ ।”      अध्यक्ष थापाले पालिकाले बन्दीपुर आउने विदेशी पर्यटकको सहजताका लागि यहाँका गन्तव्यस्थलबारे जानकारी दिने उद्देश्यले नौ भाषामा जानकारीमूलक सामग्री तयार गरिसकिएको बताउनुभयो । गाउँपालिकाले नेपाली, चिनियाँ, अङ्ग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, स्पेनिस, सिन्हला र थाइ भाषामा बन्दीपुरका बारेमा जानकारीमूलक सामग्री तयार गरिएको उहाँले जानकारी दिनुभयो ।        खड्गदेवी, थानीमाई र महालक्ष्मी मन्दिर, सिद्धगुफा, मणिमुकुन्द सेन पैदलयात्रा ९मिनी ग्रेटवाल०, तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रूपमा सूचीकृत गरेको छ ।       बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्विटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस, अर्जेन्टिनालगायत मुलुकबाट पर्यटक आउने गरेका बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिनुभयो ।      भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरू यहाँ आउने पर्यटकहरूका लागि आकर्षणको केन्द्रबिन्दु रहेका उहाँले बताउनुभयो ।       सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किमी उकालो यात्रा हिडेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरालगायत प्राकृतिक सुन्दरता अवलोकन गर्न सकिन्छ ।  प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण,  माछापुच्छ्रे, धौलागिरिलगायत हिमश्रृङ्खला देखिने भएकाले यहाँ बाह्य पर्यटक आउने गरेका समितिका अध्यक्ष प्रधानले उल्लेख गर्नुभयो ।

लुम्बिनी:    गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा, लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने बताउनुभएको छ ।  उहाँले शान्ति सुरक्षा खलबलिने वित्तिकै संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक हक गुम्ने खतरा रहेकाले शान्तिसुरक्षा खलबलिने गरी नागरिकका अधिकार गुम्ने गतिविधि स्वीकार्य नहुने बताउनुभयो ।  गृह मन्त्रालय तथा लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आज रुपन्देहीमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले संविधानमा भएको मौलिक हकको सुरक्षा गर्नु र नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार लोकतन्त्रको पूर्वसर्त शान्ति सुरक्षा हो भन्नुभयो । गृहमन्त्री लेखकले लुम्बिनी प्रदेश सांस्कृतिक, धार्मिक विविधता मात्र नभएर विश्वभरिनै शान्तिको ज्योति प्रवाह गर्ने बुद्धधर्मको महत्वपूर्ण केन्द्र रहेकाले यहाँको शान्तिसुरक्षा भरपर्दो र चुस्त हुनुपर्ने बताउनुभयो ।  उहाँले लुम्बिनी प्रदेशमा राजस्व चुहावट, तस्करी, सीमापार अपराध, सवारी दुर्घटना, लागुऔषध, आत्महत्या, साइबर अपराध जस्ता आपराधिक क्रियाकलाप सुरक्षा चुनौतीका रुपमा रहेको उल्लेख गर्दै त्यस्ता गतिविधिलाई पूर्णरूपमा नियन्त्रण गर्न दिर्नेशन दिनुभयो ।   “कानुनको सीमा भित्र रहेर लोकतन्त्रमा आलोचना गर्न पाइन्छ”, उहाँले भन्नुभयो । आर्थिक, वित्तीय अपराधका घटना बढेकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न प्रभावकारी ढङ्गले काम गर्न उहाँले सुरक्षा निकायलाई निर्देशन दिनुभयो । “मुलुकमा कानुनले शासन गर्ने हो, भिडले होइन”, गृहमन्त्री लेखकले भन्नुभयो, “आपराधिक घटनालाई प्रभावित पार्न सरकारी कार्यालयमा भिड जम्मा गरेर प्रभावित पार्ने प्रयास भइरहेका छन् तिनलाई नियन्त्रण गर्न आवश्यक छ ।”  उहाँले संविधानको सुरक्षा, सुदृढीकरण र कार्यान्वयन अहिलेको सरकारको राष्ट्रिय एजेण्डा भएको बताउनुभयो ।  “वर्तमान संविधानलाई असफल हुन दिने छुट हामीलाई छैन”, उहाँले भन्नुभयो, “अबको एजेण्डा संविधानको सही कार्यान्वयनसहित दीगो शान्ति, सुशासन, विकास र समृद्धि हो, शान्ति, सुशासन, विकास र समृद्धिका लागि दिगो शान्ति जरूरी छ ।” पूर्ण प्रेस स्वतन्त्रतामा अवरोध हुन नहुने र प्रेस स्वतन्त्रतामाथि कतैबाट कुनै पनि प्रकारले खण्डित गरिएमा त्यो अवरोध हटाउनुपर्ने गृहमन्त्री लेखकले बताउनुभयो ।  “प्रेस स्वतन्त्रता नागरिकको सूचनाको अधिकारसँग सम्बन्धित छ”, उहाँले भन्नुभयो,ख“निर्वाध रूपमा नागरिकले ससूचित हुन पाउने अधिकार पाउनुपर्छ । ”वर्तमान २ दलको समिकरणको सरकार मुलुकमा सुशासन दिन, भ्रष्टाचार नियन्त्रण गर्न र विधिको शासन स्थापित गर्न बनेको गृहमन्त्री लेखकको भनाइ थियो । उहाँले भन्नुभयो, “कांग्रेस–एमाले लगायतका दल मिलेर सरकार बनाएका छौँ, २०८४ सालको निर्वाचनसम्म यही समिकरण रहन्छ, तलमाथि हुँदैन ।” कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको एकल र साझा सुचीका अधिकार कार्यान्वयन गर्न सङ्घीय सरकारले सघाउनुपर्ने बताउनुभयो ।  प्रदेशमा प्रहरी समायोजन नहुँदा शान्ति सुरक्षा कायम गर्नेदेखि प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन समेत प्रदेश सरकारलाई समस्या भएको उहाँले बताउनुभयो ।  उहाँले तत्काल प्रदेशमा प्रहरी समायोजनदेखि प्रदेश अनुसन्धान ब्यूरो स्थापना गर्नेतर्फ सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।  मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सङ्घीय सरकारले साझा र एकल सूचीका अधिकारलाई प्रदेशमा कार्यान्वयन गर्न नपठाउँदा समस्या परेको बताउनुभयो ।  “सङ्घीय निजामती सेवा ऐन नआउँदा प्रदेशमा काम गर्न जटिलता छ । हामीले बनाएको ऐनसमेत कार्यान्वयन गर्न खोज्दा समस्या देखियो”, उहाँले भन्नुभयो, “सङ्घीय शिक्षा ऐनसमेत नआउँदा प्रदेशले काम गर्न पाएन ।” बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवाल, गृहसचिव गोकर्णमणि दुवाडी, गृह मन्त्रालय अन्तर्गतका तीनवटै सुरक्षा निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारी, प्रदेशका गृहमन्त्रालय अन्तर्गतका कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो । 

सर्लाही:    यहाँस्थित बागमती नगरपालिकामा जन्मोत्सव र विवाहोत्सवमा खर्च हुने रकम विद्यालय विकास कोषमा जम्मा हुन थालेको छ ।  बागमती नगरपालिका–२ धरहरास्थित जनबाल कल्याण माध्यामिक विद्यालयको विकासका लागि स्थानीय, समाजिक व्यक्तित्व, पूर्वविद्यार्थीलगायतले विभिन्न अवसरमा हुने खर्च कटाएर विद्यालय विकास कोषमा जम्मा गर्न सुरु गरेका हुन् ।  विद्यालयले गत मङ्सिर १ गतेबाट ‘बृहत् श्री जनबाल कल्याण माध्यमिक विद्यालय विकास अक्षयकोष’ स्थापना गरेको हो । १ महिनामा अक्षयकोषमा रु एक लाख ३० हजार ५ सय ७ सङ्कलन  भएको प्रधानाध्यापक प्रकाशबहादुर जिम्बाले जानकारी दिनुभयो ।  आन्तरिक आयस्रोतको राम्रो व्यवस्था नभएकाले समाजिक सहकार्यमा विद्यालयको शैक्षिक सुधार प्रयास गरिएको उहाँको भनाइ छ । यसरी सङ्कलित रकमबाट निर्माण हुने बृहत् कोषले विद्यालयको विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो ।  “बृहत् राशिको कोष बनाउने लक्ष्य छ, कोषको मूल रकम यथावत रहनेगरी ब्याजबाट विद्यालयले बर्सेनि विभिन्न विद्यालय विकास तथा शैक्षिक गुणस्तर सुधारका काम गर्ने छ”, प्रधानाध्यापक जिम्बाले भन्नुभयो ।  यसले एकातर्फ विद्यालयलाई आर्थिक सहयोग बढ्ने र अर्कातर्फ अभिभावक तथा समाजको प्रत्यक्ष लगानीसँगै चासो बढ्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष टङ्कबहादुर बोहराले बताउनुभयो ।  विद्यालयको सिकाइ सुधारमा पनि क्रमिक सुधार हुँदै आएको उहाँले दाबी गर्नुभयो । “हामीले नगरको प्रत्यक्ष लगानी र जनप्रतिनिधिको उपस्थितिमा विद्यालयको भौतिक र शैक्षिक सुधारमा विषेश ध्यान दिएका छौँ, यसले विस्तारै परिणाम दिन थालेको छ । यसको पूरा परिणाम आउन कम्तीमा १० वर्ष लाग्छ । तर सुधारको छनक तपाईँ अहिले पनि देख्न सक्नुहुन्छ”, अध्यक्ष बोहराले भन्नुभयो ।  कक्षा १० सम्म अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा बालबालिकाको सङ्ख्या दुई गुणाले बढेको छ । मुस्किलले तीन सय छात्रछात्रा भर्ना हुनेमा अहिले छ सय १० विद्यार्थी भर्ना छन् ।  अभिभावकको माग तथा बालबालिकाको चाहनाअनुसार विद्यालयले अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन गराउने गरेको छ ।अङ्ग्रेजी माध्यमका कारण अभिभावक आकर्षित भएका विद्यालयका शिक्षक निर्मल तिमल्सेनाले बताउनुभयो ।  विद्यालयले बालबालिकालाई नैतिक आचरणसहितको व्यवहारिक शिक्षामा जोड्न विभिन्न सीपमूलक तालिम पनि सञ्चालन गर्ने गरेको छ । सिमेन्टको गमला उत्पादनलगायत सीपमा बालबालिका निपूर्ण रहेका बागमती –३ का अभिभावक चत्तुरमान वाइबाले बताउनुभयो ।   गाउँको सामुदायिक भनेर हेपिएको विद्यालयले समय अनुकूल पठनपाठन गराउन थालेपछि आफूहरू उत्साहित भएको उहाँ बताउनुहुन्छ । यस विद्यालयले केही समय पहिलामात्र स्थानीय अभिभावक, समाजसेवीको रु ४ लाख ४० हजारबराबरको सहयोगमा विद्यालयमा ४ थान डिजिटल बोर्डको प्रयोग सुरु गरिसकेको छ ।  यसले समेत बालबालिकामा पठनपाठनप्रति उत्साह देखिएको प्रधानाध्यापक जिम्बाको अनुभव छ । शून्य आन्तरिक आम्दानी रहेको कारण विद्यालयले सामान्य योजनासमेत सञ्चालन गर्न नसकेको अवस्थामा यो बृहत् अक्षयकोष कार्यक्रम ठूलो भरोसा बन्ने अपेक्षा विद्यालयको छ ।

म्याग्दी:     म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ की हिमा छन्त्यालले यस वर्ष चारमुरी कोदो बेचेर रु १७ हजार आम्दानी गर्नुभयो । छन्त्यालले गत असारमा रु ४ हजार खर्च गरेर बाँझो बारीमा कोदोखेती गर्नुभएको थियो ।  वर्षौंदेखि बाँझिएको बारीमा खनजोत, मल र खेतालाका लागि असारमा रु ४ हजार खर्च गर्नुभएकी छन्त्यालले रु ३० हजार बराबरको ७ मुरी कोदो उत्पादन भएको बताउनुभयो । उत्पादन भएको कोदोमध्ये ४ मुरी बिक्री गरेर ३ मुरी घरायसी प्रयोजनका लागि राख्नुभएकी उहाँले बाँझो रहेको आफ्नो सबै बारीमा अर्को वर्षदेखि कोदोखेती गर्ने बताउनुभयो । छन्त्याल मात्रै होइन पछिल्लो समय म्याग्दीका किसान कोदोखेतीतर्फ आकर्षित हुँदै गएका छन् । माग बढेसँगै आम्दानी पनि वृद्धि हुँदै गएपछि ग्रामीण भेगका महिला किसान कोदोखेतीतर्फ आकर्षित भएका हुन् ।  राम्रो मूल्य पाउने र उत्पादन गर्न पनि सजिलो भएकाले कोदोखेतीतर्फ आकर्षण बढेको जिल्ला कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।ग्रामीण क्षेत्रका पाखो जमिन कोदोखेतीका लागि निकै उपयुक्त मानिन्छ ।  कोदोमा मानव स्वास्थ्यका लागि अत्यावश्यक पौष्टिकतत्व भरपुर मात्रामा पाइन्छ । त्यसकारण बेनी, पोखरा, काठमाडौं लगायतका सहरी क्षेत्रमा कोदोको माग बढेको मङ्गला गाउँपालिका–४ की गौमती विकले बताउनुभयो । कोदोखेती विस्तार र संरक्षणमा सम्बन्धित स्थानीय तहले नै आवश्यक सहयोग तथा बजारीकरणको प्रबन्ध मिलाउन थालेपछि कोदोखेतीतर्फ आकर्षण बढ्दै गएको कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । गाउँका महिला कोदोखेतीतर्फ आकर्षित भएपछि स्थानीय तहहरुले पनि कोदोखेतीतर्फ प्रोत्साहित गर्न सहुलियत र अनुदानका विभिन्न कार्यक्रम विस्तार गर्न थालेका छन् ।       सहरबजारबाट कोदोको माग आउन थालेपछि वर्षौंदेखि बाँझो रहेको जग्गामा कोदोखेती विस्तारका लागि किसानलाई सहयोग गर्ने गरेको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगरले बताउनुभयो । “कोदो घरेलु मदिरा उत्पादन र सहरबजारमा खानाका लागि प्रयोग हुँदै आएको छ, पछिल्लो समय सहरबजारबाट कोदोको माग अत्यधिक हुन थालेपछि यहाँका किसानले भनेको मूल्य पाएका छन्”, उपाध्यक्ष मगरले भन्नुभयो, “गाउँपालिकाले पनि कोदोखेतीलाई प्रोत्साहित गरेको छ, कोदोको मदिरालाई ब्राण्डिङगरी बजारीकरणका लागि पनि छलफल भइरहेको छ ।” आफूले उत्पादन गरेको कृषि उपजले बजार पाएपछि यहाँका किसान पनि खुसी भएका मालिका–१ निस्कोटका वडाध्यक्ष टङकप्रसाद पुनले बताउनुभयो । महिलाहरु आम्दानीसँग जोडिएपछि गाउँको आर्थिक अवस्था पनि सबल बन्दै गएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । ३ वर्ष अघिसम्म प्रतिपाथी रु ६० मा पनि बिक्री नहुने कोदो अहिले रु २ सय प्रतिपाथी बिक्री हुन थालेको किसान लक्ष्मी पुनले बताउनुभयो ।  प्रदेश र स्थानीय सरकारले समेत स्थानीय उत्पादनको बजार व्यवस्थापन र व्यावसायिकरणका लागि ठोस् योजना नै बनाएर प्रोत्साहित गर्ने हो भने कोदो म्याग्दीका किसानको राम्रो आम्दानीको स्रोत बन्न सक्ने पश्चिम म्याग्दीको दरबाङ बजारका व्यवसायी अमृत सापकोटाले बताउनुभयो । म्याग्दीका ६ वटै स्थानीय तहमा कोदोको राम्रो उत्पादन हुन्छ । थोरै बीउमासमेत धेरै उत्पादन गर्न सकिने कोदो पाखो जमिनमा लगाउने गरिन्छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा २ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा कोदोखेती हुँदै आएकामा गत वर्षदेखि बाँझो जग्गामा पनि किसानले कोदोखेती विस्तार गर्न थालेका छन् । गाउँगाउँमा सञ्चालित होमस्टे (घरवास) मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । उत्पादित कोदो बिक्री गर्नाका साथै घरेलु मदिरा उत्पादन गर्ने, ढिँडो र रोटी बनाएर खान बजारमा माग बढिरहेको बताइएको छ ।

पोखरा: पोखरा महानगरपालिका वडा नं ६ बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।      साधारणसभाको एक कार्यक्रमका बीच पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि रविरमण तिवारी उद्घाटन गर्नुभएको थियो ।      सहकारी क्षेत्र चलायमान नभएसम्म देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताउँदै उहाँले केही सहकारीमा समस्या भएपनि वित्तीय अनुशासनमा चलिरहेका सहकारीहरूमा बाहिर प्रचार भए जस्तो समस्या नरहेको उल्लेख गर्नुभयो ।      समुदायमा आधारित सहकारीमा तरलता बढी भएकोले सोतर्फ पनि सचेत रहन उहाँले सुझाव दिनुभयो ।       कार्यक्रममा उत्कृष्ट सदस्यहरू कृशु पौडेल, शुसिल गुरुङ, बुद्धिनाथ पाण्डे, भिमबहादुर खड्का, दावा छिरिङ् शेर्पालाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।      त्यस्तै सुनौलो शैक्षिक पुरस्कार अन्र्तगत आधारभुत तहमा शिक्षा समितिको सिफारिसमा सिष्मा गुरुङ र माध्यामिक तहमा ऐश्वर्या अधिकारीलाई नगद तथा प्रमाणपत्रबाट सम्मान तथा पुरस्कृत गरिएको थियो ।       संस्थाका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षता एवम् सचिव सोमबहादुर थापाद्वारा सञ्चालित कार्यक्रममा संस्थाका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक भोजकुमार श्रेष्ठले स्वागत तथा सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो ।      संस्थाका अध्यक्ष सापकोटाले आगामी दिनहरूमा पनि सदस्यहरूको सान्र्दभिक साथ र सहयोग पाउने विश्वास व्यक्त गर्दै सबैको साथ र सहयोगमा यसको महिमा र गरिमालाई उचो बनाउने बताउनुभयो ।      सचिव थापाका अनुुसार हाल संस्थामा एक हजार ९२९ जना शेयर सदस्य एवम् शेयर पुजीँ छ करोड एक लाख रुपैयाँ रहेको छ । संस्थाको कुल वासलत २७ करोड ४५ लाख रुपैयाँ रहेको र संस्थाले १८ करोड ८५ लाख निक्षेप संकलन गरी १८ करोड ३१ लाख ऋण परिचालन गरेको उहाँले जानकारी दिनुुभयो । सहकारीलाई प्रविधिमैत्री बनाउँदै यसको सञ्चालनका लागी आवश्यक नीति तथा कार्यबिधिहरू निर्माण गरि सहकारीका मूल्य र मान्यता अनुरुप सञ्चालन गर्ने उहाँले स्पष्ट पार्नुभयो ।      साधारणसभाले सचिव थापाद्वारा प्रस्तुत सचिवको प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक ईश्वरीप्रसाद पौडेलद्वारा प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परीक्षणको प्रतिवेदन र कोषाध्यक्ष लिला भट्टराईद्वारा प्रस्तुत वार्षिक बजेट प्रस्ताव पारित गरेको छ । कार्यसमिति सदस्य एवम् विनियम उपसमिति संयोजक रामचन्द्र शर्माले संस्थाका विभिन्न विनियम निर्माणका लागि प्रस्ताव प्रस्तुत गर्नुभएकोमा साधारणसभाले सर्वसम्मत पारित गरेको छ ।      उक्त अवसरमा ऋण उप समिति संयोजक जीवनराज सापकोटाले ऋण लगानी र असुलीको बारेमा सदस्यहरूलाई प्रष्ट पार्नुभएको थियो ।           कार्यक्रममा संस्थाका सल्लाहकारहरू डम्बरबहादुर के.सी., गणेशबहादुर भट्टराई, बिष्णुबहादुर गुरुङ, कानुनी सल्लाहकार दामोदर अधिकारी, जिल्ला सहकारी संघका प्रतिनिधि मैना देबी रावतले बोल्नुुभएको थियो । 

म्याग्दी:   मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैचाबाट सुन्तला बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट हटेको छ । बिमका विभिन्न टोलबस्तीमा व्यावसायिक सुन्तलाखेती गरेका किसानलाई अहिले सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ । उत्पादन भएको सुन्तला खरिदका लागि व्यवसायीहरू बगैचामा आउन थालेपछि आफूहरूलाई उत्पादन भएको सुन्तालका लागि बजार र ग्राहक खोज्नुपर्ने झन्झट हटेको बिमको दुलेका स्थानीय किसान कृष्ण शर्माले बताउनुभयो ।  “अहिले काठमाडौँका व्यवसायीले बगैचाबाटै सुन्तला खरिद गरेर लगेका छन्, गाउँका सबैजसो बगानमा सुन्तला खरिदका लागि व्यवसायी आइपुगेका छन्’’, उहाँले भन्नुभयो ।  यहाँका किसानले प्रतिकिलो रु ६५ मा सुन्तला बिक्री गरेका छन् । शर्माले मात्रै यस वर्ष रु दुई लाख बढीको सुन्तला बिक्री गर्नुभएको छ । उहाँका बगानमा एक सय बढी सुन्तलाका बोट छन् ।  गाउँमा मोटरबाटोको सुविधा पुगेपछि स्थानीयलाई सुन्तला बिक्रीका लागि बजार खोज्नुपर्ने बाध्यता हटेको हो । मोटरबाटो पुग्नुअघि स्थानीयले डोकोमा बोकेर छिमेकी गाउँ र दरबाङ बजारसम्म पुर्याएर सुन्तला बिक्री गर्दै आएका थिए । पछिल्ला केही वर्षयता बगानबाट सुन्तला बिक्री हुन थालेपछि यहाँका किसान व्यावसायिक सुन्तलाखेतीमा लागेका छन् । हरेक वर्ष सहरी क्षेत्रबाट व्यवसायी सुन्तला खरिदका लागि पेश्की रकम लिएर गाउँमा पुग्ने गरेका छन् ।  बिमको अर्कला, नराले, ओखलढुङ्गा, दुले, टुनीबोट, नौमाने, भारबाङ, खारलगायत क्षेत्रमा व्यावसायिक रूपमा सुन्तलाखेती विस्तार भइरहेको  छ।सुन्तलाखेतीबाट आम्दानी राम्रो हुन थालेपछि अन्नबाली लगाउनुको साटो सुन्तलाखेती विस्तार गरेको स्थानीय भीमप्रसाद विकले बताउनुभयो ।  “विदेश गएर दुःख गर्नुभन्दा आफ्नै गाउँमा सुन्तला रोप्न सक्योभने त्यसबाट राम्रो आम्दानी गर्न सकिन्छ, उत्पादन भएको सुन्तलाको ग्राहक खोज्नुपर्ने बाध्यता पनि छैन, मैले यसै वर्ष थप नयाँ जग्गामा समेत सुन्तला विस्तार गर्ने योजना बनाएको छु”, उहाँले भन्नुभयो । यस क्षेत्रका किसानले सुन्तलाखेतीबाट रु ५० हजारदेखि आठ लाखसम्म कमाई गरेका छन्भने गाउँमा वार्षिक लाखौँ रुपैयाँ भित्रने गरेको छ । जिल्लामा उत्पादन भएको सुन्तला पोखरा, काठमाडौं, बुटवल, भैरवालगायत ठूला सहरमा खपत हुने गरेको छ ।  व्यावसायिक सुन्तलाखेती भएका अधिकांश बगौचामा खरिदकर्ता आफैँ पुग्न थालेपछि किसानलाई सुन्तलाको बजार अभाव नहुने र ढुवानीलगायत झन्झट पनि हटेको छ । 

म्याग्दी:     मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको टिटीताल पर्यटकका पर्खाइमा छ । सडक यातायातको असुविधा र प्रचारप्रसारको कमीले टिटीताल ओझेलमा परेको हो ।  समुद्री सतहबाट २ हजार ६ सय ७९ मिटर उचाइमा रहेको लाम्चो आकारको तालको धार्मिक, पर्यटकीय र जैविक महत्व छ । टिटीका बासिन्दा धिरेन्द्र विश्वकर्माले मुस्ताङ आउनेमध्ये ५ प्रतिशत पर्यटक पनि टिटीतालमा आउन नसकेका बताउनुभयो ।  “वार्षिक ४ लाखभन्दा बढी पर्यटक भित्रने मुस्ताङ आउनेमध्ये कमै मात्र पर्यटक टिटीतालमा आउँछन्”, उहाँले भन्नुभयो, “टिटीताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सक्ने होभने पर्यटकको बसाइ लम्ब्याउन सकिने थियो ।” दैनिक हजारौं पर्यटक आवतजावत गर्ने बेनी–जोमसोम सडकको लेते र कोखेठाटीबाट ५ किलोमिटरभित्र रहेको टिटीताल सुनसान छ । लेते–कुञ्जो–टिटी–धम्पु–सिर्खुम जोड्ने १० किलोमिटर सडक, घम्पुु र लेतेस्थित कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण हुने होभने पर्यटक आगमन बढ्ने विश्वकर्माले बताउनुभयो ।  हाल बेनी–जोमसोम सडकअन्तर्गत लेते छयो, धम्पु र सिर्खुमबाट झोलुङ्गे पुलमा मोटरसाइकल तार्ने अथवा पैदलयात्रा गरेर टिटीताल घुम्न जाने गरेका छन् ।धवलागिरि र निलगिरि हिमालको बीच भागमा टिटीताल रहेको छ । तालको चारैतिर सल्ला र धुपीका रुखको जङ्गल छन् ।  शान्त वातावरण, विभिन्न प्रजातिका चराको बासस्थान, पृष्ठभूमिको हिमाल र ताललाई एकैपटक अवलोकन गर्न पाउनु टिटीतालको विशेषता हो । टिटी मुस्ताङमा रहेकामध्ये सबैभन्दा ठूलो ताल पनि हो ।  बेनी नगरपालिका–१० पात्लेखेतका सागर परियारले पछिल्लो एक वर्षमा तीनपटक टिटीताल घुम्न पुगेको बताउनुभयो । “बिहान धवलागिरिमा सूर्योदय र साँझमा निलगिरि हिमालमा सूर्यास्त हुँदा देखिने दृश्य मनमोहक हुन्छ”, उहाँले भन्नुभयो, “हाँसको बथान रमाइरहेको तालको एकातर्फबाट निलगिरि र अर्कातर्फबाट धवलागिरि हिमाल देख्न पाइन्छ ।”   अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गरेको अध्ययनअनुसार टिटीताल क्षेत्रमा एक सय ८६ प्रजातिका चराको बासस्थान छ । यो तालमा ‘मालार्ड’ प्रजातिको हाँसको बासस्थान रहेको मुस्ताङ डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले बताउनुभयो ।  उहाँका अनुसार मालार्ड प्रजातिको हाँस नेपालका अन्य ठाउँमा पाइँदैन । त्यसैले टिटीताल जैविक हिसाबले पनि महत्त्वपूर्ण मानिएको वन अधिकृत रानाभाटले बताउनुभयो ।  मानिस र अन्य जनावरको पहुँच नभएको तालको बीच भागमा रहेको थुम्काहरूमा हाँसले गुँड बनाएका छन् । तालको कुनातर्फ रहेको थानमा हरेक वर्षको जनैपूर्णिमाका दिन मेला लाग्ने गर्छ । जनैपूर्णिमाका दिन टिटीतालमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको स्थानीय विकास गौचनले बताउनुभयो । थासाङ गाउँपालिका, गण्डकी प्रदेश सरकार, सङ्घीय सरकारको पर्यटन बोर्ड र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले ताल संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएको थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले बताउनुभयो ।  गाउँपालिका र पर्यटन मन्त्रालयको साझेदारीमा तालको वरपर रेलिङसहितको पदमार्ग, प्रतिक्षालय, सार्वजनिक शौचालय निर्माण भएको छ । टिटीसहित वडा नम्बर २ कोवाङको भूगोलमा पर्ने भुछर्तो र सेकुङताल तथा गुरुसाम्पुक गुुफामा पनि पूर्वाधार निर्माण भएको छ ।  यसअघि तालको पानी निस्कने ठाउँमा बाँध बनाएर क्षेत्रफल बढाइएको थियो । एक्पापले ताल परिसरमा पर्यटक बस्नका लागि फलामको बेञ्च र फोहर व्यवस्थापन गर्ने डस्टविन राखेको छ ।ताल नजिकैको टिटीगाउँमा थकाली र दलित समुदायका २० घरपरिवारको बसोबास छ । पर्यटकको सुविधाका लागि तीनवटा होटल तथा रेष्टुरेष्ट छन् ।  टिटीताल नजिकै तेजोडाडामा रहेको हिमालयन प्याराडाइज होटलका सञ्चालक दीपक गौचनले पाहुनालाई अग्र्यानिक तरकारी र खानाका परिकार खुवाउने गरिएको बताउनुभयो ।  मुस्ताङको सबैभन्दा उर्वर जमिन भएको कुञ्जो र ताक्तुङ गुरुङ समुदायको उद्गम थलो मानिन्छ । कुञ्जोबाट कास्की, लमजुङ, गोरखालगायत जिल्लामा गुरुङ समुुदाय बसाइँसराइ गरेर गएका गौचनले बताउनुभयो ।  टिटीताललाई सिमसार क्षेत्रमा सूचीकृत गर्न, बीच भागमा थुप्रिएको झार हटाउन, छयो र कालोपानीस्थित कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल तथा छयो–कुुञ्जो–ताक्लु–टिटी–धम्पुु–सिर्खुम सडक आयोजनालाई पूर्णता दिन स्थानीयवासीले माग गरेका छन् । साथै कोखेठाटीमा मोटरेबल पुुल निर्माणको पनि माग गरेका छन् ।

पोखरा:   नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीमा नयाँ नेतृत्व चयन भएकाे छ ।   शाखाको १३ औँ साधारण सभा तथा सातौं अधिवेशनबाट ओमप्रकाश गैरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।   इक्यानको सातौं अधिवेशनबाट पदाधिकारीसहित ८ जनाको नयाँ नेतृत्व चयन भएको संघका सचिव सुरेन्द्र बरालले जानकारी दिए ।   अधिवेशनबाट उपाध्यक्षमा धनबहादुर शाही (सन्तोष) पुन: दोहोरिए । यस्तै सचिवमा सुरेन्द्र बराल, कोषाध्यक्षमा देवबहादुर क्षेत्री निर्वाचित भए ।   उपाध्यक्ष बाहेकका पदाधिकारीका लागि सहमति नभएपछि मतदान प्रकृयाबाट नेतृत्व चयन गरिएको उपाध्यक्ष धनबहादुर शाहीले बताए ।   अध्यक्षमा विश्वकल्याण अधिकारीलाई पराजित गदै गैरे निर्वाचित भएका हुन् । सचिवमा गणेश कार्कीलाई पराजित गदैँ बराल निर्वाचित भएका हुन् । भने, कोषाध्यक्षमा रुद्र गिरीलाई पराजित गदैँ क्षेत्री निर्वाचित भए ।   यस्तै सदस्यहरुमा डम्बरबहादुर जिसी, विक्रम बहादुर बस्नेत, राजन पन्थी र टंकराज बराल सर्वसम्वत चयन भए । निर्वतमान अध्यक्ष कार्यसमितिमा स्वत: चयन हुने व्यवस्था अनुसार रमेशकुमार थापासहित ९ सदस्यीस नयाँ समिति बनेको छ ।  निर्वाचित नयाँ समितिको कार्यकाल दुइ वर्षको हुनेछ ।   इक्यानले संघको अधिवेशनका लागि पुष्पराज भट्टराईलाई प्रतिनिधि खटाएको थियो ।   इक्यानका अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इक्यानका पूर्वअध्यक्ष विष्णुहरी पाण्डे, इक्यान उपाध्यक्ष भुवन क्षेत्री, इक्यान कास्कीका पूर्वअध्यक्ष इवेन्द्रराज तिवारी र सल्लाहकार महेश पौडेलले बोलेका थिए । साधारण सभाले सचिवको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गणेशबहादुर कार्कीको आर्थिक प्रतिवेदन पास गरेको छ । संघमा ५० संस्था आवद्ध छन् ।