तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सहयोग गर्न कतार सरकारसँग आग्रह गर्नुभएको छ ।      नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग आज भएको भेटमा उहाँले बालबालिकाको स्वास्थ्योपचारमा केन्द्रित उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माणमा कतार सरकारको सहयोगको अपेक्षा आफूले गरेको बताउनुभयो ।      बालबालिकाको उपचार गर्ने देशको सबैभन्दा ठूलो अस्पतालमा सेवा विस्तार गर्न भवनसहितका संरचना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको छ । यसै सन्दर्भमा स्वास्थ्यमन्त्रीले कतारी सहयोगको अपेक्षा गर्नुभएको हो ।       स्वास्थ्यमन्त्रीको निजी सचिवालयका अनुसार कतारी राजदूतले नेपालसँगको सम्बन्ध विस्तारलाई आफ्नो मुलुकले प्राथमिकतामा राखेको बताउँदै पारस्परिक सहयोगका क्षेत्र बढाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

पोखरा:    गण्डकी विश्वविद्यालयको आयोजनामा भएको दोस्रो कुलपति रनिङशिल्ड फुटबल प्रतियोगिताको उपाधि शहिद स्मृति माध्यमिक विद्यालयले जितेको छ ।  पोखरा रंगशालामा भएको फाइनल खेलमा स्टेप बाई स्टेप माध्यमिक विद्यालयलाई हराउँदै शहिद स्मृति कुलपति रनिङशिल्डको उपाधि जितेको हो । निर्धारित समयमा २–२ मा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।  ट्राइबेकरमा ४–२ ले पराजित गर्दै शहिद स्मृतिले कुलपति रनिङशिल्डको उपाधि जितेको हो । स्टेप बाई स्टेपले सुरुआति ४ पेनाल्टीमा २ गोल मात्र गर्न सक्यो । शहिद स्मृतिले ४ वटै गोल गर्दै उपाधि चिम्न सफल भयो ।  उपाधि जितेसँगै शहिद स्मृति माविले एक लाख रुपैयाँसहित शिल्ड हात पारेको छ । उपविजेता बनेको स्टेप बाइ स्टेपले ५० हजारमा चित्त बुझायो ।  शहिद स्मृति माविका कप्तान केशबहादुर रोकामगर प्लेयर अफ द टुर्नामेन्ट चुनिए । उनले १५ हजार प्राप्त गरे ।  विजेता उपविजेतालाई गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ, उपकुलपति प्राडा नवराज देवकोटासहितले शिल्ड हस्तान्तरण गरेका थिए ।  

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनुपरेको बताउनुभएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको हो भन्नुभयो ।  “हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “ नेकपा एमाले र नेपाली कांग्रेस समाज सुधारको एउटै लक्ष्य बनाएर अघि बढेका छन् । राजाका पालामा अनेक मुद्दा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्व्ेष फैलाउने काम भएका थिए । हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ । जातीय विभेद अन्त्यका लागि हामी विद्यमान कानुनमा संशोधनका निम्ति पनि लाग्नेछौँ ।” प्रधानमन्त्री ओलीले जातीय छुवाछूत र साम्प्रदायिकतालाई निमिट्यान्न पार्न वर्तमान सरकार तत्पर प्रधानमन्त्रीले बताउनुभयो । असमानता, अन्याय, छूवाछूत र दुःख भोगेर कोही सुखी हुन सक्दैन भन्दै उहाँले सुखी हुन असमानता र छुवाछूत हटाउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानता सुनिश्चित गर्न संविधानमा नै व्यवस्था गरिएको बताउनुभयो ।  “मान्छे एउटै हो । जन्मदै कोही पनि श्रेष्ठ हुँदैन । जन्मदै श्रेष्ठ वा ठूलो जातको हो भनिनु मान्य हुँदैन । सरकारले त्यस्ता कुराहरुलाई मान्यता दिँदैन”, उहाँले भन्नुभयो । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जातीय समानता सुनिश्चित गर्न संविधान र कानुनको पालनाका साथै सामाजिक सुधार पनि आवश्यक भएको बताउनुभयो । 

पोखरा:    पर्यटकीय शहर पोखराबाट जापानिज प्रविधिको फुजी ब्राण्डको एलिभेटर (लिफ्ट) बिक्री बितरण हुने भएको छ । जापानिज प्रविधि र चीनमा कोलाब्रेट गरिएको फुजी ब्राण्डको एलिभेटर र एक्सेलेटरका लागि पोखरामा एलिभेटर टेक नेपाल पोखराले पोखराको चाउथेबाट बिक्री शुरु गरेको हो । फुजी ब्राण्डको एलिभेटर र एक्सेलेटरको लागि नेपालको आधिकारीक बिक्रेता एलिभेटर टेक नेपालको शुरुवात गर्दै मणिपाल शिक्षण अस्पतालका सञ्चालक आनन्द बतासले नेपालमा एलिभेटर खरिद गर्दा विभिन्न समस्याहरु उत्पन्न भरहदा फुजी ब्राण्डले पोखरामानै नेपालको लागि आधिकारीक डिलर सञ्चालन गरेकोमा खुसी ब्यक्त गरे ।  ग्राहकलाई सामाग्री बिक्री गर्नुभन्दा पनि त्यसको सामाग्री र सर्भिसका लागि ध्यान दिन आवश्यक रहेको वताउदै बतासले फुजी ब्राण्डको एलिभेटर र एक्सेलेटरले पोखरेलीको मन जित्ने गरी काम गर्नेमा आफु ढुक्क रहेको समेत बताए । त्यस्तै वरिष्ठ समाजसेवी रामजी बास्तोलाले पोखरामा लिफ्ट (एलिभेटर) किन्नका लागि काठमाण्डौ धाउनुपर्ने बाध्यता हटेको भएतापनि यसको सर्भिसिङ र सामाग्रीका लागि समेत फुजीको डिलरले ध्यान दिन आवश्यक रहेको बताए । त्यस्तै एलिभेटर टेक नेपालका टेक्निकल डिपार्ट हेड रमेशराज अधिकारीले फुजी ब्राण्डको एलिभेटर र एक्सेलेटरका लागि नेपालका लागि आफुहरु आधिकारीक बिक्रेता भएकाले यसमा कुनैपनि समस्या आएमा पोखराबाटै सर्भिसको ब्यवस्था भएकाले अन्य कम्पनीहरुमा जस्तो समस्या नहुने बताए । एलिभेटर टेक नेपालका सञ्चालक मोहन प्रसाद ढकालले नेपालमा गुणस्तरीय प्रविधीका एलिभेटरहरु भित्रयाउन आफुहरु लागि परेको बताए । फुजी कम्पनीले विश्वभरनै उच्च स्तरका एलिभेटरहरु बिक्री वितरण गर्दै आइरहेकाले आफुहरुले समेत त्यसलाई नेपालमा भित्रयाउने गरी एलिभेटर टेक सञ्चालनमा ल्याएको ढकालको भनाइ रहेको थियो । एलिभेटर संगै आगामी दिनमा फुजी एयर कन्डिसन एसि हरु समेत बिक्री वितरण गर्ने लक्ष्य रहेको ढकालले बताए । सो अवसरमा फुजी कम्पनीका प्रमुख पेङ र कम्पनीका बिक्री प्रमुख मेलिसाले फुजी कम्पनीका नयाँ एलिभेटरहरुको बारेमा जानकारी गराएका थिए ।

पाल्पा:     रामपुर नगरपालिका–५  बेझाड बजारमा इलाका प्रशासन कार्यालय निर्माण भएको छ । चार करोड ५६ लाख ७७ हजार पाँच सय ७१ को लागतमा निर्मित १४ कोठे भवनबाट सेवा प्रवाह प्रारम्भ भएको छ ।  गृहमन्त्री रमेश लेखकले भवनको उद्घाटन गर्दै देशमा शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।  नवनिर्मित भवनबाट राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रवाह भएको छ ।  उद्योगधन्दा, व्यवसाय सञ्चालनलगायत अनुमति प्रदान पनि नयाँ भवनबाट हुनेछ ।  सदरमुकाम तानसेनबाट प्रवाह हुँदै आएको राहदानी र राष्ट्रिय परिचयपत्र सेवा यहाँबाट प्राप्त भएपछि स्थानीय हर्षित छन् ।  रामपुर नगरपालिकाको १० वटै वडा, पूर्वखोला गाउँपालिकाको वडा नं १ र निस्दी गाउँपालिकाको वडा नं १ देखि ६ वडा तथा रामपुर, निस्दी र पूर्वखोलाका १७ वडाका बासिन्दा लाभान्वित भएका छन् । 

काठमाडौं:     गत वर्षको ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा भएको छ । यो सम्मान १० जना स्रष्टा र एउटा सङ्गीत प्रतिष्ठानलाई प्रदान गरिने भएको छ । नातिकाजी स्मृति समाजद्वारा आज यहाँ आयोजित घोषणा कार्यक्रममा विभिन्न स्रष्टा, सङ्गीतकर्मी तथा सञ्चारकर्मीलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिने जानकारी दिइएको हो ।      समाजका अध्यक्ष वरिष्ठ सङ्गीतकार शम्भुजीत बाँस्कोटाले नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान गीतकार नगेन्द्र थापा, लोकगायक बोमबहादुर कार्की, कलाकार धन लामा, सङ्गीत प्रवर्द्धक प्रकाश सायमी, शास्त्रीय सङ्गीतकर्मी ज्ञानुराधा गोर्खाली, गीतकारद्वय बुद्धवीर लामा र किरण केसी (क्रोधी), गायक दिवाकर खड्का र गायिका यशोदा पराजुलीलाई प्रदान गरिने जानकारी दिनुभयो । साथै सङ्गीत साधना प्रतिष्ठान ९इटहरी० र लेखक विमल भौकाजीलाई नातिकाजी राष्ट्रिय योगदान सम्मान प्रदान गरिने उहाँले बताउनुभयो ।       राष्ट्रिय सङ्गीत पुरस्कार गायक हिमाल सागर, गायिका विन्दु परियार, गीतकार बि पाण्डे, सङ्गीतकार आशिष अविरल, एरेञ्जर सम्राट थापालाई प्रदान गरिने भएको उहाँले बताउनुभयो ।       साथै नातिकाजी राष्ट्रिय प्रतिभातर्फ रेकर्डिस्ट भोला पौडेल, गायक डेभिड शङ्कर, गायिका स्मिता दाहाल र सङ्गीतकार कल्याण सिंहलाई, शास्त्रीय सङ्गीततर्फ डा रमेश पोखरेललाई पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष बाँस्कोटाले उल्लेख गर्नुभयो ।       राष्ट्रिय लोक सङ्गीततर्फ लोक गायकत्रय रामप्रसाद अवस्थी, सुष्मा शाही ठकुरी र कृष्ण विक, कला र पत्रकारितातर्फ पत्रकारद्वय सुशील अर्याल र सुकृत नेपाललाई पुरस्कार प्रदान गरिने समाजले जनाएको छ ।      नातिकाजीको ९९ औँ जन्म जयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गरी विभिन्न स्रष्टा, सङ्गीतकर्मी तथा सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष बाँस्कोटाले बताउनुभयो । नातिकाजी गीत, सङ्गीतको महासागर भएको उल्लेख गर्दै उहाँको योगदानलाई जीवन्त समाजले प्रयास गरिरहेको बताउनुभयो ।

पोखरा:    कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सुरु भएको छ ।    चैँपर लेम भाईखलक घान्द्रुकको आयोजनामा पोखरा महागनरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा आजदेखि पहिलो संस्करणको प्रदीप मेमोरियल बास्केटबल प्रतियोगिता सुरु भएको हो ।    उक्त प्रतियोगिता अन्र्तगत खुल्ला पुरुषतर्फ आज ६ खेल सम्पन्न भएको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए ।    उनका अनुसार आज भएको पहिलो खेलमा छोम्रोङ रातोले एमवाइसी घान्द्रुकलाई ५८–४० अङ्कले पराजित गर्यो । दोस्रो खेलमा मर्दी खोलाले छोम्रोङ सेतोलाई ४१–२१ अङ्कले पराजित गर्यो ।    यस्तै तेस्रो खेलमा टिम ख्याङले रामघाट बीलाई ७०–२३ अङ्कले पराजित गर्यो । चौथो खेलमा कास्की बास्केटबल एकेडेमीको अनुपस्थितिमा वाकओभरमार्फत बेगा गाउँ विजयी बन्यो ।    पाँचौ खेलमा पुन युनाटेड नदीपुरले अघौँ पुनमगर समाजलाई ७२–३५ अङ्कले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्यो ।   छैटौं खेलमा छोम्रोङ रातोले मनकामना क्लब दीपलाई ७०–३७ अङ्कले पराजित गर्दै छोम्रोङ रातो क्वाटरफाइनलमा प्रवेश गरेको अर्जुन गुरुङले जानकारी दिए ।   उनका अनुसार भोलिपनि पुरुषतर्फकै खेलहरु हुनेछन् । प्रतियोगितामा खुला पुरुषतर्फ १७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ ।     यसअघि प्रतियोगिताको उद्घाटन अन्नपूर्ण गाउँपालिका ११ का वडाध्यक्ष हिम बहादुर गुरुङले गरे । सो अवसरमा बोल्दै स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा सञ्चालित प्रतियोगिताले उनको आत्मालाई शान्ति मिल्ने विश्वास व्यक्त गरे ।    उनले फरक प्रसंगमा बोल्दै उक्त प्रतियोगिताले प्रतिभावान तथा उदीयमान खेलाडीलाई अवसर मिल्ने बताउदै बास्केटबल खेलको विकास हुने धारणा राखे ।   वडाध्यक्ष गुरुङ आगामी दिनमासमेत सो प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।   सो प्रतियोगिताको पुरुषतर्फको विजेता टोलीले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।    यस्तै उपविजता बन्ने टोलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।   महिलातर्फको विजेतालाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । भने, उपविजेता टोलाई नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।   पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ड खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।  

काठमाडौं:   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टरार्ईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताउनुभएको छ ।  आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय शिक्षा विधेयक–२०८०’को छलफलमा उहाँले शिक्षकको नियमित रूपमा शिक्षकहरूलाई तलबको व्यवस्था गरिने बताउनुभयो ।   “३९ स्थानीय तहले शिक्षकको तलब नदिएको भन्ने मन्त्रालयमा गुनासो आएको थियो”, उहाँले भन्नुभयो, “हामीले ती स्थानीय तहका प्रमुखलाई नियमित रूपमा तलबको व्यवस्था गर्न निर्देशन दिएका छौँ । ” साथै उहाँले विद्यालय शिक्षकको दरबन्दी पुनरावलोकन गरिने बताउनुभयो । बाल विकास शिक्षा कार्यक्रमलाई व्यवस्थित गर्न कार्यदल गठन भएको जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले बुझाएको प्रतिवेदन अपूर्ण भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः छानबिन गर्नुपर्नेमा जोड दिनुभएको बताउनुभयो ।  “आयोगको म्याद  हामीले दुईपटक थप गर्यौँ । तर आयोगले बुझाएको प्रतिवेदनमा अझ धेरै काम गर्न बाँकी रहेको देखिएको छ”, उहाँले भन्नुभयो,– “आयोगको प्रतिवेदनका आधारमा धेरै जग्गा खोज्नुपर्ने स्थिति छ । ” शिक्षा विधेयकमा  दफावार छलफल  समितिमा विद्यालय शिक्षा विधेकय,२०८० मा दफावार छलफल पूरा भएको छ ।  समिति सदस्य सुमना श्रेष्ठले शिक्षण पेसालाई आकर्षक बनाउनुपर्नेमा जोड दिँदै शिक्षकलाई नियमित रूपमा मासिक तलब दिनुपर्ने बताउनुभयो ।  अर्की सदस्य ज्ञानु बस्नेत सुवेदीले निःशुल्क शिक्षालाई कार्यान्वयन गर्नुपर्छ भन्नुभयो । दफावार छलफलमा समिति सदस्यहरू वीना जैसवाल, विनिताकुमारी सिंह र रामप्रकाश चौधरीले भाग लिनुभएको थियो । विधेयकमा समितिका सदस्यहरुले एक सय नौ वटा संशोधन प्रस्तुत गर्नुभएको थियो । 

पोखरा:     पोखरामा आगामी शनिबार लोक गायक कृष्ण थापामगर एकल साँझ हुने भएको छ ।    नेपाल मगर साँस्कृतिक संघ कास्कीको आयोजनामा लोक गायक कृष्ण थापामगर एकल साँझ हुन लागेको हो । संघले आज (मंगलबार) पोखरामा सम्मेलन गर्दै एकल साँझबारे जानकारी दिएको हो ।  नेपाल मगर साँस्कृतिक संघ कास्कीका अध्यक्ष सरिता सारु मगरले यही शनिबार (पुष ६) गते लोक गायक कृष्ण थापा मगर एकल साँझ आयोजना गरेको बताईन् ।  ‘नेपाल मगर साँस्कृतिक संघ कास्कीको आयोजनामा यही पुष ६ गते शनिबार कृष्ण थापा मगर एकल साँझ आयोजना गरेका छौं, अध्यक्ष सारु मगरले भनिन्, ‘हामीले यो भन्दा अगाडि पनि खड्का गर्बुजा एकल साँझ सम्पन्न गरी सकेका छौं, एकल साँझबाट आउने रकम हामीले सामाजिक सेवामा खर्च गर्दै आएका छौं ।’ उनले मौलिक लोक गीत जर्गेना गर्ने अभिप्रायले विगत लामो समयदेखि नेपाली मौलिक लोक गायनको क्षेत्रमा लोक गायक थापमगरको योगदान रहेको बताइन् ।      वि.स. २०२५ साल तनहुँ बसन्तपुर गाविस ३ मा जन्मिएका थापामगरले २०४५ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए । लोक गायक थापामगरले २०४८ सालमा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालद्धारा आयोजित राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए ।