पोखरा महानगरपालिकाको समन्वयमा कोइका र युएनडिपीको सहयोगमा पोखरा महानगरपालिका १५ को ६० विपन्न परिवारलाई फोहोरलाई मोहोरमा बदल्ने तालिमसहित डस्टबिन वितरण गरिएको छ । पोखरा महानगरपालिका भित्रका १ सय ३६ वटा टोलमा दिने योजना अन्तर्गत आज पोखरा १५ को ६० विपन्न परिवारलाई २/२ थान डस्टबिन प्रदान गरेको हो । उक्त तालिमको उद्घाटन पोखरा महानगरपालिका १५ का वडाध्यक्ष तोरण बानियाँले गरे उनले सो अवसरमा बोल्दै फोहोरलाई मोहोरमा बदल्ने तालिमले सार्थकता पाउने विश्वास व्यक्त गरे । उनले फोहोर व्यवस्थापनमा स्थानीयले पनि तदारुपता देखाउनुपर्ने बताउदै उक्त तालिम व्यवहारमुखी भएको धारणा राखेका थिए । सो कार्यक्रममा वडाध्यक्ष बानियाँसँगै कार्यपालिका सदस्य मन्दिरा परियार लगायत करिब १ सय जना स्थानीयहरुको सहभागिता रहको थियो । युएनडिपीले अघि सारेको उक्त योजना अन्तर्गत भोलि वडा १२ मा पनि तालिमसहित डस्टबिन प्रदान गर्नेछ ।
पोखरा: १३ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर बन्दीपुर केबुलकारले सहकार्य गर्ने भएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवमा बन्दीपुर केबुलकारले सह प्रायोजकमा रहेर साथ दिने भएको हो । महोत्सव आयोजक युनाईटेड क्लब पोखराका पदाधिकारी र बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेड बीच पोखरा महोत्सव सफल बनाउन सहकार्य गर्ने गरी सहमति भएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका भाइस प्रेसिडेन्ट किरण पोखरेलले पर्यटकीय गन्तब्य बन्दीपुरमा सञ्चालनमा आएको बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक कार्यमा अग्रणी पोखराको युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवमा सहकार्य गरी सामाजिक रुपमा जोडिन पाउदा खुसी लागेको बताए । महोत्सवमा सहकार्य मात्र नभइ ब्यवसायीक प्रवद्र्धनमा समेत टेवा पुग्ने बताउदै पोखरेलले पोखरा महोत्सवमा आउने दर्शकले टिकटको आधारमा बन्दीपुर केबुलकारमा विशेष छुट पाउने समेत बताए । पोखरेलका अनुसार पोखरा महोत्सवको टिकटको अर्धकट्टी लिएर केबुलकार चढ्न जाने कुनैपनि ब्यक्तिले बन्दीपुर केबुलकारमा २५ प्रतिशत छुट र सोही स्थानमा सञ्चालित ड्राइभईन रेष्टुरेण्टमा १५ प्रतिशत छुट पाउनेछन । बन्दीपुर केबुलकारको टिकट प्रति ब्यक्ति पाँच सय रहेको र उक्त रकममा २५ प्रतिशत छुट हुनुका साथै स्काई साइक्लीङ र जीपलाइनमा समेत २५ प्रतिशत छुट दिने पोखरेलले बताउदै आगामी दिनमा समेत युनाईटेड क्लब संग सहकार्य गर्दै पोखरा महोत्सवको प्रायोजकलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरे । उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा वोल्दै क्लबका अध्यक्ष लोक बहादुर थापाले जनस्तरबाट निर्माण सम्पन्न भइ सञ्चालनमा आएको बन्दीपुर केबुलकार लिमिटेड संग सहकार्य गरी अगाडी वढ्न पाउदा खुसी ब्यक्त गरे । उक्त अवसरमा बन्दीपुर केबुलकार कम्पनीको होल्डिङ कम्पनी आरकेडी ग्रुपका प्रमोटर तथा क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पञ्चासे केबुलकारका प्रेसिडेन्ट चिन्तामणी शर्मा, क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, क्लबका द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँ लगायतको उपस्थिती रहेको थियो । महोत्सवको मिति नजिकिदै गर्दा महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुको सहयोग आउने क्रम जारी रहेको र अन्य तयारीहरु समेत तीब्र रुपमा अगाडी वढिरहेको महोत्सवको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ क्वाटरफाइनलको समिकरण पूरा भएको छ । पोखरा महागनरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा आज भएको पहिलो खेलमा रामघाट टिम ए’ले लामाचौर स्पोर्टसलाई ५५–२६ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्याे । यस्तै दोस्रो खेलमा ताङतिङले गलेश्वरलाई ४३–२८ ले पराजित ग¥यो । तेस्रो खेलमा अन्नपूर्ण म्याग्दीले टिम एएमआइसिआईलाई ३८–३२ ले हराउँदै अन्तिम आठमा प्रवेश गरेको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए । यस्तै महिलातर्फको पहिलो खेलमा अन्नपूर्ण कास्कीले मर्दीखोलालाई ३५–१२ ले पराजित गर्याे । दोस्रो खेलमा ताङतिङले टिम पिएनसीलाई ६३–१७ ले पराजित ग¥यो । पुरुषतर्फको क्वाटरफाइनल खेल र महिलातर्फको सेमिफाइनल खेल शुक्रबार सञ्चालन हुनेछ । कार्यक्रम संयोजक गुरुङका अनुसार खुला पुरुषतर्फ १७ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ । गुरुङले पुरुषतर्फको विजेता टोलीलाई नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिए । यस्तै उपविजता बन्ने टोलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । महिलातर्फको विजेतालाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । भने, उपविजेता टोलाई नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए । संयोजक गुरुङका अनुसार पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ड खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।
लमजुङ: सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्लाको क्व्होंलासोथार गाउँपालिकाको भवन उद्घाटन गर्नुभएको छ । उक्त गाउँपालिकाको वडा नं २ मालिङमा निर्मित भवनको उहाँले आज उद्घाटन गर्नुभएको हो । गण्डकी प्रदेश सरकारले रु दुई करोड र गाउँपालिकाको दुई करोड गरी रु चार करोड १४ लाख १२ हजार नौ सय ३९ को लागतमा भवन निर्माण भएको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो । भवनले दुई रोपनी चार आना जग्गा चर्चेको छ । नवनिर्मित भवनमा ३६ कोठा छन् ।
भक्तपुर: मध्यपुरथिमि नगरपालिका–७ नगदेशस्थित गणेश मन्दिर प्राङ्गणमा विभिन्न नवदुर्गा नाचिरहेका छन् । सयौँको सङ्ख्यामा महिलाहरु हातमा पूजाको थाली लिएर नवदुर्गालाई चढाउन लामबद्ध छन् । मल्लकालभन्दा अगाडिदेखि तान्त्रिक शक्तिमा चल्ने नवदुर्गा नाच गत आइतबारदेखि मध्यपुरथिमिभित्र विभिन्न टोलमा सञ्चालन भइरहेको छ । आज बालकुमारीबाट नगदेश भित्र्याएर नवदुर्गाको विशेष पूजा एवं द्यो ब्वोकेगु गरियो । नगदेशबाट बाजागाजासहित गएको स्थानीयको टोलीले बालकुमारीबाट मलमलको सेतो कपडा बाटोमा ओछ्याएर स्वागत गर्दै नगदेश भित्र्याएपछि नवदुर्गाको भव्य पूजा एवं नवदुर्गा देवगण र नाच प्रदर्शन गरिएको हो । नगदेशका ख्वप्रिङ नवदर्गा सङ्कल्प भोजन २०८१ को संयोजन र भक्तपर विकास सहयोग सङ्घको आयोजनामा करिब रु आठ लाखको खर्चमा भगवाण भोजनलगातयका कार्यक्रम आयोजना गरेको हो । भक्तपुर, मध्यपुरथिमिदेखि भक्तपुरबाट बसाई सरेर काठमाडौँ, ललितपुर गएर बसेकाहरुले भव्य रुपमा नगदेशमा सञ्चालन गरेको नवदुर्गा नाच एवं द्यो ब्वोकेगु आयोजक भक्तपुर विकास सहयोग सङ्घका अध्यक्ष विजय शङ्कर प्रधानाङ्गले जानकारी दिनुभयो । करिब रु आठ लाख खर्चमा नगदेशमा पहिलो पटक द्यो ब्वोकेगु आयोजना गरेको जानकारी दिँदै उहाँले नगदेशमा ठूलो लपेसमा ८४ व्यञ्जनका खानेकुरा चढाएर पूजा गरिएको बताउनुभयो । पूजाका क्रममा दुई वटा बोका र दुईवटा चुच्चे ९सुङ्गुर०को बलि दिएर ब्वोकेगु गरिने बताउनुभयो । उहाँले देवगण, नकी, बेताली, बाजा बजाउनेलगायत सबैका लागि शीरदेखि पाउसम्मको जात्रामा देवगणले लगाउने पोशाकसमेत अर्पण गरेको बताउनुभयो । घरघरबाट प्रत्येकले पूजाको सामान ल्याएर मनाइएको या पर्वमा कम्तीमा पनि एक हजार पाँच सयको सहभागिता रहेको उल्लेख गर्दै स्थानीय बिनोद कोजूले नवदुर्गा देवगण आएर नाच प्रदर्शन गर्दा स्थानीयको व्यापार, व्यवसाय, परिवारमा सम्पन्न, आर्थिक उन्नती, स्थानीयमा रोग, भयको नाश हुने, नकारात्मक शक्तिहरु परास्त हुने र सबैमा कल्याण हुने जनविश्वास रहेको बताउनुभयो । नवदुर्गा देवगणमध्येकै कृष्णप्रसाद बनमालाले गत आइतबार मध्यपुरथिमिको दिगुटोलबाट सुरु भएको नवदुर्गा नाच आजसम्म भुलाखेल, बाहखा बजार, चपाचो, बालकुमारीलगायत विभिन्न ठाउँमा प्रदर्शन गरी स्थानीयको पूजा ग्रहण गर्दै आज नगदेशमा आएको बताउनुभयो । देवगणले नवदुर्गा नाच टोलटोलमा प्रदर्शन गरेपनि विशेष पूजाको रुपमा रहेको द्यो ब्वोकेगु पनि नगन्य रुपमा हुने गरेको छ । देवगण वनमालाले आइतबारसम्म मध्यपुरथिमिमा नाच प्रदर्शन गरेर आइतबार माछामार्ने जात्रा सञ्चालन गर्दै साँझ भक्तपर द्यो छे, अर्थात देवता घरमा नवदुर्गा फर्कने बताउनुभयो । नवदुर्गा अन्तर्गत गणेश, कुमारी, सिंह, दुम्भसंगै ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ ।
काठमाडौं: कर्णाली याक्सलाई दुई विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णालीले दिएको एक सय १९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको हो । जनकपुरले उपाधिका लागि सुदूरपश्चिम रोएल्ससँग यही पुस ६ गत प्रतिस्पर्धा गर्नेछ । बुधबार भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले जनकपुरलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । जनकपुरको यो जितमा जिमी निशमले १७ बल खेल्दै दुई चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक ४५ रन बनाए । शेर मल्लले अविजित १६ रन जोडे । हर्ष ठाकरले १७, मयन यादवले १५ र आकाश त्रिपाठीले १३ रन बनाएका हुन् । बलिङतर्फ कर्णाली याक्सका विपिनप्रसाद शर्माले तीन विकेट लिए भने सोमपाल कामी, विलियम बोसिस्टो र जिसन मक्सुदले समान एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनाएको थियो । कर्णालीका लागि गुलशन झाले २० बलमा एक चौका र दुई छक्काको मद्दतमा सर्वाधिक २५ रन बनाएका हुन् । त्यस्तै ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्काको सहयोगमा २४ रन जोडे भने विलियम बोसिस्टोले १५ बलमा एक चौकाको सहयोगमा १४ रन बनाए । जिशान मक्दुई चौकाको सहयोगमा १२ रन जोड्दा १७ बल खेलेका उनिस ठकुरीले दुई चौका प्रहार गर्दै १२ रन बनाएका थिए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । कप्तान सोमपाल कामी पाँच रनमा आउट भए भने जयकिशन कोल्सावालाले एक रन बनाएका थिए । जनकपुरका लागि जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान दुईरदुई विकेट र हर्ष ठाकर र शेर मल्लले समान एकरएक विकेट लिएका थिए ।
पोखरा: ‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’ भन्ने नाराका साथ पोखरा महानरपालिका १ मोहरिया टोलमा सञ्चालित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको ४० औँ वार्षिकोत्सवको अवसरमा एकल नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न गरेको हो । एकल नृत्य प्रतियोगितामा करिब ३५ जना विद्यार्थीहरु सहभागी भएका थिए । दुई तहमा भएको उक्त प्रतियोगितामा आधारभूत जुनियर तहबाट कक्षा ५ की छात्रा अदिती तिमिल्सिना प्रथम, कक्षा ४ की छात्रा दिया क्षेत्री द्वितीय, कक्षा ५ का छात्र आयन सुनार तृतीय र कक्षा २ की छात्रा इभानी बास्तोलाले सान्त्वना स्थान हाँसिल गरिन् । त्यसैगरी मावि तथा आधारभूत सिनियरतर्फबाट कक्षा ८ की छात्रा एस्थर तामाङ प्रथम, कक्षा १० की छात्रा सुजिता सुनार द्वितीय, कक्षा ९ की छात्रा आरोशी देवकोटा तृतीय र कक्षा ७ का छात्र विनायक गिरिले सान्त्वना स्थान हाँसिल गरिन् । एकल नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा नृत्य प्रशिक्षिका रञ्जु बाल्कोटी र कविता गुरुङ रहेकी थिइन् । यसैगरी वार्षिक रुपमा हुँदै आएको खेलकुद कार्यक्रमका विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण गरिएको थियो । साथमा प्याब्सन कास्कीद्वारा प्रथम भएको मार्च पास्टको पुरस्कार पनि वितरण गरिएको थियो । विद्यालयका संस्थापक शम्भुलाल कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा स्वागत मन्तव्य सहायक प्राचार्य निलकण्ठ पौडेलले गरेका थिए । भने, कार्यक्रमको सञ्चालन शिक्षिका माया क्षेत्रीले गरेकी थिइन् ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा स्कारपियो दुर्घटना हुँदा घाइते भएका ४ जनालाई सिम्रिक एयरमार्फत मणिपाल शिक्षण अस्पताल ल्याइएको छ । पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६८२१ नम्बरको स्कारपियो घान्द्रुकको बतासे डाँडामा आज दिउँसो दुर्घटनामा हुँदा ६ जना घाइते भएका थिए । घाइते मध्ये ४ जनाको सिम्रिक एयर मार्फत उद्धार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याइसकेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले जानकारी दिए । ‘घान्द्रुकको बतासे डाँडामा स्कारपियो दुर्घटना हुँदा घाइते भएका ४ जनालाई सिम्रिक एयरमार्फत मणिपाल शिक्षण अस्पतालम ल्याइएको छ’, सूचना अधिकारी पाठकले भने, ‘ घाइते ४ जना मध्य ३ जना गम्भिर र २ जना सामान्य रहेका छन्, घाइतेहरुको उपचार भइरहेको छ ।’ स्कारपियो दुर्घटना हुँदा गम्भिर घाइते भएक एक जना महिलाको मृत्य भएको एक स्थानीयले बताए । स्कारपियो सवार ६ जना महिला रहेको ट्राफिक प्रहरीले जनाएको छ । यो पनि पढ्नुहोस पोखराबाट घान्द्रुक जाँदै गरेको स्कारपियो दुर्घटना, घाइते ४ जनाको सिम्रिक एयरबाट उद्धार हुँदै
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुक जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६८२१ नम्बरको स्कारपियो घान्द्रुकको बतासे डाँडामा आज दिउँसो दुर्घटनामा परेको हो । स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले जानकारी दिए । ‘पोखराबाट घान्द्रुक जाँदै गरेको स्कारपियो बतासे डाँडामा दुर्घटना भएको हो, दुर्घटनामा ६ जना घाइते भएका छन्, १ जनालाई एम्बुलेन्स र ४ जनालाई सिम्रिक एयरबाट उद्धार गर्दै छौं’ सूचना अधिकारी पाठकले भने । उनका अनुसार चालक र सामान्य घाइते भएका अर्का एक यात्रुलाई प्रहरीको गाडीमा पोखरा ल्याइँदै छ । गाडी करिव ६ सय मिटर तल खसेको बताइएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले चालकको लापरवाहीले दुर्घटना भएको जनाएको छ । दुर्घटनामा परेर एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका उनीहरु काठमाडौंबाट घान्द्रुक घुम्न आएको प्रारम्भिक अनुसन्धानमा खुलेको कास्की ट्राफिक कार्यालयले जनाएको छ । घाइतेको पहिचान खुलेको छैन । थप विवरण आउँदै

