पोखरा:   बक्स पोखराको आयोजनामा यही असार २७, २८ र २९ गते पोखरा रंगशालामा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । बक्स पोखराले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।...

कैलाली:    अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झर्नुभयो । २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झर्नुभएका उहाँ टीकापुर बहुमुखी क्याम्पसको नाममा भएको जग्गा अतिक्रमण भइरहेको क्षेत्रमा आएर बस्नुभयो । सरकारले गरिबलाई जग्गा वितरण गरिरहेको छ भन्ने लागेर उहाँ टीकापुर झर्नुभएको थियो ।  टीकापुर पुग्दा बुदेले सोचे जस्तो भएन । अछाममा हुँदा पनि अरुको काम गरेर दैनिकी गुजारा गर्ने बुदे टीकापुर झरेपछि अछाम फर्कनु भएन । “अछाममा पनि केही थिएन, यता पनि केही छैन । जता बसे पनि सुकुम्वासी”, उहाँले भन्नुभयो, “१९ वर्षदेखि सरकारले व्यवस्थापन गर्छ कि भन्ने आशामा छौँ । आशा गर्दागर्दै मर्ने बेला भइसक्यो ।”  अछामकै तडिगैराबाट ५० वर्षको उमेरमा टीकापुर पुग्नुभएका नन्दे लुहारलाई बुढ्यौलीले छोइसकेको छ । जग्गा पाइएला भन्ने आशामा बस्दा बस्दै लुहार सामाजिक सुरक्षा भत्ता पाउने उमेरको भइसक्नुभयो । उहाँ भन्नुहुन्छ, “अब त मलाई त्यो जग्गाको आशा पनि छैन । २० वर्ष जग्गाको आशामा बित्यो ।”  २० वर्षदेखि टीकापुर बहुमुखी क्याम्पस र वीरेन्द्र विद्यामन्दिर शैक्षिक गुठीको नाममा रहेको सयौंँ बिघा जग्गा सुकुम्बासी मुक्तकमैयाको अतिक्रमणमा छ ।  उक्त जग्गा खाली गराउन क्याम्पसले पटक–पटक पहल गर्दा पनि राजनीतिक संरक्षणमा बसेका मुक्तकमैया सुकुम्बासीलाई सहजै स्थानान्तरण गर्न सकिने अवस्था छैन । यस क्षेत्रमा नौ वटा शिविर छन् । शिविरमा पाँच हजार घरपरिवार बसोबास गर्दै आएका छन् । यहाँ करिब २० हजार जनसङ्ख्या रहेको अनुमान छ । यहाँ मुक्तकमैया सुकुम्वासी मात्रै नभइ तत्कालीन टीकापुर विकास समितिका कर्मचारी पनि उचित व्यवस्थापनको आशामा यहीँ बसोबास गर्दै आएका छन् ।  “मैले विकास समितिमार्फत आठ वर्ष कमैया काम गरेँ । त्यो बेला उचित बसोबाससहित कम्तीमा एक बिघा जग्गा दिनेसम्म कुरा थियो”, भूपु कमैया शिविरमा बस्दै आउनुभएका घनश्याम चौधरीले भन्नुभयो, “आज न विकास समितिको जागिर छ, न खान बस्नलाई बास  गाँस ।” भूपु कमैया शिविरमा बस्दै आउनुभएका कुलुराम चौधरी ६८ वर्षको पुग्नुभयो । जीवनको उर्जावान समय टीकापुर विकास समितिमा बिताउनु भएका कुलुराम अहिले शिविरमै बस्नुहुन्छ ।  उहाँ हाल अरुको सहारामा हुनुहुन्छ ।  टीकापुर बहुमुखी क्याम्पस र वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठीले आफ्नो जग्गा अतिक्रमण भएको भन्दै मुद्दा दायर गरेको छ । यहाँका नागरिक राजनीतिक रुपमा प्रयोग हुने गरेका छन् । विभिन्न राजनीतिक दलको सभा समारोहमा भीड चाहियो भने शिविरकै नागरिक लैजाने गरिन्छ ।  “जहाँबाट आश्वासन आउँछ, त्यहाँ आशा पनि हुन्छ । हिजो शिविर बस्दा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेका राजनीतिक दलले आज जग्गा दिने कुरा गर्छन् कि भनेर सबैका सभामा पुग्ने गरेका छौँ”, विशालनगर शिविरमा बस्दै आउनुभएकी सुनिता चौधरी भन्नुहुन्छ, “आश्वासन आज पनि त्यही छ । जग्गा पाउनुपर्छ र पाइन्छ भन्ने । कहिले पाइने हो भन्ने टुङ्गो छैन ।”

गण्डकी:    गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही व्यक्तिको कमजोरीले गर्दा कारण सिङ्गो सहकारी क्षेत्र बदनाम भएको बताउनुभएको छ ।  जिल्ला सहकारी सङ्घ लि कास्कीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले पछिल्लो समय सहकारीभन्दा तर्सिने अवस्था सिर्जना भएको छ भन्नुभयो ।       “सहकारीको उद्देश्य, मर्म र भावनाविपरीत सहकारी सञ्चालन गर्दा समस्या आएको हो”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “सहकारी संस्थाका नियमनकारी निकाय पनि कमजोर देखिएका छन् ।” जतिसक्दो चाँडो सहकारीमा देखिएको समस्याको समाधान गरी सहकारी क्षेत्रको गुमेको साख फिर्ता ल्याउनुपर्ने उहाँको भनाइ छ ।       मुख्यमन्त्री पाण्डेले सहकारी बचत रकम अपचलनमा संलग्न भएको तथ्य प्रमाण भेटिए जुनसुकै व्यक्ति भए पनि कारबाहीको दायरामा आउने बताउनुभयो ।  “सरकारले विनातथ्य प्रमाण कसैलाई पनि केही गर्दैन, दोषी भए कारबाही हुन्छ, निर्दोष भए सोहीअनुसार हुन्छ, यसमा अन्यथा सोच्नुपर्ने विषय केही छैन ।” प्रदेश सरकारले सहकारीमार्फत कृषि उत्पादनमा लागेका किसानलाई अनुदान दिँदै आएको बताउनुभयो ।       गण्डकी प्रदेशका सहकारी रजिस्टार भेषराज रिजालले निष्क्रय रहेका सहकारी संस्था खोरजीको प्रक्रियमा रहेको बताउनुभयो । सहकारी संस्था धेरै हुँदा न्यून जनशक्ति र संरचनाबाट प्रभावकारी नियमनमा जटिलता रहेको उहाँको भनाइ छ ।  डेरी उद्योगसमेत सञ्चालन गर्दै आएको उक्त सहकारी सङ्घले झण्डै रु दुई करोडको लागतमा भवन निर्माण गरेको सङ्घका अध्यक्ष सावित्रा कोइरालालले जानकारी दिनुभयो । 

मकवानपुर:     मकवानपुरको हेटौँडामा यात्रु बस दुर्घटना हुँदा १७ जना घाइते भएका भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । वीरगन्जबाट पोखरा जाँदै गरेको ग २ ख १६२१  नम्बरको यात्रु बाहक बस शुक्रबार ब्रेक फेल भई चुरियामाई मन्दिर नजिकै पर्ने पूर्व पश्चिम सडक खण्डको रातोपाटे भन्ने स्थानमा दुर्घटना हुँदा  बसमा सवार रहेका १८  मध्ये चालक सहित १७ जना घाइते भएका हुन् । मकवानपुर प्रहरीका अनुसार बाराको पर्सैनि गाउँपालिका वडा नम्बर ३ का ९ वर्षकी  जोनीशा कुमारी ठाकुरको अवस्था गम्भीर रहेको छ ।  उनको टाउकोमा चोट लागेको छ ।घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

म्याग्दी:    मङ्गला गाउँपालिका –५ पिपलबोटका भीमबहादुर सापकोटालाई यसपाली खेतको धान नकाट्दै पोखरा र बागलुङ गलकोटबाट पाँच मुरी ‘गौरिया’ धानको चामलको माग आयो ।  हालै भित्र्याएको धान कुटेर तीन मुरी चामल ग्राहकलाई बेचिसकेका सापकोटालाई गौरिया धानको चामलको लागि दैनिक दुई/तीन जनाले फोन गर्छन् । “२५–३० मुरी धानले घरमा खान, आफन्तलाई कोशेली पठाउन र नियमित ग्राहाकलाई चामल पु¥याउन ठिक्क हुन्छ,” उहाँले भन्नुभयो “उत्पादन गर्न सके बजारको समस्या नभएको गौरिया धान खेतीनै घट्दै गएको छ ।” पकाउदाँ घरबाहिरै छुट्टै किसिमको मगमग बास्दा आउने र खाँदा स्वादिलो हुने म्याग्दीको रैथाने गौरिया धानको चामलको माग बढेपनि खेती घट्दै गएको छ । सहर बजारका तारे होटलदेखि घरानीया ब्यापारी, उच्च तहका नेता, कर्मचारीहरु गौरिया धानको चामलका उपभोक्ता भएका मङ्गला –५ छिसवाङका दुर्गाबहादुुर खत्रीले बताउनुभयो ।  “गौरिया धान पाक्दा खेतनै बसाउँछ । भान्छा कोठामा गौरीयाको भात पकाउदा आगनसम्मै बास्ना आउँछ,” ६८ वर्षीय खत्रीले भन्नुभयो “गौरियाको भात खाइरहेकालाई अन्य धानको भात रुच्दैन् । गौरियानै खोज्छन् ।” गौरिया म्याग्दीको खोप्ती, छिसवाङ, रणवाङ, पिपलबोट, कुरसिम्ला, शेराफाट, तल्लो पोक, बाबियाचौर, सिम, सिमलचौर क्षेत्रमा खेती हुने रैथाने जातको धानबाली हो । स्थानीयबासीहरुका अनुसार चार पुस्ता अघिदेखि खेती हुदै आएको गौरियाको वैज्ञानिक र अंग्रेजी नाम अझै पहिचान भएको छैन् ।  म्याग्दी नदीको तटीय क्षेत्रमा पर्ने गैरिखेतमा खेती हुने भएकाले गौरिया नाम राखिएको पिपलबोटका छवीलाल कडेल बताउनुुहुुन्छ । “यहाँ वार्षिक ८० मुरीसम्म गारिया धान फलाउने र रु छ लाख सम्मको चामल बिक्री गर्ने कृषक छन्,” उहाँले भन्नुभयो “यहाँबाट लगेको गौरियाको चामल अन्य जातको धानको चामलमा मिसाएर उपभोग गर्दा रहेछन् ।” आधुनिक जातको धान खेतीप्रतिको आकर्षणका कारण गौरियाको खेती घटेको पिपलबोटका कृषक केशव कडेलले बताउनुभयो । “पहिले सबैले गौरिया गर्दथे,” उहाँले भन्नुभयो “नयाँ जातको धानखेती गर्ने क्रमसँगै गौरियाको खेती र उत्पादन घटेको हो ।”  गौरिया धानको चामल भात, पुलाउ, खिर र सेलरोटी बनाउने पिठोका लागि उपयुक्त हुुन्छ । न्यानो ठाउँमा हुने गौरिया धानको बोट अग्लो हुन्छ र सिचाईका लागि धेरै पानी आवश्यक पर्छ । असारको १५ गते रोपीने गौरीया कात्तिक १५ गतेको आसपासमा पाकेर भित्र्याउने हुन्छ । गौ रया धानको दाना अरु जातको भन्दा सानो हुन्छ । अन्य जातको तुलनामा गौरियाको उत्पादकत्व कम हुुन्छ । पकाउदा भात बढी देखिने गौरिया उपभोग गर्दा आडिलो पनि हुने उपभोक्ताको अनुभव छ । सुुत्केरी, किरिया बसेकाहरुलाई गौरीया धानको चामलको भात उपभोगी हुुने बताइन्छ । बालाले धान्न नसकेर बोट लड्ने गौरिया धान खेती गर्दाको प्रमुख कमजोरी भएको किसानहरु बताउँछन् ।  नयाँ जातका धानको खेतीमा आकर्षणसँगै गौरीया, गुडुरा, आँगा, घैयालगायत म्याग्दीका स्थानीय रैथाने जातका धानको खेती घटेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले बताउनुभयो ।  “जेठोबुढोसँग मिल्दोजुल्दो गुण भएपनि गौरीया फरक जातको धान हो,” उहाँले भन्नुभयो “कृषकहरुले चासो दिने हो भने गौरियालाई रैथाने बालीको रुपमा ब्राण्डीङ गरेर म्याग्दीको पहिचान बनाउन सकिन्छ ।”  गौरिया धानखेती हुने क्षेत्रफल र उत्पादनको मात्राको विषयमा कसैसँग तथ्याङ्क र अभिलेख छैन् । म्याग्दीमा गत वर्ष तीन हजार ८९० हेक्टर क्षेत्रफलमा १२ हजार ४४८ मेट्रिक्टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छन् ।  यस वर्ष धानको उत्पादनको अवस्था पहिचानका लागि क्रप कटिङ बिधिबाट अध्ययन र तथ्याङ्क संकलनको काम भैरहेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत गंगा लामिछानेले बताउनुभयो ।  रैथाने गौरियाजातको धानको विषयमा अध्ययन अनुसन्धानका साथै संरक्षणको पहल गर्नुपर्ने मङ्गला गाउँपालिकाका कृषि प्राविधिक समेत रहेका कुरसिम्लाका बासिन्दा जगत बानियाले बताउनुभयो ।  “अहिले नेपालमा चलेको जेठो बुढोलाई मात खुवाउने उच्च व्यवसायिक सम्भावना बोकेको गौरीया धानको खेती र महत्व स्थानीय स्तरमै सीमित भएको छ,” उहाँले भन्नुभयो “गौरियो धानको विषयमा अध्ययन अनुसन्धान, संरक्षण र प्रर्वद्धनका लागि प्रदेश तथा संघीय सरकारले कृषकले चासो र तीनै तहका सरकारले अग्रसरता लिनुपर्छ ।”

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरणसभाको र्‍याली भद्रकालीबाट प्रारम्भ भएको छ । भद्रकालीबाट सुरु भएको र्‍याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत हुने कार्यक्रम छ । कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्नुहुनेछ ।  एमाले अध्यक्ष ओली कार्यक्रम स्थलमा दिउँसो १ः३० बजे पुग्ने कार्यक्रम रहेको छ । र्‍यालीको नेतृत्व नेकपा (एमाले) वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले गर्नु भएको छ ।       जागरणसभाको संयोजकको जिम्मेवारी पाउनु भएका एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा राजन भट्टराई पार्टी कामको सिलसिलामा देश बाहिर जानु परेकाले जिम्मेवारी ढुङ्गेलले सम्हाल्नुभएको हो ।         र्‍यालीमा बाजागाजासहित पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरू हुनुहुन्छ । एमालेले आजको सभामा एक लाखभन्दा बढीको मानिस उपस्थिति गराउने लक्ष्य लिएको छ ।

कास्की:     पोखरा महानगरपालिका–१२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाएका सबै अभिभावकको निःशुल्क पारिवारिक स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ ।  सरकारी विद्यालयहरुप्रति आकर्षण वृद्धि गर्नका लागि चालू आर्थिक वर्षदेखी कार्यान्वयन हुने गरी सो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताउनुभयो । यस कार्यक्रमबाट सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको शिक्षा र स्वास्थ्य दुबै निःशुल्क हुने उहाँले बताउनुभयो । वडाध्यक्ष  बास्तोलाले भन्नुभयो ,“सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरेर विद्यार्थी आकर्षण बढाउने गरी हाकीले काम गरिरहेका छौँ । सोही अनुसार वडामा स्थायी बसोबास रहेका र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवारको बीमा गर्ने छौँ । ”  पोखरा–१२ मा अमरसिँह माध्यमिक विद्यालय, शितलादेवी सामुदायिक विद्यालय र सरस्वती आधारभूत विद्यालय गरी तीन  विद्यालय छन् । यी विद्यालयमा चार हजार तीन सय विद्यार्थी अध्ययन गर्दछन् ।  पारिवारिक बीमा कार्यक्रमबाट सामुदायिक विद्यालयप्रतिको आकर्षण वृद्धि गर्ने र वडावासीको स्वास्थ्यमा पहुँच समेत बढाउने अपेक्षा गरिएको वडाध्यक्ष वास्तोलाले बताउनुभयो ।  चालु वर्षमा विमा कार्यक्रमका लागि रु १० लाख बजेट विनियोजन गरिएको वडाले जनाएको छ । स्वास्थ्य विमा कार्यक्रममा वार्षिक रु तीन हजार पाँच सय प्रिमियम तिरेर परिवारका पाँच जना सदस्यले रु एक लाख बराबरको स्वास्थ्य उपचार सुविधा पाउने व्यवस्था रहेको छ । बीमा प्रिमियम बापतको रकम वडाले भुक्तानी गर्नेछ ।  बीमा कार्यक्रममा सहभागिताका लागि वडामा स्थायी बसोबास खुल्ने अभिभावकको नागरिकता, विद्यालयका सिफारिस र विद्यार्थी परिचयपत्रको प्रतिलिपि सहित निवेदन आह्वान गरिएको वडा सचिव शारदा सापकोटाले बताउनुभयो । यसैगरी वडाले चालू वर्षदेखी सामुदायिक विद्यालयहरुमा संस्कार शिक्षा पाठ्यक्रम लागू गरेको छ । सामुदायिक विद्यालयहरुमा कक्षा ७ र कक्षा ११ मा संस्कार शिक्षा लागू गरिएको हो ।  वडाध्यक्ष बास्तोलाले  अन्य निजी विद्यालयहरुमा पनि संस्कार शिक्षा लागू गर्ने भनेर गृहकार्य भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“हाम्रो संस्कार, संस्कृति, परम्परा र माटो संरक्षण सँगै पुस्तान्तरण गर्नु पनि हाम्रो कर्तव्य हो ।”

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज दरबारमार्गमा हुने जागरणसभाका लागि तयारी पूरा भएको छ ।  जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट र्‍याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ ।  एमालेको जागरणसभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ ।      एमाले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभाको कार्यक्रम हुँदैछ । कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।      राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले उक्त जागरणसभा आयोजना गर्न लागिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।  

मोरङ:     बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको  हो ।  विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्मीमार्गका केही युवाले सुरु गर्नुभएको सुकुटी पसलले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ ।  छ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा कतार बसेर आउनुभएका प्रेम श्रेष्ठले करिब १० वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यवसाय गर्दै आउनुभएको छ । सुकुटीको माग दैनिक बढेसँगै पेसाप्रति सन्तुष्टि रहेको उहाँले बताउनुभयो ।  रोजगारीको सिलसिलामा आठ वर्ष मलेसिया बसेर आउनुभएका दिलीप श्रेष्ठले पाँच वर्षअघि यो व्यवसाय सुरु गर्दा सातामा करिब २० देखि ३० किलो मात्र सुकुटी बिक्री हुने गरेकामा छ सयदेखि सात सय किलोे सुकुटी बनाउने गर्नुभएको छ ।  उहाँको अनुसार “स्वदेशी बजारमा भन्दा बेलायत र अमेरिकामा बस्ने नेपालीले यहाँको सुकुटु माग  गर्नुहुन्छ, जनशक्ति अभावमा माग पूरा गर्न सकिएको छैन”, विदेशमा रहेका नेपालीहरुमा कोसेलीको रुपमा सुकुटीको माग उच्च रहे तापनि बनाउन धेरै झन्झट र मिहेनत पर्ने भएकाले मागअनुसार पु¥याउन नसकिरहेको श्रेष्ठ बताउनुहुन्छ ।  प्रतिकिलो रु दुई हजारमा बिक्री भइरहेको सुकुटी व्यापारले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । मासिक रु दुई लाखसम्म आम्दानी भइरहेको उहाँ बताउनुहुन्छ ।  वैदेशिक रोजगारीको सिलसिलामा सात वर्ष कतारमा काम गरेर आउनुभएका शोभितमान श्रेष्ठ नौ वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यापार गर्दै आउनुभएको छ ।  साताको १० किलो मासु ल्याएर सुकुटी बनाउने गरेकामा हाल दैनिक २० देखि २५ किलो सुकुटी बनाउने गरेको उहाँ बताउनुहुन्छ । लक्ष्मीमार्गमा दैनिक राँगाको सुकुटीको माग बढ्दो क्रममा रहेको र आफूलाई भ्याइनभ्याइ भएको उहाँले बताउनुभयो ।  विशेष गरी खाडी मुलुकमा रहेका उहाँ बताउनुहुन्छ । विदेशको भन्दा परिवारसँगै घरमा बसेर गरेको व्यवसायले सन्तुष्टि मिलेको उहाँले बताउनुभयो ।  पूर्व पश्चिम राजमार्ग भएर यात्रा गर्ने धेरै टाढाटाढाबाट यहाँको सुकुटीको स्वाद चाख्न ग्राहकहरु आउने गरेको होटल सञ्चालक टफिनबाबु श्रेष्ठ बताउनुहुन्छ । लक्ष्मीमार्गको नयाँ परिचय यहाँकोे सुकुटी बनेको उहाँले बताउनुभयो ।

लुम्बिनी:     लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएको छ । निर्देशिका अनुसार जटिल रोग लागेका बिरामीले अब रु दुई लाख आर्थिक सहयोग पाउने छन् ।  प्रदेशका १२ जिल्लाका स्वास्थ्य कार्यालयमार्फत मुटुको भल्व फेर्ने, क्यान्सर उपचार र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई दृष्टिगत गरी संशोधित निर्देशिका कार्यान्वयनमा आएको हो ।   मुख्यमन्त्री चेतनारायण आचार्यले एउटा सिफारिस बनाउनकै लागि स्वास्थ्य सेवा निर्देशनालय धाउनुपर्ने बाध्यताको अन्त्य गरिएको र यसबाट बिरामी र उनीहरुका परिवारका सदस्यहरुलाई सहज भएको बताउनुभयो ।   यसअघि प्रदेश स्वास्थ्य सेवा निर्देशनालयबाट उपचार सुविधाको सिफारिस हुँदै आएको थियो । अबदेखि सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयबाट सिफारिस गर्ने व्यवस्था मिलाइएको प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बताउनुभयो ।  लुम्बिनी प्रदेश सरकारले मुटुको भल्ब फेर्न, क्यान्सरको उपचार र मिर्गौला प्रत्यारोपणका लागि एक जना बिरामीलाई रु दुई लाखको व्यवस्था गरेको छ ।