तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

काठमाडौं:    मध्य अफ्रिकी मुलुकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ ।      ‘लाइट इनफेन्ट्री बटालिएन’अन्तर्गत तैनाथ महावीर गण (रेञ्जर)को दोस्रो डफ्फालाई बदली गर्नका लागि युद्धभैरव गणको तेस्रो डफ्फाका दुई सय २५ शान्ति सैनिकको अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको छ ।  उक्त टोलीको नेतृत्व सेनानी हुपेन्द्रलाल रेग्मीले गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।      यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दोस्रो डफ्फामा कार्यरत दुई सय २५ शान्ति सैनिक स्वदेश फर्केका छन् ।  उक्त टोलीको नेतृत्व प्रमुख सेनानी प्रज्ज्वल थापाले गर्नुभएको थियो । हाल सो मिसनमा एक हजार दुई सय ४४ नेपाली शान्ति सैनिक कार्यरत छन् ।

काठमाडौं:    नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारी गर्न कार्यदल गठन गरिएको छ ।      स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अतिरिक्त सचिव डा टङ्क बराकोटीको नेतृत्वमा सेना तथा प्रहरीका अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने गरी व्यवस्था गर्न कार्यदल बनाउनुभएको हो ।  कार्यदललाई सर्वसाधारणलाई समेत सेवा दिनका लागि आवश्यक कार्यविधि तयार गर्न र कार्यान्वयनको सम्भावनाबारे जानकारीसहितको प्रतिवेदन दिन भनिएको छ ।      गत जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र नेपाली सेना मातहतका संस्थाबाट सर्वसाधारणका लागि स्वास्थ्य सेवा खुला गर्ने र स्वास्थ्य मन्त्रालयबाट सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने सहकार्यको ढाँचा एवं कार्यविधि बनाउने निर्णय गरेको थियो ।  मन्त्री पौडेलले गत साता कार्यदललाई सशस्त्र प्रहरी बलद्वारा सञ्चालित अस्पतालका हकमा समेत अध्ययन गर्न निर्देशन दिनुभएको थियो । कार्यदलले विज्ञ तथा सरोकारवालासँग छलफल गरेर कार्यविधि तयार पार्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।      कार्यदलमा गृह तथा रक्षा मन्त्रालयका प्रतिनिधिका साथै सेना, प्रहरी र सशस्त्रका अस्पतालका प्रतिनिधिसँगै मन्त्रालयका अधिकारीहरुसमेत रहेका छन् ।  सर्वसाधारणलाई समेत सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालको सेवा उपलब्ध गराउन मन्त्री पौडेलले विगतको निर्णय कार्यान्वयन गराउन प्रक्रिया अघि बढाउनुभएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

काठमाडौँ:  भक्तपुरमा बाबुछोरा मृत अवस्थामा फेला परेका छन् ।   सोमबार बिहान जिल्लाको सुर्यविनायक नगरपालिका २ बालकोट फिकाधारा टोलमा चार वर्षदेखि डेरा गर्दै आएका खोटाङ रुपाकोट मजुवागढी १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रविन आचार्य मृत फेला परेका हुन् ।    उनीहरु छुट्टाछुटै २ वटा कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । 

सिरहा:     सिरहा कारागार प्रकरणको अनुसन्धान गर्न बनेको छानबिन समितिले झण्डै डेढ महिनापछि अनुसन्धान प्रतिवेदन बुझाएको छ ।  समितिले गत बिहीबार नै प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा बुझाएको छानबिन समितिका सदस्य तथा जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी रवीन्द्रकुमार महतले जानकारी दिनुभयो ।  सूचना अधिकारी महतका अनुसार अनुसन्धान प्रतिवेदन ९० पृष्ठको रहेको छ । उहाँले भन्नुभयो, “प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल बिदामा हुनुहुन्छ । सम्भवत उहाँ बिहीबार कार्यालय आउनुहुन्छ । उहाँ आएपछि जिल्ला सुरक्षा समितिको बैठकमा प्रतिवेदन पेस हुन्छ र प्रतिवेदन सार्वननिक हुन्छ ।”  गत कात्तिकमा कैदीहरुले कारागारभित्रै मदिरा सेवन गर्नेदेखि अवैध लागुऔषधसमेत कारोबार गर्ने गरेको सूचना बाहिरिएपछि सो सम्बन्धमा सम्बन्धमा अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीको नेतृत्वमा कात्तिक २५ गते पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो ।  छानबिन समितिमा जिल्ला प्रशासन र कारागार कार्यालयका प्रतिनिधिसमेत रहेका थिए ।कारागारका मूल नाइके र अन्य कैदीले मदिरा खाँदै गरेको तथा मोबाइल चलाउँदै गरेको घट्ना प्रमाणसहित सञ्चारमाध्यममा सार्वजनिक भएको थियो ।  त्यस्तै कारागारमा ५ गुणासम्म मूल्यमा लागुऔषधसहित बाहिर पाइने सबै कुरा उपलब्ध हुने जानकारी बाहिरिएको थियो । यस प्रकरणमा कारागार व्यवस्थापन विभागले तत्कालै जिल्ला प्रशासन कार्यालय सिरहालाई घटनाको छानबिन गरी संलग्नलाई कारबाही गर्न र कारागार कार्यालय सिरहालाई घटनाबारे प्रतिवेदन पठाउन लिखित रूपमा निर्देशन दिएको थियो ।  त्यसपछि गठन भएको छानबिन समितिलाई सुरुमा अनुसन्धान प्रतिवेदनका लागि १५ दिनको समय दिइएको थियो । तर, समयमै अनुसन्धान तथा छानबिनको काम नसकिएपछि जिल्ला सुरक्षा समितिले समय थप गरेको थियो ।  कारागारको अवलोकन, विद्यमान अवस्थाको अध्ययन, भौतिक संरचना तथा सुरक्षा व्यवस्थाको अवस्था, प्रशासनिक प्रणालीको अध्ययन, कैदीसँग छलफल तथा अन्तरक्रिया, कैदीसँग सम्बन्धित अभिलेख सङ्कलन, नीति नियम तथा निर्देशिकाको अध्ययन, सरोकारवालासँग अन्तरक्रियालगायतका काम गरी प्रतिवेदन तयार गर्न समय लागेको छानबिन समितिका सदस्य तथा जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी महतले जानकारी दिनुभयो । 

काठमाडौं:     सहकारी ठगी आरोपमा काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ का वडा अध्यक्ष नुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।  ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उहाँलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

नेपालगञ्ज:     स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि र स्तरीय उपचारको व्यवस्था गरिने बताउनुभएको छ ।  भेरी अस्पताल, नेपालगञ्जमा आज स्थापना गरिएको अत्याधुनिक ‘अपरेसन थिएटर’को उद्घाटन गर्दै मन्त्री पौडेलले सिकलसेल र थालेसेमियाका बिरामीको उपचारमा सरकारले कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यसका बिरामीका लागि सात प्रदेशका प्रादेशिक अस्पतालहरूमा छुट्टै वार्डको प्रबन्ध गरिनेछ ।”  सिकलसेलका बिरामीका लागि भारत सरकारसँग औषधि माग गर्न पत्राचार भएको र अन्तिम चरणमा रहेको जानकारी दिँदै मन्त्री पौडेलले भारतले औषधि दिने सहमति जनाएपछि सबै प्रक्रिया पूरा गरिएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “सिकलसेल रोगको उपचारका लागि वार्ड स्थापना गरिएका सबै अस्पतालमा सिकलसेलको औषधि पठाइनेछ, त्यहीँबाट बिरामीलाई आवश्यकताअनुसार वितरण गरिनेछ ।” मन्त्री पौडेलले सरकारले बिरामीको उपचारका लागि विभिन्न काम गरिरहने जनाउँदै रोग लाग्नै नदिन तथा रोगबाट जोगिन विभिन्न चेतनामूलक कार्यक्रमहरू पनि नियमित सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।  बीमालाई व्यवस्थित गर्ने काम पनि सरकारले गरिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले बीमालाई योगदानमा आधारित बनाउन लागिएको बताउनुभयो । सिकलसेलका बिरामीका लागि छुट्टै वार्ड स्थापना गरिएपछि अब बिरामीले बेड नपाउने समस्या समाधान भएको उहाँले उल्लेख गर्नभयो ।  बर्दियाको बारबर्दियाका बिरामी दीपक थारूले अब औषधिलाई बिमाभित्र पार्नुपर्नेमा जोड दिनुभयो ।  सो अवसरमा सिकलसेल वार्डको निरीक्षण गर्दै मन्त्री पौडेलले बिरामीहरूसँग पनि उपचार र अन्य समस्याका बारेमा जानकारी लिनुभयो ।  कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदी, सिकलसेल एनिमियाको उपचारमा लामो समयदेखि संलग्न वरिष्ठ चिकित्सक डा राजन पाण्डे, सिकलसेल सोसाइटी नेपालका अध्यक्ष प्रभुराम थारू लगायतले सिकलेलको अवस्था, उपचार र समस्या समाधानको उपायबारे धारणा राख्नुभएको थियो ।  भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह, सदस्य डा डक्टप्रसाद धिताल र अस्पतालका प्रमुख नरसिं प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठले अस्पतालमा जनशक्ति थप्नुपर्ने तथा बीमाको रकम तत्काल पठाउन लगाउनुपर्नेमा मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । बाँके, बर्दियालगायत पश्चिम नेपालमा सिकलसेल एनिमियाका बिरामीहरू धेरै रहेका छन् । 

म्याग्दी:      म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबेँसीका स्थानीय कृषिबाट आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । केही वर्षअघि सम्म अन्नबाली मात्र लगाउने यहाँका स्थानीय अहिले व्यावसायिक रूपमा तरकारी र फलफूलखेतीमा आकर्षित भएका हुन् ।  बेँसी जडीबुटी तथा कृषि समूह गठन गरेर हिउँदे र बर्खे ‘सिजन’मा व्यावसायिक रूपमा तरकारीखेती गर्न थालेका छन् ।कृषि उपजको आयात घटाउनाका साथै उत्पादित कृषि उपज बिक्री गरेर आयआर्जन गर्न र आत्मनिर्भर बन्न व्यावसायिक तरकारीखेतीले सहयोग पुगेको स्थानीय कृषक अमर पुनले बताउनुभयो ।  २ वर्षदेखि टनेलमा गोलभेँडाखेती गर्नुभएका पुनले उत्पादन भएको कृषि उपज बिक्री गर्न समस्या नभएको बताउनुभयो । “पहिले घरमा खानका लागि मात्र कृषि उपज उत्पादन गर्ने चलन थियो, गाउँमा सडकको पहुँच आएसँगै यहाँ उत्पादन भएको कृषि उपज सजिलै बजारसम्म पुग्ने अवस्था बनेपछि यहाँ धेरैले कृषिलाई पेसाकै रूपमा अघि बढाएका छन्, मैले पनि दुई वर्षदेखि कृषिबाट आफ्नो परिवारको घर खर्च जुटाउँदै आएको छु”, पुनले भन्नुभयो ।  यहाँका स्थानीयले गोलभेँडा, आलु, बन्दा, काउली, सागलगायत तरकारीखेती विस्तार गरेका छन् ।छिमेकीगाउँ, मल्कबाङ, मलम्पार, बुल, राम्चेलगायत ठाउँका स्थानीयले यहाँ उत्पादन भएको कृषि उपज करेसाबारीबाटै खरिद गरेर लैजाने गरेका छन् ।  धेरै उत्पादन भएको कृषि उपज दरबाङ बजारसम्म निर्यात हुने गरेको छ । मराङबेँसीमा चारजनाले टनेलमा गोलभेँडाखेती गर्नुभएको छ । पन्ध्र घरधुरी आलु, बन्दा, काउलीलगायत तरकारीखेतीमा आबद्ध भएका छन् ।  गाउँका स्थानीय कुनै न कुनै कृषि पेसामा लागेको स्थानीय भक्तबहादुर जुग्जालीले बताउनुभयो ।“मैले टनेलमा सागखेती गरेको छु, चिसो हावापानीमा उत्पादन भएको साग स्वादिलो हुने भएकाले धेरैले मन पराउने गरेका छन्, गाउँमा उत्पादन भएको कृषि उपज बिक्री नहोला भन्ने पीर हुँदैन”, उहाँले भन्नुभयो ।  कृषिसँगै भैँसीपालनबाट समेत स्थानीय आत्मनिर्भरको बाटोमा लागेका छन् । हरेक घरमा तरकारीखेती र दुहुना भैँसीपालन गर्ने यहाँको विशेषता नै बनेको छ ।गाउँमा यस वर्ष हिउँदे आलुखेतीले व्यावसायिकता पाएको छ । यहाँ करिब २० रोपनीमा हिउँदे आलुखेती गरिएको छ ।  बेँसीसँगै बुलमा समेत व्यावसायिक आलुखेती हुँदै आएको छ । यस वडाको घण्टीबाङमा खाद्यान्न बाली विस्तार र राम्चेमा लसुन तथा गोलभेडा विस्तार अभियान चलाइएको छ ।  गाउँका स्थानीयलाई कृषिमा व्यावसायिक बनाउन वडा कार्यालयले समेत कृषि समूह गठन गरेर कृषकलाई बल, बीउ र औषधोपचारमा सघाउन थालेको धवलागिरि गाउँपालिका–६ मराङका वडाअध्यक्ष राजाराम उपाध्यायले जानकारी दिनुभयो ।  परम्परागत कृषिखेतीलाई व्यावसायिकता दिएपछि स्थानीयवासीको आयआर्जन सुधार हुन थालेको वडाअध्यक्ष उपाध्यायले बताउनुभयो ।मराङमा व्यावसायिक तरकारीबालीसँगै फलफूलखेतीको समेत अभियान चलेको छ ।  विविध कारणले गाउँमा बसोबास गर्नेहरूको सङ्ख्या घट्दै जाँदा खेतीयोग्य जमिन बाझिने समस्या बढेपछि स्थानीयले नगदेबालीका रूपमा सुन्तलाखेतीलाई विस्तार गरेका छन् ।  गत आर्थिक वर्षमा मराङमा धवलागिरि गाउँपालिकाले २ हजार २ बोट सुन्तलाका बिरूवा अनुदानमा वितरण गरेको थियो । यहाँका टोलबस्तीहरू सुन्तला उत्पादनमा समेत पकेट क्षेत्रका रूपमा विकास भइरहेका छन् ।

बागलुङ:     नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले सहकारीको ऋण तिर्दिन भनेर सडकमा हुने आन्दोलन अराजकता भएको बताउनुभएको छ ।  सम्पत्ति खरिद गर्न र दुःखमा मलम लगाउन सहकारीबाट लगेको ऋण नतिर्दा सहकारीहरू समस्यामा पर्ने बताउँदै उहाँले ऋण तिर्दिन भन्न नपाइने बताउनुभयो । “सहकारीबाट ऋण लैजाने, तिर्दिन भनेर सडकमा आन्दोलन गर्ने अराजकलाई सरकारले ठेगान लगाउन आवश्यक छ”, नेता पौडेलले भन्नुभयो । आज बागलुङ बजारमा सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ वार्षिक साधारणसभालाई उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य रहनुभएका पौडेलले एउटा केही बदमासी गर्ने सहकारीका कारण समग्र सहकारीहरू बदनाम भएको बताउनुभयो ।  सहकारीका ऋणीहरूलाई ऋण तिर्ने कसिलो नीति सरकारले बनाउने उहाँको भनाइ छ । 

काठमाडौं:    प्रथम राष्ट्रपति डा रामवरण यादवले पत्रकारिताको पेसागत व्यावसायिक मर्यादा र गरिमालाई कायम राख्न पत्रकारले आफ्नो धर्म र नैतिक इमान्दारितालाई अक्षुण्ण राख्न सक्नुपर्ने बताउनुभएको छ ।  नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशको तेस्रो पद हस्तान्तरण कार्यक्रमका अवसरमा यहाँ आयोजित ‘पत्रकार भइरहन कति सहज रु’ विषयक अन्तरक्रियामा उहाँले पत्रकारिताको धर्म र नैतिकतालाई व्यवस्थित गरेर लैजान सकेको खण्डमा सिङ्गो पत्रकारिताको माध्यमबाट लोकतन्त्र र प्रजातन्त्र सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।  “पत्रकारले आफ्नो व्यावसायिक धर्म छाड्नु हुँदैन । नकि पत्रकार, चिकित्सक, वकिल र राजनीतिकर्मी सबै आफू जहाँ छौँ आ–आफ्नो धर्म निर्वाह गर्नुपर्छ यसबाटै देश र समाजको बृहत्तर हित हुन्छ”, प्रथम राष्ट्रपति डा  यादवले भन्नुभयो, “आजको दुनियाँमा नैतिकताको ह्रास भइरहेको छ । यस्तो बेलामा पत्रकारको आफ्नो धर्म छ । तपाइँहरू जहाँ हुनुहुन्छ । व्यावसायिक धर्म नछोड्नुस् ।” पत्रकार देश र समाजको प्रतिनिधित्व गर्ने वर्ग भएकाले पेसागत दायित्व र नैतिक इमान्दारिता कायम गरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा समावेशी चरित्रको संविधान बनेको भन्दै यसको संरक्षण र प्रवर्द्धन गर्न सबै क्षेत्रको उत्तिकै दायित्व हुने उल्लेख गर्नुभयो । १ अर्को प्रसङ्गमा प्रथम राष्ट्रपति डा यादवले आज संसारमा प्रजातन्त्रको क्षयीकरण भइरहेको सन्दर्भमा आफू विद्यार्थी राजनीति, चिकित्सा पेसा र पछिल्लो पदीय जिम्मेवारीमा रहदाँ करिब ८३ वर्षको उमेरमा लोकतन्त्रमाथि खतरा छभन्दा असाध्यै दुःख लाग्ने गरेको सुनाउनुभयो ।  उहाँले संविधानको सफल कार्यान्वयनका लागि सानातिना गुनासालाई सम्बोधन गरेर सचेतनापूर्वक अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले व्यावसायिक र जिम्मेवार पत्रकारिताको विकास गर्नेतर्फ महासङ्घ क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।  नेता रिजालले सातबुँदे सहमतिको भावनाअनुरूप सरकार सफल रूपमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले यथेष्ट सहमतिका साथ देखिएका निराशालाई चिर्दै सबै राजनीतिक दलसँगको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाइनुपर्ने खाँचो औँल्याउनुभयो ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पत्रकारिता व्यावसायिक पत्रकारिताको विकास र अभिव्यक्ति स्वतन्त्रताको विस्तार मात्र नभई नागरिकमा सचेतना र सकारलाई खबरदारी गर्ने महत्त्वपूर्ण माध्यम रहेको भन्दै यसको महत्त्व र प्रतिष्ठालाई जोगाउन स्वयम् पत्रकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।  उहाँले लोकतन्त्रमा पत्रकारिता समाजनको निरन्तर आन्दोल भएको भन्दै लोकतन्त्रलाई गति दिन आत्माका रूपमा पत्रकारिताले काम गरिरहेको बताउनुभयो ।नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्राको संरक्षणका साथै श्रमजीवी पत्रकारको पेसागत र व्यावसायिक मुद्दा प्राथमिकतासाथ उठाउने विश्वास व्यक्त गर्नुभयो  ।  पछिल्लो समय पत्रकारको समाचारसँगको पहुँच सङ्कुचन भइरहेको र त्यसमा सरकार, राजनीतिक दलले सूचना प्रणालीलाई चुस्त र दुरूस्त बनाउनुपर्ने अपरिहार्य भएको उहाँले उल्लेख गर्नुभयो । महासङ्घका पूर्वअध्यक्ष बिपुल पोखरेलले महासङ्घलाई सशक्त बनाउन र लेख्ने पत्रकारको संस्थाका रूपमा विकास गर्न प्रतिष्ठान प्रदेश समितिको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले श्रमजीवी पत्रकारका धेरै मुद्दा थाती रहेकाले तिनको पैरवी गर्न नयाँ नेतृत्वले सफल हुनुपर्छ भन्नुभयो ।       नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले निर्वाचनपछि महासङ्घ साझा चरित्रको भएको भन्दै थाती रहेका पत्रकारको सदस्यता शुद्धीकरण र पत्रकारितामा देखिएका अविश्वास कम गर्न महासङ्घले पैरी गर्नुपर्ने उल्लेख गर्नुभयो ।       पत्रकार एवं लेखक मोहन मैनालीले पत्रकारिताको व्यावसायिक धर्म र आचरणलाई जोगाएर पत्रकारिताप्रति नागरिक र सरोकारवालाको भरोसा कायम राख्न पत्रकार क्रियाशिल हुनुपर्ने बताउनुभयो ।  प्रतिष्ठान प्रदेश समितिका निवर्तमान अध्यक्ष बालकृष्ण अधिकारीले साढे तीन वर्षको कार्यकालमा पेसागत दक्षता र सङ्गठनलाई चुस्त बनाउनाका साथै पत्रकारलाई क्रियाशील बनाउन थोरै भए पनि प्रतिष्ठानले दायित्व निर्वाह गरेको बताउनुभयो । सो अवसरमा महासङ्घका नवनिर्वाचित केन्द्रीय अध्यक्ष निर्मला शर्मालाई प्रतिष्ठानका तर्फबाट प्रथम राष्ट्रपति डा यादवले सम्मानपत्र प्रदान गर्नुभयो । साथै प्रतिष्ठानका निर्वाचित कार्यसमित र मतदान अधिकृतलाई प्रसंशापत्रद्वारा सम्मान गरियो ।