गण्डकी: पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीलाई बयानका लागि अदालतमा पेस गराइएकामा प्रतिवादी छविलाल जोशीको बयान आज सकिएको छ । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (डीआइजी) समेत रहनुभएका जोशीको जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा दुई दिन लगाएर बयान लिइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । जोशीको बयान सकिएपछि अर्का प्रतिवादी लीला पछाइको बयान सुरु गरिएको उहाँले बताउनुभयो । पछाइको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने सूचना अधिकारी अधिकारीले बताउनुभयो । सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि सोमबार अदालतमा उपस्थित गराइएको थियो । सबै प्रतिवादीको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने जनाइएको छ । यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेलगायत विरुद्ध मुद्दा दायर गरेको थियो ।
पोखरा: नेपाल ह्योल्मो समाज सेवा समिति, पोखराको आयोजनामा एक महिने ह्योल्मो भाषा प्रशिक्षण कक्षा शुभारम्भ भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान सँगको सहकार्यमा सञ्चालन भएको प्रशिक्षणमा कास्कीका विभिन्न भागमा बसोबास गर्ने ३० जना ह्योल्मो समुदायका व्यक्तिहरूको सहभागी रहेको छ । भाषा प्रशिक्षण कक्षाको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले नेपाल बहुभाषिक, बहु जातीय मुलुक भएको उल्लेख गर्दै मुलुकको विविधतालाई बचाउन विभिन्न समुदायमा सदियौँ देखि प्रचलनमा रहिआएका भेसभुसा, कला, संस्कृति तथा भाषा जस्ता महत्त्वपूर्ण पक्षहरूको संरक्षण तथा संवर्धन आवश्यक रहेकोमा जोड दिए । कार्यक्रमका विशेष अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेश भित्र १०६ वटा भाषाहरू प्रचलनमा रहेको उल्लेख गर्दै सबै भाषाहरूलाई जोगाउँदै गण्डकी प्रदेशलाई भाषा तथा सांस्कृतिक रूपमा उदाहरणीय बनाउन प्रज्ञा प्रतिष्ठान सक्रिय रहेको जानकारी दिए। कार्यक्रममा खेन्पो फुन्छोग लामा, भाषा प्रशिक्षक मिङ्मार ह्योल्मो, पोखरा ह्योल्मो गुम्बा समितिका अध्यक्ष सुमित्रा ह्योल्मो लगायतले ह्योल्मो भाषा पुरानो तथा उत्कृष्ट रहेको र लवज एवं व्याकरण समेत उत्कृष्ट रहेकाले यसको जगेर्ना गर्नुपर्नेमा जोड दिए । नेपाल ह्योल्मो समाज सेवा समिति पोखराका अध्यक्ष क्याप्टेन पूर्ण बहादुर ह्योल्मोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत ह्योल्मो आमा समूह कास्कीका अध्यक्ष रिता ह्योल्मोले गर्नुभएको थियो भने सञ्चालन पूर्ण ह्योल्मोले गर्नुभएको थियो ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पोखराका केही क्षेत्रमा स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्रको आदेश हटाउन माग गरेको छ । रास्वपा कास्कीका सभापति यदुनाथ अधिकारीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाउँदै निषेधित क्षेत्रको आदेश हटाउन माग गरेका हुन् । दुई महिनाभन्दा बढी समयदेखि निषेधित क्षेत्र कायम रहँदा पर्यटकहरूको आवागमन तथा व्यापार व्यवसायमा असर परिरहेको र अंग्रेजी नयाँ वर्षको अवसरमा हुन लागेको सडक महोत्सव सहितका कार्यक्रमहरूसमेत प्रभावित हुने अवस्था रहेको रास्वपाको भनाइ छ । रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी ४ गते कास्की जिल्ला अदालतमा उपस्थित गराएसँगै शहीदचोक, जिल्ला अदालत आसपास र जिल्ला प्रहरी कार्यालय रहेको गैह्रापाटन क्षेत्रलाई जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधित क्षेत्र घोषणा गरेको थियो । सभापति लामिछाने विरुद्ध लगाइएको अभियोगको हकमा अदालती प्रक्रियालाई पूर्ण रुपमा सघाउने पार्टी सचिवालयको पुस ८, २०८१ को निर्णय समेतका आधारमा निषेधित क्षेत्र हटाउनका लागि अनुरोध गरेको रास्वपाले जनाएको छ ।
कास्की: अन्नपूर्ण गाउँपालिका –११ छोम्रोङमा सेन्चुरी युवा क्लबले ‘२३ औं सेन्चुरी ल्होसार मेला’ आयोजना गर्ने भएको छ । तमु समुदायको महान् पर्व ल्होसार÷ल्होछारको अवसरमा यही पौष ११ गतेदेखि १४ गतेसम्म ल्होसार मेला आयोजना गरिने क्लबका वरिष्ठ सल्लाहकार राजकुमार गुरुङले जानकारी दिए । उनले संस्कृतिको संरक्षण, खेल तथा पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यसहित विगत लामो समयदेखि ल्होसार मेला सञ्चालन गर्दै आएको बताए । ‘हामीले विगत लामो समयदेखि ल्होसार मेला गर्दै आएका छौ, उनले भने, ‘यो वर्षपनि पुषको ११ गतेदेखि मेला राखेका छौ । यसले खेलकुदको विकाससँगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएका छौं ।’ उनका अनुसार सो मेलामा मुख्य आकर्षणको रुपमा भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता समावेश गरिएको छ । उनले पुरुष भलिबल तथा बास्केटबल दुवौ प्रतियोगिताको विजेता टिमलाई ८० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए । उनका अनुसार दोस्रो र तेस्रो हुने टिमले क्रमश: ५० हजार र २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । दुवै खेलमा टिम सहभागिता जनाउन दर्ता शुल्क ५ हजार निर्धारण गरिएको छ । मेलालाई थप आकर्षक बनाउन विभिन्न साँस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ ।
काठमाडौं: विमान अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडान ठप्प भएको छ । उडानमा रहेको एक मात्रै ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि निगमको आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएको हो । निगमसँग आन्तरिक उडानमा दुई थान ट्वीनअटर विमान छन् । तीमध्ये एउटा विमान गत जेठदेखि ग्राउण्डेड छ भने अर्को पनि हालै ग्राउण्डेड भएको छ । प्राविधिक समस्या आएकाले आइतबारदेखि आन्तरिक उडान हुन नसकेको निगमका प्रवक्ता रमेश पौडेलले बताउनुभयो । उहाँले ताकेता गरेर सकेसम्म चाडै विमान उडान सेवा सञ्चालन गरिने बताउनुभयो । “प्राविधिक समस्या आएकाले केही समयलाई विमान ग्राउण्डेड भएको हो”, उहाँले भन्नुभयो,“समस्या समाधानका लागि आवश्यक प्रक्रियामा सुरु भइसकेको छ । अघिल्लो विमान ग्राउण्डेड भएलगत्तै यो प्रक्रिया सुरु भएको हो ताकेता गरेर छिट्टै काम हुन्छ ।” निगमले काठमाडौँ र क्षेत्रीय हब विमानस्थलबाट दुर्गम क्षेत्रमा आन्तरिक उडान गर्दै आएको छ । निगमसँग अन्तराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० विमान छन् ।
पोखरा: स्याङजाको कोल्मामा सम्पन्न पाँचौं संस्करणको क्रस कन्ट्री दौडमा नेपाली सेनाका करण रावल च्याम्पियन बनेका छन् । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको प्रतियोगिताको खुला विधामा रावलले निर्धारित २५ किलोमिटर १ घण्टा २७ मिनेट ५२ सेकेण्डमा पार गर्दै च्याम्पियन बनेका हुन् । यस्तै सेनाकै टंकबहादुर कार्की (१ घण्टा ३२ मिनेट ९ सेकेण्ड) दोश्रो र रमेश लिम्बु (१ घण्टा ३२ मिनेट ५६ सेकेण्ड) तृतीय बने । उनीहरुलाई क्रमश: नगद ५० हजार, ४० हजार र ३० हजार रुपैयाँसहित ट्रफि र मेडल प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष्ता सुबेदार मेजर दुत प्रसाद गुरुङले जानकारी दिए । यसैगरी २१ वर्षमुनि पुरुषतर्फ निर्धारित १० किलोमिटर दुरी ४६ मिनेट ३५ सेकेन्डमा पार गर्दै सनम गुरुङले प्रथम बने । सल्यानका रुद्र बुढाथोकी (५० मिनेट १४ सेकेन्ड) द्वित्तिय र गोर्खाका अशोक बराम ( ५१ मिनेट ५१ सेकेण्ड) तृतीय बने । उनीहरुले क्रमश: नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित ट्रफि र मेडल हात गरे । यस्तै खुला महिलातर्फ १ घण्टा १२ मिनेट २६ सेकेन्डमा निर्धारित १० किलोमिटरको दुरी पार गर्दै रविना बुढामगर प्रथम बनिन् । भने, विमला मानन्धर (१ घण्टा १५ मिनेट २८ सेकेन्डमा) द्वित्तिय बनिन् । उनीहरुले क्रमश: नगद १५ हजार, १० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गरेको सचिव जीवन थापामगरले जानकारी दिए । उनका अनुसार विद्यार्थी विधातर्फ ५ किलोमिटर दौडमा कोल्मा बराहचौरका विधार्थीको टोली प्रथम र द्वित्तिय बन्यो भने, जनजागृती माविको टोली तृतीय बन्यो । उक्त टोलीलाई क्रमश: १२ हजार, ८ हजार र ४ हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाणपत्र पदान गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, सात सय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष सुवेदार मेजर दुत प्रसाद गुरुङ, गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक चर्ती मगर, मेखलाल श्रेष्ठ, पुतली बजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, उपमेयर देवी अर्याल लगायतको सहभागिता थियो ।
काठमाडौं: नेपाली दूतावास, बैंककले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरेको छ । उद्धार गरी ‘टाक इमिग्रेसन अफिस’ मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच नेपाली नागरिकमध्ये चार (पुरुष) थाई सरकारी निकाय ‘आइओएम’ थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासहितको सहयोगमा एक साताअघि नेपाल फर्काइएको थियो । एकजना महिलालाई भने आज नेपाल फर्काइएको दूतावासले जनाएको छ । नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो धेरै पैसा कमाउने चाहना राखेर कम्बोडिया, लाओस, म्यानमार र थाइल्याणलगायत वैदेशिक रोजगारीमा नआउन पनि दूतावासले अनुरोध गरेको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक श्यामबाबु ओलियाले कास्कीमा चन्दा आतंक व्याप्त रहेको बताउँदै यसलाई बन्द गर्नुपर्ने बताएका छन । मंगलबार लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै एस पि ओलियाले जिल्लामा चन्दा आतंक रोेक्न व्यवसायीहरु लाग्नुपर्ने बताए । उनले राज्यलाई नियमपुर्वक कर तिरिरहेका व्यवसायीहरुले विभिन्न बहानामा चन्दा दिन नहुने पनि बताए । एस पि ओलियाले सुरक्षा र आर्थिक विकास अन्र्तसम्बन्धीत रहेको र सुरक्षा व्यवस्था चुस्त दुरुस्त रहेको ठाउँमा आर्थिक क्रियाकलाप पनि फस्टाउने वताउँदै व्यवसायीहरुलाई ढुक्क भएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन जिल्ला प्रहरी कार्यालय कास्की सधैं तत्पर रहेको बताएका थिए । उनले चन्दा आतंक बाहेक पनि जिल्लामा चेक बाउन्सका मुद्धा, अनलाई स्क्याम, सवारी दुर्घटना हुने क्रम वढ्दो रहेको र जिल्ला भित्रिने नाकाहरुमा डिजिटल चेक पोष्टको आवश्यकता रहेको वताउँदै यसमा व्यवसायीहरुसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा ईलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवण कुमार वि.क.लाई पनि स्वागत गरिएको थियो । उक्त अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले लेखनाथ क्षेत्रको विकासमा विगतदेखी संघले खेलेको भुमिकाको बारेमा जानकारी गराउँदै व्यवसायीहरुका विभिन्न समस्याहरुका विषयमा जानकारी गराउँदै सहजीकरणको लागी आग्रह गरेका थिए । यसै गरि संघका अध्यक्ष विनोद श्रेष्ठले स्वागत एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जिल्लामा शान्ति सु–व्यवस्था राम्रो हुँदै गएको र यहि पुस १८ गतेदेखी आयोजना हुने २०औं लेखनाथ महोत्सवमा पनि सुरक्षा व्यवस्था प्रभावकारी बनाईदिन आग्रह गरेका थिए । संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव जानुका अधिकारीले र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।
बुटवल: सुस्तमनस्थिति (बौद्धिक अपाङ्गता) भएका बालबालिकाका लागि सञ्चालित यहाँस्थित बालविद्या मन्दिरमा यसक्षेत्रका सुस्तमनस्थिति रहेका बालबालिकाले सेवा लिइरहेका छन् । सो विद्यालयका अध्यक्ष समेत रहनुभएका लोकनाथ भुसालले विद्यालयमा अध्ययनरत बालबालिकालाई जीवन उपयोगी सीप सिकाउने गर्नुभएको छ । उहाँका अनुसार यो विद्यालय सुस्तमनस्थिति भएका बालबालिकाकै अभिभावक मिलेर स्थापना गरिएको हो । उहाँले सुस्तमनस्थिति भएका बालबालिकालाई सेवा दिन समस्या भए पनि उनीहरुको भविष्यलाई ध्यानमा राखी काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा सक्नेलाई सीप सिकाइन्छ, नसक्नेलाई जीवन उपयोगी व्यवहार सिकाइन्छ ।” कमजोर बालबालिकाकालाई खाद्यान्न र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि दिने गरेको अध्यक्ष भुसालले जानकारी दिनुभयो । विसं २०५१ मा स्थापना भएको यस विद्यालय सञ्चालनमा लाग्ने खर्चका लागि अभिभावकहरुले पनि सहयोग गरेका छन् । बुटवल उपमहानगरपालिकाले हाल वार्षिक रु चार लाख अनुदान दिएको छ । यस विद्यालयमा भर्ना गरेपछि अपाङ्गता भएको १६ वर्षीय छोरामा धेरै सुधार भएको बुटवल उपमहानगरपालिका–७ की गङ्गा कुँवरले बताउनुभयो । छोरालाई बालविद्या मन्दिरमा ल्याएपछि आएको परिवर्तनले धेरै खुसी लागेको उहाँ बताउनुहुन्छ । यस विद्यालयमा भर्ना गरेपछि तिलोत्तमा–२ शङ्करनगरकी खिमा रेग्मी पनि १२ वर्षकी छोरी आकृष्टामा सुधार देखिएको बताउनुहुन्छ । दुई वर्षअघि विद्यालय भर्ना गरिएकी आकृष्टा हाल अरुको साहारामा हिँड्नसक्ने हुनुभएको खिमाले बताउनुभयो । गङ्गा र खिमामात्र होइनन् । उहाँहरु जस्ता धेरै अभिभावकहरु यस विद्यालयले प्रदान गरेको सेवा र अध्यापनबाट सन्तुष्ट हुनुहुन्छ । हाल यस विद्यालयमा ८० जना बालबालिका अध्ययनरत छन् । दिवा समयमा ५० जना बालबालिका विद्यालयमा आउँछन् भने ३० जना विद्यालय आउन नसक्नेलाई गृहभेटमार्फत सेवा दिइरहेको छ । बालविद्या मन्दिर विद्यालयका प्रधानाध्यापक मीना भुसालले शारीरिक र बौद्धिक अपाङ्गता भएका बालबालिकालाई नियमित फिजियोथेरापी गराउने गरेको बताउनुभयो । राष्ट्रिय अपाङ्गता महासङ्घका केन्द्रिय सदस्य एवं अपाङ्गता राष्ट्रिय निर्देशन समितिका सदस्य सावित्रा घिमिरे दिनप्रतिदिन बौद्धिक अपाङ्गता बढ्दो क्रममा रहेकाले सुस्तमनिस्थितिका बालबालिकालाई अभिभावकले पहिचान गर्न जरुरी रहेको बताउनुहुन्छ ।

