तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

पोखरा:    विभेद्को डरले समाजमा खुल्न नसकेका एचआइभी सङ्क्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट बञ्चित भएका छन् । निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा समावेश हुन सम्बन्धित वडाबाट सिफारिस लिनुपर्ने व्यवस्थाका कारण एचआइभी सङ्क्रमित समस्यामा परेका हुन् ।  एचआइभीको क्षेत्रमा क्रियाशील धवलागिरि पोजेटिभ समूहका वित्त तथा कार्यक्रम संयोजक सुवास कँडेलले बागलुङमा कूल २ सय ८ जना एचआइभी सङ्क्रमितमध्ये ३४ जनाको स्वास्थ्य बिमा हुनसकेको छैन । “१ सय ७४ जनाको निःशुल्क स्वास्थ्य बिमा भएको छ, समाजमा खुल्न नचाहने र विभेद्को डरले ३४ जना स्वास्थ्य बिमामा समेटिन सक्नुभएको छैन”, उहाँले भन्नुभयो, “उहाँहरूका लागि धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्र वा धवलागिरि पोजेटिभ समूहमार्फत बिमाको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग हाम्रो माग छ ।”  निःशुल्क स्वास्थ्य बिमा गर्न नपाएकामा जिल्लाको गलकोट, ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला गाउँपालिकालगायत विभिन्न स्थानीय तहका एचआइभी सङ्क्रमित रहेका छन् ।  बिमा सुविधाबाट बञ्चित हुँदा एचआइभी सङ्क्रमित महँगो उपचार सेवा लिन बाध्य छन् । सरकारले एचआइभी सङ्क्रमितका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको छ ।  कतिपय स्थानीय तहले आफ्नै बजेटबाट एचआइभी सङ्क्रमितको स्वास्थ्य बिमा गर्दै आएका छन् । स्वास्थ्य कार्यालय, बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले स्वास्थ्य कार्यालयको सिफारिसमा या अन्य आधिकारिक निकायमार्फत एचआईभी सङ्क्रमितको बिमा गरिदिने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।  “बिमाको सिफारिसका लागि सङ्क्रमित आफ्नै ठाउँमा जानुपर्ने भएकाले उहाँहरूलाई समस्या भएको हो”, उहाँले भन्नुभयो, “एचआइभी सङ्क्रमितलाई सहज रूपमा स्वास्थ्य बिमाको सुविधा दिन स्वास्थ्य बिमा बोर्डले पहल लिनु आवश्यक छ ।”  यसअघि धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्रबाट एचआइभी सङ्क्रमितको स्वास्थ्य बिमा हुँदै आएकामा अहिले बजेट कटौती भएपछि उक्त केन्द्रबाट बिमा हुन छाडेको छ ।  धवलागिरि पोजेटिभ समूहका अनुसार जिल्लामा रहेका कूल दुई सय आठ एचआइभी सङ्क्रिममध्ये २२ जना बालबालिका रहेका छन् । सङ्क्रमितमध्ये एक सय ५२ जनाले धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्रबाट औषधोपचारको सेवा लिइरहेका छन् ।  जिल्लाको ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ अस्पतालबाट पनि एचआइभी सङ्क्रमितका लागि औषधि उपलब्ध गराइँदै आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

धरान:    अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आगामी माघमा हुनेभएको छ ।   आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी माघ १९ गतेदेखि २६ गतेसम्म प्रतियागिता आयोजना हुने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङ्ले जानकारी दिनुभयो ।धरान उपमहानगरपालिका–१६ रङ्गशालामा हुने प्रतियोगितामा १० वटा क्लबको सहभागी रहनेछ ।  प्रतियोगितामा एनआरटी क्लब काठमाडौं, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकाडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृती क्लब, युके एफसि भारत, मच्छि«न्द्र क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, र धरान फुटबल क्लब रहने जनाइएको छ । प्रतियोगिताको विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले नगद रु एक लाख र प्रत्येक खेलको प्लेयर अप दि म्याच हुनेले रु १५ हजार सर्वाधिक गोलकर्ताले रु ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउने अध्यक्षले बताउनुभयो ।  प्रतियोगिता रु ८० लाख १० हजार खर्च हुने अनुमान गरिएको छ भने रु १ करोड दुई लाख २५ हजार आम्दानी हुने लक्ष्य राखिएको क्लबका महासचिव नवीन राईले बताउनुभयो ।  प्रतियोगितामा उपविजेताले पाउने रु ५ लाख धरान उपमहानगरपालिका–१५ निवासी हाल पोर्चुगलमा रहनुभएको अरुण राईले प्रदान गर्ने अध्यक्ष तामाङले बताउनुभयो ।प्रतियोगिताको गत वर्षको संस्करणमा एनआरटी क्लब काठमाडौं विजेता र जिल्ला फुटबल सङ्घ मोरङ उपविजेता भएका थिए । 

काठमाडौं:     नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा डोटी आदर्श गाउपालिकाका २१ वर्षीय अशोक साउद र डोटी दीपायल सिलगढी नगरपालिकाका १९ वर्षीय गणेश साउद रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । नेपाल क्रिकेट सङ्घको आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा यही पुस ६ गते भएको जनकपुर बोल्ट्स र सुदुरपश्चिम रोयल्सबीचको खेलपछि केही व्यक्तिहरुबीच झगडा भएको थियो ।  त्यसक्रममा केही व्यक्तिले अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भाव बिगार्न खोज्ने तथा विभिन्न व्यक्तिलाई अभद्र व्यवहार गरेको सम्बन्धमा बिभिन्न निकाय तथा सञ्चारमाध्यममार्फत र पीडितका जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी जारी रहेको उहाँले जानकारी दिनुभयो ।  

पाल्पा:     इलाका प्रशासन कार्यालय रामपुरमा तोकेअनुसारको दरबन्दी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या थपिएको छ । कार्यालयबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरुआत भए पनि जनशक्ति व्यवस्थापन नहुँदा सेवा दिन कार्यालयलाई समस्या परेको जनाइएको छ ।  कार्यालयमा यही पुस ३ गतेदेखि राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा थप गरिएको थियो । तर कर्मचारी अभावमा काम गर्न समस्या भएको कार्यालय प्रमुख गणेशबहादुर कार्कीले बताउनुभयो ।  उहाँले भन्नुभयो, “कर्मचारीको अभाव भए पनि हामीले निकै कष्टका साथ सेवा दिएका छौँ, हालसालै राहदानी तथा परिचयपत्र सेवा थपिएको छ तर हामीसँग जनशक्ति छैन, दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन नहुँदा कार्यालयको कामकाजमा समस्या छ ।”  राहदानी सेवाका लागि तीनवटा कम्प्युटर आवश्यक पर्छ तर कार्यालयमा हाल एउटा मात्रै कम्प्युटर छ । कार्यालयमा एक कार्यालय प्रमुख, एक नायब सुब्बा, दुई खरिदार, एक सहायक लेखापाल, एक कम्प्युटर अपरेटरको स्थायी दरबन्दी छ ।  तर हाल १ कार्यालय प्रमुख, एक सहायक लेखापाल, एक कम्प्युटर अपरेटर स्थायी दरबन्दीमा र दुईजना कार्यालय सहयोगी, एक सरसफाइ कर्मचारी कार्यरत छन् ।  रामपुर नगरपालिकाले प्रशासन कार्यालयको सेवालाई सहज बनाउन एक जना कर्मचारी काजमा खटाएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । हाल कार्यालयमा राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागबाट यही पुस ३ गतेदेखि एकजना कम्प्युटर अपरेटरको व्यवस्था गरिएको छ ।  कार्यालयमा दैनिक औसत एक सयजना सेवाग्राही आउने गरेका छन् । अहिले दैनिक नेपाली नागरिकता ४० देखि ४५, राष्ट्रिय परिचयपत्र ३५ देखि ४०, सेवा शुभारम्भ भएको दिनदेखि हालसम्म दशवटा राहदानी सेवा दिइएको कार्यालयले जनाएको छ । रामपुर–४ भीमसेनटोल बस्ने विष्णुमाया केसीले गाउँघरमा नै सेवा पाउँदा स्थानीयलाई धेरै राहत पुगेको बताउनुभयो । कार्यालयमा राहदानी तथा राष्ट्रिय परिचय सेवा थालनी भएपछि पहिलो सेवाग्राहीका रुपमा राहदानी सेवा लिनुभएकी केसीले खुसी व्यक्त गर्दै यहीँबाट सेवा विस्तार गर्न पहल गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।  “सानो बच्चाका कारणले राहदानी बनाउन सदरमुकाम तानसेन जान सकिरहेकी थिइन्,  अहिले भने गाउँमा सेवा सुरु गरेपछि हामीलाई सजिलो भयो” उहाँले भन्नुभयो । यही पुस ३ गते कार्यालयको नवनिर्मित भवन उद्घाटन, राहदानी र राष्ट्रिय परिचयपत्र सेवा विस्तार कार्यक्रममा सरिक हुँदै गृहमन्त्री रमेश लेखकले प्रशासन कार्यालयमा कर्मचारी तथा कुनै उपकरण, सामग्रीको अभावमा सेवा अवरुद्ध हुन नदिने प्रतिबद्धता जनाउनुभएको थियो ।  नागरिकलाई सरल किसिमले सेवा दिनु सरकारको पहिलो दायित्व भएकाले यस कार्यालयमा जनशक्ति, सामग्री अभावले सेवा रोकिने वातावरण नहुन नदिने गृहमन्त्री लेखकले विश्वास दिलाउनुभयो । रामपुर नगरपालिका–५ स्थित बेझाड बजारमा अवस्थित प्रशासन कार्यालयको चौध कोठासहितको साढे दुई तलाको नयाँ भवन निर्माण गरी सञ्चालनमा छ । रु चार करोड ५६ लाख ७७ हजार पाँच सय ७१ बराबरको लागतमा गत असारमा भवन निर्माण सम्पन्न भएको हो ।  आधुनिक प्रविधिबाट निर्माण भएको अपाङ्गमैत्री कार्यालय भवनसँगै सुरक्षा कर्मचारी गृह (गार्ड हाउस), चमेनागृह तथा पर्खाल निर्माण गरिएको छ ।सेवा विस्तारसँगै राहदानी र राष्ट्रियपत्रका लागि सदरमुकाम तानसेन पुग्नुपर्ने बाध्यता सधाका लागि हटेको छ ।  कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । विसं २०७३ मा तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले कार्यालय स्थापनाको शुभारम्भ गरी सेवा प्रारम्भ भएको हो ।   

काठमाडौं:    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको व्यवस्थापन नै कांग्रेसका लागि मूल चूनौती रहेको बताउनुभएको छ ।  नेपाली कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत कांग्रेस काठमाडौंँ महानगर समितिले क्षेत्रपार्टीमा आज आयोजना गरेको महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अहिले कांग्रेसका लागि पार्टीलाई व्यवस्थापन गर्न सक्ने कि नसक्ने भन्ने मुख्य सवाल हो, क्रियाशील सदस्यको सङ्ख्या धेरै छ । तर, क्रियाशील सदस्यलाई सदस्यताको महत्व बुझाउन जरुरी छ ।” हरेक क्रियाशील सदस्यलाई पार्टीको गतिविधिमा संलग्न गराउनुपर्नेमा नेता सिंहले जोड दिनुभयो । देशमा प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य मान्यता ल्याउन धेरै सङ्घर्ष गरेको र जनताको पटक–पटक विश्वास जितेको कांग्रेस पार्टीको क्रियाशील सदस्यता सामान्य विषय नभएको उहाँले बताउनुभयो ।  पार्टीभित्र समस्या भए बसेर समाधान गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।काठमाडौंवासीले भोगेका पीर मर्का र समस्या समाधान गर्नतर्फ लाग्न नेता सिंहले काठमाडौँ महानगर समितिलाई आग्रह गर्नुभयो ।  १ सय दिने विशेष अभियानले पार्टी सङ्गठन सुदृढीकरण गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । काठमाडौँ कांग्रेसको सय दिने विशेष अभियानका लागि नेता कृष्णप्रसाद सिटौला खटिनुभएको छ ।

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा रुसी महाङ्घका लागि नवनियुक्त राजदूत जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा शङ्करप्रसाद शर्माले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको जनाइएको छ ।  

बागमती:    हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग सर्वसाधारणको अवलोकनका लागि खुला गर्ने तयारी सुरु भएको छ । बागमती प्रदेश सरकारको रु ४ करोड ५७ लाखको लागतमा पुनःनिर्माण भएपछि सर्वसाधारणको अवलोकनका लागि खुला गर्न लागिएको हो ।  प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालयले पुनःनिर्माण गरिएको सो सुरुङमार्ग आज औपचारिक रुपमा हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्न लागेको छ ।  हस्तान्तरण लगत्तै सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिने उपमहानगरका प्रमुख मिनाकुमारी लामाले जानकारी दिनुभयो । सुरुङमार्ग व्यवस्थापन तथा सञ्चालन गर्ने सहमति भइसकेकाले सर्वसाधारणको अवलोकनका लागि खुला गर्न लागिएको प्रमुख लामाले बताउनुभयो ।  सुरुङमार्ग अवलोकनका लागि आउने नेपालीलाई प्रतिव्यक्ति रु ५०, विदेशीलाई प्रतिव्यक्ति रु १ सय २०, विद्यार्थीलाई प्रतिव्यक्ति रु २० र ५ वर्षमुनीका बालबालिका, जेष्ठनागरिक र आपाङता भएका व्यक्तिलाई निःशुल्क गरिने प्रमुख लामाको भनाइ छ ।  पुनःनिर्माण गरिएको उक्त सुरुङमार्गलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ अवलोकन गर्न आउनेहरुका लागि खुला गर्न लागिएको प्रमुख लामाले बताउनुभयो ।  मधेस प्रदेशको बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने उक्त सुरुङमार्ग विसं १९७४ मा तत्कालिन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो ।  सो सुरुङमार्गबाट विसं २०२० सम्म सवारी साधनहरु सञ्चालन हुँदै आएको थियो ।जिर्ण भएको सो सुरुङमार्गको गत २०७९ साल वैशाख १९ गते जिर्णोद्वार सम्पन्न गर्ने गरी काम सुरु भएको थियो । सुरुङमार्ग पुनःनिर्माण भएपनि त्यसको सञ्चालन कसले गर्ने भने अन्यौलताका कारण लामो समयदेखि बन्द थियो ।  उपमहानगरले सुरुङमार्ग सञ्चालन गर्ने सहमति भएपछि हस्तान्तरण गरी सञ्चालनमा ल्याउन लागिएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्पकरराज पोखरेलले जानकारी दिनुभयो । कुल एक सय ९८ मिटर लम्बाई उक्त सुरुङमार्ग पुनःनिर्माण पश्चात दुई सय २५ मिटरको पुगेको जनाएको छ । 

तेह्रथुम:     तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ ।म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले करिव १३ वर्षपछि लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण थालिएको जानकारी दिनुभयो ।         सडक विभाग मातहतको पुल सेक्टरको रु १७ करोड लागतमा उक्त पुल निर्माण गर्ने ठेक्का पाएको थियो । निर्माण कम्पनीले विसं २०६८ असार २६ गते तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।  निर्माण कम्पनीले काम नगरी पुल अलपत्र छाडेको थियो ।तेह्रथुम र पाँचथरका जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवालाको दबाबपछि निर्माण कम्पनीले अधुरो छाडेको काम पुनर्निर्माण पुनः सुरु गरेको नगरप्रमुख तुम्बाहाङ्फे को भनाइ छ ।         पुल जग निर्माण गर्ने क्रममा १० मिटर गहिराइमा ढुङ्गा भेटिएपछि पुनः ‘सोइल टेष्ट’ गरेर ‘रिडिजाइन’ गर्ने विषयमा विवाद भएपछि पुल निर्माणको काम रोकिएको सांसद सीता गुरुङले बताउनुभयो ।  गत मङ्सिर २० गते भौतिक पूर्वाधार मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकमा पुरानै डिजाइनमा पुल बनाउने सहमति भएपछि निर्माण कार्यले निरन्तरता पाएको उहाँको भनाइ छ ।  सबै पक्षको सहयोग रहे आउने असारसम्ममा पुल निर्माणको काम सम्पन्न गरिसक्ने निर्माण कम्पनीका साइड इञ्चार्ज विजय लामिछानेले बताउनुभयो ।  पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिकालाई जोड्ने उक्त मोटरेबल पुल निर्माण सम्पन्न भएपछि दुई जिल्लाको सदरमुकाम सबैभन्दा छोटो दूरीमा जोडिने छन् ।  पाँचथर सदरमुकाम फिदिमबाट ४५ किलोमिटर र तेह्रथुम सदरमुकाम म्याङलुङबाट १९ किलोमिटरको दूरी रहेको तमोर नदीमाथिको उक्त पुल निर्माण सम्पन्न भएपछि दुवै जिल्लाका नागरिकलाई आवातजावतमा सहज हुने  म्याङलुङ–२ का विश्वराज तुम्बाहाङफेले बताउनुभयो ।  पाँचथरको कुम्मायक गाउँपालिकाका भुल्के, खाल्ले, स्यावरुम्बालगायतका गाउँबाट करिब आठ घण्टाको पैदलयात्रा गरी हप्तैपिच्छे पिठ्यूँमा बोकेर कृषिउपज तेह्रथुमको म्याङलुङस्थित शुक्रबारे हटियामा बिक्री गर्न ल्याउनुपर्ने बाध्यता छ ।      पुल निर्माण भएपछि म्याङलुङदेखि लुमुघाट हुँदै तमोर करिडोर भएर छोटो दूरीमै सुनसरीको धरान र प्रदेश राजधानी विराटनगर पुग्न सकिन्छ । तेह्रथुमबाट पूर्वी तराईसँगको दूरी घटाउने भएकाले पनि उक्त मोटरेबल पुल निर्माणले महत्व राख्ने जनाइएको छ  ।

पोखरा: पर्यटनको राजधानी पोखरामा भोलिदेखि नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु हुँदैछ ।   पोखरालाई साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद् र बेलुन नेपाल प्रालिले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष अवसरमा महोत्सवको आयोजना गरेका हुन् ।   फेवाफाँटमा (भोलि) ९ देखि–१७ गतेसम्म महोत्सव सञ्चालन हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।   उनका अनुसार महोत्सवमा नेपालसहित १५ देशका अन्तर्राष्ट्रिय बेलुन पाइलटहरुले भाग लिने छन् । १७ वटा हट एयर बेलुन पोखराको आकाशमा उड्नेछन् ।   महोत्सव पामे क्षेत्रको लौरूकदेखि चंखपुरसम्म तीन किलोमिटर क्षेत्रमा आयोजना हुनेछ । फेस्टिभलमा अमेरिका, स्पेन, लिथुनिया, थाइल्याण्ड, भियतनाम लगायत मुलुकमा कम्पनीले भाग लिनेछन् ।   बिहान ६ देखि ९ बजेसम्म ब्यावसायिक उडान हुनेछ भने साँझ विविध कार्यक्रम हुने उनले बताए ।   साँझ ४ देखि ६ बजेसम्म विभ्निन देशको प्रतिनिधित्व गर्दै बेलुन पाइलटले हट एयर बेलुनको उडान भर्ने छन् । राति ७ दखि ८ बजेसम्म बेलुन नाइट ग्लो तथा सांगीतिक कार्यक्रम हुनेछन् ।   महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम, फूड स्टल, मेला र विभिन्न खेल समेत हुनेछन् ।   महोत्सवमा राष्ट्रिय कलाकारहरू दीपक बज्राचार्य, राजु लामा, एलिना चौहान, कुमार सागर, कविता नेपाली, काटुन क्रूज, बेली नृत्य लगायत स्थानीय कलाकार र व्यान्डले सांगीतिक प्रस्तुति दिने छन् ।   महोत्सवमा करिब तीन हजार जनाले उडान भर्ने लक्ष्य आयोजकको छ ।   करिब तीन सय वटा गैरव्यावसायिक उडान हुनेछन् । हट एयर बेलुनमा सामान्यतः ४० मिनेटको लामो उडान हुने गर्छ ।    २४–२६ डिसेम्बरसम्म विभिन्न व्याण्डसहितको प्रस्तुति हुनेछ भने २७ देखि ३१ डिसेम्बरसम्म बेलुन उडान तथा विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछ ।   सन् २०२५ को पहिलो दिन १ जनवरीमा सांगीतिक कार्यक्रम प्रस्तुतिसहित कार्यक्रम समापन हुनेछ ।