ललितपुर: ललितपुरको सानेपास्थित वाग्मती करिडोरअन्तर्गत कालोपुलमा सवारी प्रयोगकर्तालाई सचेत गराउन एक सूचना टाँस गरिएको छ । सूचनाको व्यहोरा यसप्रकार छ– ‘यो पुलमुनि बर्सातको समयमा पानी जम्ने भएकाले वैकल्पिक बाटो प्रयोग गरी सुरक्षित यात्रा गर्नुहुन अनुरोध छ ।’ काठमाडौँ उपत्यकामा अत्यधिक ट्राफिक जामको समस्या झेलिरहेका यात्रुहरुलाई वाग्मती करिडोरले ठूलो राहत त दिएको छ । तर कुपण्डोल–सानेपा खण्डअन्तर्गत कालोपुलमुनि वाग्मती नदीको देब्रेपट्टिको लेनमा वर्खादेखि नै पानी जम्ने समस्याले सवारी आवागमनमा समस्या थपेको छ । पुलमुनिको एकतर्फी सडकमा हिँउद–बर्खे पानी जमेपछि सवारी चालक र पैदलयात्रीले सास्ती व्यहोर्दै आइरहेका छन् । बर्खाका बेला जमेको पानी अझै हटेको छैन । दुईतर्फी सडकको एकातर्फ पोखरी जमेको छ । उक्त सडक हुँदै ओहोरदोहोर गर्ने सवारी सधान एकै लेनबाट ‘पास’ हुने गरेका छन् । पुलमुनि जमेको पानीलाई नालीमा पठाउन ‘लेबल’ नमिलेका कारण हालसम्म पानी जमिरहेको ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकार बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बागमती कारिडोरको स्तरोन्नति र वाग्मती सभ्यता संरक्षणको जिम्मा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको हो तर समितिले समस्याको समाधान गर्न कुनै पहल गरेको छैन ।” कालोपुलमुनिको एकतर्फी सडकमा पानी जमेको कारण जहिल्यै जामको समस्या झेल्नु परेको मोटरसाइकल चालक रत्नकुमार श्रेष्ठ सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वर्षौंदेखि बागमती करिडोरको बल्खु पुल र सानेपाको कालो पुलमुनि पानी जम्ने समस्या देखिँदै आएको छ, तर जिम्मेवारी निकायले ध्यान नदिँदा सवारी चालक र पैदलयात्रीले झन्झट व्यहोर्नु परिरहेको छ ।”
काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ । सोमवार भएको खेलमा सुदूरपश्चिमले कर्णालीमाथी ६ विकेटको जित हात पारेको हो । कर्णाली याक्सले दिएको १ सय २ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । यो जितका साथ बुधवार हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिमले जनकपुर बोल्ट्ससँगको भेट पक्का गरेको हो । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान ३८ रन जोडे । इशान नट आउट रहँदा कप्तान दीपेन्द्र नन्दन यादवको बलमा आउट भए । ओपनर सेफ जेबले ११ रन जोडे । कर्णालीका लागि कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान १ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय १ रनको योगफल तयार गर्यो । कर्णालीका जिशान मक्शुदले सर्वाधिक ३० रन बनाए । उनले ३५ बलमा ४ चौका प्रहार गरे । मक्शुद १८औं ओभरको चौथो बलमा कप्तान दीपेन्द्र सिंह ऐरीको बलमा आउट भए । पाँचौ विकेटका लागि विलियम बोसिस्टो र मक्शुदले ३९ रनको साझेदारी गरे । बोसिस्टोले २४ बलमा १६ रन जोड्दै कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा आउट भए । चाल्डिक वाल्टन १६ बलमा १४ रन जोड्दै आउट भए । उनलाई सेफ अली जेबको एलबिडबलु सिकारमा परे । ओपनर बाबर हायत ९ बलमा १३ रन जोड्दै आउट भए । दोस्रो ओभरको अन्तिम बलमा बाबर आउट भएका हुन् । लगातार २ चौका प्रहार गरेका बाबरले तेस्रो बलमा समेत ठुलो सटको प्रयास गर्दा अभिनाश बोहोराको बलमा आउट भए । पहिलो ओभरको अन्तिम बलमा कर्णालीले ओपनर रित गौतमलाई रनको खाता नखोल्दै गुमाएको थियो । तेस्रो विकेटका रुपमा देव खनाल १२ बलमा ७ रन जोड्दै रन आउट भए । दोस्रो ओभरको पहिलो बलमा स्कट कुग्गेलेइनको बलमा बाबरको प्रहार बचाउने क्रममा बाउन्ड्रिमा नरेन साउद घाइते हुन पुगे । नरेन घाइते भएपछि फिल्डिङमा खडक बोहोरा गएका थिए । कप्तान सोमपाल कामी ९ बलमा ११ रन जोड्दै कुग्गेलेइनको बलमा आउट भए । गुलशन झा २ बलमा २ रन जोड्दै रन आउट भए । सुदूरपश्चिमका लागि हर्मित सिंहले ३, कप्तान दीपेन्द्र र कुग्गेलेइनले समान २ तथा सेफ अली जेब र हर्मित सिंहले समान १ विकेट लिए । प्लेअफको समीकरण पूरा एनपिएलको लिग चरणका खेलहरू सकिएसँगै प्लेअफ समीकरण पूरा भएको छ । सुदूरपश्चिमसँग हारका बाबजुद पनि कर्णाली प्लेअफमा पुगेको हो । काठमाडौँ गुर्खाज भने प्लेअफको दौडबाट बाहिरिएको छ । जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स यसअघि नै प्लेअफ चरणमा पुगिसकेका छन् । एनपिएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्ने पक्का भएको छ भने चितवन र कर्णालीबीच इलिमिनेटरमा प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं: काठमाडौँ महानगरपालिकाले पूर्व मेयर पिएल सिंहको निधनमा आज शोक बिदा दिएको छ । उहाँको ८७ वर्षका उमेरमा उपचारका क्रममा आज विहान निधन भएको थियो । कामपाको सहायक प्रवक्ता धुव्रकुमार काफ्लेले पूर्व मेयर सिंहको निधनमा कामपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो । २०५२ साल मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।
दाङ: दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै आज बिहान लु१ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृत्यु हुनुेमा सिवराज नगरपालिका–३ का ४२ वर्षीया प्रिथी थारु र सोही ठाउँका ६० वर्षीया फुलसी थारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो । कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी आज बिहान दुर्घटनामा परेको थियो । प्रहरी नायब उपरीक्षक थापाका अनुसार दुर्घटनामा घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गाडीमा १४ जना सवार रहेका थिए । तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुनसक्ने प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले गत मंसिर महिनामा ५१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत कास्कीबाट विभिन्न मुद्धामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ५१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए । ‘कास्की प्रहरीले गत मंसिर १ देखि ३० गतेसम्म जिल्ला अदालत कास्कीबाट विभिन्न मुद्धामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ५१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको हो’, सूचना अधिकारी शर्माले भने, ‘ फैसला कार्यान्वयन गर्नका लागि प्रतिवादीहरुलाई अदालतमा बुझाएका छौं, प्रतिवादीहरुलाई ८ वर्ष ९ महिना ४ दिन कैद सजाय र ६१ लाख २३ हजार ६ सय रुपैयाँ जरिवाना असुल गर्न बाँकी छ ।’ उनका अनुसार चेक अनादार मुद्धामा ३३ जना, बैंकिङ कसुर मुद्धामा ६ जना, लागूऔषध सम्बन्धी मुद्धामा ३ जना, चोरी सम्बन्धी मुद्धा, बैंकिङ कसुर मुद्धा, लेनदेन बिगो मुद्धामा २÷२ जना, बालबालिका विरुद्धको कसूर, बाल यौन दुरुपयोग मुद्धा र सवारी ज्यान सम्बन्धी मुद्धामा १÷१ जना रहेका छन् ।
काठमाडौं: नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यानलकी उम्मदेवार शर्मा निकटतम प्रतिस्पर्धी रमेश विष्टलाई १ हजार ७९ मत अन्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएकी हुन् । शर्माले ४ हजार २८२ मत प्राप्त गरिन् भने र प्रेस युनियनको विद्रोही विष्टले ३ हजार २०३ मत प्राप्त गरे । विष्टलाई प्रेस सेन्टर र समाजवादी प्रेस संगठनले समर्थन गरेका थिए । यसैगरी अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत पाए । महासंघको नयाँ कार्यसमितिमा अधिकांश शर्मा प्यानलका उम्मेदवारहरु निर्वाचित भएका छन् । केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा शर्मा प्यानलका दीपक आचार्यले ४ हजार २३० मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका रोशन पुरीले २ हजार ८८६ मत प्राप्त गरे । उपाध्यक्ष महिलामा शर्मा प्यानलकी नितु पण्डितले ४ हजार ७०५ मत प्राप्त गरी विजयी हुँदा विष्ट प्यानलकी गंगा पौडेल बरालले २ हजार ६४४ मत प्राप्त गरिन् । उपाध्यक्ष समावेशीमा शर्मा प्यानलका उमिदप्रसाद बागचन्दले ४ हजार २९२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका सुभाषप्रसाद साहले २ हजार ८० मत प्राप्त गरे । यसैगरी मोहन कुमार सिंहले ८६० मत पाए । महासचिवमा पनि शर्मा प्यानलका रामप्रसाद दाहाल निर्वाचित भए । दाहालले ४ हजार ८४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका लेखनाथ न्यौपानेले १ हजार ९२९ मत प्राप्त गरे । महासचिवका अर्का उम्मेदवार जन्मदेव जैशीले १ हजार ९२९ र प्रकाश थापाले ४८८ मत पाए । कसले कति मत पाए ? सचिव खुलामा रमेश खतिवडाले ३ हजार ४०० मत प्राप्त गरी विजयी भए । यो पदमा प्रतिस्पर्धा गरेका उत्तरसिंह विष्टले २ हजार ६७, बालकृष्ण अधिकारीले ७७५, माधव दुलालले ७१९ र कुमार ओझाले ३१६ मत पाए । सचिव महिलामा सोनी शर्माले ४ हजार ३४७ मत प्राप्त गरी विजयी भइन् । सरिता बराइलीले २ हजार ८२३ मत पाइन् । त्यस्तै, सचिव आदिवासी जनजातिमा सविन प्रियासनले ३ हजार ५३५ मत प्राप्त गरी विजयी भए । यो पदमा प्रतिस्पर्धा गरेका भिसन राईले २ हजार ४५७ र टिकाराम प्रधानले १ हजार ६९ मत पाए । सचिव मधेशीमा अशोककुमार तिवारीले ३ हजार ८५८ मत प्राप्त गरी विजयी भए । अर्का प्रत्यासी श्रीजन झाले २ हजार २४३ र प्रविण कुमार चौधरीले ९५२ मत पाए । सचिव दलिततर्फ प्रकाश धौलाकोटी ४ हजार ११० मतसहित विजयी भए । अर्का प्रत्यासी बसन्त विकले १ हजार ८९२, भिमबहादुर विश्वकर्माले ६५० र सन्तोष कुमार बराइलीले ४७४ मत पाए । सचिव एशोसिएटतर्फ बैकुण्ठराज पराजुलीले ३ हजार ६४५ मत प्राप्त गरी जित निकाले । उनका निकटतम प्रतिस्पर्धी विकास कार्कीले २ हजार ७३५ र योगेश खपाङ्गीले ८१२ मत पाए । कोषाध्यक्ष पदमा रामकृष्ण अधिकारी ३ हजार ८४७ मत प्राप्त गरी विजयी भए । उनी विष्ट प्यानलबाट निर्वाचित एकमात्र पदाधिकारी हुन् । प्रेस सेन्टर नेपालका अधिकारीले शर्मा प्यानलका रामकृष्ण ज्ञवालीलाई ३८३ मत अन्तरले पछि पारे । शर्मा प्यानलका ज्ञवालीले ३ हजार ४६४ मत पाए ।
काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको निधन भएको छ । उहाँको आज ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।नेपाली कांग्रेसका नेता सिंह पेटसम्बन्धी रोगको उपचारमा हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ सम्म निवास चक्सिबारीमा राखिने र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घन्टासम्म राखिने बताइएको छ । उहाँको आजै अन्त्येष्टि गरिनेछ । यसैबीच काठमाडौँ महानगरपालिकाले पूर्व मेयर पिएल सिंहको निधनमा आज शोक बिदा दिएको छ । कामपाको सहायक प्रवक्ता धुव्रकुमार काफ्लेले पूर्व मेयर सिंहको निधनमा कामपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो । २०५२ साल मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।
पोखरामा नवौं संस्करणको मिस तामाङ पोखरा प्रतियोगिता हुने भएको छ । सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ समाज पोखराले हरेक बर्ष जस्तै यस बर्ष पनि प्रतियोगिता आयोजना गर्न लागेको हो । माघ १२ गते पोखरा सभागृहमा हुने मिस तामाङ पोखराका लागि १३ जना तामाङ समुदायको युवतीले सहभागिता जनाउने कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङले बताए । प्रतियोगिहरुलाई बिभिन्न बिषयमा प्रदान गरिने तालिमको शुरुवात गरिएको संयोजक तामाङले जानकारी दिएका छन् । पहिलो दिनको ओरेन्टेशन कक्षाको सहजीकरण पोखरेली युवा साँस्कृतिक परिवारका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले गरेका थिए । यस अघि नेपाल सरकार भाषा आयोजका पुर्व सदस्य भाषाविद अमृत योञ्जनले तालिमको औपचारिक रुपमा शुरुवात गरेका थिए । तालिमको उदघाटनमा बोल्दै भाषाविद योञ्जनले हरेक भाषाहरु चेपुवामा पर्दै गएको सन्दर्भमा युवा पुस्ताालाई आफ्नो संस्कार, भाषा र भेषभुषा प्रति रुची जगाउने यस्ता कार्यक्रमले संरक्षणमा महत्वपुर्ण भुमिका खेल्ने बताए । तालिमका सहजकर्ता पौडेलले भाषा, संस्कार र संस्कृति सकियो भयो कुनैपनि समुदायको अस्तित्व विलुप्त हुने हुँदा यसतर्फ युवा पुस्ता सचेत हुनुपर्ने बताए । कार्यक्रममा रेडियो अन्नपुर्ण का स्टेशन म्यानजेर तथा कार्यक्रमका तालिम र मिडिया संयोजक सन्जय मल्ल, नेपाल तामाङ घेदुङ गण्डकी उपाध्यक्ष शिबु ब्लोन तामाङ, नेपाल तामाङ घेदुङ समन्वय समिती कास्कीका सचिव मीनमाया तामाङ, मिस तामाङ पोखरा २०२४ का विजेता रोशिला ब्लोन तामाङ, नेपाल तामाङ घेदुङ संघिय सदस्य सुजन ब्लोन तामाङ, बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ, राम लामा लगायतले बोलेका थिए । सहभागिहरुलाई हरेक दिन बिभिन्न विषयमा तालिम प्रदान गरिने कार्यक्रमका सहसंयोजक रोशिला ब्लोन तामाङले जानकारी दिएका छन् । प्रतियोगितामा लावनी तामाङ, सुप्रिया गोले तामाङ, सोनिका तामाङ, पुर्णिमा तामाङ, सुमिना तामाङ, प्रिन्सेस घिसिङ तामाङ, शिशा लामा, मञ्जिता पाख्रिन, जमुना लामा, सुनिता तामाङ, पवित्रा तामाङ, पुर्णिमा लामा र आकृति तामाङ सहभागी छन् । बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेष्टिभल गर्दै आएको छ ।
पोखरा: १३ औं संस्करणको पोखरा महोत्सवको लागि स्टल बुकिङ खुल्ला गरिएको छ । युनाईटेड क्लबको आयोजनामा आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवका लागि स्टल बुकिङ खुल्ला गरिएको हो । महोत्सव सम्पन्न गर्न आयोजित विभिन्न उपसमिति संयोजक तथा महोत्सव सल्लाहकारहरुको बैठकको निर्णय अनुसार महोत्सव आयोजक युनाईटेड क्लबले महोत्सवको स्टल पुष १ गते दिनको दुई बजे देखि स्टल बुकिङ खुल्ला गरिएको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा विशेष गरी पर्यटन, कृषि, अटो लगायतका स्टलहरु लाई विशेष छुट प्रदान गरिने महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए । स्टल बुकिङका लागि युनाईटेड क्लबको कार्यालय शान्तिपथ पोखरा १० अमरसिंहमा सम्पर्क गर्नुपर्ने महोत्सव सचिवालय उपसमिति संयोजक सुक बहादुर गुरुङले जानकारी दिए ।

