काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा काठमाडौंले जितका लागि दिएको एक सय दुई रनको लक्ष्य जनकपुरले १५ दशमलव पाँच ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको हो । जनकपुरका लागि जेम्स निशमले सर्वाधिक २७ रन बनाए । उनले १७ बलमा तीन छक्का र एक चौकाको मद्दतले २७ रन बनाएका हुन् । हर्ष ठाकरले २५, लाहिरु मिलन्थाले १६, मोहम्मद मोहसिनले १३ र कप्तान अनिल शाहले ११ रनको योगदान दिए । काठमाडौंका लागि शुभ कङ्साकारले पाँच रन जोड्दा आसिफ शेखले दुई रन बनाए । यो खेलमा जनकपुरले अतिरिक्त पाँच रन प्राप्त गरेको छ । बलिङतर्फ काठमाडौंका कप्तान करण केसीले सर्वाधिक दुई विकेट लिए । गेरहार्ड इरास्मस, दिपेश कँडेल र शाहब आलमले समान एकरएक विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको काठमाडौंले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर एक सय एक रन बनाएको थियो । काठमाडौँका लागि गेरहार्ड इरास्मसले सर्वाधिक २० रन बनाए । कप्तान करण केसीले १९ र स्टिफन एस्किनाजी १७ रन बाहेक अन्य कुनै खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । काठमाडौँका लागि शाहब आलम र माइकल लेविटले समान आठरआठ, रासिद खानले सात, प्रतिक श्रेष्ठले छ, भीम सार्कीले चार र डेन डउथवेटले एक रन बनाए । यो खेलमा काठमाडौँले अतिरिक्त ११ रन पाएको थियो । जनकपुरको लागि ललित राजवंशी र शेर मल्लले सर्वाधिक समान तीन/तीन विकेट लिए । यस्तै, मोहम्मद मोहसिनले दुई, अर्निको यादव र किशोर महतोले एक/एक विकेट हात पारेका थिए ।
पोखरा: सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामेछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उक्त आदेश दिएको हो । सभापति लामिछानेमाथि सहकारी ठगी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
म्याग्दी: म्याग्दीमा यस वर्ष धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा पाँच दशमलब शून्य दुई प्रतिशतले धानको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र, म्याग्दीले जनाएको छ । अनुकुल मौसम र रोग किराको समस्या नभएकाले धान उत्पादन बढेको केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले जानकारी दिनुभयो । “रोप्ने समयमा बर्षात भएको र भित्र्याउँदा पानी नपरेका कारण यसपाली धानका लागि मौसम अनुकूल रह्यो,” उहाँले भन्नुभयो “केही ठाउँमा भित्र्याउने समयमा परेको असिनाका कारण क्षति भएपनि समग्र जिल्लाको उत्पादन वृद्धि भएको हो ।” म्याग्दीमा गत वर्ष तीन हजार आठ सय छ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा १२ हजार नौ सय ७८ दशमलब पाँच मेट्रिक्टन उत्पादन भएको थियो । गत वर्ष प्रति हेक्टर तीन दशमलब ४१ मेट्रिक्टन उत्पादकत्व रहेकोमा यसवर्ष प्रति हेक्टर तीन दशमलब ५९ हेक्टर पुगेको छ । जिल्लाका विभिन्न ठाउँमा गरिएको धान बालीको क्रप कटिङ बिधिबाट उत्पादनको अवस्थाका विषयमा अध्ययन गरिएको कृषि प्रसार अधिकृत लामिछानेले बताउनुभयो । म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहँेले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिचाई आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको प्रायजसो क्षेत्रमा धान खेती हुने गरेको छ । रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धान खेती हुँदै आएको छ । यी क्षेत्रहरु धान उत्पादनको हिसाबले पकेट क्षेत्र मानिन्छन् । धवलागिरि गाउँपालिकाको गुर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धान उत्पादन हुँदैन । म्याग्दी जिल्लामा कुल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरमा मात्रै खेती गरिएको छ । खेती गरिएको जमिनमध्ये छ हजार १३ हेक्टर अर्थात् ३० दशमलव आठ प्रतिशत मात्रै सिञ्चित जमिन रहेको छ । यसमध्ये एक हजार छ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने चार हजार तीन सय ३३ हेक्टरको जमिनमा मौसमी सिंचाइ हुने गरेको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको नियुक्ति गर्न निर्देशन दिनुभएको छ । त्रिभुवन विश्वविद्यालयको आज कीर्तिपुरमा भएको साधारणसभा (सिनेट) बैठकमा कुलपति ओलीले विश्वविद्यालय चलाउने कामको नेतृत्व उपकुलतिले गर्ने स्मरण गराउँदै प्रधानमन्त्री ओलीले विश्वविद्यालय चल्न सक्ने गरी निष्पक्ष र साँच्चैको मेरिटोक्रेसीमा रहने गरी काम गर्न उपकुलपतिलाई आफूले भन्दै आएको जनाउनुभयो । बैठकमा सिनेट सदस्यले सिफारिस भइसकेका डीन र क्याम्पस प्रमुखको नियुक्ति नभएको भन्ने प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले आउँदो पुस ७ गतेभित्र ती नियुक्ति गरिसक्न निर्देशन दिनुभयो । “सबैले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकुन्, सिङ्गो सामाजिक विषय शिक्षामा आउनुपर्यो । शिक्षा क्षेत्र मुक्तमनले चल्नुपर्छ तर त्रिवि आफ्ना नियम र कानुनको परिधिमा रहेर चल्लुपर्छ । त्रिविको स्वायत्तता व्यक्तिगत होइन, त्यो स्वायत्तता सिनेटमापर्फत् अधिकार प्रत्यायोजन गर्दै लगिने विषय हो ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्रिविमा मेरिटोक्रेसी हुनु राम्रो हो तर त्यो साँच्चैको हुनुपर्छ । त्यसका नाममा ड्रामा चल्नु हुनु हुँदैन । कुलपतिले हस्तक्षेप गरेको भनेर मिडियाबाजी पनि गरिएको छ, सही कुरामा कुलपतिका हैसियतले मैले भूमिका निर्वाह गर्नैपर्छ । मबाट हस्तक्षेप हुँदैन तर मेरिटोक्रेसी हुनुपर्छ भनेर मैले भनेको छु ।” प्रधानमन्त्री ओलीको प्रश्न थियो, “उपकुलपतिलाई त्यसो भन्नु मेरो कर्तव्य होइन र ?” उहाँले सिनेट बैठकलाई दिनभर छलफल र विवाद गर्ने ढाँचामा नभर्ई मर्यादित, व्यवस्थित, रचनात्मक र परिपक्वरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै पर्याप्त गृहकार्य गरेर कार्यसूची ल्याउन पदाधिकारीहरुलाई आग्रह गर्नुभयो । सिनेटका सदस्यले पनि सकारात्मक परिणाम ल्याउने कार्यसूची ल्याउन सक्रियताका साथ भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो । सभामा सामुदायिक क्याम्पस, प्राध्यापक, कर्मचारी, विद्यार्थी क्षेत्रका प्रतिनिधिले पदाधिकारीबाट पर्याप्त गृहकार्यविना प्रस्तावहरु प्रस्तुत भएको र त्रिविको विधिलाई पालना नगरिएको भन्दै असन्तुष्टि जनाएपछि कुलपति ओलीले कार्यसूचीमाथि छलफल सञ्चालन गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा भएका समस्या र माग छन्, ती मागको विधिवत् सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले त्रिविको ऐन, नियम संशोधन गर्दा सम्बन्धित सरोकार भएका पक्षले सचेत भएर ध्यान दिन पनि आग्रह गर्नुभयो । सभाबाट त्रिवि सेवामा प्रवेशका लागि सेवा योग्यता प्रशिक्षण परीक्षाको व्यवस्थालगायत १२ बुँदे नीति पारित भएका छन् । प्रधानमन्त्री ओलीले विश्वविद्यालय सुधारका विविध विषयमा अनौपचारिक छलफल गर्न आगामी पुस ७ गतेका लागि समय निर्धारण गर्नुभएको थियो ।
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गुर्खाजले जनकपुर बोल्ट्स सामु जितका लागि एक सय दुई रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको काठमाडौँले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर एक सय एक रन बनाएको हो । काठमाडौँका लागि गेरहार्ड इरास्मसले सर्वाधिक २० रन बनाए । सो क्रममा उनले दुई चौकासमेत प्रहार गरे । कप्तान करण केसीले १९ र स्टिफन एस्किनाजी १७ रन बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । काठमाडौँको लागि शाहब आलम र माइकल लेविटले समान आठरआठ, रासिद खानले सुात, प्रतिक श्रेष्ठले छ, भीम सार्कीले चार र डेन डउथवेटले एक रन बनाए । यो खेलमा काठमाडौँले अतिरिक्त ११ रन पाएको छ । जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले सर्वाधिक समान तीनरतीन विकेट लिए । यस्तै, मोहम्मद मोहसिनले दुई, अर्निको यादव र किशोर महतोले एकरएक विकेट हात पारे । अहिले जनकपुर बोल्ट्सले जवाफी ब्याटिङ गरिरहेको छ ।
चितवन: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायी अगाडि बढ्नुपर्ने बताउनुभएको छ । चितवनको भरतपुरमा आज नेपाल उद्योग व्यापार महासङ्घको तेस्रो साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले देशकोे अर्थतन्त्रलाई बलियो बनाउन मध्यमवर्गलाई माथि उठाउनुपर्छ भन्नु्भयो । उहाँले भन्नुभयो,“दिनप्रतिदिन हाम्रो अर्थतन्त्र पर निर्भर हुँदै गएको छ । केही समय पहिले खाद्यान्नमा आत्मनिर्भर मात्रै नभएर निर्यात गर्ने देश अहिले खाद्यान्नलगायत धेरै कुरा आयात गर्ने देशमा परिणत भएको छ । यस्तो स्थितिमा आत्मनिर्भर अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ । ” पूर्वप्रधानमन्त्री प्रचण्डले १८ महिना सरकारको नेत्तृत्व गर्देगर्दा सुशासन सामाजिक न्याय र आर्थिक समृद्घिका लागि आफ्नो सम्पूर्ण उद्देश्य र मेहनत रहेको दाबि समेत गर्नुभयो । उहाँले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको जगेर्ना गर्नका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ भन्नुभयो ।
डडेल्धुरा: जिल्लाको आलिताल गाउँपालिका–२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण थापा मगरले व्यावसायिक रूपमा किबी खेती गरी वार्षिक रु १० लाख भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । विसं २०७० देखि व्यावसायिक किबी खेती सुरु गर्नुभएका मगरको दैनिकी किबीको हेरचाह, गोडमेल, बजार व्यवस्थापनलगायतमा बित्दै आएको हो । उहाँको बगानमा लटरम्म पाक्न लागेका ६० क्विन्टल जति किबीे फलेको छ । शिक्षण पेसालाई छाडेर आधिकारिक रूपमा ‘ध्रुव कृषि फार्म’ दर्ता गरी व्यावसायिक किबी खेती थाल्नुभएका मगरले अहिले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा खेती गरिरहेको बताउनुभयो । किबी खेतीमा सम्भावना देखेर यो पेसा अपनाएको बताउँदै उहाँले सुरुमा दोलखाबाट एक सय १० बोट ल्याएर खेती गरेको जानकारी दिनुभयो । मगरले उत्पादित कैलाली, डडेल्धुरा, बैतडी, काठमाडौँलगायत सुदूरपश्चिमका सातवटै पहाडी जिल्लामा बिक्री हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष उत्पादन भएका किबी बगानबाट टिप्नु अगाडि ग्राहकको माग धान्न गाह्रो भएको छ ।” किबी खेतीसम्बन्धी विभिन्न ठाउँमा पुगेर विज्ञहरूबाट तालिमसमेत लिएको भन्दै मगरले बिबिसी नेपाली सेवामा प्रसारण हुने ‘साझा सवाल’ कार्यक्रममा किबी खेतीबारे छलफल सुनेपछि सुरु गरेको जानकारी दिनुभयो । विसं २०७३ मा पहिलो पटक तीन क्विन्टल उत्पादन बताउँदै उहाँले अहिले वार्षिक ७० देखि ७५ क्विन्टलसम्म उत्पादन हुने गरेको उल्लेख गर्नुभयो । सुरुका वर्ष प्रतिकिलो रु पाँच सयका दरले बिक्री गरेको जनाउँदै मगरले पछिल्लो समय बिक्री मूल्य घटे पनि उत्पादन बढी हुन थालेकाले आम्दानीमा वृद्धि भएको बताउनुभयो । “किबी खेतीलाई अन्यबाली जस्तो दैनिक हेरचाह गरिरहनुपर्दैन । बगानभित्र आलु, सागसब्जीलगायत नगदेबालीको खेती पनि गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “कम मेहनतमा बढी आम्दानी दिने हुँदा यसवर्ष थप विस्तार गर्ने तयारी गरिरहेको छु ।” पछिल्लो समय ७५ क्विन्टलसम्म उत्पादन भएको बताउँदै मगरले आगामी वर्षदेखि अनुमानित एक सय ५० क्विन्टलसम्म उत्पादन हुने गरी खेती विस्तार गर्न लागेको जानकारी दिनुभयो । हाल बिरुवा र फलबाट वार्षिक रु १० लाख भन्दा बढी आम्दानी गरिरहनु भएका किसान मगर आगामी वर्षदेखि आम्दानी वृद्धि हुनेमा ढुक्क हुनुहुन्छ । छ देखि आठ मिटरको दूरीमा रोपिने किबीलाई अन्य बालीलाई भन्दा कम मेहनत गर्दा पनि पर्याप्त उत्पादन लिन सकिने मगरले बताउनुभयो । लहरे फलका रूपमा रहेका किबीले लगाएको तीन वर्षदेखि फल्न सुरु भई ५० वर्षसम्म निरन्तर उत्पादन दिने गर्छ । किबी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका रोगीले सेवन गर्नु फाइदाजनक मानिने चिकित्सकहरू बताउँछन् ।
काठमाडौं: पछिल्लो समय जलवायु परिवर्तनले निम्ताउँदै गरेको सङ्कट न्यूनीकरणका लागि सहकार्य आवश्यक रहेकामा सरोकार भएकाहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा काठमाडौँमा आयोजित दुई दिने राष्ट्रिय गोष्ठीअन्तर्गत आज दोस्रो दिनको सत्रमा सहभागी विभिन्न सरोकार भएका निकायका प्रतिनिधिले हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलन गर्न सहकार्य आवश्यक रहेकामा जोड दिएका हुन् । वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखाका प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले सबै सरोकार भएका निकायसँग सहकार्य र समन्वय गरी जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । “जलवायु परिवर्तनको बढी जोखिम पर्वतीय क्षेत्रमा परिरहेको छ, यसले हिमालको हिउँ पग्लिरहेको छ, हिमताल फुट्ने तथा हिमपहिरोको जोखिम छ”, उहाँले भन्नुभयो, “यी र यस्ता समस्या समाधान गर्न वन तथा वातावरण मन्त्रालय एक्लैले सम्भव छैन । अन्य सरकारी निकाय, दातृ निकाय, प्रदेश तथा स्थानीय सरकार र अन्य सरोकार भएका निकायहरूको पनि सहयोग जरुरी छ ।” ढुङ्गानाका अनुसार सङ्घीय व्यवस्थापन कार्यान्वय भएपछि केन्द्रबाट जलवायु वित्त अनुदान प्रदेश र स्थानीय तहमा पठाउन र ती निकायबाट समयमा बजेट खर्च गर्न चुनौती रहेको छ । “हामीले प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गर्न लगानी बढाउनुपर्ने छ । जलवायु परिवर्तनले पारेका नकारात्मक असर समाधान गर्न प्रभावकारी अनुसन्धान हुन आवश्यक छ”, उहाँले भन्नुभयो, “तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी) अझै महत्काङ्क्षी बन्ने छ, आवश्यक पर्ने लगानीका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच बढाउन आवश्यक छ । जलवायुविद् राजु पण्डित क्षेत्रीले जलवायुजन्य सङ्कट समाधानका लागि आवश्यकता अनुसारको जलवायु वित्त आभाव रहेको भन्दै केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारले जलवायुमैत्री बजेट तर्जुमा गर्न आवश्यक रहेकामा जोड दिनुभयो । “अन्तर्राष्ट्रिय जलवायु वित्तका कोषहरूमा पनि रकम कम छ, तर पहुँच विस्तार गर्न आवश्यक तयारी गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सन् २०२६ पछि अतिकम विकसित मुलुकहरूको समूह (एलडिसी) बाट नेपाल बाहिरियो भने हामीले त्यसपछि जलवायु वित्तदेखि कतिपय अन्तर्राष्ट्रिय सुविधा नपाउन सक्छौँ, यसका लागि आन्तरिक क्षमता अभिवृद्धि गर्नुपर्ने भएकाले सोहीअनुसार तयारी हुनुपर्छ ।” जलवायुविद् डा विमल रेग्मीले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली प्रभावकारी बन्दै गइरहेको भन्दै जलवायुजन्य सङ्कट समाधान गर्न पूर्वतयारी तथा पूर्वसूचना प्रणालीमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिनुभयो । “जलवायु अनुकूलनसम्बन्धी अन्य देशमा भएका राम्रा अभ्यासको सिकाइबाट नेपालमा अनुकूलनसम्बन्धी कार्यक्रमको प्रभावकारी रूपमा कार्यन्वयन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “स्थानीय आवश्यकता अनुसार प्रविधि विकासमा लगानी बढाउन जरुरी छ, लगानी नगरेसम्म प्रतिफल आउन सक्दैन ।”
काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा हराएको छ । पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले हरायो । सुपर ओभरमा पोखरा पहिले ब्याटिङमा उत्रिएको थियो । विराटनगरका तर्फबाट कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए । पोखराका रेमन राइफरले पहिलो र दोस्रो बलमा छक्का प्रहार गरे । तेस्रो बलमा सन्दीपले डट राखे । चौथो बलमा राइफरले चौका प्रहार गरे । पाँचौ बलमा सन्दीपले १ रन खर्चिए । अन्तिम बलमा सन्दीपले फेरी १ रन खर्चिए । यसका साथै विराटनगरले १९ रनको लक्ष्य पायो । विराटनगरले मार्टिन गप्टिल र निकोलस किर्तन मैदान उत्रिएका थिए । पोखराले बलिङमा रेमन राइफर आएका थिए । पहिलो बलमा मार्टिन गप्टिलले १ रन लिए । दोस्रो बलमा किर्तनले पनि १ रन मात्र लिए । तेस्रो बलमा फेरी १ रन लिए । चौथो बलमा किर्तनले डट बल खेले । पाँचौ बलमा किर्तनले १ रन लिए । पाँचौ बल रेमनले वाइड दिए । अन्तिम बल डट राख्दै पोखरा सुपर ओभरमा विजयी भयो । त्यसअघि व १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनाए पछि खेल सुपर ओभरमा पुगेको हो । एनपिएलमा यो पहिलो सुपर ओभर हो । अन्तिम ओभरमा १४ रन आवश्यक रहेकोमा बासिर अहमदले १३ रन खर्चिएका थिए । दुवै टोलीको स्कोर बराबर भएपछि खेल सुपर ओभरमा पुगेको थियो । पोखराका लागि आन्द्रेस गौसले सर्वाधिक ३९ रन जोडे । ११औं ओभरको तेस्रो बलमा ओपनर गौस प्रतिश जिसीको बलमा बलमा आउट भए । गौस २७ बलमा ७ चौकाको ३९ रन बनाए । गौस बासिर अहमदबाट समातिएका थिए । कप्तान कुशल भुर्तेलले ३४ बलमा ३१ रन जोडे । चौथो विकेटका रुपमा कप्तान कुशल ३१ रन बनाएर क्रिस सोलको बलमा आउट भए । पहिलो विकेटका रुपमा ओपनर दिनेश खरेल ११ बलमा ११ रन बनाउँदै प्रतिस जिशीको बलमा आउट भए । दिनेश अनिल खरेलद्वारा समातिएका थिए । तेस्रो विकेटका रुपमा पोखराले जेन मल्लिकलाई ४ बलमा प्रतिस जिशीले बोल्ड आउट गरे । विराटनगरका लागि प्रतिसले ३ तथा क्रिस सोलले २ विकेट लिए । कप्तान सन्दीप लामिछाने विकेट विहिन रहे । ४ ओभरमा २१ रन खर्चिएका सन्दीप प्रतियोगिताको चौथो खेलमा समेत विकेट बिहिन रहे । सन्दीपले लुम्बिनी लायन्सविरुद्ध मात्र विकेट लिन सफल भएका थिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गरेको थियो । विराटनगरका लागि स्कट एडवार्डसले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बलमा ५ चौका प्रहार गरेका थिए । एडवार्डस कुशल भुर्तेलको एलबिडब्लु सिकार भए । बासिर अहमद २० बलमा २१ रन बनाउँदै नट आउट रहँदा लोकेस बमले २६ रन बनाए । ओपनर लोकेसले १६ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए । ओपनर लोकेस राइमन राइफरद्वारा कट एण्ड बोल्ड भए । पहिलो खेलमा अर्धशतक बनाए पनि त्यस पछि खराब लयमा निरन्तर रहेका मार्टिन गप्टिल १४ बलमा ५ रन बनाउँदै आउट भए । गप्टिल सागर ढकालको बलमा बोल्ड आउट भएका थिए । प्रतियोगितामा पहिलो पटक बलिङ गरेका दिनेश खरेलले पहिलो बलमा नै नरेन भट्टलाई आउट गराए । ४ रन बनाउँदै नरेन सागर ढकालबाट क्याच आउट भए । चौथो विकेटका रुपमा विराटनगरले निकोलस किर्तनलाई आउट गराए । १६ बलमा १ छक्काको सहयोगमा १९ रन बनाउँदै किर्तन सागरको बलमा माइकल लिक्सबाट समातिए । क्रिस सोलले ५ बलमा १ छक्काको सहयोगमा ७ रन बनाउँदै आउट भए । पोखराका लागि सागर ढकाल र राइमन रिफरले समान २ तथा कप्तान कुशल भुर्तेल र दिनेश खरेलले समान १ विकेट लिए ।

