गोरखा:   गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।  पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...

म्याग्दी:    बेनी– हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा–१० किलोमिटर कृषि सडक कालोपत्र गर्न धमाधम स्तरोन्नतिको काम सुरु भएको छ । जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर सञ्जय सुवेदीका अनुसार बगरफाँट– दूधेखोला साढे दुई किलोमिटर सडक चौडा बनाउनका साथै पानीको निकासका निम्ति नाली निर्माण गरी ‘ग्राभेल’सहित स्तरोन्नति थालिएको हो । योजनाअन्तर्गत कोटखोलाबाट साढे दुई किलोमिटर सडकलाई आठ मिटर चौडा बनाइनेछभने दूधेखोला–भकिम्ली खण्डमा तीन सय ९० मिटर  ढलान गरिने छ ।  चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट कृषि सडकका लागि रु एक करोड ६० लाख बजेट विनियोजन भएको छ ।हाँडेभिर–बगरफाँट दुई किलोमिटर  कालोपत्र भइसकेको छ ।  सो सडक खण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा ६ सय ५० मिटर र थामडाँडामा सय मिटर नयाँ मार्ग खोलिएको छ । उक्त सडक बेनी नगरपालिका–२ बगरफाँट हुँदै पश्चिम मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको इन्जिनियर सुवेदीले बताउनुभयो ।

काठमाडौं:    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा आज प्रतितोला सुनमा रू दुई हजारले वृद्धि भएको छ ।  मङ्गलबार एकतोला सुन रू एक लाख ५२ हजार २०० मा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर छ ।  आज प्रतितोला चाँदी रू एक हजार ९२५ मा कारोबार भइरहेको छ ।

बागलुङ:     राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका–८ लेखानी गाउँ जोड्ने सडकको २१ वर्षपछि स्तरोन्नति थालिएको हो । काठेखोला–८ का अध्यक्ष प्रमानन्द कँडेलका अनुसार सङ्घीय र प्रदेश सरकारको बजेटबाट गत वर्षदेखि नै स्तरोन्नति गर्न थालिए पनि कामले पूर्णता पाउन सकेको थिएन ।  आर्थिक वर्ष २०८०÷८१ मा पहिलो खण्डअन्तर्गत सुलडाँडा– भुदीखोला स्तरोन्नति भएको र यस वर्ष दोस्रो खण्डको काम धमाधम भइरहेको छ ।  चालु आर्थिक वर्षमा भुदीखोला–पैराखर्कसम्मको साढे तीन किलोमिटर ग्राभेलिङ गरिने उहाँले बताउनुभयो । यो सडकका निम्ति रु ५ करोड विनियोजन भएको छ ।  गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ५० लाखले तेस्रो खण्डअन्तर्गत पैराखर्क– शिवालय–पिपलथर –करलिम पनि चालु आवमा नै स्तरोन्नति गरिने उहाँले जानकारी दिनुभयो ।   

काठमाडौं:    नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई जितको लागि १ सय २४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १ सय २३ रनको योगफल बनाएको हो ।  सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । उनले ३७ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३३ रन बनाएका हुन् ।  यसैगरी, सैब जैबले २१, इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए ।  त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।   जनकपुरका लागि किशोर महतो एक्लैले चार विकेट लिए । त्यस्तै शेर मल्ल र अरनिको यादवले समान २–२ विकेट झारेभने हर्ष ठाकरले एक विकेट लिए । जनकपुर अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुखआयुक्त डा सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री निवासमा आज बिहान भएको समारोहमा प्रधानमन्त्री ओलीले प्रमुखआयुक्त आचार्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।  प्रधानमन्त्रीको उपस्थितिमा प्रमुखआयुक्त आचार्यले नवनियुक्त आयुक्त गगन विष्ट र दुर्गा भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।  त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रूपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।  असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अल्मल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने भन्नुहुँदै उहाँले सूचनाको हक उपयोग गर्दा त्यो न्यायोचित भएनभएको निक्र्योल गरी अराजकताले प्रश्रय पाउन नहुने बताउनुभयो ।  समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, उक्त मन्त्रालयका सचिव राधिका अर्याललगायत उपस्थिति हुनुहुन्थ्यो । मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको बैठकले उहाँहरुलाई आयोगमा नियुक्त गरेको हो ।   

बागलुङ:    यस वर्षको पहिलो सिकार याममा १० नाउर र ५ झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र ८ झारलको सिकार गर्न ४ कम्पनीमार्फत १२ विदेशी सिकारले अनुमति प्राप्त गरेका थिए ।    एउटा नाउरको सिकार गर्नका लागि अनुमति प्राप्त सिकारी आउन नपाएको र एक जना सिकारी नाउर सिकार गर्न असमर्थ भएको  ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ ।  जङ्गली जनावर नाउर र झारलको सिकार गर्न यस पटक अमेरिका, स्पेन, नेदल्याण्ड र मेक्सिकोका १२ व्यावसायिक सिकारीले अनुमति प्राप्त गरेका थिए ।  जसमध्ये अमेरिकाका एक सिकारी राजश्व बुझाएर समेत नाउरको सिकार खेल्न ढोरपाटन नआएको तथा अर्का अमेरिकाकै सिकारीले नाउर मार्न असफल भएको सिकार आरक्ष कार्यालय बागलुङका सूचना अधिकारी पशुपती अधिकारीले जानकारी दिनुभयो ।       यस्तै विदेशी सिकारीले ३ वटा झारल सिकार गर्न असमर्थ भएको अधिकारीको भनाइ छ । ७ बनेलको सिकार अनुमति पाएका सिकारीले सिकारनै नगरेको आरक्षको भनाइ छ ।   ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र ९फागुन–वैशाख० मा दोस्रो याम गरी २ चरणमा सिकार हुँदै आएको छ । सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित सिकार ब्लकमा खटाइएको हुन्छ ।  ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले बनेल सिकार गर्न बिदेशीले रुचि नदेखाएको बताउनुभयो । बनेलका लागि नेपाली सिकारीलाई समेत अनुमति खुला गरेपनि आवेदन नपरेको उहाँको भनाइ छ ।  उहाँका अनुसार पहिलो सिकार याममा ग्लोवल सफारिज नेपाल प्रालि, नेपाल ट्राभल एक्पेडिसन प्रालि, हिमालयन वाइल्डलाइफ आवटफिटर्स, स्युचाटार, काठमाडौँ र ओपन नेपाल वाइल्डलाइफ सफारिज ट्रेक प्रालिमार्फत सिकारीलाई अनुमति दिइएको थियो ।  सिकार आरक्ष क्षेत्रलाई ७ वटा ब्लकमा विभाजन गरिएको छ । सेङ, बार्से, सुर्तिवाङ, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा सिकार गरिएको छ । पेशेवर विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत सिकार खेल्न आरक्षमा पुग्ने गर्छन् ।       र्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयले जनाएको छ । सिकारीसहित नेपाली सेना र आरक्षको समूह अधिकतम १५ दिन जङ्गलमै समय बिताउने गर्दछन् ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।  यस वर्ष एउटै नाउरको अधिकतम रु १८ लाखसम्म राजश्व सङ्कलन भएको आरक्ष कार्यालयको भनाइ छ । नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा १ जना सिकारीले करिब रु २० लाखदेखि ३० लाख खर्च गर्ने गर्दछन् ।  विसं २०४४ सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लाको १ हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।  

पर्वत:    दोविल्ला–फलेवास–लुङ्खु–हुवास सडकअन्तर्गत लुङ्खु–हुवास खण्डमा धमाधम कालोपत्र भइरहेको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) परियोजनाअन्तर्गत पाँच वर्षदेखि जारी निर्माण एवं स्तरोन्नति अन्तिम चरणमा पुगेको छ ।  एसियाली विकास बैंकको ऋण सहयोगमा सरकारले उक्त सडक  निर्माण थालेको हो । निर्माणाधीन १५ किलोमिटरमध्ये नौ किलोमिटर सम्पन्न भइसकेको छभने बाँकी आगामी दुई महिनाभित्र सम्पन्न गर्नेगरी कालोपत्र र ढलानको तयारी भइरहेको छ ।  हुवास–भोर्ले कालोपत्र पूरा भएको छभने मङ्गलबारदेखि पाखापानीतर्फको काम प्रारम्भ भएको छ ।  महाशिला गाउँपालिकाको लुङ्खुदेखि पैँयू गाउँपालिकाको केन्द्र हुवासस्थित हातेमालो चोकसम्म रु ३६ करोड ९६ लाख ९३ हजार ६ सय ८५ लागतमा सडक कालोपत्र हुने भएको हो ।  उक्त सडक कालोपत्र नहुँदा वर्षायाममा पैँयु र विहादी गाउँपालिकाका बासिन्दा स्याङ्जा, पोखरा भएर कुस्मा आउनुपर्ने बाध्यता थियो ।   कुश्मा–फलेवास १६ दशमलव सात किमी सडक ५ वर्षअघि नै कालोपत्र गरिएको होभने लमायखोला–लुङ्खु १३ किमी गत वर्ष पूरा भएको हो ।  यो सडक खण्डको शेराबेँसी–गेडीखोलामा पक्की पुल निर्माण भएको छ ।

धनगढी:    कैलाली जिल्लाका छुट्टाछुट्टै ३ स्थानमा भएका सडक दुर्घटनामा घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता दर्शन खड्काका अनुसार टीकापुर नगरपालिकास्थित हुलाकी सडकमा भएको सुपप्र ०१–००८प ०८१३ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते भएका टीकापुर नगरपालिका–१ का २२ वर्षीय विनोद चौधरीको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।     गए राति नै गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्ग सडकखण्डमा म२प ९११७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका– ११ का ३० वर्षाीय हिक्मत महराको सेती प्रदेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।  धनगढी उपमहानगरपालिका– १८ डिपो बजारमा सुपप्र०१००११ प ७०७१ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक कैलारी गाउँपालिका–३ का ४० वर्षीय कमलेश चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । 

काठमाडौं:     राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा  आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् । जारी एनपिएलमा चार खेल खेलेको जनकपुर बोल्ट्स सबै खेलमा विजयी भएको छ ।  सुदूरपश्चिम रोयल्सले  चार खेलमध्ये तीनमा जित निकालेको छ ।  तीन खेल खेलेको काठमाडौँ गुर्खाजले दुई खेल जितेको छभने एक खेलमा पराजित भएको छ । लुम्बिनी भने पाँच खेलमा एउटा मात्र जित्न सफल भएको छ ।